२०८३ भाद्र ४
२०८३ भाद्र ४

मलेखु (धादिङ), २७ असोज :

धादिङको त्रिपुरासुन्दरी–६ गोलाङमा रहेको भीमोदय माध्यामिक विद्यालयले गाउँमै विद्यार्थी टिकाउनका लागि रू १० लाखको अक्षय कोष स्थापना गरेको छ । गोलाङ घर भई हाल अमेरिकामा बस्दै आउनुभएका दिवाकर पाण्डेको परिवारले स्व पिताको सम्झनामा ‘हिक्मतबहादुर पाण्डे–२०८०’ अक्षय कोष स्थापना गरिदिनुभएको हो । जन्मथलोमा रहेको विद्यालयको शैक्षिक गुणस्तर सुधार्ने र पढाइका लागि गाउँ छोड्नुपर्ने बाध्यतामा पुगेका विद्यार्थीलाई गाउँमै टिकाइ राख्ने उद्देश्यले केही रकम छुट्याएर कोषमा स्थापना गरेको उहाँले बताउनुभयो । “विद्यार्थी भाइबहिनीहरु गाउँ छोडेर अन्यत्र जानुपर्ने स्थिति अहिले देखिएको छ । घर आँगनकै विद्यालयबाट गुस्तरीय शिक्षा प्रदान गरेर उनीहरुलाई सहयोग पुर्‍याउने उद्देश्यले कोष स्थापना गरेको हुँ”, एनआरएन अमेरिकाको सहकोषाध्यक्षसमेत रहनुभएका पाण्डेले भन्नुभयो, “विद्यालय स्थापनाका लागि बुबाको भूमिका अहम् थियो । यो कोष उहाँको सम्मानका लागि पनि हो ।” आफू देश बाहिर भए पनि जन्मथलोसँग जोडिएको भावनात्मक सम्बन्धलाई फेरि जोड्नका निमित्त सहयोग गरिएको पाण्डेको भनाइ थियो । कोषका लागि रू १० लाखको चेक हस्तान्तरण गर्न पाण्डेकी श्रीमती इन्दिरा सिंखडा, आमा र दाजु गोलाङ पुग्नुभएको थियो । उहाँहरुलाई विद्यालयका शिक्षकले स्वागत गरेका थिए । विद्यालयमा अक्षय कोष स्थापना भएसँगै आर्थिक अवस्था कमजोर भएर पढाई छोड्नुपर्ने बाध्यता भएकाका विद्यार्थीको शैक्षिक गन्तव्य सुनिश्चितता हुने भएपछि विद्यालयका शिक्षकको भनाइ थियो । रासस

वासिङ्टन डिसी, २७असोज :

हमास आतङ्ककारी समूहको आक्रमणबाट गतहप्ता इजरायलमा मारिएका नेपालीलगायत इजरायल र अरु देशका निर्दोष नागरिकको स्मृतिमा अमेरिकाको मेरिल्याण्डमा दीप प्रज्वलन तथा शोकसभाको आयोजना गरिएको छ । शुक्रबार आयोजित सो कार्यक्रममा मेरिल्याण्ड राज्यका विधायकहरू डा ह्यारी भण्डारी, कार्ल ज्याक्सन, निक एलनसहित, यहाँस्थित स्थानीय नेपाली र अमेरिकी नागरिकको पनि सहभागिता रहेको थियो । सो सभामा उहाँहरुले हमासले इजरायलमाथि आक्रमण गरेर निर्दोष तथा निहत्था मानिसको हत्या गर्नु, बन्धक बनाउनु मानवता विरोधी जघन्य अपराध भएको टिप्पणी गर्दै यस्ता कार्यको जति धेरै निन्दा गरे पनि कम हुने बताउनुभयो । त्यस अवसरमा ड्रिस्ट्रिक्ट¬ ८ का नेपालीमूलका विधायक डा ह्यारी भण्डारीले हमासले इजरायलमाथि आक्रमण गरेर मानवताविरुद्धको गम्भीर अपराध गरेको भन्दै यस्ता जघन्य अपराधमा संलग्नलाई कानुनी कारबाहीको दायरामा ल्याउनुपर्ने बताउनुभयो । इजरायलमा भएको सो हिंसात्मक हमलाबाट अहिलेसम्म झण्डै तीन हजार मानिसको ज्यान गएको र त्यसमा नेपालका १० र अमेरिकाका २२ निर्दोष मानिस परेको जानकारी दिँदै डेलिगेट डा भण्डारीले उहाँहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा समवेदना व्यक्त गर्नुभयो । कार्यक्रममा बाल्टीमोर काउन्टीका काउन्सिलम्यान इजी पातोकाले ७० वर्षअघि भएको यहुदी नरसंहार होलोकास्टको पनि स्मरण गर्नुभएको थियो । मेरिल्याण्डका विधायक कार्ल ज्याक्सनले हमासको आतङ्ककारी हमलाको भत्र्सना गर्दै इजरायलका पक्षमा ऐक्यबद्धता प्रकट गर्नुभयो । विधायक निक एलनले पनि हमासको आतङ्कवादी क्रियाकलापको भत्र्सना गर्दै इजरायलका पक्षमा ऐक्यबद्धता प्रकट गर्नुभयो । उहाँले दीप प्रज्वलन र शोकसभा मानवता र शान्तिका पक्षमा रहेको बताउनुभयो । स्थानीय नेपाली समुदायको प्रतिनिधित्व गर्दै सुदूरपश्चिम समाजका अध्यक्ष दमनविक्रम शाहले गौतम बुद्धको शान्तिको सन्देश अरू सान्दर्भिक भएको बताउँदै नेपाल र नेपाली कहिल्यै पनि हत्या, आतङ्कका पक्षमा नरहेको र नरहने बताउनुभयो ।रासस

