२०८३ असार २२
२०८३ असार २२

संजय सहनी,गाैर, फागुन ०८ गते ।

रौतहट गौर नगरपालिका वडा नं. ६ सवगढाका भएको दुई समुदायको द्वन्द्व सामाधानको लागि गाउँवासी र समाजसेवीहरूबीच महत्वपूर्ण सहमति भएको छ।
शुक्रबार प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालको प्रमुख उपस्थितिमा बसेको बैठकले गाउँमा देखिएको विवादलाई सुल्झाउन र आपसी सद्भाव कायम राख्न ६ वटा मुख्य निर्णय र सहमति भएको हो ।

बैठक बाट गाउँको शान्ति र सद्भाव बिगार्ने कुनै पनि प्रयासप्रति सामूहिक खेद प्रकट गर्दै त्यस्ता क्रियाकलाप रोक्ने प्रतिबद्धता जनाइएको छ।
​गाउँमा वृद्धवृद्धा, महिला, बालबालिका, सुत्केरी र अपाङ्गता भएका व्यक्तिहरू पनि रहेको कुरालाई ध्यानमा राख्दै, कुनै पनि धार्मिक वा सांस्कृतिक कार्यक्रम गर्नुअघि आपसी छलफल र संवाद गर्ने सहमति समेत भएको प्रमुख जिल्ला अधिकारी भुसालले बताउनु भएको छ।
​उहाँले २०८१ चैत्र ६ गते भएको सर्वपक्षीय सहमतिको अक्षरशः पालना गर्ने र सार्वजनिक शान्ति कायम राख्ने निर्णय गरिनुको साथै विभिन्न ​चाडविवाह, रमजान वा अन्य कुनै पनि चाडपर्वमा एक समुदायले अर्को समुदायको सम्मान र सहयोग गर्ने। यदि कसैले अवरोध सिर्जना गरेमा प्रहरी प्रशासनलाई खबर गरी कानुनी दायरामा ल्याउन सहयोग गर्ने सहमती भएको बताउनु भयो।
​प्रमुख जिल्ला अधिकारी भुसालले सामाजिक सद्भाव बिगार्ने वा कानुन उल्लंघन गर्ने जोकोहीलाई पनि कारबाही गर्न प्रशासनलाई पूर्ण सहयोग गर्ने र ​आगामी २०८२ फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि अनुकूल र शान्तिपूर्ण वातावरण तयार पार्न आजकै मिति (२०८२/११/०८) देखि विवाद अन्त्य गर्ने निर्णय गरिएको प्रष्ट पारे।

बिहिबार राती गौर नगरपालिका–६ सवगढा बस्ने सत्य नारायण साहकी छोरीको विवाहको जन्ती बौधिमाई नगरपालिका–९ सरमुजवाबाट सवगढा आउने क्रममा मस्जिद अगाडी बाजा बजाएको विषयलाई लिएर मुस्लिम पक्ष र जन्ती पक्षबीच विवाद भएको थियो ।
सोही विषयलाई लिएर शुक्रबार विहान ९ बजेको समयमा दुबै पक्षका करिब ४०० देखि ५०० जनाको भीड जम्मा भई पुनः झडप सुरु भएको थियो।


दुवै पक्षबीच ढुंगा हानाहान हुन थालेको र स्थिति नियन्त्रण बाहिर जाने थालेपछि प्रहरी उपरीक्षक र सशस्त्र प्रहरी उपरीक्षकको कमाण्डमा नेपाली सेना सहित ५०० भन्दा बढि सुरक्षाकर्मी परिचालन गरिएको थियो।

स्थितिलाई नियन्त्रणमा लिन १२ राउण्ड ब्ल्याङ्क फायर र ४० राउण्ड अश्रुग्यास प्रहार गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी एवं डिएसपी विष्णुप्रदीप वस्यालले बताए ।
सोही क्रममा स्थानीयहरु संगै २ जना प्रहरी सहित केही सर्वसधारण समेत घाइते भएका थिए। घाइते सबैको अवस्था सामान्य रहेको र प्रादेशिक अस्पताल गौरमा
उपचारपछि डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ।

 

