२०८३ जेष्ठ २७
२०८३ जेष्ठ २७

आरके श्रीवास्तव, रौतहट, जेठ २५ ।

रौतहट जिल्लाको फतुवा विजयपुर नगरपालिका–८ स्थित श्री आधारभूत विद्यालय बुनियादमा अध्ययनरत विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण गरिएको छ ।

सोमबार आयोजित कार्यक्रममा विद्यालयका प्रधानाध्यापक मुक्तिनारायण चौधरीले आर्थिक वर्ष २०८२÷०८३ अन्तर्गत प्राप्त छात्रवृत्ति रकमबाट विद्यालयमा अध्ययनरत सम्पूर्ण छात्र–छात्रालाई प्रतिविद्यार्थी ४ सय रुपैयाँका दरले छात्रवृत्ति वितरण गरिएको जानकारी दिनुभयो ।

प्रधानाध्यापक चौधरीले छात्रवृत्तिले विद्यार्थीहरूमा पठनपाठनप्रति थप उत्साह र जिम्मेवारीको भावना विकास हुने विश्वास व्यक्त गर्दै विद्यालयले आगामी दिनमा पनि विद्यार्थी केन्द्रित कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो ।

उहाँले छात्रवृत्ति वितरण कार्य पारदर्शी र व्यवस्थित रूपमा सम्पन्न गरिएको समेत जानकारी दिनुभयो । कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्ष नितेश चौधरीले शिक्षा क्षेत्रको विकास स्थानीय सरकारको प्राथमिकतामा रहेको बताउनुभयो ।

उहाँले छात्रवृत्तिले विद्यार्थीहरूलाई नियमित रूपमा विद्यालय आउन तथा अध्ययनमा रुचि बढाउन महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै शैक्षिक गुणस्तर अभिवृद्धिका लागि वडा कार्यालयको सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा विद्यालयका शिक्षक–शिक्षिका, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी तथा सदस्यहरू, स्थानीय अभिभावक र विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

छात्रवृत्ति वितरण कार्य पारदर्शी र व्यवस्थित ढंगले सम्पन्न भएको भन्दै उपस्थित अभिभावकहरूले विद्यालय व्यवस्थापनप्रति धन्यवाद व्यक्त गरेका छन् । विद्यालयले आगामी दिनमा पनि विद्यार्थीहितका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०८२ को एसइईको नतिजा सार्बजनिक गरेको छ । परीक्षा नियन्त्रण कार्यालयले सोमबार राति नतिजा प्रकाशन गरेको हो । यस बर्षको एसइईमा ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।

एसइई परीक्षामा सबैभन्दा बढी जीपीए (३.६० देखि ४.००) ल्याउने विद्यार्थीको संख्या ४८ हजार ३९२ रहेको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । त्यस्तै जीपीए (३.२० देखि ३.६०) सम्म ल्याउने विद्यार्थीको संख्या ८० हजार ३७२ रहेको छ भने २.८० देखि ३.२० सम्मको जीपीए ल्याउने विद्यार्थीको संख्या ९४ हजार २२२ रहेको छ ।

त्यसैगरी ५५ हजार ९७७ विद्यार्थीले यस वर्ष २.४० देखि २.८० जीपीए ल्याएको बोर्डले जनाएको छ । जीपीए २.०० देखि २.४० सम्म ल्याउने विद्यार्थीको संख्या ५ हजार १९० रहेका छन् भने १.६० देखि २.०० जीपीए ल्याउने विद्यार्थीको संख्या ७ जना रहेको बोर्डले जानकारी दिएको छ ।

कार्यालयले केहीबेरमा एसइई २०८२ को नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजा एसएमइस,आईभीआर र वेबसाइटबाट हेर्न सकिने व्यवस्था गरिएको जानकारी दिएको छ । जसअनुसार नेपाल टेलिकमको १६०० नम्बरमा एसएमएस, युएसएसडी र आईभीआर सेवा उपलब्ध हुनेछ । यस्तै जानकी टेक्नोलोजी प्रालिको ३५००१ तथा एम्बिसन गुरु प्रालिको ३१००३ नम्बरमार्फत पनि एसएमएस सेवा प्रयोग गर्न सकिनेछ । साथै अन्य प्राविधिक साझेदारमार्फत् विभिन्न वेबसाइट तथा मोबाइल एपमार्फत् पनि नतिजा हेर्न सकिने व्यवस्था गरिएको छ ।

