२०८३ भाद्र १
२०८३ भाद्र १

सुनसरी, २६ माघ ।

सुनसरी प्रहरीले जबरजस्ती करणी मुद्दामा फरार रहेका अभियुक्तलाई १९ वर्षपछि पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सुनसरी बराहक्षेत्र-१ का अर्जुन विश्वकर्मा रहेका छन्। विश्वकर्मालाई धरान-१२ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय सुनसरीका प्रहरी नायव उपरीक्षक नवीनकृष्ण भण्डारीले बताए।

विश्वकर्माले २०६१ मंसिर २३ गते १५ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको अभियोग लागेको छ। करणी गरी फरार रहेका विश्वकर्मामाथि सर्वोच्च अदालतले २०६७ वैशाख २९ गते ९ वर्ष ५ महिना १९ दिन कैद सजायको फैसला गरेको थियो।

पक्राउ परेका विश्वकर्मालाई शुक्रबार नै अदालत पेस गरी जिल्ला अदालत सुनसरीको आदेशानुसार झुम्का कारागार चलान गरिएको प्रहरीले जनाएको छ।न्युज कारखाना

रौतहट,२६ माघ ।

नेकपा एमाले रौतहटको १०औं जिल्ला अधिवेशनको बन्द सत्र स्थगित भएको छ। जिल्ला सदस्यदेखि पदाधिकारीसम्म सर्वसम्मतको प्रयास गरिए पनि सर्वसम्मत हुन नसकेपछि अबेर साँझ बन्दसत्र स्थगित गरिएको हो।

कुनै पनि पदमा सर्वसम्मत हुन नसकेपछि बन्दसत्र आजका लागि स्थगित गरिएको बताइएको छ। आज स्थगित भएको बन्दसत्र भोलि शनिबार बिहान ८ बजेबाट गरुडास्थित एएन प्लाजा होटलमा पुन सुरु हुने नेकपा एमालेका केन्द्रीय सदस्य उद्धव रेग्मीले जानकारी दिए।

भोलि शनिबार सर्वसम्मतको प्रयास गरिने र नभएको खण्डमा निर्वाचनद्वारा नेतृत्व चयनको प्रयास गरिने केन्द्रीय सदस्य रेग्मीले बताए। शनिबार बिहान ८ बजेबाट पुन: बन्दसत्र सुरु हुने जनाइएको छ।

नेकपा एमाले रौतहटको अध्यक्षका आकांक्षी तीन जना रहेका छन्। अखिलेश्वर चौधरी, रुपेश कुमार पटेल र सचिदा नन्द शाह जिल्ला अध्यक्षका आकांक्षी हुन्। नेतृत्वले सर्वसम्मतको प्रयास गरे पनि रौतहटमा सर्वसम्मत लगभग नहुने देखिएको एक जना एमालेका नेताले बताएका छन्। शनिबार मतदानबाटै जिल्ला अध्यक्षलगायत पदाधिकारीहरूको चयन हुने बताइएको छ।न्युज कारखाना

काठमाडौँ, २६ माघ ।

श्रीलंकाका ब्याट्सम्यान पथुम निसान्काले एकदिवसीय क्रिकेटमा २०१ रन बनाएर कीर्तिमानी ब्याटिंग गरेका छन् ।

शुक्रबार अफगानिस्तानविरुद्धको खेलमा प्रथुमले अविजित २१० रन बनाउदै श्रीलंकाका लागि एकदिवसीय क्रिकेटमा सर्बाधिक रन बनाउने खेलाडी बनेका छन् ।

पथुम एकदिवसीय क्रिकेटमा दोहोरो शतक बनाउने पहिलो श्रीलंकाली ब्याट्सम्यान बनेका छन् । यस अघि श्रीलंकाका लागि एकदिवसीय क्रिकेटमा सनथ जयसूर्याले सन् २००० मा भारतविरुद्ध १८९ रन बनाएका थिए ।

त्यसै गरि पथुम एकदिवसीय क्रिकेटको एक इनिंगमा सर्बाधिक रन बनाउने खेलाडीमा छैटौं स्थानमा रहेका छन् । उनी भन्दा अगाडी पाकिस्तानका फखर जमानले २१० रन बनाएका छन् भने वेस्टइण्डिजका क्रिस गेलले २१५, भारतका विरेन्द्र सहवागले २१९, न्यूजील्याण्डका मार्टिन गप्टिलले २३७ र भारतका रोहित शर्माले २६४ रन बनाएका छन् ।

