२०८३ श्रावण १८
२०८३ श्रावण १८

काठमाडौँ ।  काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहले सङ्घीय सरकारले घोषणा गरेको कार्यक्रम बिर्सिएको बताएका छन् ।

सामाजिक सञ्जालमार्फत बालेनले प्लास्टिकजन्य वस्तुको सट्टा कुहिएर जाने डिग्रेडेवल जैविक वस्तुमा प्याकिङ गर्ने व्यवस्था मिलाउने विषयमा बजेटमा उल्लेख गरेर पनि केन्द्र सरकारले बिर्सिएको बताएका हुन् ।

उनले आर्थिक वर्ष २०८०–०८१ को बजेट वक्तव्यको नीतिगत एवं कानुनी सुधार कार्यक्रममा, २०८१ वैशाख १ गतेदेखि प्लास्टिकजन्य वस्तुको सट्टा कुहिएर जाने डिग्रेडेवल जैविक वस्तुमा प्याकिङ गर्ने व्यवस्था मिलाइनेछ, भनेको भएपनि आज ज्येष्ठ  महिनाको ११ गते भइसकेको र घोषणा गरेको कार्यक्रम कार्यान्वयनको कुनै सुरसार नभएको बताएका छन् ।

बालेनले भनेका छन्-

बाँदरहरुले आफ्नो घरपनि बनाउँदैनन् र अरुले बनाएको घर पनि भत्काँउछ्न भनेझै ,

संघीय सरकारले विर्सियो वैशाख १, २०८१ : अब के हुन्छ?

सरकारले आफैँ काम गर्नु, कि हामीलाई गर्न दिनु ।

संघीय संसदको संयुक्त वैठकले, २०८० ज्येष्ठ १५ गते प्रस्तुत गरेको आर्थिक बर्ष २०८०/०८१ को बजेट वक्तव्यको नीतिगत एवं कानुनी सुधार कार्यक्रममा, २०८१ वैशाख १ गतेदेखि प्लाष्टिकजन्य वस्तुको सट्टा कुहिएर जाने डिग्रेडेवल जैविक वस्तुमा प्याकिङ् गर्ने व्यवस्था मिलाइनेछ, भनेको थियो । यो  ब्यवस्था सूर्तीजन्य बस्तु, धूमपानजस्ता प्लाष्टिकमा प्याक गरेका बस्तुका लागि पनि हो । आज जेष्ठ  महिनाको ११ गते भइसक्यो । घोषणा गरेको कार्यक्रम कार्यान्वयनको कुनै सुरसार छैन । यसकारण हामी संघीय सरकारलाई उक्त मिति सम्झाउन चाहन्छौँ ।

सरकारले यस्तो घोषणा गरिरहँदा, सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन, २०६८ सक्रिय थियो । अहिले पनि छ । यो ऐनले सार्वजनिक स्थानमा चुरोट, बिडी, सिंगार, तमाखु, सुल्फा, कक्कड, कच्चा सुर्ती, खैनी, गुट्खा वा यस्तै प्रकारका सुर्तीजन्य पदार्थ विक्री गर्न र प्रयोग गर्न निषेध गरेको छ ।

ऐनले निषेध गरेका बस्तु जैविक खोलमा राखेर बेच्न मिल्ने हो कि होइन, संघीय सरकार लक्षित यक्ष प्रश्न छ । जैविक खोलमा बेरेको सूर्तीजन्य बस्तुको प्रयोगले जनस्वास्थ्यमा असर नपार्ने हो भने यसको बैज्ञानिक प्रमाणिक तथ्य हामी पनि जान्न र बुझ्न चाहन्छौँ ।

संघीय सरकार! यस विषयमा हामीलाई पनि जान्ने अवसर दिनुपर्‍यो ।

काठमाडौँ महानगरपालिकाको जनस्वास्थ्य ऐन, २०८० को दफा ४२ ले सुर्तीजन्य तथा मदिराजन्य पदार्थ विक्री वितरणमा रोक लगाउन सक्ने, निषेध र विक्री वितरणका लागि खुल्ला क्षेत्र तोक्न सक्ने, बालबालिकाहरूलाई विक्री वितरण गराउन नपाउने, सार्वजनिक स्थलहरूको चार किल्ला तोकी सो वरपर सुर्तीजन्य, मदिराजन्य र जङ्कफुड विक्री वितरण गर्न निषेध गर्न सक्ने कानुनी व्यवस्था छ । सभाले निर्माण गरेको, माथिल्ला कानुनसँग नबाझिने यो कानुन कार्यान्वयन गर्न हामीले कुन उपाय लगाउनु पर्ला ?

