२०८२ चैत्र २९
२०८२ चैत्र २९

काठमाडौँ, भदौ २७ गते – काठमाडौँ उपत्यका सहित देशका विभिन्न भागमा भ्रष्टाचार, कुशासन र सामाजिक संजालमाथिको नियन्त्रणको विरोधमा भएको जेनजी  आन्दोलनमाथि सरकारद्वारा गरिएको दमनको विरोधमा प्रमुख विद्यार्थी संगठनहरुले संयुक्त प्रेस विज्ञप्ति जारी गरेका छन् ।

 

प्रेस विज्ञप्तिमा आन्दोलनमा ज्यान गुमाएका युवाहरूलाई “महान शहीद”को संज्ञा दिँदै श्रद्धाञ्जली अर्पण गरिएको छ भने घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ ।

 

समाजवादी विद्यार्थी युनियन नेपाल, लोकतान्त्रिक विद्यार्थी संघ, राष्ट्रिय विद्यार्थी मंच, र जनमत विद्यार्थी संघका शीर्ष नेताहरूले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ कि “तानाशाही के.पी. ओली नेतृत्वको सरकारले आन्दोलनकारीमाथि दमनकारी नीति अपनाउँदै वर्वरतापूर्वक हत्या गरेको” भन्दै यसको कडा निन्दा गरिएको छ ।

 

विद्यार्थी संगठनहरुले जेनजी आन्दोलनलाई “ऐतिहासिक” भन्दै समर्थन जनाएका छन् । उनीहरूको भनाइमा, यो आन्दोलनले देशमा व्याप्त भ्रष्टाचार, राजनीतिक अस्थिरता, र सामाजिक-आर्थिक अन्याय विरुद्ध युवाहरूको आक्रोशलाई प्रतिनिधित्व गर्छ ।

 

विज्ञप्तिमा संविधान निर्माणको बेला मधेशी, आदिवासी जनजाति, दलित, थारु, मुस्लिम लगायतका उत्पीडित समुदायलाई किनारा लगाइएको भन्दै त्यसले असन्तुष्टि चुल्याएको उल्लेख गरिएको छ । वर्तमान संविधानमा भएका त्रुटिहरू संशोधन गर्दै सबै समुदायलाई समेट्ने गरी पुनः लेखनको माग पनि गरिएको छ ।

 

विद्यार्थी नेताहरूले आन्दोलनमा घुसपैठ गरी सार्वजनिक सम्पत्तिमा तोडफोड र आगजनी गर्ने अराजक तत्वहरूको छानबिन गरी कारबाहीको माग गर्दै उनीहरूलाई शान्तिपूर्ण आन्दोलनमा बदनाम गराउने प्रयास अस्वीकार्य रहेको जनाएका छन् ।

 

विज्ञप्तिमा भनिएको छ, “शान्ति र स्थायित्व कायम गर्न जेनजीको मागहरूलाई सम्मानपूर्वक सम्बोधन गर्नु आजको आवश्यकता हो।” साथै, विगतका भ्रष्टाचार र अवैध सम्पत्तिको छानबिन गरी दोषीहरूमाथि कारबाही गर्दै ती सम्पत्तिहरू राष्ट्रियकरण गर्न माग गरिएको छ ।

 

अन्त्यमा, हिमाल, पहाड, तराई–मधेशका सबै समुदायलाई समान अधिकार र सम्मानको आधारमा साझा नेपाल निर्माणमा एकजुट हुन आह्वान गरिएको छ ।

बज्जिकाञ्चल संवाददाता,राैतहट,भदौ २७ गते । 

रौतहट जिल्लाको ईशनाथ नगरपालिका–१ स्थित बकैया खोलामा नुहाउने क्रममा एक किशोर डुबी बेपत्ता भएका छन् ।

 

बिहिवार दिउँसो ३:१५ बजेको समयमा स्थानीय फौदी साहका १५ वर्षीय छोरा बिगन साह पाँच जना साथीसँग खोलामा नुहाउने क्रममा खोलाको बहाव अचानक बढेपछि बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय राैतहटले जनाएको छ ।

 

घटना सम्बन्धी खबर अपराह्न ४:१५ बजे प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बन्जराहाबाट प्रहरी निरीक्षक (प्र.ना.नि.) को कमाण्डमा दुई जना र स.प्र.नि.को कमाण्डमा चार जना गरी जम्मा ६ जनाको टोली घटनास्थलतर्फ परिचालन गरिएको थियो ।

 

अन्य चार जना बालक भने सकुशल रहेका छन् । बेपत्ता भएका बालकको खोज तथा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

 

घटना स्थल ईलाका प्रहरी कार्यालय बन्जराहाबाट पूर्वतर्फ करिब २ किलोमिटरको दूरीमा रहेको बताइएको छ ।

 

प्रहरी र स्थानीयबासीको सहयोगमा खोज तथा उद्धार कार्य तीव्र रूपमा अगाडि बढाइएको छ ।

काठमाडौं ।

सामाजिक सञ्जालमा जेनजीका अलग–अलग समूहहरु खडा भएपछि आपसी विवाद र लफडा सतहमा आइरहेको छ ।

काठमाडौंको रिपोर्ट्स क्लबमा कार्यक्रमका लागि जम्मा भएका युवाहरूबीच नै एकआपसमा झडप भएको छ । अन्तरिम मन्त्रिपरिषद्को नेतृत्व लिने विषयमा समूह नै पिच्छे छुट्टाछुट्टै नाम अघि सारेपछि उनीहरूबीच नै विवाद भएको हो ।

जेनजीको कार्यक्रममा पार्टीका मान्छेहरुले जेनजी बनेर उपस्थिति जनाएको भन्दै मनमुटाव सुरु भएको हो । लफडा भएपछि कार्यक्रम नै स्थगित गरिएको छ ।
केन्द्रबिन्दु

सरकारले हालै मात्र सवारीसाधनमा जबर्जस्ती इम्बोस्ड नम्बर अनिवार्य प्रयोग गर्नुपर्ने गरेको निर्णयका विषयमा त्रिपन्नओटा संघसंस्थाले ध्यानाकर्षण गराउँदै प्रेसविज्ञप्ति जारी गरेका छन् । उक्त संस्थाहरूको आज बसेको संयुक्त बैठकले विज्ञप्ति जारी गरेको हो ।

