काठमाडौं, २२ कात्तिक ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको सचिवालय बैठक बसिरहेको छ । ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा जारी बैठकमा समसामयिक राजनीतिकसहितका विषयमा छलफल भइरहेको छ ।

पार्टीले सञ्चालन गर्न लागेको मध्यपहाडी लोकमार्ग अभियान, भूकम्पलगायतका विषयमा छलफल भइरहेको छ ।

एमालेले आगामी मंसिरमा मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान सञ्चालन गर्दै छ ।
पोखरा, २२ कात्तिक ।
उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले चिनियाँ राजदुत छन् सङमार्फत् जाजरकोट र पश्चिम रुकुमका भुकम्पपीडितका लागि चीन सरकारले पठाएका राहत सामाग्री बुझेका छन् । बुधबार बिहान पोखरा विमानस्थलमा चिनियाँ सेनाको दुईवटा एयरक्राफ्टमार्फत आएका झन्डै ३० करोड मुल्य बराबरको सामाग्री बुझेपछि उपप्रधानमन्त्री श्रेष्ठले त्यसका लागि चिनियाँ सरकारप्रति कृतज्ञता व्यक्त गरे ।

नेपाल र चीन ऐतिहासिक मित्रदेश भएको, दुबै मुलुक एकअर्काको दु:खमा साथमा रहेको र यो द्रुत सहयोगले त्यसलाई अझ प्रमाणित गरेको उपप्रधानमन्त्री श्रेष्ठले बताए ।

त्यसक्रममा राजदूत सङले पश्चिम नेपालको भूकम्पका कारण भएको मानवीय र भौतिक क्षतिप्रति गहिरो दु:ख व्यक्त गर्दै मृतकहरूमा श्रद्धाञ्जली र पीडामा परेका जनतामा समवेदना व्यक्त गरे । नेपाल र नेपाली जनताको दु:खमा आफ्नो देशको सधैं साथसहयोग रहने र राष्ट्रपति सि जिन पिङले समेत पत्र पठाएर त्यो संवेदना जाहेर गरेकाे उनले बताए ।

दुईवटा एयरक्राफ्टबाट चार हजार ६ सय ब्लाङ्केट र ६ सय टेन्ट आएको छ। यता केरुङ नाका हुँदै चिनियाँ सरकारले झन्डै १० करोड बराबरको २३ ट्रक छुट्टै राहत सामाग्री पठाएको छ, जसमा २ हजार तीन सय टेण्ट, दुई हजार ब्लाङ्केट, सात सय टर्पलिन, पाँच सय वटा महामारी रोक्ने स्पेयर र साँढे १० हजार वटा लामखुट्टे मार्ने औषधि छन्। बुधबार बिहान काठमाडौं आइपुगेको उक्त सामाग्री तत्काल प्रभावित क्षेत्रमा पठाइनेछ भने पोखरा आएको सागाग्री पनि प्रभावित क्षेत्रमा पठाउने तयारी छ।

सिरहा २२ कात्तिक । मुकेश कुमार यादव
चुरे क्षेत्रमा वन फडानी तथा तस्करीमा सिरहाका वनकर्मीको मिलोमतो रहेको पाइएको छ । यहाँको वन कर्मचारीसँग सेटिङ मिलाएर सःमिल संचालकहरू काठ तस्करी गरिरहेको पाइएको हो । सिरहा र उदयपुरको चुरे तथा समुदायिक वनबाट रुख फडानी गरी वनकर्मीको सेटिङमा चुरे फेदका सहर बन्दिपुर, उतरवाहिनी, बस्तिपुर, मिर्चैया, घुर्मिघाट, गोलबजार, कसहा, जिरोमाइल, धनगढी र लहानका सःमिलहरूमा पुर्याउने गरेको स्थानीय बताउँछन् ।

प्रहरी र वन कर्मचारीले ठूलो परीमाणमा काठसहित एक व्यवसायीलाई पक्राउ गरेको छ । सिरहाको गोलबजार नगरपालिका ४ मा रहेको गौरव सःमिलबाट प्रतिबन्धित करम जातको तीन सय भन्दाबढी क्यूविक फिट गोलिया र चिरान काठसहित मिलका सञ्चालक श्याम साहलाई वन कर्मचारीले नियन्त्रणमा लिएको हो ।