संघीय सरकार!
केही सुझाइदिनुहुन्छ?
स्थानीय स्तरमा, जनस्वास्थ्यजन्य समस्या सिर्जना गर्ने खालका उपभोग्य बस्तुको वेचबिखन र उपभोग नियमन (नियन्त्रण) गर्ने अधिकार स्थानीय तहमा निहित छ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ (२) को खण्ड (१४) ले यस्ता उपभोग्य बस्तुसँगै वातावरणीय प्रदुषण र हानीकारक पदार्थको नियन्त्रण, अनुगमन र नियमन गर्ने अधिकार छ । प्राप्त यो अधिकार प्रयोग गर्न हजुरियाकोमा पुग्नु पर्ने हो भने पटाङ्गिनीको लोकेसन म्याप उपलब्ध गराइदिनुपर्‍यो ।

हामी सूर्तिजन्य बस्तुको उपभोग र प्लाष्टिक प्याकेजिङ्ग निषेधप्रति हाम्रो लक्ष्यमा स्पस्ट छौँ । यस्ता वस्तुको प्रयोगले जनस्वास्थ्यमा पार्ने क्षति र यस्ता वस्तु प्याकेजिङ् गरिएका प्लाष्टिकले सहरी सुन्दरता, विकास निर्माण र विकास व्यवस्थापन पारेको गहिरो नकारात्मक असर घटाउन चाहन्छौं  ।

किनभने, हामीलाई थाहा छ, यस्तै बस्तुका कारण हाम्रा महानगरबासीले दुःख गरेर कमाएको पैसा, परिवार र बालबालिकाको गाँस काटेर भए पनि स्वास्थ्योपचारमा खर्च गरिरहनु परेको छ । वातावरणीय प्रकोप सहनु परेको छ ।

यसबाट उत्पन्न हुने मानवीय क्षति, आर्थिक संकटजस्ता जोखिमबाट बचाउन हामीले गएको वर्ष मंसिर १२ गते गुट्खा, पान पराग, खैनीसमेत विक्री र भण्डारण निषेध गर्न सार्वजनिक सूचना जारी गरेका थियौँ । सहरको सुन्दरता बढाउने, सहरबासीलाई स्वच्छ वातावरणमा बाँच्ने अवस्था सिर्जना गर्ने हाम्रो उद्देश्य थियो ।

संघीय सरकारको २०८१ वैशाख १ गतेदेखि यस्ता वस्तुलाई कुहिने खालका खोलमा प्याकेजिङ् गर्ने व्यवस्था मिलाइनेछ भन्ने व्यवस्थाले आफ्नै हातमा भएको अधिकार पनि सम्मानित अदालतको निर्णयबाट प्रयोग गर्न बञ्चित हुनु परेको छ । यसपछि सहरबासीको स्वास्थ्य र वातावण बचाउने काम न हामीले गर्न पायौँ, न संघीय सरकारले गरेको छ ।

मानव मृत्युको मुख्य कारण नसर्ने रोग हो । विश्व स्वास्थ्य संगठनका अनुसार मानव मृत्युका १० कारणमध्ये ७ वटा नसर्ने रोग र ३ वटा मात्र सर्ने रोग छन् । नसर्ने रोगका ७ रोगको कारण धुमपान, सूर्तीजन्य बस्तुको प्रयोग र प्लाष्टिकजन्य बस्तुको प्रयोग हो ।