गत चैत्र १९ देखि २९ सम्म भएको यस बर्षको एसइई परीक्षाको नतिजा एक महिना भित्र प्रकाशित गर्न सरकारले दिएको निर्देशन दिएको थियो ।

यस बर्षको एसइईमा सहभागी हुने विद्यार्थीको संख्या ५ लाख १२ हजार ४२१ रहेको थियो । यो वर्ष पहिलो पटक परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण र सम्परीक्षण गरिएको थियो । हरेक दिन परीक्षा सकिनासाथ उत्तरपुस्तिका परीक्षण गरिएको र प्रत्येक तेस्रो दिनमा अंक जिल्लास्थित शिक्षा विकास तथा समन्वय एकाइमा उपलब्ध गराइने गरि व्यवस्थापन गरिएको थियो । त्यस्तै परीक्षा सकिएको चौथो दिनमा विद्यार्थीले प्राप्त गरेको अंक परीक्षा नियन्त्रण कार्यालयमा आइपुग्ने गरी व्यवस्था मिलाइएको थियो ।एभरेष्ट न्यूज एजेन्सी

सागर संगम ठाकुर रौतहट बैशाख १८ गते

रौतहटको देवाही गोनाही नगरपालिका–९ धरहरीमा पछिल्लो समय विकास निर्माणका कार्यहरूले तीव्रता पाएका छन्। वडा अध्यक्ष वीर बहादुर साहले वडामा रहेका अधुरा योजनालाई प्राथमिकतामा राख्दै निर्माण कार्यलाई अगाडि बढाइरहेका छन्। वडाको करिब रु ४५ लाख रुपैयाँको लागतमा नयाँ सडक तथा नाला निर्माण, श्मशान घाटमा तटबन्ध निर्माण, सडक ढलान तथा माटो भर्ने काम । इदगाहमा ट्रस्ट भवन निर्माणका कामहरू धमाधम सञ्चालन भइरहेका छन् । यी कार्यहरू आर्थिक वर्ष २०८२÷८३ अन्तर्गतका वडा स्तरीय योजनाबाट भइरहेको वडा अध्यक्ष साहले जानकारी दिनुभयो। वडा अध्यक्ष साहका अनुसार, वडा कार्यालयका लागि निःशुल्क उपलब्ध गराइने जग्गामा दुई वटा नयाँ सडक निर्माण भइरहेको छ। त्यसैगरी जय किसान बहुप्राविधिक शिक्षालय परिसरस्थित बौद्वीमाई मन्दिरदेखि स्थानीय रामबालक राय यादवको खेतसम्म करिब १५० मिटर लामो, १ मिटर चौडा र ३ फिट गहिराइको नाला निर्माण भइसकेको जानकारी दिए । त्यस्तै मुसलीमहरुको इदगाहमा ट्रस्ट भवन निर्माण गर्ने बताएका छन । मुस्लीम समुदायमा मान्छे मरेपछि इदगाहमा शवलाई गाडने परमपरा रहेको छ । वडा अध्यक्ष साहका अनुसार मुस्लीमहरुको शवलाई इदगाह सम्म लैजान प्रयोग गरिने खटोला राख्नको लागि तिन मिटर चौडा र चार मिटर लम्बाई भएको एउटा ट्रस्ट भवन निर्माण गर्न लागिएको बताए । यसका साथै हिन्दुहरको श्मशान घाटमा ढुङ्गाको तटबन्ध निर्माण तथा सडक ढलान, पुरानो ट्रस्ट भवनको प्लास्टर तथा मर्मत सम्भार हुने बताए । त्यस्तै वडा अध्यक्ष साहको घर नजिकै महेन्द्र पण्डितको घरदेखि रामचन्द्र साह भनिने (गोखुल साह) को घरसम्मको पुरानो सडकमा नाला निर्माण तथा माटो भर्ने काम गरिने बताएका छन । उक्त क्षेत्रमा सडकमा नाला नहुँदा वर्षायाममा स्थानीयवासीले ठूलो समस्या भोग्दै आएका थिए। तर अब नाला निर्माणपछि पानी निकासको समस्या समाधान हुने र स्थानीयले सहज आवतजावत गर्न पाउने विश्वास वडा अध्यक्ष साहले व्यक्त गर्नुभएको छ।

