२०८३ भाद्र ४
२०८३ भाद्र ४

सीता भट्टराई,काठमाडौँ, ८ मङ्सिर :

राष्ट्रिय प्रजातन्त्र पार्टीका (राप्रपा)का सांसद डा धवलशम्शेर राणाले संसद्मा प्रतिपक्षको भूमिका सशक्तरूपमा निभाइरहेको तर सत्तापक्षले आफ्नो भूमिका निभाउन नसकेको जिकिर गर्नुभएको छ । “संसद्मा प्रतिपक्षको भूमिका सरकारका काम–कारबाहीका बारेमा निगरानी राख्दै सरकारका राम्रा काममा टेवा दिने र कमी–कमजोरीमा खबरदारी गर्नु हो । हामी संसद्मा जनताको विचारको प्रतिनिधित्व गर्दै आवाज उठाइरहेका छौँ । सरकारले कार्यान्वयन गर्नुपर्ने विषय पनि उठाइरहेका छौँ । तर सरकारले कार्यान्वयन गर्दैन । सरकार जवाफदेही छैन । हामी प्रतिपक्षको भूमिका सशक्तरूपमा निभाइरहेका छौँ तर आफ्नो भूमिका निभाउन सरकार सकिरहेको छैन”, उहाँले भन्नुभयो । रासससँग कुराकानी गर्नुहँुदै सांसद राणाले जनताको भावना र विचारको प्रतिनिधित्व गर्ने सर्वोच्च निकायका रूपमा रहेको संसद्मा सत्तापक्षले प्रतिपक्षको कुरा सुन्ने बानीको विकास गरी जनताका समस्या समाधान र कानुन निर्माण केन्द्रित हुनुपर्छ भन्नुभयो । राप्रपाका महामन्त्रीसमेत रहनुभएका राणाले प्रतिपक्षले उठाएका विषयप्रति सरकार जवाफदेही नहुँदा सरकार असफल भएको आरोप समेत लगाउनुभयो । “हामी सरकारका खराब कामप्रति विरोध गरिरहने, औँल्याइरहने, सत्तापक्ष नसुनेको जस्तो गरिरहने यस्ता अभ्यासले हामीलाई कहाँ पु¥याउँछ ?”, उहाँले प्रश्न गर्नुभयो । विसं २०१८ मा जन्मनुभएका सांसद राणा बाँके क्षेत्र नं २ बाट प्रत्यक्ष निर्वाचित सांसद हुनुहुन्छ । उहाँ नेपालगञ्ज उपमहानगरपालिका पूर्वप्रमुख पनि हुनुहुन्छ । सांसदमा विकास निर्माणका कामको क्षेत्राधिकार नभएको जनताले नबुझ्दा पीडा महसुस भएको अनुभव उहाँ राख्नुहुन्छ । “सांसदहरू कानुन बनाउन निर्वाचित हुन्छौँ तर जनताले त्यसरी हेर्दैनन् । जनताले सडक, खानेपानी, बिजुलीलगायतका विकास निर्माणका लागि निर्वाचित गरेको महसुस गर्छन् । केही जनताले विकास निर्माण गर्न सकेन भन्छन् नै । यो नबुझ्दा आफूलाई पीडाचाहिँ लाग्दोरहेछ”, उहाँले भन्नुभयो । आफ्ना मतादाता निर्वाचित भएको एक वर्षमा विकास निर्माण काम नभएको र कानुन निर्माणको अवस्थाप्रति सन्तुष्टि रहने वातावरण नभएको उहाँको ठहर छ । आफूले विगतमा दुई पटकसम्म स्थानीय तहको नेतृत्व गरेको स्मरण गर्दै उहाँले भन्नुभयो, “केही जनताले कानुन निर्माण गर्ने निकायमा निर्वाचित गरेको बुझ्नुहुन्छ । विकासका पूर्वाधार निर्माण गर्ने निकाय स्थानीय तह हो । दुई–दुईपटक प्रमुख भएर स्थानीय निकायमा त्यो भूमिका म निभाएको छु ।” विसं २०४९ बाट सांसद राणाले राप्रपाको युवक सङ्गठनबाट आफ्नो राजनीति सुरुआत गर्नुभएको थियो । पछि स्वतन्त्ररूपमा चुनावमा प्रतिस्पर्धा गरी सांसद पदमा निर्वाचित हुनुभएको सांसद राणापछि नेकपा (एमाले) प्रवेश गरी २०५४ सालमा निर्वाचित नगरप्रमुखसमेत हुनुभएको थियो । पुनः राप्रपा फर्कनुभएका सांसद राणा २०७४ सालमा प्रमुख भएर हाल प्रतिनिधिसभा सदस्य हुनुहुन्छ । संसद्मा सत्तापक्ष र प्रतिपक्षको सहकार्यमा कानुन निर्माण गर्नुपर्दछ । जुन कुनै एक दलका समर्थकका लागि होइन । जनता र मुलुकमा अमनचयन सिर्जना गर्नका लागि । भूमिका र जिम्मेवारीका हिसाबले एउटा विधायकले विधेयक र कानुन निमार्णमा केन्द्रित हुनुपर्ने हो तर सोहीअनुसार हुनसकेको छैन । सांसद राणाले संसद्ले करोडौँ खर्च गरेर विधेयक पास गर्न नसकेकोप्रति असन्तुष्टि व्यक्त गर्नुभयो । “हामी करोडौँ खर्च गरेर एउटा विधेयक पास गर्छौँ । संसद्ले आवश्यक विधेयक पास गर्न नसकेको अवस्था छ । कानुन बनाउने मुख्य जिम्मेवारी बोकेका सांसदप्रति जनता सन्तुष्टि हुने अवस्था छैन”, उहाँले भन्नुभयो । सांसद राणाले अभावैअभाव र असहमतिका बीच चलिरहेको सदन एउटा गठबन्धन छाडेर अर्को गठबन्धनमा उभिएको परिणाम रहेको आरोप लगाउनुभयो । मुलुकको आर्थिक अवस्था निरासाजनक रहेकामा चिन्ता व्यक्त गर्दै सांसद राणाले भ्रष्टाचार नै देश विकासको बाधक रहेको बताउनुभयो । “मुलुकमा हरेक कुराको अभाव छ । रोजगारी छैन, विकास छैन । भ्रष्टाचार मौलाउँदै जानु देश विकासको बाधक हो । मुलुकको आर्थिक अवस्था सुदृढ बनाउन सबैले पहल गर्नुपर्छ”, उहाँले भन्नुभयो । रासस