कलैया, ७ फागुन ।
आम जनता पार्टी (आजपा) का नेता तथा बारा निर्वाचन क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार विजय यादव ‘निर्विज’ले घरदैलो तथा चुनावी छलफल, भेटघाट कार्यक्रमलाई तीव्रता दिएका छन् ।
आज सिम्रौनगढ नगरपालिका वडा नं ११, भगवानपुर, आदर्श कोतवाल गाउँपालिका वडा नं ६ पटेर्वा आयोजित भेटघाट तथा घर दैलो गर्ने क्रममा उमेदवार यादवले भने । आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा ‘मोबाइल’ छापमा मतदान गरी आम जनता पार्टीका उम्मेदवारलाई विजयी बनाउन मतदातासँग अपिल गरेका छन् ।
यादवले बाराको समग्र विकाससँगै ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको सिम्रौनगढलाई युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत गराउन पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । साथै शिक्षा, स्वास्थ्य, यातायात, खानेपानी लगायतका आधारभूत क्षेत्रको विकासका लागि ठोस योजना अनुसार काम गर्ने उनले बताएका छन् ।
पूर्ण साक्षर राष्ट्र निर्माण, स्मार्ट कक्षाकोठा तथा ‘एक स्थानीय तह, एक खेलमैदान’ कार्यक्रम लागू गर्ने प्रतिबद्धता उनले व्यक्त गरेका छन् । स्वास्थ्य क्षेत्रमा डिजिटल हेल्थ कार्ड, गम्भीर रोगको पूर्ण निःशुल्क उपचार तथा प्रत्येक पालिकामा विशेषज्ञ अस्पताल स्थापना गर्ने योजना अनुसार काम गर्ने उनले जनाएका छन् ।
त्यस्तै शिक्षा, स्वास्थ्य, खानेपानी र विद्युत् सेवा आधारभूत रूपमा निःशुल्क उपलब्ध गराउने प्रतिबद्धता पनि यादवले व्यक्त गरेका छन् । प्रधानमन्त्री र मुख्यमन्त्री प्रत्यक्ष निर्वाचित हुने व्यवस्था, संघ तथा प्रदेशमा पूर्ण समानुपातिक निर्वाचन प्रणाली तथा निर्वाचित जनप्रतिनिधिले काम नगरेमा जनताले कार्यकालमै फिर्ता बोलाउन पाउने ‘राइट टु रिकल’ अधिकार सुनिश्चित गर्ने प्रतिबद्धता आजपाको घोषणापत्रमा रहेको भन्दै सोही अनुसार काम गर्ने उनले बताए ।
यसैगरी पार्टी घोषणापत्र अनुसार ‘एक घर, एक रोजगारी’ कार्यक्रम लागू गर्ने, बेरोजगारलाई बेरोजगारी भत्ता दिने, नेपाललाई ‘ग्लोबल आईटी हब’ बनाउने लक्ष्यसहित युवा उद्यमीलाई १० लाखदेखि २५ लाख रुपैयाँसम्म बीउ पुँजी (सीड मनी) उपलब्ध गराउने योजना पूरा गर्ने उनले जनाए । साथै हरेक विद्यार्थीले अनिवार्य रूपमा कम्तीमा एक उच्च प्राविधिक सीप सिक्नुपर्ने व्यवस्थाको ग्यारेन्टी आजपाले गरेको उनले बताए ।
यादवले बारा–१ मा विकास, सुशासन र जनमुखी शासन प्रणाली स्थापना गर्न जनताको साथ आवश्यक रहेको भन्दै आगामी निर्वाचनमा आजपालाई जिताएर परिवर्तनको सुरुवात गर्न मतदातासँग आग्रह गरेका छन् ।

 

पवन प्रसाद साह,वीरगंज,फाल्गुण ७ गते । 

राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियान नेपाल जिल्ला कार्यसमिति पर्साले विभिन्न माग राख्दै वीरगंजस्थित नेसनल ट्रेडिङ चोक मा मसाल जुलुस प्रदर्शन गरेको छ ।

प्रदर्शनका क्रममा सहभागीहरूले दुर्गा प्रसाईलाई रिहा गर्न, दुर्गा प्रसाई र नेपाल सरकारबीच भएको १२ बुँदे समझौता कार्यान्वयन गर्न, राजसंस्था पुनर्स्थापना गर्न तथा नेपाललाई हिन्दु राष्ट्र कायम गर्नुपर्ने लगायतका नाराबाजी गरेका थिए ।

