२०८३ भाद्र ४
२०८३ भाद्र ४

काठमाडौँ, २८ असोज :

संसदको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले दसैँमा आफ्नो घर तथा दसैँको तयारीका लागि विभिन्न ठाउँमा जानुपर्ने यात्रुहरुका लागि यातायातको सहज व्यवस्था गर्न सम्बद्ध निकायलाई निर्देशन दिनुभएको छ । सभापति खतिवडाले आज भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, प्रहरी महानिरीक्षक, यातायात व्यवस्था विभागका महानिर्देशक, उपत्यका ट्राफिक प्रहरी प्रमुखलगायतलाई यातायातको सहज एवं सुलभ प्रबन्ध मिलाउन निर्देशन दिनुभएको हो । दसैँका समयमा घर जान लागिरहेका नागरिकले बसको टिकट नपाउने या टिकट लिन समस्या हुने, बाटोमा यातायातको समस्या हुने, यातायातका लागि महङ्गोमा टिकट खरिद गर्नुपर्ने, रुटआदिका कारण यातायातमा समस्या हुने आदि गुनासो आउने गरेकाले नागरिकहरुको गुनासो आउन नदिई अहिल्यैदेखि यातायातको उचित र सुलभ प्रबन्ध गर्न उहाँले निर्देशन दिनुभएको हो । उहाँले सरोकारवाला निकायहरुसँग आवश्यक मात्रामा समन्वय र छलफल गरी तत्कालका लागि दसैँ र त्यसपछि तिहार र छठ पर्वसम्मकै लागि यातायातको योजना बनाउन र सो व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्न आज निर्देशन दिनुभएको हो । दसैँ, तिहार र छठ पर्वमा गाउँ फर्कने र गाउँबाट सहर आउने यात्रुहरुको लागि यातायातका सवारी साधन, सडक तथा ट्राफिक व्यवस्थापनमा ध्यान दिन र यसका लागि आवश्यक अन्य कार्यालयहरुसँग पनि प्रभावकारी समन्वय गर्न पनि उहाँले निर्देशन दिनुभएको हो । रासस

दोलखा, २८ असोज :

सभामुख देवराज घिमिरेले दोलखाको पर्यटकीय क्षेत्रको विकास गरी अहिलेको अर्थतन्त्रमा जोड्न आवश्यक रहेको बताउनुभएको छ । सदरमुकामस्थित गौरीशङ्कर बहुमुखी क्याम्पसले तयार गरेको भीमेश्वर व्यवसाय सम्बर्द्धन केन्द्रको उद्घाटन गर्दै उहाँले राजधानी नजिकै रहेको हिमाली जिल्ला दोलखाले पर्यटनको प्रचुर सम्भावना बोकेकाले यसको विकास गरी अर्थतन्त्रमा जोड्नुपर्ने बताउनुभयो । सभामुख घिमिरेले पर्यटनका माध्यमबाट देशको अर्थतन्त्रमा सुधार ल्याउन सकिने भन्दै यहाँका पर्यटकीय क्षेत्रको संरक्षण र प्रवर्द्धन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले कार्यक्रममा विजया दशमी तथा शुुभदिपावलीको शुुभकामना व्यक्त गर्नुभयो । शनिबार यहाँ आउनु भएका घिमिरे जिल्लाका विभिन्न कार्यक्रममा सहभागिता जनाइरहनुभएको छ । कार्यक्रम क्याम्पसका सञ्चालक समितिका अध्यक्ष अमृत राउतको अध्यक्षतामा सम्पन्न भएको थियो । रासस

मलेखु (धादिङ), २८ असोज :

