२०८२ चैत्र २६
२०८२ चैत्र २६

काठमाडौँ, मंसिर २२ गते — आगामी समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत हुने प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ मा सहभागी बन्न लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल दर्ता भएको छ ।

निर्वाचन आयोगअन्तर्गत रहेको निर्वाचन अधिकृतको कार्यालय, समानुपातिक निर्वाचन प्रणाली शाखाले उक्त दलले मिति २०८२/०८/२२ मा दर्ता निवेदन दर्ता गरेको औपचारिक जानकारी सार्वजनिक गरेको हो ।

कार्यालयका अनुसार सो दलको निवेदन दाखिला नम्बर ४३ मा दर्ता गरिएको छ ।

दर्ता प्रमाणित गर्ने कर्मचारी प्रकाश सुवेदी, दर्जा शाखा अधिकृतले प्रमाणिकरण गर्दै मिति २०८२/०८/२२ मा दल दर्ताको सूचना जारी गरेका हुन् ।

निर्वाचन अधिकृतको कार्यालय काठमाडौंमा दर्ता प्रक्रिया सम्पन्न भएको जनाइएको छ ।

 

आरके श्रीवास्तव,राैतहट,२२ गते मंसिर । 

रौतहट । बौधीमाई नगरपालिकामा सेवा प्रवाहमा भइरहेको अव्यवस्था, कर्मचारीको लापरवाही र जनताप्रति गैरजिम्मेवार व्यवहारका कारण जेनजी २.० ले आज नगरपालिका प्रमुखलाई ज्ञापन–पत्र बुझाउँदै तत्काल सुधारको माग गरेको छ ।

रौतहट जिल्लाका संयोजक सोनु कुशवाहा सहितको टोलीले बुझाइएको ज्ञापन–पत्रमा नगरपालिकामा जनताले दैनिक रूपमा भोगिरहनुपरेका समस्याहरू गम्भीर रूपमा अघि सारिएको छ । सेवाग्राहीले घण्टौँ प्रतीक्षा गर्दा पनि कर्मचारीहरू कार्यालयमा समयमै उपस्थित नहुने, काममा ढिलाइ गर्ने र जिम्मेवारी नलिने घटनाले जनतामा तीव्र असन्तुष्टि बढेको उनीहरूको भनाइ छ ।

जेनजी २.० ले राखेका प्रमुख मागहरू बायोमेट्रिक/डिजिटल हाजिरी प्रणाली कडाइका साथ लागू गर्ने र ढिलाइ–हाजिरीमा स्पष्ट कारबाही गर्ने,कार्यालय समय पूर्ण रूपमा नगरपालिका परिसरमै बस्ने कडा निर्देशन जारी गर्ने अनधिकृत होर्डिङ बोर्ड नियन्त्रण तथा व्यवस्थापन रहेका छन् ।

 त्यस्तै छाडा पशु व्यवस्थापनमा नगरपालिकाले तत्काल कदम चाल्ने, शिक्षामा निःशुल्क र न्यायपूर्ण पहुँच सुनिश्चित गर्न निजी तथा सार्वजनिक विद्यालयमा कानुनअनुसार छात्रवृत्ति वितरण र शुल्क व्यवस्थापनमा कडाइ,नगरक्षेत्रका स्वास्थ्य चौकी र अस्पतालहरूमा सुधार — सरसफाइ, औषधि सामग्री, चिकित्सकीय उपकरण, स्वास्थ्यकर्मीको उपस्थिती, फोहोर व्यवस्थापनदेखि विश्रामकक्ष, शौचालय र पिउने पानीको गुणस्तरसहित सेवा सुधार गर्न माग रहेका छन् ।

ज्ञापन–पत्रमा महिलाहरू, बालबालिका, वृद्धवृद्धा लगायत सबैका लागि सजिलो र सम्मानजनक सेवा सुनिश्चित गर्न विशेष ध्यान दिन आग्रह गरिएको छ । साथै, सेवा सुधारका लागि जनगुनासो सुन्ने प्रभावकारी प्रणाली अविलम्ब सञ्चालन गर्न पनि माग गरिएको छ ।

