२०८३ भाद्र ४
२०८३ भाद्र ४

काठमाडौँ, ७ कात्तिकः

नेपाल प्रहरीले आज विजया दशमी अर्थात् टीकाका दिन काठमाडौँ उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ । दसैँको टीका ग्रहण गर्न आवातजावत गर्ने सर्बसाधारणको सहजताका लागि उपत्यकाका दुई वटा मार्गमा निःशुल्क बस सेवा दिइने केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायव महानिरीक्षक कुवेर कडायतले राससलाई जानकारी दिनुभयो । उहाँका अनुसार आज बिहान ८.३० बजेदेखि बेलुकी ४ बजेसम्म एउटा बस नक्सालदेखि टिचिङ चक्रपथ हुँदै जावलाखेल र लगनखेल भएर फेरी नक्साल आउने छ भने अर्को बस नक्साल हुँदै एअरपोर्ट, भक्तपुर, सल्लाघारी, सुर्यबिनायक हुँदै पुनः नक्साल आउने छ । रासस

गण्डकी, ७ कात्तिक 

गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले विजयादशमी पर्व असत्यमाथि सत्यको विजयको प्रतीक भएको बताउनुुभएको छ । विजयादशमीको उपलक्ष्यमा शुुभकामना सन्देश व्यक्त गर्दै उहाँले असत्यमाथि सत्यको विजय भएको प्रतीकको रूपमा मनाइने विजयादशमी पर्वको विशेष महत्व रहेको उल्लेख गर्नुभएको छ । सन्देशमा यस पर्वले क्रोध, लोभ, अन्याय, अत्याचार, रोग, व्याधि तथा भोक र शोकको अन्त्यसँगै व्याप्त अनेक असत्यताको अन्त्य हुने अपेक्षा गरिएको छ । यसैगरी सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र सहयोगको भावनालाई प्रगाढ बनाउँदै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वाससहित सबैको सुख, शान्ति, समृद्धि, आरोग्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गरिएको छ । रासस

काठमाडौँ, ६ कात्तिक 

प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी मनाइँदैछ । महानवमीका दिनमा गरिने दुर्गा पूजालगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ । दसैँघर र कोतलगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा आराधना र दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत एवं देवी स्तोत्र पाठ गरिन्छ । पशुबलि नदिने र शाकाहारीहरुले भने महानवमीका दिनमा कुभिण्डो, घिरौँला, मुला, काँक्रो र जटा नरिवलसमेत बलि दिई पायस पनि चढाउने गर्दछन् । अधिकांश स्थानमा महाष्टमीको दिनमा बलि दिने र महानवमीका दिनमा मार हान्ने चलन पनि रहेको छ । मार्कण्डेय पुराणमा उल्लेख भएअनुसार महानवमी तिथिकै दिन चामुण्डा देवीले रक्तबीज राक्षसलाई वध गरेकाले महानवमी पर्वलाई विशेष महत्त्वका साथ लिइन्छ । कतिपय शक्तिपीठमा भने आज हाँस, कुखुरा, बोका, भेडा र राँगाको पञ्चबलि पनि दिने गरिन्छ । नवरात्रको अन्तिम दिन आज पनि देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शनका लागि भक्तजनको भीड लाग्छ । आश्विन शुक्ल प्रतिपदाका दिन घटस्थापना गरी जमरा राखिएको पूजा कोठा वा दसैँ घरमा आज नवदुर्गा मध्येकी नवौँ देवी सिद्धिदात्रीको विधिपूर्वक पूजा आराधना गरिन्छ । दुर्गाको प्रतीकका रूपमा कन्यालाई पूजा गरी दक्षिणासमेत दिइन्छ । यस अवसरमा महाकाली, महालक्ष्मी र महासरस्वतीको पनि विधिपूर्वक पूजा आराधना गरिन्छ । महानवमीका अवसरमा कोतहरूमा हर्षबढाइँका साथ कोतपूजा र निशानापूजा गरिन्छ । यस अवसरमा हनुमानढोका दरबारका साथै नेपाली सेनाका ब्यारेक र गुल्महरूमा बाजागाजासहित जङ्गी निशाना पूजा र कोतपूजा गर्ने प्रचलन रहेको छ । हनुमानढोको दरबार क्षेत्रको तलेजु भवानी मन्दिर खोलिँदै हनुमानढोका दरबार क्षेत्रमा रहेको वर्षमा एकपटक आज अर्थात् महानवमीका दिन मात्र खुल्ने तलेजु भवानीको मन्दिर खुल्ने गर्दछ । मन्दिर खुला गरेर भक्तजनलाई दर्शन गराउने तयारी पूरा भएको हनुमानढोका दरबार हेरचाह अड्डाले जनाएको छ । तलेजु भवानीलाई भने फूलपातीकै दिन हनुमानढोका दरबारको मूलचोकमा ल्याइएको छ । तलेजु भवानीलाई विजयादशमीका दिन बिहानमात्र मूल मन्दिरमा फर्काइने जनाइएको छ । मूलचोकमै महाअष्टमीको राति कालरात्रि पूजा गरी ५४ बोका र ५४ राँगाको बलिसमेत दिइएको छ । राज्य सञ्चालनका लागि शक्ति प्राप्त होस् भन्ने सङ्कल्पले आइतबार राति तान्त्रिक विधिले कालरात्रि पूजा गरिएको जनाइएको छ । रासस

