काठमाडौं, २१ कात्तिक ।
बुढानिलकण्ठ नगरपालिका-११ कपन खरिबोटस्थित सुलभ (नमस्ते) रेष्टुरेन्ट एण्ड स्नोकर हाउसमा जुवातास (ओखर) खेलिरहेको अवस्थामा ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
उक्त स्नोकर हाउसमा ओखर खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले ललितपुर गोदावरी घर भई हाल काठमाडौं गोकर्णेश्वर नगरपालिका-८ बस्ने ३५ वर्षीया मिरू तामाङ समेत ७ जनालाई नगद २३ हजार ६ सय ८० रुपैयाँ र ८ दाना ओखरसहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरी वृत्त बौद्धबाट आवश्यक अनुसन्धान भइरहेको जनाएकाे छ ।
प्युठान, २१ कात्तिक ।
ऐरावती गाउँपालिका-२ स्थित प्रहरी चौकी बरौला प्युठानको नाममा स्थानीय तीन जना जग्गादाताबाट नि:शुल्क प्राप्त ५ रोपनी ३ आना १ पैसा १ दाम जग्गा हस्तान्तरण गरिएको छ ।
ऐरावती गाउँपालिका-४ बस्ने ५४ वर्षीय रेशम बहादुर जिसीबाट २ रोपनी, ४७ वर्षीय दामोदर ज्ञवालीबाट २ रोपनी र ४६ वर्षीय दुर्गा बहादुर जिसीबाट १ रोपनी ३ आना १ पैसा १ दाम जग्गाको धनीपूर्जा जिल्ला प्रहरी कार्यालय प्युठानमा आयोजित कार्यक्रमबीच हस्तान्तरण गरिएको हो ।
कार्यक्रममा ऐरावती गाउँपालिकाका अध्यक्ष नविल बिक्रम शाहले समाजकै बिचमा प्रहरी कार्यालय रहेमा सेवा प्रवाहमा चुस्तता आउने धारणा व्यक्त गरे । जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख प्रहरी नायव उपरीक्षक ईश्वर थापाले प्रहरी चौकीलाई जग्गा प्रदान गरेकोमा जग्गादाता र परिवारजनलाई धन्यवाद ब्यक्त गर्नुका साथै खादा ओढाई सम्मान गरिएकाे थियो । साथै जग्गा दाताहरुको तर्फबाट दुर्गा बहादुर जिसीले समुदाय र प्रहरीको सम्बन्ध प्रगाढ बनाउन जग्गा दान गर्न उत्साहित भएको र यसबाट भावि सन्ततिहरु समेत लाभान्वित हुने अपेक्षा ब्यक्त गरेका थिए ।
काठमाडौं, २१ कात्तिक ।
सभामुख देवराज घिमिरेसँग बेलायती राजदूत रोब फेनसँग शिष्टाचार भेट गरेका छन् । भेटमा बेलायतसँग नेपालको सहकार्य, संसदीय आदान प्रदान तथा द्विपक्षीय हितका विषयमा छलफल भएको छ ।
भेटमा सभामुख घिमिरेले नेपाल र बेलायतबीच सदियौँदेखि घनिष्ट सम्बन्ध रहेको बताउँदै नेपाल र बेलायतबीच रहेको राजनैतिक सम्बन्ध, आर्थिक तथा साँस्कृतिक सम्बन्ध तथा जनस्तरमा कायम मित्रता अद्वितीय रहेको उल्लेख गरे ।
सभामुखले सन् २०१६ मा नेपाल–बेलायत कूटनीतिक सम्बन्ध स्थापनाको २ सय वर्ष मनाएको स्मरण गर्दै यो वर्ष दुई देशबीच मैत्री सन्धि सम्पन्न भएको एक सय वर्ष मनाउँदै गरेको बताए ।
‘आपसी सम्बन्धहरु हरेक दिन थप प्रगाढ हुँदै गएको प्रति म खुशी व्यक्त गर्दछु,’ सभामुखले भने, ‘नेपाल र बेलायत बीच लोकतन्त्र, संसदीय व्यवस्था, कानूनी शासन, मानव अधिकार साझा मूल्य–मान्यता रहेका छन् । यी विषयमा बेलायतको लामो र समृद्ध अभ्यास र इतिहास रहेको छ । नेपालको लागि बेलायती अभ्यास एवं अनुभव अनुकरणीय रहदैं आएको छ ।’
सभामुख घिमिरेले राजनैतिक स्थायित्वसँगै नेपालले विकास, समृद्धि र सुशासनको पथमा गति लिएकोसमेत बताए ।
‘नेपाल सरकारको निकट भविष्यमा अति कम विकसित राज्यको सुचीबाट स्तरोन्नति भई सन् २०३० सम्म मध्यम आय भएको राष्ट्र बन्ने लक्ष्य रहेको छ । नेपालको यस विकास प्रयासमा बेलायतको निरन्तर सहयोगको आवश्यकता रहेको छ,’ सभामुख घिमिरेको भनाइ थियो ।

