काठमाडौँ, भदौ २१ गते ।
आगामी २०८२ साल अर्थात भदौ २२ र २३ गते लाग्ने खग्रास चन्द्रग्रहण नेपालबाट प्रत्यक्ष अवलोकन गर्न सकिने खगोलविद्हरूले जानकारी दिनुभएको छ ।
नेपालसँगै यो ग्रहण युरोप, अफ्रिका, एसिया र अष्ट्रेलियाबाट देखिने भए पनि उत्तर र दक्षिण अमेरिकाबाट भने देखिने छैन । खग्रास अवस्थामा चन्द्रमा रातो देखिने भएकाले यसलाई ‘रक्तिम चन्द्र’ पनि भनिन्छ ।
बी.पी. कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय विकास समिति, कीर्तिपुर, काठमाडौंका कार्यकारी निर्देशक डा. सनतकुमार शर्माका अनुसार ग्रहणको समयसूची (नेपाली समय अनुसार) :
विरल छायाँले ढाक्न सुरु गर्ने : २२ गते राति ९ः१३ बजे
खग्रास सुरु (सघन छायाँले ढाक्ने) २२ गते राति ११ः१५ बजे
ग्रहणको मध्य : २२ गते राति ११ः५६ बजे
खग्रास समाप्त (सघन छायाँले हट्ने) २३ गते बिहान १२ः३७ बजे
विरल छायाँ हट्ने : २३ गते बिहान २ः४० बजे
जम्मा अवधिः ५ घण्टा २७ मिनेट

चन्द्रग्रहण देखिने कारण
पृथ्वीले सूर्यलाई र चन्द्रमाले पृथ्वीलाई परिक्रमा गर्ने क्रममा सूर्य, पृथ्वी र चन्द्रमा एउटै सरल रेखामा पर्दा पृथ्वी बीचमा आउँछ । यस क्रममा पृथ्वीको छायाँ चन्द्रमामा पर्छ र पृथ्वीबाट चन्द्रग्रहण देखिन्छ । यो घटना पूर्णिमाको रातमै हुने गर्दछ ।

अवलोकन र प्रभाव
चन्द्रग्रहण खाली आँखाले नै सजिलै अवलोकन गर्न सकिन्छ । वैज्ञानिक अध्ययनअनुसार ग्रहणको मानव जीवनमा कुनै पनि नकारात्मक प्रभाव नपर्ने प्रष्ट तथ्य उपलब्ध भएको छ । सभार गोरखापत्र
२२ भदौ, काठमाडौँ ।
सूचना प्रविधिको क्षेत्रको अग्रणी संस्था कम्प्युटर एसोसिएसन नेपाल महासङ्घ (क्यान महासङ्घ)ले सामाजिक सञ्जाललाई सूचीकरणमार्फत नियमन गर्ने सरकारको मूल उद्देश्यप्रति समर्थन जनाएको छ । महासङ्घले कानुनी दायरामा ल्याउने पहल सकारात्मक भए पनि निष्क्रिय बनाउने कार्यका कारण ल्याउन सक्ने असरप्रति सचेत रहन आग्रह गरेको छ ।
नेपालमा सूचीकरण नभएकै कारण अपराध, गलत सूचना र व्यक्तिगत सुरक्षासम्बन्धी समस्यामा औपचारिक सम्पर्क कार्यालय नहुनु चुनौती भएको महासङ्घले जनाएको छ ।
“सामाजिक सञ्जाल दर्ता प्रक्रियामा ल्याउने सरकारको निर्णयलाई हामी सकारात्मक रूपमा लिन्छौँ । यसले प्रयोगकर्ताको सुरक्षामा टेवा पुग्नेछ, साइबर अपराध नियन्त्रण र राजस्व वृद्धिमा योगदान गर्नेछ । तर फेसबुक, एक्स, युट्युबजस्ता महत्त्वपूर्ण प्लेटफर्महरू एकैपटक बन्द गर्दा शिक्षा, व्यवसाय, सञ्चार र आमनागरिकको दैनिकीमा गम्भीर असर पर्न सक्छ”, महासङ्घकी अध्यक्ष सुनैना घिमिरे पाण्डेले भने । यो घटनाले नेपाल विश्वसँग डिजिटल रूपमा पछाडि पर्न सक्ने जोखिम पनि उत्तिकै रहेको भन्दै अध्यक्ष पाण्डेले यस्तो कदमलाई चरणबद्ध रूपमा अघि बढाउँदै सरोकारवालासँग पर्याप्त छलफल गरेर व्यावहारिक समाधान ल्याउनुपर्नेमा जोड दिए ।
