काठमाडौँ, ८ कात्तिक:
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्यवस्थाबारे जानकारी लिनुभएको छ । पुल्चोकस्थित मन्त्री निवासमा पुगेर प्रधानमन्त्री दाहालले आज उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य लाभको कामना गर्नुभएको हो । सो अवसरमा उहाँहरुबीच समसामयिक विषयमा कुराकानी भएको उपप्रधानमन्त्री श्रेष्ठको निजी सचिवालयले जनाएको छ । जनवादी गणतन्त्र चीनका भ्रमणमा रहेका बेला यही कात्तिक १ गते उपप्रधानमन्त्री श्रेष्ठलाई हृदयाघात भएको थियो । उहाँ बेइजिङस्थित पेकिङ युनियन मेडिकल कलेज अस्पतालमा पाँच दिन उपचार गरेर आज स्वदेश फर्कनुभएको हो । रासस
काठमाडौँ, ८ कात्तिक
आश्विन शुक्ल एकादशीका दिन आज नवदुर्गाको प्रसाद स्वरुप टीका एवं जमरा लगाउन र आशीर्वाद थाप्न मान्यजनका घरमा जानेको चहलपहल बढेको छ ।विजयादशमीका दिन नौ दिनसम्म पूजा आराधना गरी देवी विसर्जन गरेपछि सुरु भएको प्रसाद लगाउने र मान्यजनबाट आशीर्वाद लिने क्रम कोजाग्रत पूर्णिमाका दिनसम्म जारी रहन्छ । पहिलो मान्यजनकहाँ जान नपाएकाहरु आज पनि टीका थाप्न हिँडेका हुन् । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारी कोजाग्रत पूर्णिमाका दिन अखिल बलिपूर्ति नभएसम्म नवदुर्गाको प्रसाद लगाउन शास्त्रीय रुपमा कुनै बाधा नरहेको बताउनुहुन्छ । केही दिन सुनसान रहेको राजधानी शहरमा आजदेखि भने केही चहलपहल बढ्न थालेको देखिन्छ । रासस
काठमाडौँ, ८ कात्तिक :
निर्वाचनमार्फत वर्तमान संसद् गठन भएको पनि करिब एक वर्ष पुग्न लागेको छ । संसद्को एकवर्षे अवधिमा भइरहेका अस्वभाविक परिघटनाका कारण संसद् र सांसदको भूमिका माथि नै प्रश्न उठाउने गरिएको छ । संसद्को प्रमुख जिम्मेवारी कानुन निर्माण नै हो । संविधानसभाबाट संविधान जारी भइसकेपछि संविधान कार्यान्वयनसँग अत्यावश्यक मानिएका कानुन अझै निर्माण हुन सकिरहेका छैनन् । नेकपा (माओवादी केन्द्र)का सांसद गङ्गा कार्की संविधान र सङ्घीयता कार्यान्वयनसँग सम्बन्धित कानुन निर्माण र त्यसलाई इमान्दारितापूर्वक लागू गर्नेमा समस्या देखिएको बताउनुहुन्छ । “संविधान जारी भएको लामो समय भइसक्दा पनि संविधान कार्यान्वयनसँग सम्बन्धित कानुन निर्माण हुन नसक्नु कमजोरी हो”, उहाँ भन्नुहुन्छ, “अहिलेको व्यवस्थाले जे माग गरेको छ तर व्यवस्थाको अङ्गप्रत्यङ्गको रूपमा रहेको नियम कानुन नै निर्माण नभएपछि व्यवस्थाले कसरी काम गर्छ ?” सदनलाई प्रभावकारी बनाउन सांसदले आफ्नो ठाउँबाट भूमिका निर्वाह गरिरहे पनि राजनीतिक दलहरूमा देश जता जान्छ जाओस् आफ्नो पार्टी र आफू सधैँ केन्द्रमा रहिरहुँ भन्ने सोचका कारण अप्ठ्यारो परेको सांसद कार्कीको बुझाइ छ । “संसद्भित्र छुट्टै प्रक्रिया हुन्छ, निश्चित प्रक्रियाबाट विधेयक दर्ता हुने र प्रक्रियाबाट नै पारित हुने हुन्छ”, उहाँ भन्नुहुन्छ, “प्रक्रिया पूरा नगरी कानुनजस्तो कुरा फ्याट्ट कसैलाई मन लागेअनुसार घोषणा गर्ने विषय त होइन नि ।” जनताको आशा र अपेक्षाअनुसार कानुन बन्न नसके पनि पछिल्ला दिनमा