मिलदेखि करिव ४ सय मिटर उत्तरबाट ईलाका प्रहरी कार्यालय गोलबजारको गस्ती टोलीले सानो ठूलोगरी १५ थान करिव एक सय क्यूविक फिट बराबर करम जातको काठ गोलिया लोड भएको ना. ३ त ९६१५ नम्बरको ट्याक्टर र चालक गोलबजार २ का २५ वर्षिय दिपेन्द्र महतोलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

विशेष सूचनाको आधारमा प्रहरीले काठ लोड गरिएको ट्याक्टर र चालकलाई नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिएको काठसहितको ट्याक्टर र चालक डिभिज वन कार्यालय सिरहा लहानलाई बुझाइएको छ।

सो काठ पनि गौरव सःमिलमै लैजान लागिएको बताइएको छ । प्रहरीले काठ नियन्त्रणमा लिएलगतै त्यहाँ पनि सञ्चलक साह पुगेका थिए ।

यता सव डिभिजन वन कार्यालयका चोहर्वाका प्रमुख सतनारायण यादवले सःमिल सञ्चालकसँग ४० हजार रकम लिएर काठ छोडेको सूचना बाहिरिएपछि डिभिजन वन कार्यालय लहानबाट आएको टोलीले चिरान र गोलियासहित २१० क्यूविक फिट काठ बरामद गरेको छ । वन कर्मचारीले सःमिलका सञ्चालक साहलाई पनि नियन्त्रणमा लिएको छ । साहलाई बुधबार नै जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान गरिरहेको डिभिज वन कार्यालय सिरहा लहानका निमित्त प्रमुख सुजित कुमार मिश्रले जानकारी दिए ।

गए राती काठ सःमिलमा लगेको सूचना पाएपछि सञ्चारकर्मीले यसबारे वन कार्यालयमा सम्पर्क गरेसँगै यादवले रकम लिएर मिलाउने प्रयास गरेको कुरा सार्वजनिक भएको हो । वनकै एक कर्मचारीले खोजतलासको क्रममा केही कर्मचारीको मिलेमत्तोमा काठ छोडेको सूचना दिएका थिए । काठ लालपुरको सामुदायिक वन र व्यक्तिको जमिनबाट कटान गरी ल्याएको बताइएको छ ।

करम जातको काठ मधेश प्रदेशमा कटान गर्न प्रतिबन्ध लगाइएको सब डिभिजन वन कार्यालयका कर्मचारी कासिन्द्र यादवले बताएको छ।

सिरहाका विभिन्न सःमिलहरूमा वन कर्मचारी र प्रहरीकै मिलेमत्तोमा अवैध रुपमा विभिन्न जातका काठहरू आउने गरेको बताइन्छ । डिभिजन वन कार्यालयको मौन समर्थनका कारण चुरे क्षेत्रमा खैर, कर्मा, साल लगायत काँचो रुखको फडानी व्यापक छ । यहाँ काठ तस्करी संगठित बन्नुमा वन कार्यालयको मौन समर्थन रहेको स्थानीय बताउँछन् । काठ तस्करहरूले अहिले पनि सिरहाको सामुदायिक वन र चुरेक्षेत्रबाट काठ तस्करीलाई दिनानुदिन व्यापक बनाउँदै लगेका छन् ।

सिरहा, २२ कात्तिक । मुकेश कुमार यादव
सिरहाको नरहा गाउँपालिकाका वडा अध्यक्षहरूले आन्दोलनको चेतावनी दिएका छन् । आर्थिक वर्ष २०७९/८० को आयव्यय विवरण, प्रत्येक वडामा एकजना कम्प्युटर अपरेटर, तत्काल कार्यक्रमहरूको कार्यादेश दिनुपर्ने लगायतका माग सात दिनभित्र सम्बोधन नभए आन्दोलनमा उत्रने उनीहरुले चेतावनी दिएका हुन्।
वडा नम्बर १ का अध्यक्ष अशोक कुमार महतो, ४ का वडा अध्यक्ष रामविलेक्षण यादव र ५ का वडा अध्यक्ष हुकुमदेव यादवले आफूहरूको माग सम्बोधन नभए सेवा नै ठप्प पारेर आन्दोलनमा उत्रिने चेतावनी दिए ।