लमजुङ ५ कार्तिक ।

लमजुङ कारागारमा रहेका कैदीबन्दीलाई त्रिवेणी युवा क्वलले खसी र खाद्यान्न सहयाग गरेको छ ।

 

कारागारमा रहेका कैदीबन्दीलाई दशैं मनाउनको लागि बेसीशहरमा रहेको त्रिवेणी युवा क्लवले २४ हजार मुल्य बराबरको खसी र ७ हजार पाँच सय रुपैया बरावरको खाद्यान्न सहयोग गरेको हो ।

क्लवले हरेक वर्ष बडादशैको अवसरमा कारागारमा रहेका कैदीबन्दीहरुलाई खाद्यन्न सहयोग गर्दै आएको छ ।  कैदी बन्दीहरुलाई सहज र उल्लासमय रुपमा चाडपर्व मनाउन सहज होस् भनेर  क्लवले सहयोग प्रदान गरेको क्लवका अध्यक्ष विनोद गुरुङले बताए।

कैदीवन्दीलाई दशैकौ शुभकामना दिनुको साथै क्लवका पदाधिकारी, जिल्ला कारागारका जेलर, चौकीदार लगायत उपस्थित व्यक्तिहरुविच शुभकामना आदानप्रदान भएको थियो ।

चाडपर्वको वेला सम्झिएर खाद्यन्न प्रदान गरेको भन्दै कारागारका कैदी बन्दीहरुले आभार व्यक्त गरेका थिए ।  कारागारका जेलर कमलापती अधिकारीले दशैंमा कैदीबन्दीका लागि सरकारले थोरै मात्र सहयोग गर्ने भएकोले क्लवको यस सहयोगले चाडपर्वमा कैदी–बन्दीलाई खुसी थप्ने बताए ।

लमजुङ कारागारमा हाल ७ जना महिलासहित  ८८ जना कैंदीबन्दी रहेका छन् । कारागारका कैदीवन्दैलाई दशैँका लागि यसअघि बेसीशहर नगरपालिकाले २ वटा खसी सहयोग गरेको छ ।

काठमाडौं, ४ असोज  ।

हिजोआज सामाजिक सञ्जाल फेसबुकमा दिन बिराएर लाइभमा आउने गर्छिन् आफूलाई अभियान्ता बताउने  तारा बराल। अरूको न्यायको लागि भन्दै बेलगाम बरालिदै हिड्ने बराल पछिल्लो समय आफ्नै कारणले गर्दा घाईते बाघजस्तै रन्थनिन थालेकी छन्।

