२०८३ भाद्र ४
२०८३ भाद्र ४

 

काठमाडौं, २१ कार्तिक ।

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्बजिनक गरेको छ ।

जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा कायम गरिएको छ ।

राष्ट्र बैंकले आजका लागि अमेरिकी डलरको १ को खरिद दर १३२ रुपैयाँ ८५ पैसा र बिक्री दर १३३ रुपैयाँ ४५ पैसा कायम गरेको छ भने युरोपियन युरो एकको खरिद दर १४२ रुपैयाँ ८५ पैसा र बिक्री दर १४३ रुपैयाँ ५० पैसामा कारोबारको अनुमति दिएको छ ।

 

बेलायती पाउण्ड एकको खरिद दर १६४ रुपैयाँ ८९ पैसा र बिक्री दर १६५ रुपैयाँ ६४ पैसा कायम हुदाँ राष्ट्र बैंकले अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रूपैयाँ ४६ पैसा तथा बिक्री दर ८६ रूपैयाँ ८५ पैसा, क्यानेडियन डलर ९७ रूपैयाँ ३९ पैसा तथा बिक्री दर ९७ रूपैयाँ ८३ पैसामा कारोबार गर्न अनुमति दिएको छ ।

 

जापानी येन १० को खरिददर ८ रूपैयाँ ८८ पैसा तथा बिक्री दर ८ रूपैयाँ ९२ पैसा बराबर भाउ पाउँदा चाइनिज युआन १ को खरिद दर १८ रूपैयाँ २८ पैसा तथा बिक्री दर १८ रूपैयाँ ३६ पैसा कायम गरिएको छ ।

 

साउदी रियाल १ को खरिद दर ३५ रूपैयाँ ४१ पैसा तथा बिक्रि दर ३५ रूपैयाँ ६० पैसा, युएइ दिराम १ को खरिददर ३६ रूपैयाँ १७ पैसा तथा बिक्री दर ३६ रूपैयाँ ७६ पैसा कायम हुदाँ कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४४ पैसा र बिक्री दर ३६ रुपैयाँ ६० पैसामा कारोबार गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।

 

काठमाडौं, २१ कार्तिक ।

युरोप भ्रमण स्थगित गरेका राष्ट्रपति रामचन्द्र पौडेल आज भुकम्प प्रभावित क्षेत्रको स्थलगत अवलोकनका लागि निस्कने भएका छन् ।

 

गत शुक्रबार जाजरकोटलाई केन्द्रबिन्दु बनाएर आएको भूकम्पका कारण भएको धनजनको क्षतिका बारेमा बुझनका लागि राष्ट्रपति पौडेल आज सो क्षेत्रमा जान लागेका हुन् । जसअनुसार उनी आज
जाजरकोट र रूकुम पश्चिमका भुकम्प प्रभावित जनतासँग प्रत्यक्ष संबादसमेत गर्नेछन् ।

 

शितल निवास सचिवालयका अनुसार राष्ट्रपति पौडेल आज बिहान  १० बजे भूकम्प प्रभावित क्षेत्रका लागि प्रस्थान गर्नेछन् ।

भुकम्पको विपत्तिमा देश परेको बेला युरोप भ्रमण उपयुक्त नहुने भन्दै जनदबाब बढे पछि राष्ट्रपति पौडेलले सो भ्रमण स्थगित गरेका थिए । सो भ्रमण स्थगित भए पछि राष्ट्रपति पौडेल आज भुकम्प प्रभावित दुई जिल्लाको स्थलगत अवोलकनमा निस्कन लागेका हुन् ।

उनी फ्रान्स, इटली र जर्मनीको भ्रमणमा निस्कदैँ थिए तर अन्तिममा राेकन पुगेका हुन् ।

 