यस खेलमा श्रीलंकाले पहिला ब्याटिंग गर्दै ५० ओभरमा ३ विकेट गुमाएर ३८१ रन बनाएको छ । श्रीलंकाले आफ्नो एकदिवसीय इतिहासमा बनाएको यो सर्बाधिक चौथो ठुलो टोटल हो ।न्युज कारखाना

काठमाडौँ, २६ माघ ।

अस्ट्रेलियाले वेस्टइण्डिजविरुद्धको टी- २० सिरिजमा विजयी शुरुवात गरेको छ । शुक्रबार सम्पन्न सिरिजको पहिलो खेलमा अस्ट्रेलियाले वेस्टइण्डिजलाई ११ रनले पराजित गरेको हो ।

अस्ट्रेलियाले दिएको २१४ रनको लक्ष्य पछाएको वेस्टइण्डिजले २० ओभरमा ८ विकेट गुमाएर २०२ रन बनाएको हो ।

वेस्टइन्डिजका लागि ब्राण्डन किंगले सर्बाधिक ५३ रन बनाएका थिए भने जोनसन चार्लेजले ४२ तथा जासन होल्डरले अविजित ३४ रन बनाएका थिए ।

त्यस्तै अस्ट्रेलियाका बलर एडम जाम्पाले ३ विकेट लिएका थिए भने मार्कस स्टोइनिसले २ तथा जासन बेह्रेंनडोर्फ़, ग्लेन म्याक्सवेल र सीन एबोटले एक एक  विकेट लिएका थिए ।

यस अघि टस हारेर पहिला ब्याटिंग गरेको अस्ट्रेलियाले डेविड वार्नरको ७०, जोश इंलिशको ३९, टिम डेविडको आक्रमण ३७ रन तथा म्याथ्यू वाडेको २१ रनको मद्धतले २० ओभरमा ७ विकेट गुमाउदै २१३ रन बनाएको थियो ।

यो जितपछि अस्ट्रेलिया ३ खेलको सिरिजमा १-० ले अगाडी भएको छ र सिरिजको दोस्रो खेल आइतबार खेल्ने छ ।न्युज कारखाना

काठमाडौं, २६ माघ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक जना वडाध्यक्षविरुद्ध मुद्दा दायर गरेको छ। आयोगले काभ्रेको बनेपा नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष नृपेश बादेविरुद्ध मुद्दा दायर गरेको हो।

वडाध्यक्ष बादेले घर बाटो सिफारिस गर्ने प्रयोजनको लागि सेवाग्राहीसँग घुस/रिसवत माग गरेको थिए। अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले उनलाई सेवाग्राहीबाट १५ लाख रुपैयाँ घुस/रिसवत लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो।

यही माघ ०३ गते नियन्त्रणमा लिइएका उनीविरुद्ध आज विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरिएको हो। बादेसँग १५ लाख रुपैयाँ नै बराबरको बिगो माग गरिएको छ। न्युज कारखाना

माघ २६ रौतहट ।

रौतहट जिल्लाको मौलापुर नगरपालिकाका नगर प्रमुख रिना कुमारी साहले राजनीतिक रिस साध्न २ वटा वडालाई विकास निर्माण कार्यमा विभेद गरेको वडा अध्यक्ष श्यामकिशोर साहले आरोप लगाएका छन्।

नगरपालिकाले सञ्चालनमा ल्याएको असहायसँग मेयर कार्यक्रमअन्तर्गत विवाह कार्डको आधारमा गरेको सिफारिशमाथि नगर प्रमुखले छानविन नै नगरी आफूलाई बदनाम गर्ने उद्देश्यले आफ्नो गल्ती ढाक छोप गर्न अफवाह फैलाएको उनको आरोप छ।

शुक्रबार वडा कार्यलयमा सञ्चारकर्मीसँग कुरो गर्दै वडा नम्बर ९ का नेकपा एमालेबाट निर्वाचित भएका वडा अध्यक्ष साहले नगर प्रमुखले आफ्नो नजिकको व्यक्तिलाई वडाको सिफारिश बिना रकम दिने तथा गरिव असहायलाई सिफारिश गरेर पठाउँदा फाइल नै गायव गरिदिएको आरोप लगाएका छन्।

बैठकमा सादा पानामा हस्ताक्षर गराएर मनोमानी ढंगबाट योजना लेख्ने गरेको बताउँदै आवाज उठाउँदा धम्कि दिने गरेको गुनासो गरे। आर्थिक वर्ष २०७९/८० मा आर्थिक सहयोगको लागि गरेको सिफारिशसहितको फाइल नै गायव गरिदिएको स्थानीय ठगा साहले बताए।

