२०८३ भाद्र ४
२०८३ भाद्र ४

काठमाडौ, २३ असोज ।

अरुण काबेली पावरले असोज ३० गतेदेखि २० लाख १४ हजार ८१७ कित्ता सेयर लिलामीमा बेच्ने भएको छ ।

 

कम्पनीले सर्वसाधारण समूहको सेयर बिक्री गर्न लागेको हो । यस लिलामीमा लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुनुपर्नेछ । यसमा न्यूनतम १०० कित्ता देखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । आवेदन दिने अन्तिम म्याद कात्तिक १४ गतेसम्म रहेको छ ।

 

यसमा बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट बैंकिङले गर्नेछ । यसअघि कम्पनीले भदौ ११ देखि ३१ गतेसम्म १ करोड ८५ लाख ५२ हजार १०५ कित्ता शतप्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको थियो । सो अवधिमा कम्पनीले बिक्री नभएको बाँकी सेयर कम्पनीले लिलामीमा ल्याउन लागेको हो ।

काठमाडौं, २३ असोज ।

नेपाली कांग्रेसले कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापाको नेतृत्वमै सरकार बनाउने निर्णय गरेको छ ।

 

सभापति शेरबहादुर देउवा निवास धुम्बराहीमा मंगलबार  बसेको पार्टीको पदाधिकारी, पूर्वपदाधिकारीसहित नेताहरुको बैठकले कोशी प्रदेशमा संसदीय दलका नेता उद्धव थापाको नेतृत्वमै सरकार बनाउने र यसका लागि आवश्यक पहल गर्ने निर्णय गरेको हो ।

राप्रपाको सहयोग लिएर थापाको नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय गरेको पार्टी प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए ।

उनका अनुसार थापाको नेतृत्वमा सरकार बनाउने विषयमा पार्टीभित्र मतभेद छैन ।

काठमाडौं, २३ असोज ।

काठमाडौं र कालिकोटबाट लागुऔषदसहित ६ जना पक्राउ परेका छन् ।

काठमाडौको बुढानीलकण्ठ नगरपालिका-३ बुढानिलकण्ठ मन्दिर नजिकैबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ८ ग्रामसहित सोही नगरपालिका-५ बिष्णुमती बस्ने सुनसरी धरान उपमहानगरपालिका-१२ घर भएका २० वर्षीय सन्दिप भन्ने समिर राईलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी प्रभाग बुढानिलकण्ठबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । साथै अनुसन्धानको क्रममा लागूऔषध ओसारपसारमा संलग्न रहेको खुल्न आएका अन्य २ जनालाई समेत काठमाडौं चाबहिलबाट प्रहरीले नियन्त्रणमा लिएको छ ।

कालिकोटको खाँडाचक्र नगरपालिका-२ जितेगडाबाट मान्मतर्फ जाँदै गरेको भे.१ च ४३९१ नम्बरको बलेरो गाडीमा सवार भारत घर भएका २५ वर्षीय अबिशेक कुमार कस्यापसहित ३ जनालाई अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ७ ग्राम १ सय ५० मिलिग्रामसहित प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट हुल्मबाट खटिएको प्रहरीले गाडी जाँच गर्ने क्रममा उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

सुनसरी, २३ असोज।

इटहरी उपमहानगरपालिका-१७ मझौरा बस्ने ३२ वर्षीया कमला तामाङको हत्या गरेको अभियोगमा भोजपुर साल्पा सिलिचोक गाउँपालिका-९ बस्ने ४९ वर्षीय निमा तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।

सामान्य विवादको क्रममा कमाललाई खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय पकलीबाट खटिएको प्रहरीले निमालाई खुकुरीसहित पक्राउ गरेको हो ।

गम्भीर घाइते भएकी कमलाको धरान घोपा हुँदै न्युरो अस्पताल विराटनगरमा थप उपचारको क्रममा मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