स्थानीय तहप्रति विश्वास पुनःस्थापित गर्न माग

ज्ञापन–पत्रमा नगरपालिका प्रणालीमा देखिएको अनियमितताले जनताको विश्वास कमजोर बनाएको भन्दै,

“कर्मचारीको अनुशासन, हाजिरी, सेवा प्रवाह र कार्यालय व्यवस्थापनमा तत्काल सुधार अनिवार्य छ,”
भनेर जेनजी २.० ले स्पष्ट रूपमा आफ्नो धारणा राखेको छ ।

उनीहरूले नगरपालिकाले यस विषयलाई गम्भीरतापूर्वक लिएर आवश्यक कदम चाल्ने अपेक्षा व्यक्त गरेका छन् ।

आरके श्रीवास्तव,राैतहट,२२ गते मंसिर । 

राैतहटकाे फतुवा बिजयपुर नगरपालिकामा सोमबार नयाँ प्रमुख प्रशासकीय अधिकृत मदन थापालाई कार्यवाहक नगरप्रमुख अम्बेया खातुन र उनका श्रीमान् मोहम्मद सेराजले औपचारिक रूपमा स्वागत गरेका छन् ।

कार्यालयमा स्वागत कार्यक्रममा कार्यवाहक नगरप्रमुख खातुनले नयाँ सीएओको थापालाई नगरपालिकाको नियमित कामकाजलाई तीव्रता दिन स्पष्ट निर्देशन दिएकी छिन् । उनले लामो समयदेखि अलमलमा परिरहेका प्रशासनिक काम व्यवस्थित रूपमा अघि बढाउने अपेक्षा व्यक्त गरिन् ।

नव नियुक्त प्रमुख प्रशासकीय अधिकृत मदन थापाले कार्यालय व्यवस्थापन, सेवा प्रवाह र कर्मचारी समन्वयको विषयमा चासो व्यक्त गर्दै सबै कर्मचारीसँग राय–सुझाव समेत लिएका थिए । थापाले आफ्नो नेतृत्वमा नगरपालिका “सेवाग्राहीमैत्री र प्रभावकारी” ढंगले सञ्चालन हुने प्रतिबद्धता जनाए ।

यसअघि म्याद थपका माग गर्दै करार कर्मचारीले लामो समयदेखि कार्यालयमा तालाबन्दी गरेका थिए । आइतबार म्याद थप गर्ने सहमति भएपछि तालाबन्दी खुलेको थियो र नगरपालिका पुनः सञ्चालनमा आएको छ ।

तालाबन्दी हटेपछि अब नगरपालिका सुचारु हुँदै जाने अपेक्षा नगरवासीमा देखिएको छ । कार्यवाहक नगरप्रमुख खातुन, सेराज र प्रमुख प्रशासकीय अधिकृत थापाको सक्रियतासँगै विकास तथा सेवा वितरणका काम तीव्र गतिमा अघि बढ्ने विश्वास गरिएको छ ।

रौतहट, २१ मंसिर । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले जेन–जी आन्दोलनले देशको गौरव बढाएको भन्दै यो आन्दोलनलाई अपराधीकरण नगर्न प्रधानमन्त्री सुशीला कार्कीलाई चेतावनी दिएका छन् । सुशासन कायम गर्न र भ्रष्टाचार अन्त्यको लागि नेपालको जेनजी पुस्ताले सडकमार्फत विद्रोह गरेर दुई तिहाईको सत्ता ढालेको भन्दै साहले यस्तो आन्दोलनको गौरव गर्नुको साटो अहिलेको सरकारले जेन–जी आन्दोलनकारीलाई धरपकड गर्ने र मुद्दा लगाउने काम गरेको भन्दै आक्रोश पोखेका हुन् ।

आम जनता पार्टीको निर्वाचन क्षेत्रीय भेला रौतहट–४ चन्द्रपुर–७ नयाँ बस्तीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वमन्त्री साहले प्रधानमन्त्री कार्कीलाई जेनजी आन्दोलनलाई विद्रुपीकरण गर्ने र आन्दोलनमा सहभागी साहसी युवाहरुलाई प्रताडित गर्ने काम तत्काल बन्द गर्न चेतावनी दिएका हुन् ।