विज्ञप्तिको पूर्णपाठ यसप्रकार रहेको छ-

ससम्मान नेपाली अक्षर प्रयोग गर्न सरकारको ध्यानाकर्षण 

“नेपाली भाषाप्रेमी नागरिक, साहित्यिक/सांस्कृतिक सङ्घसंस्था र सरोकारवाला कसैसँग पनि कुनै प्रकारको छलफल, सरसल्लाह र परामर्श नगरीकन नेपाल सरकारले एकतर्फी निर्णय गरी अङ्ग्रेजी अक्षर मात्र लेखिएको इम्बोस्ड नम्बर प्लेट लागू गर्न जबर्जस्ती गर्न लागेको कदमप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।  नेपालभित्रैका सवारीसाधनहरूमा प्रयोग हुने नम्बर प्लेटबाट नेपाली अक्षरलाई अपमानपूर्वक हटाइनु नेपालको संविधान, सरकार आफैँले निर्णय गरी राजपत्रमा निकालेको सूचना र आम नेपाली जनताको मर्म र भावना विपरीत भएकाले तत्काल यो भाषाघाती निर्णय सच्याई नम्बर प्लेटमा ससम्मान नेपाली अक्षर प्रयोग गर्न सरकारको ध्यानाकर्षण गराएका छाैँ ।  यदि यो निर्णय नसच्चिए यसबाट उत्पन्न हुने सबै परिणामप्रति सरकार नै जिम्मेवार हुनुपर्ने कुरा पनि अत्यन्तै गम्भीरता र जिम्मेवारीपूर्वक सरकारलाई यही विज्ञप्तिमार्फत् अवगत गराउँदछाैँ ।

  1. राधेश्याम लेकाली, अध्यक्ष- साहित्यिक पत्रकार सङ्घ
  2. मोहन दुवाल, अध्यक्ष- नेपाल साहित्यिक पत्रकार सङ्घ
  3. विजयराज आचार्य, अध्यक्ष- नेपाल बालसाहित्य समाज
  4. श्रीओम श्रेष्ठ “रोदन”, अध्यक्ष- नेपाल स्रष्टा समाज
  5. जलेश्वरी श्रेष्ठ, अध्यक्ष- गुन्जन
  6. पद्मावती सिंह, कोषाध्यक्ष- शंकर लामिछाने प्रतिष्ठान
  7. प्रतीक ढकाल, अध्यक्ष- पर्वतीय साहित्य समाज नेपाल
  8. प्रद्युम्न जोशी, सदस्य-सचिव -वासु शशी स्मृति परिषद
  9. तुलसीहरि कोइराला, अध्यक्ष- लघुकथा समाज नेपाल
  10. पवन आलोक, प्रधान सम्पादक – अभिव्यक्ति साहित्यिक द्वैमासिक
  11. गार्गी शर्मा, महासचिव – नेपाल साहित्य मन्दिर
  12. किशोर पहाडी, प्रधान सम्पादक- शब्दपथ
  13. रामकाजी कोने, अध्यक्ष – नेपाल मुक्तक प्रतिष्ठान
  14. मोमिला जोशी, अध्यक्ष -नेपाली कला साहित्य डटकम
  15. विमल भौकाजी, सम्पादक – शारदा मासिक
  16. मन्जिला अनिल, अध्यक्ष – सखी प्रतिष्ठान
  17. डा. सावित्री श्रेष्ठ, संरक्षक -सिद्धिश्वरमान अक्षलोक साहित्यिक केन्द्र
  18. मिथिला शर्मा, अध्यक्ष -चेतन कार्की स्मृति समाज
  19. शङ्कर भारती, अध्यक्ष -उपन्यास समाज नेपाल
  20. उमेश पाण्डे, अध्यक्ष – संसाक तथा इसंसाक.कम
  21. भवानी खतिवडा, महासचिव -नियात्रा समाज नेपाल
  22. रन्जना निरौला, अध्यक्ष -यशस्वी प्रज्ञा-प्रतिष्ठान
  23. रमेश खनाल, निर्देशक -अरुपण आर्ट ग्यालरी, नेपाल
  24. बुद्धिमान महर्जन, अध्यक्ष -लालित्य सिर्जना समाज
  25. शान्ति न्यौपाने रिसाल, अध्यक्ष – गोकर्णेश्वर कला साहित्य प्रतिष्ठान
  26. हरिमन्जुश्री, अध्यक्ष -शब्दयात्रा प्रकाशन
  27. जलेश्वरी श्रेष्ठ, अध्यक्ष -जलरिका साहित्य प्रतिष्ठान
  28. गीता कार्की, अध्यक्ष -नारी साहित्य प्रतिष्ठान
  29. सुभद्रा दाहाल, अध्यक्ष -पनौती साहित्य समाज
  30. हिरण्यकुमारी पाठक, सम्पादक -नारी स्वर द्वैमासिक
  31. विजयध्वज थापा, अध्यक्ष -लीलाध्वज थापा साहित्य प्रतिष्ठान
  32. छविरमण सिलवाल, अध्यक्ष -सुनकोशी वाङ्मय प्रतिष्ठान
  33. विश्वविमोहन श्रेष्ठ, अध्यक्ष -एपेक नेपाल
  34. कृष्ण प्रसाईं, अध्यक्ष -जरा फाउन्डेसन, नेपाल
  35. विनोद नेपाल, अध्यक्ष -भूगोल साहित्य समाज
  36. डा. शैलेन्दुप्रकाश नेपाल, अध्यक्ष -पूर्णप्रकाश नेपाल यात्री अध्ययन तथा अनुसन्धान केन्द्र
  37. सिर्जना दुवाल, सचिव -जनमत वाङ्मय प्रतिष्ठान नेपाल
  38. रमेश दाहाल, कार्यकारी सम्पादक -अनेसास दर्पण
  39. धीरकुमार श्रेष्ठ, प्रधान सम्पादक -शब्दाङ्कुर मासिक
  40. जयदेव भट्टराई, सम्पादक -आरब्ध द्वैमासिक साहित्यिक पत्रिका
  41. डा. दामोदर पुडासैनी, अध्यक्ष -दामोदर पुडासैनी प्रतिभा पुरस्कार कोष
  42. विक्रमभक्त जोशी, संस्थापक अध्यक्ष -प्रभुभक्त – छोरी नानी वर्ष पुस्तक
  43. रामप्रसाद पन्त, अध्यक्ष -दायित्व वाङ्मय प्रतिष्ठान
  44. लक्ष्मी उप्रेती, सम्पादक/ प्रकाशक -वनिता
  45. सुनिल अधिकारी, अध्यक्ष -हातेमालो साहित्य संगम
  46. निलान्जला भारद्वाज, अध्यक्ष -मुक्तालय नेपाल
  47. डा. बमबहादुर जिताली, अध्यक्ष -मन्जुश्री साहित्यिक समाज
  48. मदन नेपाल, अध्यक्ष -हामी र हाम्रो कृति समाज
  49. ममता मृदुल, अध्यक्ष -नारी स्रष्टा समाज
  50. भानुप्रकाश जोशी, उपाध्यक्ष -ललित साहित्य समाज
  51. मीनदेवी कार्की, अध्यक्ष -सङ्गीत देवालय
  52. डा. विष्णुकुमार खत्री, महासचिव -नेपाली वाङ्मय प्रतिष्ठान
  53. अनुपमा रेग्मी, सचिव -चारुशीला वाङ्मय प्रतिष्ठान”