लमजुङ २३ असाेज ।

लमजुङमा डेंगु संक्रमितको संख्या दिनानुदिन बढ्दै गइरहेको छ । यो वर्षमा आइतबारसम्म डेंगु संक्रमितको संख्या १२६ पुगेको छ । चालु आर्थिक वर्षको महिला ७० र पुरुष ६६ जनामा डेंगुको संक्रमण देखिएको स्वास्थ्य कार्यालय लमजुङले जनाएको छ ।

 

जिल्लाका ८ पालिका मध्ये बेसीशहर नगरपालिकामा डेंगु संक्रमितको संख्या धेरै रहेको पाइएको छ । स्वास्थ्य कार्यालयको तथ्याङ्क अनुसार संक्रमित बेसीशहर नगरपालिका ३५ जना, मध्यनेपालमा ३१ रहेका छन भने त्यसपछि सुन्दरबजार नगरपालिकामा ३० जना संक्रिमित रहेका छन् । अन्य सबै पालिकामा डेंगु संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

 

डेंगु रोकथाम तथा न्युनिकरणका लागि आफ्ना घर वरीपरी पानी जम्ने खाल्डा खुल्डी नराख्न र सरसफाई गर्नुपर्ने स्वास्थ्य कार्यालयका प्रमुख प्रविणकुमार खनालले बताए । यसको जोखिम पानी पर्ने सिजन नसकिदा हुन सक्छ । सामान्यतया आउँदो कात्तिक १५ गतेसम्म रहन सक्छ, त्यस बेलासम्म सबै सचेत रहन आवश्यक रहेको स्वास्थ्यकर्मीहरुले भनाई छ ।’

लामखुट्टेबाट बच्नका लागि काम गर्दा पूरा बाहुला भएको लुगा लगाउन, घरको झ्याल ढोकामा जाली हाल्न, सधैँ झुल टाँगेर मात्र सुत्नु पर्छ । एडिस जातिका पोथी लामखुट्टेको टोकाइबाट हुने यो रोग लाग्दा ज्वरो आउने, असाध्यै टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, टाउको, पेट, ढाड, जोर्नी तथा मांसपेसी दुख्ने, शरीरमा बिमिरा आउने, वाकवाकी लाग्ने, नाक वा गिजाबाट रगत बग्ने, बेहोस हुनेजस्ता लक्षण देखापर्दछ ।

 

नेपालमा डेंगु सङ्क्रमण देखापर्न थालेको १९ वर्ष भयो । सन् २०२२ मा ५४ हजार ७८ जनामा पुष्टि हुँदा ८८ जनाको ज्यान गएको थियो ।

धनगढी, २३ असाेज  ।

सहमतिमा अध्यक्ष टुग्याउने प्रयत्न गरिएको सुदूरपश्चिम प्रदेशमा एमालेका चारजनाले अध्यक्षमा उम्मेदवारी दिएका छन् ।

उम्मेदवारी दिनेमा  प्रदेश कमिटीका वर्तमान उपाध्यक्ष कमल तिमिल्सिना, प्रदेश सचिवालय सदस्य कृष्णप्रसाद जैसी, भरतबहादुर साउद र बचनबहादुर सिंह रहेका छन्  । उम्मेदवारी दिने चार मध्य वचन बहादुर सिंह कञ्चनपुरका हुन् भने बाँकी तीन जना अछामका रहेका छन् ।

 

निर्वाचन समितिले मंगलबार बिहान ७ बजेदेखि साढे ९ बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय तोकेको थियो। अहिले पनि उम्मेदवारी दर्ता भइरहेको छ।

साढे ११ बजेसम्म उम्मेदवारी दर्ताको समय रहेको प्रमुख निर्वाचन अधिकृत पदम पालले जानकारी दिए। उम्मेदवारी फिर्ता गर्न निर्वाचन समितिले साढे १२ बजेदेखि २ बजेसम्मको समय दिएको छ।

निर्वाचन तालिकाअनुसार मंगलबार दिउँसो साढे २ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ। निर्वाचन समितिले दिउँसो साढे २ बजे अन्तिम नामावली प्रकाशन गर्ने र बेलुकी ५ बजेदेखि मतदान सुरू गर्ने बताएको छ।