थुप्रै विधेयक सदनमा आउने क्रममा रहेको उल्लेख गर्दै सांसद कार्कीे ती विधेयकलाई जतिसक्दो छिटो निष्कर्षमा पु¥याउनुपर्ने बताउनहुन्छ । अहिलेको सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थालाई पुरानै संसदीय व्यवस्था भएको भाष्य स्थापित गर्न खोजिएकामा असन्तुष्टि व्यक्त गर्दै उहाँ यससम्बन्धमा सबैले बुझ्न जरुरी रहेको बताउनुहुन्छ । “यो मिश्रित प्रकृतिको व्यवस्था हो । समय, वस्तुगत परिस्थिति र आवश्यकताले धेरै विषय निर्धारण गर्दोरहेछ”, सांसद कार्की भन्नुहुन्छ, “हामीले त अर्कै व्यवस्था चाहेका थियौँ, हामीले चाहेर मात्रै हुँदो रहेनछ, यद्यपि, यो व्यवस्था अहिले जसरी अघिबढनुुपथ्र्यो त्यसरी जान सकेको छैन ।” विसं २०२२ असार ४ गते दोलखामा जन्मनुभएका सांसद कार्की २०३५÷०३६ सालदेखि वामपन्थी आन्दोलनमा होमिनुभएको थियो । उहाँले २०४७ सालमा नेकपा मसालको सदस्यता लिनुभएको थियो । विसं २०४८ मा मसालको दोलखा पार्टी सेक्रेटरी, २०५२ सालदेख जनयुद्धमा संलग्न, २०५७ सालमा माओवादीको केन्द्रीय सदस्य तथा दोलखा, रामेछाप, भक्तपुर र काभ्रेपलाञ्चोक जिल्ला इन्चार्ज भएर काम गरिसक्नुभएको छ । उहाँले जनयुद्धका समयमा ब्रिगेडियर कमिसारको भूमिका निर्वाह गर्नुभएको थियो । संसद्मा कुनै पनि पार्टीको एकल बहुमत नहुँदा घोषणापत्रअनुसारको कानुन निर्माण र कार्यक्रम तर्जुमा गर्न नसकिएको उल्लेख गर्दै सांसद कार्की गठबन्धनको भावनाअनुसार चल्नुपर्दा सोचेजति काम गर्न नसकिएको बताउनुहुन्छ । “संसद्मा कसैको पनि बहुमत छैन । तेस्रो ठूलो दलको नेतृत्वमा सरकार बनेको छ । यसमा पनि कहीँ न कहीँ समस्या देखिएको छ । एकल बहुमत हुँदा हुने सहजता र गठबन्धनका कारण सबैको भावना समेट्नुपर्ने बाध्यता एकै हँुदैनन्”, उहाँ भन्नुहुन्छ, “यद्यपि, पछिल्लो समय सदनमा विधेयकको प्रवेश भइराखेको छ, यो सन्तोषजनक नै छ ।” मिटरब्याजीसम्बन्धी विधेयक, नागरिकता विधेयक, भूमिसम्बन्धी विधेयक, शिक्षा विधेयक, सम्पत्ति शुद्धीकरण, ऊर्जालगायत विधेयक वर्तमान संसद्मा आएको जनाउँदै सांसद् कार्कीे अहिलेको अवस्था, विभिन्न दलहरूको सरकारमा सहभागितालगायत कोणबाट हेर्दा सदनमा विधेयक प्रस्तुत भएको तथ्यलाई हल्कारुपमा लिन नहुने बताउनुहुन्छ । “सामान्यतः जति अपेक्षा गरिएको थियो, त्यति हुन नसके पनि सन्तोषजनक नै छ”, उहाँ भन्नुहुन्छ, “सदनलाई प्रभावकारी बनाउने विषयमा दलहरूबीच छलफल भइरहेको छ ।” विभिन्न विषयलाई लिएर लगातारजसो सदन अवरुद्ध भइरहँदा पनि विधेयक निर्माणको प्रक्रिया ओझेलमा परेको सांसद कार्कीको भनाइ छ । “प्रत्यक्ष निर्वाचित कार्यकारी हुनुपर्छ भन्ने विगतको आवाज सम्बोधन नहुँदा पनि कहीँ न कहीँ समस्या भइरहेको छ, जनताको आशा अपेक्षा धेरै छ”, उहाँ भन्नुहुन्छ, “तर आत्तिहाल्नुपर्ने अवस्था छैन ।” सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था नरुचाउने प्रवृत्ति भएका दलले सडक तथा सदनबाट अवरोध गरिरहेको उल्लेख गर्दै सांसद कार्कीले मुलुकलाई पछाडि फर्काउने सोच र प्रवृत्तिले अप्ठ्यारो पारेको बताउनुहुन्छ । “बाहिर बोल्दा राम्रा कुरा भन्ने तर भित्रभित्रै गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक समावेशी प्रतिनिधित्व नभइदिए हुन्थ्यो भन्ने शक्तिले पनि मुलुकलाई अग्रगामी बाटोतर्फ जान रोक्न खोजिरहेको छ”, उहाँ भन्नुहुन्छ । रासस