 ०८ मंसिर २०८०,काठमाडौं ।

नेपाल इन्स्योरेन्सको चुक्तापुँजी कम्पनीले पेश गरेको योजना अनुसार नै पुग्ने भएको छ । नेपाल बीमा प्राधिकरणले २०८० साल असार मसान्तसम्म बीमा कम्पनीहरुलाई पुँजिवृद्धि गर्ने निर्देशन दिएको थियो । तर, नेपालको पहिलो बीमा कम्पनी भएकाले र सरकारी स्वामित्व समेत रहेकाले कम्पनीले पेश गरेको पुँजी वृद्धि योजना सफल नभएपनि प्राधिकरणले छुट दिएको थियो ।

कम्पनीले आफ्नो नाममा रहेका विभिन्न कम्पनीको शेयर र जग्गा विक्री गरेर पुँजी पुर्याउने योजना पेश गरेको थियो । उक्त योजना अनुसार विराटनगरको जग्गा हिमालयन एभरेष्ट इन्स्योरेन्सले १० करोडमा खरिद गरेको छ भने नेपाल रिइस्योरेन्समा रहेको ६० करोड बराबरको शेयर विक्रीको प्रक्रिया अघि बढेको कम्पनीका सूचना अधिकृत चन्द्रनाथ उप्रेतीले बताए ।

उनका अनुसार कम्पनीले करिब ७० करोड  बराबरको पुँजी पुर्याउने निश्चित भइसकेको बताए । उनले भने, ‘कम्पनी चुक्तापुँजी प्राधिकरणले भनेको समयमा पुर्याउन प्राविधिक कठिनाइ भएपनि अब भने कम्पनीले चुक्तापुँजी पुर्याउने निश्चित भएको छ । प्राधिकरणमा बुझाएको योजना अनुसार कम्पनीको नाममा रहेको सम्पत्ति विक्री र बोनस र बाँकी हकप्रद शेयर जारी गरेर २ अर्ब ५० करोड रुपैयाँ पुग्ने भएको छ ।’

हाल नेपाल इन्स्योरेन्स कम्पनीको चुक्ता पूँजी १ अर्ब ४८ करोड ९३ लाख रुपैयाँ रहेको छ । कम्पनीलाई तोकिए बमोजिमको पूँजी कायम गर्न एक अर्ब २ करोड आवश्यक देखिन्छ । आर्थिकन्यूज

