काठमाडौं, १४ कात्तिक ।
काठमाडौं महानगरपालिका-१६ नयाँबजारबाट बयस्क चितुवाको छालाजस्तो देखिने अखेटोपहार २ थानसहित नुवाकोट ककनी गाउँपालिका-३ घर भएका ७४ वर्षीय कृष्ण प्रसाद ढुङ्गानासमेत ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
उक्त स्थानमा संरक्षित वन्यजन्तु अखेटोपहारको अवैध रूपमा ओसारपसार तथा खरिद बिक्री भइरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरी टोलीले शंकास्पद रूपमा हिँडिरहेका उनीहरूलाई उक्त अखेटोपहारसहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
काठमाडौं, १४ कात्तिक ।
इजरायल–हमास युद्धका क्रममा गाजामा मात्र मृत्यु हुनेको संख्या ८ हजार ३०० जना नाघेको दाबी गरिएको छ ।
इजरायलमा ७ अक्टोबरमा प्यालेस्टाइनको चरमपन्थी समूह हमासले आक्रमण गरेसँगै सुरु भएको बमबारीले गाजामा मृत्यु हुनेको संख्या ८ हजार ३०० नाघेको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले दाबी गरेको छ ।
हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार इजरायलले एन्क्लेभमा प्रतिशोधात्मक बमबारी सुरु गरेदेखि गाजामा कम्तिमा ८,३०६ जना मारिएका छन् । जसमध्ये ३ हजार ४५७ नाबालिग परेका छन् ।
मृत्यु हुनेमा २ हजार १३६ महिला र ४८० वृद्धवृद्धा पनि परेकाके जारी विज्ञप्तिमा भनिएको छ।
विश्व स्वास्थ्य संगठनले गाजाका अस्पतालहरूमा बिजुली आपूर्तिको अभावका कारण मुस्किलले स्वास्थ्यकर्मीहरुले काम गरिरहेका जनाएको छ।
अस्पताल, आश्रयस्थल, बेकरी, पानी प्रशोधन र पम्पिङ स्टेशन र ढल निकास प्रणालीका लागि विद्युत उत्पादन गर्न आवश्यक पर्ने स्ट्रिपमा इन्धनको ढुवानी पनि भएको नभएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
काठमाडौं, १४ कात्तिक ।
सोनापुर मिनिरल्स एण्ड आयल सिमेन्टको सेयर मूल्यमा मंगलबार पनि नेगेटिभ सर्किट लागेको छ । पहिलो कारोबारको दिन आइतबार र सोमबार पनि सोनापुर मिनिरल्स एण्ड आयल सिमेन्टको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको थियो ।
नेप्सेमा सूचीकृत भएर कारोबार सुरु भएको दिन आइतबारदेखि नै नेगेटिभ सर्किट लागेको सोनापुर मिनिरल्सको मंगलबार २५५ रुपैयाँ २० पैसामा कायम भएको छ ।
मंगलबार प्रतिकित्ता २८३ रुपैयाँ ५० पैसाबाट खुलेको कम्पनीको मूल्य १० प्रतिशत घटेर २५५ रुपैयाँ २० पैसामा कायम भएको हो ।
पहिलो दिन आइतबार ३५० रुपैयाँबाट १० प्रतिशत नै घटेर ३१५ रुपैयाँमा झरेको थियो भने दोस्रो दिन सोमबार प्रतिकित्ता ३१५ रुपैयाँबाट १० प्रतिशत घटेर २८३ रुपैयाँ ५० पैसामा झरेको थियो ।
बुटवल, १४ कात्तिक ।
नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस बुद्ध जन्मस्थल लुम्बिनी आइपुगेका छन् । पूर्वनिर्धारित समयभन्दा २ घन्टा ढिलो गरी मंगलबार बिहान उनी बुद्ध जन्मस्थल लुम्बिनी आइपुगेका हुन् ।
पोखरा हुँदै लुम्बिनी पुगेका महासचिव गुटेरेसको लुम्बिनी भ्रमणले लुम्बिनी र गौतमबुद्धको शान्तिको सन्देश विश्वभर थप प्रचारप्रसार हुने अपेक्षा गरिएको छ ।