फेसबुकमा विभिन्न व्यक्तिहरूको नाम किट्दै खुला चुनौतिको भाषा प्रयोग गर्दै उनी बर्बराउन थालेकी हुन् ।

केही समय अघिमात्रै उनीबारे एक जना पूर्व  एआईजी र एक महिलासँगको लफडाबारे विभिन्न अनलाईनमा समाचारहरू आएका थिए । त्यसका विरुद्ध कानुनी उपचार खोज्नुको साटो फेसबुकले नै न्याय दिने जस्तो गरी त्यसैलाई माध्यम बनाएर लाईभमा यतिबेला बेलगाम बोल्दै हिडेकी छन् बराल ।

उनी साच्चै एउटा अभियान्ता हुन् भने उनले के बोल्न हुन्छ, के बोल्न हुदैन भन्ने कुराको ज्ञान हुनुपर्ने हो । तर त्यसैको ज्ञान नहुदा उनी आफू अप्ठयारोमा पर्न थालेकी छिन्।

अहिले उनलाई चरित्र हत्या लगाएत अन्य थुप्रै मुद्दा परेको भन्ने कुरा उनको आफ्नै कुराहरूबाट प्रष्ट हुन्छ । जसका कारण आफुलाई जोगाईदिन आग्रह गर्दै फेसबुकमा लाईभ आउदै हारगुहार गरिरहेकी छन् बराल।

 

उनी त अहिले आफुविरूद्ध मुद्वा हाल्नेहरूलाई आक्रोशित मुद्रामा तथानाम गाली गर्दै हिडिरहेकी छन्  । एउटा अभियान्ताको रूपमा आफुलाई चिनाउन चाहने मान्छेले आफुले गलत गरेको पाईए कानुनी सजाय भोग्न तयार छु भन्न सक्नुपर्ने हो । तर उनी आफुविरूद्व लाग्नेहरू सबैलाई फसाउन खोजेको भनेर एकोहोरो रटान लगाईरहेकी छन् । एउटाले षड्यन्त्र गरेको मान्ने हो भनेपनी सबैले त्यस्तो गर्छन् भन्ने हुनै सक्दैन।

अहिले बराल विरूद्व मुद्वामाथि मुद्वा थपिदै गएको कुराहरू बाहिर आएका छन्  जसलाई उनी आफैले बोलेको कुराहरूले पनि प्रष्ट पार्दछ । उनीहरू पक्कै कुनै न कुनै हिसाबबाट बरालबाट पिडित भएकै कारण नै कानुनी उपचारको बाटो खोज्न बाध्य भएका छन् । यसर्थ जसरी उनले आफुलाई दुधले धोएको जस्तो गरी चोखो छु भन्ने कुरा गर्दै आईरहेकी छन् त्यो केवल भ्रम हो भन्ने कुरा पछिल्ला घटनाक्रमहरूले पुष्टी गर्दछ।

कानुन सबैलाई बराबर हुन्छ, यसले न कथित् अभियन्ता चिन्छ, न नेता न त अरू नै । कानुन यसर्थ अन्धो हुन्छ कि उसले कसैलाई चिन्दैन । त्यसकारण आफुलाई कसैबाट अन्याय भएको पाईए कानुनी उपचार खोज्नु बाहेक अन्य विकल्प छैन भन्ने कुरा नबुझेको बताईन्छ।

हो मान्छेबाट गल्ति हुन्छ तर त्यसलाई सच्याउने या किनारा लगाउने पनि आफ्नै विधि हुन्छ, तरिका हुन्छ । तर सामाजिक सञ्जालमार्फत कसैलाई गाली गरेर आरोपित गरेर त आफु चोखो भईने त पक्कै होईन होला नी ।

