आरके श्रीवास्तव,राैतहट,१६गते पुस ।
रौतहट । रौतहटमा लाखौं मूल्यको भन्सार छलीको सामान बरामद भएको छ । शनिवार बेलुका गौर नग्पालिका वडा नं.४ स्थित बिभिन्न सवारी साधन तथा पैदल यात्रुहरु चेकजाँच गर्ने क्रममा किराना सामान बरामद गरेको हो ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक एलिजा गिरीका अनुसार चेकजाँच गर्ने क्रममा आवश्यक कागजातपत्र नभएका भारतिय नम्बर पलेटको मोटरसाईकल थान–१ र अवैध रुपमा भन्सार छली चोरी पैठारी गरी ल्याएका किराना सर समानहरु प्रहरीले बरामद गरेको हो ।
करिब एक लाख ब्यालिस हजार मूल्य बराबरको उक्त सामान भएको उनले जनाए । बरामद गरिएको सर सामान कार्यवाहीका लागि गौर भन्सार कार्यालय रौतहटमा दाखिला गरिएको उनको भनाइ छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटको मातहत अस्थाई प्रहरी पोष्ट बसपार्क र महादेवपट्टी रौतहटबाट खटिएको संयुक्त प्रहरी चेकजाँच टोलीले उक्त सामान बरामद गरेको उनले बताए । पछिल्लो समय रौतहट प्रहरी भन्सार छलीको सरसामानहरु धमाधम पक्राउ गर्न थालेको हो ।
शनिवारमात्रै रौतहट प्रहरीले भारत बाट अबैध रुपमा ल्याइरहेको एक लाख नौ सय चालिस रुपैयाँ वराबरको किराना,लत्ताकपडा र प्याज पक्रेको थियो ।
नेपालको प्रजातान्त्रिक आन्दोलनका योद्धा त्रिपुरारी मिश्रको ५४ वर्षको उमेरमा निधन भएको छ । महोत्तरीको पिपरा गाउँपालिका–३ का बासिन्दा उहाँको सोमबार राति निधन भएको हो । उहाँ लामो समयदेखि उच्च रक्तचाप र मधुमेहबाट पीडित हुनुहुन्थ्यो ।
पञ्चायतकालमा किशोरवयमै नेपाल विद्यार्थी सङ्घमा आबद्ध भएर नेता मिश्रले प्रजातान्त्रिक आन्दोलनमा योगदान गर्नुभएको नेपाली कांग्रेस महोत्तरीका नेता बजरङ्ग नेपाली बताउनुहुन्छ । विसं २०४६ को जनआन्दोलनले प्रजातन्त्र पुनःस्थापना गरेपछि नेपाली कांग्रेसमा क्रियाशील हुनुभएका मिश्रको योगदान अनुकरणीय रहेको नेपाली कांग्रेस महोत्तरीका सभापति नागेश्वर यादव र नेकपा एमालेका जिल्ला अध्यक्ष कालीचन्द्र साहले शोक वक्तव्य प्रकाशन गरेर बताउनुभएको छ । स्वर्गीय मिश्रका पत्नी, एक छोरा र एक छोरी छन् ।(रासस)
काठमाडौँ, १६ पुस :
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले पछिल्ला नौ महिनामा औद्योगिक क्षेत्रको प्रवर्द्धन, अन्तर्राष्ट्रिय व्यापार सहजीकरण र उपभोक्तामैैत्री बजार स्थापित गरेको जनाएको छ ।
उद्योग मन्त्रीका रुपमा रमेश रिजालले कार्याभार सम्हाल्नुभए यता संस्थागत सुधार, बजेट कार्यान्वयन, कानुन निर्माणलगायत क्षेत्रमा उल्लेख्य प्रगति हासिल भएको मन्त्रालयले जनाएको छ ।
मन्त्री रिजालको नेतृत्वपछि नेपाल आयल निगमको सुधारसँगै बाराको अमलेखगञ्जदेखि चितवनको लोथरसम्म ६२ किलोमटर पेट्रोलियम पाइपलाइन विस्तार तथा भारतको सिलिगुडीदेखि झापाको चारालीसम्म ५० किलोमिटर पेट्रोलियम पाइपलाइन निर्माण भएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पोखरामा नयाँ इन्धन भण्डारण गृहको शिलान्यास र सिमरा बिमानस्थलमा हवाइ इन्धन भर्ने सुविधाको सुरुआत, पेट्रोलियम पदार्थको अटो बिलिङ्ग तथा ट्यान्कर लक सिस्टमजस्ता प्रमुख काम मन्त्री रिजालको आगमन पछि सम्पन्न भएको छ ।