रौतहट जिल्लाको गरुडा नगरपालिकाका लेखापाल सत्यनारायण सहनीले विवाह समारोहमा बन्दुक पड्काएपछि उनीमाथि कारबाही हुनुपर्ने माग उठ्न थालेको छ । लेखापाल सहनीले पड्काएको बन्दूकको दृश्य अहिले सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको अवस्थामा उनको आलोचनासंगै शक्ति, पहुँचका कारण समाजमा त्रास वातावरण बनाउन खोजेको भन्दै उनलाई कारबाही गर्न आवाज उठ्न थालेको छ ।

उनको यस हर्कतले सरकारी कर्मचारीको आचरण र कानुनी जिम्मेवारीबारे गम्भीर प्रश्न खडा गरेको छ । गरुडा नगरपालिकामा कार्यरत लेखापाल सहनी सोही नगरपालिकाका वडा नम्बर ३ मलाही टोलमा आफ्ना एक आफन्तको छोरीको विवाह समारोहमा बन्दूक पड्काउँदै गरेको दृश्यसहितको भिडियोमा देखिन्छ ।

उक्त भिडियोमा उनीसंगै रहेका अर्का एक व्यक्तिले पनि बन्दूक चलाएको स्पष्ट देख्न सकिन्छ । घटनाले थप चर्चा तब पायो, जब बन्दूकको गोली लागेर विवाहमा प्रयोग गरिएको महँगो ड्रोन क्यामेरा नष्ट भएको दृश्य सार्वजनिक भयो । लाखौँ मूल्य पर्ने उक्त उपकरण फुटेको घटनापछि सामाजिक सञ्जालमा आलोचना झनै चर्किएको छ ।

सरकारी पदमा बसेका व्यक्तिले सार्वजनिक समारोहमा हतियार प्रयोग गर्नु कति उचित हो भन्ने प्रश्न व्यापक रूपमा उठिरहेको छ । यता लेखापाल सहनीले प्रयोग गरेको बन्दूकको लाइसेन्स छ वा छैन भन्ने विषय पनि स्पष्ट भइसकेको छैन । सम्बन्धित निकायहरू भने घटनाबारे मौनता साँधेका छन् ।

रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भूषालले घटनाबारे जानकारी आएको स्वीकारे । तर यस विषयलाई सुरक्षा समितिको बैठकमा उठाउने भन्दै उनी पन्छिए । त्यसैगरि जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्तासमेत रहेका डिएसपी विष्णु प्रदीप बस्यालले पनि सामाजिक सञ्जालमार्फत भिडियो देखेको जनाउँदै घटनाबारे गरुडा प्रहरी चौकीबाट थप बुझ्ने काम भइरहेको बताए ।

उनका अनुसार हालसम्म प्रहरीसंग सामाजिक सञ्जालमा देखिएको भिडियोबाहेक अन्य आधिकारिक विवरण छैन । गरुडा प्रहरी चौकीले पनि घटनाबारे आफूहरूलाई सामाजिक सञ्जालबाट मात्रै जानकारी आएको बताउँदै विस्तृत विवरण जिल्ला प्रहरी कार्यालयबाट नै जानकारी लिनु भनेका छन् ।

दुवै प्रहरी निकायले एक अर्कासंग बुझ्न भनि जवाफ दिनबाट पन्छिरहेको देखिन्छ । घटना सार्वजनिक भएको एक दिन बितिसक्दा पनि अनुसन्धानको स्पष्ट प्रगति सार्वजनिक नभएकाले स्थानीयवासीहरूमा जिज्ञासा र असन्तुष्टि बढ्दै गएको छ । गरुडा नगरपालिकाका मेयर कन्थमणि प्रसाद कलवारले पनि घटनाबारे जानकारी पाएको बताए ।