काठमाडौ, २३ असोज

।  सुनको भाउ लगातार ३ दिन बढेको छ । यो ३ दिनमा सुनको भाउ १६ सय रुपैयाँले बढ्न पुगेको छ । जसमा, आइतबार र सोमबार सुनको भाउ क्रमशः ३०० र १ हजार रुपैयाँले बढेको थियो । त्यसैगरी, सुनको भाउ आज पनि ३०० रुपैयाँले बढेको छ ।

 

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ३०० रुपैयाँले बढेर १ लाख ८ हजार ९०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ८ हजार ४०० रुपैयाँ निर्धारण भएको छ ।

 

यसअघि, सोमबार छापावाल सुन १ लाख ८ हजार ६०० रुपैयाँ कायम रहेको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख ८ हजार १०० रुपैयाँ निर्धारण भएको थियो ।

 

यता, आज चाँदीको भाउ भने प्रतितोला ५ रुपैयाँले घटेर १४ सय ४० रुपैयाँ कायम भएको छ । सोमबार चाँदीको भाउ प्रतितोला १४ सय ४५ रुपैयाँ कायम रहेको थियो ।

काठमाडौ, २३ असोज । 

प्रभु बैंकले संस्थापक सेयरधनी विनोद थकालीको नाममा रहेको १ लाख ५२ हजार ८०५ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । यसमा बैंकका विद्यमान संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । बैंकले सेयर भाउ भने तोकेको छैन ।

सेयर खरिद गर्न इच्छुक संस्थापकले आज (असोज २३ गते) बाट ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय बवरमहल, काठमाडौंमा निवेदन पेश गर्नु पर्नेछ । उक्त समयमा संस्थापक सेयरधनीको आवेदन परेन भने अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री गरिने बैंकले जनाएको छ ।

लण्डन, २३ असाेज।

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आफ्नो स्थापना दिवस मनाउने तयारी गरेको छ । गैरआवासीय नेपाली संघका महासचिव गौरीराज जोशीका अनुसार संघले परम्परागत रुपमा भोलि  बुधवार (अक्टोवर ११) तारिखमा पुजापाठ गरेर सो दिवस बनाउने तयारी गरेको हो ।

संघका अनुसार बुधबार बिहान ७ देखि ८.३० बजे सम्म स्वयम्भूमा गैरआवासीय नेपालीहरु जम्मा भएर पुजापाठ गर्ने छन् । यस्तै विहान ९.१५ देखि १०.३० बजे सम्म पशुपतिनाथको दर्शन गर्ने कार्यक्रमतय गरिएको छ।

 

यस्तै दिउंसो संघको केन्द्रीय कार्यालयमा रक्तदान, एनआरएनए फाउण्डेशनको साधारण्सभा, भवन कृतिरत्न अवार्ड वितरण लगायत ९ औं राष्ट्रिय खेलकुदका विजेता खेलाडिहरुको सम्मानमा एक कार्यक्रमको आयोजना  गरिने संघका समाचार संयोजक चिरन शर्माले जानकारी दिए ।

 

गैरआवासीय नेपाली संघको ११ औं महाधिवेसन १७ अक्टोबरदेखि औपचारिक रुपमा सुरु हुने छ । सो महाधिवेसनको उद्धघाटन राष्ट्रिपति रामचन्द्र पौडेलले गर्ने भएका छन् ।

 

