२०८२ चैत्र ३०
२०८२ चैत्र ३०

सडक आन्दोलनमा आएको जेन–जी पुस्ताले काठमाडौंको माछापोखरीमा रहेको गुणस्तर तथा नापतौल विभागमा आगजनी गरेका छन् । मंगलबार प्रदर्शनकारीले देशभरका सरकारी कार्यालय र नेताका निवासहरूलाई लक्षित गरेर आगजनी र तोडफोड गरिरहेका छन् ।

प्रदर्शनकारीहरू सङ्घीय संसद् भवनमा छिरेका छन्। सोमबार गरेको आन्दोलनमा प्रहरी दमन भएको विरोधमा उत्रिएका प्रदर्शनकारी संसद् भवन प्रवेश गरेका हुन्।

यस अघि सोमबार यहाँ भएको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा १९ जनाको मृत्यु भएको थियो ।

काठमाडौं । रास्वपाका सबै सांसदहरुले सामूहिक राजीनामा दिएका छन् । यस्तो विज्ञप्ति जारी गर्दै उनीहरु सबैले सामूहिक राजीनामा दिएका हुन् ।

वि.सं. २०८२ भदौ २४
ने.सं.११४५ ञंलागा द्वितीया
आदरणीय आम नेपाली आमाबुबा, दाजुभाई तथा दिदीबहिनीहरु,
सामूहिक राजीनामा
देशमा व्याप्त भ्रष्टाचार, कानूनी शासनको अवहेलना, क्रुर राजनीतिक अभ्यास र सामाजिक सञ्जाल बन्द गरेर अभिव्यक्ति स्वतन्त्रता खोसिएको विरुद्धमा नेपालको पछिल्लो पुस्ता जेनजीद्वारा आयोजित आजको प्रदर्शनमा सरकारले गरेको बर्बर दमनको राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दल भर्त्सना गर्दछ।
निहत्था नवयुवाहरूले गरेको शान्तिपुर्ण लोकतान्त्रिक आन्दोलनको पहिलो प्रहरमै सरकारले गरेको आमहत्याको हामी घोर निन्दा गर्दै चेतावनी दिन्छौँ: आफ्नै सन्तानको रगतमा लत्पतिएर कुशासन लम्ब्याउने कुचेष्टा अब जनताले सहने छैनन् र यो आततायी शासनको जनप्रतिवाद हुनेछ ।
वर्तमान सरकारको औचित्य पूर्णत: समाप्त भइसकेको परिप्रेक्षमा देहाय बमोजिम प्रस्ताव गर्दछौः
१) प्रधानमन्त्रीको तत्काल राजीनामा
२) घटनाको निष्पक्ष छानविन गर्न उच्चस्तरीय न्यायिक छानविन आयोग गठन
३) सर्वपक्षीय नागरिक सरकार
४) प्रधानमन्त्री, गृहमन्त्री, सञ्चारमन्त्री साथै काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई बर्खास्तीका साथै हिरासतमा लिई सबै दोषीमाथि कडा कारबाही गर्न माग गर्दछौँ ।
५) संविधान संशोधनको प्रक्रिया आरम्भ
‍६) ठूला भ्रष्टाचारका काण्डहरुको छानबिनका लागि अधिकार सम्पन्न आयोग गठन
वर्तमान संघीय संसदले कुनै पनि राष्ट्रिय मुद्दाको हल निकाल्न असमर्थ भई वैधता गुमाएको निष्कर्षमा पुग्दै आगामी निकासका लागि शिघ्र अन्तरिम नागरिक सरकार गठनको प्रस्ताव गर्दै, सरकारबाट हत्या गरिएका जेनजी योद्धाहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै घाइते भएका सबैको शिघ्र एवं निःशुल्क उपचारको पक्षमा रहँदै, देशको मुख्य सम्पति जेन जीको माग र अपेक्षामा पूर्ण समर्थन र निरन्तर आन्दोलनमा रहने समर्पणकासाथ हामी राष्ट्रिय स्वतन्त्र पार्टीका सबै प्रतिनिधिसभा सदस्यहरु (साँसदहरु) ले सामूहिक राजीनामा दिने सचिवालयको प्रस्तावमा संसदीय दल एकमत रहेको जानकारी गराइन्छ।

१. रवि लामिछाने, संसदीय दलको नेता
२. डोल प्रसाद अर्याल, संसदीय दलको पूर्वनेता
३. डा. स्वर्णिम वाग्ले, सदस्य
४. विराजभक्त श्रेष्ठ, संसदीय दलको उपनेता
५. सन्तोष परियार, प्रमुख सचेतक
६. निशा डाँगी, सचेतक
७. मनिष झा, कोषाध्यक्ष
८. सुमना श्रेष्ठ, सदस्य
९. गणेश पराजुली, सदस्य
१०. सोबिता गौतम, सदस्य
११. डा.तोसिमा कार्की, सदस्य
१२. शिशिर खनाल, सदस्य
१३. हरि ढकाल, सदस्य
१४. प्रा.डा. चन्दा कार्की (भण्डारी), सदस्य
१५. असिम शाह, सदस्य
१६. लक्ष्मी तिवारी, सदस्य
१७. अशोक कुमार चौधरी, सदस्य
१८. शिव नेपाली, सदस्य
१९. बिनिता कठायत, सदस्य
२०. विन्दवासिनी कांसकार, सदस्य