साहले भने‘गत भदौ २३ र २४ गते नेपालमा जेनजी आन्दोलन भयो । जनेजीको नेतृत्वमा जनविद्रोह भयो । दुनियाँमा यो आन्दोलनेले देशको गौरव बढाएको छ । नेपालको इतिहासमा दुई दिनमा सत्ता उलटपुलट गरेको यो पहिलो आन्दोलन हो । यसले सबै रेकर्डलाई तोडेको छ । म यही मञ्चबाट जेनजीहरुलाई सलाम भन्न चाहन्छु । तपाईं जेनजीहरुले नेपालको गौरव बढाउनुभएको छ । भ्रष्टाचारीलाई चकनाचुर गर्ने जेन–जीहरु सम्मानित हुनुपर्ने हो, तर, अहिले यहाँ उल्टै जेनजीहरुलाई अपमानित गरिएको छ । लुक्नुपर्ने स्थिति बनाईएको छ । म सुशीला कार्कीलाई सोध्न चाहन्छु–जेनजी आन्दोलन महान थियो कि नाजायज थियो ? तपाईं त यही जेनजी आन्दोलनबाट प्रधानमन्त्री बन्नुभयो, तर जेनजी युवालाई हत्कडी लगाउनुभएको छ, यो गलत हो । तपाईंले जेनजी आन्दोलनकै बेलामा भ्रष्टाचारीलाई कारबाही गर्नुपर्छ भन्नुभएको थियो, तर अहिले प्रधानमन्त्रीको कुर्सीमा विराजमान भएर ती महान जेनजीलाई हत्कडी लगाउनुभएको छ, भ्रष्टलाई सम्मान गर्नुभएको छ, प्रधानमन्त्रीज्यू तपाईंको यो दोहोरो चरित्र किन ? यो दोहोरो चरित्र अब चल्दैन ।’

उनले प्रधानमन्त्री कार्कीलाई ऐतिहासिक जेन–जी आन्दोलनलाई संस्थागत गर्न र उनीहरुको माग सम्बोधन गर्न सुझाव दिए । उनले भने,‘तपाईं त अहिले उल्टै नेताहरुको चाकडीमा लाग्नुभएको छ, तिनै चोर नेताहरुको इशारामा हिँडिरहनुभएको छ । यो हामीलाई स्विकार्य छैन । जेनजीलाई सताईराख्नुभएको छ, यो हर्कत दुनियाँलाई मन परेको छैन । यो सुधार गर्नुहोस ।’

उनले भदौ २३ गते जेनजी युवाहरु र अवोध बालबालिकामाथि गोली हानेर ताकि ताकि हत्या गरेपछि भदौ २४ गते प्रतिक्रियास्वरुप जनविद्रोह भएको टिप्पणी गरे । उनले भने,‘शान्तिपूर्ण आन्दोलनमा सहभागी भएका जेजनीहरुको हत्या नभएको भए, र अवोध बच्चाहरुमाथि गोली नबर्साएको भए भोलिपल्ट जनविद्रोह हुँदैन थियो, यो तोडफोडको सम्भावना थिएन । जुन आमाबुवाको आफ्ना बच्चाहरु मारिएका छन्, जसको कोख रित्तिएको छ, उनीहरुलाई एकपटक सोध्नुहोस त । तोडफोड त जेनजीहरुको हत्याको विरुद्धमा उत्पन्न जनविद्रोहको प्रतिक्रिया हो । हत्याभन्दा ठूलो अपराध तोडफोड हो त ? अब जेनजीहरुको बेहाल बनाउने काम स्विकार्य छैन ।’

उनले वर्तमान सरकार नै जेनजी आन्दोलनको बलमा बनेको भन्दै आफ्नो जग नबिर्सिन प्रधानमन्त्री कार्कीलाई चेतानवी दिए । उनले भने,‘यो सरकारको स्वामित्व कसले लिने ? सुशीला सरकार जेनजी आन्दोलनले बनाएको भनेर दुनियाँलाई थाहा छ, प्रधानमन्त्री र राष्ट्रपति त लखेटिएका थिए, सेनाको सहारामा लुकेर बसेका थिए, अहिले आएर तपाईंले मलाई राष्ट्रपतिले प्रधानमन्त्री बनाएको भन्ने ? कि त तपाईं म जेनजीलाई चिन्दिनँ भन्नुहोस । होईन भने नैतिकता देखाउनुहोस ।’