उनले मायादेवी मन्दिर, बुद्धजन्म स्मारक, पुष्पकरणी पोखरी, अशोक स्तम्भहरुको निरीक्षण गर्नेछन् ।
काठमाडौं, १४ कात्तिक ।
प्रि-ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंक घटेको छ ।
मंगलबार प्रि-ओपन सेसनमा नेप्से परिसूचक ०.४१ अंक घटेर १८७८.२८ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.०१ अंक घटेको छ।
यो सेसनमा १० स्टकको २ लाख ९० हजार ४०३ रुपैयाँ बराबरको ७८२ कित्ता सेयर कारोबार भएको छ । जसमध्ये ३ स्टकको मूल्य सो सेसनमा बढेको छ भने ४ स्टकको मूल्य घटेको छ। बाँकी ३ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।
काठमाडौं, १४ कात्तिक ।
सद्धार्थ बैंक लिमिटेडले साधारणसभा बोलाएको छ । आउँदो ५ मंसिरमा हुने गरी बोलाइएको साधारणसभाबाट सेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश पारित गर्ने तयारी बैंकले गरेको छ ।
सोही सभाले बैंक तथा वित्तीय संस्थासँग मर्ज अथवा एक्वायर गर्ने सम्बन्धमा आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पारित गर्नेछ।
साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले २१ कात्तिकमा एक दिनका लागि बुकक्लोज गर्ने भएको छ ।
काठमाडौं, १४ कार्तिक ।
माओवादीका पुर्व बाल लडाकुहरुले आज प्रदर्शन गर्ने भएका छन् ।
माओवादी सशष्त्र बिद्रोहमा संलग्न गराईएका पुर्व बाल लडाकुहरुले आफुहरु माथी ‘युद्ध अपराध’ गरेको तर न्याय नदिएको भन्दै आज काठमाडौंमा प्रदर्शन गर्न लागेका हुन् ।
संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकलाई बिशेष सम्बोधन गर्ने दिन पारेर उनीहरुले सो प्रदर्शन गर्न लागेका हुन ।
‘संयुक्त राष्ट्र संघमा महासचिवलाई हाम्रो मुद्धाका बारेमा जानकारी गराउनका लागि आज काठमाडौंमा प्रदर्शन गर्न लागेका छौं,’ बर्हिगमित जनमुक्ति सेना नेपालका अध्यक्ष लेनिन बिष्टले भने, ‘पुर्व बाल जनमुक्ति सेनाको मुद्धा सम्बोधन गराउनका लागि र अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउनका लागि उक्त प्रदर्शन गर्न लागिएको हो ।’ उनका अनुसार ११ बजे देखी बबरमहल क्षेत्रमा सो समुहले प्रदर्शन गर्नेछन् ।
महासचिव गुटेरेसले आज ४ बजे संघीय संसदको सयुक्त बैठकलाई बिशेष सम्बोधन गर्दैछन् ।
चार दिने नेपाल भ्रमणमा आएका गुटेरेसले पहिलो पटक नेपालको संसदमा सम्बोधन गर्न लागेका हुन् ।
गाजा, १४ कार्तिक ।
इजरायली सेनाले मंगलबार बिहानै गाजास्थित अल कुद्स अस्पताल नजिक बमबारी गरेको छ ।
प्यालेस्टिनी रेड क्रस सोसाइटीले स्थानीय समय अनुसार मंगलबार बिहानै गाजा सहरको वरपर ताल अल हवामा भारी तोप प्रहार र हवाई आक्रमण गरे पछि अल–कुद्स अस्पतालमा आतंक छाएको थियो ।
‘अस्पताल भित्र आश्रय लिनेहरूले डर र आतंकको अनुभव गरिरहेका छन,्’ प्यालेस्टिनी रेड क्रस सोसाइटीलेले सामाजिक सञ्जालमा लेखेको छ ।
करिब १२ हजार आन्तरिक विस्थापित नागरिकहरूले अस्पतालमा आश्रय लिइरहेका छन्, सो समूहले भनेको छ ।
इजरायली सेनाले यस क्षेत्रमा गतिविधिका बारेमा तत्काल कुनै प्रतिक्रिया दिएको छैन ।
