काठमाडौं । काठमाडौंको बल्खु पुलमुनी एक जना पुरुषको शव फेला परेको छ । बुधबार बिहान बस्खुस्थित पुलमुनी बाढीले बगाएर ल्याएको अवस्थामा एक जनाको शव फेला परेको कालीमाटी प्रहरी वृत्तले जनाएको छ ।
बाँके घर भई मृतक सुकुम्वासीमा बस्ने ४५ वर्षीय राम सरुप महतोको शव फेला परेको हो । कालीमाटी प्रहरी वृत्तका अनुसार उक्त शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पठाइएको छ । मृतका आफन्त पनि सम्पर्कमा आइसकेको प्रहरीले जनाएको छ ।
मङ्गलबार रातीदेखि परेको अविरल वर्षाका कारण काठमाडौँ उपत्यकाका विभिन्न खोला किनारा डुबानमा परेको छ । न्युज कारखाना
काठमाडौँ । उत्तर कोरियाका शासक किम जोङ उनको तौल फेरि बढेको छ । मिडिया रिपोर्टका अनुसार किमलाई उच्च रक्तचाप र मोटोपनासँग सम्बन्धित मधुमेह जस्ता स्वास्थ्य समस्याहरू देखा परेको छ र उनका अधिकारीहरूले उनको उपचारको नयाँ विधि खोजिएको उल्लेख गरिएको छ ।
अत्यधिक मद्यपान र धुम्रपानका लागि परिचित ४० वर्षीय किमको परिवारलाई हृदय रोगको इतिहास छ । किमका बुवा र हजुरबुवा दुवैको हृदयघातका कारण मृत्यु भएको थियो । किम भन्दा पहिले दुबैले उत्तर कोरियामा शासन गरेका थिए ।
केही विज्ञहरूका अनुसार किम करिब १७० सेन्टिमिटर (५ फिट, ७ इन्च) अग्ला रहेका छन् । यसअघि किमको तौल १४० किलोग्राम (३०८ पाउण्ड) थियो । यसपछि २०२१ मा उनले आफ्नो डाइट परिवर्तन गरेर तौल घटाए तर अहिले मिडिया फुटेज हेर्दा उनको तौल फेरि बढेको देखिन्छ ।
किमको जीवनशैली र खानपान निकै रोचक छ । किम जीवनशैलीमा महँगो रक्सी, विशेष चुरोट र विदेशबाट आयात गरिएको मासु समावेश छ । उनलाई मदिराको लत रहेको दाबि समेत गरिएको छ ।
रिपोर्टका अनुसार किमलाई गाईको दूध र सर्पको वाइनबाट बनेको चीज मनपर्छ । यस बाहेक उनलाई जापानी परिकार सुशी र साम्पेन पनि मन पर्छ । किमलाई जापानबाट आयात गरिएको कोब मासु मनपर्छ, कोब मासु संसारमा सबैभन्दा महँगो र कम उपलब्ध मासु हो । यसका साथै किमलाई डेनमार्कको उच्च गुणस्तरको सुँगुर र इरानको क्याभियर खान पनि मन पर्छ ।
रिपोर्टका अनुसार किमलाई ब्ल्याक लेबल स्कच ह्विस्की र हेनेसी ब्रान्डी पिउन मन पराउनका लागि हरेक वर्ष औसत २०० करोडको रक्सी अन्य देशबाट उत्तर कोरियामा आयात गरिन्छ । न्युज कारखाना
काठमाडौँ । यसवर्षको हालसम्म देशभर २० जना बिरामीमा हैजा पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले काठमाडौँ, ललितपुर र कैलालीमा गरी २० जनामा हैजा पुष्टि भएको जानकारी दिए ।
उनले सहरी क्षेत्रमा बढ्दो जनधनत्वसँगै सुरक्षित खानेपानी र पर्यावरणीय स्वच्छतामा कमी तथा बाढीपहिरोका घटनाले पानी तथा सरसफाइका पूर्वाधारमा पार्ने नकारात्मक असरका कारण नेपालमा हैजाको सङ्क्रमण देखिने गरेको बताए ।
अति सङ्क्रामक र शीघ्र फैलिने झाडापखाला भएकाले हैजाको मुख्य लक्षण चौलानी पानी जस्तो दिशा आउने, वाकवाकी लाग्ने, वान्ता हुने र कडा जलवियोजन हुने गर्दछ ।