जेन जी पुस्ताले २०८२ भाद्र २३ गते सुरु गरेको शान्ति पूर्ण प्रदर्शन र त्यस पछिका विकसित घटनाक्रम प्रति सिजपको गम्भीर ध्यानाकर्षण भएको छ ।
भ्रष्टाचार, बेथितिका विरुद्ध भएको आन्दोलनमा बालबालिका र युवा गरी ५१ जनाले ज्यान गुमाईसकेका छन् । जसमध्ये १८ वर्ष भन्दा कम उमेरका ४ जना बालबालिकाको समेत मृत्यु भएको कुरा आधिकारिक रुपमा पुष्टि भएको छ, भने १००० भन्दा बढि घाइते छन् । मृतक बालबालिका तथा युवाप्रति भावपूर्ण श्रदाञ्जली र यस दुखद घडीमा परिवारजनमा समवेदना व्यक्त गर्दछौँ । प्रदर्शनका क्रममा घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना सहित निःशुल्क र प्रभावकारी उपचारको लागि सरकारसँग जोडदार माग      गर्दछौँ ।
प्रहरी दमन र मानव अधिकारको चरम उल्लंघन प्रदर्शनमा मानवीय क्षति त्यसपछिको परिस्थितिमा कार्यपालिका, न्यायपालिका, व्यवस्थापिका, सरकारी तथा निजी घर उद्योग, समाचार गृह, संघसंस्थाका कार्यालय, विद्यालयहरूमा आगजनी, तोडफोड, लुटपाट जस्ता गतिविधि भएका छन् । हिंसा बलात्कार, ज्यानमार्ने, सहकारी ठगी, मानव बेचबिखन लगायतका कार्यमा संलग्न भई अपराधको सजाय भोेगिरहेका १३००० जना जेलबाट बाहिर निस्कनु, यसैमा विभिन्न बालसुधार गृहमा रहेकाहरू बालविज्याईँका मुद्धाका सजाय काटिरहेकाहरूको समेत गोलीबाट ५ जनाको मृत्यु तथा धेरैजना घाइते भएका घटनाहरूप्रति खेद र भत्सर्ना प्रकट गर्दछौँ । यी सबै घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै समग्र घटनाको उच्च स्तरीय न्यायिक आयोग गठन गरी छानविन गर्र्न र दोशीमाथि कारवाही गर्न हामी जोडदार माग गर्दछौँ ।
जस्तोसुकै असहज परिस्थितिमा पनि सुरक्षित पूर्वक बाच्ने, संरक्षण हुन पाउनुपर्ने बालबालिका अधिकार हो । संचार माध्यममा प्रकाशित प्रसारित विभिन्न हिंसात्मक घटनाक्रममा बालबालिका विद्यालय पोशाकमा नै स्वयम्को संलग्नता हुनु, अभिभावकहरू नै सडकमा उत्रनु, बालबालिका घाइते र मृत्यु हुनु लगायतका समाचारले बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियानलाई चिन्तित बनाएको छ । वर्तमान अवस्थामा विद्यालय बन्द भएका छन्, कतिका विद्यालय जलेका पनि छन्, बालबालिकाका कलिलो मानसिकतामा हजारौँ प्रश्नका लहर उठेका छन्, मानसिक स्वास्थ्यमा नै समस्या पर्ने अवस्था छ । बाल संरक्षण, विद्यालय र बालबालिका शान्ति क्षेत्र हुन्, बालबालिका राष्ट्रिय गौरव हुन भन्ने अवधारणालाई समेत जोखिममा पारेको देखिएको छ । पर्दशनका क्रममा दमन, त्यसपछि सार्वजनिक सम्पत्तिमाथि आगोलागी, लुटपाट, निशेध आज्ञा, क¥र्फू, विद्यालय बन्दले गर्दा बालबालिकाको सुरक्षित र संरक्षित हुनपाउने, शिक्षा पाउने, स्वतन्त्र रूपमा हिड्डुल र खेलखेल्न साथीहरूसँग घुलमिल गर्ने, बालमैत्री ढङ्गबाट रमाउन पाउने अधिकारमा समेत हनन् भएको छ ।
विभिन्न हिंसात्मक गतिविधिले बालबालिकालाई नकारात्मक मानसिक असर परिरहेको छ । यसै बिचमा बालबालिकाको राष्ट्रिय पर्वको रुपमा मानाइने राष्ट्रिय बाल दिवस भाद्र २९ गते पनि ओझेलमा परेको छ । सामाजिक संघसंस्था, शिक्षकका संघसंङ्गठन, संस्थाहरू, तिनैतहका सरकार, स्थानीय बाल अधिकार समिति, शिक्षा समिति, निजी क्षेत्र, सुरक्षा निकाय, अभिभावक, बालबालिका, विद्यालय व्यवस्थापन समिति, विद्यालय, शिक्षक अभिभावक संघ, युवा समूह, बाल क्लब लगायतका सम्बद्ध सरोकारवालाले यस विषम परिस्थितिमा उनीहरूको शिक्षा, स्वास्थ्य, संरक्षणमा ध्यान दिन, मनोविमर्श सेवा, शान्ति सम्बन्धी सन्देशमुलक कक्षाहरू चलाउदै बालबालिकाको मनोविज्ञानलाई सकारात्मकता तर्फ जोड दिनुपर्ने अवस्था सिर्जना भएको छ । पर्दशन, आन्दोलन, त्यसपछिका परिस्थितिले निम्त्याउनसक्ने जोखिमहरूबाट आफू र आफ्ना बालबालिकालाई जोगाउदै अपाङ्गता भएका, गर्भवती तथा सुत्केरी महिला, लैङ्गिक तथा यौनिक अल्पसंख्यक, जोखिममा परेका, रोजगारीका अवसर गुमाएका बाबुआमाका छोराछोरी, गाउँघर, देश बाहिर रहेका अभिभावकका बालबालिकालाई विशेष ध्यान दिन, सहजता र सुरक्षामा ध्यान दिँदै सकारात्मक सन्देशमूलक सन्देशहरू मात्र प्रवाह गर्न, बालमैत्री वातावरण सिर्जना गर्ने तथा बालबालिकालाई समय दिने, बालबालिकासँगै सुरक्षित रहेर सकारात्मक खेलहरू खेल्ने, बाल अधिकार उलंघनका घटनाहरू र जोखिममा पर्नसक्ने अवस्थामा तत्काल नजिकका सुरक्षाकर्मी र बाल हेल्पलाइन सेवामा (१०९८)मा खबर गर्न सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै क्रमिक रूपमा विद्यालय सञ्चालन गर्न हार्दिक अपिल गर्दछौँ ।
विषम परिस्थितिमा राष्ट्रिय मानव अधिकार आयोग सहित ८ वटा नै संवैधानिक आयोगहरुलाई बाल अधिकार केन्द्रित अनुगमन गर्न र आन्दोलनरत जेनजी पुस्ताले भ्रष्टाचार, अनियमितता विरुद्ध उठाएका मागहरूलाई पूरा गर्न नेपालको संविधान भित्रै रहेर लोकतन्त्र, गणतन्त्र तथा प्राप्त उपलब्धिहरूलाई जोगाउँदै राजनीतिक निकास निकाल्न अपिल र अनुरोध गर्दछाँै ।

