२०८३ श्रावण १
२०८३ श्रावण १

ढाका, ३२ साउन । बंगलादेशले अघिल्लो अवामी लिग सरकारले करारमा नियुक्त गरेका ७ राजदूतलाई तत्काल स्वदेश फर्कन निर्देशन दिएको छ ।

 

जसमा वासिङ्टनका लागि राजदूत मोहम्मद इमरान, रुसका लागि राजदूत कमरुल हसन, साउदी अरबका लागि राजदूत जावेद पटवारी, जापानका लागि राजदूत शाहबुद्दीन अहमद, जर्मनीका लागि राजदूत मोशर्रफ हुसेन भुइया, युएईका लागि राजदूत अबु जफर र उच्चायुक्त रियर एडमिरल एसएम अबुल कलाम रहेका छन् ।

 

परराष्ट्र मन्त्रालयले उनीहरूलाई आफ्नो वर्तमान जिम्मेवारी त्यागेर तुरुन्तै ढाकास्थित मुख्यालयमा फर्किन उनीहरूलाई छुट्टाछुट्टै सूचना पठाएको बंगलादेशका सञ्चारमाध्यमले जनाएका छन् ।

राजदूतबाहेक वासिङ्गटनमा फर्स्ट सेक्रेटरी वाहिदुज्जमान नूर र काउन्सिलर अरिफा रहमान रुमा, क्यानडाको ओटावामा काउन्सिलर अपर्णा रानी पाल र काउन्सिलर मोबाश्विरा फरजाना मिथिला र न्यूयोर्कमा थर्ड सेक्रेटरी असिब उद्दिन अहमदलाई पनि फिर्ता बोलाइएको छ ।

 

अगस्ट ८ मा अन्तरिम सरकार गठन भएपछि बंगलादेशमा ठूलो प्रशासनिक फेरबदल भइरहेको बेला राजदुतहरुलाई फिर्ता बोलाएको हो ।न्युज कारखाना

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले मंकी पक्सलाई विश्वव्यापी सार्वजनिक स्वास्थ्य संकट घोषणा गरेको छ । डब्ल्यूएचओले दुई बर्षमा मंकीपक्सलाई स्वास्थ्य संकट घोषणा गरको यो दोस्रो पटक हो । यो रोग स्वास्थ्य आपतकालिन रूपमा रिपोर्ट गरिएको छ । कंगोमा यो रोगको प्रकोप फैलिएको छ र छिमेकी राष्ट्रहरू पनि यसको चपेटामा परेका छन् ।

मंकी पक्स एक किसिमको भाइरल रोग हो । सामान्यतया, यो भाइरसको संक्रमणले कुनै साइड इफेक्ट गर्दैन, तर दुर्लभ अवस्थामा यो घातक हुन सक्छ । जसका कारण फ्लुजस्ता लक्षण देखा पर्छन् । यो भाइरस ओर्थोपक्स भाइरस जीनस परिवारको सदस्य हो, जुन बिफरको लागि पनि जिम्मेवार छ ।

डब्ल्यूएचओले विभिन्न प्रकोपहरूमा मंकी पक्सको मृत्यु दर फरक रहेको भन्दै चिन्ता व्यक्त गरेको छ । कहिलेकाहीँ यो १० प्रतिशत भन्दा बढी हुन्छ । यो सरुवा रोग भएकाले यो झन् खतरनाक हुनसक्छ । त्यसैले डब्ल्यूएचओले उच्च तहको अलर्ट जारी गरेको बताएको छ ।

अफ्रिका सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (अफ्रिका सीडीसी) का अनुसार यस वर्ष अफ्रिकी महाद्वीपमा हालसम्म १७ हजार भन्दा बढी मंकी पक्सका संक्रमण रिपोर्ट गरिएको छ, जबकि ५१७ जनाको मृत्यु भएको छ । अघिल्लो वर्षको सोही अवधिको तुलनामा यो वर्ष १६० प्रतिशतले केस बढेको रिपोर्टमा उल्लेख छ । कुल १३ देशहरूमा मंकी पक्सका संक्रमण देखिएको छ ।