सङ्क्रमणले गम्भीर अवस्थामा पुर्याउँदा आँखा गाडिने, मुख, जिब्रो र घाँटी सुक्खा हुने, पिसाबको रङ्ग पँहेलो हुने, रक्तचाप कम हुने, मुटुको धड्कन अनियन्त्रित हुने र बेहोस हुनसक्ने मन्त्रालयका प्रवक्ता डा बुढाथोकीले बताए । ‘हैजाका बिरामीलाई तुरुन्तै अस्पताल नपुर्याए ५० प्रतिशतको मृत्यु हुने सम्भावना हुन्छ । हैजा सङ्क्रमितमध्ये ८० प्रतिशतमा कुनै लक्षण विकसित हुँदैन तर उनीहरूको दिशामा पहिलादेखि १० दिनसम्म भिब्रियो कोलेरा ब्याक्टेरिया रहन सक्छ र लक्षण देखिएकामा पनि ८० प्रतिशतलाई मन्ददेखि मध्यमस्तरको लक्षण देखिन्छ । २० प्रतिशतलाई चौलानी जस्तै दिशा हुने र पानीको अभावजस्ता तीव्र लक्षण देखिन्छन्’, उनले भने ।
झिगा लागेको, बासी, सडेगलेको, नपाकेको, चिसिएको खुलास्थानका खाद्यपदार्थ नखान, पानीलाई उमालेर वा क्लेरिन प्रयोग गरेर मात्र प्रयोग गर्न र गराउन, व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिनुका साथै दिशापिसाब गरिसकेपछि साबुन पानीले मिचिमिची हात हुन मन्त्रालयले सबैमा अनुरोध गरेको छ । न्युज कारखाना
काठमाडौँ । भारतको केरलाको वायनाडस्थित मेपाडी नजिक पहिरोमा परी मृत्यु हुनेको संख्या १२३ पुगेको छ । यसबाहेक एक सयभन्दा बढी घाइतेलाई अस्पतालमा भर्ना गरिएको छ ।
केरलाका मुख्यमन्त्री पिनाराई विजयनले दुर्घटनामा बेपत्ता हुनेको संख्या पनि ९० पुगेको जानकारी दिएका छन् । पहिरोमा ठूलो संख्यामा मानिसहरु फसेको आशंका छ । मृत्यु हुनेको संख्या बढ्न सक्ने बताइएको छ ।
अहिले उद्धार कार्यमा एनडीआरएफ, कन्नूर डिफेन्स सेक्युरिटी कोर र वायुसेनाका हेलिकप्टर संलग्न रहेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । तर वर्षाका कारण उद्धार कार्यमा कठिनाइ भइरहेको बताइएको छ ।
मुख्यमन्त्री विजयनको कार्यालयले सेनालाई पहिरो स्थानमा पुग्न अस्थायी पुल निर्माण गर्न मद्दत गर्न आग्रह गरेको जनाएको छ । केही दिनयता केरलाका धेरै ठाउँमा भारी वर्षा भइरहेको छ । यी स्थानहरूमा मुन्डक्काई, अट्टामाला र कुनहोम जस्ता क्षेत्रहरू पनि समावेश छन्।
यी क्षेत्रमा २४ घण्टामा २०४ मिलिमिटर वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । केरलाका केही अन्य क्षेत्रमा वर्षाको सन्दर्भमा सुन्तला र पहेंलो अलर्ट जारी गरिएको छ।
केरलाको प्रकोप व्यवस्थापन विभागले मानिसहरूलाई पहिरोको सम्भावना भएका ठाउँहरूबाट टाढा रहन आग्रह गरेको छ ।
वायनाड केरलाको पहाडी क्षेत्र हो र यहाँ ठूलो संख्यामा पर्यटकहरू आउने गर्छन्। कोझिकोड एयरपोर्टबाट वायनाडको दूरी लगभग ८६ किलोमिटर छ। वायनाड कर्नाटकको कोडागु र मैसूर जिल्लाहरूको उत्तरमा र तमिलनाडुको नीलगिरी जिल्लाहरूको उत्तर-पूर्वमा छ । न्युज कारखाना
काठमाडौँ । जारी पेरिस ओलम्पिकमा अहिलेसम्म ४३ देशले पदक जितेका छन् । आइतबार सम्पन्न खेलपछि २१ देशले स्वर्ण पदक जितेका छन् भने कुल ४३ देशले पदक जितेका छन् ।
जसमा जापान ७ स्वर्ण, २ रजत र ४ काश्य पदकसहित शिर्ष स्थानमा रहेको छ भने चीन ६ स्वर्ण, ६ रजत र २ काश्य पदक जितेर दोस्रो स्थानमा रहेको छ