राम्रो काम जसले गरे पनि हुन्छ । कि सरकारले आफैँ काम गर्नु, कि स्थानीय सरकारलाई गर्न दिनू ।  संघीय सरकारबाट जवाफसहित उचित वातावरण निर्माणको अपेक्षा गरेका छौँ ।न्युज कारखाना

काठमाडौं । सहकारी ठगि प्रकरणको छानबिन गर्न गठन गर्ने भनिएको संसदीय समितिको कार्यादेश टुंगो लगाउन गठित कार्यदलको बैठक शुरु भएको छ । बैठक आज सिंहदरवारस्थित कानून मन्त्रालयमा जारी रहेको हो ।

यस अघि विहिबार बसेको कार्यदलको बैठक सकारात्मक भएको बताइए पनि निष्कर्षमा पुग्न भने सकेको थिएन ।

सत्ता पक्षले आज सहमति हुने दाबी गरेपनि कांग्रेसले भने आफुहरु आफ्नो मागमा अडिक रहेको प्रतिक्रिया दिएका छन् ।

कानूनमन्त्री पदम गिरी संयोजक रहेको कार्यदलमा एमालेका  प्रमुख सचेतक महेश बर्तौला, काँग्रेसका सहमहामन्त्री जीवन परियार र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाल सदस्य रहेका छन् ।

कांग्रेसले कार्यादेशमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नाम उल्लेख गरेर छानबिन गर्नुपर्ने अडान कायम राखेको छ भने एमाले र रास्वपा व्यक्ति केन्द्रित छानबिन हुन नसक्ने अडानमा रहेका छन् । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसदीय समिति गठन नगरेसम्म संसदको कारवाही अगाडी बढाउन नदिने बताएपनि सरकारले आज बस्ने संसदबाट सरकारको नीति तथा कार्यक्रम पारित गर्ने तयारी गरेको छ ।न्युज कारखाना

काठमाडौँ । सिङ्गापुर एयरलाइन्सको विमानमा गम्भिर टर्ब्युलेन्सका कारण २० जनाको मेरुदण्डमा चोट लागेको छ ।

बैंककको एक अस्पतालका प्रमुखले ती व्यक्तिहरु सघन उपचार कक्षमा रहेको बताएका छन् । बैंककको अस्पतालमा भर्ना भएका मध्ये एक दुई वर्षीय बालक पनि छन् ।

लण्डनबाट उडेको यो विमानले गत मंगलबार थाइल्याण्डमा आपतकालीन अवतरण गरेको थियो । जम्मा ४६ यात्रु र दुई जना चालक दलका सदस्यको अझै पनि बैंककमा उपचार भइरहेको एयरलाइन्सले जनाएको छ । विमानमा सवार यात्रुहरूले विमान अचानक तल झर्यो र सिट बेल्ट नलगाएका मानिसहरू छतमा ठोक्किएका थिए ।

मेरुदण्डमा चोट लागेका २० जना छन् भने ६ जनाको अवस्था गम्भीर रहेको छ ।

सिंगापुर एयरलाइन्सको विमान एसक्यू ३२१ लन्डनबाट सिंगापुरको लागि मंगलबार गम्भीर टर्ब्युलेन्समा परेको थियो । यस घटनामा ७३ वर्षीय ब्रिटिश नागरिक जियोफ किचेनको मृत्यु  भएको थियो ।न्युज कारखाना

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ।

शुक्रबार बिहान शीतल निवासमा भएको भेटवार्तामा संसदको गतिरोध हटाउने विषयमा कुराकानी भएको राष्ट्रपतिको सचिवालयले जानकारी दिएको छ ।

प्रधानमन्त्रीले आफू समस्या समाधानको पक्षमा रहेको बताउँदै संसदमा जारी गतिरोध अन्त्यका लागि पहल गरिरहेको बताएका थिए ।

प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे बोलाइएको छ। सहकारी ठगि प्रकरणमा छानबिन गर्ने संसदीय समितिको कार्यादेश टुंग्याउन कार्यदलमा छलफल जारी रहेपनि सहमति बन्न सकेको छैन ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसदीय समिति गठन नगरेसम्म संसदको कारवाही अगाडी बढाउन नदिने बताएपनि सरकारले आज बस्ने संसदबाट सरकारको नीति तथा कार्यक्रम पारित गर्ने तयारी गरेको छ । न्युज कारखाना