नेपालीमा एउटा भनाई छ, ‘दुःख पाईस मङ्गले आफ्नै ढङ्गले’। हो उनका लागि यो उखान अहिले चरितार्थ भएको छ।

अहिले त कतिसम्म भने उनी आफ्नै कथित् अभियानमा जोडिएकाहरूबाट समेत सुरक्षित नभएको प्रष्ट हुदै गएको छ। आफ्ना नजिकका भनिएकाहरूबाट नै टाडिन पुगेकी छन् बराल । कुनै अमुक पार्टीको नाम जोड्दै बरालले हिजोका उनै सहयात्रीहरूलाई सञ्जालमा यसरी गाली गरिरहेकी छन् कि जुन कुरा सामान्य मानिसले पचाउन गाह्रो हुन्छ । उनीहरूबाट मुद्दा परेपछी बरालको निदहराम भएको छ । ती कुराहरूलाई आधार मान्ने हो भने त बरालमाथि निकै ठूलो संघीन आरोप लागेको छ ।

 

यद्वपि अहिले उनीहरूबीच हिलो छ्यापाछ्यापको स्थिती छ। उनीहरूबीचको वास्तविक दोषी त एक दिन पत्ता लाग्ने नै छ तर यसबाट एउटा कुरा चाहि प्रष्ट हुन्छ कि यसमा बरालको कुनै न कुनै हिसाबको कमजोरी पक्कै छ ।

जसरी उनले अरूलाई आफ्नो व्यक्तिगत मामलामा सरोकार राख्ने अधिकार नरहेको भन्दै अरू विरूद्व औला ठड्याईरहेकी छिन् त्यसरी नै उनीमाथि पनि त्यहि प्रश्न तेर्सिन्छ भन्ने कुरा उनले ख्याल गर्नुपर्ने हो । जसरी उनी अहिले एक युवतीको व्यक्तिगत मामलामा पसेर उनको अस्मितामाथि प्रश्न उठ्ने गरी नानाथरी लेख्दै र बोल्दै हिडिरहेकी छन् त्यसले आफ्नो पनि भलो हुदैन भन्ने कुराको उनले हेक्का राख्नुपर्ने हुन्छ । यदि उनीहरूबाट आफु पिडित महसुस भएको भए त उनले कानुनी उपचार खोज्नु पर्ने हो नी । तर उनी त सामाजिक सञ्जाल नै दुषित हुने गरी अरूमाथि विषवमन गर्दै आईरहेकी छन् ।

पछिल्लो समय उनको लोकप्रियताको ग्राफ तल झर्दै गएका कारण पनि उनी अहिले छटपटिएको हुन सक्ने कतिपय मानिसहरूले अड्कल काट्न थालेका छन् ।

आफ्नै सम्बन्ध स्वार्थका लागि पिडितको नाममा भ्रम छर्नाले पनि बरालप्रति मानिसहरूले विश्वास नै गर्न छाडेका छन् ।

धेरैले त मानवीय संवेदनाप्रतिको उनको निकृष्ट आचरणका कारण पनि उनलाई रुचाउन छाडेका छन् ।

शत्रु नै किन नहोस्, उनको दुःखमा आम मानिसको चरित्र सहानुभूति प्रकट गर्नु हुन्छ । यस्ता संवेदनाहिन र आचरणहिन महिलाले कस्तो समाज निर्माण गर्न खोजेकी हुन् भन्न गाह्रो छ ।

स्मरण रहोस केही वर्ष अघिदेखि चितवनको रामपुर कृषि क्याम्पसको खाली जग्गामा बनिरहेको गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको निर्माण कार्य रोकिनुमा यिनी पनि कम जिम्मेवार छैनन्। जसको एकोहोरो हठ र जिद्दीका कारण यतिबेला निर्माण पूरा हुनुपर्ने रंगशाला अहिलेसम्म निर्माणको आधार कार्य पनि समापन हुन सकेन्।

