पर्सा १३ गते ।
प्रेस चौतारी पर्साको विशेष जिल्ला अधिवशेन सम्पन्न भएको छ । प्रेस चौतारी नेपाल पर्सा जिल्ला अध्यक्षमा तुलसी भण्डारी चयन भएका छन् । शुक्रबार सम्पन्न विशेष जिल्ला अधिवशेनले भण्डारीलाई अध्यक्षमा चयन गरेको हो ।
भण्डारीको अध्यक्षमा विशेष अधिवेशन २९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा राजेन्द्र सिंह नेपाली, उपाध्यक्ष ९महिला० निलम पन्त, सचिवमा राकेश कुमार शाह, कोषाध्यक्षमा सन्तोष पटेल चयन भएका छन् ।
यस्तै, समितिको सहसचिव धनन्जय मिश्र र सहसचिव ९समावेशी० मा भने कृष्ण कशुवाहा चयन भएका हुन् । साथै सदस्यमा राजन रौनियार ,सक चौरसिया ,आरोहन साह , रसमि राज भन्डारि , पन्नालाल साह , राजन कुमार सिंह ,राजन बानिया , आन्न्द पटेल ,मुस्तुफा आलम ,दिपेन्द्र कुमार साह ,सोभा धमला,एन्जल चौधरि,कमला भन्डारि ,नितेश कर्ण ,कृष्ण कुमार श्रीवास्तव,अखिलेश साह ,सेख सजाद हुसेन ,राजु साह,नविन कर्कि ,राम कुशवाहा,बलिराम यादव र उर्मिला सापकोटा चयन भएका हुन् ।
भरतपुर (चितवन), १४ पुस :
चितवनको पर्यटकीय नगरी सौराहामा जारी १७ औँ चितवन हात्ती तथा पर्यटन महोत्सवमा शुक्रबार यहाँका हात्तीलाई वनभोज खुवाइएको छ । चित्रसारी मैदानमा सरकारी र निजी ६५ वटा हात्तीलाई वनभोज खुवाइएको हो । वनभोजमा हात्तीलाई मन पर्ने खानेकुरा दिइएको थियो । हात्तीलाई उखु, गाजर, बन्दा, सुन्तला, ड्रागन, स्याउ, फर्सीलगायत विभिन्न खानेकुरा खुवाइएको क्षेत्रीय होटल सङ्घ सौराहाका उपाध्यक्ष तथा महोत्सव संयोजक ओम पाण्डले जानकारी दिनुभयो । उहाँले हात्तीलाई झण्डै पन्ध्र प्रकारका खानेकुरा खुवाइएको बताउनुभयो । एक दिन भए पनि सबै प्रकारका खानेकुरा एकै समयमा सबै हात्तीलाई खुवाउँदा मनोरञ्जन हुनुका साथै हात्तीले पनि सबै खानाको स्वाद लिन पाउने भएकाले वनभोज कार्यक्रम राखिएको युनाइटेड हात्ती सञ्चालक सहकारी संस्थाका व्यवस्थापक विनोद तिमिल्सिनाले बताउनुभयो । “जसरी हामी वनभोज खान जाँदा रमाउँछाँै, त्यसरी नै हात्तीलाई मनपर्ने खानेकुरा खुवाउँदा हात्ती खुसी हुन्छन्”, उहाँले भन्नुभयो, “राम्रो खुवाउने र स्याहार गर्नुपर्छ भन्ने सन्देश पनि हो यो ।” उहाँले हात्तीलाई काम मात्र लगाउने होइन पालनपोषण पनि गर्ने गरिन्छ भन्ने सन्देश वनभोजले दिने बताउनुभयो । धेरै हात्तीले एकै ठाउँमा खाना खाँदा महोत्सवको रौनकता वढेको र पर्यटकले रमाउँदै दृश्यावलोकन गरेको उहाँले बताउनुभयो । मानिस र जनावरबीचको सम्बन्ध राम्रो बनाउन वनभोज महत्वपूर्ण रहेको तिमिल्सिनाको भनाइ छ । पर्यटकको आकर्षणका लागि सन् २०१४ देखि हात्तीको वनभोज कार्यक्रम सञ्चालनमा छ । वनभोजमा हात्तीलाई खुवाउन दर्शकको भीड लागेको थियो । महोत्सव हेर्न आएका पर्यटकले वनभोज निकै आकर्षक मानेर हेरेका थिए । सौराहामा यस वर्ष