कंगोमा, प्रकोप ‘क्लेड आई’ भनेर चिनिने स्थानीय प्रकारको फैलावटबाट सुरु भएको बताइएको छ । तर एउटा नयाँ क्लेड-आईबी स्ट्रेन देखा परेको छ जुन सामान्य सम्पर्कबाट सजिलै फैलिन्छ । यसमा यौन सम्पर्क समावेश छ । यो कंगोका छिमेकी देशहरू जस्तै बुरुन्डी, केन्या, रुवाण्डा र युगान्डामा पनि फैलिएको छ । जसका कारण डब्ल्यूएचओले यस्तो संकटको घोषणा गर्नु परेको हो ।

डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले यो रोगको फैलावट रोक्न र जीवन बचाउन विश्वले मिलेर काम गर्नुपर्ने कुरा स्पष्ट भएको बताएका छन् । यस हप्ताको सुरुमा, अफ्रिकाको शीर्ष सार्वजनिक स्वास्थ्य निकायले अफ्रिकामा मंकी पक्स आपतकाल घोषणा गर्‍यो । यो भाइरल संक्रमण खतरनाक रूपमा फैलिरहेको छ ।

मंकी पक्सका लक्षण:

– एक व्यक्तिलाई भाइरसको सम्पर्कमा आएपछि, लक्षणहरू देखा पर्न धेरै दिन वा केही हप्ता लाग्न सक्छ ।

– यसको लक्षण सामान्यतया ३ देखि १७ दिनमा एक्सपोजर पछि देखा पर्दछ । जब एक व्यक्ति भाइरसको सम्पर्कमा आएको र यसको लक्षणहरू देखा पर्न थाल्छ, यसलाई इन्क्युबेशन अवधि भनिन्छ ।
यसको लक्षण सामान्यतया २ देखि ४ हप्तासम्म रहन्छ ।

– मंकी पक्सको प्रारम्भिक लक्षण ज्वरो हो । ज्वरो आएको २ देखि ४ दिनपछि छालामा दाना निस्किन थाल्ने हुन्छ ।

– यसमा देखिने दाना प्राय पहेलो हुन्छ । त्यसपछि, यो हात वा खुट्टामा देखा पर्दछ र त्यसपछि शरीरको अन्य भागहरूमा फैलिन्छ ।

– २०२२ मा सुरु भएको प्रकोपसँग सम्बन्धित मामिलाहरूमा, प्रायः यौनांग क्षेत्रमा सुरु हुने गर्दथ्यो तर अहिले यो अनुहार र घाँटीबाट शुरु भएको पाइएको छ ।

– मंकी पक्सका दाना धेरै चरणहरूमा जान्छ । सुरुमा दागहरू छालामा परिणत हुन्छन् । त्यसपछि यी फोकाहरूले भरिन्छन्। त्यसपछि स्क्याबहरू बन्छन् र २ देखि ४ हप्ताको अवधिमा सुक्छन् ।

– यी दागहरू मुख, अनुहार, हात, खुट्टा, लिंग, योनि वा मलद्वारमा जुनसुकै ठाउँमा देखा पर्न सक्छन्। कहिलेकाहीँ तिनीहरू घाँटीमा पनि हुन्छन्।
जबदेखि मंकीपक्सका लक्षणहरू देखा पर्न थाल्छन्, तबदेखि तपाईंको दाग र दागहरू निको नभएसम्म, संक्रमित व्यक्तिले यसलाई फैलाउन सक्छ । यसबाहेक, लक्षणहरू देखिनु अघि नै यो संक्रमित व्यक्तिमा फैलिन सक्छ ।

प्रत्येक संक्रमित व्यक्तिमा लक्षण फरक

– मंकीपक्स भएका सबैमा सबै लक्षणहरू देखा पर्दैनन् । प्राय: संक्रमित व्यक्तिहरू यस्ता लक्षणहरूबाट गुज्रिरहेका हुन्छन् ।

– छालामा दाग मात्र देखा परेका छन्, अन्य लक्षणहरू देखिँदैनन् । कहिलेकाहीँ केही लक्षणहरू पछि विकसित हुन्छन् ।

– यसमा फ्लू जस्ता लक्षण देखा पर्छन्, त्यसपछि दाना देखा पर्दछ ।  संक्रमण भए पनि कतिपयलाई दाग वा दाना नदेखिने हुन सक्छ ।

