२०८३ भाद्र ४
२०८३ भाद्र ४

कठमाडौं, १५ कात्तिक ।

प्रि-ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंक घटेको  छ।

बुधबार  सो सेसनमा ०.२१ अंक घटेर १८६४.१८ विन्दुमा झरेको हो। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने स्थिर रहेको छ।

४ स्टकको २५ हजार ६१४ रुपैयाँ बराबरको ४० कित्ता सेयर कारोबार भएको छ। जसमध्ये १ स्टकको मूल्य सो सेसनमा बढेको छ भने ३ स्टकको मूल्य घटेको छ।

काठमाडौं,१४ कात्तिक ।

नेपाल विद्युत प्राधिकरणले कोशी प्रदेशका मोरङ र सुनसरी जिल्लाका औद्योगिक करिडोरमा यस वर्ष भरपर्दो र गुणस्तरीय विद्युत् आपूर्तिका लागि अधिकतम प्रयास गरिरहेको छ । प्राधिकरणले त्यस क्षेत्रका औद्योगिक र अन्य ग्राहकहरुलाई भरपर्दो र गुणस्तरीय विद्युत् आपूर्तिका लागि प्रसारण तथा वितरणतर्फका चालू लाइनहरुको सुधार गर्ने, नयाँ लाइन बनाउने, सबस्टेसनहरुको क्षमता स्तारोन्नति गर्ने र नयाँ सबस्टेसन निर्माणलाई योजनावद्ध रुपमा अगाडि बढाएको छ ।


मोरङ र सुनसरीका उद्योगीहरुले मुख्य रुपमा गर्मीयाममा उद्योगहरुमा पटकपटक लाइन जाने र आउने (ट्रिपिङ) हुने गरेको गुनासो गर्दै आएका छन् । यसलाई सम्बोधन गर्न प्राधिकरणले मोरङ र सुनसरी औद्योगिक करिडोरमा विद्युत् आपूर्तिका लागि सुनसरीको दुहवीस्थित १३२ केभी ग्रिड सबस्टेसनको भार (लोड) घटाउन पुरानो लाइनहरुको सुधार र थप लाइन तथा सबस्टेसन निर्माण गरिरहेको छ ।

केहीअघि सञ्चालनमा आएको सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ स्थित ४०० केभी क्षमताको इनरुवा सबस्टेसनबाट विद्युत् आपूर्ति दिनका लागि प्रसारण तथा वितरणतर्फका लाइन र सबस्टेसन निर्माणाधीन छन् । इनरुवा ४००, २२०, १३२ र ३३ केभी प्रणालीमा आधारित सबस्टेसन भएकाले त्यहाँबाट स्थानीय रुपमा विद्युत् आपूर्ति गर्न सकिने छ । यसले गर्दा दुहबी सबस्टेसनमा हाल रहेको विद्युत आपूर्तिको भार घट्ने छ ।

अरुण तथा तमोर नदी र तिनीहरुका सहायक खोलानालामा निर्माण गरिएका÷हुने जलविद्युत आयोजनाहरुबाट उत्पादित विद्युत् कोशी करिडोर २२० केभी प्रसारण लाइनमार्फत इनरुवा सबस्टेसनमा जोडिने छ । ताप्लेजुङ, पाँचथर, इलाम जिल्लास्थित खोलाहरुमा उत्पादित विद्युत् काबेली करिडोर प्रसारण लाइन हुँदै झापाको दमकमा आउने छ । यसले गर्दा त्यस क्षेत्रमा विद्युत् आपूर्तिका लागि स्रोतको अभाव छैन ।


सुनसरी र मोरङको विद्युत् आपूर्ति सुधार र १३२ केभीको दुहवी तथा विराटनगर क्षेत्रमा रहेका ३३÷११ केभी रानी र टङ्किसिनुवारी सबस्टेसनहरुको भार घटाउन १३२ विराटनगर सबस्टेसन निर्माणाधीन छ । सुनसरीको बर्जु गाउँपालिकामा निर्माणाधीन सबस्टेसनसम्म विद्युत् पुर्याउनका लागि इनरुवा सबस्टेसनबाट १३२ केभी प्रसारण लाइन निर्माण भइरहेको छ ।