जानकी (बाँके), ८ कार्तिकः
बडाको दसँैको अवसरमा नेपाली सेनाले आश्रमका जेष्ठ नागरिकलाई भोजन गराएको छ । मङ्गलबार बाँके राष्ट्रिय निकुञ्जको सुरक्षामा तैनाथ शम्शेरगञ्जस्थित ओभरीमा रहेको अर्जुनवाण गणले कोहलपुर नगरपालिका वडा नं ५ स्थित एनसिसीको नीलसागर आश्रममा रहेका जेष्ठ नागरिकहरुलाई भोजन गराएको हो । कार्यक्रममा राझाँस्थित चारवाहिनी अड्डाका वाहिनीपति एवं सहायक रथी प्रकाश थापाले निस्वार्थ भावमा मानव सेवामा समर्पित उक्त आश्रमलाई नेपाली सेनाको साथ र सहयोग रहने प्रतिवद्धता व्यक्त गर्नुभयो । चाडबाडको अवसरमा आश्रममा आश्रित जेष्ठ नागरिकलाई एक्लोपन महसुस नहोस् भन्ने उद्देश्यले खानाको व्यवस्था गरिएको गणपति अशोक खड्काले बताउनुभयो । “चाडपर्व भनेको आफन्तसँग मनाउने पर्व हो तर आश्रममा आफन्त नभएकाहरुलाई आफन्तको कमी महसुस नहोस् भन्ने उद्देश्यले ामीले बडासँैंका दिन भोजन गराएर आफ्नोपनको अनुभूति गराएका मात्र हौँ, उहाँले भन्नुभयो कोहलपुर नगरपालिकाका उपप्रमुख सङ्गीता सुबेदीले आश्रम सञ्चालन गर्नु राज्यको दायित्व भए पनि यो काम नीलसागर आश्रमले निःस्वार्थ भावले गरेकाले उक्त संस्थालाई नगरपालिकाले पनि सहयोग गर्ने बताउनुभयो । उहाँले ले फजुल खर्च गरेर मनाइने जन्मदिन र वैवाहिक वर्ष गाँठबाट केही रकम छुट्टयाएर उक्त आश्रमलाई सहयोग गर्न नगरबासीलाई आग्रह गर्नुभयो । बाँकेमा केन्द्रीय कार्यालयको रूपमा स्थापना भएको नीलसागर आश्रमका शाखाहरू काठमाण्डौ, पोखरा, पाल्पा, सुर्खेत, बर्दिया, दैलेख, कोहलपुर र दाङ्ग गरेर आठ जिल्लामा सञ्चालित छन् । कोहलपुर शाखामा रहेका २८ जना जेष्ठ नगरिकलाई नेपाली सेनाले बडा दसँैंको दिन भोजन खुवाउनाका साथै राप्तिसोनारी गाउँपालिका ५ स्थित बिनौनामा रहेको जयवागेश्वरी आश्रमका १२ बालबालिकालाई पनि भोजन गराएको थियो । रासस
काठमाडौँ, ८ कात्तिक :
विजयादशमी कलाकारले धुमधामले मनाएका छन् । अभिभावकबाट बडादसैँको टीका ग्रहण गरिएका तस्बिर कलाकारले सामाजिक सञ्जालमार्फत सार्वजनिक पनि गरेका छन् । हास्य कलाकार हरिवंश आचार्यले पत्नी, छोरा र बुहारीलाई टीका लगाइदिनुभयो । उहाँले सामाजिक सञ्जालमार्फत टीकाको तस्बिर सार्वजनिक गर्दै आपसी सद्भाव बढाउने पर्वको रूपमा बडादसैँलाई लिएको बताउनुभयो । दसैँलगत्तै ‘महाजात्रा’ को छायाङ्कनमा जानुपर्ने भएकाले पनि दसैँलाई आफन्तसँगको भेटघाटको रुपमा मनाइरहेको उहाँले जानकारी दिनुभयो । यसैगरी अभिनेता अनमोल केसीले पिता तथा अभिनेता भुवन केसीको हातबाट टीका र जमरा लगाउनुभएकोे छ । सपरिवार टीका ग्रहण गरेको जानकारी गराउँदै उहाँले दसैँलगत्तै ‘फर्की फर्की’ नामक चलचित्रमा काम गर्ने बताउनुभयो । यो दसैँ अभिनेता तथा मोडल पल शाहका लागि पनि महत्वको