काठमाडौं, २१ कात्तिक ।

विधवाले विवाह गर्न अस्वीकार गरेपछि युवकले महिला प्रहरी चौकी बाहिर आफैंलाई आगो लगाएका छन् । चिच्याहट सुनेपछि दमकल र नजिकका मानिसहरूले आगो नियन्त्रणमा लिएका थिए। गम्भीर रूपमा जलेका युवकलाई शामली सीएचसीमा भर्ना गरिएको छ । सूचना पाएपछि एसएसपी पनि घटनास्थल पुगेका थिए । सोही क्रममा मजिस्ट्रेटले बन्द कोठामा युवकको बयान लिएको छ ।

सोमबार साँझ करिब ५ः१५ बजे एक युवकले महिला प्रहरी चौकीको गेट नजिक पुगेर आफूमाथि डिजेल खन्याएर आगो लगाएका थिए । यसपछि उनी प्रहरी चौकीतिर लागे । आवाज आएपछि महिला प्रहरी चौकी र नजिकका मानिसहरू दौडिए । उनीहरुले कम्बल र अन्य विधिबाट आगो निभाउने प्रयास गरेपनि काम भएन ।

दमकल कार्यालय नजिकै छ । दमकलका कर्मचारी आएर आगो निभाएका थिए । यसपछि, युवकलाई गम्भीर अवस्थामा शामली सीएचसीमा भर्ना गरिएको थियो, जहाँ डाक्टरहरूले उनलाई मेरठ मेडिकल कलेजमा रेफर गरे। यसअघि एएसपी ओपी सिंहले युवासँग कुरा गरेका थिए ।

युवक उस्मानपुर प्रहरी चौकी भवन निवासी जयवीर सिंहका छोरा २७ वर्षीय विनय कुमार रहेको एएसपीले बताए । तालाब रोडकी विधवा महिला कोमलसँग उनको प्रेम सम्बन्ध थियो । उनले बिहे गर्न अस्वीकार गरेकी हुन् ।
महिलाले जबरजस्ती करणी गरेको भन्दै प्रहरी चौकीमा उजुरी दिएको बताएकी थिइन् । ती महिला महिला प्रहरी चौकी अगाडि काम गर्छिन्, जहाँ सोमबार साँझ युवक भेट्न आएका थिए ।

दुवैबीच केही विवाद भयो, त्यसपछि उनले आत्महत्याको प्रयास गरे । चिकित्सकका अनुसार युवक ७० देखि ८० प्रतिशत जलेको थियो ।

महिला प्रहरी चौकी बाहिर एक युवकले आफैंलाई आगो लगाएका छन् । त्यहाँ उपस्थित प्रहरी र जनताले कम्बल आदि लगाएर आगो निभाएका थिए । युवकलाई मेरठ मेडिकल कलेजमा रिफर गरिएको छ। प्रारम्भिक अनुसन्धानमा ती युवक युवतीसँग मित्रता रहेको खुलेको छ । ऋणका कारण युवतीले युवकसँग विवाह गर्न अस्वीकार गरेपछि युवकले यस्तो कदम चालेका हुन् ।

विनय र महिला लामो समयदेखि साथी रहेको स्रोतले जनाएको छ । विनयको ऋणका कारण महिलाले विनयसँग विवाह गर्न अस्वीकार गरेकी थिइन् भने विनय विवाहमा अडिग थिए । यही कुरालाई लिएर दुईबीच झगडा भयो र विनयले आत्महत्या गर्ने प्रयास गरे ।

 

वीरगञ्ज,मङ्गलबार, २१/

। नेपाल पुलिस क्लव ‘प्रथम वीरगञ्ज गोल्डकप २०८०’ को सेमिफाइनलमा प्रवेश गरेको छ । वीरगञ्जस्थित आदर्शनगर रङ्गशालामा सोमबार सम्पन्न खेलमा भारतको क्लाइभ हाउस डमडम कोलकातालाई ७–१ गोलअन्तरले पराजित गर्दै पुलिस क्लब सेमिफाइनलमा प्रवेश गरेको हो ।

