काठमाडौँ, २९ असोज :
नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा घरेलु मैदानमा हुने त्रिकोणात्मक ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको लागि आज १८ सदस्यीय नेपाली टोलीको घोषणा भएको छ । क्यानले रोहितकुमार पौडेलको कप्तानीमा १८ सदस्यीय नेपाली टोली घोषणा गरेको हो । छनोट हुने टोलीमा कप्तान पौडेलसहित कुशल भुर्तेल, आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, विनोद भण्डारी, कुशल मल्ल र गुल्सन झा प्रतिश जिसी, करण केसी, सन्दीप जोरा, श्याम ढकाल (मौसम), ललितनाराण राजवंशी, विवेक यादव, अविनाश बोहरा, सागर ढकाल, सूर्य तामाङ र लोकेश बम छन् । उक्त प्रतियोगितामा सन्दीप लामिछाने भने हुने छैनन् । उनले आफू मानसिक दबाबमा रहेको र परिवारलाई समय दिने भन्दै आफ्नो नाम यसअघि नै फिर्ता लिएका थिए । प्रतियोगिता आगामी कत्तिक १ देखि १० गतेसम्म मूलपानी क्रिकेट मैदान र कीर्तिपुरस्थित त्रिभुवन विश्वद्यिलयको क्रिकेट मैदानमा हुनेछ । उक्त प्रतियोगितामा नेपालसहित, संयुक्त अरब इमिरेट्स (युएई) र हङकङ गरी तीन टोलीको सहभागिता हुनेछ । नेपालले कात्तिक १ गते युएईसँग खेल्दै प्रतियोगिताको उद्घाटन गर्नेछ । रासस
काठमाडौँ, २९ असोज :
तेस्रो ‘बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेशन’मा सहभागी हुन उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ नेतृत्वको प्रतिनिधिमण्डल आज चीनको राजधानी बेइजिङ प्रस्थान गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री श्रेष्ठलाई गृह मन्त्रालयका सचिव दिनेशकुमार भट्टराईलगायतका उच्च सरकारी अधिकारीले बिदाई गर्नुभयो । मङ्गलबार र बुधबार बेइजिङमा हुने सो सम्मेलनमा हरित विकाससम्बन्धी उच्चस्तरीय मञ्चको नीति एवम् प्रगतिबारेमा छलफल हुने छ । सो कार्यक्रमलाई उपप्रधानमन्त्री श्रेष्ठले विशेष सम्बोधन गर्नुहुने कार्यक्रम छ । सम्मेलनको पहिलो दिन भोलि मङ्गलबार चिनियाँ राष्ट्रपति सी चिनपिङले आयोजना गर्नुहुने रात्रिभोजमा उपप्रधानमनत्री श्रेष्ठ सहभागी हुनुहुनेछ । सम्मेलनमा विभिन्न देशका राष्ट्राध्यक्ष र सरकार प्रमुख सहभागी हुनुहुने बताइएको छ । उपप्रधानमन्त्री श्रेष्ठ नेतृत्वको भ्रमण टोलीमा गृहमन्त्रालयका सहसचिव नारायणप्रसाद भट्टाई, परराष्ट्र मन्त्रालयका सहसचिव अमृत राई, विपद् तथा जोखिम न्यूनीकरण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेललगायतको सहभागिता छ । रासस
काभ्रेपलाञ्चोक, २९ असोज
काभ्रेपलाञ्चोकमा महत्वपूर्ण सञ्जालका रहेका करिब डेढदर्जन सडक स्तरोन्नति गरिँदैछ । चालु आर्थिक वर्षमा महत्वपूर्ण मानिएका १६ कच्ची सडक पक्की (कालोपत्र) तथा ग्राभेल गर्न थालिएको छ। प्रदेश सरकारले जिल्लाको पूर्वाधार विकास कार्यालयमार्फत चालु आवमा १८ सडकलाई बहुवर्षीय योजनाका रूपमा अघि बढाएको हो । कार्यालय प्रमुख तथा सिनियर डिभिजनल इञ्जिनीयर राजु श्रेष्ठका अनुसार बहुवर्षीय योजनाका रूपमा रहेका १६ महत्वपूर्ण सडकमध्ये केही सडक गतवर्ष सुरु गरिएका थिए । “चालु आवमा सञ्चालन हुने योजनाको