राैतहट,कार्तिक ०४ गते ।
रौतहट जिल्लाको मौलापुर नगरपालिका वडा नम्बर ७ सगैया पिपरियामा नेकपा एसका राष्ट्रिय अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधव कुमार नेपालको प्रमुख अतिथ्यतामा हिन्दूहरुको महान पर्व बिजयी दशमी , शुभ दिपावली , तिहार र छठ पर्वको शुभकामना आदानप्रदान तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा नेकपा एसको जिल्ला अध्यक्ष कमल राय यादवको संयोजकतवमा नगर अध्यक्ष नजिर खा को अध्यक्षता तथा मौलापुर नगरपालिकाका मेयर प्रत्याशी रामकल्याण यादव , नेकपा एस पोलिटिक व्युरो सदस्य रामकुमार भट्टराई , प्रदेशसभा सदस्य कनिष्ठ पटेल, बारा जिल्ला सह इन्चार्ज बतहु राय यादव , युवा संघ नेपाल मधेश प्रदेश को अध्यक्ष अर्जुन सिंह , बौधिमाई नगरपालिकाको नगरप्रमुख प्रदिप यादव , बृदावन नगरपालिकाको नगरप्रमुख बिनोद पटेल लगायत विभिन्न नेता कार्यकर्ता स्थानीय जनसमुदायको उपस्थितिमा कार्यक्रम भएको हाे ।
साे कार्यक्रममा नेकपा माओवादी,एमाले,नेपाली काँग्रेस पार्टी प्रत्याग गरि गगनदेव साह कानु ,चेथरु साह कानु , बिनोद महतो कोइरी, जोतिक राय , नगेन्द्र कुशवाहा लगायतको व्यक्ति नेकपा एसमा प्रवेश गर्नुभएको छ ।
नव प्रवेशीलाई पार्टी अध्यक्ष पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले माला र अबिर लगाई स्वागत गर्नु भएको नेकपा एसका यूवा नेता रामकल्याण यादवले जानकारी गराउनु भएको हाे ।