ठेकेदार कम्पनी सानडोङ ताइकाई इन्जिनियरिङ र मुडभरी एण्ड जोशी कन्ट्रक्सनको संयुक्त उपक्रमको कमजोर कार्यसम्पादनका कारण सबस्टेसन निर्माणमा ढिलाइ भइरहेको छ । सबस्टेसनमा रहने उपकरणहरु राख्नका लागि अधिकांश सिभिल संरचनाहरु निर्माण भइसकेका छन् । सबस्टेसनका अधिकांश उपकरणहरु पनि निर्माणस्थलमा आपूर्ति भइसकेका छन् ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले केहीअघि निर्माणस्थलको अनुगमन गरी आगामी फागुनभित्र निर्माण सम्पन्न गर्न निर्देशन दिए । आगामी फागुनभित्र निर्माण सम्पन्न गर्न नसकिएमा विद्युत् उपलब्ध भएर पनि आपूर्ति दिन नसकी वाध्यकारी लोडसेडिङ गर्नु पर्ने अवस्था आउसक्ने भन्दै यस्तो संवेदनशील आयोजनाको काम उक्त अवधिमा नसकिएमा ठेक्का सम्झौताबमोजिम कारबाही गर्ने चेतावनी ठेकेदारलाई दिए ।

त्यस क्षेत्रका ओद्योगिक करिडोरमा रहेको विद्युत् आपूर्तिका समस्या समाधन गर्न भइरहेका कामको जानकारी दिन उद्योग सङ्गठन मोरङका अध्यक्ष राकेश सुरानालाईसमेत टोलीमा सहभागी गराइएको थियो । ‘यस वर्ष सुनसरी र मोरङमा सञ्चालित उद्योगहरुलाई विश्वसनीय र गुणस्तरीय विद्युत् आपूर्तिका लागि अधिकतम प्रयास गरिरहेका छौं, विकल्पहरु धेरै छन्, सञ्चालित योजनाहरु गर्मी सुरुहुनुभन्दा पहिलेनै सक्नु बाध्यकारी अवस्थामा छौं’, कार्यकारी निर्देशक घिसिङले भने,  ‘यसका लागि जनशक्ति थप्नुहोस्, स्थानीय रुपमा भइरहेका अवरोध हटाउन स्थानीय तहका जनप्रतिनिधि, प्रशासन,उद्योगी व्यसायीहरुलगायतका साथ र सहयोग आवश्यक छ ।’

इनरुवा–विराटनगर २३ किलोमिटर १३२ केभी प्रसारण लाइनमा पर्ने ८० वटा टावरमध्ये ७३ वटाको जग हालिएको छ । ७२ वटा खडा गरिएको छ । प्रसारण लाइनको तार आपूर्ति भइसकेको छ । स्थानीयको अवरोधका कारण दुई वटा र प्राविधिक समस्याले ५ वटा टावर निर्माण सुरु हुन सकेको छैन । इनरुवा सबस्टेसनबाट खनारसम्म ३३ केभी डबल सर्किट लाइन निर्माण अन्तिम चरणमा छ । यो लाइन सञ्चालनमा आएपछि दुहवी सबस्टेसनको करिब ४० मेगावाट भार घटाउन सकिनेछ ।

इनरुवाबाट पुरानो इनरुवा सबस्टेसम्म हाल रहेको ३३ केभी सर्किटको लाइनमा अर्को सर्किट निर्माणाधीन छ । यसले पनि दुहवी सबस्टेसनको भार घटाउने छ । इनरुवा–दुहवी १३२ केभी डबल सर्किट प्रसारण लाइनको तार फेरेर क्षमता बृद्धिको प्रक्रिया अगाडि बढाइएको छ ।

झापा, मोरङ र सुनसरीको विद्युत्को माग धान्नका लागि दमकबाट विराटनगर सबस्टेसनसम्म १३२ केभी प्रसारण लाइन निर्माण प्रक्रिया अगाडि बढाइएको छ । करिब ६५ किलोमिटर उक्त लाइन दमकबाट मोरङको कानेपोखरी गाउँपालिकास्थित केरौन, सुनसरीको दुहवी हुँदै विराटनगर सबस्टेसनमा जोडिने छ । उक्त लाइन निर्माण सम्पन्न भएपछि झापा, मोरङ र सुनसरीमा विद्युत् आपूर्तिका लागि १३२ केभीको रिङ बन्ने छ । जसले विद्युत् आपूर्तिलाई पर्याप्त, भरपर्दो, गुणस्तरीय  र सुरक्षित बनाउनेछ ।

लन्डन, १५ कार्तिक ।

नेपाली डायरफोराले नेपालप्रति प्रेम देखाउने अहिले उपयुक्त समय भएको अर्थमन्त्री डा. प्रकाशशरण महतले बताएका छन् ।

 

नेपाली दूतावास लन्डनमा आयोजित स्वागत तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री डा. महतले भने, ‘नेपाली डायरफोराले नेपालमा लगानी गरेर वास्तविक माया देखाउने बेला आएको छ । तपाईंहरुसँग जे क्षमता छ, त्यो क्षमता उपयोग गरेर नेपालप्रतिको प्रेम देखाउने अहिले उपयुक्त समय हो ।’

