२०८३ भाद्र ४
२०८३ भाद्र ४

सुरेश चन्द्र रिजाल,काठमाडौ‌, ३० असोज ।

नेपाल तन्त्रात्मक वैदिक सनातन हिन्दु भूमि  हो । पौराणिक र तान्त्रिक महत्त्वलाई दृष्टिगोचर गरी दुर्गा भवानीको कृपा तथा आशीर्वाद प्राप्त गर्नका लागि विजया दशमी पर्व मनाउने शास्त्रीय विधान सदीयौंदेखि रहिआएको छ ।

 

शुद्ध माटो तथा गोबरले घर शुद्ध बनाएर शास्त्रीय विधिअनुसार शुभ मुहूर्तमा घडा स्थापना गरी घडाको नजिक सप्तधान्य बीजारोपण गरी नौ दिनसम्म विभिन्न नामले शक्तिको पूजा आराधना पश्चात् प्रसाद स्वरूप दशमीको दिन लगाउने टीका धर्म, अर्थ, काम र मोक्ष प्रदायक हुने कुरा देवी भागवतमा बताइएको छ ।

 

 

आषाढशुक्ल, आश्विनशुक्ल, माघशुक्ल र चैत्रशुक्ल गरी वर्षमा चारवटा नवरात्रहरू पर्ने गर्दछ । यी चार नवरात्रहरूमा आषाढ शुक्ल र माघ शुक्ल पक्षका तिथिहरुलाई गुप्त नवरात्र भनिन्छ । यी नवरात्र साधकहरूका लागि उपयोगी मानिन्छन् । चैत्र शुक्ल र आश्विन शुक्लपक्षमा आम मानिसहरूले शक्तिको आराधना गर्ने गर्दछन् । विशेषगरी आश्विन शुक्ल पक्षमा पर्ने  शारदीय नवरात्त्रको शास्त्रमा अधिक महत्व बताईएको छ ।

 

यस बर्ष साउन महिनामा मलमास परेकाले ढिलागरि २८ असोज आइतबारबाट नवरात्र प्रारम्भ भएको हो ।

 

नौ दिनसम्म मनाउने नवरात्रमा कुन दिन कुन रूपको पूजा गर्ने र कस्तो प्रसाद चढाउने अनि कुन कामनाको पूर्तिका लागि पूजा गर्ने भन्नेबारे मार्कण्डेय पुराणमा उल्लेख गरिएको छ । सावधानी पूर्वक विधि अनुरूप विभिन्न रूपको पूजा गरेमा विभिन्न मनोभिलाषा पूरा हुने बताइएको छ । ‘यं यं चिन्तयते कामं तं तं प्राप्नोति निश्चितम्’ अर्थात् जुन जुन कामनाले भगवतीको आराधना गरिन्छ, ती सबै कामना सिद्ध हुने कुरा दुर्गा सप्तशतीको देव्या कवचमा बताइएको छ ।

 

नौ दिनसम्म  शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी, शिद्धिदात्री गरेर नवदुर्गाको क्रमशः पूजा गर्ने गरिन्छ । विशेष गरेर महाकाली, महालक्ष्मी र महासरस्वतीको आराधना यस पर्वमा गरिन्छ ।

 

दुःख कष्टबाट मुक्तिका लागि गाइको दूधबाट बनाइएका विभिन्न परिकारका प्रसाद भोग लगाउने तथा दान गरेर माता चन्द्रघण्टाको पूजा गरेमा माताको आशिर्वाद हामी माथि सधैँभरि रहन्छ भन्ने कुरा बताइएको छ ।

काठमाडौं, ३० असोज ।

हाल नेपालको पश्चिमी भू-भागमा पश्चिमी वायूको प्रभाव रहेको छ।

 

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखी  सामान्य बदली रहेको छ।

 

दिउँसो सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली र बाँकी भू-भागमा आंशिक बदली देखी मौसम सामान्यतया सफा रहनेछ। सुदूर पश्चिम, लुम्बिनी र कर्णाली प्रदेश लगायत देशका पहाडी भू-भागका थोरै  र तराईका एक दुई स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानहरुमा हल्का हिमपातको संभावना रहेको छ।

 