हात्ती दौड र हात्तीका छावाबीच फुटबल आयोजना गरिएको छैन । हात्ती सुन्दरी र डुङ्गा दौड प्रतियोगिता सम्पन्न भइसकेको छ । अङ्ग्रेजी नयाँ वर्षको अवसर पारेर सञ्चालन गरिएको महोत्सव आगामी शनिबारसम्म सञ्चालन हुनेछ । चितवन राष्ट्रिय निकुञ्ज, मध्यवर्ती सामुदायिक वन र यससँगै बग्ने नदीमा रहेका वन्यजन्तु, चराचुरुङ्गी, जलचरलगायतको अवलोकन गर्न बर्सेनि सौराहामा स्वदेशी तथा विदेशी पर्यटक आउने गर्दछन् । (रासस)
वीरगञ्ज (पर्सा), १४ पुस :
पर्साको वीरगञ्जमा जारी दोश्रो संस्करणको प्रो क्लब क्रिकेट च्याम्पियनसिप टि–२० प्रतियोगिताको उपाधीका लागि आज नेपाल पुलिस क्लब र पर्सा–११ भिड्ने भएका छन् । वीरगञ्जस्थित नारायणी रङ्गशालामा उक्त फाइनल खेल आज दिउँसो १ बजे हुने छ । शुक्रबार सम्पन्न सेमिफाइनलमा पर्सा–११ ले नेपाल आर्मी क्लबलाई तथा नेपाल पुलिस क्लबले भारतको वान्डर्स क्लब नोयडालाई पराजित गर्दै उपाधि भिडन्त पक्का गरेका हुन् । यस्तै तेस्रो स्थानका लागि आज बिहान ९ बजे नेपाल आर्मी क्लब र भारतको वान्डर्स क्लब नोयडाबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । पर्सा क्रिकेट सङ्घ र जोहरा इन्टरनेसनलको संयुक्त आयोजनामा गत पुस ५ गतेदेखि सञ्चालित प्रतियोगितामा पर्सा–११, आर्मी क्लब, पुलिस क्लब, एपिएफ क्लब, वान्डर्स क्लब र यूपी–११ को सहभागिता छ । (रासस)
आरके श्रीवास्तव, रौतहट,पुस१३ गते ।
रौतहटको राजदेवी नगरपालिकामा प्रा वि तर्फ आज नगरस्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । रौतहटको माध्यमिक विद्यालय ब्रह्मपुरीमा प्रा वि स्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको हो । राजदेवी नगरपालिकाको आयोजनामा मा वि ब्रह्मपुरीमा सम्पन्न भएको सो कार्यक्रममा मा वि ब्रह्मपुरी प्रथम , मा वि हजमिनियाँ द्वितीय , मा वि वसतपुर तृतीय स्थान हासिल गर्न सफल भयो ।

विजेता विद्यार्थी तथा विद्यालयलाई राजदेवी नगरपालिकाको नगरप्रमुख भिखारी प्रसाद यादव, उपप्रमुख राज कुमारी देवी साह तथा प्रमुख प्रशासकीय अधिकृत प्रलव कायस्थले शुभकामना दिनु भयो । मा वि हजमिनियाको सहायक प्रधानाध्यापक नरेश यादव तथा मा वि ब्रह्मुरीको सूचना अधिकारी राम विश्वास मुखियाले संयुक्तरूपमा सञ्चालन गर्नुभएको सो कार्यक्रममा नगर प्रमुख यादव , नगर उपप्रमुख साह र प्रमुख प्रसाशकीय अधिकृत कायस्थले मन्तव्य राख्नु भयो ।

यस अघि नगरप्रमुख यादवले दिप प्रज्जवलीत गरी तथा माता सरस्वतीकी फोटोमा माल्यार्पण गर्दै प्रतियोगिताको शु(भारम्भ गर्नु भएको थियो । मा वि ब्रह्मपुरीको शिक्षक फेकन राउतले स्वागत मन्तव्य राख्नु भएको सो कार्यक्रममा मा वि ब्रह्मपुरीको छात्राहरूले स्वागत गान तथा स्वागत नृत्य प्रस्तुत गरेका थिए ।