अल कुड्स अस्पताल गाजाको उत्तरमा अवस्थित छ, जसको दक्षिणी रेखामा जानका लागि इजरायलले यसअघि नै चेतावनी दिएको थियो ।
मध्य गाजामामा रहेका पत्रकार हसन एसलेहले सीएनएनलाई भने कि उक्त क्षेत्रमा तोपखानाको आगो सोमबार दिनरात लगातार थियो।
उनले घाइते र मृतकहरूलाई देर अल–बालाहको अल अक्सा सहिद अस्पतालमा ल्याएको देखेका थिए । मृतकहरूलाई सम्मान गर्नका लागि बिहान प्रार्थनाको लागि तयार भइरहेको शव पालमा ३१ शवहरू राखिएको थियो ।
न्युर्योक, १४ कार्तिक ।
प्यालेस्टाइनी अतिवादी समुह हमासले एक अमेरिकी किशोरीको रिहाई गरेको छ ।
शिकागो क्षेत्रकी किशोरी नताली रानान आफनी आमासहित रिहाई भएकी हुन ।
‘किशोरी नताली रानान, जो शुक्रबार हमासको बन्दीबाट आफ्नी आमासहित रिहा भएकी छिन्, उनी शिकागोमा घर फर्किएको छिन,’ मध्यपश्चिमका लागि इजरायलका कन्सुल जनरल यिनम कोहेनले सोमबार साँझ भनेका छन् ।
‘नताली रानान शिकागोमा घर फर्किदा मैले राहत महशुश गरेको छु। उनको परिवारका सदस्यहरू उनको फर्कने प्रतिक्षामा थिए र आज म उनीहरूको खुसी बाँडिरहेको छु,’ कोहेनले ट्विटर भनेका छन ।
उनले लेखेका छन, ‘नताली रानान शिकागोमा घर फर्किदा मलाई राहत मिलेको छ। उहाँको परिवारका सदस्यहरू उहाँको आगमनको लागि उत्सुकतापूर्वक पर्खिरहेका छन्, र आज म उहाँहरूको खुशी बाँडिरहेको छु।
जब हामी नतालीको फिर्ताको उत्सव मनाउँदै छौं, हामी २३९ बन्धकहरूलाई सम्झन्छौं, तीमध्ये बच्चाहरू, केटाकेटीहरू, महिलाहरू र वृद्धहरू, जो अझै पनि गाजामा हमासद्वारा कब्जामा छन्। यस हप्ता, हमासले अझै पनि बन्धक बनाएका परिवारका सदस्यहरू शिकागोमा आफ्ना कथाहरू साझा गर्न र उनीहरूको तत्काल रिहाइको लागि आह्वान गर्न शिकागोमा हुनेछन्।’
रानानहरू शिकागो क्षेत्रका हुन् र उनीहरूले अक्टोबर ७ मा हमासको घातक हमलाको क्रममा बन्धक बनाइएका थिए, जो दक्षिणी इजरायलको नाहल ओजमा आफन्तहरूलाई भेट्न गएका थिए।
तर, उनकाे सही परिचय र ठेगाना भने अझै पनि गाेप्य राखिएकाे सीएनएनले जनाएकाे छ ।
बारा, १४ कार्तिक ।
मधेस प्रदेशका बिधालयहरू आज बन्द हुने भएका छन् ।
बाराको एक बिद्यालयका प्रिन्सपल रुपेश सर्राफको हत्याको बिरोधमा आज मधेसका बिद्यालयहरु बन्द हुन लागेका हुन ।
राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन (नेशनल प्याब्सन) को आब्हानमा मधेश प्रदेशका बिद्यालयहरु एक दिनका लागि शोक बिदा दिईएको हो ।
बाराको कलैयास्थित बाल एकता माविको संचालक तथा प्रिन्सिपल सर्राफमाथि सोमवार दिउँसो गोली प्रहार गरिएको थियो । गोली प्रहारबाट घाइते भएका उनको उपचारको क्रममा वीरगञ्ज अस्पतालमा मृत्यु भएको थियो ।
नेशनल प्याब्सनका प्रदेश अध्यक्ष डा. नन्दन यादव र सचिव जितेन्द्र प्रसाद यादवले जारी गरेको विज्ञप्तीमा सर्राफको हत्याप्रति कडा निन्दा र भर्त्सना गरिएको छ ।सो हत्या विरोधमा आज नेशनल प्याब्सन अन्तर्गत प्रदेशभरका विद्यालयहरु बन्द गर्ने निर्णय भएको सो विज्ञप्तीमा उल्लेख छ ।