राती भने सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।

सुदूर पश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशहरुको एक दूई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानहरुमा हल्का हिमपातको संभावना रहेको छ। वर्षा तथा हिमपातका कारण जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधाका साथै चट्याङ्गको जोखिमबाट हुन सक्ने क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

काठमाडौँ, ३० असोज 

हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ । हाल देशभर आंशिकदेखि सामान्य बदली रही बागमती प्रदेशको केही स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, बागमती प्रदेशलगायत देशका पहाडी भू–भागका केही र तराईका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसमविद् राजु प्राधानाङ्गले जानकारी दिनुभयो । उहाँका अनुसार देशको उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा आज हल्का हिमपातको सम्भावना रहेको छ । वर्षा भोलिसम्म रहने भएकाले आज र भोलि किसानले धान नकाट्दा राम्रो हुने मौसमविद् प्राधानाङ्गले बताउनुभयो । काठमाडौँमा अहिलेको वायुको तापक्रम १८ डिग्री सेन्टिग्रेड रहेको तथा पारदर्शिता आठ किलोमिटरभन्दा धेरै रहेको मौसम पूूर्वानुमान महाशाखाले जनाएको छ । आज काठमाडौँमा अधिकतम तापक्रम २५ देखि २७ डिग्री सेन्टिग्रेडको बीचमा रहने सम्भवना रहेको र काठमाडौँमा अपराह्नतिर हल्का वर्षा हुने सम्भावना रहेको मौसमविद् प्राधानाङ्गले जानकारी दिनुभयो । यसैगरी आज राति सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ । देशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाद्वारा प्रकाशित बुलेटिनमा उल्लेख छ । रासस

बलेवा (बागलुङ), ३० असोज :

जिल्लाको जैमिनी नगरपालिकाले धमाधम सडक मर्मत गरिरहेको छ । वर्षामा आएको भेलबाढीले बिगारेको सडक नगरले चाडवाडलक्षित गरेर मर्मत थालेको हो । गोरेटो बाटो सरसफाइ, सवारी चल्ने सडक सरसफाइमा श्रमदान जुटाएर नगरले धमाधम काम गरिरहेको हो । सडक मर्मत र सरसफाइ गर्न सबै वडा कार्यालय सक्रिय छन् । जैमिनीमात्रै होइन जिल्लाका १० वटै स्थानीय तह दसैँअघि नै सडक सहज र सफा बनाउने काममा लागेका छन् । “चाडपर्वमा गाउँ भरिभराउ हुन्छ, धेरै मानिसले यात्रा गर्ने समय हो । यस्तो बेला समस्या नहोस् भनेर सडक मर्मत गरिरहेका छौँ”, जैमिनीका उपप्रमुख हरिहर शर्माले भन्नुभयो, “अब मर्मत गरेका सडक हिउँदभरि मर्मत गरिराख्नु पर्दैन, वर्षा रोकिएकाले सडकमा अवरोध नहोला भनेर सफाइको काम थालेका हौँ ।” प्रत्येक वर्ष बाढी पहिराले सडकमा क्षति पुर्याउने भएकाले सडक मर्मत र सरसफाइलाई यहाँका स्थानीय तहले सधैँ प्राथमिकता राख्ने गरेका छन् । बागलुङ नगरपालिकाले यो वर्ष सडक सरसफाइ र मर्मतका लागि प्रत्येक वडालाई रु पाँच लाखका दरले बजेट नै विनियोजन गरेको थियो । सबै वडामा मर्मत र सरसफाइको काम सकिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत धनप्रसाद पोखरेलले बताउनुभयो । दसैँ लक्षित मात्रै नभई बाढीपछि भत्केका संरचना पुनःनिर्माणसमेत गरिरहेको स्थानीय तहले जनाएका छन् । आफ्नो अधिकार क्षेत्रभित्रका सडक संरचना मर्मत गर्ने र सङ्घ तथा प्रदेश सरकारको जिम्मेवारीमा रहेका सडक मर्मतका लागि ध्यानाकर्षण गराइरहेको बडिगाड गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीले बताउनुभयो । मौसमले साथ दिए दसैँमा घर फर्कने पाहुनालाई सहज हुनेगरी काम गरिरहेको उहाँले बताउनुभयो । ग्रामीण क्षेत्रका कृषि सडकलाई लक्षित गरेर वडा कार्यालयले बाटो मर्मत, सफा गर्ने कामसमेत गरिरहेका छन् । दसैँलाई लक्षित गरेर सडकका खाल्डाखुल्डी धमाधम पुरिएका छन् । सडकमा साना–ठूला डोजर र लोडर चलिरहेका छन् । सडक मर्मत र सरसफाइमात्रै होइन, स्थानीय तहले चाडपर्वका बेला यातायात क्षेत्रमा हुनसक्ने कालोबजारी नियन्त्रण गर्न सक्रिय भइरहेका छन् । जिल्ला प्रशासनसँग मिलेर यहाँका स्थानीय तहले बजार अनुगमनको कामलाई तीव्र बनाएको काठेखोला गाउँपालिकाका उपाध्यक्ष तेजबहादुर थापाले बताउनुभयो । स्थानीय तहले चाडबाडका बेला यातायात क्षेत्रमा हुने कालोबजारी रोकेर नियमानुसार मात्रै भाडा लिन सचेत गराइरहेका छन् । प्रहरी, प्रशासन र यातायात व्यवस्था कार्यालयलाई भाडाको अनुगमनका लागि ध्यानाकर्षण गराएको जैमिनीका उपप्रमुख शर्माले बताउनुभयो । स्थानीय तहले जस्तै जिल्लामा सञ्चालनमा रहेका मध्यपहाडी लोकमार्ग, कालीगण्डकी करिडोर र अन्य सडक आयोजनाले पनि चाडबाडलक्षित सडक मर्मत थालेका छन् । निर्माणको काम चलिरहेका आयोजनामा सम्बन्धित निर्माण कम्पनी र निर्माण सम्पन्न भएर हस्तान्तरण भएका सडक सम्बन्धित कार्यालयलाई मर्मत तथा सरसफाइका लागि अनुरोध गरिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले बताउनुभयो । रासस