त्यस्तै चीनसँगका प्रमुख दुई नाका तातोपानी नाका र रसुवागढी केरुङ सञ्चालन ल्याइनु, करिब ११ महिनादेखि बस्न नसकेको औद्योगिक तथा लगानी प्रवर्दन बोर्डको बैठक सञ्चालन गर्न सफल हुनु, निर्यात अनुदान पाउने उद्योगको सङ्ख्या बढाइ कूल वैदेशिक व्यापारमा निर्यातको हिस्सा वृद्धि गर्न सक्नुलगायत उपलब्धी मन्त्री रिजालको अग्रसरतामा सफल भएको जनाएको छ ।
यस्तै १५ वटा मझौला उद्योग, एक सय ४२ हजार घरेलु तथा साना उद्योग, १० हजार कम्पनीलगायत चालू आवको मङ्सिर मसान्तसम्म २२ वटा ठूला उद्योग दर्ता भएका छन् । आव २०८०/८१ मा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका लागि रु आठ अर्ब १३ करोड ८० लाख विनियोजन भएको मन्त्रालयले जनाएको छ ।
मङ्सिर मसान्तसम्म विभिन्न १७ वटा नीति तथा कानुन तर्जुमाका लागि अर्थ मन्त्रालय तथा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा रायका लागि पठाइएको मन्त्रालयले जानकारी दिएको छ ।(रासस)
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का प्रवक्ता तथा उपमहानिर्देशक जगन्नाथ निरौलाले लुक्ला, रामेछाप, राजविराज, सुर्खेतसहितका विमानस्थलमा यी मेसिन जडान गर्न लागिएको र यसै आर्थिक वर्षभित्र जोडिसकिने जानकारी दिनुभयो ।
मेसिन जडान गर्न आवश्यक ‘टेन्डर’ प्रक्रिया सुरु भइसकेको र सामान आउने क्रममा रहेको पनि उहाँले जानकारी दिनुभयो । उक्त उपकरण जडानपछि हवाई सुरक्षा अभिवृद्धि हुने र यात्रु तथा वायुयान कम्पनीलाई समेत सहयोग पुग्ने प्राधिकरणले जनाएको छ ।
देशका बिभिन्न दुर्गमा क्षेत्रमा रहेका विमानस्थलहरुमा ब्यागेज चेक गर्ने एक्स–रे मेसिन जडान भएका छैनन् । ती विमानस्थलमा ब्यागेज चेक गर्ने एक्स–रे मेसिन नभएका कारण त्यहाँ कार्यरत कर्मचारी तथा सुरक्षाकर्मीहरुले यात्रुका सरसामान तथा झोलाहरु हातले छामेर चेकजाँच गर्दै आएका थिए ।
विमानस्थलमा ब्यागेज चेक गर्ने एक्स–रे मेसिन जडान भएपछि कर्मचारीलाई चेकजाँच गर्न सहज हुने र यात्रुहरुलाई पनि यसले सजिलो हुने बताइएको छ ।(रासस)
काठमाडौँ, १६ पुस :
वरिष्ठ पत्रकार एवं राष्ट्रिय समाचार समिति (रासस) का पूर्वनिमित्त महाप्रबन्धक गोकुलप्रसाद पोखरेलको ८७ वर्षको उमेरमा त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालमा आज निधन भएको छ ।
राष्ट्रिय मानव अधिकार आयोगका पूर्व सदस्य, नेपाल प्रेस इन्स्टिच्युट (एनपिआई) का संस्थापक महासचिव र दुई कार्यकाल अध्यक्ष हुनुभएका पोखरेल गोरखापत्र दैनिकका पूर्वसम्पादक र ‘मुना’ बाल मासिक (बालपत्रिका) का संस्थापक प्रधानसम्पादक पनि हुनुहुन्थ्यो । गोरखापत्र संस्थानको राष्ट्रिय पत्रकारिता पुरस्कार प्राप्त पोखरेल पछिल्लो समयमा फोक्सोसम्बन्धी समस्याबाट पीडित हुनुहुन्थ्यो । पत्रकारितामा स्नातकोत्तर र अङ्ग्रेजी साहित्यमा पनि दखल राख्नुहुने पोखरेलले अस्पतालको शय्याबाटै काठमाडौँ उपत्यकामा वातावरण प्रदूषण वृद्धि हुँदा चिन्ता व्यक्त गर्दै यसका लागि जनचेतना जगाउन जोड दिनुभएको थियो । धनकुटाको कोचिण्डेमा विसं १९९३ मा जन्मनुभएका पोखरेल काठमाडौँ बस्दै आउनुभएको थियो ।