काठमाडौँ, ५ कात्तिक 

बडादशैँको आठौँ दिन महाकाली, महालक्ष्मी र महासरस्वती देवीको विधिपूर्वक विशेष पूजा आराधना गरी देशभर महाअष्टमी पर्व मनाइँदै छ । यो दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्त्व रहेको विभिन्न वैदिक सनातन परम्पराका ग्रन्थमा उल्लेख गरिएको छ । प्रत्येक वर्ष आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमीमा नेपालीले बडादसैँका रूपमा दुर्गा भवानीको विशेष पूजा आराधना गरी भव्यरूपमा मनाउँछन् । शास्त्रसम्मतरूपमा दसैँघर, कोतलगायत देशभरका विभिन्न शक्तिपीठमा पशुबलि दिई दुर्गा भवानीको विशेष पूजा गरी आज महाअष्टमी पर्व मनाइन लागिएको हो । यस अवसरमा दुर्गा भवानीको विशेष पूजा आराधनासहित दुर्गा सप्तशती, श्रीमद्देवीभागवत र देवी स्तोत्र पाठ गरिन्छ । विवेकशील र अविवेकशील प्राणी दुवैले मोक्ष प्राप्तिको चाहना गर्ने हुनाले देवमन्दिर र यज्ञ यज्ञादिमा विधिपूर्वक बलि दिनाले ती पशुले मोक्ष प्राप्त गरी माथिल्लो योनीमा जन्म लिने कुरा शास्त्रमा वर्णन गरिएको छ । ब्राह्मणका लागि भने पशुबलि वर्जित गरिएको छ । आसुरी प्रवृत्तिको नाश गर्न देवीलाई शक्तिशाली बनाई पशुको मुक्तिका लागि पनि पशुबलिको महत्त्व रहेको धर्मशास्त्रविदहरुको भनाइ छ । राज्य सञ्चालकले त प्रभु शक्ति, मन्त्र शक्ति र उत्साह शक्तिका लागि पशुबलि विधिपूर्वक दिनैपर्छ भन्ने शास्त्रीय वचन छ । यी तीनवटा शक्ति दुर्गा भवानीबाट मात्र प्राप्त गर्न सकिन्छ । यसैकारण आजको दिन विधिपूर्वक पशुबलि दिने गरिएको हो । आजका दिन उपत्यकाभित्रका शक्तिपीठहरु गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, नक्साल भगवती, शोभा भगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, वज्रयोगिनी, सङ्कटा, बज्रवाराही, दक्षिणकाली, चामुण्डा, सुन्दरीमाई, भाटभटेनी, बगलामुखीलगायत मन्दिरहरुमा पनि बलिसहित पूजा आजा गर्नेहरूको बिहानैदेखि भीड लाग्ने गर्दछ । यसैगरी उपत्यकाबाहिरका गोरखाको मनकामना, पर्साको गहवामाई, सप्तरीको छिन्नमस्ता भगवती, धनुषाको राजदेवी, डढेलधुराको उग्रतारा, काभे्रपलाञ्चोकको चण्डेश्वरी, नाला भगवती र पलाञ्चोक भगवती, सिन्धुपाल्चोकको पाल्चोक भगवती, दोलखाको कालीञ्चोक भगवती, ताप्लेजुङको पाथीभरालगायतका शक्तिपीठहरुमा पनि बलिसहित पूजा आराधना गर्ने श्रद्धालु भक्तजनहरुको घुइँचो लाग्ने जनाइएको छ । आजको दिन कलपूर्जा, हातहतियार र यातायातका साधनलाई विशेषरूपमा सरसफाइ गरी देवी स्थापना गरिएको स्थानमा राखी पशुबलिसहित पूजा आजा गरिएको छ । यी साधनलाई देवीको शस्त्र अस्त्रका रूपमा मानी पूजा गर्ने गरिएको हो । देवीका शस्त्र अस्त्रसहित चतुरङ्गीणी सेनाको पनि आह्वान गरी पूजा गर्ने गरिन्छ । पशुबलि नचढाउनेहरुले भने आज पूजा कोठामा आआफ्नो कुल परम्पराअनुसार काँक्रो, घिरौँला, कुभिण्डो, मुला र नरिवलआदि बलि चढाई पूजा आजा गरेका छन् । राति बलिसहित कालरात्रि पूजा गरिँदै आजैका दिन राति कालरात्रिका रूपमा पशुबलिको विधि र पूजा आराधनासहित मनाउने गरिन्छ । कालरात्रिको पूजा विधि र सङ्कल्पसमेत छुट्टै हुने भएकाले यसको विशेष महत्त्व छ । ब्राह्मणले भने कालरात्रि पूजा पनि गर्न नपर्ने विधान छ । महाअष्टमीका दिन आज राति हनुमानढोकाको दसैँघरमा राज्यका तर्फबाट ५४ बोका र ५४ राँगाको बलिसहित कालरात्रि पूजा गर्ने तयारी भएको छ । कोरोना महामारीका कारण विसं २०७७ मा भने हनुमानढोकामा बलिसहित पूजा रोकिएको थियो । रासस

 