काठमाडौँ । अमेरिकामा यसै वर्ष राष्ट्रपतिको निर्वाचन हुँदैछ । मुख्य प्रतिस्पर्धा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प र राष्ट्रपति जो बाइडेनबीच छ । यसैबीच, अदालतले ट्रम्पविरुद्ध चलिरहेको गोप्य पैसा भुक्तानी मुद्दामा अर्को हप्ता आफ्नो फैसला दिन सक्ने चर्चा चलेको छ ।

यसले राष्ट्रपति चुनावमा ठूलो प्रभाव पार्न सक्ने बताइएको छ ।  ट्रम्पले २०१६ को चुनाव अघि पोर्न स्टार स्टर्मी डेनियललाई चुप राख्न ठूलो रकम तिरेका थिए । यो लुकाउन उनले व्यापारिक अभिलेख नक्कली राखेका थिए । पछिला दिनहरुमा ट्रम्प चुनावी प्रचार भन्दा पनि अदालतमा बढी रहेका छन् । यस्तो अवस्थामा अदालतको निर्णयले ट्रम्पलाई कस्तो असर पार्न सक्छ भन्ने जान्न जरुरी छ ।

अदालतले ट्रम्पलाई दोषी ठहर गर्‍यो भने उनको राष्ट्रपतीय क्याम्पेनलाई असर पर्ने देखिएको छ । गत अप्रिलमा गरिएको सर्वेक्षण अनुसार चारमध्ये एक जना रिपब्लिकनले ट्रम्प दोषी पाइएमा उनलाई भोट नगर्ने बताएका छन् । उही समयमा, ६० प्रतिशत स्वतन्त्र मतदाताले ट्रम्प दोषी ठहरिए भने, उनीहरूले उनलाई कुनै पनि हालतमा मतदान गर्ने छैनन्। रिपब्लिकन कन्सल्टेन्ट ट्रिसिया म्याकलाफ्लिनले दोषी फैसलाले ट्रम्पलाई मनोवैज्ञानिक असर पार्ने बताएकी छन् ।

यदि अदालतले ट्रम्पलाई रिहा गरेमा ट्रम्पको लागि ठूलो जीत हुनेछ । किनभने ट्रम्पले सधैं यो मुद्दा राजनीतिक रूपमा प्रेरित भएको दाबी गर्छन् । यसको एउटै उद्देश्य आफुलाई राष्ट्रपति पदमा दाबी गर्नबाट रोक्नु भएको उनले बताउदै आएका छन् ।

कानुनी विज्ञहरू भन्छन्, ट्रम्पको मुद्दा हेरिरहेका १२ न्यायाधीशहरूले सर्वसम्मत फैसलामा नपुगेको खण्डमा नतिजा के आउछ भन्ने स्पष्ट छैन ।न्युज कारखाना

काठमाडौँ । सन् १९९७ को सर्वकालीन ब्लकबस्टर फिल्म बोर्डरको सिक्वेलको तयारी सुरु भएको छ । यस फिल्ममा सनी देओलसँगै आयुष्मान खुराना पनि मुख्य भूमिकामा देखिनेछन् । अब छिट्टै यो चलचित्रको छायांकन सुरु गर्ने निर्माण पक्षले जनाएको छ ।

मिडिया रिपोर्टका अनुसार बोर्डर २ को छायांकन अक्टोबरबाट सुरु हुने बताइएको छ ।

बोर्डर २ लाई जेपी दत्तले निर्देशन र निर्माण गर्न लागेका छन्, जसले १९९७ को बोर्डर पनि निर्देशन गरेका थिए । भूषण कुमार र जेपी दत्तकी छोरी निधि दत्तले पनि फिल्म निर्माण गर्दैछन् । यस फिल्ममा सनी देओल मेजर कुलदीपको भूमिकामा देखिनेछन् ।