पुलिस क्लबले सेमिफाइनलमा आयोजक भेट्रान सिटी क्लब वीरगञ्जसँग प्रतिष्पर्धा गर्ने छ । सोमबार भएको खेलमा पहिलो हाफमै पुलिसका प्रताप गुरुङ्ग एक्लैले पाँच गोल गरे भने दोश्रो हाफमा पुलिसका प्रविण थापा र विवेक सन्तोषीले एक÷एक गोल गरेका थिए । खेलको अन्तिम समयमा कलकत्ताका अमन मुन्सीले सान्त्वना गोल फर्काएको आयोजक भेट्रान सिटी क्लब वीरगञ्जका महासचिव पंकज श्रेष्ठले जानकारी दिए ।
प्रतियोगिता अन्तर्गत भोलीको खेल झापा एफसी र त्रिभुवन आर्मी फुटबल क्लब बीच प्रतिष्पर्धा हुने आयोजकले जनाएको छ । कार्तिक २५ गतेसम्म चल्ने प्रतिगोयतामा नेपालका त्रिभुवन आर्मी क्लब काठमाडौँ,  नेपाल पुलिस क्लब काठमाडौँ, सङ्कटा क्लब काठमाडौँ, चर्च ब्वाइज युनाइटेड नवलपरासी, झापा एफसी झापा, आयोजक वीरगञ्ज भेट्रान सिटी क्लब तथा भारत कलकत्ताको क्लाईभ हाउस डमडम र दिल्लीको एफसीआई नर्थजोन फुटबल टिम नोएडा गरी आठ टिमको सहभागिता रहेको आयोजक क्लबका अध्यक्ष सुबिन बस्नेतले जानकारी दिए ।
वीरगञ्ज महानगरपालिका मुख्य प्रायोजक रहेको प्रतियोगिताको उपाधि जित्ने विजेता टिमलाई नगद रु।११ लाख ११ हजार १११ र उपविजेता टिमलाई नगद रु।पाँच लाख ५५ हजार ५५५ पुरस्कारसहित ट्रफी, प्रमाणपत्र लगायत प्रदान गरिने अध्यक्ष बस्नेतले बताउनुभयो । त्यस्तै प्रत्येक खेलको प्लेयर अफ दी म्याच घोषित हुने खेलाडीलाई नगद रु.१० हजार, विधागत तर्फ उत्कृष्ट हुने खेलाडी जनही रु।२० हजार र प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडीलाई नगद रु.५० हजार पुरस्कार प्रदान गरिने उनको भनाई छ ।
प्रतियोगितामा दर्शकका लागि प्रवेश एक सय रुपैयाँ प्रवेश शुल्क पनि राखिएको क्लबका वरिष्ठ उपाध्यक्ष सागर राणाले जानकारी दिए । सेमिफाइनलदेखिको खेलमा भने प्रवेश शुल्क दुई सय रुपैयाँ गरिने उनले बताए  । करिब १० हजार दर्शक अटाउने क्षमताको आदर्शनगर रङ्गशालामा सो प्रतियोगिताका लागि तिन हजार दर्शक बस्न सक्ने क्षमताको अस्थायी प्याराफिट पनि निर्माण गरिएको छ ।

काठमाडौं,२१ कार्तिक

पछिल्लो समय एन्टिबायोटिक प्रयोग गर्नेको संख्या धेरै बढेको पाइन्छ। जुनसुकै रोग लागे पनि चिकित्सकको सल्लाह बिना नै आफूखुसी मेडिकलमा गएर एन्टिबायोटिकको सेवन गर्नेको संख्या बढिरहेको छ। सही एन्टिबायोटिकको छनोट कसरी गरिन्छ ? एन्टिबायोटिक कति मात्रामा प्रयोग गर्ने ? लगायतका विषयमा आधारित रहेर खबरहबका लागि डा. सतिशकुमार देवसँग गरिएको कुराकानीको सम्पादित अंश :