सागर संगम ठाकुर रौतहट ,कार्तिक ४ गते

रौतहटको धरहरीमा छठ घाट सजावटकाे लागि वडा स्तरीय बैठक संम्पन भएको छ । शनिबार जिल्लाको देवाही गाेनाही नगरपालिका-९ धरहरीका वडा अध्यक्ष वीर बहादुर साहको अध्यक्षतामा बसेको बैठकमा बिगतका वर्ष जस्तै यस वर्ष पनि छठ घाट सजावट गर्नकाे लागि भेला बाेलाईएकाे थियोे । विभिन्न राजनितिक दलका प्रतिनिधि,बुद्धिजीवी,समाजसेवी,भद्रभलादमी लगाएतका स्थानीय ब्यक्तिहरुकाे उपस्थितिमा बैठक सम्पन भएको वडा अध्यक्ष वीर बहादुर साहले जानकारी दिनु भयो ।बैठकबाट विभिन्न प्रस्तावमाथि छलफल गर्दा यस वर्षकाे छठमा गाउँका मुख्य सडकलाई सरसफाइ गरिने र छठ घाटमा डेकुरेशन सहितकाे आकर्षक टेन्ट पंण्डाल बनाई सांस्कृतिक कार्यक्रम (नाटक) काे आयाेजनना गरिने निर्णय भएको वडा अध्यक्ष साहले बताउनु भयो ।

धरहरीकाे ईतिहासमा नै पहिलोपल्ट छठ घाटमा हुने सांस्कृतिक कार्यक्रम (नाटक)काे लागि मुख्य जिम्मेवारी गायक कलाकार एवं बुद्धिजीवी नेक महम्मद हुसैन र समाजिक कार्यमा निरन्तर सकृय रहने युवा पत्रकार सागर संगम ठाकुरलाई दिएको छ ।हिन्दुहरुकाे महान चाड पर्वको रुपमा मनाईने छठमा धरहरीकाे छठ घाटमा अहिलेसम्म कुनै पनि जनप्रतिनिधिहरुले त्यस्ता कार्यक्रम आयोजना गर्न नसकेको कार्यलाई वडा अध्यक्ष वीर बहादुर साहले गराउन अगाडि बढे पछि युवाहरु निकै उत्साहित भएका छन । धरहरीकाे ईतिहासमा फर्केर हेर्दा करिब १० वर्षको अन्तरालमा सांस्कृतिक कार्यक्रम हुन लागेको स्थानीयहरु बताउन्छ । वडा स्तरीय बैठकलाई सम्बाेधन गर्दै वडा अध्यक्ष साहले युवाहरूको प्रतिभालाई उजागर गर्न र समाजबाट लाेप हुन पुगेका आफ्ना सांस्कृतिकलाई बचाउन नाटकको आयाेजना गरिएको बताउनु भयाे । अध्यक्ष साहले वडाका युवाहरू र बालबालिका भित्र लुकेका प्रतिभालाई बाहिर ल्याउन सबैको सल्लाहमा नै याे कार्यक्रमको आयोजना गरिएको बताए । साहले यसपालिको छठलाई सभ्य र भब्य बनाई दिन सम्पुर्ण वडाबासीलाई अनुरोध गर्नु भयो । कार्यक्रममा वडा सदस्य खसबलाल दास,गौरी शंकर पंडित, संजाेगिया देवी, प्रमिला देवी एकीकृत समाजबादी पार्टीका वडा प्रत्यासी सुमित गुप्ता,माओवादीका शंकर साह,जसपाका युवा नेता नागेन्द्र यादव,स्थानीय नेता बिपत साह,हरिश्चन्द्र यादव,रामरुप पंडित,नरेश गाेसाई,बिकेश गुप्ता,बिवेक साह,श्यामनन्दन साह लगाएत विभिन्न पार्टीका प्रतिनिधि र स्थानीयहरुकाे बिशेष उपस्थित रहेको थियो ।

लण्डन, ४ कार्तिक ।

बेलायतमा अध्ययनरत एक १३ वर्षिया छात्राले नेपालमा कुकुरहरुको रेखदेख गर्ने एक संस्थालाई आर्थिक सहयोग गरेकी छन्।

 

लण्डनस्थित रिभर एकेडेमीमा कक्षा ८ मा अध्ययनरत टिया आचार्यको सकृयतामा संकलित ५० हजार रुपैंया शुक्रबार काठमाण्डौंस्थित लेक्स कियर नेपालकी प्रमुख किरणरुपा मगरलाई हस्तान्तरण गरिएको छ ।

 