भएको छ । उहाँले अघिल्लो वर्ष टीका लगाउन नपाइएका कारण यो वर्षको दसैँ परिवारसँग बसेर मनाइरहेको बताउनुभयो । अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला, अभिनेता तथा निर्देशक निर्मल शर्मा, अभिनेत्री वर्षा सिवाकोटी र अभिनेता जितु नेपालले पनि आफ्ना मान्यजनबाट टीका ग्रहण गर्नुभएको छ । अभिनेत्री वर्षा राउतले पनि आफ्ना पति तथा अभिनेता सन्जोग कोइरालासँग सिन्धुली पुगेर टीका ग्रहण गर्नुभएको छ । यस्तै आमाबाट टीका र जमरा ग्रहण गर्नुभएका हास्य कलाकार शिवशङ्कर रिजालले भन्नुभयो, “तराई गएर अन्य मान्यजनबाट पनि टीका ग्रहण गर्नेछु । मेरो दसैँ तराई र काठमाडौँमा बराबर हुँदै आएको छ ।” यसैगरी अभिनेता सलिनमान बनियाँ, अभिनेत्री स्वेता खड्का र ऋचा शर्मा, अभिनेता रवीन्द्रसिंह बानियाँले पनि आफ्ना मान्यजनबाट टीका ग्रहण गर्नुभएको छ । अभिनेता खगेन्द्र लामिछानेले आफूद्वारा निर्मित तथा लिखित चलचित्र ‘पशुपति प्रसाद–२ ः भष्मे डन’ प्रदर्शनरत रहेकाले काठमाडौँ उपत्यकाको विभिन्न चलचित्र भवनमा पुगेर दर्शक भेट्ने जानकारी दिनुभयो । “यो पटक स्याङ्जास्थिचत घर जान नपाए पनि दर्शकसँग साक्षात्कार गर्दै दसैँ मनाईरहेको छु”, उहाँले भन्नुभयो । दसैँलाई एकता, भ्रातृत्व र प्रेमको रूपमा लिइने गरिएका कारण सबै आफन्तजन एकै स्थानमा भेला भएर टीका लगाउने गरिएको कलाकारले जानकारी गराए । रासस
काठमाडौँ, ७ कात्तिक :
नेपाली कांग्रेसकी नेत्री कान्तिका सेजुवाल जनप्रतिनिधि भएर सदनमा पुगेपछि नयाँ नेपाल निर्माणमा सत्ता र प्रतिपक्षको कित्तामा भन्दा साझा निष्कर्षसहितको एजेण्डा तय गर्दै नीति तथा कार्यक्रम बनाउनुपर्नेमा जोड दिनुहुन्छ । सांसदसँग रासस संवादमा उहाँ भन्नुहुन्छ, “राजनीतिक खिचातानी र निरन्तर सरकार परिवर्तनले निर्धारित लक्ष्यअनुरुप प्रगति हासिल गर्न सकेनौ । अहिलेसम्म जति उपलब्धि हासिल गर्न पथ्र्याे, त्यो हुन सकेन भन्ने कुरा मलाई मात्र होइन, धेरैलाई खड्केको छ ।” देशभरकै समस्या र प्राथमिकता संसद्मार्फत सरकारद्वारा सम्बोधन गराउन ध्यानाकर्षण गर्ने विधि र प्रक्रियाको अभ्यास सिकिरहेको बताउँदै नेत्री सेजुवाल सदनमा सत्तापक्ष र प्रतिपक्ष भनेर गरिने जुहारी आफूलाई पटक्कै चित्त नबुझेको प्रतिक्रिया दिनुहुन्छ । उहाँ भन्नुहुन्छ, “कुनै पनि सरकारले सुरु गरेका असल काम र अभ्यास जुनसुकै सरकार परिवर्तन भए पनि निरन्तरता दिएर कार्यान्वयन गरी पूर्णता दिनुपर्छ, गुणस्तरीय कानुन निर्माणलाई जोड दिँदै प्रभावकारी कार्यान्वयनमा साझा धारणा आउनुपर्छ भन्ने मेरो दृढ मान्यता छ ।” प्रतिनिधिसभाको नियमावलीअनुरुप कार्यको जिम्मेवारी र प्रक्रियालगायत विषयवस्तुको जानकारी लिँदै कानुन निर्माणको मुख्य काममा अहिले आफूहरू परेको लागि परेको सांसद सेजुवाल बताउनुहुन्छ । जनताको ठूलो आकाङ्क्षा भएकाले सीमित स्रोतसाधनका कारण उठाइएका ती सबै माग सम्बोधन गर्न कठिनाइ हुने स्थानीय तहको नेतृत्वमा रहँदाको अनुभव सुनाउँदै उहाँ भन्नुहुन्छ, “स्रोतसाधन कम छ, सम्बोधन गर्नुपर्ने