वडा अध्यक्ष हुकुमदेव यादवले सूचनाको हक प्रयोग गरेर करिब एक महिनाअघि दिएको निवेदनको बेवास्ता गरेको भन्दै तत्काल माग गरेको सूचना दिनुपर्ने बताए।
उनले नयाँ आर्थिक वर्षको ४ महिना बितिसक्दा पनि कार्यालय सञ्चालन खर्च नदिएको, कार्यक्रमको कार्यादेश नदिएको भन्दै प्रशासकीय प्रमुख विधिसम्मत ढङ्गले चल्न नसकेको आरोप लगाए ।
‘हामीले ताली ठोकेर गाउँपरिषद् गरिदिएका छौं । कार्यक्रमहरू बनेको छ। कार्यालय प्रमुखले कसको निर्देशन पर्खेर बस्नुभएको हो ? हामीलाई तत्काल कार्यादेश चाहिन्छ,’ उनले भने ।
उनीहरूले आफूहरूको माग एक साताभित्र सम्बोधन नभए पालिका कार्यालयको गेटमै बसेर सेवा ठप्प पार्ने र वडा कार्यालय त्यहीँबाट सञ्चान गर्ने बताए ।
काठमाडौं, २२ कात्तिक ।
सुनचाँदीको भाउ घटेको छ । मंगलबारको तुलनामा बुधबार छापावाला सुन तोलामा ३०० रुपैयाँले घटेको छ ।
बुधबार छापावाल सुन तोलाको १ लाख १४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघले तेजाबी सुनको मूल्य तोलाको १ लाख १४ हजार १५० रुपैयाँमा किनबेच भइरहेको छ ।
बुधबार तोलामा २० रुपैयाँले घटेर १ हजार ३८५ रुपैयाँ कायम भएको छ ।
काठमाडौं, २२ कात्तिक ।
बुधबार प्रि–ओपन सेसनमा नेप्से परिसूचक ०.६५ अंकले घटेको छ ।
सो सेसनमा ०.६५ अंक घटेर १८५८.१० विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.२६ अंक घटेको छ।
१७ स्टकको २ लाख २८ हजार ९४१ रुपैयाँ बराबरको ६८४ कित्ता सेयर कारोबार भएको छ । जसमध्ये ८ स्टकको मूल्य सो सेसनमा बढेको छ भने ७ स्टकको मूल्य घटेको छ। बाँकी २ स्टकको मूल्य स्थिर रहेको छ।
काठमाडौं, २२ कात्तिक ।
इमर्जिङ्ग नेपाल लिमिटेडले सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।
सोमबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको अन्त्यसम्मको वितरणयोग्य मुनाफबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
कम्पनीले ४ करोड ६७ लाख ८७ हजार ३६८ रुपैयाँ ४२ पैसा बराबरको नगद लाभांश वितरण गर्ने जनाएको हो । हाल कायम चुक्ता पूँजीको कर सहित ८.४२१०५ प्रतिशतका दरले हुन आउन रकम वितरण गर्न लागेको हो ।
काठमाडौं, २२ कार्तिक ।
भूकम्पपीडितको राहत लिएर चिनियाँ सेनाको जहाज पोखरामा अवतरण भएको छ ।
चीन सरकारले भुकम्प पीडितलाई दिने राहात सहयोग सामग्री लिएर आएका चिनियाँ सेनाको दुइ जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अबतरण गरेका हुन् ।
उत्तरी छिमेकी चीनले दिने उक्त सहयोग सामाग्री बुझ्नका लागि उपप्रधान तथा गृह मन्त्री नारायणकाजी श्रेष्ठ आजै पोखरा पुगेका छन भने चिनियाँ राजदूत छन सोङले सामान गृहमन्त्री श्रेष्ठलाई उक्त सहयोग सामाग्री हस्तान्तरण गर्दैछन् ।
चीनले आफनो वायु सेनामार्फत पोखरामा पठाएको सहयोग सामाग्री नेपालले भने त्यहाँवाट कर्णाली पु¥याउनेछ । चिनियाँ सेनाको जहाजमा समान आउने भनिए पनि त्यसलाई ‘ह्युमनेटिरियन फ्लाइट’ भनिएको छ, जुन बिहान ९३० र ९ ४० मा अवतरण भएका हुन ।
चीन सरकारले घोषणा गरे अनुसार करिब १० करोड बराबरको सामग्री लिएर चिनियाँ सेनाका जहाज चीनको छेन्दुबाट जहाज उडेका थिए ।