भक्तपुर, २७ असोज :

नेपाल भाषा र साहित्यको संरक्षण एवं प्रवर्द्धन गर्ने उद्देश्यले उपत्यकाव्यापी साइकल र्‍याली निकालिएको छ । भक्तपुरको ल्यसिङ्ख्यलमा आगामी कात्तिक ९ र १० गते हुने ४३औँ नेपाल भाषा साहित्य तःमुज्या तथा सांस्कृतिक कार्यक्रमलाई सफल पार्ने आयोजना गरिएको र्‍यालीको बागमती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईंले रिबन काटेर उद्घाटन गर्नुभयो । नेपाल भाषा साहित्यको क्षेत्रमा ‘जनता म्वाःसा भाषा म्वाइ’ भन्ने नाराका साथ जनताको साहित्य र संस्कृति उत्थानको साझा प्रयासमा टेवा पुर्‍याउने उद्देश्यले ४३ वर्षदेखि नेपाल भाषा सहित्य सम्मेलन तथा सांस्कृतिक कार्यक्रम सञ्चालन हुँदै आएको छ । साइकल र्‍याली भक्तपुरको ल्यसिङ्ख्यबाट सुरु भई जगाती, च्यामासिंह, दत्तात्रय, गोल्मढी, सुकुलढोका, तःमार, नासमना, भार्वाच्व, चङ्गा गणेश, राधेराधे, शङ्खधर चोक, बालकुमारी, बहाखा बजार, सानोथिमि, पेप्सीकोला, जडीबुटी, कोटेश्वर, तीनकुने, बानेश्वर, माइतीघर, भद्रकाली, सहिदगेट, न्युरोड गेट, वसन्तपुर, मरू, जैसीदेवल, लगन, भोटेबहाल, टेकु, त्रिपुरेश्वर, थापाथली, कुपण्डोल, पाटन ध्वाका हुँदै न्याखचुक पुगी नेवाःसमयबजी खाने कार्यक्रम रहेको छ । त्यसपछि साइकल र्याली न्याखचुकबाट पाटन, बङ्गलामुखी, स्वथा, मङ्गलबजार, सौगल, ग्वार्को, इमाडोल, सिद्धिपुर, लुभु, सिरूटार, चित्रपुर, गाम्चा, पाण्डुबजार, सूर्यविनायक, राममन्दिर, गःहिती हुँदै ४० किलोमिटरको यात्रा पार गरी पुनःसाँझसम्म ल्यसिङ्ख्यमा पुगेर समापन हुनेछ । रासस