रामपुर (पाल्पा), ३० असोज 

रामपुर नगरपालिका–१ का ७५ वर्षीय शेयरबहादुर खाण एक दिनको समय बिताएर बैंकमा पालो पर्खेर भत्ता सामाजिक सुरक्षा बुझ्ने गर्नुहुन्थ्यो । उहाँलाई भत्ता बुझ्न रामपुर बेझाडस्थित बैंकमा नपुगेसम्म अर्को विकल्प थिएन । बैंकमा पालो पर्खेर रकम लिन उहाँले निकै समस्या झेल्नुपथ्र्यो । अहिले भने घण्टौँ समयसम्म बैंकमा पुगेर भत्ता बुझ्ने झन्झटबाट खाण मुक्त हुनुभएको छ । पाल्पाको रामपुर नगरपालिकाले गाउँबस्तीमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेपछि उहाँ औधी खुसी हुनुहुन्छ । “बैंकमा धेरै समय लगाएर पालो पर्खेर भत्ता बुझ्नुपर्ने, गाउँको बाटो गाडीमा आउनजान निकै समस्या, भत्ता बुझ्ने समय आएपछि बैंकसम्म कसरी पुग्ने भन्ने समस्याले निकै पिरोल्थ्यो, अब गाउँबाट भत्ता पाइने भएपछि हामी ज्येष्ठ नागरिकलाई आनन्द भयो”, उहाँले भन्नुभयो । आर्थिक अवस्था नाजुक भएका र शारीरिकरूपमा कमजोर बनेका नागरिकलाई गाडीमा धेरै रकम खर्चेर बैंकमा आवतजावत गर्न समस्या छ । वडा नं १ का स्थानीयले रामपुरको बेझाड बजारसम्म बैंकमा पुग्नमात्रै एकतर्फी रु दुई सयदेखि रु तीन सयसम्म गाडी भाडामा खर्चनुपर्छ । बैंकमा भत्ता बुझ्न जान भनेको समयमा गाडी नपाउनु, पानी परेका समय गाउँका कच्ची सडक बन्द हुने, गाउँमा पाकापुस्ताको मात्रै बसोबास रहेकाले बैंकसम्म पुगेर भत्ता बुझ्ने कार्य ज्येष्ठ नागरिकलाई सास्ती छ । कतिपय परिवारमा अशक्त, ज्येष्ठ नागरिक, बिरामी व्यक्तिलाई बैंकसम्म लैजाने आफन्त नहुँदा उनीहरूले अप्ठ्यारो परिस्थितिमा निकै कष्टसँग भत्ता बुझ्न विवश थिए । गाउँबाट भत्ता बुझ्न पाउने व्यवस्था रामपुर नगरपालिकाले गरेपछि स्थानीय सरकार साँच्चिकै जनताको सरकार रहेको अनुभूति भएको खगिसरा खाम्चा बताउनुहुन्छ । यसअघि भत्ता बुझ्न पाउँदाको खुसीभन्दा पनि कसरी बैंकसम्म पुगेर घर फर्कने भन्ने पिरोल्ने गरेको खाम्चाको भनाइ छ । जनतासँग प्रत्यक्ष जोडिएको स्थानीय सरकार भएकाले उनीहरूलाई आफ्नै गाउँठाउँबाट सेवा दिने