२०८२ चैत्र २८
२०८२ चैत्र २८

आरके श्रीवास्तव,सर्लाही,मंसिर ०६ गते । 

बज्जिका साहित्यको क्षेत्रमा दिएको अमूल्य योगदानका लागि साहित्यकार सञ्जय साह ‘मित्र’लाई ‘कवि सदानन्द अन्तर्राष्ट्रिय बज्जिकासेवी पुरस्कार २०८२’ प्रदान गरिएको छ । शनिबार सर्लाही सदरमुकाम मलंगवामा आयोजित एक विशेष समारोहमा उनलाई नगद ५० हजार रुपैयाँसहित सम्मान–पत्र प्रदान गरिएको हो ।

बज्जिका साहित्य समाज सर्लाहीले आयोजना गरेको पुरस्कार/सम्मान समर्पण कार्यक्रममा जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख कौशलकिशोर सिंह, समाजका अध्यक्ष रामचन्द्र महतो कुशवाहालगायतले साहित्यकार साहलाई पुरस्कार प्रदान गरेका थिए । रौतहटका साहित्यकार मित्रको सम्मानपत्र बज्जिका साहित्य संगम रौतहटका अध्यक्ष किसुन दयाल यादवले वाचन गरेका थिए ।

सर्लाहीको विष्णु गाउँपालिका निवासी सेवानिवृत्त प्रहरी कर्मचारी महानन्द झाले दिवङ्गत दाजु सदानन्द झाको स्मृतिमा ‘कवि सदानन्द अन्तर्राष्ट्रिय बज्जिकासेवी पुरस्कार’ स्थापना गरेका हुन् । बज्जिका भाषा तथा साहित्यको विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने व्यक्तित्वहरूलाई प्रत्येक वर्ष यो पुरस्कार प्रदान गरिनेछ ।

कार्यक्रममा नेपाल र भारतका साहित्यकार तथा सङ्गीतकारलाई पनि सम्मान–पत्र प्रदान गरिएको थियो । सम्मानित हुनेहरूमा साहित्यकार विजय यादव ‘निर्बिज’, सञ्जयराज महतो, साधना कृष्ण, बुद्धवीर लामा, मणिभूषणप्रसाद सिंह तथा पत्रकार मनोज यादवलगायत रहेका थिए ।

सोही अवसरमा बज्जि त्रैमासिक पत्रिकाको लोकार्पण समेत गरिएको थियो । कार्यक्रमका प्रमुख आकर्षणमध्ये एक रहे साहित्यकार मित्रले प्रस्तुत गरेको बज्जिका भाषाको इतिहास, विकासक्रम र हालको अवस्थाबारे विस्तृत जानकारी ।

कार्यक्रममा उपस्थित साहित्य, भाषा र संस्कृति क्षेत्रका प्रतिष्ठित व्यक्तिहरूले बज्जिका भाषा संरक्षण तथा प्रवर्द्धनका लागि निरन्तर पहल आवश्यक रहेको धारणा व्यक्त गरेका थिए । सहभागी कविहरूले आ-आफ्नो कविता  र रचना वाचन गरेर सुनाएका थिए । वक्ताहरूले कवि सदानन्द झाकाे प्रेरणादायी जिवनीकाे बारेमा पनि आ-आफ्नो धारणा साझा गरेका थिए ।

बज्जिकाञ्चल संवाददाता,राैतहट,मंसिर ०५ गते । 

राैतहटको फतुवा बिजयपुर नगरपालिकामा करार सेवाका कर्मचारीहरूले गरिरहेको तालाबन्दी हटाउन गरिएको प्रयास निष्कर्षविहीन बनेको छ । करार अवधि थप्न ढिलाइ भएको विरोधमा दसौँ दिनदेखि जारी आन्दोलन आज पनि अन्त्य हुन सकेन् ।

आज कार्यवाहक नगरप्रमुख अम्बेया खातुनले नगरपालिका कार्यलयमा पुगेर तालाबन्दी खोल्ने प्रयास गर्दा कर्मचारीहरू राजी नहुँदा वार्ता निष्कर्षविहीन बनेको हो । खातुनले काममा फर्किन आग्रह गरे पनि कर्मचारीहरूले लिखित प्रतिवद्धता बिना तालाबन्दी नखोल्ने अडान राखे ।