साहले आफूहरु अब ठूलो आन्दोलनमा होमिएको भन्दै भ्रष्टाचारविरुद्धको लडाईं जितेरै छोड्ने घोषणा गरे । उनले भ्रष्ट र चोर नेताकै कारण देशको मुहार परिवर्तन नभएको दाबी गरे । उनले भने,‘नेपाललाई यो हालतमा पुर्याउने यिनै चोर नेता र दलहरु हुन् । नेतातन्त्र र भ्रष्ट अनि दलाल दलतन्त्रको कारण देशको यो हालत भएको छ । म लोकतन्त्रको लागि लडेको छु भन्नेलाई एकपटक सोध्नुहोस, तपाईंले के गर्नुभयो भनेर ? अहिले नेताको आसेपासे मालामाल, जनता लाचार भएका छन् । मनोमानी र लुटतन्त्र गर्नेलाई लखेट्ने बेला आएको छ । छद्यभेषीलाई चिन्नुपर्छ ।’

साहले हिजो मधेश समृद्ध रहेको इतिहास सुनाउँदै आज मधेशवादी दलकै कारण मधेश उजाड भएको आरोप लगाए । सिंगो देशलाई पाल्ने अन्नको भण्डार मधेश आज कमजोर बनाउने काम यहाँका शासक मधेशवादी दलले गरेको उनको आरोप थियो । उनले भने,‘मधेशलाई यो हालतमा पुर्याउने काम यिनै मधेशको ठेकेदारी गर्नेहरुले पुर्याएको हो, यिनीहरुलाई अब सोध्ने बेला आएको छ । यी छद्यभेषीको नकाब उतार्नुपर्छ ।’

उनले सिंगो देशबाट नै भ्रष्टाचार उखेलेर फाल्ने भनेर आफूहरुले संकल्प गरेको उद्घोष गरे । उनले भने,‘हामीले केही संकल्प गरेका छौं । भ्रष्टाचार उखेलेर फाल्छौं । दलतन्त्र उखेलेर फाल्छौं । अहिले चुनावको बेलामा नयाँ दलहरु च्याउ उम्रिएझैं उम्रिएका छन् । हामीले त चुनाव सकिएपछि पार्टी बनाएको हो । संसदबाट मात्रै लडेर हुँदैन भनेर पार्टी बनाएको हो । हामी लगातार तीन वर्षदेखि भ्रष्टाचारविरुद्ध लडेका छौं । भ्रष्टाचारीको मनोवल गिराउन र जनताको मनोवल बढाउन लडेका छौं । कर आतंकविरुद्ध लडेकै हो । नेपालमा दुनियाँको महँगो कर नेपालमा छ । दुनियाँमा जिडिपीको २० प्रतिशतमात्रै कर लिईन्छ, तर नेपालमा जिडिपीको ३५ प्रतिशत कर लिईन्छ । आम्दानीको ठूलो हिस्सा सरकारले लिएपछि के प्रगति हुन्छ?’

साहले मौलापुरमा कर आतंक बन्द गर्नुपर्छ भनेर आफूहरुले ‘शून्य कर’ को नीति लागु गरेको र सफल भएको सुनाए । उनले भने,‘हामीले यहाँ एक रुपैयाँ पनि कर लिएका छैनौं । मौलापुरले जनताको लिने होईन, जनतालाई दिने काम गरेको छ । मौलापुरले देशमा एउटा मोडेलको काम छ । समृद्धिको जग हासिल गर्नेछौं । नेपालमा प्रकृतिले हामीलाई स्वर्ग दिएको छ । तर, नेताहरुको कुकर्मले देश नर्क बनाए । बयोवृद्धमात्रै छन् । युवाहरु पलायन हुनुपरेको छ । यो अवस्थाको अब अन्त्य गरिनुपर्छ ।’