मसाल जुलुसका क्रममा प्रदर्शनकारीहरूले “दुर्गा प्रसाईलाई रिहा गर”, “हाम्रो नेता दुर्गा प्रसाई र नेपाल सरकारबीच भएको १२ बुँदे समझौता लागू गर”, “राजा आउ, देश बचाउ” तथा “हिन्दु राष्ट्र कायम गर” जस्ता नारा लगाउँदै चोक क्षेत्र परिक्रमा गरेका थिए।

उक्त कार्यक्रम जिल्ला कार्यसमिति पर्साका अध्यक्ष शम्भु प्रसाद चौरसियाको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा अजय पौडेल, उदित सहनी, बिरेन्द्र यादव,मेदिहसन गदी, हरिनारायण चौरसिया, सम्भु घिमिरे, राजेश गुप्ता,पवन साह लगायतका व्यक्तिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रम शान्तिपूर्ण रूपमा सम्पन्न भएको आयोजकले जनाएको छ। आयोजक पक्षले आफ्ना मागहरू सम्बोधन नभए थप सशक्त आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी समेत दिएको छ।

बज्जिकाञ्चल संवाददाता,राैतहट,०७ गते फाल्गुन । 

रौतहटको गरुडास्थित वंशीराम जयसवाल अनाथालयमा एक भारतीय महिलाले खाद्यान्न, कपडा र नगद सहयोग गर्नुभएको छ । अनाथालयलाई भारतको हैदरावादकी नीरु लाठले खाद्यान्न, कपडा तथा नगद सहयोग गर्नु भएको हो ।

रौतहटको सदरमुकाम गौर माइती भई भारत बिहार प्रान्तको सीतामढी जिल्लाको सुरसंड भन्ने ठाउँमा स्थायी घर भएकी तर हैदरावादमा रहँदै आउनु भएकी लाठले मातापितासहित विहीवार अनाथालय पुगेर अनाथहरुलाई २४ थान सुट, ५ कार्टुन चाउचाउ, २ कार्टुन बिस्कुट, २ कार्टुन फलफूलको जुस, एक बोरा चामल तथा एक बट्टा चकलेट प्रदान गर्नु भएको छ ।

लाठका पिता तथा गौरका समाजसेवी पवनकुमार जयसवालले अनाथालयका अध्यक्ष भुवनेश्वर राम जयसवाललाई नगद २ हजार ५ सय रुपैया पनि उपलब्ध गराउनु भएको छ । अनाथालयका व्यवस्थापक कृष्णकुमार साहसित लाठकी आमा मीरादेवी अग्रवालले कुनै समस्या भए बताउन आग्रह गरेपछि अनाथालयमा रहेका अनाथहरु तथा अनाथालयमा आउने पाहुनाहरुका लागि केही थान कुर्सी चाहिएको बताउनु भएको थियो । अनाथालयमा देखिएको अभावलाई टार्न मीरादेवी अग्रवालले तत्काल ३० थान कुर्सी उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।

गौरमा अग्रवाल समुदायका अगुवा समाजसेवी रहेका पवनकुमार अग्रवालले पहिलोचोटि अनाथहरुलाई भेट्न पाउँदा आफू द्रविभूत भएको बताउनु भएको छ । हैदरावादबाट आएकी छोरीको इच्छाअनुसार अनाथहरुलाई सहयोग गर्न आएको उहाँको भनाइ छ । मारवाडी सेवा समिति गौरका अध्यक्षसमेत रहनु भएका अग्रवालले आगामी दिनमा अनाथहरुलाई अझ बढी सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । धार्मिक प्रवृत्तिका अग्रवालले अनाथहरुको मुहारमा खुसी ल्याउने काम गर्न पाउँदा भित्रैदेखि सन्तोषको भाव जागेको बताउनु भएको छ ।

उक्त अवसरमा अनाथालयका सचिव गणेशकुमार साह, गौरका समाजसेवी विष्णु झासमेतको सहभागिता रहेको थियो । अनाथहरुको हातमा फलको जुस तथा कपडा उपलब्ध गराउँदा आफ्‌नो मनमा निकै खुसी लागेको नीरु लाठको अनुभव रहेको छ ।

