२०८३ भाद्र ७
२०८३ भाद्र ७

बज्जिकाञ्चल संवाददाता,राैतहट,०३ गते पुस । 

रौतहट । जलवायु जोखिम तथा संकटासन्नताको लागि सामुदायिक उत्थानशील परियोजना अन्तर्गत शुक्रबार चन्द्रपुर नगरपालिका र सरोकारवाला निकायबीच बृहत छलफल कार्यक्रम सम्पन्न भएको छ ।
अक्सफाम नेपालको आर्थिक सहयोग तथा ग्रामीण विकास केन्द्र (आरडिसी नेपाल) को आयोजनामा चन्द्रपुर नगरपालिका भित्र जलवायु परिवर्तनका कारण पर्न सक्ने सम्भावित प्रभाव तथा त्यसको न्यूनीकरणका उपायबारे छलफल गरिएको हो ।
चन्द्रपुर नगरपालिकाकी उपप्रमुख जयमाला चौधरीको अध्यक्षतामा सम्पन्न छलफल कार्यक्रममा जलवायु परिवर्तनले कृषि, वन, पूर्वाधार, जनस्वास्थ्य तथा जीविकोपार्जनमा पार्दै आएको असरका विषयमा सहभागीहरूबीच गहिरो विमर्श गरिएको थियो । साथै ती असरहरू कम गर्न सकिने सम्भावित उपाय, सुधार गर्नुपर्ने पक्ष तथा यस क्षेत्रमा नगरपालिकाले हालसम्म गरिरहेको प्रयासबारे समेत व्यापक छलफल भएको थियो ।
कार्यक्रममा चन्द्रपुर नगरपालिका अन्तर्गतका चन्द्रपुर नगरपालिकाको उपप्रमुख, प्रशासकीय अधिकृत, वडाका वडाअध्यक्षहरूवडा सदस्य , वन उपभोक्ता महासङ्घ, जलधार तथा भूसंरक्षण, संघर्ष युवा क्लब महिला समूह ,  तथा सामुदायिक वनका पदाधिकारीहरूको सहभागिता रहेको थियो भने डिभिजन वन कार्यालय रौतहटका प्रतिनिधिहरूले वन संरक्षण, जलवायु अनुकूलन तथा विपद् जोखिम न्यूनीकरणमा वन क्षेत्रको भूमिकाबारे धारणा राखेका थिए ।
त्यसैगरी चन्द्रपुर नगरपालिकाका विभिन्न शाखा प्रमुख कर्मचारीहरूको सक्रिय सहभागिता रहेको छलफल कार्यक्रममा ग्रामीण विकास केन्द्र नेपाल (आरडिसी) की उपाध्यक्ष ममता झा स्वागत मन्तव्य र परियोजनाको संयोजक चिरञ्जीवी महत्व ले परियोजनाको उद्देश्य, हालसम्मको प्रगति तथा आगामी कार्ययोजनाबारे जानकारी दिइन ।
छलफलबाट स्थानीय तह, वन क्षेत्र, सरोकारवाला निकाय तथा समुदायबीच सहकार्यलाई अझ सुदृढ गर्दै जलवायु जोखिम न्यूनीकरण र सामुदायिक उत्थानशीलता अभिवृद्धि गर्ने निष्कर्ष निकालिएको आरडिसी नेपालले जनाएको छ ।

आरके श्रीवास्तव,राैतहट,०३ गते पुस । 

रौतहट । जेन जी २.० रौतहट जिल्ला संयोजकसहितको टोलीले इनरवा स्थित भी आधारभूत विद्यालयमा देखिएको शैक्षिक तथा व्यवस्थापकीय अव्यवस्थाप्रति गम्भीर ध्यानाकर्षण गराउँदै प्रधानाध्यापकलाई ज्ञापन पत्र बुझाएको छ ।