लन्डन, २२ कार्तिक ।
तपाईंले धेरै अनौठा कुराहरू देख्नु वा सुन्नु भएको होला तर के तपाईंलाई सुनले बनेको कुनै शौचालयको बारेमा थाहा छ ?
यदी थाहा छैन भने चार वर्षअघि अर्थात सन् २०१९ मा चर्चिलको दरबारमा रहेको सुनको शौचालयको बारेमा तपाईंले सुन्नु भएको होला, जुन रातारात चोरी भएको थियो।
सन् २०१९ मा बेलायती युद्धकालका नेता विन्स्टन चर्चिलको जन्मस्थल ब्लेनहेम प्यालेसबाट सुनले बनेको शौचालय चोरी भएको थियो, जसमा अहिले नयाँ अपडेट आएको छ ।
बेलायती मिडिया मेट्रोमा प्रकाशित समाचार अनुसार ब्लेनहाइम प्यालेसबाट हराएको सुनको शौचालयको चोरीको सम्बन्धमा चार जनालाई अभियोग लगाइएको छ। सो समाचार संस्थाका अनुसार १८ क्यारेट सुनको शौचालय चोरी गरेको आरोपमा चारजना चोर पक्राउ परेका हुन् ।
सुनको शौचालय चोरी गर्ने पुरुषहरूलाई गत सोमबार अर्थात नोभेम्बर ६ मा क्राउन अभियोजन सेवाले पक्राउ गरी आरोप लगाएको छ। चोरी मुद्दामा ३५ देखि ३९ वर्ष उमेर समूहका चार जनाविरुद्ध फौजदारी मुद्दा दायर भएको बताइएको छ । यी चारै चोरमाथि चोरी र आपराधिक सम्पत्ति हस्तान्तरण गर्ने षड्यन्त्र गरेको आरोप पनि लगाइएको छ ।
सेप्टेम्बर २०१९ मा रातारात बेपत्ता हुनुभन्दा केही दिन अघि अक्सफोर्ड शहर नजिकैको ब्लेनहाइम प्यालेसमा यो सुनको शौचालय कला स्थापनाको हिस्सा थियो। यसको लागत ४.८ मिलियन पाउण्ड थियो। यो जान्न अचम्म लाग्न सक्छ, तर चोरी हुनु अघि प्रदर्शनीमा आगन्तुकहरूले शौचालय प्रयोग गर्न ३ मिनेटको अपोइन्टमेन्ट बुक गर्न सक्थे।
तपाईको जानकारीको लागि चोरीको सम्बन्धमा हालसम्म आरोप लगाइएको कसैको पनि नाम सार्बजनिक गरिएको छैन तर प्रहरीले प्रमाणको फाइल क्राउन प्रोसिक्युसन सर्भिसलाई बुझाएको छ, जसको माध्यमबाट चार जना विरुद्ध मुद्दा दर्ता गर्न सकिन्छ।
लाहोर, २२ कार्तिक ।
धुलो र धुवा अत्याधिक बढे पछि पाकिस्तानको पञ्जाब सरकारले चार दिन बिदाको घोषणा गरेको छ ।
मंगलबार प्रान्तीय राजधानी लाहोरलगायत धेरै जनसङ्ख्या भएको प्रान्तका धेरै जिल्लाहरूमा धुवाँको प्रभावलाई कम गर्ने भन्दै चार दिने सार्वजनिक बिदाको घोषणा गरेको छ।
पञ्जाव सरकारको निर्देशन अनुसार नोभेम्बर ९ देखि १२ सम्म सार्वजनिक बिदा हुनेछ ।
‘धुवाँको प्रभावलाई कम गर्न पन्जाबको लाहोर, गुजरनवाला र हाफिजाबाद डिभिजनमा चार दिन बिदाको घोषणा गरिएको छ,’ पञ्जाबका कार्यवाहक मुख्यमन्त्री मोहसिन नक्वीले पत्रकारसँग भने ।
यी डिभिजनमा वातावरणीय र स्वास्थ्य आपतकाल लगाइएकोसमेत उनले बताएका छन् । शैक्षिक संस्था, सार्वजनिक र निजी कार्यालय, रेस्टुरेन्ट, सिनेमा, पार्क र जिम बिहीबारदेखि आइतवारसम्म बन्द रहने उनले जानकारी दिए ।
शनिबार र आइतबार बजार र व्यापार केन्द्र बन्द रहनेछ। यद्यपि यो अवधिमा विवाह हल, औषधि पसल र बेकरी पसलहरू भने खुला रहनेछन्। उनका अनुसार यो बिदा यो साताका लागि मात्रै हो ।
वातावरण प्रदूषण र धुवाँ कम गर्न मुख्यमन्त्रीले बिदाको समयमा घरमै बस्न अपिल गरेका छन् ।