२०१५ र हालै पश्चिम क्षेत्रमा गएको भूकम्प तथा कोभिड नियन्त्रणका लागि उदार भावनाका साथ नेपाललाई सामग्री र भ्याक्सिन उपलव्ध गराएकोमा सभामुखले बेलायत सरकारप्रति आभार व्यक्त गरे । उनले संसदीय मैत्री समूहमार्फत दुई देशबीच संसदीय आदान प्रदानमा जोड दिए ।
बेलायती राजदूत रोबले नेपालले आगामी दिनमा नेपालको जनशक्तिलाई स्वदेशमै राखेर विकासलाई तीब्रता दिने विश्वास व्यक्त गरे । उनले बेलायतले आगामी दिनमा पनि विकास सहायतालगायतका विषयमा नेपाललाई दिँदै आएको सहयोग वृद्धि गर्ने तयारी गरिरहेको जानकारी दिए ।
काठमाडौं, २१ कात्तिक ।
अवैध लागूऔषध खैरो हेरोइन २ सय ४४ ग्राम, नाइट्रोभेट १ सय १२ ट्याब्लेट र ट्रामाडोल १७ हजार ४ सय १५ क्यापसुल सहित ६ जनालाई लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-४ बस्ने ३२ वर्षीया सपना रायमाझी, ओखलढुङ्गा खिजीदेम्बा गाउँपालिका-३ बस्ने ३८ वर्षीय गंगालाल बिक, काठमाडौं गोकर्णेश्वर नगरपालिका-४ बस्ने ५० वर्षीय दिपक श्रेष्ठ, सोही ठाउँ बस्ने ३० वर्षीय दिपेश डंगोल महर्जन, सिरहा धनगढीमाई नगरपालिका-१४ बस्ने ३७ वर्षीय झरेन्द्र बहादुर ज्यु ठकुरी र धादिङ त्रिपुरासुन्दरी गाउँपालिका-२ बस्ने २७ वर्षीय सन्दिप ईटानी रहेका छन् ।
उनीहरूमध्ये सपना रायमाझी र गंगालाल बिकलाई अवैध लागूऔषध खैरो हेरोईन ८१ ग्राम ५ सय मिलिग्रामसहित काठमाडौं गोकर्णेश्वर नगरपालिका-६ नयाँ बस्तीबाट कात्तिक १५ गते, दिपक श्रेष्ठ र दिपेश डंगोल महर्जनलाई लागूऔषध खैरो हेरोईन १ ग्राम ८ सय मिलिग्राम, ट्रामाडोल १७ हजार ४ सय १५ क्यापसुल र नाइट्रोभेट १ सय १२ ट्याब्लेटसहित काठमाडौं चावहिलबाट कात्तिक १६ गते तथा झरेन्द्र बहादुर ज्यु ठकुरी र सन्दिप ईटानीलाई लागूऔषध खैरो हेरोइन १ सय ६० ग्राम ६ सय मिलिग्रामसहित काठमाडौं तार्केश्वर नगरपालिका-४ बाट कात्तिक १७ गते प्रहरीले पक्राउ गरेको हो ।
उनीहरू उपर लागूऔषध (नियन्त्रण) ऐन, २०३३ बमोजिम सम्बन्धित जिल्ला अदालतबाट लागूऔषध मुद्दामा म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।
कार्तिक २१,काठमाडौं ।
नेपाली कांग्रेस महासमिति बैठक पुनः सारिएको छ । मंसिर २९ गतेदेखि गर्ने भनिएको महासमिति बैठक पुस १६ गतेदेखि गर्ने गरी मिति साारिएको हो ।
मंगलबार सानेपास्थित पार्टी कार्यालयामा आयोजित पत्रकार सम्मेलनमा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले महासमिति बैठक पुस १६ गतेका लागि सारिएको जानकारी दिए ।
यसअघि मंसिर १३ देखि १६ मा गर्ने निर्णय गरिएको थियो । पुनः मिति सार्दै मंसिर २९ देखि पुस २ सम्म गर्नेगरी तोकिएको थियो ।
जाजरकोट लगायतका जिल्लामा गएको भूकम्पका कारण देखाउँदै कांग्रेसले महासमिति बैठक पुस १६ गतेका लागि सारेको हो ।
हेटौंडा, २१ कात्तिक ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम तत्काल सुरु गर्ने सहमति भएको छ ।
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेल र चितवन भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहालबीचको छलफलपछि तत्काल उक्त रंगशाला निर्माण कार्य सुरु गर्ने सहमति भएको हो ।
धुर्मुस सुन्तली फाउन्डेसनले चन्दा उठाएर सुरु गरेको रंगशालाको निर्माण कार्य अलपत्र परेको थियो । फाउन्डेसनले १९ करोड ऋण लागेको भन्दै दुई वर्षअघि नै निर्माणको काम छाडेको थियो ।