दुई पक्षीय, बहुपक्षीय सहयोगले मात्र नेपालको विकास सम्भव छैन । संस्थागत निजी क्षेत्रको लगानीको आवश्यकता छ, मन्त्री डा. महतले भने, ‘नेपालीको धेरै ठूलो संख्या विश्वभर फैलिएको छ । विदेशमा नेपालीको दोस्रो पुस्ता हुर्किदैछ । सिप, ज्ञान र पूँजीको हिसाबले नेपाली डायसफोराले आफ्नो अस्तित्व बनाउँदैछ ।’

 

अर्थमन्त्री डा. महतले भने ‘बेलायतमा नेपाली मूलका ब्रिटिस नागरिकता भएका अथवा नभएका ठूलो संख्यामा हुनुहुन्छ तपाईंहरुको पनि लगानी नेपालमा होस् । विश्वभरि छरिएर रहेका नेपालीहरुले हाइड्रो, होटललगायत अन्य क्षेत्रमा नेपालमा लगानी भइरहेको छ ।’ मध्यपूर्वका नेपालीहरुले सिकेको सिप र ल्याएको पूँजी नेपालमा उपयोग गरिरहेका छन् । उनीहरुको विशेष रुचि एग्रो विजनेशमा देखिन्छ ।

 

नेपालको आर्थिक विकासमा एग्रो बिजनेशको ठूलो सम्भावना रहेको मन्त्री डा. महतले बताए । कार्यक्रममा बेलायतका लागि नेपाली राजदुत ज्ञानचन्द्र आचार्य, उपनियोग प्रमुख तथा प्रवक्ता रोशन खनालले शुभकामना मन्तव्य दिएका थिए । कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल, पत्रकार, बेलायती सांसद लगायत बेलायतस्थित गैरआवासीय नेपालीहरुको उपस्थिति थियो । मन्त्री डा. महतले मंगलवार लण्डनमा आयोजना हुने एक नेपालमा लगानी सम्बन्धी सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ । उनी बुधवार नेपाल फर्किने तयारीमा छन् ।

काठमाडौं, १५ कार्तिक ।

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

 

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।

 

दिउँसो देशभर आंशिक बदली रहनेछ। देशका पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

 

राती भने देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।

 

देशका पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का वर्षा र हिमपातको समेत सम्भावना रहेकोले त्यसबाट हुन सक्ने क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