बेलायतबाट संचालित अनलाइन पोर्टल नेपालब्रिटेन डट कमको १६ औं वार्षिकोत्वसको अवसरमा संकलन भएको आर्थिक सहयोग गैरआवासीय नेपाली संघका नवनिर्वाचित सचिव भिम कमल केसी र सह कोषाध्यक्ष कृष्ण तिमल्सेनाले संयुक्त रुपमा लेक्स कियर नेपाललाई हस्तान्तरण गरेका हुन् ।  यसअघि टियाले बाग्लुङस्थित जगन्नाथ प्राविका शिक्षक तथा विद्यार्थीहरुलाई शैक्षिक सामग्री सहयोग गरेकी थिइन् ।

 

लेक्स कियर नेपालले सडकमा अल्पत्रपरेका कुकुरहरुको औषधि उपचार तथा रेखदेख गर्दै आएको छ ।

 

संस्थाकी प्रमुख थापाका अनुसार हालसम्म सडकमा रहेका ५ सय बढी कुकुरलाई लेक्स कियर नेपालले सेवा दिएको छ । लेक्स कियर नेपाल २ वर्षअघि स्थापना भएको हो ।

विशाल बस्नेत,महाेतरी, ४ कात्तिक ।

काङ्ग्रेसले बागी उम्मेदवारका समर्थक र प्रस्तावकहरुलाई कारबाही फुकुवा गरेको एक हप्ता नबित्दै निराशा छाएको छ  ।

 

महोत्तरी क्षेत्र न.१ काङ्ग्रेसले प्रस्तावक र समर्थकहरुलाई केन्द्रले गरेको कारबाही पाटीको बिधानसम्मत नभएको भन्दै विज्ञप्ति जारी गरे पछी निराशा छाएको हो ।यसअघि केन्द्रिय अनुसासन समितिले कारवाही गरेका सवैजनालाई पुर्ववत पदमा नै रहने गरी फुकुवा गरेको थियो ।

 

कारवाही फुकुवा पछी पुर्बबत पदको जिम्मेवारी समाल्ने खुसीमा आसन्न चाडपर्वको शुभकामना कार्यक्रम ३ असोजमा राखेतापनी क्षेत्र न.१ काङ्ग्रेसले उक्त कार्यक्रममा सहभागी नहुन निर्देशन दिएकाे थियाे । पुर्व नगर सभापति रहेका युवराज पोखरेलले पाटीको नाममा काटेको पत्र पुर्णरुपमा अबैधानिक रहेको बताउदै क्षेत्रीय सभापति महेश झाले भ्रमपुर्ण पत्रको पछाडी नलाग्न आफ्ना कार्यकर्ताहरुलाई निर्देशन गरेका हुन् ।

 

केन्द्रिय कार्यसमितिको निर्णय अनुसार निर्बाचित जनप्रतिनिधि बाहेक ९ जनाको मात्र कारबाही फुकुवा गरेको र युवराज पोखरेलको बिषयमा कारवाही फुकुवा समेत नगरेको महोत्तरी काङ्ग्रेसको दावी छ । पाटीको बदनाम हुनेगरी कुनै बैधानिकता नभएका पोखरेलले काटेको चिठी भ्रमपुर्ण रहेको भन्दै सभापति झाले उक्त कार्यक्रम पाटीको आधिकारिक नभएको जिकिर गरेका थिए ।

 

तर कारवाही फुकुवापछी पुर्ववत पद सभापतिको रुपमा नै रहेका युवराज पोखरेलले भने केन्द्रिय अनुशासन समितिको निर्णय सर्वमान्य भएको बताए । पाटीको विधानअनुसार नै कारवाही फुकुवा भएतापनी क्षेत्रीय सभापति महेश झाले नगर कार्यसमिति माथी हस्तक्षेप मात्र गर्न खोजेको सभापति पोखरेलको भनाई छ । न्युज कारखाना

 

 

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।