ज्ञापन पत्रमा पछिल्लो समय विद्यालयमा अव्यवस्थित वातावरण, कक्षाकोठाको नियमित अनुगमनको अभाव, समयतालिकाको अव्यवस्था तथा शिक्षक–विद्यार्थी सम्बन्धमा देखिएको दूरीका कारण विद्यार्थीको भविष्यमा नकारात्मक असर परिरहेको उल्लेख गरिएको छ । यस्ता समस्याले विद्यालयप्रतिको विश्वास कमजोर हुनुका साथै विद्यार्थीको शैक्षिक प्रगति र मनोबलमा गम्भीर प्रभाव पारेको जेन जेड २.० को भनाइ छ ।

ज्ञापन पत्रमार्फत विद्यालय सुधारका लागि १० बुँदे माग प्रस्तुत गरिएको छ । जसअन्तर्गत विद्यालयको समग्र अनुशासन, स्वच्छता र दैनिक व्यवस्थापन कडाइका साथ लागू गर्नुपर्ने, शिक्षक समयमै उपस्थित नभए कारबाही गर्ने, कम्प्युटर तथा विज्ञान प्रयोगशाला र पुस्तकालयको व्यवस्था, खानेपानी र शौचालयको सुधार, कक्षाकोठामा मोबाइल प्रयोग निषेध, स्यानेट्री प्याडको व्यवस्था, दिवा खाजामा पौष्टिक आहार समावेश, विद्यालयमा लागू पदार्थ नियन्त्रण, बालविकास कक्षामा कार्पेटको व्यवस्था तथा शिक्षक–विद्यार्थीको पोशाक र कपाल व्यवस्थापन गर्नुपर्ने माग समेटिएका छन् ।

जेन जी २.० ले सुरक्षित, अनुशासित, गुणस्तरीय र विद्यार्थीमैत्री शैक्षिक वातावरण निर्माण नै साझा उद्देश्य रहेको बताउँदै प्रधानाध्यापकले ज्ञापन पत्रलाई गम्भीरतापूर्वक लिएर तत्काल सुधारका ठोस कदम चाल्ने विश्वास व्यक्त गरेको छ ।

ज्ञापन पत्र जेन जी २.० रौतहट जिल्ला संयोजक सोनु कुशवाहाको नेतृत्वमा बुझाइएको हो ।

आरके श्रीवास्तव,राैतहट,०३ गते पुस । 

रौतहट । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) ले केन्द्रीय कार्यालयको निर्देशन बमोजिम आगामी २०८२ फाल्गुन २१ गते हुने संसदीय निर्वाचनका लागि रौतहट जिल्लामा थप उम्मेदवार सिफारिस गरेको छ ।

लोसपा जिल्ला अध्यक्ष भरत साहका अनुसार मिति २०८२ मंसिर २६ गतेमा भएको निर्णयअनुसार केही संसदीय क्षेत्रमा उम्मेदवार छनोट थप गरिएकाले प्रत्यक्ष तथा समानुपातिक तर्फ उम्मेदवारको नामावली केन्द्रीय कार्यालयमा पठाइएको हो ।

सिफारिसअनुसार संसदीय निर्वाचन क्षेत्र नं. १ बाट प्रत्यक्षतर्फ बाबुलाल साह, अनिल सिंह र मुकेश झा रहेका छन् भने सोही क्षेत्रमा समानुपातिकतर्फ राजदेवी नगरपालिका–८ का जितेन्द्र कुमार पण्डित (कुमहार) को नाम सिफारिस गरिएको छ ।

संसदीय निर्वाचन क्षेत्र नं. २ बाट प्रत्यक्षतर्फ गौर नगरपालिका–९ का अरुण कुमार सिंह सिफारिस भएका छन् । क्षेत्र नं. ३ बाट प्रत्यक्षतर्फ कटहरिया नगरपालिका–८ का राजु कुमार श्रीवास्तवलाई उम्मेदवारका रूपमा अघि सारिएको छ ।

त्यसैगरी, संसदीय निर्वाचन क्षेत्र नं. ४ बाट प्रत्यक्ष तर्फ भाग्यनारायण तिवारी तथा समानुपातिकतर्फ गढीमाई नगरपालिका–४ का कुमार सानु साह सहितका नाम सिफारिस भएका छन् ।