उद्घाटन सत्रलाई सम्बोधन गर्दै नगर प्रमुख यादवले नगरको शिक्षालाई सब्बल बनाउन पालिकाले अभियाननै थालेको बताउनु भयो । विद्यार्थीमा रहेको प्रतिभा पहिचान गर्न तथा विद्यार्थीको चौतर्फी विकास गर्न यस्ता कार्यक्रमले थप सहयोग गर्ने बताउदै उहाँले पालिकाले यस्ता कार्यक्रमलाई निरन्तरता दिइरहेको बताउनु भयो ।

सोही कार्यालयलाई सम्बोधन गर्दै प्रमुख प्रशासकीय अधिकृत प्रलव कायस्थले विद्यार्थीभित्रको डर हटाउदै प्रतिभा पहिचानमा यसले सहयोग गर्ने बताउनु भयो । पालिकाको शैक्षिक गुणस्तर सुधारमा पालिका लागेको बताउदै वहाँले शैक्षिक सुधारका अलग अलग कार्यक्रम अन्तर्गत यो पनि एउटा रहेको बताउनुभयो ।
यसले विद्यार्थीलाई भविष्यमा आयोगका लागि सहयोग पुर्याउन समेत बताउनु भयो । मा वि ब्रह्मपुरीको प्रधानाध्यापक दिपेन्द्र प्रसाद श्रीवास्तवको सभापतित्वमा भएको सो कार्यक्रममा पालिकाभित्रका सबै २० वटै विद्यालयको प्रधानाध्यापक, शिक्षक प्रतिनिधि तथा विद्यार्थीहरूको भव्य उपस्थिति रहेको थियो । कार्यक्रममा सहभागी विद्यार्थीसहित उपस्थित हजारौं विद्यार्थी कार्यक्रमप्रति उत्साहित देखिन्थ्यो ।

ओम प्रकाश यादव पुस १३ गते, रौतहट ।
मधेश प्रदेश सरकारले दलित सशक्तीकरण ऐन कार्यान्वयन गर्न पुरै उदासिन रहेको उक्त कार्यक्रमका वक्ताहरु मनोज राम पर्सा, राजन बैठा सर्लाही, सिकिन्दर दास बारा, रामदेव शर्मा खत्वे सप्तरी, उदय नारायण राम रौतहट, विश्वेश्वर सदा सिरहा, सरस्वती खत्वे धनुषा लगायतका दलित अभियन्ताहरुले एक स्वरमा आरोप लगाएका छन् ।
दलित विकास समितिलाई प्रभावकारी बनाउन मधेश सरकार चासो नलिएका कारण दलितहरु अझै अधिकार पाउनबाट बञ्चित रहेको संयुक्त राजनीतिक दलित संघर्ष समितिका संयोजक रामो महाराले बताएका छन ।

दलित विकास समिति मधेश प्रदेशले महोतरीको बर्दिवासमा शुक्रवार आयोजना गरेको दलित सशक्तिकरण एन २०७६ ९मधेश प्रदेश० को कार्यान्वयनको अवस्था र स्थानिय सरकारको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले यस्तो बताएका छन् ।

समितिका सदस्य राजकुमार दासको अध्यक्षता तथा मधेश प्रदेशका खेलकुद तथा समाज कल्याण मन्त्री सुरिता कुमारी साहको प्रमुख अतिथ्यमा बर्दिवासको पावन मिथिला होटलमा उक्त कार्यक्रमको आयोजना गरिएको छ ।
२०७६ सालमै दलित सशक्तीकरण ऐन ल्याइएको भएपनि त्यसको प्रभावकारी कार्यान्वयनमा प्रदेश सरकार उदासीन देखिएको वक्ताहरूको आरोप छ ।
ऐनमा जातीय विभेद तथा छुवाछुत अन्त्यका लागि प्रत्येक पालिकादेखि प्रदेशस्तरीय जातीय विभेद तथा छुवाछुत अनुगमन समिति गठन गर्ने भनिएको छ। तर अहिलेसम्म मधेश प्रदेशको अधिकांश पालिकामा जातीय विभेद तथा छुवाछुत अनुगमन समिति गठन हुन सकेको छैनन ।