धादिङ गङ्गाजमुना गाउँपालिका–४ गुम्दीमा जीप दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । धादिङबेँसीबाट रिगाउँको तावल जाँदै गरेको मे १ ज २६६९ नं जिप अनियन्त्रित भई दुर्घटना हुँदा गङ्गाजमुना–२ का १४ वर्षीय अनुरोध तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो । उहाँका अनुसार दुर्घटनामा दुई बालकसहित पाँच जना घाइते भएका छन् । घाइतेको गुम्दी स्वास्थ्य चैकीमा उपचार भइरहेको छ ।रासस

गुल्मी, २८ असोज :

लिफ्टिङ प्रविधिबाट घरघरमा खानेपानी पुगेपछि गुल्मी धुर्कोटका स्थानीयवासीमा खुसी थपिएको छ । यसअघि अधिकांश समय पानीको खोजीमा रित्तो गाग्री बोकेर टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यता अब हटेको छ । गाउँमा खानेपानीको मुहान नहुँदा समस्यामा परेका यस क्षेत्रका बासिन्दाका लागि धुर्कोट गाउँपालिकाले ‘एक घर एक धारा’ कार्यक्रमअन्तर्गत लिफ्टिङको माध्यमबाट वडा नं ५ अन्तर्गत वस्तुको हर्रैका घरघरमा खानेपानी पुर्‍याइएको गाउँपालिकाका अध्यक्ष भुपाल पोख्रेलले बताउनुभयो । उहाँका अनुसार यहाँका एक सय आठ घरधुरीमा खानेपानी पुगेको छ । लामो समयसम्म टाउकोमा नाम्लो र पिठ्यूँमा गाग्रो बोकेर सधैँ पानीको जोहो गर्न बाध्य यस क्षेत्रका स्थानीय घरको धारामा पानी आएपछि दङ्ग छन् । चाडबाडको समयमा पानीको अभावमा घण्टौँसम्म लाइनमा बस्नुपर्ने बाध्यताको अन्त्य भएको स्थानीय कमला भण्डारीले बताउनुभयो । पानीका लागि जिल्लामा धुर्कोट गाउँपालिका सुक्खा क्षेत्रअन्तर्गत पर्दछ । सातवटा वडा रहेको धुर्कोट गाउँपालिकाका सबै वडामा खानेपानीको चरम अभाव थियो । विकास र अन्य पूर्वधारका हिसाबले धुर्कोट अगाडि भए पनि खानेपानीका क्षेत्रमा पछाडि परेको थियो । पालिकाभित्रका नागरिकको मुख्य समस्यालाई पहिचान गरी पालिकाले पानीको मुहान नभएका स्थानमा लिफ्टिङ प्रविधिको माध्यमबाट घरघरमा पानी पुर्‍याउन थालिएको अध्यक्ष पोख्रेलले बताउनुभयो । “खानेपानीका लागि मूल नभएकाले सुक्खा याममा यहाँका अधिकांश मानिसको दैनिकी पँधेरा र कुवाबाट पानी बोकेर बित्ने गर्दथ्यो”, स्थानीय तारा पाण्डेले भन्नुभयो, “जीवनमा पहिलोपटक यसरी आफ्नै घरआँगनमा खानेपानीको धारासँगै शुद्ध पिउने पानी आएपछि निकै खुसी लागेको छ ।” यसरी आफ्नै पालामा घरघरमा धाराबाट यसरी पानी आउँला भन्ने आफूले कल्पना नगरेको भन्दै विगतका दुःखलाई बिर्साइदिएको उहाँको भनाइ थियो । सङ्घीय र प्रदेश सरकार, धुर्कोट गाउँपालिका र स्थानीय जनश्रमदानसमेत गरी कुल रू एक करोड ५९ लाख तीन सय २४ लागतमा खानेपानी आयोजना सम्पन्न भएको गाउँपालिकाका अध्यक्ष अध्यक्ष पोख्रेलले जानकारी दिनुभयो । योजना सुरु गरिएको चार वर्षमा सम्पन्न भएको जनाउँदै उहाँले आयोजनाबाट अहिले एक सय आठ घरधुरीका छ सय ५० जना प्रत्यक्ष लाभान्वित बनेका बताउनुभयो । पाँच हजार तीन सय ८२ घरधुरी रहेको धुर्कोट गाउँपालिकामा अझै एक हजार सात सय ३२ घरधुरीमा खानेपानी पुर्‍याउनका लागि काम भइरहेको पालिकाले जनाएको छ । पालिकाले आउँदो दुई वर्षभित्र धुर्कोटका सबै घरधुरीमा ‘एक घर एक धारा’ अभियानलाई पुरा गर्ने अध्यक्ष पोख्रेलले बताउनुभयो । रासस