महासङ्घका अनुसार नेपालमा करिब ७० प्रतिशत साना तथा मझौला व्यवसाय सामाजिक सञ्जालमार्फत बजार विस्तार र ग्राहक सम्पर्कमा निर्भर छन् । त्यस्तै, सामाजिक सञ्जालमार्फत कन्टेन्ट राखेर आयआर्जन गर्ने ठूलो सङ्ख्यामा प्रयोगकर्ता रहेका कारण प्रतिबन्धले रोजगारी गुम्ने र व्यवसाय धरासायी हुने खतरा देखिएको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीले परिवारसँग सम्पर्क गर्ने प्रमुख माध्यम रोकिँदा सामाजिक सम्बन्ध र मानसिक स्वास्थ्यमा नकारात्मक असर पर्ने पनि महासङ्घले जनाएको छ ।
अध्यक्ष पाण्डेले सामाजिक सञ्जाल निष्क्रिय गराउने कार्यलाई अन्तिम समाधानका रूपमा नलिई नियमनलाई दीर्घकालीन रणनीति बनाउनुपर्नेमा जोड दिए । महासङ्घले स्पष्ट कानुनी ढाँचा तयार पार्दै नेपालमा सम्पर्क विन्दु अनिवार्य गर्ने र लगानीमैत्री वातावरण निर्माण गर्न सकेमात्र यो समस्याको दीर्घकालीन समाधान सम्भव हुने उल्लेख गरेको छ ।
क्यान महासङ्घका महासचिव चन्द्रविलास भुर्तेलले सामाजिक सञ्जाल बन्द भएमा भिपीएन र ओपन डिएनएसको प्रयोग अत्यधिक बढ्ने र यसले साइबर सुरक्षामा गम्भीर जोखिम निम्त्याउने धारणा राखे । महासङ्घले अन्तरराष्ट्रिय अभ्यासलाई आधार बनाउँदै नेपालले पनि व्यवस्थित र व्यावहारिक कानुनी संरचना बनाउनुपर्नेमा जोड दिएको छ ।
सन्तुलित नियमनमार्फतमात्र सामाजिक सञ्जाललाई व्यवस्थित र सुरक्षित बनाउन सकिनेमा क्यान महासङ्घले जोड दिएको छ । यस विषयमा जिम्मेवार निजी क्षेत्रको हैसियतमा सरकारसँग प्राविधिक अध्ययनमा सहयोग गर्ने, अन्तरराष्ट्रिय अभ्यास साझा गर्ने र सरोकारवालासँग निरन्तर संवाद गर्ने प्रतिबद्धतासमेत महासङ्घले जनाएको छ । सुर्य खबर
कार्यक्रममा शिक्षा, समाज र शिक्षक सरोकारवालाहरू सहभागी हुनेछन् । प्यानलमा नगर प्रमुख सुरत केसी, सामाजिक विकास समिति प्रमुख चक्र केसी, म्याग्दी बहुमुखी क्याम्पसका सहप्रध्यापक रेखाकौशल रेग्मी, र जमुनाखर्क नमूना माविका प्रधानाध्यापक सोमनाथ ढुङ्गाना र शिक्षक महासङ्घ म्याग्दीका निवर्तमान अध्यक्ष जयराम सुवेदी सहभागी हुनेछन्। कार्यक्रमको मोडेरेटरको भूमिका प्रकाश अधिकारीले सम्हाल्नेछन्।
प्यानल डिस्कसनले सामुदायिक शिक्षा खस्किनुको कारण पहिचान, समाधानका सम्भावित उपायहरू, र शिक्षक, अभिभावक र समुदायसँग साझा कार्ययोजना तयार गर्ने उद्देश्य राखेको छ।
बाल दिवसको अवसरमा आयोजना गरिएको यस कार्यक्रमले सामुदायिक शिक्षाको वर्तमान अवस्था उजागर गर्नेछ र सुधारका ठोस सुझाव प्रस्तुत गर्ने विद्यालयका सूचना अधिकारी अमृता जिसी रोकाले जानकारी दिनुुभयो ।
साथै बेनी नगरपालिकाको आयोजना तथा विद्यालयको व्यवस्थापनमा नगरपालिका स्तरीय ‘बालविवाह न्यूूनिकरणमा स्थानीय सरकारको भूुमीका’ विषयक वक्तृत्वकला प्रतियोगिता पनि सन्चालन हुने विद्यालय इन्चार्ज शोभाकान्त लामिछानेले जानकारी दिनुुभयो । लामिछानेका अनुुसार वक्तृत्वकला प्रतियोगितामा बेनी नगरपालिका भित्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयमा कक्षा १ देखि ८ सम्म अध्ययनरत विद्यार्थीले सहभागिता जनाउन सक्नेछन।