महोत्तरी, १४ कात्तिक

कात्तिक कृष्णपक्ष सुरु भएसँगै मधेशको प्राचीन मिथिला क्षेत्रका विन र डोम समुदायमा व्यस्तता बढेको छ । दीपावली तथा छठ पर्वका लागि आवश्यक पर्ने बाँसको डाली, छिटी, नाङ्लो,चाल्नो, पङ्खा, कोनीया र अन्य खेलौंना बनाउन उनीहरूमा व्यस्तता बढेको हो । ती पर्वमा यस्ता सामग्री आवश्यक पर्ने भएकाले विन र डोम समुदाय अहिले यस्ता सामान बनाउन कम्मर कसेर लागिपरेका छन् । घरआँगनमा आइपुगेका अतिथिलाई मुखैले शिष्टाचार गरे पनि प्रगाश मरिक डोमको हातभने कप्टेरा उन्दै छिटी बनाउनमै ब्यस्त देखिन्छ । माग भएका सामग्री तयार गर्न भ्याइ नभ्याइ भएकाले उहाँसहित बस्तीका डोम र विन समुदायको ब्यस्तता बढेको हो । भङ्गाहा नगरपालिका–५ सिद्धपुर बस्तीको मुखमै सानो खरले छाएको झुप्रोमा प्रगाश दिनरात डाली, छिटी, नाङ्लो—चाल्नो, पङ्खा, कोनीयाँ र अन्य खेलौंना बनाउन तल्लिन हुनुहुन्छ । राति अबेरसम्म चोया र कप्टेरा चलाउँदा चलाउँदै सुते पनि बिहान आँखा उघ्रनासाथ त्यही चोया र कप्टेरामा हात पु¥याउनु परेको उहाँ बताउनुहुन्छ । सोही वडाकै सीतापुर बस्तीका पञ्चु विनलाई पनि अहिले पर्वकेन्द्रित चोयाका सामान बनाउन भ्याइ नभ्याइ छ । प्रगाश र पञ्चुजस्तै बिपन्न विन र डोम समुदायमा यस्ता चाड पर्वमा आफ्नो सीपले बजार पाउनका साथै आम्दानी पनि हुने भएपछि खुसी छाएको छ । अहिले बाँस खोजेर ल्याउने, फट्याउने, कप्टेरा र चोया काढ्ने र मागअनुसारका समान बुन्ने काममा ती समुदायका परिवारका सबै सदस्य व्यस्त देखिन्छन् । घरमुलीदेखि पाँच÷सात वर्ष उमेर कटेका नानीहरु पनि काममा लागेका देखिन्छन् । अन्यबेला अभावमै बित्ने ती समुदायमा मिठोमसिनो खाने, राम्रा लुगा लाउने र बालबालिकाको रहर पूरा गर्ने भाखा पनि घरमूलीले दीपावली र छठसँग जोडने गर्छन् । “के गर्नु हजुर, वर्षभरिको खर्चको जोहो गर्ने बेला यही हो, अहिले चुके वर्षभरि नगद देख्न पाँइदैन” भङ्गाहा–५ सिद्धपुरको डोम बस्तीका अगुवा प्रगाश भन्नुहुन्छ–, “ससाना नानीहरुको रहर र चाहना हामीले यही पर्वमा पूरा गर्ने सोच बनाएका हुन्छौँ ।” अन्य बेला आफ्ना सीपको खासै माग नहुने हुँदा वर्षभरिका लागि खर्चको जोहो पनि यसै बेला गर्न पर्ने भएको उहाँको भनाइ छ । चोयाका सामग्री अडर गर्न आउने ग्राहक बाक्लिएपछि ससाना नानीको माग पनि बढ्ने गरेको छ । “माय, दिवाली आ छठमें हम गुड्डी उडायब् , हमरा बहुते रङ्गके गुड्डी ला दिहे” (आँमा , म तिहार र छठ पर्वमा चङ्गा उडाउँछु , मलाइ रङ्गीबिरङ्गी चङ्गा ल्याइदिनुहोला) चोयाका समान बुनिरहनुभएकी बर्दिवास–१ की रामकली मरिकको छेउमै खेल्दै आइपुगेका सात वर्षीय छोरा विरुपा मरिकको माग थियो । रामकलीले विरुपालाई दिवालीमै चङ्गा ल्याइदिने आश्वासन दिनुभएको छ । “गरिब छौं, चाहिँदो खर्चको पनि अभाव छ तर ससाना नानीको मन त हो , गाउँमा अन्य समुदायका नानीका हातमा जे देख्छन् , घर आएर त्यसैको फर्माइस गर्छन्” लोहारपट्टी नगरपालिकाको डोठारा बस्तीका झामलाल मरिक भन्नुहुन्छ, “नानीहरुले भनेको कुरा दिन नसक्दा मन कुँडिन्छ, यतिबेला भने आफ्नो गच्छेले भ्याएसम्म नानीहरुको रहर पूरा गर्छौँ ।” मुलुकमा अवसरबाट पछि परेका सिमान्तकृत गरिब र दलितहरुको उत्थानका लागि सरकारले बिभिन्न कार्यक्रम सञ्चालन गरेको बताइए पनि त्यस्ता कार्यक्रम ती समुदायसम्म नपुगेको सामाजिक अभियन्ताहरुको टिप्पणी छ । सरकारी कार्यक्रमहरुको प्रभावकारी अनुगमन नहुँदा अवसरबाट पछि पारिएका डोमसहित अन्य समुदायको उत्थानको काम हुन नसकेको भङ्गाहा–९ की नेतृ किरण यादव बताउनुहुन्छ । रासस