एनपिआईका कार्यसमिति सदस्य कपिल काफ्लेका अनुसार पोखरेलको आज बिहान १०ः३० बजे निधन भएको हो । उहाँले पोखरेल नेपाली पत्रकारिताका धरोहर रहनुभएको बताउनुभयो । पोखरेलका छोरा अष्ट्रेलियाबाट आएपछि पार्थिव शरीरलाई मङ्गलबार बिहान अन्त्येष्टि गरिने जनाइएको छ । दिवङ्गत पोखरेलका श्रीमती, एक छोरा र दुई छोरी हुनुहुन्छ ।(रासस)
टोकियो, १६ पुस (रासस/एएफपी) :
जापानको मध्य भागमा सोमबार ७.५ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेक्षण (युएसजीएस) ले जनाएको छ ।
इशिकावा प्रान्तको नोटो क्षेत्रमा स्थानीय समयअनुसार अपराह्न ४ः१० बजे गएको भूकम्पपछि राष्ट्रिय प्रसारक एनएचकेले भनेको छ, “सबै बासिन्दालाई तत्काल उच्च स्थानमा स्थानान्तरण गर्न आवश्यक छ ।”
जापानको तटीय क्षेत्रमा केन्द्रबिन्दु रहेको ३०० किलोमिटरभित्र सुनामीको खतरनाक छाल आउन सक्ने हवाईस्थित प्यासिफिक सुनामी वार्निङ सेन्टरले जनाएको छ ।
भूकम्पपछि इशिकावा प्रान्तको वाजिमा शहरमा १.२ मिटरको सामुद्रिक छालह आएको जापानी सञ्चारमाध्यम एनएचके ले जनाएको छ ।
जापानको मौसम विज्ञान निकाय (जेएमए) का अनुसार सोही क्षेत्रको नोटोमा पाँच मिटरभन्दा बढी सुनामी आउने अनुमान गरिएको छ ।
जेएमएका अनुसार जापानको मुख्य टापु होन्शुको सागरमा रहेको नोटो क्षेत्रमा स्थानीय समयअनुसार अपराह्न ४ बजेर ६ मिनेटमा ५.७ म्याग्निच्यूडको भूकम्प गएको थियो ।
त्यसपछि अपरान्ह ४ः१० मा ७.६ म्याग्निच्युड, ४ः१८ मा ६.१ म्याग्निच्युड, ४ः२३ मा ४.५ म्याग्निच्युड, ४ः२९ मिनेटमा ४.६ म्याग्निच्युड र ४ः३२ मिनेटमा ४.८ म्याग्निच्युडको भूकम्प गएको थियो ।
त्यसको केही समयपछि ६.२ म्याग्निच्युडको अर्को भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ । भूकम्पको सबैभन्दा ठूलो धक्कापछि जापानी सञ्चारमाध्यमले विशेष प्रशारण गरी प्रभावित क्षेत्रका बासिन्दाहरूलाई उच्च भूमिमा जानको लागि तत्काल आग्रह गरेका हुन् ।
“हामी तपाईंको घरको मायालाई बुझ्छौं, तपाईंको सामानहरू सबै तपाईंको लागि बहुमूल्य छन्, तर तपाईंको जीवन सबैभन्दा महत्वपूर्ण छ । सम्भव भएसम्म छिट्टै अग्लो जमिनमा पुग्नुहोस्,” एनएचकेमार्फत् प्रशारण गरिएको कार्यक्रममा प्रस्तोताले दर्शकहरूको सुरक्षाका लागि आग्रह गर्नुभयो ।
जापानमा भवनहरूले शक्तिशाली भूकम्प सहन सकून् भन्ने उद्देश्यले कडा निर्माण नियमहरू छन् र ठूलो झट्काको लागि तयारी गर्न नियमित रूपमा आपतकालीन अभ्यासहरू हुने गर्छन् ।
तर सन् २०११ को मार्चमा उत्तरपूर्वी जापानमा गएको ९.० म्याग्निच्यूडको भूकम्पका कारण आएको सुनामीका कारण करिब १८ हजार ५०० जनाको मृत्यु भएको थियो ।