अश्विन दानी

नेपाल फेरि एउटा परिवर्तनको ऐतिहासिक मोडमा उभिएको छ । दशकौं लामो राजनीतिक संक्रमण, जनताको राज्यप्रति असफल आशा र भ्रष्टाचारले थकित जनतामा विशेषगरी नयाँ पुस्ता-जेन जेड (Gen Z) उठेर आएको छ ।

सोसल मिडियामा प्रतिबन्ध, अभिव्यक्ति स्वतन्त्रतामा हस्तक्षेप, र नातावाद–भ्रष्टाचारको श्रृङ्खलाबद्ध गुनासोले यो पुस्ता सडकमा निस्कियो । ‘जेन जेड आन्दोलन’ले मुलुकभर राजनीतिक चेतना र जनदबाबको नयाँ तरंग ल्यायो ।

आन्दोलनको मूल कारण अभिव्यक्ति स्वतन्त्रतामाथि प्रतिबन्ध, नातावाद-भ्रष्टाचार, र दलहरूको अकर्मण्यता नै हो ।

युवापुस्ताको आक्रोश सडकमा उम्लियो, २१ जनाको ज्यानको बलिदान भयो, र अन्ततः प्रधानमन्त्रीको राजीनामासहित अन्तरिम सरकारको बाटो खुलेको छ ।

अन्तरिम सरकार अस्थायी हुन्छ, तर यसले भावी राजनीतिक संस्कृतिको दिशा निर्धारण गर्छ। त्यसैले तीन आधारभूत मान्यता आवश्यक छन् ।

समावेशिता : दलका अनुहार मात्र होइन, प्रष्ट छवि भएका बुद्धिजीवी, पेशेवर र युवा प्रतिनिधि अनिवार्य ।

समयसीमा : अधिकतम १२ महिना, अन्तरिम सरकार आफैंमा स्थायी विकल्प होइन, निर्वाचनतर्फको पुल हो।

न्यूनतम साझा कार्यक्रम : ठूलो सपना होइन, तर तुरुन्त लागू गर्न सकिने व्यावहारिक सुधारहरू

यस्तो संरचनाले अस्थिरता घटाउँछ, विश्वास बढाउँछ, र नयाँ नेपालको सम्भावना खोल्छ ।

अब प्रश्न उठ्छ-अबको नेपाल कस्तो बनाउने ?

उत्तर स्पष्ट छ-यस्तो नेपाल जसले लोकतन्त्रलाई परिपक्क बनाओस्, पारदर्शी, जवाफदेही सुशासनसहितको सरकार बनोस् जसले अबका युवा पुस्ताको भविष्य स्वदेशमा नै सुनिश्चित गर्न सकोस् ।

लोकतन्त्रको पुनर्जागरण

नेपालको लोकतन्त्रले दशकौंयता संघर्ष भोगेको छ। भोट त हुन्छ, तर जनविश्वास न्यून छ। अबको सुधार यसरी  हुनुपर्छ :-

यी सुधारहरू बिना लोकतन्त्र केवल औपचारिक अभ्यासमै सीमित रहन्छ।


युवापुस्ताको माग र भविष्य

‘जेन जेड’ आन्दोलनले राज्यलाई स्पष्ट सन्देश दिएको छ-हामीलाई सुन्नुपर्छ, अवसर दिनुपर्छ।
त्यसैले:-

यदि यी कदम चालिएनन् भने नयाँ पुस्ताले फेरि निराशा अनुभव गर्नेछ, जसको परिणाम अझ ठूलो अस्थिरता हुन सक्छ।


डिजिटल स्वतन्त्रता र पारदर्शिता

सोसल मिडियामा प्रतिबन्ध लगाएर आन्दोलनलाई दबाउन खोज्नु नै वर्तमान संकटको मुख्य कारण बन्यो। यसैले भविष्यमा:-