एन्टिबायोटिक प्रयोग किन बढिरहेको छ ?
पछिल्लो समय एन्टिबायोटिक प्रयोग गर्नेको संख्या दिनानुदिन धेरै बढेको पाइन्छ। एन्टिबायोटिक प्रयोग गर्नाले शरीरमा भएको ब्याक्टेरियल इन्फेक्सनको रोकथाम गर्छ। अर्थात् भएका ब्याक्टेरियालाई नाश गर्छ र ब्याक्टेरियल इन्फेक्सन हुन दिँदैन। एन्टिबायोटिकको प्रयोग मुख्य गरी ब्याक्टेरियल इन्फेक्सनमा हुनुपर्छ। यसलाई प्रेसकिप्सन ड्रग भन्ने गरिन्छ। नेपालमा धेरै ठाउँमा चिकित्सकसँगको सहज पहुँच नभएकाले पनि थाहा नपाई धेरैले एन्टिबायोटिक प्रयोग गर्ने गर्दछन्। कति ठाउँमा एन्टिबायोटिकको ‘सबसिटी’ हुनुपर्नेमा कति ठाउँमा उपलब्ध पनि हुँदैन। एन्टिबायोटिक नेपाल मेडिकल काउन्सिल र चिकित्सकले मात्र प्रेस्क्राइब गर्न पाउँछन्। तर एन्टिबायोटिकको प्रयोग चिकित्सकले प्रेसकिप्सन बिना पनि भइरहेको छ। यो राम्रो होइन।

धेरै एन्टिबायोटिकको प्रयोग गर्दा त्यसको साइडइफेक्ट के देखिन्छ ?
पेनकिलर एनाथेलिक एन्टिबायोटिकको साइड इफेक्ट लामो समय राम्रै हुन्छ। पहिले ग्यास्ट्रिक हुने हुन्छ भने लामो समय गलत प्रयोग गर्नाले लिबर, किड्नीमा असर गर्ने र किड्नी ड्यामेज गर्ने जस्ता असर पार्नसक्छ। त्यसैले एन्टिबायोटिक लामो समय प्रयोग गर्नु हुँदैन। एन्टिबायोटिकको दुरुपयोग घटाएमा ब्याक्टेरियाको प्रतिरोध विकास हुने दर घट्नुका साथै अनावश्यक खर्च र औषधिका साइड इफेक्टका कारण हुने सामान्य वा गम्भीर किसिमका हानीबाट समेत जोगिन सकिन्छ।

हामीले एन्टिबायोटिक कति मात्रामा प्रयोग गर्न सक्छौँ ?
एन्टिबायोटिकको प्रयोग कति गर्ने र कति खुवाउने भन्ने कुरा स्टान्डर्ड ट्रिटमेन्ट गाइडलाइन अनुसार फरक हुने गर्छ। कुनै एन्टिबायोटिक तीन दिन, कुनै पाँच दिन र कुनै सात दिन खानुपर्छ। यस्तै कुनै दिनमा १ पटक, कुनै दिनमा २ पटक, कुनै दिनमा तीन पटक खाने हुन्छ। यसमा चिकित्सकको सल्लाहबमोजिम वा गाइडलाइनको प्रयोग गरेर खानु अनिवार्य हुन्छ।

कस्तो अवस्थामा एन्टिबायोटिक प्रयोग गर्न मिल्छ र कस्तो अवस्थामा मिल्दैन ?
जुनै पनि एन्टिबायोटिक भनेको डिप्रेसन ड्रग हो। यो चिकित्सकको सल्लाह बिना प्रयोग गर्नु हुँदैन। एक जनाले खाएको एन्टिबायोटिक अर्कोलाई नमिल्न सक्छ। एन्टिबायोटिक खान थालेपछि बिचमा छोड्यो भने स्वास्थ्यमा जोखिम हुने भएकाले चिकित्सकको सल्लाहमा मात्र खानुपर्छ।

एन्टिबायोटिकको सेवनले विकराल रूप नलियोस् भनेर के गर्ने ?
एन्टिबायोटिक रेजिस्टयान्सको प्रिभेन्सन स्ट्राटेजीमा नेपाल सरकारले बनाएको नेशनल एक्सन प्लानमा रहेर गर्ने हो। यसमा दुईदेखि तीन वटा पक्षलाई जोड दिइएको छ। एउटा नियमनकारी पक्ष सरकारको कार्यान्वयन पक्ष। अर्को प्राविधिक पक्ष र पब्लिक एस्पेक्टलाई लिएको छ। सरकारले एन्टिबायोटिक गलत रुपमा प्रयोग र प्रोत्साहन गर्नु भएन। एन्टिबायोटिक रेजिस्टयान्सको परिणामलाई स्कुलहरुको एजुकेसन सिस्टममा पनि राख्नुपर्छ।