डोल प्रसाद अर्याल, कार्यवाहक सभापति
संसदीय दलको पूर्वनेता

जनकपुरधाम । सर्लाहीको लालबन्दी नगरपालिका क्षेत्रमा कर्फ्यु लगाइएको छ ।

जेन जी आन्दोलनकारीहरुले नगरपालिका कार्यालयमा आगजनी गरेपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यु लगाएको हो ।

प्रदर्शनकारीहरुले नगरपालिका कार्यालयसहित कार्यालय परिसरमा रहेको स्काभेटर लगायतमा समेत आगो लगाएको स्थानीयले बताएका छन् । त्यस्तै, नवलपुर चोकस्थित पार्कलगायत स्थानमा समेत प्रदर्शनकारीहरुले तोडफोडसहित आगजनी गरेका छन् ।

भिड अनियन्त्रित भएका कारण लालबन्दी नगरपालिका क्षेत्रमा मंगलबार दिउँसो १ बजेदेखि अर्को सूचना नआउञ्जेल प्रमुख जिल्ला अधिकारीले कर्फ्यु आदेश जारी गरेको जिल्ला प्रहरी कार्यालय मलंगवाका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) सरोज राईले जानकारी दिए । कर्फ्यु आदेश जारी भएपछि लालबन्दी बजार क्षेत्रमा र्‍याली, जुलुस एवं दुई वा दुई भन्दाबढी समूहमा हिँड्डुलमा प्रतिबन्ध लगाइएको प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठले जानकारी दिए ।

त्यसैगरी जेनजीको प्रदर्शनका क्रममा प्रदर्शनकारीले इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको गाडीमा आगजनी गरेका छन् ।

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर घेराउ गरेर जेनजीले प्रदर्शन गर्न थालेपछि प्रहरीले दर्जनौं राउण्ड हवाई फायर र अश्रुग्यास प्रहार गरेको छ । जेनजीको प्रदर्शन हिंसात्मक हुन नदिन प्रहरीले संयमता अपनाएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख प्रहरी नायब उपरीक्षक रुपा लाबुंगले बताए ।

542376172_2469873479

चन्द्रनिगाहपुरको अवस्था तनावग्रस्त भएपछि जिल्ला प्रशासन कार्यालय रौतहटले साढे ११ बजेदेखि लागू हुने गरी अर्को सूचना जारी नभएसम्मका लागि चन्द्रपुर नगरपालिका भित्र कर्फ्यु जारी गरेको छ । उत्तरमा चन्द्रनिगाहपुर चोकदेखि गैडाटार जाने बाटोको पानी ट्याङ्कीसम्म, पूर्वमा चन्द्रनिगाहपुर चोकदेखि चाँदी खोलाको पूल पारीसम्म, दक्षिणमा चन्द्रनिगाहपुर चोकदेखि घोडदेवी मन्दिरसम्म र पश्चिममा चन्द्रनिगाहपुर चोकदेखि महेन्द्र राजमार्गको जिल्ला ट्राफिक प्रहरी कार्यालयको पोष्टसम्म कर्फ्यु लगाइएको रौतहटका प्रमुख जिल्ला अधिकारि बिनोद कुमार खडकाले जानकारी दिए। कर्फ्यु लागेको सिमाना भित्र आवतजावत गर्न, भेला, जुलुस प्रदर्शन, सभा, बैठक तथा घेराउ गर्न नपाउने जिल्ला प्रशासन कार्यालय रौतहटद्वारा जारी कर्फ्यु आदेशमा उल्लेख गरिएको छ ।

कर्फ्यु अवधिभर अत्यावश्यक सेवाका सवारी साधन, एम्बुलेन्स, दमकल, शव बाहन, स्वास्थ्यकर्मीको सवारी साधन, सञ्चारकर्मी, पर्यटक सवारी साधन, मानव अधिकार तथा कूटनीतिक नियोगका सवारी साधन र हवाई टिकटको आधारमा हवाई यात्रुको आवागमनमा सुरक्षाकर्मीबाट सहजीकरण हुने कर्फ्यु आदेशमा उल्लेख छ । कर्फ्यु जारि भए पनि जेनजीको प्रदर्शन रोकिएको छैन ।

यसअघि जेन जीले चन्द्रपुर नगरपालिका भवनमा आगजनी गरेका थिए । आगलागीले नगरपालिकाको एउट गाडी, दुई वटा स्कुटर र एउटा पानी ट्याङ्कर जलेर नष्ट भएको छ । आगो लागेर नगरपालिकाको नयाँ भवनको छेउमै रहेको पुरानो भवनमा क्षति पुगेको छ । आगलागीले नगरपालिकाको महत्त्वपूर्ण कागजात जलेर नष्ट भएको छ ।