उनले नेपालमा दलतन्त्रको चरम विद्रुपीकरण रहेको भन्दै सबैले आफ्नो पालामा देश लुट्ने काम गरेकोले आज देश र जनताको अवस्थामा परिवर्तन नआएको दाबी गरे । उनले भने,‘आज कुनैपनि चोर नेताले आफ्नो पालामा भ्रष्टाचार भयो भनेर भन्दैन् । पार्टीका नेताहरुले त मिलिजुली लुटेका छन् । ७६१ सरकारमा कुनै न कुनै दल सरकारमा छन् । सबै भागबण्डा गरिरहेका छन् । लुटिरहेका छन् । यो व्यवस्था आउँदा जम्मा ३ खर्ब ऋण थियो । आज २८ अर्बभन्दा माथि ऋण छ । यो देशमा आज एउटा बच्चा जन्मिनेबित्तिकै एक लाख ऋण लाग्छ । तपाईं हामीले अब सोध्ने बेला आयो, यी चोर नेतालाई कि तपाईंले लिएको कर्जाको पैसा के गर्नुभयो ? १९ खर्ब बजेट छ, तर ऋण २८ खर्ब छ । मुलुक अहिले एफटिएएफको ग्रे–लिष्टमा छ । २ वर्षको समय छ । यो अवधिमा ग्रे–लिष्टबाट निस्किन सकिएन भने मुलुक ब्ल्याक–लिष्टमा जान्छ । अनि देशको अवस्था के हुन्छ ? यो विषयमा अब चोर नेतासँग यो स्थितिको बारेमा सोध्नुपर्छ । भ्रष्टाचार, कर्जा, करको आतंक किन भयो भनेर चोर पार्टी र यसका नेताहरुलाई सोध्नुपर्छ ।’

उनले अहिले गरिव जनताका छोराछोरीले खाडी मुलुकमा दुःख गरेर कमाएर देश पठाउने गरेको तर यही देशमा लुटेन उच्चपदस्थले सन्तान र सम्पत्ति विदेश पुर्याएको भन्दै आक्रोश पोखे । उनले अब लुटेरा अनि भगौडा वर्गको भण्डाफोर गर्नुपर्ने आवश्यकता औंल्याए । उनले देशको सत्ताको चाबी दलाल र भगौडाको हातमा रहेको भन्दै उनीहरुबाट त्यो चाबी खोसेर जनताको हातमा ल्याउने उद्घोष गरे । उनले भने,‘सत्ताको चाबी अब विचौलिया र दलालको हातबाट खोसेर जनताको हातमा ल्याईछाड्छौं ।’

उनले नेपालको इतिहासमा रौतहटले जहिल्यैपनि अग्रणी भूमिका खेलेको स्मरण गराए । उनले भने,‘यो देशको परिवर्तनको आन्दोलनमा रौतहटले अग्रणी भूमिका खेलेको छ । जब जब देशमा संकट आईपरेको छ, यो जिल्लाले जुरुक्कै उठेर निकासको लागि भूमिका खेलेको छ । अब फेरि हामी नयाँ इतिहास कोर्नेछौं । यही जिल्लाले नयाँ इतिहास बनाउनेछ ।’

बज्जिकाञ्चल संवाददाता,राैतहट,२० गते मंसिर । 

राैतहटकाे बौधिमाइ नगरपालिकाका सामुदायिक विद्यालयहरूमा जेनजी २.० का जिल्ला संयोजक सोनु कुशवाहाको नेतृत्वमा अनुगमन कार्य सम्पन्न भएको छ । अनुगमनका क्रममा विद्यालय व्यवस्थापनदेखि भौतिक पूर्वाधारसम्मका महत्वपूर्ण विषयहरूमा सुधार आवश्यक रहेको निष्कर्ष निकालिएको छ ।

टिमले विद्यालयहरूमा सरसफाइको अवस्था कमजोर रहेको, शौचालयको अभाव, सेनेटरी प्याडको सहज पहुँच नहुँदा विद्यार्थी विशेषगरी किशोरीहरू प्रभावित भएको तथा विज्ञान प्रयोगशाला स्तरोन्नतिको आवश्यकता देखिएको जनाएको छ ।