उद्देश्यले गाउँबस्तीबाटै सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेको नगरप्रमुख रमणबहादुर थापाले बताउनुभयो । “नगरपालिकाको दूरदराजमा रहेका नागरिकलाई भत्ता बुझ्न आवतजावत गर्न सहज बनाउन नगरको केन्द्रदेखिका टाढाका वडामा गाउँबस्तीबाटै भत्ता वितरण थालनी गरेका छौँ”, उहाँले भन्नुभयो, “वडाका पायक पर्ने स्थानमा नगर सरकारले भत्ता वितरण सुरु गरेको छ ।” नगरको वडा नं १ को चार स्थानबाट भत्ता वितरण भइरहेको छ भने दसैँअगावै वडा नं १० मा पनि गाउँबस्तीबाटै सामाजिक सुरक्षा भत्ता वितरणको काम सक्ने, दसैँ पछाडि वडा नं ९ मा वितरण गर्ने नगरपालिकाले जनाएको छ । ज्येष्ठ नागरिक, ज्येष्ठ दलित, एकल महिला, अपाङ्गता भएका व्यक्ति, दलित बालपोषण भत्ता गाउँबाटै बुझ्न पाउँदा स्थानीय उत्साहित छन् । नगरपालिकाले वडा–वडाबाट सामाजिक सुरक्षा भत्ता वितरणका लागि कृषि विकास बैंक शाखा कार्यालय रामपुरसँग सम्झौता गरी गाउँबस्तीमा कर्मचारी खटाएर काम गरिरहेको रामपुर–१ का वडाध्यक्ष तथा नगर प्रवक्ता कपिलबहादुर खाणले बताउनुभयो । भत्ता वितरण गर्नुअघि कृषि विकास बैंक रामपुर शाखाले वडाका विभिन्न टोलबस्तीमा पुगेर बैंक खाता खोल्ने काम सम्पन्न भएपछि मात्रै भत्ता वितरणको काम सुरु भएको हो । नगरपालिकाले बैंकको पहुँचदेखि टाढा रहेका वडाबाट यस अभियानको थालनी गरेको छ । जनताको घरदैलोमै सरकारको अनुभूति दिलाउन रामपुर नगरपालिकाले गरिब, विपन्न परिवारलाई घरमै पुगेर निःशुल्क स्वास्थ्य बीमा, घर तथा भवन निर्माणको क्षेत्रमा कार्यरत मजदुर वर्गको सुरक्षालाई मध्यनजर गर्दै मजदुर दुर्घटना बीमा, ज्येष्ठ नागरिक सम्मान, घर–घरमा ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण, घरपरिवार, श्रीमान्को हिंसामा परेका महिलालाई राहतलगायतका विभिन्न सामाजिक कार्यमा जोड दिएर काम गरेको छ । रामपुर नगरपालिकाले पाल्पाका १० स्थानीय तहमध्ये भिन्न तरिकाले जनतालाई प्रत्यक्ष फाइदा पुग्ने खालका सामाजिक कार्यका गतिविधि अगाडि बढाएको छ । रासस