यो नयाँ पुस्ताको विश्वास जित्ने आधारशिला हुनेछ।


संघीयता र स्थानीय सशक्तीकरण

संविधानले संघीयता दिएको छ तर व्यवहार अझै कमजोर छ।
अन्तरिम चरणमै: –

संघीयता केवल राजनीतिक संरचना होइन, सेवा–वितरणको आधार हुनुपर्छ।


संक्रमणकालीन न्याय र मानवअधिकार

आन्दोलनमा ज्यान गुमाएकाको बलिदान राज्यले बिर्सन मिल्दैन।

न्याय बिना नयाँ नेपालको जग कमजोर रहन्छ।


निर्वाचनतर्फको यात्रा

अन्तरिम सरकारको अन्तिम जिम्मेवारी हो-स्वतन्त्र, निष्पक्ष र विश्वासिलो निर्वाचन सम्पन्न गर्नु।

यसपछि मात्र अन्तरिम सरकारको भूमिका समाप्त हुन्छ।

 

निष्कर्ष : नयाँ पुस्ता, नयाँ नेपाल

नेपाल अहिले निर्णायक क्षणमा छ। जेन जेड आन्दोलन केवल सरकार परिवर्तनको माग मात्रै नभएर नेपालको आगामी परिवर्तनको दिशानिर्देश गर्न सकोस् । आगामी दिनमा अन्तरिम सरकारले लोकतन्त्रलाई बलियो बनाउने, युवालाई केन्द्रमा राख्ने, डिजिटल स्वतन्त्रता सुनिश्चित गर्ने, संघीयतालाई जीवन्त बनाउने, न्यायलाई प्राथमिकता दिने
नीति अपनाउन सकोस् ।

भ्रष्ट्रचार रहित, सुशासनयुक्त पारदर्शी र पूर्ण जनताप्रति उत्तरदायी सरकार बनाउन सफल रहोस्  ।
यस्तो नेपाल मात्र आजको आन्दोलनको बलिदानप्रति सच्चा श्रद्धाञ्जली हुनेछ।

उमङ्ग जङ्ग शाह,

शोधकर्ता, राजनीतिशास्त्र।

जेन-जेड पुस्ताको सक्रियतामा भ्रष्टाचारको निभमा अडिएको अहङ्कारी गठबन्धनको सरकारलाई क्षणभरमै घुँडा टेकाइदिएको छ। चर्चिलले दोस्रो विश्व युद्धताका बनाएको जस्तो गठबन्धन सङ्क्रमणकालमा उपयोगी हुँदो हो, वैदेशिक शत्रु-शक्तिसँग लड्न राष्ट्रलाई बल पुग्दो हो, तर सामान्य अवस्थामा यसले लोकतन्त्रको छातीमा निरंकुशताको बुट बजार्छ र बलमिचाइमा सामान्य देशका नागरिक पर्छन्। पछिल्लो गठबन्धन सरकारले त्यस्ता अनेक उदाहरणहरू समेट्यो जसले नेपाली नागरिकको लोकतान्त्रिक अधिकारमाथि धाबा बोल्यो। नागरिकको आफ्नो विचार व्यक्त गर्न पाउने अधिकार कुण्ठित गर्नेदेखि लोकतान्त्रिक पद्धतिबाट आयोजना गरिएका विरोधसभाहरूलाई म्यानिपुलेट गर्ने र सर्वसाधारणमाथि निर्ममतापूर्वक गोली बर्साउने काम समेत गर्न चुकेन सरकार।

एक ढङ्गले हेर्ने हो भने कुनै पनि वाद व्यवस्थाले एक स्तरमा नागरिकहरूलाई हानि गर्छ नै जसमा लोकतन्त्र सबैभन्दा कम हानि गर्ने व्यवस्थाको रूपमा राजनीतिशास्त्रीहरूले व्याख्या गर्दै आएका छन्। बहुमतमा मात्र आधारित लोकतन्त्र कठोर हुन्छ जुन अल्पसंख्यक तथा बहुसंख्यक भन्दा भिन्न विचार राख्ने समूहका लागि हानिकारक हुन सक्छ जसलाई विचारमूलक लोकतन्त्रले सुधार्छ। खासगरी बहुलवादको माध्यमबाट संवाद आपसी मान्यता र न्यायपूर्ण परिणामहरूलाई प्रोत्साहन गर्दै लोकतन्त्रको अभ्यास गर्दा समाजले समतामूलक ढंगले मलजल हुने मौका प्राप्त गर्दछ।

बहुमतमा आधारित पूर्ण शक्तिको नशामा पछिल्लो कांग्रेस–एमाले गठबन्धनको सरकारले जसरी नागरिक समूह, दबाब समूह तथा लोकतन्त्रको महत्वपूर्ण एजेन्सी स्वयं नेपाली नागरिकको आवाजलाई वेवास्ता तथा दबाउने कार्य गर्यो जसले लोकतान्त्रिक अभ्यासलाई सशक्त बनाउनुको साटो सङ्क्रमणकालीन अवस्थातर्फ धकेलिदियो। जनताले उठाएको प्रश्नलाई वेवास्ता गर्दै जनताले मन पराएका कुलमान घिसिङलाई कारबाही हुँदा होस् या यो देशमा केही गर्छु भन्ने नेपाली वैज्ञानिकलाई दुरुत्साहित गराउँदा, सरकारले सुधारिएको लोकतन्त्रको झल्को दिन सकेन बरू बढ्दो निरङ्कुशता जनताले महसुस गरे।

सन्तुलन बिनाको पूर्ण शक्तिले समाजको मात्र खति हुँदैन स्वयं शक्ति धारण गर्ने शासकको समेत  दुर्गति हुन्छ। विश्वको राजनीतिक इतिहास पल्टाएर  हेर्नु होस् तपाईंले यस्ता अनेकौँ उदाहरणहरू पाउन सक्नुहुन्छ । ईसापूर्व ४४ मा जुलियस सिजरले रोमको इतिहासमै पहिलो पल्ट आजीवन तानाशाहको उपाधि (डिक्टेटर) प्राप्त गरेको करिब एक महिनामै उनको हत्या भयो। यस पछाडि रोमको इतिहासमा पूर्ण शक्ति प्राप्त गर्ने धेरै शासकहरू उक्त सिलसिलाको शिकार भए। रोमकै अर्का शासक क्यालिग्युला त आफ्नो हत्या हुन्छ भनेर यति सशंकित भएकी उनले दरबार बाहिर पाइलै टेक्न छाडे र अन्यबाट षड्यन्त्र हुने डरमा आफ्नै बहिनीसँगै विवाह समेत गरेको भन्ने कुराको विश्व राजनीतिक इतिहासमा चर्चा पाइन्छ।