लागत स्टिमेट तयार गर्नेलगायत काम भइरहेको छ”, उहाँले भन्नुभयो । जनमुक्ति मार्गअन्र्तगत करिब रु ६२ करोडको लागतमा १७ किलोमिटर लामोे पिन्थली–रजवास–भूमिचुली–बुढाखानी–देवीटार सडकखण्डमा कालोपत्र भइरहेको छ । उक्त सडक कालोपत्र गर्न समपुरक अनुदानतर्फ चालु आवमा सङ्घीय सरकारले रु २० करोड र प्रदेश सरकारले रु २० करोड विनियोजन गरेको कार्यालय प्रमुख श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार महाभारत गाउँपालिकाको तीनखुट्टे–देवीटार–घर्तीछापखण्डमा आठ किलोमिटर सडक कालोपत्र गर्ने काम भइरहेको छ । यसका लागि चालु आवमा रु चार करोड विनियोजन भएको छ । यस्तै महाभारतकै देवीटार–घर्तीछाप–गोकुले पाँच किलोमिटर लामो सडकखण्ड कालोपत्र गर्न रु ३९ करोड लागत अनुमान गरिएकामा यस वर्ष रु सात करोड विनियोजन भएको जनाइएको छ । यसैगरी यसवर्ष जनमुक्ति मार्गअन्तर्गत नै दोस्रो सडकखण्ड पिन्थली–भूमिचुली सडकका लागि रु एक करोड, खानीखोला गाउँपालिकाको तालढुङ्गादेखि शिक्रेदोभानसम्मको सात किलोमिटर सडकखण्ड स्तरोन्नतिका लागि रु चार करोड विनियोजन भएको छ । यी दुई सडकखण्डमा भने यसैवर्ष ठेक्का लगाइ बहुवर्षीय योजनामा समावेश गर्न पहल गरिने भएको हो । यस्तै चालु आवमा रोशी गाउँपालिकाको कटुञ्जेदेखि खार्पाचोक–लेखापाटी–सुङ्गुरे–बुढाखानी–फोक्सिङटार गोकुले–तालढुङ्गा सडकअन्र्तगतको १४ किलोमिटर सडक कालोपत्र गर्न रु सात करोड विनियोजन भएको छ । सो सडक सम्पन्न गर्न रु ६९ करोड लागत अनुमान गरिएको कार्यालय प्रमुख श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार यसैवर्ष मण्डनदेउपुर नगरको सिपाघाट–चुरीथुम्का–कात्तिके सडकका लागि पनि रु आठ करोड विनियोजन भएको छ । उक्त सडकले काभ्रेपलाञ्चोकसँग सिन्धुपाल्चोक, भक्तपुर र ललितपुर जोड्ने छ । चालु आर्थिक वर्षमा जिल्लाको भुम्लु गाउँपालिकाको हबेली–सापिङ–सिम्थली–बाङ्गो सिमल–बाफल सडक स्तरोन्नति तथा कात्तिके–नगरकोट सडकखण्ड कालोपत्र गर्न रु चार÷चार करोड विनियोजन गरिएको छ । यस्तै चाँरीदेउराली गाउँपालिकामा चौरीखोला करिडोर निर्माणका लागि रु आठ करोड, छेडा–कुर्थली,–सलम्बु–चौरीखोला सडक स्तरोन्नतिका लागि सात करोड, पाँचखाल बोहोरेदोभान सडक कालोपत्रका लागि रु ११ करोडमा ठेक्का सम्झौता भई काम भइरहेको कार्यालयले जनाएको छ । उक्त कार्यालयले चालु आवमा काभ्रेपलाञ्चोकमा १६ महत्वपूर्ण सडकसँगै २० वटा मोटर पुल, एक झोलुङ्गे पुल निर्माणाधीन अवस्थामा रहेको जनाएको छ । कार्यालयले हाल जिल्लाका स्थानीय तहलाई विनियोजित योजनाबारे जानकारी दिई योजनाको लागत अनुमान तयार गर्ने काम भइरहको जनाउँदै दसैँपछि योजनाको कार्यान्वयन गरिने कार्यालय प्रमुख श्रेष्ठले बताउनुभयो । यसैबीच उक्त कार्यालयले चालु आवमा काभ्रेपलाञ्चोक र भक्तपुरमा सडक, सडक पुल, झोलङ्गे पुल र ट्रस पुल गरी करिब तीन सय ५० वटा योजनामा काम गर्ने जनाएको छ । यसमध्ये करिब साढे दुई सय योजना मात्रै कार्यान्वयनमा लगिने छ । चालु आवमा कार्यान्वयन हुने ती योजनाका लागि रु दुई अर्ब ३७ करोड विनियोजन भएको छ । रासस