काभ्रेपलाञ्चोक, ३० असोज 

काभ्रेपलाञ्चोकको पनौती नगरपालिकाले लम्पीस्किन रोगबाट पशुचौपाया मरेका तीन सय किसानलाई राहत वितरण गरेको छ । हालसम्म नगरका १२ वडामा तीन सय किसानको तीन सय १० पशु चौपायाको लम्पी स्किनबाट मृत्यु भएको नगरले जनाएको छ । नगरले लम्पीस्किन पीडितलाई राहत वितरणको मापदण्ड तयार गरी दुई वटासम्म पशुचौपाया मरेका किसानलाई राहत दिएको हो । मरेका प्रतिपशुचौपायालाई रु १० हजारका दरले तीन सय किसानलाई तीन सय १० पशुचौपायाको राहत प्रदान गरिएको नगर पशुपक्षी शाखाका प्रमुख लीलानाथ सापकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार नगरले विपद् व्यवस्थापन कोषबाट उक्त राहत वितरण गरेको हो । लम्पीस्किन पनौती नगरको वडा नंं १ मा ३८, वडा नं २ मा २४, ३ मा ६६, ४ मा ३५, ५ मा ३१, ६ मा ११, ७ मा चार, ८ मा १४, ९ मा ६० पशुचौपायाको मृत्यु भएको थियो । त्यस्तै वडा नं १० मा २१, वडा नं ११ मा पाँच र वडा नं १२ मा एक मरेका पशुचौपायाको परिवारलाई राहत वितरण गरिएको शाखाले जनायो । लम्पीस्किनका कारण काभ्रेपलाञ्चोकमा हालसम्म ३१ हजारभन्दा बढी पशु सङ्क्रमित बनेको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ । यसमध्ये जिल्लाको १३ स्थानीय तहमा छ सय ८१ पशुचौपायाको मृत्यु भएको छ । उक्त रोगका कारण गाईगोरु, बाछाबाछी र केही भैँसीसमेत मरेका हुन् । जिल्लाको सबैभन्दा बनेपा नगरको छवटा वडामा एक सय १८ पशु मरेका थिए । यो रोगको हालसम्म कुनै ठोस उपचार पत्ता लागेको छैन । लम्पीस्किन सङ्क्रमण सन् १८८८ मा अफ्रिकाबाट सुरु भएको थियो । सन् २०१२ पछि मध्यपूर्व, दक्षिणपूर्वी युरोप, रसिया, काजकिस्तान र बङ्गलादेश हुँदै विसं २०७७ असारमा नेपालको मोरङ जिल्लामा पहिलोपटक देखिएको थियो । काभे्रपलाञ्चोकमा भने सोही सालको साउनमा पनौतीको एक भैँसीमा देखिएको थियो । उक्त रोग लागेपछि गाई, भैँसीले कचेरा निकाल्ने, सिङ्गान बग्ने तथा फिँज धेरै निकाल्ने, शरीरका विभिन्न भागमा विशेषगरी घाँटी, पछाडिका खुट्टामा, पेट तथा थुन वरिपरि साना, ठूला गिर्खा तथा फोका देखिन्छ । रोगका कारण पशुबाट २५ देखि ८० प्रतिशतसम्म दूध उत्पादन घट्छ भने पशुको गर्भ तुहिने, मृत्युदर कम भए पनि धेरै पशु बिरामी हुने गर्छन् । रासस

म्याग्दी, ३० असोज :