फिल्म सन् २०२६ मा गणतन्त्र दिवसको अवसरमा रिलिज हुनेछ ।

सन्नी देओलका फिल्महरूको बारेमा कुरा गर्दा उनको अन्तिम फिल्म गदर २ थियो, जुन बक्स अफिसमा सुपरहिट थियो । उनी चाँडै लाहोर १९४७, बाप, सूर्य र अपने २ मा देखिनेछन् । फिल्म बोर्डर सन् १९९७ मा रिलिज भएको थियो । १० करोडमा बनेको यो फिल्मले ६५ करोड कमाएको थियो । यो त्यो वर्षको सबैभन्दा ठूलो फिल्म थियो । न्युज कारखाना

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) को दोस्रो क्वालिफायरको खेल आज हुदै छ । दोस्रो क्वालिफायरमा सनराइजर्स हैदरावाद र राजस्थान रोयल्स खेल्दै छन् । चेन्नईमा हुने यो खेल नेपाली समय अनुसार राति ७: ४५ बजेदेखि शुरु हुने छ ।

राजस्थान रोयल्सले इलिमिनेटरमा रोयल च्यालेन्जर्स बैंगलुरुलाई ४ विकेटले पराजित गर्दै दोस्रो क्वालिफायरमा पुगेको हो ।

त्यस्तै सनराइजर्स हैदरावाद भने पहिलो क्वालिफायरमा कोलकोता नाइट राइडर्ससँग पराजित भएपछि दोस्रो क्वालिफायर खेल्न लागेको हो ।

त्यस्तै सनराइजर्स हैदरावादले अहिलेसम्म एक पटक २०१६ मा आइपिएलको उपाधि जितेको छ । २०१३ देखि आइपिएल खेलिरहेको सनराइजर्स २०१८ मा उपविजेता बनेको थियो भने यो सहित सात पटक प्लेअफमा पुगेको छ ।

अर्को तर्फ सनराइजर्सका लागि यस सिजनमा ट्राभिस हेडले शानदार शुरुवात दिइरहेका छन् । उनले यस सिजनमा अहिलेसम्म ५३३ रन बनाएका छन् । त्यस्तै अभिषेक शर्माले पनि यस सिजनमा शानदार ब्याटिंग गर्दै अहिलेसम्म ४७० रन बनाएका छन् । त्यसैगरी सनराइजर्सका लागि टि नटराजनले १८, कप्तान पाट कमिन्सले १६ विकेट लिएका छन् ।

त्यस्तै राजस्थानका लागि यस खेलमा ओपनर जोस बटलर खेल्ने छैनन् । उनी विश्वकपको तयारीका लागि इङल्याण्ड फर्किसकेका छन् । त्यस्तै राजस्थानका लागि रियान परागले यस सिजनमा शानदार ब्याटिंग गरेका छन् । उनले अहिलेसम्म ५६७ रन बनाएका छन् भने कप्तान सन्जु सामसनले ५२१ रन बनाएका छन् ।

राजस्थानका लागि युजवेन्द्र चहलले सर्बाधिक १८ विकेट लिएका छन् भने आभेश खानले १६ विकेट लिएका छन् । राजस्थानले भने आइपिएलको पहिलो सिजनमै उपाधि जितेपनि त्यसपछि भने उपाधि जित्न सकेको छैन । राजस्थान २०२२ मा  फाइनलमा पुगेर उपविजेता बनेको थियो ।

दुवै टिमका लागि यस सिजनको आइपिएलको फाइनलमा पुग्ने अन्तिम अवसर हो । यस खेलको विजेता फाइनलमा पुग्ने छ र उपाधिका लागि कोलकोता नाइट राइडर्स सँग खेल्ने छ । त्यस्तै यस खेलमा पराजित हुने टिमको भने आइपिएल यात्रा समाप्त हुने छ । न्युज कारखाना

काठमाडौं । सहकारी ठगि प्रकरणको छानबिन गर्न गठन गर्ने भनिएको संसदीय समितिको कार्यादेश टुंगो लगाउन गठित कार्यदलको बैठक आज पनि बस्दै छ ।