काठमाडौँ, २९ असोज :
उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकको समृद्धि, समुन्नति र सुशासनका लागि आन्तरिक सुरक्षा व्यवस्था सुदृढ हुनुपर्ने बताउनुभएको छ । ६८औँ प्रहरी दिवसका अवसरमा आज प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा उहाँले मुलुकको आन्तरिक सुरक्षा व्यवस्थाको मियोका रूपमा रहेको नेपाल प्रहरीको भूमिका र कर्तव्यबोधले समग्र मुलुकको समृद्धि, कानुनी शासन र सुशासनको पूर्ण अनुभूति गर्न सकिएको बताउनुभयो । गृहमन्त्री श्रेष्ठले नागरिकको सुरक्षा सुनिश्चित गर्न चाडपर्वलगायत आफ्नो व्यक्तिगत र पारिवारिक दायित्वलाई थाती राखी देश र जनताको सुरक्षामा तैनाथ प्रहरी कर्मचारीको समर्पणभाव हरेक पुस्ता र पिँढीका लागि प्रेरणाको स्रोतका रूपमा रहने उल्लेख गर्नुभयो । उहाँले साधन स्रोतको अभावमा पनि राज्यले सुम्पेको जिम्मेवारीलाई नेपाल प्रहरीले निष्ठापूर्वक तथा प्रविधिसँग प्रभावकारी मिश्रण गरी छिटो, छरितो र गुणस्तरीय सेवा प्रवाह गर्दै आएको बताउनुभयो । “आमनागरिक र राज्यले सामना गरेको हरेक विषम परिस्थितिलाई निस्तेज तुल्याउन नेपाल प्रहरीका प्रत्येक सदस्यले पेसागत कर्तव्यपरायणतामा उच्च मनोबलका साथ खटिँदै आएका छन्”, गृहमन्त्री श्रेष्ठले भन्नुभयो । नवीनतम् आविष्कार र नयाँ प्रविधिको कारण बढ्दै गएका अपराधका नयाँ शैलीविरुद्ध तदारूकता बढाउँदै वर्तमान र भविष्यमा हुने सक्ने अपराधको रोकथाम तथा सफल अनुसन्धान गर्न सक्ने गरी नेपाल प्रहरी हरदम तयारी अवस्थामा रहनुपर्नेमा उहाँले जोड दिनुभयो । निष्पक्ष अनुसन्धानले पीडितलाई न्याय दिलाउनाका साथै राज्यमा दण्डहीनताको अन्त्य हुने बताउँदै गृहमन्त्री श्रेष्ठले भन्नुभयो, “प्रहरीको अनुसन्धानमा प्रश्न उठाउने आधार छैन । कुनै स्वार्थ तथा शक्तिको प्रभाव वा दबाबमा नपरी निष्पक्ष अनुसन्धान कार्यमा नेपाल प्रहरीले सम्झौता गर्दैन भन्ने मेरो पूर्ण विश्वास रहेको छ ।” गृहमन्त्री श्रेष्ठले शहादत प्राप्त अमर प्रहरी कर्मचारीको योगदानलाई स्मरण गर्दै ती सपुतप्रति श्रद्धासुमन अर्पण गर्नाका साथै घाइते भएका प्रहरी कर्मचारीको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभयो । नेपाल प्रहरीको निःस्वार्थ सेवा र अटल समर्पण भावलाई अँगाल्दै देश र नागरिक सुरक्षाका क्रममा शहादत प्राप्त अमर प्रहरीका परिवारजनको पीडाका क्षणमा सरकार सदैव साथमा रहने उहाँको भनाइ थियो । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले नागरिकमैत्री प्रहरीका रूपमा साङ्गठनिक छवि उजागरमा केन्द्रित रहन सकल दर्जाका प्रहरी अधिकृत तथा जवानलाई निर्देशन दिनुभयो । नागरिकमैत्री प्रहरीका रूपमा पारदर्शी, जवाफदेही, सेवाग्राही र नागरिक स्वीकार्य, मानव अधिकारको संरक्षण र सम्मानको कसीमा प्रहरीका काम कारबाही उत्कृष्ट हुने उहाँको भनाइ थियो । कार्यक्रममा गृहमन्त्री श्रेष्ठले प्रहरी प्रधान कार्यालयस्थित अमर प्रहरी स्मारकमा पुष्पहार अर्पण गर्नाका साथै कर्तव्य पालनाका क्रममा वीरगति प्राप्त गर्ने प्रहरीका परिवारलाई कदरपत्र प्रदान