विद्यार्थीहरूले खेलकुद सामाग्री अभावबारे राखेको मागलाई सम्बोधन गर्दै संयोजक कुशवाहाले आवश्यक सामग्री उपलब्ध गराउन समन्वय गर्ने आश्वासन दिएका छन् । यस विषयमा बौधिमाइका नगर प्रमुख प्रदिप यादवले पनि विद्यालय सुधारका लागि छिट्टै आवश्यक व्यवस्थापन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

युवा सक्रियताको माध्यमबाट अघि बढाइएको शिक्षा सुधार अभियान परोहा र बौधिमाइ क्षेत्रका युवाको निरन्तर सहयोगका कारण थप प्रभावकारी बन्दै गएको स्थानीयहरूले बताएका छन् ।


‎सागर संगम ठाकुर,रौतहट, मंसिर १७ गते

‎रौतहटको देवाही गोनाही नगरपालिकामा अपाङ्गता भएका व्यक्तिहरूको ३४ औँ अन्तर्राष्ट्रिय दिवस विभिन्न कार्यक्रमहरूको आयोजना गर्दै भव्य रूपमा मनाइएको छ। तराई एकता अपाङ्ग संघको आयोजना तथा देवाही गोनाही नगरपालिकाको सहयोगमा नगरपालिका भवनको सभाहलमा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रम संस्थाका अध्यक्ष अजय कुमार यादवको अध्यक्षतामा भएको थियो भने देवाही गोनाही नगरपालिकाका नगर प्रमुख प्रेमलाल साह प्रमुख अतिथिका रूपमा उपस्थित रहनु भयो। अपाङ्गता समावेशी समाजको प्रतिबद्धता, सामाजिक उन्नतिको संवर्द्धन’ भन्ने मूल नाराका साथ मनाइएको कार्यक्रममा अध्यक्ष यादवले दिवसका उद्देश्य र महत्वबारे जानकारी गराउनुभयो।

सो अवसरमा प्रमुख अतिथि नगर प्रमुख साहले नगरपालिकाभित्र रहेका अशक्त तथा अपाङ्गता भएका व्यक्तिहरूलाई २५ वटा ह्विलचेयर यसै हप्ता वितरण गर्ने प्रतिबद्धता जनाउनुभयो।कार्यक्रममा वक्ताहरूले नेपाल सरकारले संविधानमार्फत अपाङ्गता भएका नागरिकलाई विविधताको पहिचानसहित मर्यादा, आत्मसम्मानको जीवन र सार्वजनिक सेवा–सुविधामा समान पहुँचको हक सुनिश्चित गरे पनि व्यवहारमा त्यसको पूर्ण कार्यान्वयन हुन बाँकी रहेको भन्दै आवाज उठाएका थिए।

आरके श्रीवास्तव,राैतहट,१७ गते मंसिर । 

रौतहट — फतुवा विजयपुर नगरपालिकामा नगर स्तरीय दोस्रो त्रैमासिक परीक्षा आगामी मंसिर २८ गतेदेखि सञ्चालन हुने भएको छ । नगरभरिका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूको उपस्थितिमा वडा नं. १० स्थित माध्यमिक विद्यालय दुधिअवामा बसेको बैठकले परीक्षा सुरु गर्ने निर्णय गरेको हो । उक्त जानकारी परीक्षा समिति अध्यक्ष तथा माँ सरस्वती प्राथमिक विद्यालयका प्रधानाध्यापक सुबोध प्रसाद यादवले दिएका छन् ।

यसअघि नगरपालिकाको अव्यवस्थित शैक्षिक अवस्थालाई मध्यनजर गर्दै केही माध्यमिक विद्यालयहरूले मंसिर २२ गतेदेखि परीक्षा सञ्चालन गर्ने तयारी गरेका थिए । तर प्रमुख प्रशासकीय अधिकृत मदन थापाको आग्रहपछि परीक्षा मिति एकरूपता कायम गर्न सबै विद्यालय सहमत भएका हुन् । मावि टेंग्राहाका प्रधानाध्यापक अनिल यादवका अनुसार एक–दुई दिन पर्खिएपछि सबै विद्यालयले एउटै मितिबाट परीक्षा गर्न सहमति जनाएको बताए ।