त्यस्तैगरि यही भाद्र २७, २८ र २९ गते तीनदिन सम्म विद्यार्थीको चौतर्फी विकासको लागि वृहत् खेलकुद सप्ताह पनि आयोजना गर्न लागिएको अतिरिक्त विभाग प्रमुुख सुुजन पुुनले जानकारी दिनुुभयो । २९ गते प्रथम त्रैमासिक परीक्षाको नतिजा प्रकाशन तथा विष्लेश्ण समेत गरिने विद्यालयले जनाएको छ । कार्यक्रममा शिक्षक, अभिभावक, विद्यार्थी र स्थानीय सरोकारवालाहरूलाई सक्रिय सहभागिता जनाउन आमन्त्रण गरिएको छ।
काठमाडौं,१९ गते भादो ।
सरकारले दर्ता नहुने र दर्ताका लागि सम्पर्कमा नआएका सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ । बिहीबार सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको नेतृत्वमा बसेको बैठकले दर्ता नहुने सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।
सञ्चार मन्त्रालयका अनुसार हालसम्म नेपालमा टिकटक, भाइबर, निम्बुज, विटक, ओपोलाइट दर्ता भइसकेको छन् ।
सरकारले दर्ता नभए बन्द गर्ने चेतावनी दिएपछि टेलिग्राम र ग्लोबल लिंक भने दर्ता हुन आएका छन् । तर, फेसबुक, युट्युब, इन्स्टाग्राम लगायतका सामाजिक सञ्चाल भने दर्ता हुन समेत आएका छैनन् ।
सरकारले दर्ता हुन भन्दै दिएको म्याद बिहीबार मध्यरातीदेखि सकिएको छ । सो अवधिमा पनि दर्ता हुन नआएपछि सरकारले दर्ता हुन नआउने सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ । अर्थ सरोकार
चन्दन महताे,गाैर,भदौ १९ गते ।
प्रादेशिक अस्पताल गौर, रौतहटमा आज स्थापना दिवसको अवसरमा एक विशेष कार्यक्रमका बीच वृहत रक्तदान कार्यक्रम संचालन गरिएको छ ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बिनोद कुमार खड्काज्यू प्रमुख अतिथिका रूपमा उपस्थित हुनु भएको थियो । यस रक्तदान कार्यक्रमको आयोजना नेपाल निजामती कर्मचारी यूनियन जिल्ला कार्य समिति, रौतहटको संयुक्त सहकार्य र प्रादेशिक अस्पताल गौर, रौतहटको सहयोगमा गरिएको हो ।

रक्तदान गर्दै प्रमुख अतिथि खड़काले भन्नुभयो, नियमित रक्तदानले अनगिन्ती मानिसको जीवन बचाउन मद्दत पुग्छ। यस्ता सामाजिक कार्यलाई निरन्तरता दिनु हाम्रो सामूहिक दायित्व हो।
त्यसैगरी कार्यक्रममा बोल्दै प्रादेशिक अस्पताल गौर, रौतहटका अध्यक्ष मो. अनवर हाशमीले भन्नुभयो, रगतको अभावका कारण कुनै पनि बिरामीले उपचार पाउन समस्या भोग्न नपरोस् भन्ने उद्देश्यले यस्ता अभियानहरू समाजका लागि अत्यन्त महत्वपूर्ण छन्।
सो अवसरमा विभिन्न सरकारी तथा गैरसरकारी संस्था, स्वास्थ्यकर्मी, स्थानीय युवा, स्वयंसेवक तथा सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
आजको रक्तदान कार्यक्रममा दर्जनौँ स्वयंसेवकहरूले स्वेच्छाले रगत दान गरेका छन्।
काठमाडौं ।
अनुज लामाको स्वरमा रहेको गीत ‘टाढा नजाउ’ सार्वजनिक भएको छ । अनुजकै संगीत, अरुणा रुम्बाको शब्द रचना, निरोज लामाको एरेञ्ज र किशोर थापाको मिक्सिङ/माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
किरण चापागाईंको निर्देशन रहेको गीतको भिडियोमा पुनम लक्ष्मी मगर र पुकार चापागाईंलाई फिचरिङ गरिएको छ । पंकज महराको छायांकन रहेको गीतको भिडियोमा धिरज अधिकारीको दृश्य सम्पादन एवम् कलर रहेको छ ।