कार्यक्रममा सहभागी मधेश प्रदेशका खेलकुद तथा समाज कल्याण मन्त्री सुरिता कुमारी साहले दलित सशक्तिरण एन २०७६ कार्यान्वयन भए दलितहरु अधिकार सम्पन्न हुने भएको हुँदा दलित सशक्तिरण एन प्रभावकारी कार्यान्वयनका लागि आफुले पहल गर्ने बताएकी छन् ।
अबको एक महिना भित्रमा दलित सशक्तिरण एन २०७६ र नियमावली संशोधन हुने समेत मन्त्री साहले बताइन । एन संशोधन गर्न ड्राफ्ट पहिला नै तयार भइ दलित बिज्ञसंग सुझाव समेत लिसकेकोले यसै महिना भित्र संशोधन गर्ने उनले बताइन ।

साथै दलित विकास समितिको कर्मचारीलाई एकसाता भित्रमा व्यवस्थापन गर्ने समेत उनले आश्वासन दिएकी छन् । बैठकमा सहभागिहरुले दलित विकास समितिको कार्यालय खेलकुद तथा समाज कल्याण मन्त्रालयमा नै व्यवस्था गर्न सुझाव दिएका छन।
कार्यक्रममा दलित विकास समितिका सदस्य राजकुमार दासले समितिका उपाध्यक्ष बाहेक अरु सदस्यहरुलाई केहि सुविधा नरहेकोले सरकारले सदस्यहरुलाई पनि सेवा सुविधा उपलब्ध गराउनुपर्ने धारणा राखेका थिए ।
कार्यक्रममा प्रदेश सांसदहरु ललिता देवी दास, किशोरी देवी दास, पलटी देवी महरा, रञ्जु मण्डल, पूर्व राज्य मन्त्री सुरेश मण्डल, पूर्व प्रदेश सांसद चमेली दास, गरुडा नगरपालिकाका मेयर कन्थमनी प्रसाद जयसवाल, गढीमाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीदेव यादव सहित प्रदेशका आठवटै जिल्लाका नगर प्रमुख, प्रशासकीय अधिकृत तथा दलित अभियन्ताहरुको सहभागिता रहेको थियो ।
गलेश्वर (म्याग्दी), १४ पुस :
म्याग्दीका एक दम्पतीले नेत्र ज्योति सङ्घ, बेनीलाई रु दुई करोड ५० लाख बराबरको जग्गा निःशुल्क प्रदान गरेका छन् । पूर्वाधारको अभावमा भाडा तिरेर सेवा दिइरहेको सङ्घलाई मालिका गाउँपालिका–६ दिच्यामका मुक्ति रोका र याममाया रोकाले जग्गादान गरेका हुन् । रोका दम्पतीले सङ्घलाई बेनीबजारस्थित कालिपुलको सात आना एक पैसा तीन दाम क्षेत्रफलको जग्गा दान गर्नुभएको हो । शुक्रबार बेनीमा आयोजित कार्यक्रममा रोका दम्पतीले सङ्घका सभापति अमर बानियाँलाई सो जग्गाको लालपुर्जा हस्तान्तरण गर्नुभयो । हाल क्याम्पसचोकमा भाडाको कार्यालयबाट सेवा प्रदान गरिरहेको सङ्घलाई आफ्नै भवन निर्माणका लागि सहज भएको छ । सङ्घको भवन निर्माणका लागि पनि सक्दो आर्थिक सहयोग गर्ने रोका दम्पतीले वाचा गरेका छन् । यसअघि जग्गादाता रोकाले २०६६ सालमा आफैँले नेतृत्व गरेर हिमालयन आँखा अस्पतालसँग समन्वय गरी बेनीको रेडक्रस भवनमा आँखा उपचार केन्द्र सञ्चालनमा ल्याउनुभएको थियो । (रासस)
गोदार (धनुषा) १३ पुस :
धनुषा प्रहरीले जिल्लाको विभिन्न स्थानबाट २० लाखभन्दा बढीको भन्सार छली गरेर ल्याएको सर–सामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरी इकाइबाट परिचालन भएको गस्ती टोलीले एक साताभित्र भन्सार छली गरी ल्याउँदै गरेको २० लाख ४७ हजार एक सय बराबरको सर–सामान बरामद गरेको प्रहरी निरीक्षक उपेन्द्र खरेलले जानकारी दिनुभयो । जिल्लाअन्तर्गत बोर्डर हुँदै भारतबाट नेपालतर्फ भन्सार छली गरी ल्याउँदै गरेको सरसामानसहित ओसारपोसारमा संलग्न आठ वटा मोटरसाइकल गरी २० लाखभन्दा बढीको सर–सामान बरामद गरेको निरीक्षक खरेलले बताउनुभयो । बरामद गरेको सामान आज आवश्यक कारबाहीको लागि भन्सार कार्यालय जनकपुरमा पठाइएको छ । (रासस)