एन्टिबायोटिकको प्रयोगकर्ताले के–के कुरामा ध्यान दिनुपर्छ ?
हामीले सबै भाटभटेनीमा टेबल राखेर एन्टिबायोटिकको गलत प्रयोग वा चिकित्सकलाई नसोधी कति जनाले खानु भएको छ भनेर अनुसन्धान गरेका थियौँ। करिब ६५ प्रतिशतले आफैँ किनेर खाएको पाएका थियौँ। एन्टिबायोटिक रेजिस्टयान्स्नको मानिस आफैँ सचेत भएर चिकित्सकको सल्लाहमा मात्र खाने वातावरण बनाउनुपर्छ। चिकित्सकको सल्लाह बमोजिम एन्टिबायोटिक खाने र आफै जथाभावी एन्टिबायोटिक किनेर नखाने। बिरामीले पनि बिना जाँच गराइ चिकित्सलाई एन्टिबायोटिक माग्नु हुँदैन।

काठमाडौं कात्तिक २१,

: आफ्नै प्रदेशसहितका नागरिकहरू भूकम्पले त्राहीत्राही भएका बेला लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी भने विदेश भ्रमणमा निस्किएका छन्। भूकम्पले नागरिकहरूको ज्यान गइरहेको सूचना आइरहँदा मुख्यमन्त्रीले मन्त्रिपरिषद्बाट भ्रमण स्वीकृत गराएर अमेरिकाको भ्रमणमा निस्किएका हुन्।

प्रदेशका मुख्यमन्त्रीको भ्रमण संघीय सरकारले समेत स्वीकृत गर्छ। कुनै समय मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको भ्रमण रोकेको संघीय सरकारले चौधरीलाई भने विदेश सयरमा सहयोग गरेको छ। चौधरी अमेरिकामा आयोजना हुने ‘द एसेम्बली स्टेट अफ न्युयोर्क’ र ‘अलबेनिक ३० औं डिस्ट्रिक्ट’ कार्यक्रममा सहभागी हुन अमेरिका गएका हुन्। प्रदेश सरकारका प्रवक्ता एवं गृहमन्त्री सन्तोषकुमार पाण्डेले मुख्यमन्त्रीको भ्रमण निजी भएको बताए।

‘उहाँको आफ्नै प्रयासमा भएको निजी भ्रमण हो, उहाँका साथमा अरू कोही गएको छैन, उनले भने। भ्रमण स्वीकृत गर्ने सरकारी प्रक्रिया भएकाले मन्त्रिपरिषद्बाट स्वीकृत भएको उनले बताए। कार्यबहाक मुख्यमन्त्रीले कार्य गरिरहनुभएको उनले बताए।

मुख्यमन्त्री चौधरी अमेरिका प्रस्थान गरेपछि लुम्बिनी प्रदेशको कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी अर्थमन्त्री धनबहादुर मास्कीलाई प्रदान गरिएको छ।

मुख्यमन्त्री चौधरी कात्तिक २६ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ। गठबन्धन दलहरूको सहयोगमा चौधरी मुख्यमन्त्री भएका हुन्। मुख्यमन्त्री भएका चौधरीले अहिलेसम्म मन्त्रिपरिषद्मा पूर्णता दिन सकेका छैनन्। प्रदेशको बजेट कार्यान्वयनसमेत निकै कमजोर रहेको छ। चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा ७ प्रतिशत मात्रै बजेट खर्च भएको छ।