प्रेमिल गीतमा आफूले माया गरेको मान्छेलाई सधै समिपमा रहन टाढा नजान आग्रह गरिएको छ । गीतको भिडियो गीतकार अरुणा रुम्बाको अफिसियल युट्यूव च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
अरुणा रुम्बा प्रवासमा बसेर गीत, सङ्गीतमा सक्रिय हुनुहुन्छ । उहाँका दर्जन भन्दा वढि गीत श्रोता/दर्शकमाझ आएका छन्
काठमाडौ
पछिल्लो समय गीत संगीतको क्षेत्रमा गजल लोकप्रिय बन्दै गएको छ । परम्परागत साहित्यिक शैलीलाई समेट्दै समसामयिक विषयवस्तु प्रस्तुत गर्ने माध्यमको रूपमा गजलको प्रभाव विस्तार भइरहेको छ । नेपाली गजलकारहरूले राजनीतिक, सामाजिक, प्रेम, पीडा, परदेशी जीवनजस्ता विषयहरूलाई गजलमार्फत प्रभावशाली ढंगले प्रस्तुत गर्दै आइरहेका छन् जसले गर्दा जनमानसको भावना उजागर गर्न गजलले सहयोग पुर्याएको छ भने गजलले नेपाली साहित्यमा भाषिक सौन्दर्य, लयात्मकता, प्रतीकात्मकता र गहन अर्थ भित्राएको छ । गजलले साहित्यिक विधामा विविधता समेत ल्याएको छ । नयाँ पुस्ताका लेखक तथा पाठकहरू पनि गजलप्रति आकर्षित भइरहेका छन् । नेपाली गजल अहिले साहित्य, संगीत र समाजको बीचमा सेतुको काम गर्दै, परम्परा र आधुनिकताको सन्तुलनमा गहिरो प्रभाव छोडिरहेको अनुभूति भइरहेको छ ।

भर्खरै सार्वजनिक नेपाली साहित्यको गजल परम्परामा आधारित गजल ‘को हौ तिमी’ गजलका शेरहरूले आत्मचिन्तन, आत्मनिर्भरता, एकान्त र जीवनको गहन दार्शनिक पक्षलाई छोएको अनुभूति हुन्छ । गजलमा मानव जीवनको अस्थिरता, खुशीको खोजी, मित्रता र दुःख, पिडा, विरह, वेदना सम्हाल्ने तरिकाको चित्रण गरिएको छ। गजल आध्यात्मिक र दार्शनिक छ जसले दर्शक, श्रोताहरुलाई धेरै कुरा आफैंभित्र खोज्न प्रेरित गर्छ। यो गजलमा गजलकारले मानिसलाई बाहिरी संसारको मोहबाट मुक्त भई आत्मकेन्द्रित जीवन जिउन सल्लाह दिएको अनुभूति हुन्छ ।
को हौ तिमी के गर्दैछौ सोध आँफै संग
पाइदैन खुसी अन्त खोज आँफै संग …
गजलको यो शेर आत्मचिन्तनको प्रारम्भिक बिन्दु हो । गजलकारले मानिसलाई आफ्नो पहिचान र क्रियाकलापबारे प्रश्न सोध्न आग्रह गर्छन् तर यो प्रश्न बाहिरी संसारतर्फ नभई आफैंतर्फ केन्द्रित अनि निर्देशित छ, गजल ‘को हौ तिमी’ले आत्मपरिचयको खोजी एवं, आत्मान्वेषण गरेको छ । आँफू को हुँ भनेर बाहिरी दुनियाँलाई सोध्ने भन्दा पनि आँफूले आफूलाई नै प्रश्न गर म वास्तवमा को हुँ? म के गर्दैछु? मेरो जीवनको उद्देश्य के हो? हामी सुख अनि खुसी खोज्न यत्रतत्र भौतारिन्छौ बास्तवमा सुख र शान्ति बाहिरी वस्तु वा अरू मान्छेमा खोज्दा कदापि पाइँदैन। वास्तविक खुसी आफ्नै मनमा, आफ्नै सोचमा, आफ्नै आत्म–सन्तोषमा हुन्छ। अरूलाई दोष दिएर वा बाहिरी स्रोतमा निर्भर भएर जीवनमा शान्ति सम्भव छैन। समग्रमा यो शेरले मानव मनको द्वन्द्व र समाधानलाई काव्यात्मक रूपमा चित्रण गर्छ। आत्म–चिन्तन, आत्म–परिचय र आत्म–निर्भरितामार्फत मात्र वास्तविक खुशी प्राप्त हुने गहिरो सन्देश दिएको छ । दर्शनशास्त्रले पनि यही भन्छ— मानव जीवनको सबैभन्दा ठूलो विजय भनेको बाहिरी जगतलाई जित्नु होइन, आफ्नो अन्तरिक संसारलाई चिन्नु र स्वीकार्नु हो।