काठमाडौँ, १३ पुस :
सर्वोच्च अदालतले ‘जनयुद्ध दिवस’को अवसरमा सरकारले दिँदै आएको सार्वजनिक बिदाको निर्णय बदर गरेको छ । अधिवक्ता ज्ञानेन्द्रराज आरनले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र महेश शर्मा पौडेलको संयुक्त इजलासले फागुन १ गते जनयुद्ध दिवसमा बिदा दिने मन्त्रिपरिषद्को निर्णय बदर गरेको हो । “हाल शान्ति प्रक्रिया तथा सङ्क्रमणकालिन न्यायसम्बन्धी विषय टुङ्गो लागिनसकेको, सो सम्बन्धी विधेयक संसद्मा विचाराधीन रहेको र नेपालको संविधानको प्रस्तावना बमोजिम शान्ति प्रक्रियाका सबै काम सम्पन्न हुन बाँकी रहेको अवस्थामा सार्वभौम जनताको प्रतिनिधिमूलक संस्था संसद्मा छलफल नगरी बिदा दिने निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गरिएको छ,” निर्णयमा भनिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा भएको मन्त्रिपरिषद् बैठकले २०७९ माघ २९ गते १ फागुनमा जनयुद्ध दिवस मनाउने र सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।(रासस)
काठमाडौँ, १३ पुस :
झुठ्ठा विवरण पेश गरी जिल्ला प्रशासन कार्यालय सिरहाबाट प्राप्त छ वटा नेपाली नागरिकताको प्रमाणपत्र सरकारले रद्द गरेको छ । यही पुस ५ र १२ गतेको मन्त्रिपरषद्को निर्णय आज सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले निजहरुलाई नेपाली नागरिकबाट हटाइएको बताउनुभयो ।
बैठकले नेपाल–चीन व्यापार तथा भुक्तानी सम्झौता, १९८१ लाई पुनरावलोकन तथा परिमार्जन गर्न नेपालका तर्फबाट मन्त्रालयका सहसचिवको संयोजकत्वमा संयुक्त प्राविधिक कार्यदल गठन गरेको छ ।
नेपाल विशेष सेवाको गठन, सञ्चालन र सेवाको शर्तहरु व्यवस्था गर्नेसम्बन्धी विधेयकको मस्यौदा तर्जुमा गर्ने सैद्धान्तिक स्वीकृति दिएको छ । राष्ट्रियसभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा २ को खण्ड (ख)को प्रयोजनका लागि राष्ट्रिय जनगणना, २०७८ को कुल जनसङ्ख्याको शून्य दशमवल ५ प्रतिशतभन्दा कम जनसङ्ख्या रहेका अल्पसङ्ख्यक जातजाति (दलितबाहेक) लाई अल्पसङ्ख्यकको रुपमा तोक्ने निर्णय गरेको उहाँले जानकारी दिनुभयो ।
गोरखापत्र संस्थानको व्यवस्थापन, आर्थिक एवं प्रिन्टिङ सल्लाहकार पदमा नुवाकोटको सूर्यगढी गाउँपालिका–२ का रामकृष्ण अधिकारी र कानुनी सल्लाहकारमा दाङको घोराही उपमहानगरपालिका–१७ का सुशीला चौधरीलाई दुई वर्षका लागि नियुक्त गरिएको सरकारका प्रवक्ता शर्माले जानकारी दिनुभयो ।