बारा १४ कात्तिक

गोली प्रहारबाट हिजो मृत्यु भएका बाल एकता बोर्डिङ स्कुलका प्रिन्सिपल रुपेश सर्राफको मङ्गलवार हिन्दू परम्पराअनुसार दाह संस्कार गरिएको छ । पसहा खोलमा उहाँको अन्तिम संस्कार गरिएको पारिवारिक स्रोतले जनाएको छ । यसअघि एन प्याब्सनका पदाधिकारीले संस्थाको झन्डा ओढाई सर्राफमा श्रद्धाञ्जली अर्पण गरेका थिए । मृतक सर्राफको श्रीमतीसहित दुई छोरा छन् । उहाँलाई श्रद्धाञ्जली अर्पण गर्न ठूलो सङ्ख्यामा शुभचिन्तकहरु कलैया उपमहानगरपालिका वडा नम्बर ६ स्थित उहाँको निवासमा पुगेको थिए । कलैया उपमहानगरपालिकाका प्रमुख बिनोद साह, नेकपा (माओवादी केन्द्र)का युवा नेता मुकेश साह, नेपाली कांग्रेसका युवा नेता लुकेश सिहलगायत विभिन्न राजनितिक दलका नेता, नागरिक अगुवा, निजी तथा सामुदायिक बिद्यालयका शिक्षक शिक्षिका, आफन्तजन, पत्रकार, सुरक्षाकर्मीलगायतले सर्राफको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गरेका थिए । उपमहानगरपालिका भित्रका शिक्षक तथा पेशागत बिभिन्न संघ–संगठनहरुले घटनाको निन्दा गर्दै शोक मनाउने निर्णय गरेका छन् । यस्तै बारा उद्योग वाणिज्य संघले पनि एक विज्ञप्ति जारी गर्दै हत्याको बिरोधमा बजार बन्द गर्न आह्वान गरेको छ। संघका अध्यक्ष राजकुमार साहद्वारा जारी विज्ञप्तिमा मङ्गलवार साँझसम्म बजार बन्द गरी सहयोग गर्न उद्योगी तथा ब्यापारीहरुसँग अपिल गरिएकाले अहिले बजार पूर्णरूपमा बन्द छ । एन प्याब्सनले पनि सोमबार नै विज्ञप्तिमार्फत उक्त घटनाको निन्दा गर्दै दोषीलाई कार्यवाहीको दायरामा ल्याउन माग गर्नाका साथै २४ घन्टाभित्र बास्तविक अपराधी समात्न नसके चरणवद्ध आन्दोलन गर्ने जनाएको छ । कलैयामा रहेको बाल एकता बोर्डिङ स्कुलका प्रिन्सिपल सर्राफमाथि सोमबार दिउँसो करिब १ बजे अज्ञात समूहले तीन वटा गोली प्रहार हत्या गरेकाले जिल्लाबासीमा त्रासको वतावरण छाएको छ । कलैयास्थित मदर्शा टोलमा दुईवटा नेपाली मोटरसाईकलमा आएका चारजना अज्ञात व्यक्तिले तीन राउण्ड गोली सर्राफलाई हानेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक सुश काफलेले जानकारी दिनुभयो । हत्या गरिएको ठाउँ जिल्ला प्रहरी कार्यालयभन्दा पाँच मिनेटको दूरीमा पर्दछ । गोली लागेर सख्त घाइते सर्राफलाई कलैया प्रादेशिक अस्पताल उपचार हुन नसकेपछि थप उपचारका लागि विरगञ्जस्थित बयोधा अस्पतालमा लगिएको र उपचारका क्रममा उहाँको मृत्यु भएको उहाँले जानकारी दिनुभयो । प्रेम सम्बन्धका कारण सर्राफको हत्या भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । यसअघि गत साउन २८ गते कलैयाको एक होटलमा सर्राफको हत्याको प्रयास गरिए पनि त्यति बेला उहाँ बाँच्न सफल भएको पक्राउ परेकाहरुले प्रहरी समक्ष बयान गरेको दिएको अनुन्धानमा खटिएका एक प्रहरीले जानकारी दिए । घटनामा सम्लग्न एक युवतीसहित तीन नेपाली र तीन भारतीयलाई प्रहरीले पक्राउ गरेको जनाइएको छ । सो घटनामा अन्य थप दुईजनाको पनि संलग्नता हुनसक्ने प्रहरीको अनुमान छ । अहिले दस जनालाई नियन्त्रणमा लिएर घटनाको बारेमा सुक्षमरुपमा अनुन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

काठमाडौँ, १४ कात्तिक 

नेपाल सरकार र एसियाली विकास बैंक (एडिबी)बीच नेपालको सडक सञ्जाल सुधार तथा विस्तारका लागि करिब रु १३ अर्ब (१० करोड अमेरिकी डलर) बराबरको सहुलियतपूर्ण ऋण सम्झौता भएको छ । आज अर्थ मन्त्रालयमा एक औपचारिक कार्यक्रमकाबीच अर्थसचिव कृष्णहरि पुष्कर र एसियाली विकास बैंकका नेपालका लागि देशीय निर्देशक आर्नोड काओसिसले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो । ग्रामीण सडक सञ्जाल सुधार आयोजनाका लागि यो एडिबीबाट भएको अतिरिक्त वित्तीय लगानी हो । कूल तीन सय २४ किलोमिटर सडक सञ्जाल सुधार तथा विस्तारका लागि यो रकम खर्च गरिनेछ । प्रदेश सरकारले कार्यान्वयन गर्ने यो परियोजनाले समावेशी विकासको अवधारणा र सङ्घीयता कार्यान्वयनलाई सघाउने अर्थसचिव पुष्करले विश्वास व्यक्त गर्नुभयो । “ग्रामीण क्षेत्रमा समावेशी विकास र आर्थिक सवलीकरणसँगै यो परियोजनाले सङ्घीयता कार्यान्वयनमा पनि महत्वपूर्ण भूमिका खेल्नेछ”, अर्थसचिव पुष्करले भन्नुभयो, “बाढीपहिरोलगायतका समस्याबाट सडक सञ्जालसँगै ग्रामीण जनजीवन पनि बिग्रिएको छ । यो परियोजनाले उक्त समस्या समाधानमा भूमिका खेल्नेछ ।” एडिबीका देशीय निर्देशक आर्नोड काओसिसले विभिन्न पाँच प्रदेशमा गुणस्तरीय र पर्यावरणमैत्री सडक पूर्वाधार निर्माणका लागि यो ऋण सम्झौता भएको बताउनुभयो । सडक मर्मतसम्भारसँगै पुल निर्माण, सडक सुरक्षा तथा व्यवस्थापनलगायतका काम यो आयोजनामार्फत् गरिनेछन् । रासस