– कसै-कसैमा दानाहरू व्यापक हुन सक्छन् अर्थात् शरीरभरि फैलिन सक्छन् र दानाहरू आकारमा धेरै ठूला हुन सक्छन् । जबकि कतिपय मानिसमा थोरै धब्बा वा फोका मात्र देखिन्छन् ।

– कतिपयलाई मंकीपक्सको संक्रमण भए पनि थाहा हुँदैन । यसका लक्षणहरू केही मानिसहरूमा नदेखिने भएकाले यस्तो हुन्छ । यो अझै पनि सम्भव छ, संक्रमित व्यक्तिले नजिकको सम्पर्कमार्फत अरूलाई फैलाउन सक्छ ।

मंकीपक्सले कसलाई असर गर्छ ?

यो भाइरसले कसैलाई पनि असर गर्न सक्छ । यद्यपि, अफ्रिकामा धेरै जसो केसहरूमा, १५ वर्ष मुनिका बालबालिकाहरू अधिकांश पीडित रहेको पाइएको छ । यसको एउटा कारण अधिकांश वयस्कहरूले मंकीपक्सको खोप पाएको कारणले हुनसक्ने बताइएको छ तर बालबालिकालाई यो खोप दिन मिल्दैन ।

अफ्रिका बाहिर, यो रोग अन्य पुरुषहरूसँग यौनसम्पर्क गर्ने पुरुषहरूमा बढी फैलिएको डब्ल्यूएचओले बताएको छ । यद्यपि, यो भाइरस उभयलिंगी वा समलिङ्गी नभएका मानिसहरूमा पनि फैलिएको पाइएको छ ।

मंकीपक्सको उपचार र बच्ने उपाय

सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनका अनुसार हाल मंकीपक्सको संक्रमणको कुनै खास उपचार उपलब्ध छैन । तर, यसको फैलावटलाई केही औषधिको सहायताले नियन्त्रण गर्न सकिन्छ । केही औषधिहरू पहिले नै बजारमा उपलब्ध छन्, जुन मंकीपक्सको उपचारमा प्रयोगको लागि अनुमोदित छन् र यो रोग विरुद्ध धेरै हदसम्म प्रभावकारी छन् ।

धेरै खोपहरूले हामीलाई मंकीपक्सको प्रकोपबाट बचाउन सक्छ । यसका लागि मात्रै केही खोपहरू तयार भएका छन् भने केही खोपहरू बिफरका लागि तयार पारिएका छन्, जुन रोकथामका लागि प्रभावकारी छन् ।
मन्कीपक्सबाट बच्न JYNNEOSTM भ्याक्सिन पनि बजारमा उपलब्ध छ, जुन इम्युन वा इम्भेनेक्सको नाममा पाइन्छ । यो अफ्रिकामा ठूलो मात्रामा प्रयोग गरिन्छ । यसको तथ्यांकले यो खोप मंकीपक्सको रोकथाममा ८५ प्रतिशत सम्म प्रभावकारी रहेको देखाएको छ ।

ACAM2000, नामको बिफर खोप, पनि यसलाई रोक्न धेरै प्रभावकारी साबित भएको छ । विश्व स्वास्थ्य सङ्गठनले बिफरको खोप लगाइएका व्यक्तिहरूको प्रतिरोधात्मक क्षमताले मंकीपक्सको भाइरसबाट जोगाउन धेरै हदसम्म प्रभावकारी भएको बताएको छ ।न्युज कारखाना

काठमाडौँ । रुसकी एक ब्याले डान्सरलाई १२ बर्षको जेल सजाय भएको छ ।

रुसी अदालतले ब्याले डान्सर केसेनिया कार्लिनालाई युक्रेनलाई सहयोग गर्ने एक परोपकारी संस्थालाई ५१ डलर दान गरेको आरोपमा १२ वर्षको जेल सजाय सुनाएको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।

उनलाई देशद्रोहको मुद्दामा यो सजाय दिइएको हो । कार्लिना हाल लस एन्जलसमा बस्दै आएकी थिइन् र उनलाई २०२१ मा अमेरिकी नागरिकता दिइएको थियो । क्यारोलिनालाई जनवरीमा मस्कोबाट १६ सय किलोमिटर पूर्वमा येकातेरिनबर्गमा पारिवारिक यात्राको क्रममा पक्राउ गरिएको थियो ।