जनसङ्ख्या र भूगोल ठूलो छ ।” जुम्ला बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी यूनियनबाट राजनीतिक यात्रा प्रारम्भ गर्नुभएकी सेजुवालले शिक्षक सङ्घको विशिष्ट सदस्य र साविक कर्णालीको प्रथम महिला प्रधानाध्यापकको अनुभव पनि सम्हाली सक्नुभएको छ । मुुलुक सङ्घीयताको अभ्यासमा प्रवेश गरेपछिको निर्वाचनमा पहिलो निर्वाचित महिला नगरप्रमुख घोषित उहाँ नेपाली कांगे्रसको निर्वाचित केन्द्रीय सदस्यसमेत हुनुहुन्थ्यो। सांसद सेजुवाल अहिले आफूले प्रतिनिधित्व गर्ने जुम्लाका प्रमुख समस्या विद्युत्, टेलिफोन, कालोपत्रे सडक सञ्जाल विस्तार, महिलामा काममाथि कामको बोझ, बालविवाह र युवामा लागुऔषध दुरुपयोग नियन्त्रणजस्ता विषय रहेको बताउनुहुन्छ । उहाँ नेपाल विकासन्मुख देश भएकाले विकासका दृष्टिले स्तरोन्नतीका लागि सांसदको मुख्य जिम्मेवारी कानुन बनाउने भए पनि प्रणालीमा नचलेकाकारण सांसदले विभिन्न खाले समस्याको भारी बोक्न पर्ने बाध्यात्मक अवस्था रहेको प्रतिक्रिया दिनुहुन्छ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ताहित समिति सदस्य सेजुवाल भन्नुहुन्छ, “समाजले प्राप्त गर्नुपर्ने न्यूनतम आधारभूत कुराको समेत अभावका कारण जनप्रतिनिधिले विकास निर्माणलगायत कार्यमा दगुर्न परेको छ । त्यो सांसदको नभई नागरिकको एजेण्डा हो ।” उहाँसहित समितिको टोलीले दसैँ, तिहार, छठलगायत पर्वका बेला अत्यावश्यक दैनिक उपभोग्य सामग्रीमा हुनसक्ने मूल्य वृद्धि तथा कालोबजारी नियन्त्रणका लागि देशका विभिन्न स्थानमा पुगेर अनुगमन गरेको थियो । एक प्रश्नमा नेत्री सेजुवाल भन्नुहुन्छ, “यो मुुलुकमा कानुनका दस्तावेज कति बने कति, कानुन बनाएर मात्र हुन्न । बनेका कानुन कार्यान्वयन हुनुप¥यो । कामै भएन भने कानुन बनाएको बेकार भयो नि हैन र !” संविधानको अनुसूचीमै आवश्यक कानुन बाउने अधिकार र जिम्मेवारी स्थानीय तह र प्रदेश सरकारलाई पनि रहेको उल्लेख गर्दै उहाँ प्रदेश र स्थानीय तहमा स्रोत र साधनको स्थिति कमजोर रहेकाले त्यो जुटाउन सासदले भूमिका निर्वाह गर्नु पर्नेमा जोड दिनुहुन्छ । सांसद सेजुवाल भन्नुहुन्छ, “कतिपय स्थानीय तह र प्रदेश सरकारको नेतृत्व फरक दलको भएकाले बराबर अनुदान बाँडफाँट भएको छैन, जबसम्म स्थानीय तह स्रोतसाधनले आत्मनिर्भर र प्रणाली स्थापित हुँदैन तबसम्म सांसद विकास निर्माण कार्यमा संलग्न हुनुपर्ने देखिन्छ ।” एक प्रश्नमा उहाँ संसदमा जनताप्रति उत्तरदायी भएर जिम्मेवारी बहन गर्ने, जिम्मेवारीपूर्वक आवाज बुलन्द गर्ने, समस्या र मुद्दा उजागर गर्ने र उठाइएको विषयलाई सरकारले सम्बोधन गर्ने हो भने आवेगमा बोल्न पर्ने र रेकर्डबाट हटाउने परिस्थिति नै नआउने विचार प्रकट गर्नुहुन्छ । लोकप्रीय बन्ने होडमा आवेगमा बोल्दा मिडियाले स्थान दिन्छ भन्ने गलत बुझाइले मलजल गरेको बताउँदै नेत्री सेजुवाल एक–अर्काेलाई आक्षेप लगाउनुभन्दा अनुशासित, रचनात्मक, सुझबुझ, ज्ञानबद्र्धक र शिष्टतापूर्वक राखिने मन्तव्यलाई नै सबैले सम्मान गर्ने धारणा व्यक्त