त्यस्तै अस्ट्रेलिया पनि ६ स्वर्णसहित ४ रजत र एक काश्य पदक जितेर तेस्रो स्थानमा रहेको छ भने आयोजक फ्रान्स ५ स्वर्ण ९ रजत र ४ काश्य पदक सहित चौथो स्थानमा रहेको छ ।
त्यस्तै दक्षिण कोरियाले ५ स्वर्ण ३ रजत र ३ काश्य पदक जितेको छ भने अमेरिकाले ४ स्वर्ण ११ रजत र ११ काश्य पदक जितेको छ ।
त्यस्तै ग्रेट ब्रिटेनले ४ स्वर्ण, ५ रजत र ३ काश्य पदक जितेको छ भने इटालीले ३ स्वर्ण, ४ रजत र ४ काश्य पदक जितेको छ । त्यस्तै क्यानडा, हङकङ र जर्मनी २-२ स्वर्ण पदक जितेका छन् ।
त्यसैगरी काजकिस्तान, दक्षिण अफ्रिका, बेल्जियम, आयरल्याण्ड, अजरबैजान, न्यूजील्याण्ड, रोमानिया, स्लोभेनिया, सर्बिया र उज्बेकिस्तानले पनि एक एक स्वर्ण पदक जितेका छन् ।
त्यसैगरी अहिलेसम्म ओलम्पिक पदक जित्ने देशमा ब्राजिल, स्विडेन, कोसोभो, मेक्सिको, पोल्याण्ड, टर्की, फिजी, जर्जिया, मंगोलिया, उत्तर कोरिया, ट्युनिसिया, भारत, मोलडोभा, क्रोसिया, इजिप्ट, स्पेन, ग्वाटेमाला, हंगेरी, स्वीजरल्याण्ड, स्लोभाकिया, ताजकिस्तान र युक्रेन रहेका छन् ।न्युज कारखाना
काठमाडौँ । भारतले श्रीलंकाविरुद्धको टी-२० सिरिजको अन्तिम खेलमा सुपर ओभरमा रोमाञ्चक जित हासिल गरेको छ ।
मंगलबार राति सम्पन्न खेलमा भारतले दिएको १३८ रनको लक्ष्य पछाएको श्रीलंकाले २० ओभरमा ८ विकेट गुमाउदै १३७ रन बनाएपछि खेलको निर्णय सुपर ओभरमा भएको थियो ।
यस अघि भारतले पहिला ब्याटिंग गर्दै २० ओभरमा ९ विकेट गुमाएर १३७ रन बनाएको थियो ।
सुपर ओभरमा श्रीलंकाले केवल २ रन मात्र बनाएपछि भारतले पहिलो बलमा नै खेल जितेको थियो ।
योसँगै भारतले टी- २० सिरिज ३-० ले क्लीन स्वीप गरेको छ । यस अघि सम्पन्न दुवै खेलमा भारतले जित हासिल गरेको थियो ।
श्रीलंका टूरमा रहेको भारतले अब आइतबारदेखि एकदिवसीय सिरिज खेल्ने छ ।न्युज कारखाना
काठमाडौं । नेपाली पौडी खेलाडी एलेक्जेन्डर शाहले पेरिस ओलम्पिकमा आफ्नै नामको राष्ट्रिय कीर्तिमानमा सुधार गरेका छन् ।
मंगलबार सम्पन्न खेलमा पुरुष १०० मिटर फ्रि–स्टायलमा प्रतिस्पर्धा गरेका शाहले ५१.९१ सेकेन्डको समय निकाल्दै आठ खेलाडी रहेको हिटमा तेस्रो भएका थिए । योसँगै उनले नाममा रहेको राष्ट्रिय कीर्तिमान सुधार गरेका हुन्।
उनले गत फेब्रुअरीमा कताको दोहामा भएको विश्व च्याम्पियनसिपमा ५२.१७ सेकेन्डको राष्ट्रिय कीर्तिमान बनाएका थिए । एलेक्सले वाइल्ड कार्डमार्फत् पेरिस ओलम्पिकमा पुगेका थिए ।न्युज कारखाना
रौतहट १५ साउन । रौतहट स्थित ईलाका प्रहरी कार्यालय चन्द्रिगाहपुरले पछिल्लो ४ दिन भित्र तीन थान चोरीको मोटरसाईकल र एकजना मोटरसाईकल चोरलाई पक्राउ गरेको छ।
केही दिन अघि मात्र कार्यालय प्रमुखको जिम्मेवारी लिएका डिएसपी राजकुमार राईको निर्देशनमा बिशेष अभियान अन्तर्गत छुट्टाछुट्टै स्थानबाट चोरीको ३ थान मोटरसाईकल र एकजनाचोर लाई पक्राउ गरेको हो।