रुसको संघीय सुरक्षा सेवाले केसेनिया कार्लिनाले युक्रेनी सेनालाई हतियार उपलब्ध गराउने युक्रेनी संगठनका लागि रकम जुटाएको बताएको छ ।न्युज कारखाना

काठमाडौँ । परराष्ट्र मन्त्रालयकी सचिव सेवा लम्साललाई बेल्जियमका लागि नेपाली राजदूतमा सिफारिस गरेको छ ।

विहिबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले लम्साललाई राजदूतका लागि सिफारिस गरेको हो ।

लम्साल २०८० मंसिर २९ मा परराष्ट्र मन्त्रालयको सचिव नियुक्त भएकी थिइन् । उनी परराष्ट्र मन्त्रालयको पहिलो महिला सचिव समेत हुन् ।न्युज कारखाना

काठमाडौँ । स्पेनिस ला लिगाको नयाँ सिजन शुरु भएको छ । गएरातीबाट सुरु भएको नयाँ सिजनका शुरुका दुवै खेल बराबरीमा सकिएका छन् । सिजनको पहिलो खेलमा एथलेटिको बिलबाओ र गेटाफेले १–१ को बराबरी खेलेका छन् ।

एथलेटिक बिल्बाओका लागि खेलको २७औं मिनेटमा ओइहान सान्सेटले शुरुवाती गोल गरेका थिए भने खेलको ६४औं मिनेटमा क्रिससान्टस उचेले गेटाफेका लागि गोल गर्दै खेल बराबरी गरेका थिए ।

यस्तै गएराती नै सम्पन्न अर्को खेलमा जिरोना रियल बेटिससँग १–१ को बराबरीमा रोकिएको छ । गत सिजन तेस्रो स्थानमा रहेको जिरोना यस सिजनको पहिलो खेलमा बराबरीमा रोकिएको हो ।

खेलको छैटौ मिनेटमा नै मार्क बार्ट्राले गोल गर्दै रियल बेटिसलाई अग्रता दिलाएका थिए भने खेलको ७२औं मिनेटमा गाब्रियल मिसेहोउयीलेव गोल गर्दै जिरोनालाई हारबाट जोगाएका थिए ।न्युज कारखाना

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मुल्य घटाएको छ ।

निगमको विहिबार बसेको संचालक समितिको वैठकले पेट्रोलमा प्रतिलिटर ५ र डिजल तथा मट्टीतेलमा प्रतिलिटर ३ रुपैयाँ घटाएको हो । घटेको मुल्य आज राति १२ बजेदेखि लागि हुने निगमले जनाएको छ ।

निगमले भारतबाट आएको नयाँ मुल्य सूचीमा पेट्रोल प्रतिलिटर ५ र डिजल तथा मट्टीतेल प्रतिलिटर २ रुपैयाँ ९६ पैसाले घटेर आएको जनाएको छ ।

नयाँ मुल्य अनुसार अब काठमाडौँमा पेट्रोलको प्रति लिटर १६५ र डिजल तथा मट्टीतेलको प्रति लिटर १५५ रुपैयाँ पर्ने भएको छ ।न्युज कारखाना

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ ।

हाल देशभर साधारणतया बदली रहेको छ।   बागमती, गण्डकी, लुम्बिनी र कर्णाली   प्रदेशका  थोरै  स्थानहरुमा  मेघगर्जन/चट्याङ सहित हल्का देखी मध्ययम वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ। सबै प्रदेशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै आज राती देशभर साधारणतया बदली रहने छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।  मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका  एक-दुई स्थानमा  भारी वर्षाको पनि सम्भावना रहेको छ ।न्युज कारखाना

आजको राशिफल बि.सं.२०८१ साउन ३२ गते शुक्रबार ई.सं.२०२४ अगस्त १६ नेपाल सम्बत ११४४ गुंलाथ्व एकादशी, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं ग्रीष्म ऋतु, श्रावण शुक्ल एकादशी, चन्द्रमा धनु राशिमा, मूल नक्षत्र, विषकुम्भ योग, विष्टि करण । आज नेपालमा सूर्योदय बिहान ०५: ३५ बजे, सूर्यास्त साँझ ०६: ४० बजे हुनेछ । आज जन्म लिने बच्चा धनु राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा जौ मुखमा राखेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ ।

आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०७ बजेर १३ मिनेट देखि ०८ बजेर ५१ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ । आज पुत्रदा एकादशी व्रत रहेको छ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

मान्यजन र उच्चपदस्थ व्यक्तिहरूबाट समर्थन र सहयोग जुटाउन सकिने छ, बलियो भाग्यबल रहेको छ । हाँकेरताकेका हरेक क्रियाकलापमा सफलता पाउन सक्नुहुन्छ । जनसम्पर्क, सार्वजनिक सम्बन्ध वा नेटवर्किङका माध्यमबाट आयस्रोतमा बढोत्तरी हुनेछ, परिस्थिति बुझेर स्थिर सम्पत्ति वा सेयर कारोबारमा चासो राख्नु ठीक हुन्छ । धर्मकर्म वा परोपकारी काममा खट्नु पर्नेछ । समाज र छरछिमेकका काम गर्दा मानसम्मान पाइएला, तर घरपरिवारमा समय दिन नपाउनाले ठास्सठुस्स बढ्ने समय हो । आजका लागि शुभअङ्क ९, शुभ रङ पहेंलो र शुभ दिशा पूर्व हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ बृं बृहस्पतये नमः यस मन्त्रलाई कम्तीमा १९ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

परीक्षा नजिकै आएको छ भने हरेक कुरा र योजनालाई सार्वजनिक नगर्नु होला, नत्र तपाईंको प्रयास र मिहिनेत खेर जानसक्छ । स्वास्थ्यस्थिति कमजोर हुने दिन हो । खानपानमा पनि अरुचि हुनसक्छ । आफ्ना कुरा छाडी आफन्त र खासगरी जीवनसाथीको भावना बुझिदिनु, कुरा सुन्नु अनि आफू व्यवहारिक बन्नु राम्रो हुनेछ । लक्ष्यप्रति ध्यानकेन्द्रित नहुने समय छ, चोटपटक वा दुर्घटनाबाट बच्न सावधानी अपनाउनु ठीक हुन्छ, अनि आज कार्यक्षेत्रको बोझ घरमा लिएर जानु हुँदैन । आजका लागि शुभअङ्क ८, शुभ रङ गुलाबी वा सिन्दुरे र शुभ दिशा उत्तर हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ हं हनुमते नमः यस मन्त्रलाई कम्तीमा २१ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

मनोरञ्जन, रामरमाइलो, घुमघाम र भेटघाटको समय हो । आफ्ना कुरा थोपर्नु भन्दा पनि पार्टनरको भावना बुझ्नु जाती हुन्छ । मन फुरुङ्ग हुने दिन छ । गीतसङ्गीत एवं ललितकलाका अन्य विषयहरूमा तथा सुगन्धित एवं सौन्दर्यपूर्ण वस्तुहरूमा झुकाव बढ्नेछ । आयातनिर्यातको काम, वैदेशिक प्रयोजनको व्यवसाय, ट्राभेल एजेन्सी आदिका व्यवसायी खुशी हुने दिन हो, तर घरपरिवारको चाहनाअनुसार खर्चमा बृद्धि हुनसक्छ । आजका लागि शुभअङ्क ७, शुभ रङ रातो र शुभ दिशा पश्चिम हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ लक्ष्मीनारायणाभ्यां नमः यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

मनमा लुकेका भ्रम र चिन्ता बाहिरिने समय हो, अनावश्यक चिन्तामा रुमल्लिने हुँदा अपेक्षा गरेअनुरूप समयमा काम सिध्याउन मुस्किल पर्ला । प्रतिस्पद्र्धा र परीक्षामा सफलता पाउने दिन हो, तर राम्रो रिजल्टको चाहना छ भने गोप्य ढंगले तैयारी गरेको राम्रो हुन्छ । अनावश्यक काममा समय खेर फाल्नु हुँदैन, कुनै महत्त्वपूर्ण घरायसी काममा सँगीसाथीको सहयोग लिन सकिने छ । क्षमता प्रदर्शन गरी प्रतिष्ठा आर्जन गर्न सकिने दिन हो । आजका लागि शुभअङ्क ६, शुभ रङ पहेंलो र शुभ दिशा दक्षिण हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ धन्वन्तरीदेवाय नमः यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