हाल नगरपालिका कार्यालय प्रमुख नहुँदा प्रक्रिया अघि बढ्न नसकेको कार्यवाहक नगरप्रमुखको भनाइ छ । प्रमुख प्रशासकीय अधिकृत आएपछि मात्र लिखित रूपमा सहमति दिन सकिने बताइएपछि कर्मचारीहरू सँग वार्ता सफल हुन सकेन् ।

कर्मचारीहरूले सेवा अवधि समयमै नथपिएकाले आफूहरू बाध्य भएर आन्दोलनमा उत्रिएको बताउँदै कार्यालय प्रमुख आएपछि मात्र थप छलफल हुने बताएका छन् । त्यसअघिसम्म तालाबन्दी जारी रहने उनीहरूको भनाइ छ ।

तालाबन्दीका कारण वडा कार्यालयदेखि नगरपालिका सम्मका सबै सेवा अवरुद्ध बनेका छन् । दैनिक कामका लागि कार्यालय धाउनुपर्ने स्थानीयवासीले दुुवै पक्षलाई छिटो समाधान खोज्न आग्रह गरेका छन् ।

 

आरके श्रीवास्तव,राैतहट,मंसिर ०५ गते । 

राैतहट— GENZ 2.0 का केन्द्रीय संयोजक हरि कार्की,केन्द्रीय सचिव कुन्दन कुशवाहा,पर्सा संयोजक रजनिश कुशवाहा र राैतहट जिल्ला संयोजक सोनु कुशवाहाको टोलीले आज सिंहदरबारमा अन्तरिम मन्त्रिपरिषद्का ऊर्जा, जलस्रोत तथा सिँचाइ तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङसँग विशेष भेटघाट गरेको छ ।

भेटघाटका क्रममा राैतहट जिल्ला संयोजक सोनु कुशवाहाले राैतहट क्षेत्र नं. २ का अत्यन्तै महत्वपूर्ण समस्या— लालबकैया नदी तटबन्ध संरक्षण, सिंचाइका बम नहरहरूको लामो समयदेखि बन्द रहेको अवस्था, र किसानले झेलिरहेको प्रत्यक्ष प्रभावबारे विस्तृत रूपमा मन्त्रीमाथि ध्यानाकर्षण गराएका थिए ।

राैतहटमा हरेक वर्ष बाढी र कटानले व्यापक क्षति पुर्‍याउँदै आएको, तर दिगो समाधानका पहल अपुग रहेको उल्लेख गर्दै कुशवाहाले स्थानीय बासिन्दाको सुरक्षा र कृषि उत्पादनको भविष्य यस समस्यासँग जोडिएको बताए ।

सो क्रममा मन्त्री कुलमान घिसिङले आफू छोटो समयका लागि मन्त्रिपदमा आएपनि जनताको चिन्ता तत्काल सुन्न र समाधानका दिशामा प्रारम्भिक कदम चाल्न प्रतिबद्ध रहेको बताए ।
उनले भने— “मुख्य उद्देश्य अबको चुनाव सुनिश्चित गर्नु भए पनि, राैतहट लगायतका ठाउँबाट उठाएका यी समस्या गम्भीर र दीर्घकालीन प्रभाव पार्ने खालका छन्। उपलब्ध समय र स्रोतभित्रै सम्भव हुने पहलहरूमा तपाईंहरूलाई निराश पार्नेछैन।”

GENZ 2.0 को टोलीले मन्त्रीबाट प्राप्त सकारात्मक संकेतलाई स्वागत गर्दै राैतहट क्षेत्रका समस्यालाई केन्द्रमा राखेर निरन्तर अनुगमन तथा पहल गर्ने जनाएको छ ।

 

 

काठमाडौं, ५ मंसिर ।
Common Gen-Z Nepal का अध्यक्ष विकेश साहले जेनजी युवालाई जिस्क्याउने काम नगर्न एमाले अध्यक्ष केपी शर्मा ओलीलाई चेतावनी दिएका छन् । जेनजी युवाका हत्यारा तत्कालिन प्रधानमन्त्री ओली, गृहमन्त्री रमेश लेखक लगायतकालाई पक्राउन गरी कारबाही गर्न असफल प्रधानमन्त्री सुशीला कार्कीलाई राजीनामा दिन माग समेत उनले गरेका छन् ।

Common Gen-Z Nepal ले काठमाडौको घटेकुलो, अनामनगरमा आज पत्रकार सम्मेलन गर्दै विभिन्न समूहमा विभाजित जेनजी समूहहरुलाई गोलबद्ध र एकीकृत हुन साहले आग्रह गरेका छन् ।