पक्कै खास होला र त जाग्छन् जूनतारा
लुकाएर राख्नु पर्छ रात आँफै संग …
गजलमा जून र तारालाई विशेष प्रतीकको रूपमा प्रयोग गरिएको अनुभूति हुन्छ । जुन र तारा जाग्नु भनेको कुनै असाधारण, सुन्दर वा महत्वपूर्ण कुरा देखिनु हो अर्थात्, जुन–तारा जस्तै चम्किने वस्तु वा भाव अवश्य नै खास हुन्छ, जुन र ताराको जागरण केवल दृश्यात्मक मात्र होइन जीवनको रहस्य र महत्वपूर्ण भावनाको सन्देश हो त्यसैले मात्र जून तारा अन्धकारबीचमा जाग्छन्, चम्कन्छन् र आफ्नो उपस्थितिको विशेष अनुभूति गराउँछन् । रात प्रतीक हो अन्धकार, रहस्य र गहिरो मनस्थितिको । जुनतारा जागे पनि, ती सबैलाई सबैसँग बाँड्न सकिँदैन। जीवनका कतिपय कुरा त्यस्ता हुन्छन्, जसलाई शब्दमा व्यक्त गर्न सकिँदैन ती केवल मौनताको तहभित्र, आत्माको अन्धकारमा रहस्य बनेर बाँचिरहन्छन्। जूनतारा जस्तै जीवनका विशेष पलहरू बाहिरी दुनियाँबाट बचाउनु पर्छ, लुकाउनु पर्छ अन्यथा तिनीहरूको मूल्य घट्छ। यो भावले गहिरो आर्थ बोलेको छ, रात ‘प्रेम एवं आत्मिकताको प्रतीक’ पनि हो, जीवनका गोप्य र विशेष पक्षहरूलाई आफैंसँग लुकाएर राख्नु पर्छ, यी भावहरु बाहिरी प्रदर्शनबाट टाढा रहनु पर्दछ भन्ने गहिरो सन्देश पनि यो शेरले दिएको अनुभूति हुन्छ ।
छुटि जान्छन् साथीसंगी खेल समयको
एक असल मित्र तिमी बन आँफै संग ..
गजलको यो शेरले जीवनको सत्य उजागर गरेको छ । समयसँगै बाल्यकाल, साथीहरूको संगतका रमाइला क्षणहरू क्रमशः हराउँदै, मेटिदै, विलाउदै जान्छन् । ती क्षणहरू सुन्दर भए पनि स्थायी हुँदैनन्, स्थायी होस् भएर चाहेर मात्रै पनि ती रहदैनन्, बिलिन हुन्छन्, यो विलयले व्यक्तिलाई गहिरो चिन्तन, गहिरो शोक, गहिरो भावमा विरही पनि बनाउन सक्छ ।
गजलको अर्को हरफ “एक असल मित्र तिमी बन आँफै संग“ ले गहिरो आत्म–सन्देश को भाव बोकेको छ । अरू साथीहरु सबैतिरबाट टाढा भए पनि अन्ततः जीवनमा सबैभन्दा स्थायी साथी आफ्नै आत्मा हुन्छ । यदि मानिसले आफूलाई राम्रोसँग चिन्न सक्यो, आफ्नो मनसँग मित्रता गर्न सक्यो भने समयले ल्याउने एक्लोपन, कठिनाई वा अन्य परिस्थितिले उसलाई कहिल्यै हराउन अनि विचलित बनाउन सक्दैन । गजलको यो शेरले बाह्य साथी र रमाइलोभन्दा बढि महत्वपूर्ण कुरा भनेको आत्म–मैत्री हुनु हो, आत्म–मैत्री भएमा जीवनमा शान्ति, आत्मबल र सुख टिकाइरहन सकिन्छ, साथी, संगी संगका सबै रमाइला पलहरु यी स्थायी होइनन्, यी सबै समयको पखेटामा चढेर अन्ततः टाढिँदै जान्छन, ती क्षणहरू फिर्ता आउँदैनन्, जीवनको यस यात्रामा, सबै छुटेपछि पनि जुन मित्र कहिल्यै टुट्दैन, त्यो तिमी आफैं हौ, समयको परिवर्तनले नछुने, परिस्थितिले नहराउने, संसारले नचिन्ने मित्रता भनेको आत्म–मैत्री नै हो भन्ने सन्देश दिएको छ । आफ्नै आत्मासँग मित्रता गर, आफ्नो अन्तरमनसँग घनिष्ठ सम्बन्ध गाँस, किनकि जब सबै सम्वन्धहरु क्षणभङ्गुर भएर हराउँछन् त्यति बेला आत्म–मैत्री मात्र अमर रहन्छ ।गजलको यो शेर दार्शनिक रूपमा भगवद्गीता सँग पनि मेल खान्छ, जहाँ आत्मा नै सबैभन्दा ठूलो साथी हो भनिएको छ । गजलको यो शेरले मानव सम्बन्धको क्षणभंगुरता र आन्तरिक शक्तिको स्थिरतालाई काव्यात्मक रूपमा उजागर गर्दै जीवनको सार सत्य उजागर गरेको छ ।