काठमाडौँ — जेनजीको आन्दोलन बढ्दै गएपछि स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले राजीनामा दिएका छन् ।

 

पौडेलले मंगलबार पदबाट राजीनामा दिएका हुन् । उनी नेपाली कांग्रेसबाट राजीनामा दिने चौथो मन्त्री हुन् ।

यसअघि गृहमन्त्री रमेश लेखक, युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी र कृषि तथा पशुपंक्षीमन्त्री रामनाथ अधिकारीले राजिनामा दिएका थिए ।

गण्डकी प्रदेश सरकारका ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्री फणीन्द्र देवकोटाले पदबाट राजीनामा दिएका छन् । मंगलबार (भदौ २४) उनले राजीनामाको घोषणा गरेका हुन् ।

‘जेनजी’ पुस्ताको प्रदर्शनमा केन्द्र सरकारले दमन गरेको र १९ जनाको मृत्यु भएको उनले उल्लेख गरेका छन् । उनी नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का तर्फबाट मन्त्री बनेका हुन् ।

 

मन्त्रीबाट फिर्ता हुन पार्टीले पनि निर्देशन दिएको उनले जनाएका छन् । उनी नेकपा (माओवादी केन्द्र)को चुनाव चिह्नबाट निर्वाचित प्रदेशसभा सदस्य हुन् ।

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले आन्दोलन हिंसात्मक र अराजक हुन नहुनेमा जोड दिएका छन् । ‘जेनजी’ पुस्ताको विरोध प्रदर्शन आमचासोको विषय बनेको उनले उल्लेख गरेका छन् ।

“…पछिल्लो पुस्ताको यो आन्दोलन हिंसात्मक नबनोस्, अराजक नरहोस् र यसमा कसैको घुसपैठ नहोस् भन्ने धारणा राखिबक्सेको

press-release-1757404801.jpg

काठमाडौँ । मधेसका मुख्यमन्त्री सतिस सिंहले राजीनामा दिएका छन् । केन्द्रीय अध्यक्ष सीके राउतको निर्देशनअनुसार उनले मंगलबार पदबाट राजीनामा दिएको एक नेताले बताए ।

उक्त पार्टीले केन्द्रमा केपी ओली नेतृत्वको सरकारलाई दिँदै आएको समर्थन पनि फिर्ता लिएको छ ।

बारा — जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी प्रकाश पाैडेलले सूचना जारी गरी अहिले मंगलबार दुई बजेदेखि राति ८ बजेसम्म कर्फ्यु आदेश जारी गरेका हुन् ।

 

कलैयाकाे पूर्वमा पसाहा खाला पश्चिममा गण्डक, उतरमा बडहर्वा र दक्षिणमा दुर्गा मावि बरेवासम्मकाे क्षेत्रमा कर्फ्यु आदेश जारी गरिएकाे हाे ।

यस्तै, वीरगन्ज छेउकाे गण्डक नहर परवानीपुरदेखि पथलैयासम्मकाे राजमार्गकाे २ सय मिटर वरिपरि कर्फ्यु आदेश जारी भएकाे हाे । कलैयामा प्रदर्शन चर्किएसँगै ताेडफाेड र आगजनी भएपछि प्रहरीले अश्रु ग्यास प्रहार गरेकाे छ । एमाले पार्टी कार्यालय नजिक अश्रु ग्यास प्रहार गरिएकाे हाे ।

जनकपुर — जनमत पार्टीको नेतृत्वमा रहेको मधेश प्रदेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंहले पदबाट राजीनामा दिने भएका छन् । उनलाई मुख्यमन्त्री पदबाट राजीनामा गर्न जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले निर्देशन दिएका छन् ।

 

मुख्यमन्त्री सिंहले प्रकृया पुर्‍याएर मंगलबार नै पदबाट राजीनामा गर्ने जनाएका छन् । कान्तिपुरसँग कुरा गर्दै मुख्यमन्त्री सिंहले पार्टी अध्यक्ष राउतको सल्लाहमै आफू पदबाट राजीनामा गर्न लागेको बताए ।

‘जनताले नै चुनेर हामीलाई यो ठाउँसम्म पुर्‍याएको हो, मुख्यमन्त्री सिंहले भने,‘जनताभन्दा ठूलो कोही पनि छैन । जेन–जेडको आन्दोलनमा जुन प्रकारको क्षति भएको छ, त्यसले दुखी बनाएको छ । जनता आक्रोशि छन् ।’

जनमत पार्टीका प्रवक्ता शरद सिंह यादवले प्रधानमन्त्री केपी शर्मा ओली सरकारलाई दिइएको समर्थन पनि फिर्ता लिइएको जानकारी दिएका छन् ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।