आरके श्रीवास्तव,राैतहट,०७ गते फाल्गुन । 

रौतहट क्षेत्र नम्बर ३ अन्तर्गतमा घरदैलो तथा मतदाता भेटघाट कार्यक्रम सम्पन्न गरेका छन् । जसापा नेपाल (छाता छाप) का उम्मेदवार गाेविन्द चौधरीको पक्षमा स्थानीयस्तरमा उत्साहजनक जनसमर्थन देखिएको छ ।

बगहीमा आयोजित घरदैलो कार्यक्रममा चौधरीलाई स्थानीय बासिन्दाले आत्मीय स्वागत गरेका थिए । घर–घरमा पुगेर मतदातासँग प्रत्यक्ष संवाद गरेका चौधरीले विकास, रोजगारी, शिक्षा र आधारभूत पूर्वाधार सुधारलाई आफ्नो प्राथमिकता रहने बताएका थिए ।

कार्यक्रममा नेता रामप्रवेश दास, चुल्हाइ राय यादव, ईश्वरीप्रसाद यादव, रामदरेश दास लगायतका नेता तथा कार्यकर्ताहरूको पनि सहभागिता रहेको थियो । उनीहरूले चौधरीलाई विजयी गराउन मतदातासँग आग्रह गरेका थिए।

घरदैलोका क्रममा मतदाताहरूले सकारात्मक प्रतिक्रिया दिँदै भने, “हामीले तपाईंलाई जिताउन मनमनै सोचिसकेका छौं । हल्ला गरिरहेका छैनौं, सबैलाई हेर्यौं, अब यसपटक तपाईंलाई हेर्छौं।”

स्थानीय तहमा देखिएको यस प्रकारको जनलहरले आगामी निर्वाचनमा चौधरीलाई थप उत्साहित बनाएको समर्थकहरूले बताएका छन् ।

आरके श्रीवास्तव,राैतहट,०६ गते फाल्गुन ।
रौतहट । आगामी प्रतिनिधि सभा निर्वाचन अन्तर्गत रौतहट क्षेत्र नम्बर ३ का उम्मेदवार गोविन्द चौधरीले बुधबार फतुवा विजयपुर नगरपालिकाका विभिन्न बस्तीमा घरदैलो कार्यक्रम सञ्चालन गरेका छन् ।
उम्मेदवार चौधरीले फतुवा विजयपुर नगरपालिका अन्तर्गत सन्तपुर, पेटभर्वा र रामदासी क्षेत्रमा पुगेर मतदातासँग भेटघाट गर्दै चुनावी माहोल तताएका हुन् । घरदैलो अभियानका क्रममा उनले स्थानीय बासिन्दासँग प्रत्यक्ष संवाद गर्दै आफ्नो प्रतिबद्धता र विकासका योजनाबारे जानकारी गराएका थिए ।


सो अवसरमा चौधरीले आगामी निर्वाचनमा आफ्नो चुनाव चिन्ह ‘छाता’मा मतदान गरी सहयोग गर्न मतदातासँग अपिल गरेका थिए । उनले क्षेत्रको समग्र विकास, रोजगारी सिर्जना, शिक्षा–स्वास्थ्य सुधार तथा पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।


घरदैलो कार्यक्रममा सहभागी मतदाताहरूले उम्मेदवार चौधरीलाई स्वागत गर्दै ‘छाताछाप जिन्दावाद’ का नारा लगाएका थिए । स्थानीयले चौधरीसँग खुला रूपमा समस्या तथा अपेक्षा राख्दै सकारात्मक प्रतिक्रिया दिएको अभियान टोलीले जनाएको छ ।


चुनाव नजिकिँदै जाँदा रौतहट–३ मा उम्मेदवारहरूको घरदैलो र भेटघाट कार्यक्रम तीव्र बन्दै गएको देखिएको छ ।