यहाँ बुझ्ने कोहि छैनन् तिम्रो पीर व्याथा
सम्हालिदै हरेक पल बाँच आँफै संग …
मानव जीवन नै पीडा र संघर्षको अखडा हो । प्रत्येक मानिसका आफ्ना दुःख, व्यथा र मनका घाउ हुन्छन् तर ती सबैलाई समाजले बुझ्छ भन्ने अपेक्षा यथार्थमा खतरनाक भ्रम मात्र हो । जीवनमा दुःख, पीडा र व्यथा अरूलाई सजिलै देखाउन त सकिन्छ तर वास्तवमै बुझ्ने मानिस पाउन गाह्रो हुन्छ अझ भनौ पाइदै पाइदैन । प्रत्येक व्यक्तिको पीडा, मनको भारी र भोगाई अरूले पूर्ण रूपमा महसुस गर्न सक्दैनन् पनि । किनकी भोगाईको अनुभूति आफैले मात्रै संगाल्न सकिन्छ अरुले त अनुमान मात्रै गर्ने हुन् । त्यसैले बाह्य सहारा वा सहानुभूतिमा भर पर्नुभन्दा आफूलाई आफैं सम्हाल्दै, मनलाई दृढ बनाएर बाँच्नुपर्ने सन्देश गजलको यो शेरले दिएको छ । खासमा आत्म–संयम र आत्मबल नै जीवनको कठिन क्षण पार गर्ने सर्वोत्तम उपाय पनि हो ।
गजलको यो शेरले आत्मनिर्भरतालाई पनि सर्वोच्च मूल्यका रूपमा प्रस्तुत गरेको छ । बाह्य संसार अस्थिर छ; मित्रता, सम्बन्ध र सहानुभूति सबै क्षणिक छन् तर आत्मबल र आत्मसंवाद शाश्वत हुन् जसले आफैंसँग संवाद गर्न सक्छ, आफ्नो मनलाई सम्हाल्न सक्छ, उसलाई सिंगो संसारले नबुझ्दा पनि जीवन सहज लाग्छ । गजलको यो शेरले मानिसलाई आफ्नो जीवनको भार आफैं वहन गर्न प्रेरित गर्छ । संसारमा सबैले बुझिदिने, साथ दिने वा सान्त्वना दिने कुरा सम्भव पनि हुँदैन तर जब मानिसले आफैंलाई आत्मसात गर्छ, आफ्नै अन्तरमनसँग कुरा गर्छ र कठिनाइलाई धैर्यपूर्वक सहन्छ तब जीवन सहज बन्छ यसले आत्मबल, आत्मविश्वास र आत्मनिर्भरतालाई सर्वोच्च स्थान दिएको छ र “यहाँ बुझ्ने कोहि छैनन् तिम्रो पीर व्यथा” भन्ने वाक्यले मानिसको एक्लोपन र अस्तित्वको गहिरो सत्यलाई उजागर गरेको छ, बाह्य जगत् प्रायः सतही सहानुभूति दिन सक्छ तर अन्तर्मनको वास्तविक पीडालाई बुझ्ने सामर्थ्य कसैसँग हुँदैन, ‘तिमीले आफ्नो मानेको, अत्यन्त विश्वास गरेको मान्छे पनि स्वार्थी छ त्यसैले कसैको भर नपर’ भन्ने भाव पनि यो शेरले बोलेको छ । यसैले जीवनका कठिन क्षणहरूमा हामीले आफैंलाई आफ्नै साथी र सहयात्री बनाउनुपर्छ । आफ्नै भोगाइलाई स्वीकार गर्दै, समयसँग सम्झौता गर्दै, आफैंलाई सम्हाल्दै अघि बढ्नुपर्छ, आत्मसंयम नै जीवनको सर्वश्रेष्ठ आश्रय हो । जीवनमा अन्ततः हामी एक्लै हुन्छौं र आफ्नो निर्णय, आफ्नो पीडा र आफ्नो जिम्मेवारी आफैंले बोक्नुपर्छ । अरूले बुझिदिने वा समाधान गरिदिने आशा राख्नु अन्ततः निराशाको मूल हो, सबै मान्छे स्वार्थी हुन्छन्, विश्वास कसैको छैन त्यसैले आत्मकेन्द्रित जीवनशैली अपनाउनु पर्छ ।
समग्रमा यो गजल नेपाली साहित्यको दार्शनिक धारालाई प्रतिबिम्बित गरेको छ जसमा आत्मचिन्तन मुख्य विषय बनाइएको छ, गजलले दर्शक, श्रोताहरुलाई बाहिरी मोहबाट मुक्त भई आन्तरिक शान्ति खोज्न सिकाएको छ ।