गर्नुहुन्छ। उहाँ भन्नुहुन्छ, “सबैलाई नेतृत्व गर्ने राजनीतिक क्षेत्र साझा विकास निर्माणका लागि भन्दा पनि व्यक्ति र समूहमा मात्र केन्द्रित हुन पुग्यो । यसो हुनुमा समाज क्षेत्रको दोष छ । देशलाई प्रणालीमा नढालेसम्म सुशासनको नारालाई कार्यान्वनमा लैजान चुनौती छ ।” राजनीतिमा ठूलो त्यग, तपस्या गरेको र देशका लागि समर्पित व्यक्तिलाई नागरिकले निर्वाचनमा सहयोग पु¥याउन पर्ने खाँचो औँल्याउँदै नेत्री सेजुवाल निष्टामा रहनेभन्दा चारैतिर हात हालेका व्यक्ति चयन गर्ने मतदातासमेत दोषी रहेको धारणा व्यक्त गर्नुहुन्छ । अर्थमुखी राजनीतिले स्थान पाउँदै गएकाले निष्टा ओझेलमा परेको बताउँदै उहाँ गुणस्तरीय शिक्षा र रोजगारीका अभावले युवा विद्यार्थीलाई विदेश पलायन हुन नदिन प्रभावकारी कदम चाल्नुपर्नेमा जोड दिनुहुन्छ । नेत्री सेजुवाल भन्नुहुन्छ, “आफ्नो देशको महत्व र पैसाको मूल्य नदेख्ने, विदेशी डलरलाई जुहारत ठान्ने सोच गलत छ । युवा विद्यार्थीलाई लक्ष्य गरी स्वदेशमै रोजगारी सिर्जना तथा गुणस्तरीय शिक्षा र स्वास्थ्य क्षेत्रलाई निःशुल्क गराउनुपर्छ । रासस
काठमाडौँ, ७ कात्तिक :
नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मुलुकमा सबै समुदायका संस्कृतिको संरक्षणबाट राष्ट्रिय एकतालाई सुदृढ बनाउन सहयोग पुग्ने बताउनुभएको छ । विजया दशमीका अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै उहाँले बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विविधताले भरिएको मुलुकमा सबै समुदायका धर्म संस्कृति, भाषा साहित्यको संरक्षण गर्नुपर्ने बताउनुभएको हो । पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष नेपालले सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता, भाइचारा र एकता अभिवृद्घि गर्न यस्ता पर्वहरुको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीको खुसी, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गर्नुभएको छ । न्यायपूर्ण समाज निर्माणका लागि भ्रष्टाचार अन्त्य गरी जनतालाई जागृत गराएर सुशासन, समृद्धि कायम गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्र सुदृढ गर्नुपर्ने आवश्यकता औँल्याउँदै राजनीतिक उपलब्धिलाई पनि रक्षा गर्नुपर्नेमा जोड दिइएको छ । यसैबीच अर्का सम्मानित नेता झलनाथ खनालले पनि विजयादशमीको उपलक्ष्यमा शुभकामना सन्देश जारी गर्दै सबै मुलुकको विकासका लागि सबै नेपालीबीच आपसी सहयोग, सद्भाव, सहिष्णुताको खाँचो औँल्याउनुभएको छ । पूर्वप्रधानमन्त्री खनालले असत्यमाथि सत्यको विजय हुने सन्देश दिएको यस पर्वले सम्पूर्ण नेपालीको सुख, शान्ति, सुस्वास्थ्य तथा प्रगतिको कामना गर्नुभएको हो । समाजवादले नै गरिबी उन्मूलन गर्ने बताउँदै सन्देशमा लामो सङ्घर्षबाट प्राप्त राजनीतिक उपलब्धिलाई जोगाउन परिवर्तनका पक्षधर तथा लोकतान्त्रिक शक्तिबीच एकताको आवश्यकता पनि उल्लेख गरिएको छ । रासस
काठमाडौँ, ७ कात्तिक
दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ । दसैँ घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद आज मान्यजनबाट लगाइन्छ । टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज बिहान ११ बजेर २ मिनेटको साइत उत्तम रहेको जनाएको छ । विजयादशमी आफैँमा शुभ दिन भएकाले आज टीका लगाउन सामान्य मानिसले साइत खोज्नु नपर्ने समितिका सदस्य तथा बाल्मिकी क्याम्पस धर्मशास्त्र विभागका प्रमुख प्रा डा देवमणि भट्टराई बताउनुहुन्छ । “विजया दशमीको टीका लगाउने मुख्य साइत ११ बजेर २ मिनेटमा छ, शुभ साइतमा टीका लगाउँदा प्रभु, मन्त्र र उत्साहशक्ति प्राप्त हुने शास्त्रीय वचन रहेकाले साइत दिइएको हो, साइतमै टीका लगाउँदा देवीको शक्ति प्राप्त हुन्छ”, उहाँ भन्नुहुन्छ, “शुभ साइतमा टीका लगाउन प्रारम्भ गरेपछि जतिबेला पनि टीका लगाउन मिल्छ ।” घटस्थापना गरी जमरा राखेको स्थानमा आह्वान गरिएका देवीलाई विसर्जनको साइत आज बिहान १० बजेर ३७ बजे रहेको छ । टीका लगाइ माग्ने पश्चिम, लगाइदिने पूर्व फर्कनुपर्ने विजयादशमीको दिन आज चन्द्रमा मकर राशिमा रहेकाले टीका लगाइमाग्ने मानिस पश्चिम दिशा फर्कनुपर्ने र टीका लगाइदिनेले भने पूर्व फर्केर बस्नुपर्ने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् प्रा डा भट्टराई बताउनुहुन्छ । चन्द्रमालाई दाहिने र सम्मुख पार्दा शुभ हुने भएकाले यसो गर्नुपर्ने उहाँको भनाइ छ । टीका लगाइमाग्ने र लगाइदिने मानिस फर्कने दिशा कोजाग्रत पूर्णिमाका दिनसम्म चन्द्रमा रहेको राशिका आधारमा निर्धारण हुनेछ । आजदेखि पूर्णिमासम्म मान्यजनबाट दुर्गाको प्रसादका रूपमा टीका ग्रहण गर्दा अन्य फूलका साथै घटस्थापनाका दिनमा वैदिक विधिपूर्वक राखिएको पहेँलो जमरालाई समृद्धिको प्रतीकको रूप मानी लगाउने गरिन्छ । घटस्थापनाका दिन स्थापना गरिएको पूर्ण कलशको जलबाट अभिषेक गरेपछि वर्षभर शान्ति हुने भएकाले आज मान्यजनबाट टीका र प्रसाद लगाउनुअघि अभिषेक गर्ने गरिएको हो । त्रेता युगमा आजैका दिन भगवान् रामले असत्यको प्रतीक बनेका रावणमाथि विजय प्राप्त गरेकाले त्यही समयदेखि विजयादशमी मनाउन शुरु गरिएको धार्मिक विश्वास छ । यसैले आजको दिनलाई विजयको प्रतीकका रूपमा पनि लिइन्छ । आज गुरु पुरोहित, हजुरबुबा, हजुरआमा, बा, आमा, मान्यजन तथा ठूलाबडाको हातबाट नव दुर्गा भवानीको टीका, जमरा तथा प्रसाद थापी उहाँहरुबाट यश, ऐश्वर्य वृद्धि, काम गर्ने क्षमता वृद्धि एवं दीर्घायु प्राप्त होस् भनी आशीर्वाद लिइन्छ । रासस
भक्तपुर, ७ कात्तिक
नवरात्रिको नवौँ दिन राति मनाइने भक्तपुरको प्रसिद्ध खःमेय् अर्थात् राँगो जात्रा मध्यराति सम्पन्न भएको छ । धार्मिक एवं सांस्कृतिक दृष्टिले महत्वपूर्ण मानिने यो जात्रा महिषासुर दैत्यको प्रतीकका रूपमा गठेमङ्गलका दिन खःमेय् अर्थात् राँगोलाई ल्याई भक्तपुरको नवदुर्गा मन्दिर प्राङ्णमा बाधेर राख्ने र नवमीका दिन उक्त राँगोलाई राति नवदुर्गा मन्दिरबाट दौडाएर नगर परिक्रमा गराउँदै ब्रह्मायणी मन्दिर पु¥याएर बध गरिएको हो । महानवमीको राति नवौदेवी त्रिपुरासुन्दरी प्रकट भई नवदुर्गा भवानी