उक्त निर्णय केन्द्रीय उपाध्यक्षद्वय निलम बर्मा र बाबुलाल साह, केन्द्रीय सदस्य रामप्रवेश दास, लोसपा मधेस प्रदेश सचिव ओमलोक पटेललगायत पार्टीका नेता तथा कार्यकर्ताहरूको उपस्थितिमा भएको जिल्ला अध्यक्ष साहले जानकारी दिए ।

उनका अनुसार समानुपातिक तर्फ निलम बर्मा,प्रभा सिंह, इन्दु दास लगायतका नामहरू सिफारिसमा समावेश छन् ।

राैतहट,पुष ०१ गते ।
प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ रौतहटको क्षेत्र स्तरीय बैठक विभिन्न प्रस्तावहरूमाथि व्यापक छलफल गर्दै सम्पन्न भएको छ। मंगलवार बसेको बैठकले संगठन विस्तार र आगामी निर्वाचन तयारीलाई केन्द्रमा राख्दै महत्त्वपूर्ण निर्णयहरू गरेको छ।

बैठकको निर्णयअनुसार रौतहट निर्वाचन क्षेत्र नं. १ मा जनमत पार्टीका केन्द्रीय सदस्य विकास कुमार यादवको संयोजकत्वमा १४ सदस्यीय क्षेत्रीय कोर टिम गठन गरिएको छ। गठित कोर टिमलाई संगठन सुदृढीकरण र चुनावी गतिविधि व्यवस्थापनको प्रमुख जिम्मेवारी दिइएको छ।

त्यसैगरी, प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ बाट जनमत पार्टीका राष्ट्रिय अध्यक्ष माननीय डा. सी.के. राउत, देवेंद्र मिश्र, बृजभूषण प्रसाद सिंह तथा सुरेन्द्र ठाकुरको नाम प्रत्यक्ष उम्मेदवारका रूपमा सिफारिस गरिएको छ।

बैठकले पार्टीको क्षेत्रीय सम्पर्क कार्यालय रौतहटको पिपरा बजारमा स्थापना गर्ने निर्णयसमेत गरेको छ। उक्त कार्यालयलाई संगठन सञ्चालन, बैठक व्यवस्थापन तथा जनसम्पर्कको केन्द्रका रूपमा प्रयोग गरिने जनाइएको छ।

कोर टिमले बूथ स्तरीय मूल समिति, महिला समिति तथा युवा दस्ता गठन गरिसकेको जानकारी दिइएको छ। साथै, जहाँ गठन हुन बाँकी छ, ती सबै बूथहरूमा सात दिनभित्र समिति गठन गरी सक्रियताको मूल्यांकनसहितको गठन प्रतिवेदन र मूल्यांकन प्रतिवेदन कार्यालयमा पेश गर्न कोर टिमका सदस्यहरूलाई जिम्मेवारी तोकिएको छ।

पार्टी नेतृत्वले बैठकका निर्णयहरूले संगठनलाई थप सशक्त बनाउने र आगामी निर्वाचनमा प्रभावकारी रूपमा प्रस्तुत हुन सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।

आरएन पटेल,रौतहट, पौष ०१ गते
जनता समाजवादी पार्टी (जसपा) नेपालले रौतहट जिल्लाका विभिन्न प्रतिनिधि सभा निर्वाचन क्षेत्रबाट प्रत्यक्षतर्फ उम्मेदवारका रूपमा एकल नाम सिफारिस गरेको छ। मंगलवार छुटाछूटै निर्वाचन क्षेत्रमा कार्यक्रमको आयोजन गरि पार्टीले जनभावनालाई मध्यनजर गर्दै अनुभवी र जनप्रिय नेताहरूलाई अघि सारेको भन्दै यस निर्णयलाई जिल्लामा सकारात्मक रूपमा हेरिएको छ।

जसअनुसार प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ बाट पूर्व राज्यमन्त्री योगेन्द्र राय यादव, क्षेत्र नं. ३ बाट जसपा नेपालका केन्द्रीय उपाध्यक्ष तथा पूर्व माननीय गोविन्द चौधरी र क्षेत्र नं. ४ बाट जेन्जी युवाहरुको चाहना अनुरूप युवा नेता राजकुमार दासलाई प्रत्यक्षतर्फ एकल उम्मेदवारका रूपमा सिफारिस गरिएको हो।