उनका अनुसार लेखापाल सहनीसंग एउटा लाइसेन्स प्राप्त बन्दूक रहेको बुझिए पनि विवाह समारोहमा प्रयोग गरिएको बन्दूक त्यहीँ हो वा होइन भन्ने विषय अझै स्पष्ट छैन । यसका साथै, उनले यस्तो कार्य किन र कसरी भयो भन्ने विषयमा प्रहरीले छानबिन गर्न आवश्यक रहेको बताए ।

यस घटनाले सरकारी कर्मचारीको आचरण, सार्वजनिक सुरक्षाको सवाल र कानुनी कार्यान्वयनको प्रभावकारितामाथि गम्भीर बहस शुरु गराएको छ ।जनकपुर टुडे

मलंगवा, ११ बैशाख – सर्लाही सदरमुकाम मलङ्गवामा अवैध रुपमा सञ्चालित ११ वटा स्वास्थ्य संस्था शिल गरिएको छ ।

अनुगमनका क्रममा दर्ता नै नगरिएको भेटिएपछि अस्पताल, पोलिक्लिनिक, हेल्थकेयरलगायतका स्वास्थ्य संस्था शिल गरिएको हो । सदरमुकाम मलङ्गवामा अवैध स्वास्थ्य संस्थाको बिगबिगी रहेको जनगुनासो बढेपछि हिजो जिल्ला प्रशासन, कोष तथा लेखा नियन्त्रक, स्वास्थ्य, नगरपालिका, प्रादेशिक अस्पताल र वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगन्जको टोलीले संयुक्त रुपमा अनुगमन गरेको थियो । त्यसक्रममा अवैध ढङ्गले सञ्चालित स्वास्थ्य संस्था शिल गरिएको सर्लाहीका सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेले उज्यालो अभियानसँग बताए ।

अनुगमन टोलीले सर्लाही पोलिक्लिनिक एण्ड डाइगोनोष्टिक सेन्टर, ठाकुर सेवा उपचार, कल्याण हेल्थ केयर, सिद्धि गणपति पोलिक्लिनिक, प्रेमा हेल्थ केयर सेन्टर, अन्जली पोलिक्लिनिक, महतो क्लिनिक/निलम फार्मेसी, माली मेडिकल, जय माँ सुनैना हेल्थ केयर, लाइफ लाइन मेडिमेयर पोलिक्लिनिक र नाम नभएको एउटा अल्ट्रासाउण्ड गर्ने क्लिनिक बन्द गराएको छ । शिल गरिएकामध्ये चार वटा स्वास्थ्य संस्था दर्ता नभएको पाइएको र अन्य सातवटा स्वास्थ्य संस्था त अनुगमन टोली आएको सुइँको पाउनासाथ बन्द गरेर सञ्चालक नै फरार भएका पाइएको सहायक सिडिओ घिमिरेले जानकारी दिए ।

सञ्चालक नभेटिएको र बन्दसमेत रहेका स्वास्थ्य संस्थामा अनुगमन टोलीले शिल गरेको छ । हिजो बिहानदेखि बेलुकासम्म मलङ्गवाका १६ वटा स्वास्थ्य संस्थाको अनुगमन भएको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ । त्यसमध्ये दर्ता भएर सञ्चालनमा रहेका पाँचवटा स्वास्थ्य संस्थाहरु कुनै नबीकरण गर्नुपर्ने, कुनैले थप कानूनी प्रक्रिया पूरा गर्नुपर्ने अवस्था रहेकाले तिनीहरुलाई एक साताभित्र सबै प्रक्रिया पुरा गर्न निर्देशन दिइएको छ ।

यसअघि २०८१ फागुन अन्तिम साता मधेश प्रदेशका तत्कालिन मुख्यमन्त्री सतीशकुमार सिंहले अनुगमन गर्दा मलङ्गवाका अधिकांश पोलिक्लिनिक तथा अस्पताल अवैध रहेको पाइएपछि बन्द गराएका थिए । त्यसबेला मलङ्गवामा मात्र १९ वटा स्वास्थ्य संस्थाको अनुगमन गर्दा दर्ता नै नभएका र मापदण्ड नपुगेकासमेत गरेर १५ वटा अस्पताल बन्द गर्न निर्देशन दिइएको थियो ।