बैठक आज सिंहदरवारस्थित कानून मन्त्रालयमा ९ बजे बस्ने बताइएको छ ।

यस अघि विहिबार बसेको कार्यदलको बैठक सकारात्मक भएको बताइए पनि निष्कर्षमा पुग्न भने सकेको थिएन ।

सत्ता पक्षले आज सहमति हुने दाबी गरेपनि कांग्रेसले भने आफुहरु आफ्नो मागमा अडिक रहेको प्रतिक्रिया दिएका छन् ।

कानूनमन्त्री पदम गिरी संयोजक रहेको कार्यदलमा एमालेका  प्रमुख सचेतक महेश बर्तौला, काँग्रेसका सहमहामन्त्री जीवन परियार र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाल सदस्य रहेका छन् ।

कांग्रेसले कार्यादेशमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नाम उल्लेख गरेर छानबिन गर्नुपर्ने अडान कायम राखेको छ भने एमाले र रास्वपा व्यक्ति केन्द्रित छानबिन हुन नसक्ने अडानमा रहेका छन् । न्युज कारखाना

काठमाडौँ । अमेरिकाले बंगलादेशलाई लगातार दुई खेलमा पराजित गरेको छ । गएराती समपन्न टी-२० सिरिजको दोस्रो खेलमा अमेरिकाले बंगलादेशलाइ ६ रनले पराजित गरेको हो ।

अमेरिकाले दिएको १४५ रनको लक्ष्य पछाएको बंगलादेश १९.३ ओभरमा १३८ रन बनाएर अल आउट भएको थियो ।

यस अघि अमेरिकाले पहिला ब्याटिंग गर्दै २० ओभरमा ६ विकेट गुमाएर १४४ रन बनाएको थियो । यस अघि पहिलो टी-२० मा अमेरिकाले बंगलादेशलाई ५ विकेटले पराजित गरेको थियो ।

लगातार दुई जितपछि अमेरिकाले बंगलादेशविरुद्धको सिरिज एक खेल अघि नै २-० ले जितेको छ । अब तेस्रो खेल शनिबार हुने छ ।न्युज कारखाना

काठमाडौँ । आज संघीय संसदको दुवै सदनको बैठक बस्दै छ । आज प्रतिनिधिसभाको व्बैथ्क बिहान ११ बजे बस्दै छ भने राष्ट्रिय सभाको बैठक अपराहन्न १: १५ बजेदेखि बस्दै छ ।

आजको प्रतिनिधिसभाको बैठकको सम्भावित कार्यसूचीमा नीति तथा कार्यक्रममाथि छलफल र छलफलमा उठेका प्रश्नहरुको जवाफ प्रधानमन्त्रीले दिने प्रस्ताव रहेको छ ।

त्यस्तै आजै नीति तथा कार्यक्रमलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची समेत रहेको छ ।

संसदको बैठक आज बस्न लागेपनि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोध भएन कायम रहेको छ । कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी ठगि प्रकरणमा सामेल रहेको भन्दै संसदीय समितिको गठनको माग गर्दै संसद अवरोध गर्दै आएको छ ।

संसदीय समिति गठन गर्न सहमति भएपनि समितिको कार्यादेशको विषयमा भने अझै सहमति हुन सकेको छैन । कार्यादेश बनाउन कार्यदल बनाए पनि पटक पटक भएका बैठक निष्कर्षमा पुगेको छैन ।

कार्यदलको बैठक आज बिहान ९ बजे बस्ने बताइएको छ । कार्यदलमा संसदीय छानबिन समितिले गृहमन्त्री रवि लामिछानेको नाम तोकेर छानबिन गर्ने विषयमा विवाद छ । कांग्रेसले लामिछानेको नाम तोकेर छानबिन गर्नुपर्ने अडान लिएको छ भने एमाले र रास्वपा व्यक्तिको नाम तोकेर संसदीय छानबिन नहुने अडानमा रहेका छन् ।न्युज कारखाना

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।