पार्टी नेतृत्वका अनुसार सिफारिस भएका तीनै जना नेता अनुभवी, ऊर्जावान तथा जनतासँग गहिरो सम्बन्ध भएका व्यक्तित्व हुन्। उनीहरूलाई नेतृत्वको जिम्मेवारी प्राप्त भएमा रौतहट जिल्लामा शिक्षा, स्वास्थ्य, पूर्वाधार, रोजगारीलगायतका क्षेत्रहरूमा ठोस र दीर्घकालीन सुधार हुने जसपा नेपालको दाबी छ।

स्थानीय तहका नेता तथा कार्यकर्ताहरूले पार्टीको यो निर्णयले जिल्लामा सकारात्मक सन्देश प्रवाह भएको प्रतिक्रिया दिएका छन्। एकल नाम सिफारिसले पार्टीभित्रको एकता मजबुत बनाउने र आगामी निर्वाचनमा सशक्त रूपमा अघि बढ्न सहयोग पुग्ने उनीहरूको विश्वास छ।

जसपा नेपालले जनताको चाहना र आवश्यकतालाई केन्द्रमा राख्दै उम्मेदवार चयन गरिएको जनाएको छ। पार्टीले आगामी दिनमा जनमुखी एजेन्डासहित जनताको घरदैलोमा पुगेर संगठन विस्तार तथा राजनीतिक अभियानलाई तीव्रता दिने तयारी गरिरहेको कार्यालय सचिव दिनेश कुमार यादवले बताएको छ।

जसपा नेपाल रौतहट जिल्ला अध्यक्ष राजीव रंजन यादवले सिफारिस भएका सबै उम्मेदवारहरूलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दै आगामी निर्वाचनमा पार्टीको एजेन्डा र जनताको आवाजलाई सशक्त रूपमा प्रतिनिधित्व गर्ने विश्वास व्यक्त गरेका छन।

 

आरके श्रीवास्तव,राैतहट,०१ गते मंसिर । 

रौतहट । जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) ले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि रौतहट निर्वाचन क्षेत्र नं. ४ बाट राजकुमार दास तत्माको नाम एकल रूपमा सिफारिश गरेको छ ।

पार्टीको क्षेत्रीय तथा जिल्ला तहका नेताहरूबीच भएको विस्तृत छलफल र सहमतिपछि तत्माको नाम एकल सिफारिश गरिएको हो । पार्टी स्रोतका अनुसार, राजकुमार दास तत्मा लामो समयदेखि जसपा नेपालको संगठन निर्माण, जनसम्पर्क विस्तार तथा सामाजिक गतिविधिमा सक्रिय रहँदै आएका नेता हुन् ।

स्थानीय तहमा राम्रो जनाधार, जनताका समस्याप्रति संवेदनशीलता तथा पार्टीप्रतिको इमान्दार निष्ठाका कारण उनको नाममा सर्वसम्मत सहमति जुटेको पार्टी नेताहरूले बताएका छन् । जसपा नेपाल रौतहटले निर्वाचन क्षेत्र नं. ४ मा पार्टीको पकड अझ मजबुत बनाउन सक्ने सक्षम, लोकप्रिय र जनउत्तरदायी उम्मेदवारका रूपमा तत्मालाई अघि सारेको जनाएको छ ।

पार्टीका अनुसार क्षेत्रीय र जिल्ला तहबाट गरिएको उक्त सिफारिश अब केन्द्रिय समितिमा पठाइनेछ । केन्द्रिय समितिको निर्णयपछि अन्तिम उम्मेदवारको टुंगो लाग्ने बताइएको छ ।

यसैबीच, पार्टीका स्थानीय नेताहरूले राजकुमार दास तत्माको उम्मेदवारीले रौतहट–४ मा जसपा नेपालको चुनावी रणनीतिलाई थप बल पुग्ने विश्वास व्यक्त गरेका छन् ।