‘अब टुटेर होइन, जुटेर अगाडी बढनुपर्ने हुन्छ । हामीलाई बदनाम गर्न खोजिएको छ । हाम्रा साथीहरुलाई पक्राउ गर्ने र आक्रमण गर्ने काम भइरहेको छ । तर जेनजी आन्दोलनकै बलमा प्रधानमन्त्री भएकी सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल दर्शक जस्तै हुनु दुखद छ । जेनजीका हत्यारालाई पक्राउ गरी कारबाही गर्न नसक्ने सरकार हामीलाई चाहिएको छैन् । राजीनामा दिनुपर्छ, यस्ता लुते सरकारको के काम ?,’ Common Gen-Z Nepal का अध्यक्ष साहले भने ।

जेनजीको माग सम्बोधन गर्न नसक्ने प्रधानमन्त्री कार्कीले तुरुन्त राजीनामा दिनुपर्ने उनले बताए । जेनजीका हत्या र खरबौंको विध्वसंको जिम्मेवार ओली सरकारका मुख्य व्यक्तिहरुलाई कानुनी कठघरामा उभ्याउनुपर्ने साहले माग गरेका छन् ।

उनले दुई महिना बढी भइसक्दा पनि जेनजीलाई दमन गर्ने केपी ओलीलाई पक्राउ नगर्दा उनीहरु पुनः बिद्रोहको आगो झोस्न उद्धत रहेको आरोप लगाए । केपी ओलीसहितका एमाले नतृत्वहरुले उत्तेजित बनाई अवस्थालाई विथोल्न खोजेको आरोप लगाउँदै साहले भने, ‘हत्यारा केपी ओलीको निर्देशनमा निर्दोश जेनजीहरुमाथिको दमनविरुद्ध संयुक्तरुपमा सम्पूर्ण जेनजी समूहहरु एकजुटभई प्रतिकारमा उत्रने हामी कमन जेन्जी प्रतिबद्ध छौं ।’

Nation First का संयोजक एसीपी साहले हत्या र विध्वांसको मुख्य जिम्मेवार पूर्व–प्रधानमन्त्री ओली, रमेश लेखकहरुलाई कानुनी कठघरामा नउभ्याउँदा उनीहरु थप आक्रामक भएको बताए । अहिले जेनजीलाई नै जिस्क्याउने काम उनीहरुले गरिरहेका उनले बताए ।

Gen-Z Nepal का संयोजक कृष्णमोहन सहनीले बारामा जस्तै देशभरबाट एमाले नेता कार्यकर्तालाई लखेट्ने चेतावनी दिए । जेनजी युवाहरुलाई जिस्क्याउने काम नरोकिए जसरी बाराबाट एमालेलाई लखेटने काम भएको त्यसरी नै देशैभरीबाट लखेटने काम गरिने उनले बताए ।

Nation First का सचिवालय सदस्य सुनिल सिंहले हत्यारा र भ्रष्टहरुलाई कानुनी कठघरामा ल्याउनुको सट्टा अभियान्ता डा.निकोलस भूसाललाई पक्रनुले आफूहरुलाई अक्रोशित बनाएको बताए ।

Common Gen-Z Nepal का महासचिव प्रदिप साहले आफूहरुका माग तत्काल पूरा गर्न सरकारसँग माग गरे । यो सरकार लुते जस्तै भएको बताउदै उनले जेनजीको माग पुरा नर्ग नसक्ने लुते सरकारले राजीनामा दिनुपर्ने बताए ।

Common Gen-Z Nepal का उपाध्यक्ष उज्वल शर्माले बारामा भएको घटना केपी ओली र एमालेको दम्भको कारण भएको र यसरी नै अघि बढे एमालेको पत्तासाप गरिदिने चेतावनी दिए । जेनजी इसान दुलालले जेनजी टुटफूटमा रमाउने भन्दा एकजुटभएर अगाडि बढनुपर्नेमा जोड दिए ।