सन् २०११ को सुनामीले फुकुशिमा आणविक केन्द्रमा तीनवटा रिएक्टरहरू पनि ध्वस्त पारेको थियो, जसले गर्दा जापानको युद्धपछिको सबैभन्दा खराब विपत्ति र चेर्नोबिलपछिको सबैभन्दा गम्भीर आणविक दुर्घटना भएको थियो ।
सन् २०२२ को मार्चमा फुकुशिमाको तटीय क्षेत्रमा गएको ७.४ म्याग्निच्यूडको भूकम्पले पूर्वी जापानको ठूलो क्षेत्रमा धक्का महशुस गरिएको थियो ।
राजधानी टोकियोलाई एक शताब्दीअघि सन् १९२३ मा आएको विनाशकारी भूकम्पले तहसनहस बनाएको थियो ।
बेइजिङ, १६ पुस (रासस/सिन्ह्वा) :
चिनियाँ राष्ट्रपति सी चिनफिङ र अमेरिकी राष्ट्रपति जो बाइडेनले सोमबार दुई देशबीचको कूटनीतिक सम्बन्ध स्थापना भएको ४५औँ वर्षगाँठको उपलक्ष्यमा बधाई सन्देश आदानप्रदान गर्नुभएको छ । चिनियाँ राष्ट्रपति सीले सन्देशमा चीन अमेरिकाबीचको कूटनीतिक सम्बन्ध स्थापनामा अन्तर्राष्ट्रिय सम्बन्धको इतिहासमा ठूलो घटना भएको बताउनुभएको छ । राष्ट्रपति सीले भन्नुभयो, “चीन–अमेरिका सम्बन्धले ४५ औ बर्ष पार गरेको छ । कुटनैतिक सम्बन्धले दुई देशका जनताको हित तथा विश्व शान्ति, स्थायित्व र समृद्धिलाई समेत प्रवद्र्धन गरेको छ ।” “यी दुई ठूला देशका रूपमा आपसी सम्मान, शान्तिपूर्ण सहअस्तित्व र विजयी सहयोग नै आपससँग मिल्ने सही बाटो हो भन्ने कुरा इतिहासले प्रमाणित गरिसकेको छ र जारी रहने छ,” उहाँले भन्नुभयो । चिनियाँ नेता सीका अनुसार आफू र बाइडेनवीच सान फ्रान्सिस्कोमा भएको भेटमा चीन–अमेरिकाको विकासको मार्गचित्र तय गर्दै भविष्य उन्मुख ‘सान फ्रान्सिस्को भिजन’ राखिएको थियो । राष्ट्रपति सीले चीन र संयुक्त राज्य अमेरिकालाई राष्ट्रले हासिल गरेको सााझा तथा नतिजालाई कार्यान्वयन गर्न र चीन–अमेरिकाको स्थिर, स्वस्थ र दिगो विकासको प्रवद्र्धधन गर्न ठोस कदम चाल्न आह्वान गर्नुभयो । चीन–अमेरिकाको मार्गलाई निरन्तरता दिन बाइडेनसँग काम गर्न आफू इच्छुक रहेको चिनियाँ राष्ट्रपति सीले बताउनुभएको छ । दुई देश र जनताको हितमा, र विश्व शान्ति र विकासको कारणलाई बढावा दिन्छ ।
दुबई, १६ पुस (रासस/एएफपी) :
साउदी अधिकारीहरूको घोषणामा आधारित एएफपीको तथ्याङ्कअनुसार साउदी अरबले सन् २०२३ मा एक सय ७० जनालाई मृत्युदण्ड दिएको छ । यसमा नयाँ वर्षको पूर्वसन्ध्यामा चार जना समावेश थिए ।
खाडी राज्य साउदी अरबमा सन् २०२२ मा कूल एक सय ४७ दोषीलाई मृत्युदण्ड दिइएको थियो । मृत्युदण्डको व्यापक प्रयोगको निन्दा गर्ने मानवअधिकार कार्यकर्ताहरूले साउदी अरबको आलोचना गरेका छन् । सन् २०१९ मा उक्त मुलुकले एक सय ८७ जनालाई मृत्युदण्ड दिएर रेकर्ड बनाएको थियो ।
आधिकारिक साउदी प्रेस एजेन्सीले आन्तरिक मन्त्रालयको विज्ञप्ति उद्धृत गर्दै आइतबार मृत्युदण्ड दिइएका चार जनालाई हत्याको अभियोगमा दोषी ठहर गरिएको बताएको छ । तीमध्ये दुई जनालाई उत्तरपश्चिमी सहर ताबुक, एक जनालाई राजधानी रियाद र अर्का एक जनालाई दक्षिणपश्चिमी जाजानमा मृत्युदण्ड दिइएको हो ।