यति दार्शनिक भावको गजल लेख्ने गजलकार हुन् आरजु गिरी । उनका यी दार्शनिक शेरहरुलाई गायिका तथा संगीतकार बबिना भट्टराईले आफ्नो मधुर र लययुक्त स्वर एवं संगीतमा सजाएकी छिन् । उक्त गजलमा लालकाजी श्रेष्ठ एरेन्ज रहेको छ । स्टुडियो साउण्ड मिलमा रेकर्ड भएको गजल ‘को हौ तिमी’ बरिष्ठ ध्वनी इन्जिनियर महेश्वरमान राजभण्डारी रेकर्ड तथा मिक्सिङ मास्टरिङ गरेका छन् ।
ए.जे. अजुले निर्देशन गरेका गजल ‘को हौ तिमी’ को भिडियो सम्पादन भने अनिल विष्ट प्युठानीले गरेका छन् । भिडियोमा बबिना आफै फिचर्ड भएकी छिन् । ‘को हौ तिमी’ गजलको भिडियोमा प्रिया नगरकोटीले श्रृङ्गार सहित भुवन गन्धर्व तवला, सञ्जिव बराइली गितारमा रहेर बबिनाको गायनलाई गजलमय बनाएका छन् । गजल ‘को हौ तिमी’ को भिडियो नेपाली गजलबहार युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।
गायिका तथा संगीतकार बबिना भट्टराईले गजल ‘को हौ तिमी’ सार्वजनिक भएको खुसी साट्दै भन्छिन् ‘अर्जु गिरीका गहिरो दार्शनिक भाव बोकेको यो गजललाई यहाँहरु सबैले मन पराइदिने अपेक्षा राखेकी छु, गजल सुनेर तथा हेरेर गजलको बारेमा आफ्नो अमुल्य सल्लाह, सुझाव दिन पनि मेरा दर्शक तथा श्रोताहरुलाई अनुरोध गर्दछु साथै यस गजलको श्रृजनामा जोडिने सम्पूर्ण टिम प्रति आभार व्यक्त गर्दछु ।’
गजलकार अर्जु गिरी गायिका तथा संगीतकार बबिना भट्टराई प्रति कृतज्ञ हुदै प्रतिक्रिया जनाएका छन् ‘म कसरी खुशी व्यक्त गरौ अलमलमा परेको छु । यो मिठो साथको लागि हाम्रो युगको सशक्त गायिका एवं सङ्गीतकार आदरणीय बबिनाजी एवं सम्पुर्ण टिमलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु !’ साथै आफ्नो गजल आफै हेरेर दंग पर्दै एउटा गजलको शेर लेखेका छन् :
मर्ने छैन धीत अब हेरी आफ्नै गजल
लागेको छ आहा मिठो जेरी आफ्नै गजल …
‘हसाउँछौ तिम्रै मर्जी, रुवाउँछौ तिम्रै मर्जी….’ बोलको अविनाश थापाको शब्दमा पहिलो गीत गाएकी बबिनाकोे १६ वर्ष भन्दा बढिको संगीत यात्रामा विभिन्न गीत तथा भजनहरुमा स्वर तथा संगीत दिएर उनले नेपाली श्रोता, दर्शकको अपार माया पाएकी छिन् । सुगम संगीत तथा भक्ति संगीत पारखी दर्शक तथा स्रोताको मुटुको ढुकढुकी बनेकी छिन् । संगीत क्षेत्रबाट चरमचुलीमा पुग्ने जीवनको अभिष्ट लिएर संगीतयात्रामा यात्रारत् बबिनाका भगवान श्री कृष्णका भजनहरु काले काले कृष्ण, मधुराष्टकम्, महामन्त्रको रुपमा जपिने हरे कृष्ण हरे कृष्ण कृष्ण कृष्ण हरे हरे ..हरे राम हरे राम राम राम हरे हरे, अच्युतम् केशवम् रामानारायणम्, श्री कृष्ण गोविन्द हरे मुरारे, अच्युताष्टकम लगायत भगवान श्री राम, महादेव, हनुमान चालिसा, दुर्गा भजन, गायत्री मन्त्र लगायतका विभिन्न भजनहरु बीणा भक्ति युट्व च्यानलमा संग्रहित रहेका छन् भने पछिल्लो समय बबिना भट्राईको आफ्नै आध्यात्मिक युट्युव च्यानल श्री भजन्स् मार्फत उनका भजनहरु सार्वजनिक हुदै आएका छन् । महाशिवरात्री पर्वको अवसरमा शिव भजन ‘जय जय शम्भु’ र राम नवमीको अवसरमा ‘मनमा बसाएर राम’ श्री भजन्स् युट्व च्यानल मार्फत सार्वजनिक भइसकेका छन् । भजन गायनमा विशेष रुचि राख्दै विभिन्न धार्मिक पर्वहरुमा सान्दर्भिक भजनहरु सार्वजनिक गर्दै आएकी बबिना भर्खरै शिव तण्डव भजन सार्वजनिक गरेर आफ्नो भजन प्रतिको लगावलाई दर्शक, श्रोताहरु माफ अझ शसक्त बनाएकी छिन् ।