काठमाडौँ, २७ असोज 

पछिल्लो तीन महिनामा मनाङ एयरका दुईवटा हेलिकप्टर दुर्घटना भएपछि नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले उक्त कम्पनीको एओसी (एयर अपरेटर सर्टिफिकेट) निलम्बन गरेको छ । प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार मनाङ एयरले उडान सुरक्षामा ध्यान नदिएकाले तीन महिनाका लागि उसको एओसी निलम्बन गरिएको हो । तीन महिनाको अवधिमा दुईवटा हेलिकप्टर दुर्घटना भएपछि उक्त कम्पनीको एओसी निलम्बन गरिएको हो । “मनाङ एयरको सेवा सञ्चालन प्रमाणपत्र निलम्बन भइसक्यो, तीन महिनामा दुईवटा हेलिकप्टर दुर्घटना भएका छन् अब उक्त कम्पनीसँग हेलिकप्टर पनि छैनन्”, प्रवक्ता भुलले भन्नुभयो, “प्राधिकरणले मनाङ एयरको वस्तुस्थितिका समीक्षा गरेपछि कम्पनी खारेज गर्ने वा निलम्बन फुकुवा गर्ने भन्ने निर्णय हुनेछ ।” प्राधिकरणका अनुसार निलम्बनमा परेको मनाङ एयरले तत्काल हेलिकप्टर ल्याए पनि उडाउन अनुमति पाउने छैन । दुर्घटनाको विस्तृत अध्ययनका लागि प्राधिकरणको प्राविधिक टोली भोलि आइतबार हेलिकप्टर दुर्घटना भएको क्षेत्रमा जानेछ । सोलुखुम्बुको लुक्लाबाट लोबुचे उडेको मनाङ एयरको ‘एन–एनजे’कलसाइन हेलिकप्टर आज बिहान जिल्लाको खुम्बुपासाङल्हामु गाउँपालिका–४ लोबुचेमा दुर्घटना भएको थियो । दुर्घटनामा घाइते भएका पाइलट प्रकाशकुमार सेढाइँको उद्धार गरी अहिले काठमाडौँको ह्याम्स अस्पतालमा उपचार भइरहेको छ । प्राधिकरणको हवाई सुरक्षा प्रतिवेदन ‘एभिएसन सेफ्टी रिपोर्ट–२०२३’ अनुसार हालसम्म नेपालमा विभिन्न कम्पनीका ३९ वटा हेलिकप्टर दुर्घटना भएका छन् । ती दुर्घटनामा ९० जनाको मृत्यु भएको छ । तीन महिनामा दुई हेलिकोप्टर दुर्घटना पछिल्ला तीन महिनामा मनाङ एयरका दुईवटा हेलिकप्टर दुर्घटनाग्रस्त भएका छन् । दुवै दुर्घटना सोलुखुम्बुमा भएका हुन् । गत असार २६ गते मनाङ एयरको हेलिकप्टर दुर्घटना हुँदा चालक दलका एक सदस्यसहित छजनाको मृत्यु भएको थियो ।रासस

काठमाडौँ, २७ असोज :