अहिले लुम्बिनी प्रदेशका नागरिकसमेत भूकम्पबाट प्रभावित भएका छन्। प्रदेश राजधानी भएको जिल्ला दाङसहित रुकुमपूर्व, रोल्पा र प्युठानमा भूकम्पले घर भत्किएका छन्। भूकम्पपीडित नागरिकहरूको राहतका लागि केन्द्रीय कोषमा पठाउन प्रदेशले ढेड करोड छुट्ट्याए पनि भत्किएका घर पुनर्निर्माण तथा नागरिकको राहतमा कुनै योजना बनाएको छैन।

काठमाडौँ मङ्गलबार, २१ कात्तिक/

भारतको नयाँ दिल्लीमा नेपाल–भारत ‘सीमा सुरक्षा समन्वय बैठक’ सुरु भएको छ । बैठक सीमा वारपार अपराध नियन्त्रणमा देखिएका चुनौतीहरू विषयमा केन्द्रित छ । बैठकमा नेपालको तर्फबाट सशस्त्र प्रहरीका आईजीपी राजु अर्यालले नेतृत्व गरेका छन् । भारतको तर्फबाट एसएसबीका महानिर्देशक रश्मि शुक्लाले नेतृत्व गरेकी छन् ।

भारतको सशस्त्र सीमा बल (एसएसबी)ले आयोजना गरेको बैठकमा नेपालको तर्फबाट आईजीपी राजु अर्याल, सशस्त्रका एआईजी नारायणदत्त पौडेल, सशस्त्र प्रहरीका डीआईजी शम्भु सुवेदी, नेपाल प्रहरीका डीआईजी विकाश राज खनाल, सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक किरण बस्नेत, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक भीम बहादुर बुढाथोकी, गृह मन्त्रालयका उप–सचिव उमाकान्त अधिकारी, भारतस्थित नेपाली राजदूतावासका परराष्ट्र मन्त्रालयका प्रतिनिधि र सशस्त्र प्रहरीका निरीक्षक सुरज पौडेल सहभागी छन् । सोमबार सुरु भएको बैठक कार्तिक २२ सम्म चल्नेछ ।

जाजरकोट । 

सरकारले सोमबारदेखि गत शुक्रवार मध्यरात गएको भूकम्पबाट क्षतिग्रस्त भेरी नगरपालिका, नलगाड नगरपालिकाका भूकम्प प्रभावित क्षेत्रका भूकम्प पीडितलाई राहत सामग्री वितरण गर्न थालेको छ । तर राहत सामाग्री एकद्वार प्रणालीबाट वितरण गर्न थालिएकाले ग्रामीण वस्तीका अधिकाँश भूकम्प पीडितले राहत पाउन सकेका छैनन् ।

नेपाल सरकार, दातृ निकाय र सहयोगीबाट आएको राहत सामाग्री संकलनपछि भेरी नगरपालिका–३ का पीडित परिवारलाई स्थानीय सरकारका जनप्रतिनिधि र कर्मचारीहरूले राहत सामाग्री समान रुपमा वितरण गर्न थालेका छन् । त्यसैगरी भेरी नगरपालिका–१ रावत गाँउमा पनि राहत सामाग्री वितरण भएको छ । पीडित धेरै भएका कारण राहत सामाग्री अपुग भएपछि सदरमुकामबाट राहत सामाग्री लिएर वितरण गरिने भएको छ । भूकम्प प्रभावित क्षेत्रमा पुगेका उपप्रधान तथा रक्षामन्त्री पुर्णबहादुर खड्का र उर्जा जलस्रोत तथा सिचाई मन्त्री शक्तिबहादुर बस्नेतले छिटोछरिटो राहत सामाग्री उपलब्ध गराउन सरकार लागी परेको बताए पनि तिन दिन वित्दा समेत पीडितले राहत पाउन सकेका छैनन् ।

भेरी नगरपालिका–१ की रिता रावतले १ सय ५ घरधुरीमध्य १८ घरपरिवारले खाद्यन्न, त्रिपाल, ब्लाङ्केट, चाउचाउ, एक बोरा चामल पाएको बाँकीले त्रिपाल पाए पनि खाद्यन्न पाउन नसकेको बताउनुभयो । भूकम्प पीडित सपना रावतले चामल पाए पनि त्रिपाल नपाएको गुनासो गर्नुभयो । रावतगाँउका ४४ घरपरिवारले त्रिपाल नपाएपछि रात काट्न मुश्किल छ ।