चन्द्रपुर नगरपालिका ४ मुस्लिम टोलका २४ बर्षीय हसन सरिफको नाउँमा रहेको प्रदेश २ ( ०२८ प ७८३४ नम्बरको बाजाज कम्पनीको २०० सिसिको एनएस मोटरसाईकल गत ११ गते राती उनको घरैबाट चोरी भएको थियो।
चोरीको भोलिपल्ट सरिफले दिएको निवेदनको आधारमा डिएसपी राईको निर्देशन अनुसार मोटरसाईकलको इन्जिन नम्बर चेचिस नम्बर मिलान गरी मोटरसाईकल बरामद गरेको थियो।
मोटरसाईकलसँगै माधव नारायण नगरपालिका १ दिपही गाउँका रञ्जित जैसवालको छोरा बर्ष २७ को शिवचन्द्र प्रसाद जैसवाल लाई प्रहरीले पक्राउ गरी कानूनी कारवाहीको दायरामा ल्याएको छ।

त्यस अघि चन्द्रपुर नगरपालिका ९ सिन्धुरेघारीका बर्ष ४२ को ज्ञानेन्द्र चौलागाईको नाममा रहेको प्रदेश २(०३(०१७ प। ९७४८ नम्बरको यामाहा कम्पनीको एफजेडएस १५० सि।सि। को मोटरसाइकल र सोही ठाउँका बर्ष ४० को सुबर्ण चौलागाईको नाममा रहेको प्रदेश २(०३(०१९ प। ५३२५ नम्बरको एभेन्जर २२० सि।सि।को मोटरसाइकल घर अगाडी आंगनमा एकै ठाउँमा पार्किंङ गरी राखेको अबस्थामा गत असार ३० गते विहान ४ बजे चोरी भएको थियो।
पीडितको उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय चन्द्रिगाहपुरले खोजतलास गर्दै गुजरा नगरपालिका २ कटानी स्थितमा रहेको नहर छेउको जंगलमा लुकाई छिपाई राखेको अबस्थामा फेला पारी सम्बन्धीत मोटरसाइकल धनीलाई बुझाईएको थियो। डिएसपी राजकुमार राईले आफ्नो कार्यक्षेत्र भित्र यौन ब्यापार, लागुऔषध कारोबार संगै आपराधिक क्रियाकलाप पूर्ण रूपमा नियन्त्रण गर्ने प्रतिबद्धता जनाउँदै आएका छन।न्युज कारखाना
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ ।
हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ । बागमती प्रदेशका थोरै स्थानहरूमा तथा कोशी, मधेश, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षा भैरहेको छ ।
आज दिउँसो देशभर साधारणतया बदली रहने छ। कोशी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, कर्णाली र सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।
त्यस्तै आज राती देशभर साधारणतया बदली रहने छ। सबै प्रदेशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा बागमती, गण्डकी, र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ।न्युज कारखाना
काठमाडौं । साहित्यकार तथा पत्रकार लोकमणि पौडेलको उपन्यास ‘अग्निदहन’ मा आधारित रहेर निर्माण गरिएको शिक्षामूलक सामाजिक फिल्म ‘अग्नीदहन’को फस्टलुक सार्वजनिक भएको छ ।
राजधानीमा मंगलबार एक कार्यक्रमबीच सूचना तथा सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले फस्टलुक सार्वजनिक गरेका हुन् । फिल्म आगामी मंसिर ७ गते रिलिज हुँदैछ ।
कार्यक्रममा मन्त्री गुरुङले बोक्सीको अन्धविश्वासविरुद्ध फिल्म निर्माण हुनु सराहनीय कार्य भएको बताए । ‘बोक्सीको आरोपमा धेरै महिला मारिएका छन् । उनीहरुमाथि कुटपिट भएको छ, उनीहरुले आत्महत्या गरेका छन् । अझ भनौं अमानवीय कार्य नै भएको छ’, उनले भने, ‘नेपालमा बोक्सी प्रथाको अन्धविश्वास हटाउन ठूलो चुनौती छ । यो प्रथा हाम्रो शरीरमा रहेको पिलो जस्तै हो । त्यसलाई सबैले मिलेर फाल्नुपर्छ । त्यो अभियानमा यो फिल्म सफल हुन्छ भन्नेमा आशावादी छु ।’