सर्लाहीको लालबन्दी क्षेत्रका स्थानीय बासिन्दाले एक सय ३२ केभी डबल सर्किट प्रसारण लाइनको स्तरोन्नति (तार फेर्ने)मा अवरोध गरेका छन् । करिब ४१ वर्षअघि निर्माण गरिएको प्रसारण लाइनको मार्गधिकारमा पर्ने जग्गाको मुआब्जा पाउनुपर्ने, उक्त जग्गालाई बैङ्क तथा वित्तीय संस्थामा धितो राखी ऋण लिन पाउनुपर्नेलगायत माग राखी यही असोज १९ गतेदेखि स्थानीयवासीले लाइनको तार फेर्न दिएका छैनन् । नेपाल विद्युत् प्राधिकरणले पूर्व–पश्चिम एक सय ३२ केभी डबल सर्किट प्रसारण लाइनको क्षमता वृद्धि गरी विद्युत् प्रवाह बढाउन मकवानपुरको हेटौँडादेखि धनुषाको ढल्केबर सबस्टेसनसम्मको करिब एक सय ३६ किलोमिटर खण्डमा पर्ने कम क्षमताको पुरानो तारलाई बदलेर नयाँ तार राखी प्रसारण प्रणाली सुधार गर्न लागेको हो । यसबाट त्यस क्षेत्रको विद्युत् आपूर्तिमा सुधार हुने, पश्चिम क्षेत्रमा उत्पादित विद्युत्लाई पूर्वतर्फ सहजै प्रवाह गर्न सकिने, ढल्केबरबाट पश्चिमतर्फ विद्युत् प्रवाहका लागि सजिलो हुने र देशभित्र खपत गरी जोगिएकोे विद्युत्लाई ढल्केबर सबस्टेसनमार्फत भारततर्फ निर्यात गर्न सकिन्छ । ढल्केबर सबस्टेसनबाट सर्लाहीको लालबन्दी नगरपालिका–१ स्थित नवलपुर सबस्टेसनसम्मको करिब ४० किलोमिटर लाइनमध्ये एउटा सर्किटको करिब ३६ किलोमिटर तार फेरिएको छ । लालबन्दी बजार क्षेत्रका स्थानीयको अवरोधका कारण करिब चार किलोमिटर क्षेत्रमा भने काम ठप्प भएको छ । अवरोधका कारण एउटा सर्किट बन्द हुँदा ढल्केबरबाट पश्चिमतर्फ र हेटौंडाबाट पूर्वतर्फ विद्युत् प्रवाह गर्न समस्या हुँदा यसले देशकै समग्र विद्युत् प्रसारण प्रणाली प्रभावित भएको छ । तार बदल्न एउटा सर्किट बन्द गरिएकाले अहिले विद्युत् आपूर्तिमा समस्या भएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले राससलाई बताउनुभयो । “नयाँ प्रसारण लाइन निर्माणमा जताततै अवरोध छ, अब ४०÷४१ वर्षअघि बनेर चालू अवस्थामा रहेको लाइनमासमेत तार फेर्न खोज्दा क्षतिपूर्तिको माग गर्दै अवरोध हुन थालेको छ, यस्तो अवस्थामा काम गर्न कठिन भएको छ । यद्यपि, अवरोध हटाउन हाम्रो तर्फबाट सक्दो प्रयास भइरहेको छ तर त्यो सफल भएको छैन”, कार्यकारी निर्देशक घिसिङले गुनासो गर्नुभयो । तत्काल तार फेर्न नसकिए ढल्केबरबाट थप विद्युत् पश्चिमतर्फ प्रवाह गर्न नसकिने हुँदा आगामी हिउँदमा वीरगञ्जलगायत क्षेत्रमा बाध्यकारी विद्युत्भार कटौती गर्नुपर्ने अवस्था आउन सक्ने भएकाले त्यस्तो संवेदनशील लाइनको काममा अवरोध नगरिदिन कार्यकारी निर्देशक घिसिङले सम्बद्ध पक्षसँग आग्रह गर्नुभएको छ । आयोजना प्रमुख राजेन्द्र कोइरालाले अवरोधका विषयमा सर्लाहीका प्रमुख जिल्ला अधिकारी, लालबन्दी नगरपालिका प्रमुख, प्रहरी प्रमुख, सम्बन्धित वडाका वडाध्यक्ष, स्थानीय बासिन्दासँग पटक–पटक छलफल भए पनि समस्या समाधान हुन नसकेको बताउनुभयो । स्थानीयले आफ्ना माग पूरा नभएसम्म उनीहरुलाई जग्गामा टेक्नै नदिने चेतावनी दिएकाले समस्या बल्झिएको उहाँले दुःखेसो गर्नुभयो । एक सय ३२ केभी प्रसारण लाइनको मध्यविन्दुबाट दायाँबायाँ नौ÷नौ मिटर मार्गधिकार तोकिएको छ । बैङ्क तथा वित्तीय संस्थाले उक्त मापदण्डभन्दा विपरीत ५० मिटरसम्म पर्ने जग्गाको धितो नलिने गरेको स्थानीयले गुनासो गर्दै आएका छन् ।रासस

काठमाडौँ, २७ असोज :