संघको नयाँ नेतृत्वको लागि निर्वाचन १९ अक्टोवरमा हुने कार्यतालिकतय गरिएको छ ।

काठमाडौं,२३ असोज ।

कालीगण्डकी र यसका सहायक नदीहरुमा निर्माण हुने जलविद्युत आयोजनाहरुको विद्युत राष्ट्रिय प्रणालीमा समाहित गर्नका लागि कालीगण्डकी करिडोर २२० केभी डबल सर्किट प्रसारण लाइन निर्माण सम्पन्न भएको छ ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दाना सबस्टेसनबाट सुरु भई पर्वत, बागलुङ, स्याङ्जा, पाल्पा, रुपन्देही हुँदै नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सुनवल नगरपालिका–१३ भुमहीस्थित नयाँ बुटवल सबस्टेसनसम्मको करिब १४० किलोमिटर डबल सर्किट प्रसारण लाइन निर्माण सम्पन्न भएको हो । प्रसारण लाइन निर्माण सम्पन्न भएसँगै करिब १२०० मेगावाटसम्म विद्युत् प्रसारणका लागि पूर्वाधार तयार भएको छ ।

नेपाल विद्युत प्राधिकरणले प्रसारण लाइनलाई दुई खण्डमा विभाजन गरी निर्माण गरेको थियो । पहिलो खण्डअन्तर्गत दानादेखि पर्वतको कुश्मा नगरपालिका–२ खुर्कोटसम्मको करिब ४० किलोमिटर प्रसारण लाइन निर्माण सम्पन्न भई सञ्चालनमा आइसकेको छ । पहिलो खण्डमानै खुर्कोटमा २२०/१३२ केभी र दानामा २२०/१३२/३३ केभी सबस्टेसन निर्माण सम्पन्न भई सञ्चालनमा छन् । दुवै सबस्टेसनमा १००/१०० एमभिए क्षमताका पावर ट्रान्सफर्मरहरु राखिएका छन् ।


दोस्रो खण्डअन्तर्गत कुश्माबाट नयाँ बुटवल सबस्टेसनसम्मको करिब ९० किलोमिटर प्रसारण लाइन निर्माण सम्पन्न गरी सोमबारबाट चार्ज गरी सञ्चालनमा ल्याइएको छ । यस खण्डमा २३६ वटा टावरहरु निर्माण गरिएको छ । सुनवल नगरपालिका–१३ बडेराबाट नयाँ बुटवल सबस्टेसनसम्म २२० केभीको चार सर्किट (मल्टी सर्किट) लाइनका लागि टावरहरु निर्माण गरिएको छ । नयाँ बुटवलमा २२० केभीको सबस्टेसन निर्माण गरिएको छ । दोस्रो खण्ड सञ्चालनमा आएसँगै कालीगण्डकी करिडोर प्रसारण लाइन निर्माण सम्पन्न भएको हो ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कालीगण्डकी करिडोर प्रसारण लाइन सञ्चालनमा आएपछि एकीकृत विद्युत् प्रणालीको विश्वसनीयता बढ्ने र नवलपरासी, रुपन्देहीलगायतका क्षेत्रको भोल्टेज सुधार हुने बताए ।

‘प्रसारण लाइनको क्षमताले नधान्दा कुश्मा सबस्टेसनबाट मोदीतर्फ थप विद्युत् पठाउन नसक्दा म्याग्दीमा सञ्चालित ४० मेगावाटको मिस्त्री खोला जलविद्युत् आयोजनाको पूरै विद्युत् प्रवाह हुन सकिरहेको थिएन भने लमजुङको दोर्दी खोला करिडोरमा निर्माण भएका आयोजनाहरुको विद्युत् प्रसारणमा पनि समस्या थियो, कालीगण्डकी करिडोर सञ्चालनमा आएसँगै मिस्त्रीलगायतका आयोजनाहरुको विद्युत् पूर्ण रुपमा प्रसारण गर्न सकिन्छ,’ कार्यकारी निर्देशक घिसिङले भने, ‘त्यस क्षेत्रको विद्युत् प्रसारणको समस्या समाधान भएको छ, आयोजनाहरुबाट उत्पादित विद्युत् पूर्ण रुपमा प्रवाह हुने हुँदा देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् भारतर्फ थप निर्यात गर्न सजिलो हुनेछ।’