 मंसिर ८,काठमाडौं ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले धर्तीलाई माया गर्ने मान्छेको खाँचो रहेको बताएका छन् ।

पछिल्ला राजनीतिक तथा समसामयिक गतिविधितर्फ लक्षित गर्दै बालेनले यहाँ सबलाई नेता बन्न मन लागेको टिप्पणी गरेका छन् ।

मेयर साहले शुक्रबार भएको दुई समूहबीचको शक्ति प्रदर्शनलाई लिएर शुक्रबार मध्यरातमा सामाजिक सञ्जाल फेसबुकमा कविता लेख्दै यस्तो टिप्पणी गरेका हुन् ।

यो देशमा सबैलाई राजा, राष्ट्रपति,प्रधानमन्त्री, नेता बन्न मन लागेको तर मान्छे बन्न कसैलाई मन नलागेको भन्दै उनले पहिले धर्तिलाई माया गर्ने मान्छे बन्न आग्रह गरे । धर्तिलाई माया गर्ने मान्छे बने अरु जनताले बनाइ दिने बताए ।

शुक्रबार दुर्गा प्रसाईं र एमालेको युवासंघको छुटाछुटै प्रदर्शनको कार्यक्रम गरिएको थियो । दुर्गा प्रसाईंले राजा ल्याउने भन्दै आन्दोलन गरेपछि मेयर साहले कवितामार्फत यस्तो टिप्पणी गरेका हुन् ।

यस्ताे छ उनकाे कविता

यो देशमा सबैलाई ,
राजा बन्न मनलाग्यो,
राष्ट्रपती बन्न मनलाग्यो,
प्रधानमन्त्री बन्न मनलाग्यो,
नेता बन्न मनलाग्यो ,
देशलाई मान्छे चाहिएको छ,
मान्छे बन्न कसैलाई मन लागेन, जस्ले धर्तीलाई माया गरोस ,
मान्छे बनौँ पहिला ,
अरु त, जनताले बनाई हाल्छननी ।  नेपाल प्रेस
काठमाडौँ

मेडिकल व्यवसायी दुर्गा प्रसाईको आन्दोलनलाई राप्रपा नेपालका अध्यक्ष कमल थापाले समर्थन जनाएका छन्।  हिजोदेखी काठमाडौँमा ‘व्यवस्था विरोधी’ आन्दोलन गरिरहेका प्रसाईं नेतृत्वको आन्दोलनलाई अध्यक्ष थापाले समर्थन गरेका हुन्।

‘संघीय गणतन्त्रको नाउँमा कायम भ्रष्ट व्यवस्थाको अन्त्य, राजसंस्था र हिन्दुराष्ट्रको स्थापना तथा संघीयताको खारेजीको माग राखेर राजधानी काठमाडौँमा भएको प्रदर्शन एवं जनआवाजलाई अवमूल्यन नगर्न,उपेक्षा नगर्न र दमन नगर्न सरकारसँग आग्रह गर्दछु,राजसंस्था र हिन्दुराष्ट्रको पक्षमा देखिएको जनलहरको म उच्च सम्मान गर्दछु,’ थापाले भनेका छन्,‘जनताको आवाज र भावनाको सम्मान गर्दै सर्वपक्षीय सहमतिको आधारमा राजासहितको प्रजातन्त्र तथा सर्वधर्म समभाव र पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन हिन्दूराष्ट्र स्थापना गर्ने पहलकदमी सुरु गर्न सरकार र प्रमुख राजनीतिक दलहरुको ध्यानाकर्षण गर्दछु।’

बिहीबार भएको शान्तिपूर्ण प्रदर्शनमा प्रशासनिक दमनको परिणाम स्वरूप केही प्रदर्शनकारी घाइते भएको सुन्दा दुःख लागेको जनाउँदै उनले घाईतेहरुको शिघ्र स्वास्थलाभको कामनासमेत गरेका छन्।

‘साथै, आगामी दिनहरुमा सर्वसाधारण जनतालाई कठिनाई नहुने र बिद्यार्थीहरुको पढाईलाई असर नपर्ने गरी शान्तिपूर्ण ढंगबाट प्रदर्शन संचालन गर्न आयोजकहरुमा अनुरोध गर्दछु,’उनको आग्रह छ,‘राजसंस्था र हिन्दुराष्ट्र चाहनेहरु हिंसा र तोडफोडमा विश्वास गर्दैनन् भन्ने सन्देश दिनुपर्छ।’