गर्नुभयो । उहाँले प्रहरी दिवस–२०८० स्मारिका र नेपाल प्रहरीलाई निःशुल्क जग्गा प्रदान गर्ने जग्गादाताको नामावलीका साथै प्रहरीसँग सम्बन्धित स्थापना भएका अक्षयकोषको विवरण पुस्तिकासमेत लोकार्पण गर्नुभएको थियो । कार्यक्रममा नेपाल प्रहरी श्रीमती सङ्घकी अध्यक्ष लक्ष्मी कुँवरले अमर प्रहरीका परिवारलाई सद्भाव सहयोग प्रदान गर्नुभएको थियो । समारोहमा गृहसचिव दिनेश भट्टराई, अवकाश प्राप्त महानिरीक्षकहरु, प्रहरी अतिरिक्त महानिरीक्षकहरु, पूर्वप्रहरी अतिरिक्त महानिरीक्षकहरु, नेपाल प्रहरी श्रीमती सङ्घकी अध्यक्ष तथा पदाधिकारी लगायतले अमर प्रहरी स्मारकमा पुष्पगुच्छा अर्पण गर्नुभएको थियो । रासस
काठमाडौँ, २९ असोज :
उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले नेपाली सेनाका विषयमा सञ्चारमाध्यमले झुठो र गलत सूचनामा आधारित समाचार प्रकाशित गरेको बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ, राजनीतिशास्त्र अध्ययन सङ्घ र नेपाल दूरसञ्चार प्राधिकरणद्वारा संयुक्तरुपमा आज आयोजित ‘नेपालमा इन्टरनेट र मित्थ्या सूचना : लोकतन्त्र र प्रेस स्वन्त्रतामा चुनौती’ विषयक कार्यक्रममा रक्षामन्त्री खड्काले नेपाली सेनाका विषयमा गलत र झुठा सूचनामा आधारित समाचार सम्प्रेषण हुँदा यसले संस्थामा अत्यन्तै ठूलो भ्रम सिर्जना गर्ने परिस्थितिका निर्माण भएको उल्लेख गर्नुभयो । “नेपाली सेनाका एकजना सहायक रथीको बढुवाको सन्दर्भ जोडेर ठूलो समाचार बन्यो, राजनीतिक पार्टीमा छलफलको विषय बन्यो । सो विषयमा सम्बन्धित फोरममा प्रष्ट पार्ने कोसिस पनि गरेँ”, उहाँले भन्नुभयो, “तर अझै पनि भावी प्रधानसेनापतिसँग जोडेर गलत सूचना आइरहेको छ । जसमा सत्यता छैन ।” उपप्रधानमन्त्री खड्काले सरकारले नेपाली सेनाका सहायक रथी यामबहादुर अधिकारीको पदावधि सेनाको नियमावलीअनुसार थप भएको बताउनुभयो । तत्कालीन माओवादीका लडाकुलाई नेपाली सेनामा समायोजन गर्ने सहमति अनुरुप तोकिएको मापदण्ड, परम्परा, संस्थागत थिती, सैनिक ऐन नियमलाई प्रतिकुल असर नहुने गरी समायोजनको बन्दोवस्तो गरिएको प्रसंग उल्लेख गर्दै उहाँले सोही क्रममा अधिकारीलाई २०७६ सालमा सरकारले अतिरिक्त सहायक रथीको पद सिर्जना गरेर बढुवा गरेको बताउनुभयो । रक्षामन्त्री खड्काले सहायक रथीको पदावधि सात वर्षको हुने उल्लेख गर्दै अधिकारीको उमेरको अवधिले पुग्ने, सेनाको बोर्ड, प्रधानसेनापति र रक्षामन्त्रालयको सिफारिसका आधारमा मन्त्रिपरिषदले एक पटकका लागि तीन वर्षको पदावधि थप गरेको स्पष्ट पार्नुभयो । “अहिले नेपाली सेनाको नियमावली चलाएर अधिकारीलाई प्रधानसेनापति बनाउँदैछ भनेर सञ्चारमाध्यमले प्रपञ्च चलाएका छन्”, उपप्रधानमन्त्री खड्काले, “यी सबै झुठा कुरा हुन् ।” नेपाली सेनाको प्रधानसेनापति हुनका लागि निश्चित मापदण्ड, तालिम आवश्यक हुने उहाँको भनाइ छ । “सो सम्बन्धमा सरकार, रक्षामन्त्रालय सैनिक नियमभन्दा दायाँबायाँ जाने कल्पना पनि गर्न सकिन्न”, उहाँले भन्नुभयो, “त्यसैले सहायक रथी अधिकारी प्रधानसेनापति बन्ने सम्भावनाको कुरा सबै गलत हो, झुठा हो । गलत सूचनाका आधारमा समाचार बनाएर राजनीतिबाट मुक्त रहेको र नेपाली जनताको भरोसाको संस्थालाई चलाउने प्रयास गरिएको छ ।” उहाँले प्रेस स्वतन्त्रता, अधिकार र हकका साथै इन्टरनेट र सामाजिक सञ्जालको उपयोग गर्दा समाजमा हुने हानी, संस्थामा पर्ने असर, नागरिकमा पर्ने नराम्रो प्रभावले गलत कुरा पनि सही होकि भन्ने वातावरण उत्पन्न हुने हुँदा त्यसतर्फ सचेत हुन पनि आग्रह गर्नुभयो । रासस