दाना सबस्टेसनमा ४२ मेगावाटको मिस्त्री खोला, १४ मेगावाटको घार खोला, १३.६ मेगावाटको थापा खोला र ५ मेगावाटको घलेम्दी खोला जलविद्युत् आयोजनाहरुको ७४.६ मेगावाट विद्युत् जोडिएको छ । उक्त आयोजनाहरुबाट उत्पादित विद्युत् स्थानीय रुपमा खपत गरी बाँकी कालीगण्डकी करिडोर प्रसारण लाइन हुँदै नयाँ बुटवल सबस्टेसनतर्फ प्रवाह गरिएको छ ।


मुस्ताङ, म्याग्दीलगायतका जिल्लाहरुमा निर्माणाधीन तथा निर्माण हुने जलविद्युत आयोजनाहरुको विद्युत् पनि यही प्रसारण लाइनमा जोडी राष्ट्रिय प्रणालीमा समाहित गरिनेछ । रुख कटान अनुमति प्रक्रियामा भएको ढिलाइ, स्थानीयको अवरोध, कोभिड–१९को महामारीलगायतका कारणले कालीगण्डकी करिडोर प्रसारण लाइन निर्माण प्रभावित भएको आयोजना प्रमुख चन्दन घोषले बताए ।

पर्वतको फलेवास नगरपालिका–६का स्थानीयले प्रसारण लाइन निर्माणबाट देवीस्थानस्थित विद्यालय र रंगशालामा क्षति पुग्ने भन्दै तीन वर्षभन्दा बढी  प्रसारण लाइनको रुट सार्न माग गर्दै निर्माणमा अवरोध गरेका थिए । स्थानीयको अवरोधका कारण फलेवासमा प्रसारण लाइनका ४ वटा टावरहरु निर्माण प्रभावित भएको थियो ।

प्राधिकरणको उच्च व्यवस्थापन र आयोजनाको निरन्तरको पहलपछि समस्या समाधान गरी प्रसारण लाइन निर्माण गरिएको थियो । कुश्मा–नयाँ बुटवल खण्ड निर्माणका लागि भारतीय कम्पनी एल एण्ड टीसँग २०७४ मंसिरमा ठेक्का सम्झौता भएको थियो । उक्त सम्झौता २०७४ पुसबाट कार्यान्वयनमा आएको थियो ।

नेपाल सरकार तथा प्राधिकरणको लगानी र एसियाली विकास बैंकको दक्षिण एशिया उपक्षेत्रीय आर्थिक सहयोग (सासेक)अन्तर्गत विद्युत् प्रणाली विस्तार परियोजनाबाट प्राप्त सहुलियतपूर्ण ऋणमा कालीगण्डकी करिडोर प्रसारण लाइन आयोजना निर्माण गरिएको हो । आयोजनाको अनुमानित लागत करिब ११ अर्ब रुपैयाँ छ ।


नयाँ बुटवल सबस्टेसनबाट बर्दघाटसम्मको लाइन निर्माण सम्पन्न भएपछि हेटौंडाबाट नयाँ बुटवलसम्म २२० केभी प्रसारण लाइन पूर्वाधार संरचना तयार हुने छ । नयाँ बुटवल–बर्दघाट २१ किलोमिटर प्रसारण लाइन आगामी पुसभित्र सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ । अहिले हेटौंडाबाट भरतपुर हुँदै बर्दघाटसम्मको २२० केभी प्रसारण लाइन निर्माण सम्पन्न भई सञ्चालनमा आइसकेको छ ।भारतसँगको विद्युत् व्यापारका लागि नयाँ बुटवल–गोरखपुर ४०० केभी दोस्रो अन्तरदेशीय प्रसारण लाइन पनि निर्माण गर्न लागिएको छ ।

देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् सोही प्रसारण लाइनमार्फत भारततर्फ निर्यात गरिनेछ । अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)मार्फत प्राप्त हुने अनुदानबाट नयाँ बुटवलमा ४०० केभीको सबस्टेसन र बुटवल–गोरखपुर प्रसारण लाइनअन्तर्गत नेपाल खण्डको निर्माण गरिने छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।