एक वर्ष पहिला नै छोरीको बिबाह गरेको र सहयोगको लागि निवेदन दिएकोमा अहिलेसम्म रकम नपाएको गुनासो गरे।

वडा नम्बर ८ का स्वतन्त्र निर्वाचित भएका वडा अध्यक्ष शिव प्रसन यादवलाई समेत उपेक्षित गर्ने मेयर रिना साहले आफ्नो पक्षको सम्पन्न व्यक्तिलाई सोझै आर्थिक सहयोग दिने गरेको स्थानीयले बताए। स्थानीय नरेश यादवले एक वर्षदेखि दौड धुप गरे पनि अहिलेसम्म रकम नपाएको गुनासो गरे।न्युज कारखाना

काठमाडौं, २६ माघ ।

गोपीकृष्ण सिनेमा हल आगामी १ फागुनेदेखि बन्द हुने भएको छ ।

 

गोपीकृष्ण सिनेमा हल आगामी १ फागुनेदेखि बन्द हुनेबारे शुक्रबार गोपीकृष्ण मुभिज प्रालिले विज्ञप्ति जारी गरेर जानकारी दिएको हो ।

 

कोरोनाकालदेखि चलचित्र क्षेत्रमा आएको व्यावसायिक मन्दी र राज्यको राज्यको विद्यमान कर प्रणालीको कारण १ फागुनदेखि हल बन्द गने निर्णय लिइएको प्रबन्ध निर्देशक नीरक पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
गोपीकृष्ण सिनेमा हल २०५२ सालदेखि सञ्चालनमा आएको थियो । न्युज कारखाना

काठमाडौं, २६ माघ ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टीका जनसम्पर्क समितिका पदाधिकारीसँग भर्चुअल संवाद गरेका छन्। आसन्न फागुन ७—१० मा हुने कांग्रेसको महासमिति बैठकमा प्रवासमा रहेका नेपालीहरुको विचार समेट्न नेता महरले संवाद गरेका हुन् ।

 

छलफलमा जनसम्पर्क समितिका समस्या, पार्टीसँगका अपेक्षा, पार्टीले चाल्नुपर्ने कदम र नेपालमा लगानीको वातावरण निर्माण लगायतका एजेण्डा थिए । नेपाल जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द विष्ट, क्यानडाका सभापति प्रदीपप्रकाश ओली, नेदरल्याण्डका सालिक गौतम, बहराइनका पद्यमसुन्दर गुरुङलगायत ३५ जना सहभागी थिए ।

 

जनसम्पर्क समितिका सभापतिहरूले नेपालमा लगानी गर्न चाहेको र लगानीको सुरक्षाको प्रत्याभूति सरकारले गर्नुपर्ने बताएका थिए । कांग्रेस र देशका लागि आफूहरूले योगदान गरिरहेको भए पनि देशले माया नगरेको अनुभूति भइरहेको उनीहरूको गुनासो थियो ।

 

संवादका क्रममा उनीहरूले आफ्नो दोहोरो नागरिकता अलि बलियो हुनुपर्ने बताएका थिए । नागरिकतामा आफूहरूका अधिकार कम भएको गुनासो उनीहरूको थियो ।

 

नेपालको सम्पत्ति भोगचलनका सन्दर्भमा पनि नागरिकतामा धेरै कुरा अटाउन नसकेको उनीको भनाइ थियो । विदेशबाटै मतदान गर्न पाउने व्यवस्थाका विषयमा कांग्रेसले नीतिमै स्पष्टरूपमा ल्याउनुपर्ने उनीहरुको जोड थियो ।

 

सम्पर्क समितिहरूको विश्व सञ्जाल बनाएर कांग्रेस केन्द्रीय समितिमा प्रवासबाट पनि प्रतिनिधित्व गराउन उनीहरुको माग थियो ।

 

दोहोरो नागरिकताको विषय अगाडि बढिसकेको भन्दै त्यसलाई थप बलियो बनाउन पार्टीमा सुझाव दिने महरले बताएका थिए । सम्पत्तिको भोगचलन, लगानी र प्रविधि नेपालमा ल्याउने कुरामा पनि कांग्रेसले पहल गर्नेमा महरले आश्वस्त पारेका थिए।

 

विदेशमा रहेका नेपालीहरूलाई नेपालमा लगानी गर्ने वातावरण सिर्जना गर्ने पक्षमा लबिङ गर्न आफू सधैँ क्रियाशील रहेको भन्दै महरले महासमिति बैठकमा यो विषयलाई प्राथमिकताका साथ उठाउने बताए ।