सन् २०२३ मा मृत्युदण्ड दिइएकामध्ये आतङ्कवादसँग सम्बन्धित अपराधको आरोपमा ३३ जना र देशद्रोहको आरोपमा दोषी ठहरिएका दुई सैनिक रहेका छन् । सबैभन्दा घातक महिना डिसेम्बरमा ३८ जनालाई मृत्युदण्ड दिइएको थियो ।
एमनेस्टी इन्टरनेसनलले सन् २०२२ मा साउदी अरबले चीन र इरानबाहेक कुनै पनि मुलुकको तुलनामा सबैभन्दा धेरै व्यक्तिलाई मृत्युदण्ड दिएको बताएको छ ।
टाउको काटेर मृत्युदण्ड दिन कुख्यात यो मुलुकले सन् २०२२ मार्चमा एकै दिनमा ८१ जनालाई मृत्युदण्ड दिएर विश्वभरमा निन्दाको लहर उत्पन्न गरेको थियो ।
अधिकारीहरूका अनुसार शरिया कानून, कुरानको शिक्षामा आधारित इस्लामिक कानून संहिता र ‘सार्वजनिक व्यवस्था कायम राख्न’ का लागि मृत्युदण्ड आवश्यक छ ।
वास्तविक शासक क्राउन प्रिन्स मोहम्मद बिन सलमान विश्वको सबैभन्दा ठूलो कच्चा तेल निर्यातक मुलुक साउदी अरबलाई व्यवसाय र पर्यटन केन्द्रमा रूपान्तरण गर्न चाहनुहुन्छ । यद्यपि कार्यकर्ताहरूका अनुसार मृत्युदण्ड जारी राख्दा प्रिन्स मोहम्मदको भिजन २०३० सुधार एजेन्डाको केन्द्रमा रहेको अझ खुला, सहिष्णु समाजको छविलाई कमजोर बनाउँछ ।
पर्वत, १६ पुस
: पर्वतमा तरुल खोज्न गङ्गल गएका युवकको हत्या गरिएको छ । मोदी गाउँपालिका–२ देउपुरका ४० वर्षीय उदय रिजालको आइतबार हत्या भएको हो ।
रिजालसँगै सोही ठाउँका ३५ वर्षीय प्रेमबहादुर नेपाली र ४० वर्षीय श्रीराम शर्मा आइतबार दिउँसो स्थानीय सामुदायिक वनमा तरुल खोज्न गएका थिए । तरुल खन्न प्रयोग गरिएको हतियारले नेपालीले रिजाललाई घाइते बनाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अविनाश दीप जिसीले जानकारी दिनुभयो ।
अचेत अवस्थामा जङ्गलमा फेला परेका रिजाललाई पर्वत अस्पतालमा उपचारका लागि ल्याउँदा चिकित्सकले मृत घोषणा गरेकोे उहाँले बताउनुभयो । घटनामा घाइते भएका शर्माको मणिपाल अस्पताल पोखरामा उपचार भइरहेको प्रहरी निरीक्षक जिसीले जानकारी दिनुभयो । हत्या गरेको आरोपमा प्रहरीले नेपालीलाई नियन्त्रणमा लिएको छ । नेपालीले पुरानो रिसिबीका कारण रिजालको हत्या गरेको बयान दिएका छन् । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
जानकी (बाँके),१६ पुस
: बाँकेको नेपालगञ्जमा कारको ठक्करबाट दुईजनाको मृत्यु भएको छ । एकजना गम्भीर घाइते भएका छन् । नेपालगञ्जबाट कोहलपुरतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१००१च ३४६३ नं को कारले नेपालगञ्ज उपमहानगरपालिका–१८ कारकाँदोस्थित एसके पेट्रोलपम्प नजिकै गए राति ठक्कर दिँदा नेपालगञ्ज–१३ का २४ वर्षीया आस्था शाहको मृत्यु भएको छ ।
अर्का मृतक पुरुषको भने पहिचान खुल्न नसकेको जिल्ला ट्राफिक कार्यालयका प्रमुख प्रहरी निरीक्षक गोपीकृष्ण सुवेदीले जानकारी दिनुभयो । दुवै जनाको उपचारको क्रममा अस्पताल लैजाँदै गर्दा मृत्यु भएको हो । प्रहरी निरीक्षक सुवेदीका अनुसार उक्त घटनामा नेपालगञ्ज–१३ की सहाना शाह घाइते भएकी छिन् । उनको नेपालगञ्ज मेडिकल कलेजमा उपचार भइरहेको छ । कारका दुवैलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।
(रासस)