बुद्धिले भाउ पाउने समय हो, लेखन, कला वा संगीतजस्ता अतिरिक्त क्रियाकलापमा रुचि राख्नुहुन्छ भने आज सहकर्मीका माझमा प्रतिष्ठित बन्न पाइने छ । प्रियजन र आफन्तलाई सरसहयोग गर्ने समय हो, आज पार्टनरलाई खुसी बनाउन संगीत, नृत्य वा कलाको प्रयोग गर्न अनुकूल समय देखिन्छ । आज सफलताले प्रतीक्षा गरिरहेको दिन हो, त्यसैले सानातिना कुराहरूको बेवास्ता गर्दै ठूला र राम्रा काम बनाउने प्रयास गर्नुपर्छ । आजका लागि शुभअङ्क ५, शुभ रङ कलेजीरगाढा रातो र शुभ दिशा पूर्व हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ घृणि सूर्याय नमः यस मन्त्रलाई कम्तीमा ०७ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

परिबन्द र बाध्यतामा खुम्चनु पर्दा मन निरस बन्नसक्छ, चाहँदाचाहँदै पनि पार्टनरको इच्छानुसार समय दिन नपाउँदा झन नरमाइलो लाग्नसक्छ । नसोचेको धन प्राप्त हुने वा कतैबाट ऋणरसापटीमा रकम उठाउने समय हो, तर धनको स्थिरता र वचतमा ध्यान दिनु आवश्यक देखिन्छ । सहकार्य वा साझेदारीको काममा दौडधूप गर्नुपर्ने समय हो, कारोबारमा ध्यानकेन्द्रित हुनसक्दैन, तर पनि आर्थिक सन्तुलन कायम रहने दिन हो । आजका लागि शुभअङ्क ४, शुभ रङ सिम्रिक रातो र शुभ दिशा उत्तर हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ नमश्चण्डिकायै यस मन्त्रलाई कम्तीमा ०९ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

दार्शनिकता र चिन्तन प्रति झुकाव बढ्नेछ, कुनै समसामयिक विषयका बारेमा साथीहरूसँग छलफल गर्ने र गम्भीर भएर जानकारी बटुल्ने दिन हो । पेसा वा कार्यक्षेत्रप्रतिको व्यवहारिक दृष्टिकोणले तपाईलाई आर्थिक रूपमा समृद्ध बन्न मद्दत गर्नेछ, धार्मिक वा सामाजिक गतिविधिमा सक्रिय हुँदा वा दुःखमा परेका व्यक्तिको सहयोग गर्न पाउँदा भाग्यबृद्धि हुनेछ । व्यक्तित्व विकासका निमित्त प्रयास गर्ने समय हो । परीक्षारअन्तर्वार्ता आदिमा सफलता हात पर्नेछ, काममा सहयोगीको साथ पाइने समय छ । आजका लागि शुभअङ्क ३, शुभ रङ गुलाबी वा सिन्दुरे र शुभ दिशा पश्चिम हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ विघ्नविनाशिने नमः यस मन्त्रलाई कम्तीमा २१ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

आध्यात्मिक वा दार्शनिक विषयवस्तुप्रति मोह जाग्नेछ, नजानेको कुनै सीपका बारेमा समेत जानकारी बटुल्न सकिने छ, प्रयास गरेको काममा सफलता मिल्नेछ । दैनिक आम्दानीमा बढोत्तरी हुनेछ, कतिपय विषयमा बोलीकै भरमा काम सम्पादन हुनेछ, साथै हाकिम र सेवाग्राही दुवै पक्ष प्रसन्न रहनेछन् । मानसिक सबलता र आन्तरिक क्षमतामा बृद्धि हुनाले घरपरिवारमा प्रभुत्व जमाउन सकिने छ, तर कुनैकुनै कुराले तपाईंलाई एक्लो र खिन्न बनाउन सक्छ । आजका लागि शुभअङ्क २, शुभ रङ सेतोरउज्यालो र शुभ दिशा दक्षिण हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ महालक्ष्म्यै नमः यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