Common Gen-Z Nepal ले निकास र विकासमा असफल सुशीला कार्की सरकारको विघटन हुनुपर्ने, जेन्जीको नेतृत्वमा सर्वपक्षीय सरकार र अन्तरिम संविधान घोषणा गरिनुपर्ने, ⁠जेनजी हत्यारा र देश लुटने भ्रष्टाचारीलाई कारवाही गर्नुपर्ने, जेनजी आन्दोलनकारीमाथिको दमन र धरपकड बन्द गरियोस, जेनजी आन्दोलनका शहीद, घाइते परिवारलाई रोजगारीको व्यवस्था गर्नुपर्ने, जेनजी आन्दोलनका घाइतेको उपचारमा भइरहेको हेलच्क्रयाई बन्द गर लगायतका माग गरेको छ ।

पत्रकार सम्मेलनमा कृष्णमोहन सहनी, जितेन्द्रप्रताम सिंह, सुनिल सिंह, दिलिप साह, सुभाष ठाकुर, मिथिलेश ठाकुर, ईशान दुलाल, लेनिन विष्ट लगायतकाले सम्बोधन गर्दै जेनजी हत्यारा, भ्रष्टाचारीलाई यथाशिघ्र कारबाही गर्नुपर्ने माग गरेका छन् ।

बज्जिकाञ्चल संवाददाता,राैतहट,मंसिर ०५ गते । 

रौतहटकाे गरुडा नगरपालिका–१ जयनगरमा शुक्रबार बिहान एक दुःखद दुर्घटना घटेको छ। जयनगरबाट मानपुरतर्फ गइरहेको ओम एकेडेमी विद्यालयको प्रदेश–३–००१ ख १७२६ नम्बर प्लेटको स्कुल बसले ठक्कर दिँदा २ वर्षीय आदित्य कुमार साहको मृत्यु भएको जिल्ला प्रहरीले जानकारी दिएको छ।

प्रहरीका अनुसार बिहान करिब ९ बजेतिर खेल्दै घर अगाडि निस्किएका आदित्यलाई तीव्र गतिमा आएको स्कुल बसले ठक्कर दिएको थियो।

प्रारम्भिक अनुसन्धान अनुसार बस चालकको लापरवाहीका कारण दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ।

स्थानीय बासिन्दा तथा अभिभावकहरूले बालबालिकाको सुरक्षामा ध्यान नदिने स्कुल बस चालकप्रति आक्रोश व्यक्त गरेका छन्।
दुर्घटनापछि उक्त क्षेत्रमा शोकको वातावरण छ भने मृतक बालकको परिवार गहिरो पीडामा डुबेको छ।

प्रहरीले आवश्यक कानुनी प्रक्रिया अघि बढाइरहेको र घटनाबारे विस्तृत अनुसन्धान भइरहेको जनाएको छ।