भेरी नगरपालिका– १ की उर्मिला रावतको घरमा पुर्ण रुपमा क्षतिग्रस्त भएको छ । घर भत्किएर उर्मिलाका ९ बर्षिय छोरा सुन रावत र २ बर्षिय छोरा सुदाम रावतको मृत्यु भएको छ । उहाँकी बहिनी चन्द्रकला परियार र बहिनीज्वाई ललित परियारका परिवार त्यसै घरमा वस्थे । भूकम्पले घर भत्किएपछि चन्द्रकलाका ७ बर्षिय छोरा विनय परिपार, ५ बर्षिया छोरी सम्झना परियारको मृत्यु भएको छ । उक्त घरमा ९ जना बस्दै आएका थिए । ललित परियार घट्ट कुर्न गएकाले बाँच्न सफल हुनुभएको हो ।

उहाँले दुःख पोख्दै भन्नुभयो– ‘ परिवारको पालनपोषणका लागी घट्ट गएको तर छोराछोरी गुमाउनु प¥यो । घट्ट नगएको भए उनीहरूलाई बचाउन सकिन्थ्यो की ? तर फेरी घट्ट नगए परिवारलाई के खुवाउने ?’ आईतवारसम्म खुल्ला आकाशमा रात विताएका परियारले सोमबारदेखि

सशस्त्र प्रहरीले बनाई दिएको टेन्टमा बसेका जानकारी दिनुभयो । जिल्ला प्रशासन कार्यालय जाजरकोटका सुचना अधिकारी तथा प्रशासकिय अधिकृत हरिश्चन्द्र शर्माले जिल्लामा पुगेको ६ सय ५० ब्लाङकेट, ७ हजार त्रिपाल, २५ सय वोहरा चामल, ६ सय मिटर म्याट, ४ मेटिक टन पोसिलो बिस्कुट भूकम्प प्रभावितलाई बितरण गरेको बताउनुभयो ।

शुक्रबारको भूकम्पले ३५ सय घर क्षतिग्रस्त भएको अनुमान थियो । त्यसपछि पनि पटक पटक परकम्पण गईरहेका छन् । नागरिकहरु त्रसित बनेका छन् । घरभित्र पस्न समेत डराउनु पर्ने अवस्था आएको छ । भूकम्प प्रभावित क्षेत्रमा नेपालगञ्ज, सुर्खेत र काठमाडौंबाट नेपाली सेना र सशस्त्र प्रहरीका चिकित्सक उपचारको लागी खटाईएको जाजरकोट अस्पतालका फोकल पर्सन कृष्ण बहादुर खत्रीले बताउनुभयो । भूकम्पमा परिवारका सदस्य गुमाएकाले त्रिपालमुनी तथा आफन्तको घरमा वसेर मृतकको क्रियाकर्म गरेका छन् । भूकम्पमा परि जाजरकोटमा अहिलेसम्म १ सय १ जनाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालयका सुचना अधिकारी शर्माले बताउनुभयो ।

सोमबार पनि शक्तिशाली पराकम्प

जारजरकोटमा सोमवार बेलुका ४ बजेर ३१ मिनेटमा पुनः ५ दशमलव ८ स्केल रेक्टरको पराकम्प गएपछि केही घरहरू भत्किएका छन् भने केही व्यक्ति घाइते भएका छन् । शुक्रबारको भूकम्पमा जोगिएका केही घर सोमबारको भूकम्पले भत्काएपछि फेरि आतंक छाएको छ ।

 

काठमाडौं, २१ कार्तिक ।

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

 

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भू-भागमा  आंशिक बदली रही  बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ।

 

दिउँसो देशको पहाडी भू-भागमा  आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ। देशको पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

राती भने देशको पहाडी भू-भागमा  आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ। कोशी  प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

 

देशको पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकोले त्यसबाट हुन सक्ने क्षतिबाट बच्न साथै क्रमिक रुपमा तापक्रम घटिरहेको हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।