फिल्मका निर्देशक घनश्याम लामिछानेले एउटा डरलाग्दो विषयलाई फिल्ममा उठान गरिएको बताए । ‘फिल्ममा थ्रिल, सस्पेन्स सबै छ । उपन्यासलाई हामीले सिनेम्याटिक तवरबाट फिल्ममा उतारेका छौं । फिल्ममा दर्शकले सन्देश र उत्सुकता दुवै पाउनुहुनेछ’, उनले भने ।
निर्देशक लामिछानेले संस्थाको उद्देश्य पूरा हुनेगरी फिल्म निमार्ण भएको बताउँदै उनले आगामी मंसिर ७ गते हलमा आएर ‘अग्नीदहन’ हेरिदिन पनि आग्रह गरे । मान्छे कोही पनि बोक्सी हुँदैन भन्ने सोचलाई देशव्यापी रुपमा अभियानको रुपमा अगाडि बढाउन फिल्म निर्माण गरिएको उनको भनाइ छ ।
फिल्मका परिकल्पनाकार कोविदशरण उपाध्यायले फिल्मलाई तराईका जिल्लामा प्रदर्शन गराउनका लागि मैथिली र भोजपुरी भाषामा समेत डबिङ गरिएको बताए । उनका अनुसार फिल्म अंग्रेजी भाषामा पनि सबटाइटल गरिएको छ । फिल्मका वितरक डीसीएनका अशोक शर्माले ‘अग्नीदहन’ व्यावसायिक फिल्म नभएको बताए ।
वरिष्ठ कलाकार, निर्देशक तथा यस फिल्मका वितरक अशोक शर्माले बोक्सी प्रथा आशंकाको भरमा घट्ने घटना रहेको बताए । वैज्ञानिक रुपमा कुनै प्रमाणित गर्न नसकिने विषयमा समाजका कमजोर मान्छेलाई बोक्सीको आरोप लगाइने उनले बताए । सामाजिक सन्देश भएका यस्ता प्रकारका चलचित्रमा सरकारको पनि सहभागिता हुन आवश्यक रहेको उनको भनाइ छ ।
मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठानका अध्यक्ष कोविदचरण उपाध्ययले समाजमा अहिले पनि बोक्सीको नामा कुट्ने, पिट्ने जिउँदै जलाउने, मलमुत्र खुवाउनेलगायतका घटनाहरु घटिरहेको बताए । विशेषगरी मधेश प्रदेशमा यो कुप्रथाको प्रभाव बढी रहेको पनि उनले बताए । उनले नेपालमा बोक्सी प्रथा उन्मुलनका लागि यो फिल्म बनाइएको बताए । ‘जसरी सति प्रथा उन्मुलन भएको थियो, त्यसरी अब नेपाली समाजबाट बोक्सी कुप्रथालाई जरैदेखि उखेलेर फाल्नुपर्छ,’ उनले भने ।
फिल्म मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठान नेपालले निर्माण गरेको हो । यो संस्था बोक्सी कुप्रथालाई शिक्षा र चेतनाको माध्यमद्वारा अन्त्य गरी नेपाललाई बोक्सी कुप्रथाको अन्धविश्वासबाट मुक्त गराएरै छोड्ने अठोटका साथ २०७१ सालमा स्थापना गरिएको हो ।
फिल्ममा प्रकाश घिमिरे, प्रमिला तुलाचन, माओत्से गुरुङ, अनुपमा भण्डारी, तुलसी क्षेत्री, विष्णु वास्तोला, ताराबहादुर गुरुङको अभिनय छ ।
फिल्ममा लोकमणि पौडेलको कथा, पटकथा र संवाद, कोविदशरण उपाध्यायको परिकल्पना, परिच्छेद सेनको मुख्य सहायक निर्देशन, शंकर पाण्डेको प्रोडक्सन डिजाइन, दीर्घ गुरुङको छायांकन, दीर्घ खड्काको सम्पादन, राजेन्द्र मोक्तानको रंग संयोजन छ ।
यो फिल्मलाई निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहालले हेरिसकेका छन् । फिल्मलाई चलचित्र विकास बोर्डले ‘विशेष चलचित्र अवार्ड’ समेत दिइसकेको छ ।
न्युज कारखाना