ताप्लेजुङ, २८ असोज :

तीन जना अमेरिकी नागरिकले यहाँस्थित जन्नु (कुम्भकर्ण) हिमाल आरोहण गरेका छन् । सात हजार सात सय १० मिटरको उचाइमा रहेको कुम्भकर्ण हिमाल आरोहणका लागि गएका पाँचमध्ये तीन जनाले सफल आरोहण गरेका हुन् । ग्राण्ड हिमालय ट्रेक्स एण्ड एक्सपिडिसनबाट आरोहणका लागि गएका अमेरिकी आरोही एलन प्याट्रिक रुसो, माइकल ओरियन गार्डनर र ज्याक्सन मिलर मार्भलले सफल आरोहण गरेको कम्पनीका प्रबन्धक ओङ्मु शेर्पाले जानकारी दिनुभयो । शेर्पाका अनुसार आरोहणका लागि गएका अन्य दुईजना भने आरोहण गर्न नसकी फर्किएका छन् । अमेरिकन नागरिकले पहिलोपटक यो हिमालको आरोहण गरेको जनाइएको छ । नेपाली समयअनुसार शनिबार बिहान ४ः२० बजे तीन जनाले सफल आरोहण गरेको शेर्पाले बताउनुभयो । आरोहणका लागि जोखिम मानिने कुम्भकर्ण हिमालमा सफल आरोहण हुनुलाई उल्लेखनीय उपलब्धिका रूपमा लिइएको शेर्पाको भनाइ छ । यसअघि फ्रान्स र रुसका आरोहीले कुम्भकर्णको आरोहण गरेका थिए । रासस

गोरखा, २८ असोज :

गोरखाको गोरखकाली मन्दिरमा रहेको दसैँ घरमा आज विधिपूर्वक जमरा राखिएको छ । बिहान ११ बजेर २९ मिनेटमा जौको जमरा राखिएको गोरखा दरबारका मूलपुरोहित शारदाप्रसाद भट्टराईले जानकारी दिनुभयो । परम्पराअनुसार बिहान सबेरै (बिहान नाडीको रौ देखिने बेला) भुकभुके उज्यालोमा देवी भगवतीको सवारी गराएपछि कालिका भगवतीको मन्दिर र गोरखनाथ गुफामा जमरा राखिएको उहाँले बताउनुभयो । कालिका भगवती मन्दिरको दसैँ घरमा नौ मानाको जमरा राखिएको छ । त्यस्तै गोरखनाथ गुफामा एक पाथी जौको जमरा राखिएकोे मूलपुरोहित भट्टराईले जानकारी दिनुभयो । वडादसैँको पहिलो दिन मूल दरबारको कैलास कोठाबाट गर्भगृह (पूजा कोठा) मा देवी भगवतीको सवारी गराउने र मूलदरबारमा पानी घडी थापना गरी घटस्थापना गरिएको हो । गोरखाको गोरखकाली मन्दिरमा जमरा राखेपछि मात्र देशभरका हिन्दूधर्मालम्बीहरुले जमरा राख्छन् भन्ने धार्मिक मान्यता रहदै आएको छ । प्रतिपदा सुरु भएसँगै कालिका मन्दिरमा नियमित रुपमा कालोबोका बलिदिने प्रचलन रहदै आएको छ । यसपटक दसैँ अवधिभर ३२ बोका, १२ भेडा, पाँच सुङ्गुर, एक सतारसहित १५ राँगो र नौ वटा कुखुरा बलिदिने उहाँले बताउनुभयो । यसअघि राजसंस्था रहँदासम्म मन्दिरमा एक सय ४० वटा भेडाबोका र एक सतारसहित ८४ ओटा राँगा बालिदिने प्रचलन थियो । राजसंस्थाको अन्त्य भएसँगै गोरखा दरबार हेरचाह अड्डामा दसैँ पूजाका लागि आवश्यक बजेटमा कटौती हुँदै आएकाले पशुपक्षीको बलि समेत घटाइएको छ । यसैगरी घटस्थापनाको बिहानको शुभसाइतमा गोरखाको मनकामना मन्दिरमा पनि जमरा राखिएको मन्दिरका पुजारी इन्सान थापाले जानकारी दिनुभयो । मनकामना मन्दिरमा भने मकै र जौको छुट्टाछुट्टै जमरा राखिएको उहाँले बताउनुभयो । परम्पराअनुसार विगतदेखि नै छुट्टाछुट्टै जमरा राख्नुपर्ने भएका कारण सोही अनुसार नित्य पूजा गरी जमरा राखिएको उहाँको भनाइ छ । गणेश र कलस स्थापना गरी दुवै ठाउँमा जमरा राखिएको हो । रासस