बिक्रीबट्टामा बढावा हुने र थप हौसला जाग्ने समय हो । हिसाबकिताबमा देखिएको कमजोरी र त्रुटि सच्याएर अघि बढेमा अझ धेरै फाइदा लिन सकिने छ । सम्बन्धलाई बलियो बनाउन मायाका दुई अक्षर र एउटा मुस्कानमात्र प्रशस्त हुन्छ, त्यसैले जे गर्नुहुन्छ, मनैदेखि गर्नुहोस्, दिन राम्रो बन्नेछ । क्षमता प्रदर्शन गरी आफूलाई सर्वश्रेष्ठ साबित गर्ने दिन हो, नौलो विषयको जानकारी लिएर प्राज्ञिक क्षमतालाई तिखार्ने अवसर मिल्नेछ । आजका लागि शुभअङ्क १, शुभ रङ पहेंलो र शुभ दिशा पूर्व हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ गुं गुरवे नमः यस मन्त्रलाई कम्तीमा १९ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

बजेटलाई सन्तुलनमा राख्ने प्रयास गर्नुपर्छ, कुनै योजनामा लगानी गर्ने मनस्थितिमा हुनुहुन्छ भने त्यसका सबल र दुर्बल पक्षमा पनि चिन्तन गर्नुहोला, नसोचिकन काम गरेमा षड्यन्त्रको खाडलमा पनि पर्न सकिन्छ । बाध्यात्मक काममा ध्यान केन्द्रित गर्नुपर्ने हुन्छ । समयमा काम गर्न नसक्दा विशेष अवसर फुत्कन सक्छ । आर्थिक सङ्कटले पनि तनाव बढ्नसक्छ । आनन्दप्राप्तिका लागि एकअर्काको कमजोरी खोतल्ने काम गर्नु हुँदैन, एकआपसमा समर्पित भएमा मात्र प्रेम सफल हुन्छ भन्ने कुरामा विश्वास गर्नुहोला । आजका लागि शुभअङ्क ३, शुभ रङ सेतो र शुभ दिशा उत्तर हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ महाकालाय नमः यस मन्त्रलाई कम्तीमा २१ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

व्यक्तित्व विकास तथा भौतिक सुखसुविधा जुटाउने सिलसिलामा नयाँ विचार र भावनाको उदय हुनसक्छ, लक्ष्यप्रति गम्भीर भएमा हरेक काममा सफलता मिल्नेछ । लाभमूलक विषयमा लगानी गरेमा भविष्य सुध्रने छ । सेवाग्राही र वरिष्ठ कर्मचारी खुशी हुनेछन् । स्थिर प्रयोजनमा धन लगानी गर्न सक्नुहुन्छ । पुराना सहकर्मीसँगको भेटघाटले मनलाई ताजा बनाउनेछ । सकारात्मक बन्ने प्रयास गर्नुहोला किनभने आपसी समन्वय त्यस्तो उज्यालो बन्नसक्छ, जसले निराशा र छटपटीको अन्धकारलाई हटाउनेछ र मनका तुस हटेर जानेछन् । आजका लागि शुभअङ्क २, शुभ रङ कलेजी र शुभ दिशा पश्चिम हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ हिरण्यगर्भाय नमः यस मन्त्रलाई कम्तीमा ०७ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

नयाँ समझौता वा करारका माध्यमबाट धन बढाउन सकिने छ, जग्गाजमीन, पेट्रोलियम पदार्थ, प्लास्टिकका वस्तुहरू र सञ्चारका सामाग्रीमा लाभ हुनेछ । सुखशान्ति र आनन्दकै वातावरण रहेको छ, आज व्यवहार गर्दा कर्तव्य र मर्यादाप्रति सचेत रहनुपर्ने समय हो, नत्र कताकता मनमुटाव सिर्जना हुनसक्छ । कुनै नयाँ विषयवस्तु वा प्राविधिक ज्ञानले आकर्षण गरेको समय छ, परिश्रम गर्ने छात्रछात्राले उत्कृष्ट परिणाम प्राप्त गर्नेछन् । आजका लागि शुभअङ्क १, शुभ रङ कलेजीरगाढा रातो र शुभ दिशा दक्षिण हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ ह्रां ह्रीं ह्रौं सः सूर्याय नमः यस मन्त्रलाई कम्तीमा ०७ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

(ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद सम्पर्क नं ९७७– ९८४२२१९७३५)
न्युज कारखाना

काठमाडौं, ३१ साउन । ईयूको सहयोगमा क्रिएसन नेपालले तीन प्रदेशका ९ जना युवाहरुलाई ‘ग्रीनसिफ्ट एम्बेस्डर’ का लागि छनौट गरेका छन् ।