काठमाडौँ, १४ कात्तिक 

अर्थमन्त्री डा प्रकाशशरण महत र संयुक्त अधिराज्य (बेलायत)का ट्रेजरी लर्डस्मन्त्री बारोनेस पेनबीच लण्डनस्थित अर्थ मन्त्रालयमा सोमबार भेटवार्ता भएको छ । भेटका क्रममा अर्थमन्त्री डा महतले बेलायतका तर्फबाट नेपालको नवीकरणीय ऊर्जामा लगानीका लागि आग्रह गर्नुभयो । उहाँले बेलायत नेपालको एक प्रमुख विकासको साझेदार देश रहेको स्मरण गर्दै हरित ऊर्जामा दीर्घकालीन वित्तीय स्रोत उपलब्ध गराउनसमेत आग्रह गर्नुभयो । त्यसैगरी उहाँले बेलायतको तर्फबाट जलवायु परिवर्तनको न्यूनीकरणका लागि गरिँदै आएको लगानी नेपालमा थप वृद्धि गर्न पनि अनुरोध गर्नुभएको अर्थमन्त्री डा महतको सचिवालयले एक विज्ञप्ति प्रकाशन गरी जनाएको छ । टे«जरीमन्त्री पेनले नेपालको आर्थिक विकासमा बेलायतले सहयोग गर्दै आएको र यसलाई निरन्तरता दिने बताउनुभयो । उहाँले ‘ग्रीन फाइनान्स’ क्षेत्रमा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै बेलायतको निजी क्षेत्रलाई नेपालको हरित ऊर्जाको क्षेत्रमा लगानी बढाउन प्रोत्साहन गर्ने बताउनुभयो । भेटमा बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य र नियोग उपप्रमुख रोशन खनालको पनि सहभागिता थियो । लण्डनस्थित नेपाली राजदूतावासले गर्न लागेको लगानीसम्बन्धी उच्च्स्तरीय सम्मेलनमा भाग लिन लण्डन आउनुभएका मन्त्री डा महतले नेपाली राजदूतावासको आयोजना र डोल्मा फाउण्डेशनको सहकार्यमा सोमबार भएको नेपालको नवीकरणीय ऊर्जाको विकासमा दीर्घकालीन वित्तीय विकल्प विषयक अन्तक्र्रियामा सहभागी हुनुभएको थियो । सो क्रममा मन्त्री डा महतले नेपाल सरकारले विदेशी लगानीको सुरक्षाको प्रत्याभूति गर्ने बताउँदै वैदेशिक लगानीकर्ताले लाभांश फिर्ता लैजाने प्रक्रियालाई सरल बनाउनेतर्फ नेपाल सरकार लागेको जानकारी दिनुभयो । उहाँले लगानीको वातावरण सुधार गर्न देशको कन्ट्री क्रेटिड रेटिङ्गको प्रक्रिया सुरु भइसकेको पनि जानकारी दिनुभयो । डोल्मा फाउण्डेशनका टीम गोचर र जापनिज बैंक एमयुएफजीका क्रिस्टोफर मार्कसले कर्पोरेट ग्रीन बन्डको बारेमा आफ्नो धारणा राख्नुभएको थियो । यसैगरी स्टाण्डर्ड चार्टर्ड बैंकका आदिल अन्सारीले सोभरियन बन्ड र नवनिर्वाचित लर्ड मेयर प्रो माइकल मेनिलीले पोलिसी पर्फमेन्स बन्डका बारेमा धारणा राख्नुभएको थियो । राजदूत आचार्यले लगानीका लागि नेपाल उर्वरभूमि रहेकाले लगानीकर्तालाई निर्धक्क भएर लगानी गर्न आग्रह गर्नुभयो । रासस

