काठमाडौं, १६ कार्तिक ।
हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ।
दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
राती भने देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ।
देशका पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का वर्षा र हिमपातको समेत सम्भावना रहेकोले त्यसबाट हुन सक्ने क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेकाे छ।
काठमाडौं, १५ कात्तिक ।
काठमाडौं र ललितपुरबाट जुवातास खेलिरहेको अवस्थामा १५ जना पक्राउ परेका छन् ।
काठमाडौं महानगरपालिका-१५ किमडोलस्थित थुप्टेन घलेको द सेफ हाउस रेष्टुरेण्ट एण्ड वारमा जुवातास खेलिरहेको अवस्थामा मनाङ निस्याङ गाउँपालिका-२ घर भई काठमाडौं नागार्जुन नगरपालिका-५ छकडोल बस्ने ४१ वर्षीय आसुन गुरुङ समेत ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख १ हजार ६ सय रूपैयाँ र ७ बुक ताससहित पक्राउ गरेको हो ।
उता ललितपुरकाे गोदावारी नगरपालिका-१० टाखेल पानी ट्याङ्की नजिक बस्ने कुमार भन्ने टुकनाथ घिमिरेको घरमा जुवातास खेलिरहेको अवस्थामा गोदावारी नगरपालिका-१० बस्ने ३७ वर्षीय निराजन न्यौपाने समेत ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त चापागाउँबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ७ हजार रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो ।
दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
काठमाडौं, १५ कात्तिक ।
अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थसहित बाँके र कैलालीका छुट्टाछुट्टै स्थानबाट चारजनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूमध्ये बाँके कोहलपुर नगरपालिका-१५ चन्दहवाबाट ४ ग्राम २ सय मिलिग्राम उक्त पदार्थसहित सोही ठाउँ बस्ने १९ वर्षीय अनुप थारुलाई ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
बाँकेकाे राप्तीसोनारी गाउँपालिका-६ मैमानपुरबाट ८ ग्राम ५ मिलिग्राम उक्त पदार्थसहित भे.प २७७७ नम्बरको मोटरसाइकलमा सवार नरैनापुर गाउँपालिका-३ बालापुर बस्ने २० वर्षीय हसिब खाँ र २० वर्षीय सैबाज खाँलाई लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंज समेतबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
कैलालीकै टीकापुर नगरपालिका-८ खक्रौलाबाट ५ ग्राम ४ सय ४० मिलिग्राम उक्त पदार्थसहित यूपी ३१ बीवाई २७२८ नम्बरको मोटरसाइकलमा सवार भारत लखिमपुर खिरी तिकुनिया ठाना ईन्द्रनगर बस्ने ३५ वर्षीय प्रेम सिंहलाई ईलाका प्रहरी कार्यालय टीकापुर र प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
कपिलवस्त, १५ कात्तिक ।
श्रीमती हत्या आरोपमा मायादेवी गाउँपालिका–८ बरकुलका २६ वर्षका विनयकुमार चमार पक्राउ परेका छन् ।
श्रीमती सन्ध्या चमारको हत्या आरोपमा उनी पक्राउ परेका हुन् ।
विनयकुमारले मालाले घाँटी कसेर सन्ध्याको हत्या गरेको अनुसन्धानबाट खुलेको छ ।
काठमाडौं, १५ कात्तिक ।
सेयर बजार बुधबार एकल अंकले ओरालो लागेको छ । बुधबार नेप्से परिसूचक ५.८३ अंक घटेर १८५८.५६ विन्दुमा झरेको छ।
बुधबार २९६ स्टकको ७७ हजार ८७० पटकको कारोबारमा ८१ करोड २० लाख ८९ हजार २९१ रुपैयाँ बराबरको ३३ लाख ६४ हजार कित्ता सेयर किनबेच भएको छ ।
यस दिन सेन्सेटिभ इण्डेक्स ०.८३ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.४४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२९ अंक घटेको छ।
झापा, १५ कात्तिक ।
बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी अर्जुनधारा नगरपालिका-६ बस्ने ३७ वर्षीय तुलसी फुयललाई प्रहरीले पक्राउ गरेको छ ।
उच्च अदालत विराटनगर ईलाम इजलासको २०७९ चैत ८ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा १ महिना कैद, १ करोड रूपैयाँ जरिवाना तथा ४ लाख रूपैयाँ पीडित राहत कोषमा जम्मा गर्नुपर्ने फैसला भई फरार रहेका फुयललाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
उनलाई फैसला कार्यान्वयनको लागि झापा जिल्ला अदालत चन्द्रगढीमा उपस्थित गराइएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय झापा पठाइएको छ ।
काठमाडाैं, १५ कात्तिक ।
झापा र बर्दियाबाट बलात्कार आराेपमा दुईजना पक्राउ परेका छन् । ९ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा झापा हल्दिबारी गाउँपालिका-४ वडावारी तामाङ बस्ती बस्ने ४५ वर्षीय डिल्ली कुमार श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।
ती बालिकालाई सोमबार राति घरमा कोही नभएको अवस्थामा श्रेष्ठले जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
उता १४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बर्दिया गुलरिया नगरपालिका-१२ कालीनगर बस्ने २८ वर्षीय मदन थारुलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । थारूले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
काठमाडौं, १५ कात्तिक ।
नेकपा एमालेले दशैं, तिहार, छठलगायतका चाडपर्वको अवसरमा गरेको चियापान कार्यक्रम सहभागी हुन विभिन्न राजनीतिक दलका नेताहरु जानेक्रम चलिरहेको छ ।
पार्टी कार्यालय च्यासलमा आयोजित चियापान कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता, रिाज्यका विभिन्न ओहदाका व्यक्ति, विभिन्न पेशा व्यवसायी, शुभेच्छुकहरु सहभागी भइरहेका छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवालीलगायतका नेताहरुले चियापान कार्यक्रममा आउने पाहुनालाई स्वागत गरिरहेका छन् ।
काठमाडौं, १५ कात्तिक ।
संसदीय सुनुवाइ समितिले क्यानडाका लागि प्रस्तावित राजदूत भरतराज पौड्यालविरुद्ध उजुरी आह्वान गरेको छ ।
सिंहदरबारमा बुधबार बसेको समितिको बैठकले क्यानडाका लागि प्रस्तावित राजदूत पौड्यालविरुद्ध १० दिनभित्र स्पष्ट आधार खोलेर उजुरी दिन आह्वान गरेको हो । राजदूतका लागि उपर्युक्त छैन भन्ने लागेमा उजुरी दिन आह्वान गरेको समितिले उजुरीकर्ताले चाहेमा उजुरीकर्ताको नाम, थर र वतन गोप्य राखिने बताएको छ ।
काठमाडौं, १५ कात्तिक ।
प्रहरीले काठमाडौंको गोठाटारमा गोली प्रहार गरेर दुईजनालाई पक्राउ गरेको छ ।
उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले लागूऔषध कारोबारी दुईजनालाई नियन्त्रणमा लिन गोली चलाएको बताएको छ । प्रहरीले झापाका हर्क लिम्बू र भारतको पश्चिमबंगालका मोहम्मद करिमलाई पक्राउ गरेको हो ।
पक्राउ गर्न खोज्दा प्रहरीमाथि नै आक्रमण गर्न खोजिएपछि करिममाथि गोली प्रहार गरिएको अपराध महाशाखाले जनाएको छ । उनको दाहिने तीघ्रामा गोली लागेको छ ।
उनको साथबाट दुई सय ग्राम खैरो हेरोइन र तराजु बरामद गरेको प्रहरीको भनाइ छ ।