 ८ मंसिर,सिन्धुली ।

आफ्नै बुवाको हत्या गरी फरार भएका सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाका एक युवालाई प्रहरीले बिहीवार पक्राउ गरेको छ । हरिहरपुरगढी गाउँपालिका वडा नं. १ शिखरडाडाँका ३२ वर्षीय दावा घिसिङ पक्राउ परेका हुन् ।

गएको मंसिर ६ गते बुधवार राती आफ्नै बुवा ७२ बर्षका बुद्धिमान घिसिङलाई फलामको रडले टाउकोमा हिर्काउदा बुवाको घटनास्थलमै ज्यान गएपछि उनी फरार भएका थिए ।

फरार घिसिङलाई खोज तलासको क्रममा इलाका प्रहरी कार्यालय कर्मैया सर्लाहीको टोलीले सर्लाहीको बागमती नगरपालिका ११ र रौतहट चन्द्रनिगाहापुर नगरपालिका १ नुनथर ड्यामको सिमानाबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

पक्राउ परेका घिसिङलाई ईलाका प्रहरी कार्यालय कपिलाकोटको टोलीले सिन्धुली ल्याएको सिन्धुलीका प्रहरी नायव उपरिक्षक चिरन्जीवी दाहालले जानकारी दिए ।

बुद्ध नेपाली

८ मंसिर, जनकपुरधाम ।

महोत्तरीबाट सशस्त्र प्रहरीले स्रोत नखुलेको आठ लाखभन्दा बढी रकमसहित दुई जनालाई पक्राउ गरेको छ ।

बिहीबार भारतबाट मोटरसाइकलमा नेपाल आउँदै गरेका महोत्तरीकै सम्सी गाउँपालिका-३ बस्ने २८ वर्षीय रमेशकुमार साह र रामगोपालपुर नगरपालिका सहसौलाका ३२ वषर्ीय अनिल चौधरी पक्राउ परेका हुन् ।

सशस्त्र प्रहरी बल, नेपाल बोर्डर ओउट पोष्ट पोखरभिण्डाबाट खटिएको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको मधेश प्रदेश ०२-००६प-१६२१ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा दुवै जनाको साथबाट स्रोत नखुलेको ८ लाख १० हजार ९२० रुपैयाँ बरामद गरेको जनाएको छ ।

दुवै जनालाई बरामद रकमसहित अनुसन्धानको लागि जलेश्वर भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।  अनलाइनखबर

 

तराई/मधेसका जिल्लामा आज ‘लबान’  (नयाँ अन्न प्रचलनमा ल्याउने) पर्व मनाईँदै छ ।  अन्नबालीको उर्वर भूमि मानिने मधेसका जिल्लामा यज्ञादि होम गरेपछि वर्षभरिकै दैनिक उपभोग र शुभकार्यमा अन्नचल्ने मान्यता रही आएको छ ।  पूर्वीय मान्यतामा यावत अन्नलाई ‘धान्यादि’ भनिएको हुँदा मुख्य बाली धान होम गरेपछि सबै अन्न वर्षभरि प्रयोग गर्न सकिने मानिन्छ ।

यस पर्व सामान्यतया नयाँ धान थन्क्याएपछि मङ्सिरभरि अनुकूलताअनुसार गर्न सकिने भए पनि कात्तिक शुक्ल एकादशी (हरिवोधनी) व्रतको साङ्गतासँगै जोडेर गरिने चलन बढी छ । पछिल्ला केही दशकयता मङ्सिरमा पाक्ने रैथाने (स्थानीय) जातका धानको सट्टा चाँडै पाक्ने (कात्तिकमै) उन्नत जातका विकासे जातका धान लगाउने प्रचलन बढ्दै गएपछि कार्तिक शुक्ल द्वादशी तिथि पर्वका लागि व्यावहारिक पनि बन्दै गएको मिथिला परम्पराका ज्ञाता डा. राजेन्द्रप्रसाद विमल बताउँछन् ।

यस पर्वमा नयाँ धानको चिउरा  कुटेर परिवारका सबै सदस्यले चिउरा, दूध र गुँड (सख्खर) पवित्र यज्ञको अग्निमा होम गरी भगवान् विष्णुलाई अर्पित गरेपछि शेषान्न (उब्रेको) प्रसादस्वरुप खाने चलन छ । यसरी यो विधिसँगै पुरोहितलाई भोजन गराई दक्षिणा दिएर नयाँ अन्नको सिधा दान गरिन्छ । यो विधिपछि सबै अन्न वर्षभरि प्रचलन गर्न सकिने मान्यता छ । यो विधिमा ग्रामदेवता (डिहबारस्थान)को पूजा पनि गरिन्छ ।