अवैध रुपमा सञ्चालित क्लिनिक तथा अस्पतालहरुले बिरामीलाई मनपरी औषधोपचार गर्ने, चर्को शुल्क असुल्ने, अदक्ष स्वास्थ्यकर्मी राखेर बिरामीको स्वास्थ्यमा खेलवाड गर्नेजस्ता गुनासो आउने गरेको छ । एक वर्षअघि तत्कालिन मुख्यमन्त्री सिंहले सर्लाहीको मलङ्गवा, लालबन्दी, नवलपुर, हरिवन, नयाँरोड, बरहथवालगायतका स्थानमा बन्द गराएका त्यस्ता अस्पताल अहिले खुलेयाम सञ्चालनमा रहेका छन् ।

अनुगमनको प्रमुख जिम्मेवारी पाएका स्थानीय तहले यसतर्फ ध्यान दिएका छैनन् । केही महिनाअघि मात्र लालबन्दी नगरपालिका–१, नवलपुरमा अवैध रुपमा सञ्चालित एक आयूर्वेद औषधालयमा उपचारका लागि ल्याइएकी किशोरीको मृत्यु भएको थियो । पछिल्लो समय नवलपुर क्षेत्र अवैध पोलिक्लिनिक र अस्पतालको ‘हब’ नै बनेको स्थानीयको भनाइ छ ।

गत वर्ष अस्पताल अनुगमनको क्रममा स्वास्थ्यकर्मीसँग हातपात भएपछि मुद्दा झेल्नु परेको भन्दै लालबन्दी नगरपालिकाका जनप्रतिनिधि अस्पतालको अनुगमनका लागि हच्किएका छन् । लालबन्दी नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख मुमताज मिकरानीले गत वर्षको घटनापछि जनप्रतिनिधिहरु डराएकाले स्वास्थ्य संस्थाहरुको अनुगमन गर्न नसकिएको स्वीकार गरेका छन् ।

स्वास्थ्य शाखा प्रमुख मिकरानीले अवैध अस्पताललाई बारम्बार पत्र काटेर तथा अनुगमनकै क्रममा पनि तत्काल बन्द गर्न निर्देशन दिए पनि अटेरी गर्ने परिपाटी रहेको बताए ।उज्यालो अभियान

काठमाडौं । आज बैशाख कृष्णऔँसी अर्थात आजको दिनलाई मातातीर्थ औंशी पनि भनिन्छ । यसैगरी आजको दिनलाई आमाको मुख हेर्ने दिन पनि भनिन्छ, अझ सजिलोका लागि बोलीचालीको भाषामा आमा खुवाउने औँसी पनि भनिन्छ ।

आजको दिनमा जीवित आमाको दर्शन गरी मीठो खान लाउन दिई, आमालाई मनपर्ने मिष्ठान्न, लुगाफाटो लगायत उपहारद्वारा सम्मान र कृतज्ञता अर्पण गर्ने  सम्मान गरिन्छ भने दिवङ्गत आमाको सम्झनामा तर्पण, पिण्ड दान र श्राद्ध गरी यो पर्व मनाईदै आएको छ । आजको दिनमा मातातीर्थ  सम्झना गरिन्छ ।

सनातन धर्मले मातापिताको दैनिक दर्शन, पूजन, सेवा, भोजन आदि गराउन अनादिकाल देखि नै सिकाउँदै आएको छ । तर सबै सन्ततिलाई दैनिक रूपमा मातापिताको समिप रहन र उनीहरुको सेवासुश्रूषा गर्न सम्भव नहुने भएकाले त्यही पवित्र कर्मको वार्षिक उत्सवको रूपमा मातातीर्थ औंसी तथा बैशाख कृष्ण औँसीलाई लिइएको हो ।