दमौली (तनहुँ), २९ असोज :
तनहुँको शुक्लागण्डकी नगरपालिका–१ र २ जोड्ने गुवेखोलामा पक्की पुल निर्माण सम्पन्न भएको छ । नगरपालिकाको गौरवको योजनाका रुपमा रहेको उक्त पुल निर्माण सुरु भएको तीन वर्षमा सम्पन्न भएर आज उद्घाटन गरिएको हो । पुलको उद्घाटन गर्दै गण्डकी प्रदेशका आर्थिक मामिलामन्त्री जीतप्रकाश आलेले पुल निर्माणसँगै यस भेगका नागरिकको दैनिकी परिवर्तन हुने विश्वास व्यक्त गर्नुभयो । यसअघि पुलको अभावमा आवागमनमा सास्ती हुने गरेकामा अब सहज भएको भन्दै कृषि उपज तथा अन्य वस्तु बिक्री वितरणका लागि सहयोग पुग्ने उहाँले बताउनुभयो । “प्रदेश सरकारले पूर्वाधार निर्माणमा जोड दिएको छ । पुल, सडक, खानेपानी लगायतका क्षेत्रमा सरकारको सहयोग सदैव रहन्छ”, आलेले भन्नुभयो, “प्रदेशलाई समृद्ध बनाउँदै नगरवासीलाई आधारभूत सेवा र सुविधा उपलब्ध गराउने अभियानमा सरकार लागिरहेको छ ।” रू दुई करोड २६ लाखको लागतमा पुल निर्माण सम्पन्न भएको शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डितले जानकारी दिनुभयो । उहाँका अनुसार विसं २०७७ पुस २८ गते उक्त पुलको शिलान्यास गरिएको थियो । पुल २० मिटर लामो र ६ मिटर चौडा रहेको छ । साबिकको थप्रेक गाविसलाई वडाको केन्द्रदेखि नगरको केन्द्रसम्म सहज सडक सञ्जालको पहुँचमा ल्याउने उद्देश्यले पुल निर्माण गरिएको नगर प्रमुख पण्डितले बताउनुभयो । “पुल निर्माण, सडक कालोपत्रलगायत पूर्वाधार विकासले मात्र समृद्धि आउँदैन । समृद्धिका लागि कृषिमा विकास तथा उत्पादनसँग जोडिनपर्छ”, उहाँले भन्नुभयो । पुल बनेपछि थप्रेकवासीले उत्पादन गरेको कृषि उपज बजारमा पु¥याउन सहज हुने नगर प्रमुख पण्डितको भनाइ थियो । गुवेखोलामा पुल नहुँदा थप्रेकवासीलाई बर्खाको समयमा निकै समस्या हुने गरेको थियो । अब उक्त समस्या हटेको शुक्लागण्डकी नगरपालिका–१ का वडाध्यक्ष रविचन्द्र पौडेलले बताउनुभयो । उहाँका अनुसार पुलकै अभावमा पाँच/सात मिनेटमा आवतजावत गर्न सकिने यस ठाउँमा तनहुँको कोत्रे हुँदै गाडीबाट एक घण्टाभन्दा बढी समय खर्चिनुपर्ने बाध्यता अन्त्य भएको छ । तनहुँको कोत्रे हुँदै थप्रेक जोडिने मार्गलाई विसं २०१८ मा सहिद लालध्वज गुरुङको सम्मानार्थ लालध्वज मार्ग नामकरण गरिएको थियो । तनहुँको सदरमुकाम दमौलीबाट स्याम्घा हुँदै थप्रेक जोडिने मार्गलाई सिन्धु मार्ग नामकरण गरिएको थियो । पछिल्लो समयमा दमौलीबाट थप्रेक हुँदै कोत्रेसम्म यो मार्ग जोडिने भएकाले यसलाई दमौलीबाट पोखराका लागि वैकल्पिक मार्गका रुपमा प्रयोग गरिँदै आइएको छ । रासस
म्याग्दी, २९ असोज
गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा जिल्ला छ वटा ग्रामीण सडक कालोपत्र र स्तरोन्नति गर्ने भएको छ । प्रदेश सरकार अन्तरगतको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले बहुवर्षीय ठेक्कामार्फत कार्यान्वयन हुने छवटा योजना छनोट गरिएको जनाएको छ । उक्त मन्त्रालयका मन्त्री रेशमबहादुर जुग्जालीले चालु आर्थिक वर्षभित्रै बहुवर्षीय ठेक्का आह्वान र सम्झौता गरी निर्माणको काम सुरु गरिने जानकारी दिनुभयो । “बहुवर्षीय ठेक्का लगाउन योजना छनोट गरेर कार्यान्वयनका लागि प्रक्रिया अघि बढाइसकिएको छ,” उहाँले भन्नुभयो “म्याग्दीका छ वटा नयाँ सडक कालोपत्र र स्तरोन्नति गर्ने काम यसै वर्षदेखि सुरु हुन्छ ।” चालु आर्थिक वर्षमा विनियोजन भएको बजेटलाई कूल अनुमानित लागतको बीस प्रतिशत मानेर स्रोत सुनिश्चित र बहुवर्षीय ठेक्कामार्फत कार्यान्वयनका लागि तयारी गरिएको मन्त्री जुग्जालीले जानकारी दिनुभयो । रु पाँच करोड बजेट विनियोजन भएको दरवाङ–मुना–ढोरपाटन सडकलाई रु २५ करोड, रु चार÷चार करोड बजेट रहेको दरवाङ–बिम–दिच्याम र बेनी–तोरीपानी हुँदै पाखापानी जोड्ने सडकलाई रु बीस÷बीस करोडको स्रोत सुनिश्चित गरेर बहुवर्षीय ठेक्का आह्वानको तयारी भएकोे छ । रु दुई÷दुई करोड बजेट रहेको दरवाङ–अदिभारा–डाडागाउँ–सोले–तमान–बुर्तिवाङ, हाँडेभिर–बगरफाँट–दूधेखोला– हल्लेगौडा–डोलेमुसुङ–बाग्लुङ र पखेर–बरजा सडकका लागि पनि रु दश÷दश करोड बजेट सुनिश्चित गरिएको मन्त्री जुग्जालीले बताउनुभयो । म्याग्दीका छ वटा स्थानीय तहका४५ वडामध्ये धवलागिरि गाउँपालिका–१ मा पर्ने गुर्जा मात्र सडक सञ्जालमा जोडिएको छैन । गुर्जालाई सडक सञ्जालमा जोड्न प्रदेश, सङ्घीय सरकार र गाउँपालिकाले रु दुई÷दुई करोड बजेट विनियोजन गरेका छन् । विस २०५४ देखि सडक सञ्जालमा जोडिएको जिल्लाभर हालसम्म करिब ४० किलोमिटर सडक छ । जिल्लाका ६८ वटा सडक, तीन वटा झोलङ्गे पुल र सात वटा सडक पुलसम्बन्धी आयोजनाका लागि चालु आर्थिक वर्षमा रु ७३ करोड बजेट विनियोजन भएको प्रदेश सांसद हरिबहादुर भण्डारीले बताउनुभयो । “सडक आयोजनामा विनियोजन भएको बजेट कालोपत्र, नाली निर्माण, ढलान, सोलिङ र स्तरोन्नितिमा लगानी हुन्छ,” उहाँले भन्नुभयो “तीन वटा पुराना सडक आयोजना सम्पन्न गराउने बाहेक सबै नयाँ सडकका लागि आयोजना भित्रिएका छन् ।”पूर्वाधार विकास कार्यालयका प्रमुख विष्णुप्रसाद पौडेलले बजेट विनियोजन भएका योजनाको सर्वेक्षण, पहिले तयार भएका विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)को पुनरावलोकन सकेर ठेक्कामार्फत कार्यान्वयनका तयारी गरिएको जानकारी दिनुभयो । रासस
काठमाडौँ, २९ असोज :