यो विधिलाई पहाडी परम्पराका हिन्दूले ‘न्वागी खाने’ भन्ने गरेका छन् । महोत्तरी जिल्लाको सुदूरउत्तरी क्षेत्रमा घरघरैजसो नवान्न (नयाँ अन्न, हिउँदे धान)को ‘न्वागी’ खाने विधि पनि धेरैजसोले आजै सम्पन्न गर्दैछन् । मैथिल परम्परामा चिउरा मुख्य भोग लगाइने चलनजस्तै पहाडी परम्परामा भने नयाँ धानको चामल दही र सख्खरमा भिजाइएको परिकार खाइने परम्परा छ । यो परिकारलाई बोलीचालीमा ‘भिजाएका चामल’ भनिन्छ ।

पर्वका अवसरमा घरघरका आँगनमा रहने तुलसीका मठ नजिकै नयाँ धानको चामलमा घिउ (घ्यू) र तिल मुछेर वैदिक मन्त्रोञ्चारणसहित पुरोहितले होम गरेपछि नयाँ अन्न खानपिनमा वर्षभरि प्रयोग गर्न बाटो खुल्ने मान्यता रहँदै आएको छ । हिन्दूहरूको आदि भाषा संस्कृतमा सबै अन्नलाई ‘धान्यादि’ भनिएर अन्नको राजा धानलाई मानिएको मैथिल विश्वासजस्तै पहाडी चलनमा पनि धानको नयाँ फसल होम गरेर अग्नि देवतालाई चढाइएपछि सबै अन्न खानपिनमा प्रयोग गर्न सकिने धार्मिक तथा परम्परागत मान्यताले यो चलन बसेको वैदिक कर्मकाण्डका ज्ञाता बर्दिबास–१ का पण्डित रामप्रसाद बराल बताउँछन् ।

वैदिक शास्त्रमा नयाँ अन्न प्रचलनमा ल्याउनुअघि होमादि नगरिए त्यस्तो अन्न शुभकार्य र पितृकार्यमा नचल्ने पुरानो विश्वास रहेको छ । सामान्यतया मैथिल परम्पराको ‘लबान’ वा पहाडी चलनको ‘न्वागी खान’ कार्तिक शुक्ल द्वादशी नै उपयुक्त रहे पनि मार्ग (मङ्सिर) शुक्ल पञ्चमीसम्म न्वागीका लागि होमादि गर्न सकिने परम्परा रहेको भङ्गाहा–५ सीतापुरबजारका विष्णुप्रसाद शर्माको भनाइ छ ।

पर्वमा पहाडी परम्पराको होमादि गर्न कूल पुरोहित वा अन्य कर्मकाण्डी ब्राह्मण अनिवार्य हुने हुँदा आज पुरोहितहरूको व्यस्तता हुने गर्दछ । यस पर्वमा होमादि अर्पण गरी इष्टजनलाई आमन्त्रण गरेर खुवाउने खाने प्रचलन छ ।

 

 

 

मंसिर ८/

नेपाली सेनाले सैन्य पददेखि विभिन्न ट्रेडका फलोअर्स पदहरूका लागि दरखास्त आह्वान गरेको छ।

सेनाले सूचना प्रकाशन गर्दै सैन्य पदमा ३ हजार जना र सुचिकार, सफाईकर्मी, चर्मकर्मी, लोहाकार, केशकर्तक, माली लगायतका पदमा ४१३ जना कर्माचारी मागेको हो।

देशका विभिन्न ब्यारेकहरूमा पदपूर्ती गर्नका लागी सेनाले ठूलो संख्यामा दर्खास्त आह्वान गरेको हो।

इच्छुक र योग्यता पुगेका व्यक्तिहरूलाई पुस ७ गतेसम्म निर्धारण गरिएको छ।

सैन्य पदका लागि नेपाली सेनाको आधिकारी वेबसाइटबाट अनलाइन दरखास्त फाराम भरी उम्मेदवार स्वयंले सो को हार्डकपी प्रिन्टआउट गरी तोकिएको भर्ना केन्द्रमा बुझाउने  वा उम्मेदवार स्वयंम भर्ना केन्द्रमा उपस्थित भई फाराम भर्ने र ट्रेडका फलोअर्स पदहरूका लागि उम्मेदवार स्वयम् भर्ना केन्द्रमा उपस्थित भई दरखास्त फाराम भर्नुपर्नेछ।