पहिलो किवदन्ती

त्रेतायुगमा दशरथपुत्र मर्यादा पुरुषोत्तम श्रीराम वनवास कालमा लक्ष्मण र सीताका साथमा घुम्दै हालको मातातीर्थको स्थलमा पुगे । तर, भगवान राम भन्ने थाहा नपाएर अपरिचित ब्यक्ति सम्झदै  स्थानीयले उनीहरु माथी आक्रमण गर्न सुरु गरे । त्यसपछि श्रीराम र स्थानीयका बीचमा घमसान युद्ध भयो । सो घमसान युद्धमा दुवै पक्ष थकित र भोक–प्यासले आकुलब्याकुल भए । माता सीता पनि प्यासले आकुल ब्याकुल भईन ।  माता सिता पानि प्याँसले आकुल ब्याकुल भए पछि भगवान रामले वरिपरि पानीको खोजी गरे कतै पनि पिउनका लागि पानी भेटिएन । पानी कतै पनि नभेटिएपछि भगवान् श्रीरामले गंगा मातालाई पुकार्न थाले । ‘माता गंगासमो तीर्थ पिता पुस्कर मे वचः’ भन्दै जब श्रीरामले माता गंगालाई पुर्कादै जमिनमा बाण प्रहार गरे, छेउमै पानीको कुण्ड बन्यो । उक्त कुण्डमा पानी उघाउन जाँदा सीताजीले सारा ब्रह्माण्डको दर्शन पाइन । कुण्डको जलमा उनको छाया पर्नासाथ भित्रको ढुंगामा उनको मूर्ति समेत कुँदिन पुग्यो । यसरी साक्षात् गंगा मातालाई आह्वान गरी भगवान् श्रीरामले उत्पत्ति गरेको पवित्र कुण्डलाई मातातीर्थ भनिन थालिएको धार्मिक मान्यता छ ।

अर्को किवदन्ती

प्राचीन समयमा गाई चराउन आएका गोठालाहरूले कुण्डको नजिकै बसेर खाजा खाइरहेका थिए । एउटा गोठालाले रोटी खान खोज्दा मुखमा रोटी नपरी नजिकैको कुण्ड भएतिर जान थाल्यो । रोटीको पछि लागेर कुण्डमा गएर हेर्दा त्यो गोठालोले मृत्यु भईसकेकी आमाको दर्शन पाएछ । घर फर्कने बेलामा गोठालाले आमालाई सँगै घर लाने र आमाबिना एक्लै नफर्कने जिद्दी गर्न थाले ।

त्यसपछि कुण्डमा छाँयाको रुपमा आएकी आमाले छोरालाई प्रत्येक वैशाख औंसीको दिन यस तीर्थमा सन्तानलाई आशीर्वाद दिन आउने वाचा गर्दै जिद्धी गर्दै गरेका छोरालाई घर फर्काइन् ।

मृतक आमा पनि मातातीर्थमा आउने जनविश्वास रहदैँ आएको छ ।  कुण्डमा आज पनि दिवंगत आमाहरू आई सन्तानले दिएको पिण्ड–तर्पण प्राप्त गरी पूर्वयात्रामा फर्किन्छन् भन्ने विश्वासले यस पवित्रस्थललाई मातातीर्थ भनिएको हो । एभरेष्ट न्यूज एजेन्सी

काठमाडौं, जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी काठमाडौँ नागार्जुन नगरपालिका-२ पानधारा बस्ने सुर्खेत वीरेन्द्रनगर नगरपालिका-१२ चनौटे घर भएका ४२ वर्षीय ईन्द्र बहादुर नेपालीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

उच्च अदालत पाटनको २०८१ असार ३० गतेको फैसलाले जबरजस्ती करणी मुद्दामा १० वर्ष कैद र १ लाख रूपैयाँ जरिवाना सजाय ठहर भई फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले काठमाडौं नागार्जुन नगरपालिका-२ पानधाराबाट पक्राउ गरेको हो ।

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत ललितपुर पेश गरिएको छ ।  एभरेष्ट न्यूज एजेन्सी,

अर्जुन यादव,रौतहट,२९ गते पुस ।

रौतहट जिल्लाको देवाही गोनाही नगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृतका रूपमा पवन कुमार केशरीले औपचारिक रूपमा कार्यभार सम्हालेका छन्। नगरपालिकामा आयोजित एक संक्षिप्त तर अर्थपूर्ण कार्यक्रमबीच नगर प्रमुख प्रेमलाल साह र उप–प्रमुख परनिया देवी पटेलको रोहवरमा प्रमुख प्रशासकीय अधिकृत केशरीले पदभार ग्रहण गरेका हुन्।