पूर्ण हुने हुँदा परम्परागतरूपमा खःमेय्को बध गरी जात्रा मनाउने प्रचलन रहेको नवदुर्गा देवगणका नाइके रत्न बनमालाले बताउनुभयो । खःमेय् अर्थात् राँगोलाई हिजो साँझ तान्त्रिक विधिअनुरूप पूजाआजा गरी जाँडरक्सी खुवाएर मत्ताई शरीरभर अबीर दलेर स्थानीयवासीले नवदुर्गा द्यो छेँ (देवगृह) बाट लखेट्दै दत्तात्रय, च्याम्हसिंह हुदै ब्रह्मायणी मन्दिरमा पु¥याई देवीलाई चढाएर जात्रा मनाएका हुन् । महानवमीको दिन राति नवदुर्गा देवगणलाई खःमयेको रगत चढाई देवगण सिद्ध गरी आज विजयादशमीको दिन तलेजुको पायो (खड्ग) जात्रा गरी खम्येको टाउकोलाई नगर परिक्रमा गर्ने परम्परा रहेको छ । तान्त्रिक विधिअनुसार ब्रह्मायणीमा खःमेय्को बध गरिएको हो । बध गरिएको खःमेय् (राँगोे)को एक टुक्रा मासु लिन मध्यराती ब्रह्मायणी मन्दिरमा हजारौँको भीड लागेको थियो । सो मासुको टुक्रा प्रसादका रूपमा घरमा लगेर सुकुटी बनाई धूलो पारेर घ्यूमा मुछेर धूप बनाई लक्ष्मीपूजाका दिन बालेमा भूतप्रेत नलाग्ने, शत्रु नाश हुने र घरमा लक्ष्मीबास हुने जनविश्वास रहेको छ । ब्रह्मायणी जात्रा सुरु, बिहानैदेखि हजाराँैको भीड ः प्रत्येक वर्ष विजयादशमीको दिन भक्तपुरको ब्रह्मायणी मन्दिरमा लाग्ने ब्रह्मायणी जात्रामा रातिदेखि नै हजारौ दर्शनार्थीको भीड लागेको छ । नवदुर्गाको शक्तिपीठका रूपमा मानिने ब्रह्मायणी मन्दिरमा आज नवदुर्गा प्रकट हुने जनविश्वास अनुरूप परम्परादेखि नै विजयादशमीको दिन यहाँ भव्य मेला लाग्ने गर्दछ । ब्रह्मायणी मन्दिरमा पूजा गर्न भक्तपुर, मध्यपुरथिमि, ताथली, सुडाल, बागेश्वरी, चित्तपोल, सिपाडोल, नङ्खेल, गुण्डुलगायत काभ्रे, ललितपुर र काठमाडौँदेखिका भक्तजन आउने गर्दछन् । मन्दिरमा पुजा सामग्रीसहित जमरा, हाँसको फूल, हाँस, बोका, कुखुराको भालेको बलिसमेत दिने गरिन्छ । आजका दिन व्रत बसेका व्यक्ति बिहानै घरदेखि मन्दिरसम्म घस्रिँदै, पल्टिँदै र शरीरमा पाँच, सात र १८ वटा दीप (दियो) बालेर घरदेखि मन्दिरसम्म जाने र पूजा गर्ने प्रचलन रहेको छ । शरीरमा दीप बालेर र नमस्कार गर्दै घरदेखि मन्दिरसम्म शरीर नापेर जानेको लस्कर लागेको छ । यसो गरेमा मनोकाङ्क्षा पूरा हुने, धर्म प्राप्त हुने जनविश्वास रहेको छ । मन्दिरमा आज दिनभरि नै भव्य मेला लाग्ने गर्दछ । रासस
काठमाडौँ, ७ कात्तिक :
आज देशको पहाडी भूभागमा आंशिक बदली रहे पनि बाँकी भूभागमा मौसम सफा सफा रहनेछ । जल तथा मौसम विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक असर परे पनि दसैँभर सामान्यतया मौसम सफा रहने जनाएको छ । मौसमविद् रोजन लामिछानेका अनुसार आज दिउँसो देशको पहाडी भूभागका एक÷दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहे पनि दसँैभर मौसम सफा रहनेछ । सुदूरपश्चिम, कर्णाली, गण्डकी र बागमती प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक÷दुई स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको छ । मौसमविद् लामिछानेका अनुसार सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । रासस