 

धनगढी मंसिर ८  

— सुदूरपश्चिममा तीन वर्षमा २ सय २६ जना एचआईभी संक्रमितले ज्यान गुमाएका छन् । नियमित उपचारमा रहेका र औषधि सेवन गरिरहेकाको नै मृत्यु भएको हो । मृत्यु हुनेमा ७२ महिला र १ सय ५४ पुरुष रहेका छन् । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार मृतकको यो तथ्यांक स्वास्थ्य संस्थाको सम्पर्कमा रहेकाहरूको मात्रै अभिलेख हो ।

आर्थिक वर्ष २०७९/८० मा उपचारमा रहेका ६४ जनाको मृत्यु भएको छ । अघिल्लो वर्ष २०७८/७९ मा मृत्यु हुनेको संख्या ७९ रहेको थियो भने २०७७/७८ मा उपचारमा रहेका ८३ जना एचआईभी संक्रमितको मृत्यु भएको निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार २०७९/८० मा सबैभन्दा बढी कैलालीमा मृत्यु भएको तथ्यांक छ ।

कैलाली सेती प्रादेशिक अस्पतालमा नियमित औषधोपचारमा रहेका १८, मालाखेती अस्पतालमा ६ र टीकापुर अस्पतालमा ८ गरी ३२ जनाको मृत्यु भएको हो । तीमध्ये ११ महिला, २० पुरुष र एक यौनिक तथा लैंगिक अल्पसंख्यकको मृत्यु भएको हो । २०७८/७९ मा मालाखेती अस्पतालमा उपचाररत संक्रमितको मृत्यु संख्या शून्य थियो । तर, सेती प्रादेशिक अस्पताल र टीकापुर अस्पतालमा भने त्यस वर्ष मृतक संख्या गत आर्थिक वर्षको भन्दा बढी थियो । सेतीमा २६ र टीकापुर अस्पतालमा १२ जना संक्रमितको मृत्यु भएको थियो ।

गत आर्थिक वर्षमा डोटीमा १३ जना संक्रमितको मृत्यु भएको छ । बझाङमा चार, बाजुरामा दुई, बैतडीमा तीन, दार्चुला, डडेलधुरा, कञ्चनपुरको महाकाली अस्पतालमा एक/एक जना संक्रमितको मृत्यु भएको छ । सुदूरपश्चिममा कैलालीपछि बढी संख्यामा प्रभावित देखिएको डोटीमा अघिल्लो आर्थिक वर्षमा भन्दा २०७९/८० मा मृतकको संख्या बढेको छ । २०७८/७९ मा आठ जना संक्रमितको मृत्यु भएको थियो ।

निर्देशनालयका जनस्वास्थ्य अधिकृत मनोज ओझाका अनुसार गत आर्थिक वर्षमा प्रदेशका सरकारी स्वास्थ्य संस्थाबाट ७ हजार १ सय ३ जनामा परीक्षण गर्दा १ सय ७३ संक्रमित फेला परेका थिए भने विभिन्न संघसंस्थाले गरेका परीक्षणबाट ८१ नयाँ संक्रमित फेला परेका थिए । बाजुरामा भदौ महिनामा मात्रै चार जना नयाँ संक्रमितको पहिचान भएको छ ।

हाल सुदूरपश्चिमका एआरटी केन्द्रमा औषधि सेवन गर्नेको संख्या ३ हजार ६ सय २६ रहेको छ । निर्देशनालयका अनुसार सबैभन्दा बढी औषधि सेवनकर्ता कैलालीमा छन् । कैलालीको सेती प्रादेशिक अस्पतालमा १ हजार १९, मालाखेती अस्पतालमा ३ सय ३७, टीकापुर अस्पतालमा ५ सय ६३, अछाममा १ सय ९१, बयालपाटामा २ सय ४, चौरमाडौंमा १ सय ३ र कमलबजारमा ९४ जना एआरटी सेवनकर्ता रहेको तथ्यांकमा उल्लेख छ । यस्तै बाजुरामा ६२, बझाङमा ८९, डडेलधुरामा ६१, जोगबुढा अस्पतालमा ४७, डोटीमा ४ सय ८५, बैतडीमा ९६, दार्चुलामा ४२, मालाखेतीमा ३ सय ३७, दोदोधरामा ७८ र केशरपुरमा २५ जना संक्रमितले एआरटी केन्द्रबाट औषधोपचार सेवा लिइरहेका छन् ।