कार्यभार ग्रहण कार्यक्रममा नगरपालिकाका विभिन्न शाखाका कर्मचारी, स्थानीय राजनीतिक दलका प्रतिनिधि तथा सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा बोल्दै नगर प्रमुख प्रेमलाल साहले नयाँ प्रमुख प्रशासकीय अधिकृतलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै नगरपालिकाको समग्र विकास, सुशासन र सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने दिशामा सहकार्यको अपेक्षा व्यक्त गरे। उप–प्रमुख परनिया देवी पटेलले पनि नगरवासीको हितलाई केन्द्रमा राखी पारदर्शी र जवाफदेही प्रशासन सञ्चालन गर्न आग्रह गरिन्।

नव नियुक्त प्रमुख प्रशासकीय अधिकृत पवन कुमार केशरीले आफ्नो जिम्मेवारीप्रति प्रतिबद्धता जनाउँदै नगरपालिकाको प्रशासनिक कार्यलाई चुस्त, प्रभावकारी र जनमैत्री बनाउने बताए। उनले कर्मचारीहरूबीच समन्वय, नियम–कानुनको पालना र सेवा प्रवाहमा गुणस्तर अभिवृद्धिलाई प्राथमिकतामा राख्ने स्पष्ट पारे। साथै, स्थानीय तहमा देखिएका समस्या समाधानका लागि जनप्रतिनिधि, कर्मचारी र समुदायसँग मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे।

अर्जुन यादव,रौतहट,१० गते पुस ।

रौतहटको बौधिमाई नगरपालिकामा लागू औषध दुव्र्यसनविरुद्ध विशेष जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। जेन्जी २.० र जिल्ला प्रहरी कार्यालय रौतहटको संयुक्त आयोजनामा तथा समुदाय–प्रहरी साझेदारीअन्तर्गत सञ्चालन गरिएको उक्त अभियानको उद्देश्य लागू औषध दुव्र्यसनको रोकथाम र नियन्त्रणका उपायबारे जनचेतना फैलाउनु रहेको थियो।

नगर प्रमुख प्रदीप कुमार यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिका रूपमा प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालको उपस्थिति रहेको थियो। कार्यक्रममा लागू औषधले समाज, विशेषगरी युवापुस्तामा पार्ने नकारात्मक प्रभाव, यसको कारण तथा रोकथामका उपायबारे विस्तृत छलफल गरिएको थियो।

कार्यक्रमकै क्रममा प्रहरी उपरीक्षक रविन कार्की र प्रमुख जिल्ला अधिकारी भुसालले बौधिमाई नगरपालिका अन्तर्गत पर्ने बन्कुल बजार क्षेत्रमा संयुक्त अनुगमन गरेका थिए। अनुगमनले बजार सुरक्षा, व्यापारिक गतिविधि तथा समग्र शान्ति–सुरक्षाको अवस्थाबारे अवलोकन गरेको जनाइएको छ।

यस्तै, वडा नंम्बर ५ कोपवाको सामुदायिक भवनमा कक्षा ८, ९ र १० मा अध्ययनरत सामुदायिक विद्यालयका विद्यार्थी तथा शिक्षक–प्रधानाध्यापकहरूको उपस्थितिमा जनचेतनामूलक प्रशिक्षण कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा प्रहरी नायव निरीक्षक तेजप्रताप सिंहले लागू औषधका प्रकार, असर, कानुनी प्रावधान तथा बच्ने उपायबारे जानकारी गराएका थिए।

कार्यक्रममा जेन्जी २.० का जिल्ला संयोजक सोनू कुशवाहा, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान, नगर उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्षहरू, शिक्षक, सुरक्षाकर्मी तथा सयौँ विद्यार्थीहरूको सहभागिता रहेको थियो। सहभागी वक्ताहरूले लागू औषधमुक्त समाज निर्माणका लागि परिवार, विद्यालय, समुदाय र राज्यको संयुक्त भूमिका अपरिहार्य रहेकोमा जोड दिएका थिए।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।