भीष्मराज ओझा काठमाडौँ, १४ कात्तिक 

नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य राजेन्द्र बजगाईँले आफूहरूले संसद्मा उठाएका विषय सरकारका तर्फबाट खासै कार्यान्वयन नहुने गरेको बताउनुहुन्छ । उहाँले रासससँग कुरा गर्दै संसद्मा उठाएका महत्त्वपूर्ण विषयको कार्यान्वयन पक्ष फितलो भएकाले ती विषय आफ्ना मतदातालाई सुनाउन मात्र बोलेको जस्तो आफूलाई अनुभव हुने गरेको टिप्पणी गर्नुभयो । सांसद बजगाईँले भन्नुभयो, “सदनमा कुरा राख्न पाइएको छ । सुनुवाइ हुँदैन, सरकारलाई सुनाउँदा सरकार सुन्दैन । सरकारले नसुनेपछि मिडियामार्फत सुनाउनुपर्ने अवस्था छ । जिम्मेवारी निर्वाह गर्ने सम्बन्धमा अनुशासन र नियम–कानुनको पालना भएको देखिँदैन । कर्तव्य निर्वाह नगरे पनि कसैलाई डर छैन ।” संसद्मा नकारात्मक सोच रहने गरेको गुनासो गर्दै उहाँले कसले कसलाई छिड्की हान्ने भन्ने प्रवृत्ति रहेको उल्लेख गर्नुभयो । सामूहिक सकारात्मक एकताको कमी रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “संसद्मा बेलिरहने हो । संसद्मा बोलेको कुरा मतदातालाई सुनाउन बोलेको जस्तो हुने हो । हाम्रो माननीयले बोलेको थियो त भन्नेमात्र हुने हो ।” उहाँ दुईपटक पार्टीको केन्द्रीय सदस्य र एकपटक प्रदेशसभा सदस्यमा पराजय व्यहोरे पनि राजनीतिमा निरन्तर सङ्घर्षशील रहिआउनुभएको छ । हाल गोरखा क्षेत्र नं १ बाट कांग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित उहाँले साना मुद्दामा पनि प्रतिपक्षी दलहरूले संसद् अवरुद्ध गर्दा संसद्ले अपेक्षाअनुसार काम गर्न नसकेको बताउनुभयो । सरकारले सुरुमा पर्याप्त ‘बिजनेस’ दिन नसकेकाले पनि सदनले पर्याप्त काम गर्न नसकेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “यद्यपि पछिल्लो समयमा सरकारले दौडधुप गरेको छ, बिजनेस पनि दिइरहेको छ ।” विसं २०२९ मा गोरखामा जन्मनुभएका उहाँ सानै उमेरदेखि नै नेपाल विद्यार्थी सङ्घबाट कांग्रेसको सक्रिय राजनीतिमा लाग्नुभएको हो । विसं २०४८ मा कांग्रेसको क्रियाशील सदस्यता लिनुभएका उहाँले पार्टीमा पदबिना काम गरिरहेको बताउनुभयो । सांसद बजगाईँले भ्रष्टाचार र अनियमितताका विषयमा सत्य, तथ्य छानबिन गरी दोषीलाई जो–केही भए पनि कारबाहीको दायरामा ल्याउन सबै दलबीच एकजुट हुनुपर्ने सुझाव दिनुभयो । फरक प्रसङ्गमा उहाँले संसद्को सांसद विकास कोषलाई कार्यान्वयनमा सर्वोच्च अदालतले रोक लगाएको विषयप्रति असन्तुष्टि जनाउँदै यसले विधायिकी अधिकार कुण्ठित भएको टिप्पणी गर्नुभयो । यो राज्यको शक्ति पृथकीकरण र नियन्त्रण तथा सन्तुलनको सिद्धान्तविपरीत भएको उहाँको टिप्पणी छ । सांसदको पहिलो काम कानुन निर्माण भएको र त्यसबाहेक जनताको अपेक्षा र जनताबीच गरेका वाचा पूरा गर्न पनि केही गर्नुपर्ने उहाँको भनाइ छ । “संविधानअनुसार हामीले जनतामा गरेको वाचा पूरा गर्न पनि केही विकास निर्माणका काममा सहभागी हुनैपर्छ, अहिलेको प्रणालीमा यो कहीँ न कहीँ जोडिन्छ । यसलाई अस्वाभाविकरूपमा लिनु हुँदैन । आफ्नो क्षेत्रको विकासको जिम्मेवारी हाम्रो पनि हो”, सांसद बजगाईँले भन्नुभयो, “भोट माग्दैमा त्यसरी नै मागिएको छ, यसलाई अन्यथा सोच्नु हँुदैन र यस्तो प्रचलन विश्वका धेरै देशमा रहेको छ । जनताले पनि त्यही अपेक्षा गरेका हुन्छन् ।” तर विकास निर्माण स्थायी शक्तिले नै गर्नुपर्नेमा भने उहाँको स्पष्ट धारणा छ । सदनमा सांसदको प्रस्तुतिका सन्दर्भमा सांसद बजगाईँले जनताका प्रतिनिधिको सर्वोच्च थलो सङ्घीय संसद्मा अनुशासित र संयमित भएर छलफलमा भाग लिनुपर्ने धारणा व्यक्त गर्नुभयो । “सदनलाई मर्यादित तुल्याउन जनप्रतिनिधिको ठूलो भूमिका हुन्छ”, सांसद बजगाईँले भन्नुभयो, “केही सांसदले कहिलेकाहीँ बोलको कुरामा कुन शब्द हटाउने कुन नहटाउने भन्नेमा सभामुखलाई पनि जानकारी नभएको जस्तो देखिन्छ ।” कांग्रेसमा १२औँ महाधिवेशनदेखि नियमतिरूपमा पार्टीको महासमिति सदस्य र महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुँदै आउनुभएका उहाँले सदनमा कार्यगत एकता नदेखिने, सांसदहरू स्वतन्त्र नहुने र सकारात्क सोचभन्दा बढी नकारात्मक हुने गरेको उल्लेख गर्दै यसमा सुधारको खाँचो औँल्याउनुभयो । रासस