नेपाली काङ्ग्रेसका नेता डा शशाङ्क कोइरालाले पार्टीभित्र रहेको इतिहास र विचारका कारण काङ्ग्रेस अरु पार्टीभन्दा बलियो रहेको बताउनुभएको छ । नेपाली काङ्ग्रेस र नेविसङ्घ लमजुङ–काठमाडौँ सम्पर्क समितिले दसैँ, तिहार तथा छठ पर्वका अवसरमा आज यहाँ आयोजना गरेको ‘शुभकामना आदानप्रदान तथा चियापान’ कार्यक्रममा उहाँले पछिल्लो समय काङ्ग्रेसभित्र बिपीको विचार समाप्त हुने डर रहेको बताउनुभयो । “बिपीको विचारमा उभिएर पार्टी अगाडि बढेकाले आपसी एकताका साथ बिपीको विचार अङ्गालेमा काङ्ग्रेसलाई कुनै शक्तिले हराउन सक्दैन,” नेता कोइरालाले भन्नुभयो । उहाँले बिपी कोइरालाको पहिलो सरकारको पालामा नेपालमा विकासको ढोका खुलेको स्मरण गर्दै देशमा भएको सम्भावनालाई उच्चतम प्रयोग गरी विकास र समृद्धिका लागि पार्टीका नेता कार्यकर्ता लाग्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा काङ्ग्रेसका नेता दीलबहादुर घर्तीले १२ बुँदे सम्झौताका आधारमा देशमा शान्ति र स्थिरता कायम भएको बताउँदै अहिलेको संविधान काङ्ग्रेसको नेतृत्वमा जारी भएकाले कार्यान्वयनको जिम्मेवारी पनि काङ्ग्रेसको काँधमा रहेको उल्लेख गर्नुभयो । काङ्ग्रेस केन्द्रीय सदस्य नानु बाँस्तोला र लक्ष्मी खतिवडाले पार्टीलाई कमजोर बनाउन विभिन्न शक्ति लागेको भन्दै सचेत भएर अगाडि बढ्नुपर्ने बेला आएको बताउनुभयो । काङ्ग्रेस लमजुङका सभापति डा टकराज गुरुङ र पूर्व सभापति भेषबहादुर पौडेलले लमजुङमा पार्टीलाई विजय बनाउन काठमाडौँमा बसोबास गर्ने कार्यकर्ताको ठूलो भूमिका रहेको बताउनुभयो । संविधानसभा सदस्य चन्द्रबहादुर कुँवर, पूर्व सहायकमन्त्री डा रामचन्द्र अधिकारी, काङ्ग्रेस गण्डकी प्रदेशका सङ्गठन विभाग प्रमुख हरि बराल, नेविसङ्घका पूर्व कोषाध्यक्ष शिव रिमाल, नेविसङ्घ लमजुङ काठमाडौँ सम्पर्क समितिका अध्यक्ष डिवी पराजुलीलगायतले लमजुङमा अग्रजले गरेको त्यागलाई आत्मासाथ गर्दै काङ्ग्रेसको सङ्गठन विस्तारमा जुट्नुपर्ने बताउनुभएको थियो । नेपाली काङ्ग्रेस लमजुङ–काठमाडौँ सम्पर्क समितिका सभापति प्रदीपराज अधिकारी, सचिव रमेश अधिकारीलगायतले पार्टीभित्र युवा पुस्तालाई अगाडि बढाउन जरुरी रहेको बताउनुभयो ।रासस

काठमाडौँ, २७ असोज :

नेकपा (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेले लोकतन्त्रमार्फत ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्नुलाई आफ्नो पार्टीको कार्यभार ठानेको बताउनुभएको छ । एसियाली राजनीतिक दलहरूको अन्तर्राष्ट्रिय सम्मेलन (आइक्याप) को ४०औँ स्थायी कमिटी तथा एसिया–युरोप पोलिटिकल फोरमको पाँचौँ वार्षिक बैठकमा अध्यक्ष ओलीले राजनीतिको आदर्श र राजनीतिक दलहरु साँघुरो समूह–सोचबाट निर्देशित हुँदा मानवता प्रताडित हुने भएकाले त्यस साँघुरोपनाबाट बाहिर निस्कनुपर्ने बताउनुभएको हो । “असहिष्णुताले अन्याय जन्माउँछ । सम्पूर्ण मानवलाई नै अन्याय, द्वन्द्व र कठोरतातर्फ उद्वेलित गराउँछ । त्यसैले हामी राजनीतिक स्थायित्व हासिल गर्दै समृद्धिको याात्रामा अघि बढ्नुको विकल्प छैन”, अध्यक्ष ओलीले भन्नुभयो, “प्रकृति र वातावरण संरक्षण गर्दै साझा र दिगो उन्नति हासिल गर्न सबै राजनीतिक दललाई आग्रह गर्दछु ।” अध्यक्षले ओलीले हरेक नागरिकका लागि समान अवसर, न्यायमा पहुँच सुनिश्चित गर्ने सपनालाई कार्यरुप प्रदान गर्न राजनीतिक दलहरु मुख्य साधन हुने भएकाले राजनीतिक दलको भूमिकालाई कमजोर ठान्न नहुने विचार व्यक्त गर्नुभयो । भोलि सम्पन्न हुने उक्त बैठकमा दुई महादेशका साझा भविष्यका निम्ति एसिया र युरोपका राजनीतिक दलका नेता तथा विज्ञबीच समसामयिक विषयमा छलफल हुने एसिया युरोप पोलिटिकल फोरमका सहअध्यक्ष एवं आइक्यापका स्थायी कमिटी सदस्य राजन भट्टराईले राससलाई बताउनुभयो । बैठकमा चीन, दक्षिण कोरिया, भियतनाम, इण्डोनेसिया, थाइल्याण्ड, पाकिस्तान, लेबनान, चेक गणतन्त्र, नेदरल्याण्डस्लगायत मुलुकका २६ राजनीतिक दलका नेता, मन्त्री तथा सांसद गरी ५० जनाभन्दा बढीको सहभागिता छ । रासस