तर, मंगलबार हेटौंडा आएर भरतपुर महानगरपालिकाकी प्रमुख दाहालले मुख्यमन्त्री जम्मकट्टेलसँग छलफल गरेर रंगशाला निर्माण कार्य अघि बढाउन आग्रह गरेकी हुन् । उनको आग्रहलाई स्वीकार्दै मुख्यमन्त्री जम्मकट्टेल रंगशालाको काम अगाडि बढाउन सहमत भएका हुन् ।
कञ्चनपुर, २१ कात्तिक ।
भिमदत्त नगरपालिका-११ होल्डिङ सेन्टरबाट अवैध लागूऔषध ब्राउन सुगर करिब ११ ग्रामसहित भारत उत्तराखण्ड चम्पावत मिना बजार बस्ने २६ वर्षीय धमेन्द्र दुबेलाई प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएकाे छ ।
बाग्लुङ, २१ कार्तिक ।
बागलुङमा ट्याक्सी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ।
मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङको ढोरपाटन नगरपालिका–२ मलकटिबाङमा ट्याक्सी दुर्घटना हुदाँ २ जनाको मृत्यु भएको हो ।
दुर्घटनामा ट्याक्सीमा सवार बागलुङको ढोरपाटन नगरपालिका–२ पाखुटेका २८ वर्षीय होमबहादुर पुन र बडिगाड–६ छिसफाँटका ३२ वर्षीय अस्विन परियारको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय बागलुङ ध १ज ९९४ नम्बरको ट्याक्सी सोमबार राति मध्यपहाडी लोकमार्गमा पर्ने ढोरपाटन–२ मलकटिबाङमा दुर्घटना भइ सडकबाट १ सय मिटर तल खसेको थियो । प्रहरीका अनुसार उक्त टयाक्सी बडिगाड गाउँपालिकाबाट ढोरपाटन नगरपालिकातर्फ जाँदै गरेको थियो ।
काठमाडौं, २१ कात्तिक ।
१६औँ योजनाका लागि सुझाव लिन राष्ट्रिय योजना आयोगले पहिलो चरणमा चार प्रदेशमा छुट्टाछुट्टै टोली परिचालन गरेको छ । आयोजगका सदस्यहरुको नेतृत्वमा परिचालित टोलीले मंगलबार मधेस, बागमती, गण्डकी र सुदूरपश्चिममा सुझाव संकलन गर्दैछन् ।
आयोगले गण्डकी प्रदेशमा आयोग सदस्य डा. रामकुमार फुयाँलको नेतृत्वमा टोली परिचालन गरेको छ । आयोग सदस्य डा. फुयाँलका अनुसार गण्डकी प्रदेशको पोखरामा सोमबार प्रदेश सरकारसँग छलफल भएको थियो । छलफलमा गण्डकीका मूख्यमन्त्री सुरेन्द्रराज पाण्डेसहित सरकारका सबै मन्त्री र प्रदेश आयोगका उपाध्यक्ष र सदस्यहरुको सहभागीता थियो ।

मंगलबार भने महानगरपालिका, उपमहानगरपालिका नगरपालिका, गाउँपालिकाका प्रमुख–उपप्रमुख सहित प्रदेश स्तरीय निजी क्षेत्र समेतको सहभागीतामा सुझाव लिइने सदस्यले फुयाँलले जानकारी दिए ।
उनका अनुसार यो कार्यक्रम गण्डकीसँगै सुदूपश्चिम, बागमती र मधेश प्रदेशमा समेत जारी रहनेछ । ‘१६औँ योजनामा सबैको सुझाव समेट्ने गरी हामीले टोली परिचालन गरेका हौं’ सदस्य फुयाँलले भने, ‘हिजो सोमबार हामीले प्रदेश सरकारका मूख्यमन्त्री र मन्त्री राखेर छलफल गयौँ, आज त्यो भन्दा ठूलो सहभागिता हुन्छ, आजको छलफलमा पालिका प्रमुख उपप्रमुखहरु निजी क्षेत्रको सहभागीता रहनेछ ।’
आयोगले मधेश प्रदेशमा डा. जयकान्त राउतको नेतृत्वमा टोली पठाएको छ भने वागमतीमा डा. प्रभु बुढाथोकी, गण्डकीमा डा. फुयाँल र सुदुरपश्चिम प्रदेशमा डा. अनिता शाह ढुंगानालाई पठाएको छ ।
काठमाडौं, २१ कात्तिक ।
सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको छ ।
मंगलबार छापावाल सुन प्रतितोला ४०० रुपैयाँले घटेर १ लाख १५ हजार रुपैयाँ कायम भएको छ ।
तेजाबी सुन १ लाख १४ हजार ४५० रुपैयाँ कायम भएको छ ।
मङ्गलवार चाँदीको मूल्य पनि घटेको छ । जहाँ चाँदी प्रतितोला १ हजार ४०५ रुपैयाँमा कारोबार भइरहेको छ ।