नुवाकोटको तारुकामा हरेक वर्ष माघेसङ्क्रान्तिमा आयोजना हुने ‘गोरु जुुधाउने मेला’ माथि निर्मित वृत्तचित्र ‘गोरु पर्व’ दक्षिण कोरियामा हुन लागेको ‘अपोरिया अन्तर्राष्ट्रिय भिलेज फिल्म फेस्टिबल’ मा छानिएको छ । बुसानमा आगामी कात्तिक १६ देखि २० गतेसम्म चल्ने महोत्सवमा पुरु लम्सालको लेखन तथा निर्देशन रहेको उक्त वृत्तचित्र नेपालबाट छनोट भएको हो । योसँगै विभिन्न देशका १० चलचित्र महोत्सवमा छनोट भएका छन् । सिने मेकर्स प्रालिको ब्यानरमा निर्मित वृत्तचित्रका निर्मातामा निरञ्जन सिग्देल शर्मा, छायाकारमा रमेश धमला र ज्योति सिंह तथा सम्पादकमा लव प्याकुरेल हुनुहुन्छ । राजेन्द्र बजगाईँको पाश्र्व सङ्गीत र सुशील ठकुरीको पाश्र्व गायन रहेको ‘गोरु पर्व’ ले दुई अन्तर्राष्ट्रिय सम्मान पनि प्राप्त गरिसकेको छ । जात्रा माघेसङ्क्रान्तिकै दिन आयोजना हुने र त्यससँग विभिन्न संस्कृति जोडिएकाले यसलाई सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले वृत्तचित्र निर्माण गरिएको कार्यकारी निर्माता तथा सिने मेकर्सका प्रबन्ध निर्देशक केपी पाठकले जानकारी दिनुभयो । “गोरु जुधाउने जात्रा हाम्रो मौलिक संस्कृति हो । यसलाई अन्तर्राष्ट्रियकरण गर्ने प्रयास मात्रै हामीले गरेका हौँ । हाम्रा हरेक पर्व र संस्कृतिको अन्तर्राष्ट्रियस्तरमा प्रचार गर्न सकेमा देशलाई चिनाउन सक्छौँ”, लेखक तथा निर्देशक लम्सालले भन्नुभयो । रासस
काभ्रेपलाञ्चोक, २९ असोज
काभ्रेपलाञ्चोको पुरानो अस्पताल बनेपास्थित शिर मेमोरियल अस्पतालमा क्यान्सर रोगको पनि उपचार सुरु गरिने भएको छ । विसं २०१७ मा स्थापित सो अस्पतालमा आउँदो कात्तिक १० गतेदेखि सबै प्रकारका क्यान्सर रोगको उपचारका लागि तयारी थालिएको जनाइएको छ । विभिन प्रकारका रोगको उपचार हुने सबैभन्दा पुरानो उक्त अस्पतालमा हाल एक सय ५० श्याबाट उपचार सेवा प्रदान हुँदै आएको छ । क्यान्सर रोगका बिरामीलाई रिफर गर्नु नपर्ने गरी १२ शय्याको विभागबाट उपचार सेवा सुरु गरिने अस्पतालका मेडिकल डाईरेक्टर डा एन्जिला बस्नेतले बताउनुभयो । उहाँका अनुसार सुरुमा क्यान्सर रोग पहिचान गर्ने र प्रमाणित भएमा त्यसको उपचारार्थ ‘केमो–थेरापी’ लगायत सेवा प्रदान गरिनेछ । यस्तै क्यान्सरका बिरामीका लागि सघन उपचार कक्ष(शय्या)को व्यवस्था गरिएको छ भने केमोथेरापी सेवाको व्यवस्थाका साथै विशेषज्ञ चिकित्सक र नर्सलाई तालिम पनि दिईसकिएको छ । क्यान्सर भएपछि हुने शारीरिक, मानसिक तथा आर्थिक तनाव कम गर्ने उद्देश्यले यस अस्पतालबाट सेवा दिन थालिएको उहाँले बताउनुभयो । “क्यान्सरको उपचार पनि महँगो छैन”, निर्देशक बस्नेतले भन्नुभयो । उपचारसँगै नागरिकमा क्यान्सरबारे सचेतना फैलाउने अभियान सुरु गर्ने योजना अस्पतालले बनाएको छ । यस्तै महिलाका लागि हरेक महिना एकपटक आफै ‘ब्रेस्ट चेक’ गर्न अनुरोध गर्नाका साथै खानपान र रहनसहनमा पनि ध्यान दिन अनुरोध गरिने उहाँले बताउनुभयो । अस्पतालका निमित्त प्रमुख कार्यकारी अधिकृत सुन्दर थापाले हरेक दिन क्यान्सरका बिरामी बढिरहेको पाइएको तर बिरामीले सहज र नियमित उपचार सेवा नपाउँदा मानसिक तथा शारीरिकरूपमा थप अशक्त हुँदै गएको अवस्थामा यस अस्पतालमा उक्त रोगका बिरामीको उपचार सुरु गर्न लागिएको जानकारी दिनुभयो । यसैबीच विश्वव्यापीरूपमा स्तन क्यान्सर जागरुकता महिना (अक्टोबर) को अवसरमा स्तन क्यान्सरबारे सचेतनाका लागि नेपाल क्यान्सर रोग निवारण संस्था काभ्रेपलाञ्चोक शाखाले उक्त अस्पतालको सहकार्यमा कात्तिक ३ गते बनेपामा वृहत् ¥यालीे आयोजना गर्ने भएको छ । रोग लाग्नै नदिने र लागिहाले समयमै उपचार गरी सरल जीवनयापन गर्न उत्प्रेरणा प्रदान गर्ने उद्देश्यले उक्त ¥याली आयोजना गर्न लागिएको उहाँले बताउनुभयो । रासस