बैठकले सरकारी कार्यालयले सामाजिक सञ्जाल प्रयोग गर्नेसम्बन्धी निर्देशिका, २०८०, अपाङ्गता भएका व्यक्तिसम्बन्धी राष्ट्रिय नीति, २०७९, बालबालिका नीति, २०७९, राष्ट्रिय लैङ्गिक समानता नीति, २०७७ को कार्यान्वयन कार्ययोजना, २०८०, संरक्षित क्षेत्रमा पूर्वाधार निर्माणका लागि जग्गा उपलब्ध गराउनेसम्बन्धी कार्यविधि, २०८० र राष्ट्रिय स्वास्थ्य सङ्कट व्यवस्थापन समन्वय निर्देशिका, २०८० स्वीकृत गरेको छ । अन्नपूर्ण संरक्षण क्षेत्र र मनास्लु संरक्षण क्षेत्रको व्यवस्थापकीय जिम्मेवारी राष्ट्रिय प्रकृति संरक्षण कोषलाई दिने बैठकको निर्णय छ ।
मलेसियाका लागि नेपाली राजदूत डिल्लीराज पौडेललाई फिलिपिन्सका लागि गैरआवासीय राजदूत तोक्ने र नेपाली सेनाका दुई सहायक रथीलाई उपरथी र नौ महासेनानीलाई सहायक रथीमा बढुवा गर्ने तथा काठमाडौँ–तराई÷मधेस द्रुतमार्ग सडक आयोजनाको सडक खण्ड निर्माणका लागि संलग्न सर्तको पालना गर्नेगरी मकवानपुर र बाराको राष्ट्रिय वनको कुल जम्मा ४० दशमवल १९ हेक्टर जग्गा प्रयोग गर्न र सो वनमा रहेका चार हजार तीन सय ४५ वटा रुख÷पोल कटान गर्न स्वीकृति दिने बैठकको निर्णय छ ।
बैठकले साञ्जेन खोला जलविद्युत् आयोजनाको प्रसारण लाइन आयोजनाको टावर र ‘राइट अफ वे’ निर्माणका लागि रसुवाको राष्ट्रिय वन क्षेत्रको कुल १० दशमवल १३ हेक्टर जग्गा २४ वर्षसम्म प्रयोग गर्न तथा सो वन क्षेत्रमा रहेका एक हजार दुई सय १४ वटा रुख हटाउन स्वीकृति दिएको छ ।
सरकारले स्वप्न बगौँचा विकास समितिको सदस्यमा पर्यटन तथा वातावरण क्षेत्रमा विशेष योगदान पु¥याउनुभएका श्रृजना (मल्ल) राणा र जग्गादातामध्येबाट लोकभक्त शम्शेर जबरलाई मनोनयन गरेको छ । बैठकले विसं २०८१ सालमा दिइने सार्वजिनक बिदा तथा कार्यालय समय निर्धारण गरेको छ । साविकको सार्वजनिक बिदामा सहिद दिवस र राम नवमीका दिन बिदा थप भएको मन्त्री शर्माले जानकारी दिनुभयो । (रासस)
सिराहा ,पुस१२ गते
सिराहामा शरीरको केही भाग जलेको अवस्थामा एक युवकको शव फेला परेको छ।
धनगढीमाई नगरपालिका- ६ स्थित गागन खोला किनारमा पहिचान नखुलेको अन्दाजी २६ वर्षीय युवकको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी टेकु इवा लिम्बूले जानकारी दिए।
‘हामीले छेउछाउका सबैतिर कोही हराएको छ वा कोहीसँग हुलिया मिल्छ कि भनेर सोधखोज गरिरहेका छौं। अहिलेसम्म परिचय खुलेको छैन,’ उनले भने, ‘शव हेर्दा कतै चोटपटक लागेको देखिँदैन तर खुट्टा भाँचेको देखिएको छ। प्रारम्भिक रूपमा कहीँ दुर्घटना भएर मृत्यु वा घाइते हुँदा शव जलाएको हुनसक्छ जस्तो लाग्छ।’
घटनास्थलबाट कुनै सामान बरामद नभएको प्रहरीले जनाएको छ।
स्थानीयले शव देखेपछि इलाका प्रहरी कार्यालय गोलबजारलाई जानकारी गराएका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको एसपी लिम्बूले बताए।