त्यसैगरी, मावि दुधिअवाका प्रधानाध्यापक रविन्द्र प्रसाद साहले आफ्नो विद्यालयले प्राविधिक रूपमा परीक्षा समितिलाई आवश्यक सहयोग प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

बैठकमा सहभागी कार्यवाहक नगरप्रमुख अम्बेया खातुनका श्रीमान् तथा प्रदेश सांसद प्रत्यासी मोहमद सेराजले नगरपालिकाले परीक्षा सञ्चालनका लागि १५ लाख रुपैयाँ विनियोजन गरिएको जानकारी गराउँदै प्रश्नपत्र तथा उत्तरपुस्तिका नगरपालिकाले नै उपलब्ध गराउने बताए ।

बैठकमा नगरभरिका सबै सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूको सक्रिय उपस्थिति थियो र परीक्षा सुव्यवस्थित, एकीकृत तथा प्रभावकारी रूपमा सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गरिएको थियो ।

आरके श्रीवास्तव,राैतहट,१७ गते मंसिर । 

राैतहट । गरुडा नगरपालिका–५ स्थित शिवनगर टोलमा वर्षौंदेखि भइरहेको पानी थुनिने समस्या स्थानीय पहल तथा निजी लगानीमा समाधान गरिएको छ । स्थानीय बासिन्दाले समस्या समाधानका लागि नगरप्रमुख तथा वडा अध्यक्षसमक्ष पटक–पटक माग राख्दा “वडामा बजेट उपलब्ध नभएको” भन्दै बेवास्ता गरिएको स्थानीयवासीले बताए ।

लगातारको जलजमावका कारण २० घरधुरी प्रभावित हुँदै आएका थिए । घरभित्रै पानी छिर्ने, बाटो हिलाम्मे हुने तथा सरसफाइजन्य जोखिम बढेपछि स्थानीयले वैकल्पिक उपाय खोज्दै वडा अध्यक्ष पदका प्रत्यासी रमेश यादवलाई जानकारी गराएका थिए ।

स्थानीयको आग्रहपछि यादवले आफनाे निजी लगानीमा टोलमा पाईप जडान गरी उचित पानी निकास व्यवस्था मिलाएका छन् । पानी निकास मार्ग बनेपछि लामो समयदेखि समस्यामा परेका घरधुरीले राहत पाएका छन् ।

स्थानीयवासीका अनुसार, ” ढलको समस्या समाधान गर्न नगरपालिका र वडा कार्यालयले चासो नदेखाएको अवस्थामा निजी पहलले टोल बस्तीमै ठूलो राहत दिएको छ ।”

यो घटनाले स्थानीय तहमा आधारभूत सेवाप्रति सरकारी ध्यान नपुगेका समस्या निजी लगानी वा सामुदायिक पहलमा भर पर्नुपर्ने अवस्था देखाएको छ ।

आरके श्रीवास्तव,राैतहट,१७ गते मंसिर । 

रौतहट । शान्ति–सुरक्षा सुदृढीकरण तथा भ्रष्टाचारविरुद्ध सक्रिय भूमिका खेल्ने उद्देश्यका साथ जेनजी २.० युवा समूहले प्रहरी प्रशासनसँग औपचारिक रूपमा सहकार्य गर्ने प्रतिवद्धता जनाएको छ । समूहका रौतहट जिल्ला संयोजक सोनु कुशवाहाले बंकुलस्थित प्रहरी चौकी तथा सशस्त्र प्रहरी बललाई पत्र बुझाउँदै आफ्नो समूह शान्ति, अनुशासन र जिम्मेवार नागरिकताको मार्गमा अगाडि बढिरहेको स्पष्ट पारेका हुन् ।

समूहका अनुसार पछिल्लो समयमा देशभर युवाको नाममा उग्र गतिविधि र भ्रम फैलाउने प्रवृत्ति बढ्दै गए पनि आफूहरू त्यस्ता क्रियाकलापबाट पूर्ण रूपमा अलग रहेको र समाजमा सकारात्मक परिवर्तनका लागि कानुनी दायराभित्र रहेर काम गरिरहेको बताए ।