दुुई महिनाअघिको बाढीको पीडा भुुलेर मुुस्ताङको वारागुुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीका बासिन्दा पुुनःनिर्माणमा जुुटेका छन् । गत साउन २८ गते कागखोलामा आएको बाढीले कागबेनीमा भौतिक संरचनामा ठूूलो क्षति पुुर्याएको थियो । गाउँपालिका, समुदाय, सुरक्षा निकाय र दाताको श्रम तथा आर्थिक सहयोग जुटाएर बाढी व्यवस्थापन गरी कागबेनीलाई पुरानै लयमा फर्काउन जुटेको कागबेनी बस्ती पुनःस्थापना तथा संरक्षण समितिका संयोजक ढारा गुरुङले बताउनुभयो । “बस्तीमा पसेको बाढीको गेग्रान पन्छाउने काम जारी छ । बाढीले कटान गरेर बस्तीमा पसेको कागखोलालाई पुुरानै धारमा फर्काएर बगाइएको छ । अस्थायी पुल बनाएर आवतजावतको व्यवस्था मिलाइएको छ । खानेपानी र विद्युत् आपूर्ति सहज बनाएका छौँ”, वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका पूर्वअध्यक्षसमेत रहनुभएका उहाँले भन्नुभयो, “बाढी पन्छाएर श्रद्धास्थल पनि बनाएका छाँै । यी काम गर्न छिमेकी गाउँका बासिन्दाले आर्थिक सहयोगका साथै श्रमदान गर्नुभएको छ । सुरक्षा निकायले पनि जनशक्ति उपलब्ध गराएका छन् । गाउँपालिका, दाता र प्रभावितहरूले रु एक करोडभन्दा बढी चन्दा जुटाएर कागबेनी बजारमा थुप्रिएको गेग्रान उठाएर फाल्ने काम गरिरहेका छन् । छिमेकी गाउँका बासिन्दाका साथै पोखरा, काठमाडौँ र विश्वका विभिन्न देशमा रहेका मुस्ताङवासीले सो सहयोग रकम सङ्कलन गरेर पठाएका हुन् । व्यक्तिगत घरभित्र पसेको गेग्रान पन्छाउन घरधनीले मजदुर परिचालन गरेका छन् । चन्दाको रकम परिचालन गरेर चार डोजर, ब्याकुहोलोडर परिचालन गरी खोला र सार्वजनिकस्थलको बाढीको गेग्रान निकालेर टिपरमा राखेर फाल्ने काम भइरहेको उहाँले बताउनुभयो । तिरीगाउँ र कागबेनीमा आवतजावत गर्न तीनवटा अस्थायी पुल बनाएर आवतजावत सहज बनाइएको छ । घर पूर्ण क्षति भएका बाहेकका सर्वसाधारण बाढी पन्छाएर घर र व्यवसायमा फर्किएका छन् । बाढीले घर भत्काएपछि करिब एक महिना छिमेकीकोमा आश्रय लिएर बस्नुभएकी युनुङ गुरुङले गोठलाई मर्मत गरेर त्यहाँ बस्न थालेको र बाढी पन्छाएपछि घर पुनःनिर्माण गर्ने योजना रहेको बताउनुभयो । क्षतिग्रस्त भौतिक संरचनाको मर्मत र बाढी पन्छाएर जनजीवनलाई सामान्य अवस्थामा फर्काउने कामलाई तीव्रता दिएको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष रिनजिन गुरुङले बताउनुभयो । “बाढी र कटान नियन्त्रण गर्न तटबन्धको योजनाका लागि प्रदेश र सङ¬्घीय सरकारसँग पहल गरेका छौँ”, उहाँले भन्नुभयो, “जोखिमको प्राविधिक अध्ययन गरेर बाढीको दिगो नियन्त्रणको योजना आवश्यक छ ।” भवनमा बाढी पसेपछि क्षति भएको जनशान्ति माविको भवन स्थानान्तरणको पहल गरिएको सहायक प्रअ मनवीर किसानले बताउनुभयो । कागखोलाको बाढीबाट रु एक अर्बभन्दा बढीको क्षति पुगेको प्रारम्भिक अनुमान गाउँपालिकास्तरीय विपद् व्यवस्थापन समितिले गरेको छ । सडक, मोटरेबल पुल, झोलुङ्गे पुल, गुम्बा, मन्दिर धर्मशाला, सामुदायिक भवन, प्रहरी चौकीको भवन, तटबन्धनमा क्षति गरेको थियो । कागखोलाको बाढीबाट रु एक अर्बभन्दा बढीको क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको छ । नगद सामान र संरचनामा मात्र रु ८१ करोड ८३ लाख बराबरको क्षति भएको छ । सडक, मोटरेबल पुल, झोलुङ्गे पुल, गुम्बा, मन्दिर धर्मशाला, सामुदायिक भवन, प्रहरी चौकीको भवन, तटबन्धनलगायत १४ गरी भौतिक पूर्वाधारतर्फ रु २१ करोड दुई लाख बराबरको क्षति पुगेको थियो । व्यक्तिका ५० घरमा रु ५२ करोडभन्दा बढीको क्षति भएको थियो । उक्त बाढीबाट २९ घरमा पूर्ण क्षति पुगेको छ । नौ गोठमा पूर्ण र १५ मा आंशिक क्षति भएको तथा बाढीले बगाउँदा २४ पशु चौपाया पनि मरेका थिए । रासस