धेरै पछाडि जानै पर्दैन लेनिनको बोल्सेभिक पार्टीले मेन्सेभिक, एसआर लगायत अन्य गैर बोल्सेभिक पार्टीलाई निषेध गरे पश्चात् उनले आफ्नो पार्टीलाई शक्तिशाली त बनाए तर उनको निर्ममतापूर्ण हत्या गर्ने प्रयास गरियो। एउटा प्रयासमा लेनिनको फोक्सोसम्मै गोली पुगेको थियो। स्टालिनले यस्तै षड्यन्त्रको शंकामा अनेक हत्याहरू गरे। अन्तिममा उनलाई विष खुवाइएको वा उपचार नदिई मारिएको भन्ने समेत केही चर्चा इतिहासमा रहेको छ। दशकौँ सम्म पूर्ण शक्ति सम्हालेका गद्दाफीको अन्त्य निकै दयनीय थियो। असन्तुलित शक्ति समाज र शासक सबैका लागि घातक रहन्छ जसलाई लोकतन्त्रको लगामले मात्र नियन्त्रण गर्न सक्छ, विचारमूलक र सहभागीतामूलक लोकतन्त्रले मात्र।

विडम्बना संसदमा आवाज उठाउनका लागि प्रभावकारी विपक्षी भूमिका नै नरहने गरी ठूलो मात्रामा मत प्राप्त गरेका पार्टीहरूले गठबन्धन बनाउँदा लोकतान्त्रिक अभ्यासलाई सिधा असर पर्यो। जसको साइडइफेक्ट जनताहरूले अनेक किसिमबाट महसुस गरे। नागरिकहरूको आवाजलाई समेत वेवास्ता गरी पर्याप्त कूटनीतिक प्रयासबिना नै सोसल मिडियामाथि लादिएको प्रतिबन्धलाई  तानाशाही प्रवृत्तिको एक  उदाहरणको रुपमा लिन सकिन्छ। भर्खरैका कलिला विद्यार्थीहरूमाथि वर्षाइएका गोलीलाई व्याख्या गर्ने शब्द नै छैनन्। यस्ता अपराध गर्नेले हदैसम्मको न्यायिक कारबाही लोकतन्त्रमा भोग्नै पर्छ। तानाशाही व्यवहारले शासक मात्र डुबेनन् नेपालका सिंहदरबार, सर्वोच्च अदालत जस्ता महत्वपूर्ण संरचनाहरूसँगै जलेर नष्ट भए। साथसाथै ठूलो जनधनको क्षति भयो।

राष्ट्रको सान बोकेका संरचनाहरू नष्ट हुनु पक्कै पीडादायक विषय हो। भिडमा पक्कै पनि अनेक स्वार्थ समूह मिसिएका हुन्छन् र यिनीहरू भिडको आडमा आफ्नो स्वार्थ सिद्ध गर्न पछि पर्दैनन्। बजारमा कुरा भएजस्तै कति समूह परिचालित पनि होलान् जसलाई अन्देखा गर्न मिल्दैन र छानबिनको दायरामा ल्याउनै पर्छ। तथापि सामान्य दङ्गाको अवस्थामा राजनीतिशास्त्रीहरूको कुरा सुन्ने हो भने प्रदर्शनमा प्रतीकात्मक लक्ष्य प्रदर्शनकारीहरूले राख्दछन् जसमा सत्ताका प्रत्यक्ष प्रतीकका रूपमा रहेका भौतिक संरचनाहरूमाथि आक्रमण हुनु स्वभाविक हो। सरकारी कार्यालय, बैंक, सालिकहरू, आदि त्यसमा पर्दछन्। तसर्थ जेन-जेड आन्दोलनमा देखिएको भौतिक विनाशलाई विध्वंसको रूपमा मात्र नहेरी मानवीय तथा राजनीतिक स्वभावसँग समेत जोडेर हेर्दा आन्दोलनकारीहरूको उक्त कार्यलाई न्यायपूर्ण ढंगले विश्लेषण गर्न सकिएला। फ्रान्सेली लगायत विश्वभरका क्रान्तिहरूमा संसद भवन, दरबार आदि जलाइएको अनेकौँ उदाहरणहरू छन्।

राज्य यस अवस्थामा पुग्नुको कारण पक्कै पूर्व प्रधानमन्त्री केपी ओलीको दम्भ र उनको दम्भलाई साथ दिने गठबन्धनका शीर्ष नेताहरू हुन् तर व्यक्तिका साथै पार्टीभित्र लोकतान्त्रिक अभ्यासको कमी, पूर्ण विकसित लोकतन्त्रको नजिक पुग्दा समेत परम्परागत चाकरीवाद हावी हुनु आदि समेत यसका कारणहरू हुन्। वर्षौँदेखि नेपाली जनताले खेप्दै आएको भ्रष्टाचारको प्रकोप र सुशासनको अभावलाई समेत बिर्सनु हुँदैन। कागजमा लेखिएर वा व्यवस्थाको रूपमा चित्रण गरिएर मात्र लोकतन्त्रको सुदृढीकरण हुन सक्दैन। लोकतन्त्र व्यवहार र परम्परामा व्याप्त हुन जरुरी छ। जुनसुकै शक्ति वा समूह आएपनि संस्थाभित्र नै लोकतान्त्रिक पद्धतिको अवलम्बन गरिएको छैन भने लोकतन्त्रमाथि पटकपटक तानाशाह प्रवृत्ति हावी हुन्छ नै।