सञ्जय मिश्रा,रौतहट ५ मंसिर।
रौतहटको कटहरिया नगरपालिका–१ का नेपाली कांग्रेसबाट निर्वाचित वडा सदस्य सतलाल दास पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय रौतहटले शुक्रबार अपरान्ह ४:३० बजे गौरस्थित एक स्थानबाट दासलाई पक्राउ गरेको एसपी रबिन कार्कीले पुष्टि गरेका छन्।
उपभोक्ता समितिको सचिव बनाइ आफ्नै वडाकी विवाहित दलित महिलालाई ललाइ–फकाइ प्रेम जालमा पारेर भगाएको आरोप दासमाथि लागेको छ। चार छोराछोरीका पिता दासले तीन सन्तानकी आमासँग ‘सम्बन्ध’ बढाउँदै घरदेखि पैसा, सुनचाँदी र जग्गा सम्म हिनामिने गरेको पीडित परिवारको आरोप छ।
घटनापछि सामाजिक सञ्जालदेखि स्थानीय राजनीतिक वृत्तसम्म तातेको माहोललाई लिएर जातीय संगठन ‘राष्ट्रिय तत्मा समाज’ समेत सक्रिय बनेको छ। समाजका पूर्व अध्यक्ष राजकुमार दास, महासचिव शंकर दास तत्मा, सल्लाहकार मदन दासलगायतको टोली बिहीबार पीडित परिवार, स्थानीय अगुवासँग निरन्तर छलफलमा जुटेको थियो।
पीडित महिलाका बुबाका अनुसार, २०७२ सालमा विवाह भएकी छोरीलाई वडा सदस्य दासले उपभोक्ता समितिको सचिव बनाएपछि दुवैबीच ‘आवतजावत’ बढ्दै गएको थियो। विदेशमा रहेका छोरीका श्रीमान कृष्णनन्दनद्वासले पठाइएका करिब १२ लाख रुपैयाँ, करिब ३ लाख बराबरका सुनचाँदीको गहना समेत वडा सदस्यले लिएका छन्।
छोरीको नाउँमा रहेको पाँच कठ्ठा जग्गा समेत दासले धरौटी राखेर पैसा निकालेको महिलाको बुबाले खुलासा गरेका छन्।
परिवारका अनुसार महिलाले पछिल्ला महिनामा तीन साना छोरालाई घरमै छोडेर बाराको निजगढमा दाससँगै भाडाको कोठामा बस्दै आएकी थिइन्। समुदायको खोजबिनपछि दुवै एकै कोठाबाट भेटिए पछि बारा प्रहरीले ईलाका प्रहरी कार्यालय गरुडामा बुझाएको थियो।
सोहिदिन कटहरियाका मेयर अजय प्रकाश जैसवालको पहलमा दुवैजना लाई जिम्मा जमानीमा छोडिएको थियो।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएस्पी विष्णु प्रदीप बस्यालले विदेशबाट पठाएको रकम, गहना र जग्गासम्बन्धी प्रमाण पेश भएमा दासविरुद्ध कानुनी कारबाही र क्षतिपूर्ति अनिवार्य हुने चेतावनी दिएका छन्।
उता महिलाले आफू घरमा शारीरिक–मानसिक हिंसा सहन बाध्य भएकाले ‘सुरक्षाका कारण’ घर छाडेको बताइरहेकी छन्। मेयर अजय प्रकाश जैसवालले सबै आरोप अस्वीकार गरेका छन्।
यस घटनाले एकैपटक सात बालबालिकाको भविष्य अनिश्चित बनाएको मात्र होइन, विदेश रोजगारीमा रहेका युवाहरूले कसको खातामा पैसा पठाउने भन्ने विषयमा पुनः गम्भीर बहस उठाइदिएको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटले पक्राउ परेका वडा सदस्य दासलाई नियन्त्रणमा लिएर घटना बारे आवशयक अनुसन्धान भईरहेको जनाएको छ।
दास पक्राउ पर्नु अघि राष्ट्रिय ततमा समाजका अध्यक्ष रामबाबु दासको नेतृत्वमा शुक्रवार जिल्ला प्रशासन कार्यालय गौर अगाडी दोषीमाथि कारबाहीको माग गर्दै केही बेर प्रदर्शन गरेका थिए।
समाजका अध्यक्ष रामबाबु दासले पीडित परिवारले न्याय र दोषीमाथि कारवाही नभए कडा आन्दोलन गर्ने चेतावनी दिएका छन्।

बज्जिकाञ्चल संवाददाता,राैतहट,मंसिर ०४ गते । 

रौतहटकाे इशनाथ नगरपालिका–४ मा रहेको श्री जनता प्रा. बि महुलियाको समग्र अवस्था अत्यन्तै कमजोर भएको बुझिएको छ। विद्यालयको भौतिक पूर्वाधारदेखि लिएर भित्री शैक्षिक वातावरणसम्म सबै पक्षमा गिरावट देखिनु अभिभावक, विद्यार्थी र स्थानीय बासिन्दाका लागि चिन्ताको विषय बनेको छ।

स्थानीयका अनुसार विद्यालयका कक्षाकोठा जीर्ण अवस्थामा छन्, आवश्यक शैक्षिक सामग्रीहरूको अभाव छ, र भौतिक संरचना न्यूनतम मापदण्डसम्म पनि पुगेको छैन। यस्ता कमजोर अवस्थाले विद्यार्थीहरू असुरक्षित र असजिलो वातावरणमा पढ्न बाध्य भएका छन्, जसको प्रत्यक्ष असर उनीहरूको सिकाइ र मानसिक विकासमा परेको छ।

अभिभावकहरूले विद्यालयमा शिक्षाको स्तर लगातार घट्दै गएको भन्दै असन्तुष्टि जनाएका छन्। उनीहरूका अनुसार सम्बन्धित निकायको ध्यान नपुग्नु, नियमित अनुगमन नहुनु र आवश्यक सुधार नआउनुले विद्यालयको अवस्था झन् दयनीय बन्दै गएको छ। शिक्षकहरूले पनि अपर्याप्त सुविधाका कारण गुणस्तरीय शिक्षा दिन कठिनाइ भएको बताएका छन्।