विराटनगर, २८ असोज :

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । नेपालको संविधानको धारा १६८ को उपधारा (५) बमोजिम नियुक्त मुख्यमन्त्री कार्कीलाई आज प्रदेश प्रमुख परशुराम खापुङले पद तथा गोपनीयताको शपथ गराउनुभयो । मुख्यमन्त्री कार्कीले आजै सानो आकारको मन्त्रिमण्डल पनि गठन गर्नुभएको छ । मुख्यमन्त्री कार्कीको सिफारिसमा प्रदेश प्रमुख खापुङले रामबहादुर रानामगर र शम्शेर राईलाई बिनाविभागीय मन्त्रीमा नियुक्त गर्नुभएको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता रामकुमार श्रेष्ठले जानकारी दिनुभयो । रानामगर नेकपा एमाले र राई नेपाली कांग्रेसका तर्फबाट मन्त्रिमण्डलमा सहभागी हुनुभएको हो । रासस

गण्डकी, २८ असोज :

स्वास्थ्य क्षेत्रले बजेट र जनशक्ति अभावको सामना गर्नुपरिरहेको छ । यसले गण्डकी प्रदेशमा स्वास्थ्य सेवाको गुणस्तर र पहुँचमा चुनौती थपिएको छ । प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका अनुसार आधारभूत सेवाका लागि चाहिने औषधि किन्नसमेत पर्याप्त बजेट छैन । प्रदेश सरकारले चालु आवमा कुल बजेटको छ प्रतिशतमात्र स्वास्थ्य क्षेत्रका लागि छुट्याएको मन्त्रालयका सचिव डा विनोदविन्दु शर्माले बताउनुभयो । “स्वास्थ्यमा बजेट र जनशक्तिको अभाव छ । विसं २०३५ अघिको दरबन्दी संरचनामा काम गर्नुपर्दा अस्पतालहरूलाई ठूलो चुनौती भइरहेको छ”, उहाँले भन्नुभयो । सचिव डा शर्माले कतिपय विशेषज्ञ पदमा चिकित्सक माग गर्दा आवेदनसमेत नपरेको सुनाउनुभयो । “दरबन्दीअनुसार स्वास्थ्यमा अझै पनि २६ प्रतिशत जनशक्तिको पदपूर्ति हुनसकेको छैन”, उहाँले भन्नुभयो, “समयसापेक्षरूपमा अस्पतालहरूको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गर्नुपर्ने अवस्था छ ।” माग र आवश्यकताका आधारमा विशेषज्ञसहित थप पाँच सय स्वास्थ्यकर्मी गण्डकी प्रदेशलाई चाहिने मन्त्रालयले जनाएको छ । मन्त्रालयअन्तर्गत सात सय ९३ जनाको दरबन्दी रहेकामा पाँच सय ९३ जनाको मात्र पदपूर्ति भएको छ । मन्त्रालयतर्फ नौ, प्रदेशस्तरीय कार्यालयतर्फ २१, अस्पतालतर्फ एक सय ४०, स्वास्थ्य कार्यालयतर्फ २७ र आयुर्वेद कार्यालयमा तीन जनाको दरबन्दी रिक्त रहेको मन्त्रालयका सचिव शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार मन्त्रालयले अस्पतालको सेवा प्रवाहलाई व्यवस्थित र प्रभावकारी बनाउन एक सय ६३ जनाको अस्थायी दरबन्दी स्वीकृत गरी जनशक्ति व्यवस्थापन गरेको छ । कतिपय अस्पतालमा भित्र्याइएका अत्याधुनिक स्वास्थ्य उपकरण सञ्चालनका लागि पनि जनशक्ति अभाव रहेको मन्त्रालयले जनाएको छ । बजेट अभावका कारण अस्पताल भवनलगायत भौतिक पूर्वाधारका काम पनि प्रभावित बनिरहेको सचिव डा शर्माले बताउनुभयो । लमजुङ, स्याङ्जा र दमौली