आज ३५ वर्ष लामो शासनको इतिहास बोकेका नेपालका प्रमुख दलहरूले बनाएका संरचना नष्ट भएको छ। शीर्षस्थलका नेता समेत बेज्जतिमा पर्नुले प्रतिशोधात्मक प्रतिकार नहोला भन्न सकिँदै वा आफ्नो गुम्दै गरेको शक्तिलाई पुनःप्राप्त गर्न प्रयास समेत नहोला पनि भन्न सकिँदैन। सन् १९९१ मा सोभियत सङ्घ विघटन हुँदै गर्दा पार्टीका कट्टरपन्थी नेताहरू र सेना मिलेर कू गर्ने असफल प्रयास गरेकै हुन्। नेपालमा पनि त्यसो नहोला भन्न सकिन्न। फ्रान्समा राजतन्त्र फालेको केही समय पश्चात् नै नयाँ खासगरी समाजवाद उन्मुख व्यवस्थाले कन्जरभेटिभ तथा सम्भ्रान्त वर्गलाई प्रतिकूल असर पर्ने भएपछि शक्ति आफ्नो हातमा पारेर हजारौँ मजदुरहरूको आन्दोलनलाई निर्ममतापूर्वक ढङ्गले दबाए जसरी यहाँ पनि भ्रष्टाचारको आडमा व्यापार व्यवसायमा सिन्डिकेट गरेर अथाह सम्पत्ति आर्जन गर्न पल्केकाहरू चुप लागेर पक्कै बस्ने छैनन्। नेपालकै इतिहासक्रमलाई हेर्ने हो भने पनि विसं २००७ साल ४६ साल ६२-६३ साल आदिको आन्दोलनपश्चात खाने अनुहार मात्र फेरिएको र समस्या जस्ताको तस्तै रहेको सर्वविदितै छ। यस्ता अनेकौँ चुनौतीहरू नेपाली समाजबीच फेरि पनि आउने नै छन् तथापि यी सम्भावनाहरूलाई चनाखो भई निगरानीमा राख्दै पुराना विघटन भएका संरचनाको ठाउँमा लोकतान्त्रिक ढङ्गले नयाँ संरचना पुननिर्माण गर्दै अघि बढ्न जरुरी छ।

पुनर्निर्माण सही ढंगले नगरिए स्वतन्त्रता न्याय र सामाजिक रूपान्तरणको लागि गरिएको यस क्रान्तिको परिणाम सजिलै हाइज्याक हुन सक्छ। नेपालमा पनि सन् १९१७ को रसियामा जस्तो लेनिन र बोल्साविकहरू  नआउलान् भन्न सकिँदैन वा सन् १९७९ मा इरानमा भएजस्तो खुमेनीको  कट्टरपन्ती धार्मिक शासन र सन् २०११ मा इजिप्टमा भएजस्तो सिसीको सैनिक शासन नेपालीले बेहोर्नु नपर्ला भन्न सकिँदैन। ज्याकोबिनहरूको आतंक र नेपोलियनको महत्वाकांक्षी सोचले फ्रान्सेली राजतन्त्रको विरुद्ध जनताले स्वतन्त्रताका लागि गरेको क्रान्तिको परिणामलाई कसरी हाइज्याक गर्यो त्यो पनि विश्व राजनीतिक इतिहासमा प्रष्ट छ। जिम्बाब्वेको उपनिवेशविरोधी क्रान्तिलाई मुगाबेले आफ्नो व्यक्तिगत शासनमा रूपान्तरण गरेको उदाहरण पनि छ। स्वतन्त्रताका लागि गरिएको क्रान्तिको परिणामलाई निरङ्कुश नेताहरूले कसरी हाइज्याक गर्छन् भन्ने कुराको ज्वलन्त उदाहरणहरू हुन् यी।

राजनीतिमा सबैभन्दा ठूलो गल्ती नै मैदानमा हार बेहोर्नु वा शक्ति केन्द्रमा बस्न नसक्नु हो भन्ने वाक्य घोक्दै आएका राजनीतिक स्वाद पाएका र शक्तिका भोका व्यक्तिहरू परिणामलाई आफ्नो पोल्टामा पार्न जुनसुकै स्तरमा झर्न सक्छन्। नेपाली नागरिकहरूले त्यस कुरालाई ख्याल गर्नुपर्छ। नेपाल भौगोलिक रूपमा समेत संवेदनशील अवस्थामा रहेकोमा विदेशी शक्तिले समेत मौका छोप्ने नै छन्। हाल राज्यको बागडोर समातेका र भावी नेतृत्वले अन्तर्राष्ट्रिय राजनीतिमा हुने पावर पोलिटिक्सलाई समेत बुझ्न जरुरी छ र चनाखो भएर राष्ट्रमाथि विदेशी शक्तिबाट पर्न सक्ने खतरालाई समेत नियाल्ने र विश्लेषण गर्ने कार्यमा चुक्नु हुँदैन। लोकतान्त्रिक मूल्य मान्यतामा टेकेर शक्ति एकाधिकारको विरुद्धमा रहेर सहभागिता र जवाफदेहितामा आधारित पुनर्निर्माणले मात्र  यो क्रान्तिको परिणामलाई बलियोसँग स्थापित गर्न सक्छ। यो आन्दोलनको परिणामले नेपालको सधैँ सङ्क्रमणकालमै अल्झिएर बसेको लोकतान्त्रिक व्यवस्थालाई सुदृढीकरण गर्दै अझ गहिरो बनाउँदै लग्नेछ भन्ने कामना गरौँ। जेन-जेड पुस्तालाई सलाम।

आरके श्रीवास्तव,राैतहट,भदौ २७ गते । 

रौतहट जिल्लाको हर्षाहा क्षेत्रमा अवस्थित प्रहरी चौकीमा गत भदौ २३ गते भएको जेनजी आन्दोलनको क्रममा केही उत्तेजित समूहले आगजनी गरी चौकी पूर्णरूपमा क्षति पुर्‍याएका थिए । घटनामा चौकीका संरचना जलेर नष्ट भएका थिए भने प्रहरी प्रशासनको कामकाज पनि प्रभावित भएको थियो ।

 

तर यो घटनाले स्थानीय सज्जन नागरिकहरूको प्रहरीप्रतिको विश्वास र सहयोग भावना कम गर्न सकेन् । चौकी जलेपछि क्षेत्रका भद्रभलाद्मी, समाजसेवी र स्थानीय नागरिकहरूले पहल गर्दै त्यसलाई पुनः मर्मत गरी सञ्चालनमा ल्याउने कार्य अघि बढाएका छन् ।

 

ईलाका प्रहरी कार्यालय गरूडाका डिएसपी राजन कार्कीका अनुसार, “नेपाल प्रहरी जनताको जिउधनको सुरक्षाका लागि २४ सै घन्टा तत्पर रहन्छ । अस्थायी आवेगमा आएको एउटा समूहको गतिविधिले हामीलाई रोक्न सक्दैन् । हामी अझ बलियो, सुदृढ र कर्मठ बन्दै जनताको सेवामा समर्पित रहनेछौं।”