अन्नपूर्ण (कास्की), २९ असोज :
चाडपर्व लक्षित भेडाच्याङ्ग्रा पोखरा भित्रिसकेका छन् । अहिले साइपाल हिमालतिरका भेडाच्याङ्ग्रा पोखरा आइसकेका छन् भने मुस्ताङबाट आउने व्यापारीहरु बाटोमै छन् । बझाङ, बाजुराका व्यापारीले भने नवदुर्गाको अघिल्लो दिनदेखि बेच्न सुरु गरिसकेका छन् । अहिले पोखरा महानगरपालिका–१, सिम्पानी, जौबारी क्षेत्रमा करिब दुई हजारको हाराहारीमा भेडा च्याङ्ग्राको व्यापार भइरहेको छ । शुक्रबार बझाङबाट भेडाच्याङ्ग्रा पोखरा ल्याउनुभएका व्यापारी राजेन्द्रबहादुर धामीले अरूले भन्दा पहिला ल्याए चाँडो बिक्री हुने बताउनुभयो । “दसैँ लागेसँगै पोखरामा भेडाच्याङ्ग्राको माग बढ्न थाल्छ नबिक्ला भन्ने हुन्न,” व्यापारी धामीले भन्नुभयो, “बरु जति छिटो ल्याउन सक्यो, उति धेरै बिक्री हुने र फाइदा मिल्छ भनेर पहिला नै ल्याएको हुँ ।” एक सय २७ च्याङ्ग्रा लिएर आउनुभएको उहाँले २० वटा बिक्री गरिसकेको सुनाउनुभयो । राजेन्द्रबहादुरले रू २५ हजारदेखि रू ४५ हजारसम्ममा च्याङ्ग्रा बेचिरहेको बताउनुभयो । “रोजेर लैजानेहरुसँग रू ४५ हजारसम्म लिने गरेको छु,” उहाँले भन्नुभयो, “घाटा पर्छ कि भन्नेहरुका लागि जिउँदै जोखेर एक किलोको रू आठ सय ८० का दरले हिसाब गरेर बेचेको छु ।” अर्का व्यापारी सर्पलाल थापाले रोज्जा च्याङ्ग्राको मूल्य बढीमा रू ५७ हजारसम्म पर्ने बताउनुभयो । उहाँले आफूकामा रू ३५ देखि रू ५७ हजारसम्मका च्याङ्ग्रा रहेका जानकारी दिनुभयो । गोठमा खरिद दर नै रू ५३ हजार परेकाले बेच्ने भाउ बढेको उहाँले बताउनुभयो । थापाले भन्नुभयो, “एक महिनाअघि देखि जम्मा गर्न पर्यो । पालिकालाई तिर्न पर्यो । अनि ल्याउँदा ट्रक भाडा लाग्यो हामीलाई पनि अलिअलि फाइदा त हुनै पर्यो नि ।” उहाँले ७२ वटा भेडाच्याङ्ग्रा पोखरासम्म ल्याउँदा ट्रक भाडा, ड्राइभरको खाना, खाजा, भत्ता तिर्दा तीन दिन तीन रातको रू एक लाख ५० हजार खर्च भएको बताउनुभयो । दसैँका बेला हिमाली भेगबाट झारिने भेडाच्याङ्ग्रा पछिल्लो समय भाउ बढ्न थालेको पोखरा महानगरपालिका–१ सिम्पनीका स्थानीय कृष्णप्रसाद भण्डारीले बताउनुभयो । सुरुमा ल्याउँदा महँगो भने पनि पछि सस्तो हुने उहाँको भनाइ थियो । “पोहोर पनि सुरुमा रू ४०/५० हजार भन्न भ्याएका थिए । पछि रू १८ हजारसम्ममा किनेर लगियो,” उहाँले भन्नुभयो, “यो पालि पनि सुरुमा ५७ हजारसम्म भनेका छन् । साह्रै महँगो छ ।” दसैँमा धेरैले सिङ्गै घर लगेर काट्छन् भने सिङ्गै लैजान नसक्नेहरु मिलेर काटेर बाँड्छन् । केहीले फ्रेस हाउसबाट किनेर खान्छन् । “दसैँमा च्याङ्ग्राको मासु खानुपर्छ भन्ने मानसिकता बसिसकेको छ,” कृष्णप्रसादले भन्नुभयो, “केहीले एउटा सिङ्गै लिएर जान्छन् । कोहीले मिलेर लैजान्छन् र भाग लागाएर खान्छन् ।” पछिल्लो समयमा भेडाच्याङ्ग्राको भाउ बढेको भए पनि माग उस्तै रहेको उहाँको भनाइ थियो । रासस