आरके श्रीवास्तव,महाेत्तरी,०१ गते मंसिर । 

बर्दिबास । मौसम पूर्वानुमान सूचनामा आधारित जोखिम न्यूनीकरण तथा सामुदायिक पूर्व सतर्कता प्रणाली सुदृढ गर्ने उद्देश्यसहित बर्दिबासमा दुईदिने तालिम सुरु भएको छ । ‘Strengthening Anticipatory Action in Nepal (SAAN)’ परियोजना अन्तर्गत सञ्चालन भइरहेको उक्त तालिममा मधेस प्रदेशका आठै जिल्लाबाट सहभागीहरूको उल्लेखनीय उपस्थिति रहेको छ ।

तालिमको उद्घाटन सत्र आसमान नेपालकी कोषाध्यक्ष रेखा यादवको अध्यक्षतामा मंगलबार सम्पन्न भएको हो । उद्घाटन सत्रमा नेपाल पत्रकार महासंघ मधेस प्रदेशका महासचिव शैलेन्द्र महतो ‘क्रान्ति’, मौसम पूर्वानुमान महाशाखाका पदाधिकारीहरू, आसमान नेपाल तथा सहयोगी संस्थाका प्रतिनिधिहरूले आ–आफ्ना धारणा राख्दै मौसम पूर्वानुमान सूचनाको प्रभावकारी उपयोगमार्फत विपद् जोखिम न्यूनीकरणमा जोड दिएका थिए ।

तालिममा मधेस प्रदेशका रौतहट, बारा, पर्सा सहित आठै जिल्लाबाट प्रत्येक जिल्लाबाट तीन/तीन जना गरी सहभागीता रहेको छ । सहभागीहरूलाई मौसम पूर्वानुमानको आधारमा पूर्व तयारी, जोखिम न्यूनीकरणका उपाय, सामुदायिक सतर्कता प्रणाली तथा सूचना प्रवाहको प्रभावकारी अभ्यासबारे ज्ञान र सीप प्रदान गरिने आयोजकले जनाएको छ ।

नेपाल पत्रकार महासंघ मधेस प्रदेश समिति, द कोका–कोला फाउन्डेसन, क्लाइमेट रेजिलिएन्स एलायन्स, मर्सी कोर्प्स तथा आसमान नेपालको सहकार्यमा सञ्चालन भइरहेको तालिमले स्थानीय तहमा पूर्वानुमानमा आधारित पूर्व कार्यलाई संस्थागत गर्दै समुदायलाई थप सुरक्षित बनाउने विश्वास लिइएको छ ।

दुई दिनसम्म चल्ने उक्त तालिमको बुधबार समापन हुने आयोजकले जानकारी दिएको छ ।

निगम सञ्चालक समितिले आज राति १२ बजेदेखि लागू हुने गरी साबिकको खुद्रा बिक्री मूल्यमा प्रति लिटर डिजेलरमट्टितेलमा प्रति लिटर ४ रुपैयाँले घटाएको छ । पेट्रोलमा प्रति लिटर २ रुपैयाँ मूल्य वृद्धि गरेको छ ।

डिजेलमा प्रतिलिटर ७ रुपैयाँ मूल्य घटेर आउँदा किन ४ रुपैयाँ मात्रै मूल्य घटेको हो भनेर निगमका प्रवक्ता मनोजकुमार ठाकुरलाई प्रश्न गर्दा उनले १ महिना पहिले डिजेलमा ७ रुपैयाँ मूल्य वृद्धि हुँदै ४ रुपैयाँ मात्रै वृद्धि गरेको बताए ।

उनले भने, ‘१ महिना पहिले डिजेलमा प्रतिलिटर ७ रुपैयाँ मूल्य वृद्धि भएर आएको बेला ४ रुपैयाँ मात्रै मूल्य वृद्धि भएको थियो । अहिले त्यहीँ मूल्य मिलाउन ७ रुपैयाँ घटेर आउँदा ४ रुपैयाँ मात्रै घटाएको हो ।’ सभार कलि्क माण्डु ।