संक्रमितले प्रत्येक दिन एउटै समयमा एआरटी केन्द्रबाट औषधि सेवन गर्नु अनिवार्य हुन्छ । तर, एकाबिहानै खालि पेटमा औषधि सेवन गर्नुपर्दा कमजोर हुने गरेको संक्रमितहरू बताउँछन् । ‘सबैको घरमा औषधि सेवन गर्नुअघि खाने कुराको व्यवस्था हँॅदैन,’ बाजुरा प्लसकी अध्यक्ष मीना विकले भनिन् । चिकित्सकहरू पनि कुनै पनि रोगको उपचारमा खाली पेटमा र खानेकुरा खाएर मात्र सेवन गर्नुपर्ने निश्चित औषधि हुने बताउँछन् । ‘कुनै पनि दीर्घरोगीलाई पोषिलो खानेकुराको जरुरत अरुभन्दा बढी हुन्छ नै,’ सेती प्रादेशिक अस्पतालका सुपरिटेन्डेन्ट डा. शेरबहादुर कमरले भने, ‘संक्रमितहरूले पनि पोषिलो खानेकुरामा ध्यान दिनैपर्ने हुन्छ । खालि पेटमा औषधि सेवन गर्नु राम्रो हुँदैन ।’

रोगसँग जुध्नका लागि गरिबी नै प्रमुख बाधक भएको बाजुरा प्लसकी अध्यक्ष विकको भनाइ छ । ‘सरकारले संक्रमितहरूको गास, बास, कपास, रोजगारी, शिक्षा र स्वास्थ्यमा प्राथमिकता दिनुपर्छ,’ उनले भनिन्, ‘हामीलाई त जे भयो भयो, हाम्रा बालबच्चाको शिक्षा र भविष्यको चिन्ता छ ।’

राष्ट्रिय एड्स रणनीति, २०१६–२०२१ मा ‘नयाँ संक्रमण संख्या ५० प्रतिशतले घटाउने, बालबालिकामा नयाँ संक्रमण ९० प्रतिशतले कम गराउने, एड्ससँग सम्बन्धित मृत्युदर २५ प्रतिशतले कम गराउने रहेकामा जनस्वास्थ्यको चुनौतीका रूपमा रहेको एड्स इपिडेमिकलाई २०३० सम्ममा अन्त्य गर्ने’ उल्लेख छ । तर, सुदूरपश्चिममा संक्रमितको संख्या नघट्नु चुनौतिपूर्ण भएको निर्देशनालयका जनस्वास्थ्य अधिकृत मनोज ओझा बताउँछन् ।

रोजगारीका लागि भारत जानैपर्ने बाध्यताका कारण एचआईभी संक्रमण फैलने क्रममा सुधार हुन नसकेको उनको भनाइ छ । ‘रोग लुकाउने चलन अझै छ । कतिपय संक्रमित स्वास्थ्य संस्थाबाट सम्पर्कविहीन हुने प्रवृत्ति पनि कायमै छ,’ उनले भने, ‘संक्रमितहरू सिकिस्त भएर अन्तिम समयमा मात्र उपचारका लागि सम्पर्कमा आउने भएकाले पनि समस्या भइरहेको छ ।’

 

काठमाडौं ०८ मङ्सिर   ।

दसैँ अघि नै सहसचिवको सरुवा हुने चर्चा सिंहदरबारभित्र व्याप्त थियो । तर, अहिलेसम्म सरुवा हुन सकेको छैन । कर्मचारी वृत्तमा भने मुख्यसचिवले सरुवा रोकेको आरोप छ ।

सहसचिवको सरुवा मन्त्रिपरिषद्को बैठकले गर्छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रस्ताव ल्याएपछि मात्रै मन्त्रिपरिषद्ले निर्णय गर्छ । तर, अहिलेसम्म सहसचिवको सरुवा सूची मन्त्रिपरिषद्मा पुगेको छैन ।

मन्त्रिपरिषद्का एक सदस्यका अनुसार सामान्य प्रशासन मन्त्री अनिता देवीले सहसचिवको सरुवा लिष्ट मन्त्रिपरिषद्मा पेस गरेकी छैनन् । बिहीबार बसेको मन्त्रिपरिषद्मा पनि मन्त्री अनिताले सरुवा लिष्ट पेस गरेकी छैनन् ।