यस नगर क्षेत्रका स्थानीयवासी र अभिभावकहरूले नगरपालिका, शिक्षा शाखा तथा अन्य सम्बद्ध निकायहरूलाई विद्यालयको अवस्थाप्रति गम्भीर हुनु र तत्काल सुधारात्मक कदम चाल्न आग्रह गरेका छन्। उनीहरूका अनुसार बालबालिकाले सुरक्षित र गुणस्तरीय शिक्षा पाउने अधिकार सुरक्षित गर्न विद्यालयको मजबुतीकरण अनिवार्य छ।

समुदायले अब सम्बन्धित अधिकारीहरूको छिटो हस्तक्षेप र प्रभावकारी समाधानको अपेक्षा गरेको छ, ताकि विद्यालयको अवस्था सुधार होएसँगै स्थानीय शिक्षा प्रणालीप्रति विश्वास पुनः स्थापित होस्।

काठमाडौं,मंसिर ३ गते । 
नेपाली कांग्रेसमा समय सापेक्ष र सशक्त नेतृत्व स्थापनाका लागि विशेष महाधिवेशनको माग उठेको छ। नेपाली कांग्रेस मधेश प्रदेशका उप सभापती प्रदेश सांसद उपसभापति वीरेन्द्र प्रसाद सिंहले आज सञ्चार कर्मी संग कुरा कानी गर्दै वहाँले भने भाद्र २३ र २४ मा भएका जेन्जी आन्दोलनले व्यक्त गरेका जनअपेक्षा र युवा पुस्ताका मागलाई सम्बोधन गर्दै पार्टीलाई नयाँ ऊर्जा र दिशा दिन आवश्यक भएको बताए।

सिंहका अनुसार, विशेष महाधिवेशन आवश्यक हुनुका मुख्य कारणहरूमा जनभावनाको सम्बोधन, समसामयिक नीतिगत सुधार, र फागुन २१ को निर्वाचनका लागि पार्टीलाई एकताबद्ध र पुनर्गठित गर्ने तयारी रहेका छन्। उनले भने, “पार्टीले वर्तमान राजनीतिक सङ्कटको गम्भीर समीक्षा गर्न, नेतृत्व परिवर्तन र केन्द्रीय कार्यसमितिको निर्वाचन गर्न, समयानुकूल नीति निर्माण गर्न तथा विधान संशोधन मार्फत संरचनामा सुधार गर्नुपर्ने देखिन्छ।”

सिंहले विधानको धारा १७ (२) अनुसार मङ्सिर २१ भित्र विशेष महाधिवेशन बोलाउने जोडदार माग राखेका छन्। उनका अनुसार, यो महाधिवेशन नेपाली कांग्रेसलाई नयाँ दिशा र ऊर्जा प्रदान गर्दै लोकतन्त्र, संविधान र जनपक्षीय मूल्यहरूको रक्षा गर्दै पार्टीलाई सशक्त नेतृत्वदायी शक्तिका रूपमा स्थापित गर्नेछ।

विशेष महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन र नीति सुधार भए पार्टी आगामी निर्वाचनका लागि थप एकताबद्ध र सक्षम हुने अपेक्षा गरिएको नेपाली कांग्रेस मधेस प्रदेशका सूचना तथा सञ्चार बिभागका सचिव निकेश त्रिपाठीले बताए।

आरके श्रीवास्तव,राैतहट,मंसिर ०४ गते । 

राैतहटकाे निर्वाचन क्षेत्र नं. २ मा विकासका कामहरू अपेक्षाकृत रूपमा निकै पछाडि परेकाे जेनजीकाे तर्फबाट आगामी संघीय चुनावकाे तयारी गरिरहेका भावी उम्मेदवार साेनु कुशवाहाले बताएका छन् । जेनजीकाे बौधीमाई नगरस्तरीय भेलालाई गत साेमबार सम्बाेधन गर्दै उनले क्षेत्रका प्रमुख समस्या र विकासका कमीबारे कडा रूपमा टिप्पणी गरेका छन् ।

उनका अनुसार स्थानीय सरकार गठन भएकाे करिब ८ वर्ष बित्न लाग्दा पनि नागरिकले अनुभूत गर्न सक्ने खालका ठूला–महत्त्वपूर्ण विकास काम हुन सकेका छैनन् । उनले नगरका विभिन्न स्थानमा सिसिटिभि क्यामेरा जडान नहुँदा चोरी–डकैतीजस्ता अपराध बढिरहेकाे उल्लेख गर्दै सुरक्षा व्यवस्थामा सुधार आवश्यक रहेकाे बताएका छन् ।