काठमाडौँ ।
नेपाली कथानक चलचित्र ‘द प्रोफेस्नल गाइज’ निर्माण भएको छ । चलचित्रका लेखक तथा निर्देशक मार्टिन भण्डारी र डार्विन श्रेष्ठ रहेका छन् । सह–लेखन एवं सिर्जनात्मक निर्देशन अमन श्रेष्ठले गरेका हुन् । जे. के. एस. इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको चलचित्र चाँडै प्रदर्शनमा आउने निर्माण पक्षले जनाएको छ ।
काठमाडौँ ,१६ गते भादो ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगम सञ्चालक समितिको बैठकले आइतबार रातिदेखि लागू हुने गरी डिजेल-मट्टितेलमा प्रतिलिटर चार रुपैयाँ, हवाई इन्धन (आन्तरिकतर्फ) मा एक रुपैयाँ र हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर अमेरिकी डलर सातले घटाएको हो।
पेट्रोल तथा एलपी ग्यासको बिक्री मूल्य भने यथावत् राखिएको छ। नयाँ बिक्री मूल्यअनुसार डिजेल-मट्टितेलको खुद्रा बिक्री मूल्य प्रतिलिटर क्रमशः १४२ रुपैयाँ ५० पैसा, १४४ रुपैयाँ र १४५ रुपैयाँ तोकिएको छ।
इन्डियन आयल कर्पोरेसनबाट मूल्य घटेर आएकाले नेपाली बजारमा मूल्य समायोजन गरिएको निगमले स्पष्ट पारेको छ।
काठमाडौँ,१६ गते भादो ।
अफगानिस्तानको भूकम्पमा मृत्यु हुनेको संख्या ६२२ पुगेको छ ।आइतबार राति आएको ६.३ रेक्टर स्केलको भूकम्पबाट अहिलेसम्म ६२२ जनाको मृत्यु भएको अफगानिस्तानको गृह मन्त्रालयका प्रवक्ता अब्दुल मतीन कानीले जानकारी दिएका छन् । उनले अहिलेसम्म १५ सय ५५ जना घाइते भएका छन् भने ठूलो संख्यामा घरहरू ध्वस्त भएको बताएका छन् ।
मृतकमध्ये ६१० जना कुनारमा र १२ जना नान्गरहारका रहेका छन् भने घाइतेमध्ये १३ सय जना कुनारमा र २५५ जना नान्गरहारमा रहेको उनले बताएका छन् ।
अहिले राहत र उद्धारको काम जारी रहेको र मृतकको संख्या बढ्न सक्ने बताइएको छ ।
भूकम्पको केन्द्रबिन्दु जमिनबाट १६० किलोमिटर तल थियो। यसको कम्पन पाकिस्तानको इस्लामाबाद र एबोटाबादसम्म महसुस गरिएको थियो । पहिलो भूकम्पपछि पनि ४.७, ४.३ र ५.० रेक्टर स्केलका कम्पन महसुस गरिएको टोलोन्यूजले उल्लेख गरेको छ ।
यसअघि ७ अक्टोबर २०२३ मा अफगानिस्तानमा विनाशकारी भूकम्प आएको थियो । तालिबान सरकारले यस भूकम्पमा ४ हजारको मृत्यु भएको दाबी गरेको थियो भने संयुक्त राष्ट्र संघले १५०० जनाको मृत्यु भएको पुष्टि गरेको थियो । अफगानिस्तानमा शक्तिशाली भूकम्पको इतिहास छ। हिन्दुकुश पर्वत शृङ्खला भूकम्पको हिसाबले सक्रिय मानिन्छ, जहाँ हरेक वर्ष भूकम्प आउँछ । अफगानिस्तान भारतीय र युरेशियन टेक्टोनिक प्लेटहरूको बीचमा अवस्थित छ। यो फल्ट लाइन अफगानिस्तानको हेरातसम्म जान्छ। प्लेटहरूमा हलचल हुँदा भूकम्प आउँछ ।