अस्पताल भवन निर्माणमा बजेट अभाव रहेको उहाँको भनाइ थियो । “प्रदेश गौरवको आयोजनाका रूपमा घोषणा गरिएको क्यान्सर, मुटु र मिर्गौला रोगको विशिष्टीकृत अस्पताल निर्माण योजना पनि जग्गा र बजेटको सुनिश्चितता नहुँदा अलपत्र परेको छ”, शर्माले भन्नुभयो, “मातृशिशु, महिला तथा बाल अस्पताल बनाउने योजना पनि अगाडि बढ्न सकेको छैन ।” उहाँका अनुसार खोप, औषधि ढुवानीलगायत अत्यावश्यकीय सेवाका लागि चाहिने सवारीसाधनको समेत अभाव रहेको छ । उपप्रादेशिक तहको धवलागिरि अस्पतालका प्रमख मेडिकल सुपरिटेन्डेन्ट डा रविरञ्जन प्रधानले जनशक्ति अभावका कारण पूर्ण क्षमतामा सेवा दिन कठिन भइरहेको बताउनुभयो । “अहिले प्रदेश सरकारले केही विशेषज्ञ चिकित्सक पठाएको छ । चाहिने जति अझै पुगेको छैन । भएको स्रोत साधनबाट अधिकतम सेवा दिन अस्पताल कटिबद्ध छ”, उहाँले भन्नुभयो, “उपप्रादेशिक तहमा स्तरवृद्धि घोषणा गरिएको यस अस्पतालका लागि पूर्वाधार र जनशक्ति पनि सोहीअनुसार व्यवस्थापन हुनुपर्छ ।” सङ्घीय निजामती सेवा ऐन नबनेकाले पनि प्रदेशमा जनशक्ति व्यवस्थापनमा चुनौती थपिएको मन्त्रालयको भनाइ छ । मन्त्रालयको लक्ष्यअनुसार स्वास्थ्य सेवालाई डिजिटाइजेसन गर्नेदेखि रुपान्तरणकारी आयोजना कार्यान्वयन गर्न स्रोत साधनको कमी हुन नहुने सचिव डा शर्माले बताउनुभयो । स्रोत साधनको सीमितताका बाबजुद स्वास्थ्य सेवा र पूर्वाधार विस्तारमा आशातित काम भइरहेको उहाँको भनाइ थियो । प्रदेश सरकारको लगानीमा कास्कीमा २५ शय्याको डायलायसिस केन्द्र, मनाङ र मुस्ताङमा जिल्ला अस्पताल र पोखरामा सङ्क्रामक तथा सरुवा रोग अस्पतालको भवन निर्माण भइरहेको उहाँले जानकारी दिनुभयो । श्र्माका अनुसार दुई जिल्ला अस्पताल भवन क्रमागत र सरुवा रोग अस्पताल भवन निर्माण बहुवर्षीय आयोजना हो । मुस्ताङ जिल्ला अस्पताल भवन रू १२ करोड, मनाङ जिल्ला अस्पताल भवन रू १५ करोड ५५ लाख र सरुवा रोग अस्पताल भवन रू ३२ करोडमा ठेक्का सम्झौता भएको उहाँले जानकारी दिनुभयो । गत आवमा मुस्ताङको अस्पतालका लागि रू पाँच करोड, मनाङका लागि रू छ करोड र सरुवा रोग अस्पताललाई रू आठ करोड बजेट विनियोजन गरिएको थियो । सो बजेटमा मनाङ र मुस्ताङ अस्पताल भवन निर्माणको वित्तीय प्रगति भने न्यून देखिएको छ । गत आवमा सरुवा रोग अस्पताल भवनको वित्तीय प्रगति ८७ दशमलव ०३ प्रतिशत भएको सचिव डा शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार मनाङ अस्पताल भवनको ५८ दसमलव ०६ र मुस्ताङ अस्पताल भवनको ३२ दसमलव ०८ प्रतिशत वित्तीय प्रगति देखिएको छ । पच्चीस शय्याको मुस्ताङ अस्पताल विसं २०७७ चैत २२ मा शिलान्यास गरिएकामा निर्माणले अझै पूर्णता पाउन सकेको छैन । अरु दुई अस्पताल भवनको निर्माणकार्य पनि सुस्त छ ।रासस