मन्त्रालयका अनुसार ५० देखि ६० जना सहसचिवको सरुवा गर्नुपर्ने बेला भएको छ । सहसचिवको सरुवा अवधि नतोकिए पनि एक वर्ष बसिसकेपछि सरुवा गर्ने प्रचलन छ । यसअघिका मन्त्री अमनलाल मोदी सहसचिव सरुवाको लिष्ट तयार गर्दै गर्दा मन्त्री पदबाट हटाइएका थिए । जनमत पार्टीबाट मन्त्री बनेकी अनिताले सरुवामा खासै ध्यान नदिँदा लामो समयदेखि सहसचिवहरु एउटै कार्यालयमा काम गर्न बाध्य छन् ।

उच्च स्रोतका अनुसार बिहीबार पनि मुख्यसचिव डा. बैकुण्ठ अर्यालले मन्त्री अनितालाई फोन गरी सहसचिवको सरुवा लिष्ट पठाइदिन अनुरोध गरेका थिए । जवाफमा अनिताले सचिवलाई सरुवा लिष्ट पठाउन निर्देशन दिएको बताएकी थिइन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका एक उच्च अधिकृतले रातोपाटीलाई भने, ‘पहिला त सामान्य प्रशासन मन्त्रालयबाटै सरुवा लिष्ट मन्त्रिपरिषद्मा पेस गर्नुप¥यो नि, सरुवा लिष्ट नल्याउने अनि मुख्यसचिवलाई दोष थोपर्न कहाँ पाइन्छ ?’

स्रोतका अनुसार मन्त्री अनिताले केही सहसचिवलाई आफूले भनेको ठाउँमा सरुवा गर्न खोज्दा सरुवा लम्बिएको हो । स्रोतले भन्यो, ‘मन्त्रीज्यूले केही सहसचिवलाई आफूले चाहेको ठाउँमा सरुवा गर्न खोज्नु भएको थियो, त्यसमा सहमति नभएपछि सरुवा लम्बिएको हो ।’

अर्थमन्त्री डा. प्रकाशशरण महतले आफ्ना तीन जना सहसचिवलाई नचलाउन मन्त्री अनितालाई सुझाएका थिए । गृह मातहत रहेका केही सहसचिव प्रमुख जिल्ला अधिकारी (सीडीओ)को रुपमा जान लबिङ गरिरहेका छन् । विशेष गरी मधेस प्रदेशमा सीडीओमा जान केही सहसचिवले मन्त्री अनितालाई भेटेरै लबिङ गरिरहेको स्रोतको भनाइ छ ।

तर, सहसचिवहरुलाई गृह मन्त्रालयमा सरुवा गरेपछि गृह मन्त्रीले सीडीओमा पठाउने प्रचलन छ ।

सामान्यमा केही महिना अघिमात्रै सरुवा भएर आएका कर्मचारी प्रशासन महाशाखाका प्रमुख सुमन दाहाल समेत सरुवाको तरखरमा छन् । त्यस्तै राम्रो अवसर पाए सामान्यकै योजना तथा विकास सहायता महाशाखाका प्रमुख कमल प्रसाद भट्टराई पनि सरुवा भएर जाने तयारीमा छन् । उनी यसअघि सामान्यकै कर्मचारी प्रशासन महाशाखामा थिए । तत्कालीन मन्त्री अमनलाल मोदीसँगको टकरावका कारण उनी सरुवा भएका थिए ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सरुवा भए पनि उनी सरुवा लिष्ट सच्याएर सामान्यमै थमौती भएका थिए । सामान्यका सहसचिव कमानसिंह थापामगर लामो समयदेखि निष्क्रिय रहेको कर्मचारी समायोजन महाशाखामा छन् । अर्का सहसचिव स्कीम श्रेष्ठ पनि सरुवा भएर जाने तरखरमा छिन् ।

थापामगर र श्रेष्ठ गृह मन्त्रालयमा सरुवा भएर जान लबिङ गरिरहेका छन् । विशेष गरी अर्थ, उद्योग वाणिज्य तथा आपूर्ति र गृह मन्त्रालयमा जान सहसचिवहरुको चर्को लबिङ हुने गरेको पाइन्छ । सामान्य प्रशासन मन्त्रालयका एक उपसचिवले भने, ‘सरुवा चर्चा दसैँ अघिदेखि कै थियो, तर सहसचिवहरुकै कारण रोकिएको हो, स्वार्थ केन्द्रित भएका कार्यालयमा सरुवा भएर जाने समूह धेरै देखिँदा सरुवा धकेलिएको हो ।’

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।