 

ग्रीनसिफ्ट परियोजना अन्तर्गत वातावरण संरक्षण प्रति युवाहरुलाई सचेतना जगाउनका लागि ‘ग्रीनसिफ्ट एम्बेस्डर’ छनौट गरिएको हो ।

बागमती प्रदेशबाट ओम न्यौपाने, आकृती सुवेदी र कृशल श्रेष्ठ, त्यस्तै लुम्बिनी प्रदेशबाट अनुशा क्षेत्री, प्रजिना आर्चाय र योगेश डुम्रे चयन भएका छन भने, मधेश प्रदेशबाट सुलभ चौरसिया, सोनाली साह र कैयुम राइन छनौट भएका छन् ।

 

करिब १ सय भन्दा बढी युवायुवतीहरुले निवेदन दिएका मध्ये ९ जना चयन गरिएको परियोजना प्रमुख युनिश घिमिरे जानकारी दिए ।

परियोजनाका प्रमुख युनिस घिमिरेले ग्रीनसिफ्ट परियोजनाको भिजन अनुसार दिगो भविष्य निमार्णका लागि योगदान र्पुयाउन युवाहरुको महत्वपूर्ण भूमिकाको बारेमा तीन प्रदेशका युवाहरूलाई सहभागी गराएर सशक्तिकरण र शिक्षित गर्न ‘ग्रीनसिफ्ट एम्बेस्डर’हरुले स्थानीय स्तरमा क्रियाकलापहरु सञ्चालन गर्ने बताए ।

छनौट भएका ‘ग्रीनसिफ्ट एम्बेस्डर’ युवाहरुले आ आफनो क्षेत्रमा स्थानीयसँग मिलेर वातावरण संरक्षण, वृक्षारोपण, युवा परिचालन, सामुदायिक सहभागिता र प्लास्टिकजन्य फोहोरमैला व्यवस्थापन क्षेत्रमा विभिन्न गतिविधि सञ्चालन गर्नेछन् ।

ग्रीनसिफ्ट एम्बेस्डर’ले स्थानीय सरकारका निकायहरू, शैक्षिक संस्थाहरू, सामुदायिक समूहहरू र स्थानीय बासिन्दाहरू लगायत विभिन्न सरोकारवालाहरूसँग सहकार्य र सामूहिक कार्यलाई बढावा दिन सक्रिय नेतृत्व प्रदान गर्नेछन ।

ईयूको सहयोगमा ग्रिनसिफ्ट परियोजना चार बर्ष समायवधिका लागि बागमी, मधेश र लुम्बिनी गरी तीन प्रदेशको विभिन्न नौ स्थानीय तहमा विभिन्न क्रियाकलप सन्चालन गरीरहेको छ ।

 

क्रिएसनको नेतृत्वमा रेस्टलेस डेभलम्पमेन्ट र यूथ इनोभेसन ल्याब परियोजनाको कन्सोर्टियम पार्टनरका रुपमा रहेका छन । न्युज कारखाना

सकाठमाडौं, ३१ साउन ।
विश्व बैंकले नेपाललाई प्रदान गर्ने बजेटरी सहायता वृद्धि गर्ने  भएको छ ।

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग भएको भर्चुअल बैठकमा विश्व बैंकका दक्षिण एसिया क्षेत्रका लागि उपाध्यक्ष मार्टिन रेजरले बजेटरी सहयता वृद्धि गर्ने जानकारी दिएका हो ।

उपाध्यक्ष रेजरले लगानीको वातावरण, आर्थिक सुधार, रोजगारी वुद्धि लगायतका क्षेत्रमा सुधारका लागि सुझाव दिनु भएको छ ।

 

विश्व बैंकबाट गत आर्थिक वर्ष बजेटरी सहायताका रुपमा नेपाललाई २०५ मिलियन  अमेरिकी डलर प्राप्त भएको थियो ।

अर्थमन्त्री पौडेलले नेपालमा स्थीर सरकार गठन भएकाले थप लगानीका लागि वातावरण तयार भएको उल्लेख गर्दै आयोजनाहरु समयमा सम्पन्न गर्न आवश्यक सहकार्य गर्दै अघि बढ्ने बताए ।न्युज कारखाना

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।