काठमाडौँ, २८ असोज :

गत जेठ ३१ गते नेपाल प्रवेश गरेको यसवर्षको मनसुन आज रातिबाट पूर्णरुपमा बाहिरिने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नेपालमा मनसुन बहिर्गमनको औसत मिति अक्टोबर २ तारिख (यस वर्षको असोज १५ गते) भए पनि मनसुन औसत मितिभन्दा दुईसाता ढिलो बाहिरिएको हो । महाशाखाका अनुसार नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ र बहिर्गमन सयम अक्टोबर २ तारिख हो । यसवर्ष सरदर मितिभन्दा एक दिन ढिलो मनसुन भित्रिएको थियो । नेपालको सुदूरपश्चिम तथा कर्णाली प्रदेशको पश्चिमी भू-भाग भएर यही असोज १९ गते यसवर्षको मनसुन बाहिरिएको थियो । असोज २७ गते देशको गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका सम्पूर्ण भू-भाग तथा बागमती प्रदेश र मधेश प्रदेशका आंशिक भू-भागबाट बाहिरिएको छ । यसअघि सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश साथै लुम्बिनी प्रदेशका अधिकांश भू-भाग र गण्डकी प्रदेशको पश्चिमी भू-भागबाटसमेत मनसुन बाहिरीसकेको छ । “मनसुन पूर्णरुपमा बहिर्गमन हुने अवस्थामा छ”, महाशाखाका मौसमविद् रोजन लामिछानेले भन्नुभयो, “साँझसम्म मनसुन बाहिरिने अनुमान गरिएको छ । आजै मनसुन विशेष बुलेटिन आउनसक्छ ।” उहाँका अनुसार मनसुन अहिले कोशी प्रदेशमा केन्द्रित छ । मधेश र बागमती प्रदेशका थोरै स्थानमा बाँकी छ । हाल नेपालको पूर्वी भागमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आगामी दिनदिनसम्म देशका पहाडी भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् लामिछानेले जानकारी दिनुभयो । अहिले देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ । देशका पहाडी भू-भागमा थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । मनसुन अवधिमा ८८ दशमलव पाँच प्रतिशत वर्षा जल तथा मौसम विज्ञान विभागका मौसमविद् सुदर्शन हुमागाँईका अनुसार नेपालमा यसवर्ष मनसुन अवधिमा ८८ दशमलव पाँच प्रतिशत वर्षा भएको छ । याे मनसुनको अवधि जुनदेखि सेप्टेम्बर महिना अर्थात् चार महिनामा सरदरभन्दा कम वर्षा भएको हो । नेपालमा मनसुन अवधिमा सरदर एक हजार चार सय ७२ मिलिमिटर वर्षा हुने गरेकामा यसवर्ष मनसुन अवधिमा एक हजार तीन सय तीन मिलिमिटर वर्षा भएको हो । काठमाडौँमा एक हजार दुई सय ८३ मिलिमिटर वर्षा भएको छ । जुन सरदरको एक सय नौ प्रतिशत हो । काठमाडौँमा मनसुन अवधिमा सरदर एक हजार एक सय ७६ दशमलव चार मिलिमिटर वर्षा हुन्छ । त्यसैगरी ओखलढुङ्गामा एक हजार चार सय ९२ दशमलव एक मिलिमिटर वर्षा भएको छ । सबैभन्दा कम जनकपुरमा छ सय ३७ दशमलव एक मिलिमिटर वर्षा मापन गरिएको छ । जनकपुरको सरदर वर्षा एक हजार एक सय ९५ दशमलव आठ मिलिमिटर हो । रासस