काठमाडौँ, १४ कात्तिक (रासस) :

दक्षिणी इजरायलमा हमास समूहका आक्रमणमा परी मृत्यु भएका १० जना नेपाली विद्यार्थीमध्ये इजरायलमा मारिएका थप दुई नेपालीको शव पहिचान भएको छ । मधुवन–१ सुनसरीका राजेशकुमार स्वर्णकार र सपही–६ धनुषाका अनन्द साहको शव पहिचान भएको तेल अबिबस्थित नेपाली दूतावासले जनाएको छ । सोमबार साँझ दूतावासले जारी गरेको वक्तव्यमा भनिएको छ, “आवश्यक प्रक्रिया पूरा गरी पहिचान भएका सबै शव यथाशीघ्र स्वदेश पठाउने व्यवस्था मिलाइँदैछ ।” दक्षिणी इजरायलमा गत असोज २० गते अर्थात् ७ अक्टोबरमा हमास समूहको आक्रमणमा परी १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो । उनीहरूमध्ये मधुवन–१ सुनसरीका स्वर्णकार र सपही–६ धनुषाका साहको शव पहिचान हुन बाँकी थियो । दुवैको शव पहिचान भएको तेल अबिबस्थित नेपाली दूतावासले जनाएको छ । हमास समूहको आक्रमणमा परी मृत्यु भएका १० विद्यार्थीमध्ये हालसम्म पाँच जनाको शव नेपाल आइपुगेको छ । हालसम्म बझाङ जयपृथ्वी–६ का गणेशकुमार नेपाली, दार्चुला मालिकार्जन–४ का लोकेन्द्रसिंह धामी, दार्चुला लेकम–५ का दीपेशराज विष्ट, कैलाली घोडाघोडी–४ का नारायणप्रसाद न्यौपाने तथा कैलाली बौनियाँ–३ का आशीष चौधरीको शव नेपाल ल्याइएको परराष्ट्र मन्त्रालयले जनाएको छ । सुदूरपश्चिम विश्वविद्यालयको कृषि क्षेत्रको ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत उनीहरू इजरायल गएका थिए । उक्त आक्रमणमा परी मृत्यु हुने अन्य विद्यार्थीमा धनुषा सापही–६ का आनन्द साह, सुनसरी मधुवन–१ का राजेशकुमार स्वर्णकार, डोटी पचनाली–३ का राजन फुलारा, डोटी लामीखाल–८ का पदम थापा र सल्यान शारदा–३ का प्रवेश भण्डारी छन् । सोही आक्रमणमा परी कञ्चनपुर भीमदत्त–३ का विपीन जोशी सम्पर्कविहीन रहेका छन् । केही समयअघि परराष्ट्रमन्त्री नारायणप्रकाश साउदसहितको टोलीले इजरायलमा फसेका दुई सय ५४ विद्यार्थीलाई उद्धार गरी नेपाल ल्याएको थियो । रासस

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।