जेनजी आन्दोलनपछि प्रहरी प्रशासनकाे प्रतिष्ठा बढेकाे बताए । विकास बजेटमा कमिसनकाे खेल हुँदै आएकाेले हरेक वर्ष निर्माण भएका बाँधहरू भत्किनुपर्ने अवस्था सिर्जना हुने गरेको उनको भनाइ थियाे ।

छोटी भन्सार सञ्चालनमा नआउँदा स्थानीय व्यवसायीहरू समस्यामा परेकाे तथा बम नाहर सञ्चालनमा नआएर किसानहरू वर्षौंदेखि मर्कामा परिरहेकाे उनले उल्लेख गरिन् । त्यसैगरी क्षेत्रमा राम्रो अस्पतालकाे अभाव, शिक्षामा पछाडि र सेवा–सुविधामा स्थायी सुधार नआएको उनले बताए ।

बौधीमाई नगरपालिकामा जेनजी टिमद्वारा आयोजित भेलामा युवाहरूकाे उत्साहपूर्ण सहभागीता थियो । कार्यक्रमका सहभागीहरूले क्षेत्रका समस्या समाधानका लागि नयाँ नेतृत्व आवश्यक रहेको बताएका थिए ।

बज्जिकाञ्चल संवाददाता,राैतहट,कार्तिक ३० गते । 

राैतहट । करार सेवामा कार्यरत कर्मचारीहरूको म्याद थपमा ढिलाइ भएको विरोधस्वरूप रौतहटको फतुवा विजयपुर नगरपालिकामा सुरु भएको तालाबन्दी र आन्दोलन पाँचौँ दिनमा पुगेको छ । संघर्ष समितिको नेतृत्वमा कर्मचारीहरूले वडा कार्यालयदेखि नगर कार्यपालिकासम्म तालाबन्दी गर्दै अनिश्चितकालीन आन्दोलन जारी राखेका हुन् ।

संघर्ष समितिका अनुसार, लामो समयदेखि नगरपालिकामा सेवा दिइरहेका करार कर्मचारीहरूको सेवा अवधि समयमै नथपिएकाले बाध्य भएर सडकमा उत्रिनुपरेको हो । उनीहरूले “म्याद थप्नुपर्छ”, “करार कर्मचारीको हक–अधिकार सुनिश्चित गर” जस्ता नारासहित शान्तिपूर्ण धर्ना चलाइरहेका छन् । आन्दोलनले नगरपालिकाको नियमित प्रशासनिक सेवा ठप्प भएको छ भने स्थानीय सेवाग्राहीले गम्भीर समस्या भोगिरहेका छन् ।

यता, कार्यवाहक नगर प्रमुख अमबेया खातुनले आफूले पहिले नै म्याद थपसम्बन्धी सम्पूर्ण प्रक्रिया अघि बढाउन निर्देशन दिएको बताउँदा पनि समस्या समाधानमा ढिलाइ हुनु दुर्भाग्यपूर्ण रहेको प्रतिक्रिया दिएकी छन् ।

उता, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृत भरत प्रसाद यादवलाई आर्थिक कारोबारमा रोक लगाएको स्रोतले जनाएको छ । कार्यालय प्रमुखको जिम्मेवारी नै तोकिएको नहुँदा आवश्यक निर्णय प्रक्रियामा बाधा पुगिरहेको र समस्याको समाधान कहिल्यै हुने–नहुने अनिश्चितता उत्पन्न भएको कर्मचारीहरूको आरोप छ ।

तालाबन्दीका कारण वडा कार्यालय र नगर कार्यपालिकाका सबै प्रकारका सेवा प्रभावित बनेका छन् । दैनिक कामका लागि कार्यालय धाउने स्थानीयहरूले गुनासो गर्दै आन्दोलन चाँडो समाधान गर्न दुवै पक्षलाई आग्रह गरेका छन् ।

स्थितिको समाधानका लागि नगरपालिकाले छिटो सहमतिको वातावरण बनाउन पहल गर्ने अपेक्षा गरिन्छ । आईतवार फतुवा बिजयपुर वडा नम्बर २ वडा अध्यक्ष अनिरूद्व प्रसाद यादव(संजय) र वडा नम्बर ७ का वडा अध्यक्ष रामविश्वसा यादवले पनि आन्दोलनमा ऐक्यबद्धता जनाएका छन् ।

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।