 

‘विश्वमा छरिएर रहेका नेपालीहरूको योगदान बीना देश बन्न गाह्रो छ। त्यसैले मुलुकको समृद्धिका लागि उहाँहरूको साथ र सहयोगको खाँचो छ। विश्वमा छरिएर रहेका नेपालीहरूको सिप, ज्ञान, प्रविधि, क्षमता र लगानीलाई नेपालको पक्षमा सदुपयोग हुनेगरि काम गर्नुपर्छ। यो विषय म कांग्रेस महासमिति बैठकमा मेरो प्राथमिक एजेण्डा मध्ये एक हुने छ,’ उनले भने।न्युज कारखाना

राैतहट,२६ गते माघ ।

राैतहट-माैलापुरमा’असाहय सँग मेयर’ कार्यक्रममा आफूलाई बदनाम गर्न खाेजिएकाे वडा नम्बर ९ का वडा अध्यक्ष श्याम किशोर साहले बताएका छन् । आज(शुक्रबार) पत्रकारहरू सँग कुराकानी गर्दै उनले यस्ताे बताएका हुन् ।

बिवाह कार्डकाे आधारमा आफूले गरेकाे सिफारिसमा बदनाम गराउन खाेजिएकाे उनकाे भनाइ छ । नगर प्रमुख रिना कुमारी साहले राजनीतिक रिसिबी साधन खाेजेकाे उनले आराेप लगाएका छन् । बिबाहको कार्डको आधारमा गरेको सिफारिश माथि नगर प्रमुखले छानबिन नै नगरेकाे उनकाे भनाइ छ ।

नगर प्रमुख र हाकिमले आफ्नो गल्ती ढाक छोप गर्न अफवाह फैलाएको आरोप लगाएका छन् । नेकपा एमाले बाट निर्वाचित भएका वडा अध्यक्ष साहले नगर प्रमुख आफ्नो नजिकको व्यक्तिलाइ वडाको सिफारिश बिना रकम दिने गरेको पनि आराेप लगाए । गरिब असहायलाइ सिफारिश गरेर पठाउदा फाइल नै गायब गराई दिने कार्य गर्दै आएको उनकाे आराेप छ । यतिमात्र हाेईन् कि आफूहरूलाई वडाकाे बजेट बाट बञ्चित गरिदिएका छन् ।

माैलापुर वडा नम्बर ९ का स्थानीय महेन्द्र राय यादवले आफनाे छोरी सन्जु कुमारीको विवाह हुँदै गरेकाले पालिकाको निर्णय अनुसार अनुदान सहयोग उपलब्ध गराई दिन वडा अध्यक्ष साह सँग सिफारिस गराएका थिए । यता निवेदक महेन्द्र राय यादव सँग बुझदा आफनाे छाेरीकाे विवाह पाेहाेर साल भएकाे स्विकार गरे ।

तर अनुदान रकमका लागि फाईल पेश गर्दा फाईल नै नगरपालिका बाट गायब भएपछि आफू बाध्यताबस अर्काे नयाँ फाइल बनाएर पेश गरेकाे बताए । नगरपालिकाले आफूलाई सहयोग रकम बाट बञ्चित गर्न थालेपछि बाध्य भएर नयाँ बिवाह कार्ड बनाउनु परेको बताए ।

त्यसैगरी स्थानीय ठगा साहले आफनाे छाेरीकाे बिहेमा आर्थिक सहायताका लागि आवेदन दिदाँ पनि सुनुवाइ नभएको बताए । अहिलेसम्म पैसा पाउन नसकेको उनकाे भनाइ छ । मेयर सँग माग्न जादाँ पैसाकाे भकारी खुलेकाे हाे? भनेर उल्टै थर्काउने गरेकाे आराेप लगाए । अर्का स्थानीय नरेश राय यादवले आफनाे बहिनीकाे बिहेमा नगरपालिका बाट प्रदान हुँदै आएको सहयाेग माग्न जाँदा पाउन नसकेको बताए ।

नगरपालिकामा यसका लागि धाउँदा धाउँदा थाकि सकेको बताए । यता यस विषयमा माैलापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहकाे माेबाईलमा सम्पर्क गर्दा फाेन उठन सकेको छैन् ।

नुवाकोट, २६ माघ :