काठमाडौँ, ३० असोज :

केही समयअगाडि काठमाडौँमा मिटरब्याजको समस्याबाट पीडित र सार्वजनिक विद्यालयका शिक्षकले जनजीविका र सामाजिक सुरक्षाको विषय जोडेर आन्दोलन गरे । यी दुई आन्दोलनको विषयलाई चलचित्रको पर्दामा देखिएको छ । यही मर्ममा आधारित रहेर कुमार भाष्करले निर्देशन गर्नुभएको चलचित्र ‘कौसीद’ गत शुक्रबारदेखि प्रदर्शनरत छ । संस्कृत भाषामा ‘कौसीद’को अर्थ बैंकबाट लिइएको ऋणसम्बन्धी हो । मधेसको मिथिलानगरी जनकपुरमा जन्मेर हुर्किनुभएका निर्देशक भाष्करले सिङ्गो नेपालको समास्यालाई चलचित्रको विषय बनाउनुभयो । केही पुस्तकलाई मैथलीमा अनुवाद र केही छोटा चलचित्रको निर्देशन गरिसक्नुभएका निर्देशक भाष्करको यो ठूलो पर्दाका लागि पहिलो काम हो । “मैले शिक्षकको समस्यालाई भोग्ने शिक्षक भेटेको थिएँ । छोरालाई उच्च शिक्षा पढाउनुपर्यो, छोरीको विवाह गराइदिनुपर्यो, घर बनाउनुपर्यो, यो बेला सम्झिने भनेको बैंक हो । तर यी सबमा एक इमान्दार शिक्षक एक्लो हुन्छ, त्यहीँ भोगाइ पर्दामा छ”, निर्देशक भाष्करले भन्नुभयो, “यसलाई मैले दुई वर्ष अगाडि नै लेखेर तयार गरेको थिएँ । अहिले यो समस्या सबैको आँखामा परेको छ । हामीले चलचित्रमार्फत आफ्नै समाजको मौलिक विषयलाई उठाउन खोजेका थियौँ ।” चलचित्रले एक शिक्षकको कथा व्यक्त गरेको छ । इमान्दार शिक्षकको भूमिकामा भोलाराज सापकोटा हुनुहुन्छ । उहाँको श्रीमती ऋचा शर्मा र एक छोरा र एक छोरी छन् । छोरीको जन्मदिन मनाउने क्रममा घरबेटीले भाडाको विषय किचलो गरेपछि शिक्षक परिवारको जोडबलमा ऋण गरेर भए पनि घर बनाउन सफल हुन्छन् । श्रीमती, छोराछोरीको रहर हुँदै गर्दा सालोले बैंकमा चिनजान भएकाले सस्तो ब्याजमा ऋण मिलाइदिने भनेपछि शिक्षक सहमत हुन्छन् । यद्यपि विद्यालयको तलबले घरघर्च टार्न नै धौधौ हुन्छ । इमान्दार भएकाले विद्यालयको विभिन्न निर्माणसम्बन्धी बोलपत्र, शिक्षक नियुक्तिका विषयमा उनले अनैतिक काम गर्दैनन् । यद्यपि बैंकको ब्याज तिर्न नसक्दा उनको नाम नै पत्रिकामार्फत खराब ऋणीको रूपमा प्रकाशित हुन्छ । त्यसपछि ती इमान्दार शिक्षकले के गर्छन् ? भन्ने विषयवस्तु नै चलचित्रमा देखाइएको छ । “यो कथाले आकर्षित गरेर मैले काम गरेको हुँ । यस्ता चलचित्र नेपालमा कमै बन्छन् र बनेकालाई एउटा कलाकारका हिसाबले हामीले हौसला दिनुपर्छ”, अभिनेता सापकोटाले भन्नुभयो । चलचित्रमा रुपेश दाहाल, परिक्षितविक्रम राणा, सदीक्षा गौतम, निर्भिक भट्टराई, सागर भट्टराई, सन्दीप लोहनीलगायत कलाकारले समेत अभिनय गर्नुभएको छ । रासस