काठमाडौँ, २८ असोज:

बौद्धगुरु ४१औँ साक्या गोङ्मा ठ्रिछेन् रिन्पोछेबाट बौद्धस्थित तारागाउँ सङ्ग्रहालयको खुला चौरमा करिब २० हजार श्रद्धालुहरुले आर्य अवलोकितेश्वरको दुर्लभ महाभिषेक (वाङ्छेन) ग्रहण गरेका छन् । करिब तीन घण्टा लामो महाभिषेकका क्रममा गुरु रिन्पोछेले करुणा र शून्यताको गहन दर्शनमाथि प्रकाश पार्दै दीक्षा प्रदान गर्नुभयो । गुरु रिन्पोछेले राग, द्वेष र मोहले रोगी बनेका मानिसले काय, वचन र चित्त विशुद्धि गर्दै समस्त प्राणी आफ्नै नाता कुटुम्ब सम्झेर करुणासँगसँगै बोधिचित्त उत्पाद गर्न आह्वान गर्नुभएको थियो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले शान्ति दीपप्रज्ज्वलन गरी उद्घाटन गर्नुभएको धार्मिक समारोहमा बज्राचार्य गुरुबाट स्वस्तिवाचन गरिएको र बौद्ध स्तूपमाथि हेलिकोटरबाट पुष्पवृष्टि गरिएको थियो । महाअभिषेक ग्रहण कार्यक्रममा विभिन्न बौद्ध गुम्बासँग आबद्ध अनुयायीहरु, विदेशीका साथै नेवार एवं मधेसी समुदायका मानिसको उल्लेख्य सङ्ख्यामा उपस्थिति थियो । आयोजक व्योम कुसुमा बुद्धधर्म सङ्घका अनुसार, यो भारत वर्षीय महासिद्ध मैत्रीयोगी (जगन्मित्रानन्द) परम्पराको असाधारण आर्य अवलोकितेश्वरको महाभिषेक हो । विश्वशान्ति, सद्भाव, भाइचारा र मानवताका लागि सकारात्मक ऊर्जा र सद्भाव प्रवाह गर्ने महाभिषेकको उद्देश्य हो । गुरु ठ्रिछेन् रिन्पोछे चारै बौद्ध सम्प्रदायबाट सम्मानित गुरु हुनुहुन्छ । रासस

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।