दमौली (तनहुँ), २७ असोज :

नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य शङ्कर भण्डारीले विकास र समृद्धिका लागि सबै दल एकजुट हुनुपर्ने बताउनुभएको छ । नेपाली काङ्ग्रेस व्यास नगर समितिले बडादसैँका अवसरमा आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले अहिलेको मुख्य कार्यभार देशको विकास र समृद्धि भएकाले यसतर्फ सबैको ध्यान केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो । नेता भण्डारीले अन्य कुरामा राजनीतिक दलबीच मतभेद भए पनि विकास र समृद्धिका पक्षमा सबैको साझा एजेण्डा हुनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “सबै दलबीच एकता अहिलेको आवश्यकता हो । अहिलेसम्म जेजे भयो यसको जिम्मा सबै दलले लिनुपर्छ र एक भएर नागरिकका पक्षमा काम गर्नुपर्छ ।” नेता भण्डारीले देशमा धर्म र संस्कृतिमाथि प्रहार हुन थालेकाले सचेत हुनुपर्नेमा जोड दिनुभयो । धर्म संस्कृति मासिए देश खतरामा पर्ने बताउँदै धर्म र संस्कृतिको रक्षाका लागि सबै नेपालीबीच एकताको खाँचो रहेको उहाँको भनाइ थियो । कार्यक्रममा नेकपा (एमाले) व्यास नगर कमिटीका अध्यक्ष तुल्सीराम पाण्डे, नेकपा (माओवादी) केन्द्रका संयोजक रामचन्द्र सापकोटा, नेकपा (एकीकृत समाजवादी) का संयोजक मङ्गलप्रसाद श्रेष्ठले विकास निर्माणमा सबै दलबीच एकता आवश्यक रहेकामा जोड दिनुभएको थियो । रासस

काठमाडौँ, २७ असोज :

प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर बेलायतको पाँचदिने भ्रमण पूरा गरी स्वदेश फर्कनु भएको छ । बेलायत सरकारको निमन्त्रणामा चार सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बेलायत जानुभएका प्रहरी महानिरीक्षकले त्यहाँ रहँदा बेलायती सुरक्षाकर्मीसँग आपसी समन्वय, हित तथा सहयोग आदानप्रदान गर्ने विषयमा छलफल गर्नुभएको थियो । साथै उहाँले बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यसँग आपसी सहयोग प्रवद्र्धनमा नेपाली दूतावासले निर्वाह गरेको भूमिकाको सराहना गर्दै भविष्यमा शान्तिसुरक्षा, अनुसन्धान, अपराध नियन्त्रणमा बेलायती सहयोग जुटाउन आग्रह गर्नुभयो । बेलायत प्रहरीका उच्च अधिकारीहरूसँग सुरक्षा, अनुसन्धान र न्याय विषयमा भेटघाट तथा अनुभव आदान प्रदान गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रममा विकसित अपराधका चुनौतीबारे अनुभव आदानप्रदान गर्नाका तिनको सामना गर्न उपयुक्त कानुन, सीप, स्रोतसाधनको माध्यमद्वारा प्रयास गर्ने, सामुदायिक प्रहरी सेवा, यौनिक एवम् लैङ्गिक हिंसाका साथै बालबालिकाविरुद्ध हुने अपराधको खतरालाई सम्बोधन गर्ने विषयमा छलफल भएको नेपाल प्रहरीले जनाएको छ रासस