 

आरएन पटेल,२९ गते मंसिर । 
रौतहट। जनता समाजवादी पार्टी (जसपा) नेपाल रौतहट प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं.–२ को समन्वय समिति (क्षेत्रीय) भेला आज बौधीमाई नगरपालिका–४, इनरवारीमा विधिवत रूपमा सम्पन्न भएको छ ।

भेला जसपा नेपाल रौतहटका जिल्ला अध्यक्ष राजीव रन्जन यादवको अध्यक्षता तथा केन्द्रीय कार्यकारिणी समिति सदस्य एवं पूर्व प्रदेश सांसद रामकिशोर प्रसाद यादवको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।

भेलामा वक्ताहरूले पार्टी संगठन सुदृढीकरण, आगामी राजनीतिक रणनीति, जनआधारित आन्दोलन तथा क्षेत्रीय गतिविधिबारे विस्तृत विचार–विमर्श गरेका थिए । साथै पार्टीलाई जनताको मुद्दासँग अझ नजिक लैजान कार्यकर्ताहरूले सक्रिय र जिम्मेवार भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिइएको थियो ।

कार्यक्रममा पार्टीका नेता–कार्यकर्ता, जनप्रतिनिधि तथा स्थानीय कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । भेलाले संगठन विस्तार र जनसम्बन्ध सुदृढीकरणमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

आरके श्रीवास्तव,२९ गते मंसिर । 

सर्लाही । राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको मधेश प्रदेश समिति गठन भएको छ । मधेश प्रदेशका आठै जिल्लाबाट सहभागी सञ्चारकर्मीहरूको भेलाले क्षितिज विश्वकर्माको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति सर्वसम्मत रूपमा गठन गरेको हो ।

उद्योग वाणिज्य संघ सर्लाहीको सभाहल, लालबन्दीमा सम्पन्न कार्यक्रम राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको केन्द्रीय कार्यसमितिको महिला विभाग प्रमुख सबिता पोखरेलको संयोजकत्व तथा प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा सहसंयोजक विनिता क्षेत्रीको विशिष्ट आतिथ्यता रहेको थियो ।

नवगठित कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा रमेश खत्री, उपाध्यक्षमा सुशीला पोखरेल चौलागाई, सचिवमा प्रफुल्ल मिश्र, सहसचिवमा विनोद ढुंगेल चयन भएका छन्। त्यस्तै कोषाध्यक्षमा श्रवण साह, सहकोषाध्यक्षमा मानिक चन्द चयन भएका छन् ।

सदस्यहरूमा कुलदीप दास (प्रचार–प्रसार विभाग), आरती सेन्चुरी (महिला विभाग प्रमुख), राजु कुमार श्रीवास्तव (प्रवक्ता), सरिता सापकोटा, प्रभु प्रसाद यादव, रामनाच राम, सन्तोष कर्ण, एस.एम. जगाहस्त ‘गुड्डु’, अस्मिता परियार र अनिल यादव चयन भएका छन् ।

कार्यक्रममा विशिष्ट अतिथिका रूपमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान सर्लाहीका जिल्ला अध्यक्ष महेन्द्र महतो, समाजसेवी तथा उद्योग वाणिज्य संघ लालबन्दी सर्लाहीका अध्यक्ष महेश महतोको उपस्थिति रहेको थियो । साथै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान सर्लाहीका उपाध्यक्ष सन्तोष कर्ण, सहसचिव मदन नेपाललगायत विभिन्न संघ–संस्थाका प्रतिनिधि तथा सञ्चारकर्मीहरूको उल्लेखनीय सहभागिता थियो ।

कार्यक्रमको सञ्चालन नारायणी विश्वकर्मा (आरती विश्वकर्मा)ले गरेकी थिइन् । कार्यक्रममा वक्ताहरूले लोक सञ्चारकर्मीहरूको हकहित, क्षमता अभिवृद्धि तथा मधेश प्रदेशमा लोक सञ्चारको प्रवर्द्धनका लागि नवगठित समितिले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।