पत्रमा जेनजी २.० ले प्रहरी प्रशासनलाई निम्न बुँदामा सहयोग गर्ने उल्लेख छ । समाजमा शान्ति–सुरक्षा कायम राख्न निरन्तर सहकार्य गर्ने,भ्रष्टाचार तथा गैरकानुनी गतिविधिविरुद्ध कानुनी प्रक्रियाभित्र रहेर सूचना तथा सहयोग उपलब्ध गराउने,युवाहरूलाई सही दिशामा उन्मुख गराउन प्रहरी–युवा सहकार्यलाई थप प्रभावकारी बनाउने,समुदायमा फैलिएको अविश्वास र डर हटाउन समुदाय–प्रहरी सहकार्य कार्यक्रम विस्तार गर्न आग्रह गर्ने रहेका छन् ।

साथै संयोजक कुशवाहाले सिमापारीबाट घरायसी प्रयोजनका लागि ल्याइने सामानमा अनावश्यक रोक तथा झन्झट नलगाउन प्रहरीले विशेष ध्यान दिनुपर्ने माग पनि राखेका छन् ।

Gen Z 2.0 समूहले प्रहरी प्रशासनसँगको सहयोग नै शान्ति, पारदर्शिता र सामाजिक परिवर्तनका लागि प्रभावकारी माध्यम बन्ने विश्वास व्यक्त गर्दै सुरक्षामा खटिएका प्रहरीप्रति आभार प्रकट गरेको छ ।

अर्जुन कुमार यादव,रौतहट,१७ गते मंसिर ।

रौतहटको राजदेवी नगरपालिकामा उपसचिव बिकाउ कुमार यादवले प्रमुख प्रशासकीय अधिकृतका रूपमा आज औपचारिक रूपमा पदभार ग्रहण गरेका छन्। नगरपालिकाले आयोजना गरेको विशेष समारोहका बीच यादवले हाजिरी जनाएसँगै स्थानीय तहको प्रशासनिक नेतृत्वमा नयाँ ऊर्जा थपिएको मानिएको छ।

कार्यक्रममा नगर प्रमुख भिखारी प्रसाद यादव प्रमुख अतिथिका रूपमा उपस्थित रहेका थिए। स्वागत मन्तव्यका क्रममा नगर प्रमुखले नयाँ प्रशासकीय अधिकृतको आगमनले नगरपालिका प्रशासनमा पारदर्शिता, कार्यकुशलता र सेवा प्रवाहको गति अभिवृद्धि हुने विश्वास व्यक्त गरे। उनले नगरपालिकाको समग्र विकास, सुशासन र जनसेवामा समन्वय एवं सहकार्यलाई निरन्तर अगाडि बढाइने बताए।

प्रमुख प्रशासकीय अधिकृत यादवले आफ्नो कार्यकाललाई नागरिकमैत्री, छरितो र प्रभावकारी सेवा प्रवाहमा केन्द्रित गर्ने प्रतिबद्धता व्यक्ति गरे। उनले स्थानीय तहमा देखिने विभिन्न प्रशासनिक चुनौती समाधान, सेवा प्रक्रियामा समयबद्धता, सुशासन, सूचना पहुँच र जनअभिमुख कार्यलाई प्राथमिकताका रूपमा अघि बढाइने बताए। साथै, नगरपालिका विकासका योजना, कार्यक्रम तथा बजेट कार्यान्वयनमा पारदर्शिता अनिवार्य हुने स्पष्ट पारे।

उनले जनप्रतिनिधि, कर्मचारी तथा स्थानीय समुदायबीचको सहकार्य नै सफल स्थानीय शासनको मेरुदण्ड हुने बताउँदै सबैसँग खुलेर काम गर्ने प्रतिवद्धता दोहो¥याए।

उक्त कार्यक्रममा नगरपालिका कर्मचारी, जनप्रतिनिधि, सामाजिक अगुवा तथा स्थानीयवासीको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रममा स्वागत तथा परिचय सत्र पनि सम्पन्न गरिएको थियो।
समारोहको अन्त्यमा नगर प्रमुखले सबै सहभागीप्रति आभार व्यक्त गर्दै आगामी दिनमा नगर विकास र जनसेवामा संयुक्त प्रयास जारी राखिने बताए।

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।