प्रधानमन्त्री पुष्पकमल दाहाल `प्रचण्ड´ले  आगामी बजेट उत्पादन वृद्धि र रोजगारी सिर्जनामा केन्द्रित हुने बताएका छन् । आठौं नुवाकोट महोत्सवलाई आज यहाँ सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले कृषि उत्पादन वृद्धि हुनेगरी बजेट निर्माण गरिने स्पष्ट पारे ।

 

राष्ट्रिय बजेट प्रणालीमा आमूल परिवर्तन गर्ने प्रक्रिया अघि बढेको जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले  परम्परागत बजेट प्रणालीलाई रुपान्तरण गरिने बताउनुभयो । उहाँले सरकारको नीति तथा कार्यक्रम र बजेट निर्माणका लागि सबै क्षेत्रसँग छलफल गर्ने र सुझाव लिने काम भईरहेको बताए ।

“अर्थतन्त्रका सूचक धेरै उत्साहजनक रहेका छन्, विदेशी मुद्राको सञ्चिती तथा पर्यटकको आगमन बृद्धि भएको छ”, प्रधानमन्त्रीले प्रचण्डले भने, “यसले अर्थतन्त्रलाई सही बाटोमा ल्याउन मद्धत गरेको छ, पछिल्लो समय राजस्व पनि वृद्धि भएको छ ।”

 

बजेट निर्माण प्रक्रिया अगाडि बढीको बताउँदै प्रधानमन्त्रीले नीति तथा कार्यक्रममा नुवाकोटले प्राथमिकता पाउने विश्वास दिलाए । प्रधानमन्त्री प्रचण्डले धार्मिक, ऐतिहासिक, कृषि, पर्यटन व्यवसाय र कला संस्कृतिको विकासमा सरकारले सहयोग गर्ने उल्लेख गरे । उनले नुवाकोट दरबारको पुःननिर्माणमा सरकारले ध्यान दिने बताए ।

 

सो अवसरमा विभिन्न झाँकी प्रस्तुति गरिएको थियोे ।न्युज कारखाना

ताजा अपडेट

ट्रेन्डिङ

राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न ३० अर्ब निक्षेप संकलन गर्दैएभरेष्ट न्यूज एजेन्सी, काठमाडौं । नेपाल राष्ट्र बैंकले एक महिनाका लागि ३० अर्ब बराबरको निक्षेप संकलन उपकरणको बोलकबोलमार्फत निष्काशन गर्ने भएको छ । बैंकको मौद्रिक व्यवस्थापन विभागले आज दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल प्रणालीमार्फत मात्र आवेदन दिन सकिने जानकारी दिएको छ । सोही दिन उपकरण निष्काशन हुनेछ । बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन् । लगानीकर्ताले न्यूनतम १० करोडदेखि, बढीमा १० करोडले भाग जाने गरी कुल आह्वान रकमसम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ । बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने छ भने ब्याजदर बोलकबोलमा निक्षेपबापत जम्मा गर्न चाहेको रकम र ब्याजदर (दशमलवपछिको हकमा चार अंकसम्म) उल्लेख गर्नुपर्ने छ । निक्षेप संकलनको अवधि आगामी भदौ ३१ गतेसम्म रहनेछ । सो मितिमा साँवा तथा ब्याज भुक्तानी गरिनेछ। बोल स्वीकृत गर्दा सबैभन्दा कम ब्याजदरलाई प्राथमिकता दिइने र समान ब्याजदर भएमा प्रो-राटा आधारमा बाँडफाँड गरिनेछ । बैंकले आंशिक वा पूर्ण रूपमा बोल स्वीकृत वा अस्वीकृत गर्ने अधिकार खुला बजार सञ्चालन समितिलाई रहने स्पष्ट पारेको छ । स्वीकृत बोलको रकम सम्बन्धित बैंकको खाताबाट कट्टा गरी राष्ट्र बैंकमा छुट्टै खातामा जम्मा गरिनेछ । पर्याप्त मौज्दात नभए सम्बन्धित संस्था कालोसूचीमा राखिने चेतावनी समेत दिइएको छ । यो रकम सम्बन्धित संस्थाको लगानी पोर्टफोलियोमा रहनेछ र अनिवार्य नगद मौज्दात (सीआरआर) मा गणना गर्न पाइने छैन । तर, तरलता अनुपात (एसएलआर) र तरलता अनुपातमा भने गणना गर्न सकिनेछ । भुक्तानी मिति अघि रकम फिर्ता वा पूर्वभुक्तानी नहुने पनि राष्ट्र बैंकले स्पष्ट गरेको छ ।

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।