 

स्थानीय जनताको सहयोगमा चौकी पुनःनिर्माणको कार्य सुरु भइसकेको छ । यस क्रममा आवश्यक सामग्री जुटाउने, श्रमदान गर्ने र आर्थिक सहयोग गर्ने कार्यमा समुदायले सक्रियता देखाइरहेका छन् । प्रहरी प्रशासनले पनि चौकी सञ्चालन पुनः सुचारु गर्न आवश्यक तयारी गरिरहेको जनाएको छ ।

 

सामुदायिक सहभागिता र प्रहरी प्रशासनबीचको सहकार्यले हर्षाहामा कानुनी शासन र शान्तिको पुनःस्थापना हुने आशा गरिएको छ ।

आरके श्रीवास्तव,राैतहट,भदौ २७ गते । 

रौतहटकाे गरूडामा नेपाली कांग्रेसका नेता कार्यकर्ताहरूले आज गरूडा नगरपालिकामा शान्तिपूर्ण विरोध प्रदर्शन गर्दै संविधानको रक्षा र जनमतको सम्मानको माग गरेका छन् । प्रदर्शनमा सहभागीहरूले ‘संविधानको रक्षा गर’, ‘राष्ट्रपतिलाई सार्वजनिक गर’, ‘सैनिक शासन चाहिँदैन’ जस्ता नारा लगाउँदै सरकार र संवैधानिक अंगहरूको भूमिकामाथि प्रश्न उठाएका छन् ।

प्रदर्शनमा कांग्रेसकाे तर्फबाट गरूडाका मेयर प्रत्यासी सुनिलकुमार यादवले वर्तमान राजनीतिक अवस्थाले संविधानमाथि संकट सिर्जना गरेको भन्दै युवाहरूको आवाजको समर्थनमा सडकमा उत्रिनु परेको बताए । उनले भने, “संविधान बिथोल्ने प्रयास भइरहेछ, त्यसविरुद्ध हामी सडकमा छौं । नेपाली जनताले आफूले चुनेको संविधान चाँडै गुमाउनु पर्ने परिस्थिति सृजना भएको छ, हामी त्यसलाई सशक्त रूपमा प्रतिवाद गर्छौं।”

 

उनले आन्दोलनमा युवाहरूको नेतृत्व प्रशंसनीय रहेको उल्लेख गर्दै, कांग्रेस सधैं संविधानको रक्षामा अग्रसर रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।

 

त्यसैगरी वडा नं. ५ का वडा अध्यक्ष प्रत्यासी रमेश प्रसाद यादवले भने, “हामी लोकतन्त्रमा विश्वास राख्छौं। अहिले जुन प्रकारको अपारदर्शी राजनीतिक खेल भइरहेको छ, त्यो न त जनता चाहन्छन् न त लोकतन्त्रको मर्मले स्वीकार्छ। जनताका अधिकार र आवाजमाथि कुठाराघात गर्न खोजियो भने हामी चुप लाग्ने छैनौं।”

प्रदर्शनमा कांग्रेसका उपमेयर प्रत्यासी पुनम कुमारी चौधरी, पूर्व मेयर रामस्नेही यादव लगायत दर्जनौं नेता तथा कार्यकर्ता सहभागी थिए । कार्यक्रम पूर्ण रूपमा शान्तिपूर्ण रुपमा सम्पन्न भएको थियो ।

 

यस किसिमको प्रदर्शनले स्थानीय तहदेखि केन्द्रसम्म जनप्रतिनिधिहरू संविधान र जनताको पक्षमा एकमत हुँदै आएका छन् भन्ने सन्देश दिएको विश्लेषकहरूको भनाइ छ ।

आरके श्रीवास्तव,राैतहट,भदौ २७ गते । 

रौतहटकाे फतुवा विजयपुरमा नेपालको संविधान २०७२ को रक्षा, लोकतन्त्रको संरक्षण र राष्ट्रको सुदृढ भविष्यका लागि नेपाली कांग्रेसका युवा नेता ज्ञानेन्द्र प्रसाद यादवको अगुवाइमा आज फतुवा विजयपुर बजारमा सशक्त विरोध प्रदर्शन सम्पन्न भएको छ ।

 

प्रदर्शनमा सहभागी नेता यादवले संविधानमाथि बढ्दो खतरा, विदेशी हस्तक्षेपको वृद्धि र देशलाई सैन्यकरणतर्फ लैजान खोजिएकोप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् । उनले बलिदानीपूर्ण संघर्षबाट प्राप्त संविधान र लोकतान्त्रिक प्रणालीलाई रक्षा गर्न सबै नागरिक र राजनीतिक शक्तिहरू एकजुट हुनुपर्नेमा जोड दिएका छन्  ।

नेता यादवले प्रदर्शन पछि भने, “संविधानमाथि आँच आउनु केवल कागज च्यातिनु होइन, यो हाम्रो संघर्ष, बलिदान र पहिचानमाथिको प्रहार हो।” उनले वर्तमान शासन व्यवस्थामा देखिएको भ्रष्टाचार, बेथिति र निष्क्रियता विरुद्ध कडा आवाज उठाउने प्रतिबद्धता जनाएका छन् ।

उनले संविधानभित्रै समस्याहरूको समाधान खोजिनु पर्ने बताउँदै, लोकतन्त्रसँग कुनै सम्झौता नगरिने स्पष्ट सन्देश दिए ।

प्रदर्शनमा सहभागीहरूले “संविधानको रक्षा गरौं”, “लोकतन्त्र बचाऔं”, “विदेशी हस्तक्षेप बन्द गर” जस्ता नारासहित बजार परिक्रमा गरेका थिए ।

 

यस अवसरमा नेपाली कांग्रेसका निवर्तमान नगर प्रमुख मेयर गोपाल राय यादवले पनि सम्वोधन गर्दै वर्तमान संवैधानिक व्यवस्थामै रहेर समस्याको समाधान खोज्नुपर्ने बताए । उनले विदेशी हस्तक्षेप र सैन्य गतिविधि लोकतन्त्रविरोधी भएको भन्दै कांग्रेसको अडान स्पष्ट पारेका छन् ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।