बेइजिङ (चीन), ३० असोज 

जनवादी गणतन्त्र चीनको भ्रमणमा रहनुभएका उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ गए राति चीनको राजधानी बेइजिङ आइपुग्नुभएको छ । बेइजिङस्थित तासिङ अन्तर्राष्ट्रिय विमानस्थलमा उहाँलाई चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ र चीनको पर्यावरण तथा वातावरण मन्त्रालयका उच्च अधिकारी चू यूउनले स्वागत गर्नुभयो । उपप्रधानमन्त्री श्रेष्ठ चीनका सार्वजनिक सुरक्षा र आपत्कालीनमन्त्री एवं चिनियाँ कम्युनिष्ट पार्टीका सचिव वाङ सियाओहङको मैत्रीपूर्ण निमन्त्रणामा चीन भ्रमणमा आउनुभएको हो । आज उपप्रधानमन्त्री श्रेष्ठ र चीनको सार्वजनिक सुरक्षामन्त्री वाङका बीचमा द्विपक्षीय सहयोग र सम्बन्धबारे छलफल हुनेछ । वाङ चिनियाँ कम्युनिष्ट पार्टीको सचिवालयलय सदस्य तथा स्टेट काउन्सिलर हुनुहुन्छ । उपप्रधानमन्त्री श्रेष्ठ आजै चिनियाँ राष्ट्रपति सी चीनफिङले आयोजना गर्नुहुने रात्रिभोजमा सहभागी हुनुहुनेछ । भ्रमणका क्रममा उपप्रधानमन्त्री श्रेष्ठ यहाँ आयोजना हुने ‘तेस्रो बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसन’मा सहभागी हुनुहुनेछ । उहाँले आगामी कात्तिक १ गते आयोजना हुने ‘हरित विकाससम्बन्धी उच्चस्तरीय मञ्च’को नीति र प्रगतिबारेको छलफलमा मुख्य वक्ताका रूपमा सम्बोधन गर्ने कार्यतालिका छ । यसैगरी चीनमा रहँदा उपप्रधानमन्त्री श्रेष्ठ र चीनका आपत्कालीन व्यवस्थापनमन्त्री वाङ सियाङ्सीबीच द्विपक्षीय भेटवार्ता हुनेछ । त्यहाँ रहँदा उहाँले प्रकोप जोखिम अवलोकन तथा पूर्वसूचना केन्द्र र आपत्कालीन ‘कमाण्ड सेन्टर’को अवलोकन गर्ने कार्यक्रम छ । रासस

दोधारा चाँदनी (कञ्चनपुर), ३० असोज 

कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ स्थित महाकाली नदीको तटीय क्षेत्रमा ‘बिचभलिबल’ प्रतियोगिता सुरु भएको छ । सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशीले प्रतियोगिताको शुभारम्भ गर्नुहुँदै खेलकुद प्रतियोगिताले पर्यटन विकासमा टेवा पुग्ने बताउनुभयो । उहाँले भन्नुभयो ,“खेलकुद राष्ट्र र स्वास्थ्यका लागि मात्रै नभइ पर्यटनमा समेत टेवा पुर्याउँछ । यस्ता प्रतियोगिता भइराख्नुपर्छ ।” कञ्चनपुर जिल्ला भलिबल सङ्घ र नेपाली सेनाद्वारा संयुक्तरूपमा आयोजित सो प्रतियोगिता अगामी कात्तिक १ गतेसम्म जारी रहनेछ । प्रतियोगिताका ३२ टिमको सहभागिता रहेको छ । खुला तथा भेट्रानबीच पुरुष भलिबल प्रतियोगिता अन्तर्गत खुलातर्फ २३ टिमको र भेट्रानतर्फ नौ टिमको सहभागिता छ । खुलातर्फ प्रथम, द्वितीय र तृतीयलाई क्रमशः रु एक लाख, ५० हजार र २५ हजार तथा भेट्रानतर्फ प्रथम, द्वितीय र तृतीयले क्रमशः रु २५, १५ र १० हजार पुरस्कारसहित ट्रफी प्राप्त गर्नेछन् । शुभारम्भका अवसरमा श्री नम्बर २५ बाहिन अड्डा भगतपुर ब्यारेकका बाहिनीपति मनोज थापा र कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अधिकारीलगायतको सहभागिता रहेको थियो । रासस

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।