 

भोजपुर, २७ असोज :

भूकम्पबाट जीर्ण बनेको भवनमा पढ्दै आएका विद्यार्थीलाई पक्की भवन बनेपछि सहज भएको छ । पौवादुङमा गाउँपालिका–३ को पञ्चकन्या माध्यमिक विद्यालयमा पक्की भवन बनेपछि पठनपाठनमा सहज भएको हो । नेपाल सरकार तथा साउदी अरब सरकारको सहयोगमा भूकम्प प्रतिरोधी विद्यालय भवन निर्माण गरिएको हो । १२ कोठा रहेको भवन भ्याटबाहेक रु तीन करोड २४ लाख लागतमा निर्माण गरिएको छ । भवन निर्माणका लागि रु पाँच करोडको बोलपत्र आह्वान भएको थियो । प्रधानाध्यापक रामकुमार राईले भूकम्पबाट जीर्ण बनेको भवनको ठाउँमा नयाँ भवन बनेपछि सहजता भएको विद्यालयका बताउनुभयो । “भूकम्पले जीर्ण बनाएको भवनमा पठनपाठन गराउन समस्या थियो”, उहाँले भन्नुभयो, “अहिले सुविधा सम्पन्न भूकम्प प्रतिरोधी भवन बनेको अवस्था छ, यसले हामीलाई पठनपाठन गराउन सहजता थपिएको छ ।” भवन निर्माणले भावी दिनमा विद्यालयको शैक्षिक सुधारका क्षेत्रमा थप कार्यक्रम सञ्चालन गर्न ऊर्जा मिलेको उहाँको भनाइ छ । “विद्यालयमा यो भवन बन्नु हाम्रा लागि गौरवको कुरा हो”, उहाँले भन्नुभयो, “यसले विद्यालयलाई थप हौसला मिलेको छ, अबका दिनमा गुणस्तर सुधारमा योजनाबद्धरुपमा थप काम गर्छौं ।” नवनिर्मित विद्यालय भवनको गाउँपालिका अध्यक्ष किरण राईले उद्घाटन गर्नुभएको छ । गाउँपालिका अध्यक्ष राईले धेरै समयको अथक प्रयासपछि नमुना भवन निर्माण गर्न सफल भएको बताउनुभयो । “धेरै समयको मेहनतपछि नमुना विद्यालय भवन निर्माण गर्न सफल भएका छौँ”, अध्यक्ष राईले भन्नुभयो, “भवन निर्माणका लागि १७ महिना काठमाडौँका विभिन्न मन्त्रालय तथा कार्यालय धाएको छु, यो भवनका लागि हामीले निकै मेहनत गरेका छौँ ।” गाउँपालिकाको शैक्षिक सुधारका लागि योजनाबद्धरुपमा काम भइरहेकाले यसबाट गुणात्मक परिणाम लिन सबै जिम्मेवार बन्नुपर्ने आवश्यक रहेको अध्यक्ष राईले बताउनुभयो । गाउँपालिकाले प्राविधिकसँगै आधुनिक शिक्षामा जोड दिएको उहाँको भनाइ छ । गाउँपालिकाले पाएको कुशल नेतृत्वको कारण विकासले गतिलिएको भूतपूर्व विद्यार्थी सङ्घका सचिव काजीमान थापाले बताउनुभयो । भूतपूर्व विद्याथीहरुले पनि विद्यालयको शैक्षिक सुधारका लागि आवश्यक सहयोग गर्ने उहाँले बताउनुभयो । शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख रुद्र राईले जिल्लामा नै नमुना भवन बनेको बताउनुभयो । भवन निर्माणका लागि गाउँपालिकाले खेलेको भूमिका प्रशंसायोग्य रहेको उहाँको भनाइ छ । विद्यालयको शैक्षिक सुधारका लागि काम भइरहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सन्तोष राईले जानकारी दिनुभयो ।रासस

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।