रामअधार प्रसाद यादव,राैतहट,०६ गते फाल्गुन ।
राैतहट — प्रतिनिधि सभा सदस्यका लागि रौतहट क्षेत्र नम्बर ३ बाट नेपाली कम्युनिस्ट पार्टी की उम्मेदवार पुनम यादवले आफ्नो निर्वाचन क्षेत्रका मुख्य एजेन्डा सार्वजनिक गरेकी छन् ।
घरदैलो अभियानअन्तर्गत शिवनगरमा पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै यादवले क्षेत्रमै क्यान्सर अस्पताल स्थापना गर्ने तथा आगामी पाँच वर्षभित्र १५ हजार युवालाई रोजगारी उपलब्ध गराउने लक्ष्य रहेको बताइन् । उनले पार्टीको प्रतिबद्धता पत्रसमेत सार्वजनिक भइसकेको जानकारी दिँदै विकास र रोजगारी केन्द्रित योजना लिएर जनतामाझ पुगेको उल्लेख गरिन् ।
यसै क्रममा महम्मदपुरमा भएको घटनाबारे प्रतिक्रिया दिँदै यादवले आफूलाई ठूलो विरासत भएको ठान्ने व्यक्तिहरूको समय सकिएको टिप्पणी गरिन् । “यो क्षेत्रमा गुण्डाराज होइन, जनताको राज चल्छ,” उनले भनिन् । साथै एक मन्त्री नेताको अभिव्यक्ति शैली उपयुक्त नभएको संकेतसमेत गरिन् ।
घरदैलो अभियानका क्रममा जनताबाट सकारात्मक साथ र समर्थन पाइरहेको दाबी गर्दै यादवले मतदाताले जितका लागि आश्वासन दिइरहेको बताइन् । महिला उम्मेदवारका रूपमा कुनै विशेष चुनौती नरहेको स्पष्ट पार्दै उनले समान प्रतिस्पर्धाका आधारमा चुनावी मैदानमा उत्रिएको धारणा व्यक्त गरिन् ।

बज्जिकाञ्चल संवाददाता,राैतहट,०५ गते फाल्गुन ।
आगामी फाल्गुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचन नजिकिँदै जाँदा गोविन्द चौधरी (छाता छाप) को चुनावी अभियान रौतहट–३ मा थप उत्साहका साथ अघि बढिरहेको छ । जनता समाजवादी पार्टी, नेपाल (जसपा नेपाल) का तर्फबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार एवं पूर्व मन्त्री तथा संविधानसभा सदस्य चौधरीले आज गुजरा नगरपालिकाको वडा नं. ५ अन्तर्गत लक्ष्मीपुर, इस्लामपुर र हरिहरपुरमा घरदैलो कार्यक्रम सम्पन्न गर्नुभएको छ ।


पूर्व वडा अध्यक्ष आरिफ मियाँ दर्जीको नेतृत्वमा आयोजित घरदैलो कार्यक्रममा स्थानीयवासीको उल्लेखनीय सहभागिता देखिएको थियो। चौधरी गाउँमा पुग्दा सर्वसाधारणले फूलमाला र खादा लगाएर भव्य स्वागत गरेका थिए । गाउँका टोल–टोलमा देखिएको उत्साह र समर्थनले रौतहट–३ मा परिवर्तनको संकेत देखिएको सहभागीहरूको भनाइ थियो ।


कार्यक्रममा मधेस प्रदेश सांसद अबुल कलाम आजाद, जसपा नेपाल रौतहटका पूर्व अध्यक्ष श्यामबिहारी यादव,राष्ट्रिय सभा सदस्य पुजा चाैधरी,नेता रामप्रवेश दास लगायतका नेताहरूको पनि उपस्थिति रहेको थियो । उनीहरूले घरदैलोमार्फत मतदातासँग प्रत्यक्ष संवाद गर्दै चौधरीलाई विजयी गराउन आग्रह गरेका थिए ।


स्थानीय मतदाताहरूले “अब तपाईं आइसक्नुभएको छ, हामी मतदान गरेर जिताउँछौं” भन्दै प्रतिबद्धता जनाएका थिए । घरदैलो अभियानका क्रममा विकास, रोजगारी, शिक्षा र स्वास्थ्यका मुद्दामा छलफल भएको र जनताको साथ उत्साहजनक रहेको चौधरी निकट स्रोतले जनाएको छ ।
रौतहट–३ मा चुनावी माहोल तातिँदै जाँदा गोविन्द चौधरीको सक्रियता र जनसमर्थनले प्रतिस्पर्धा थप रोचक बन्ने देखिएको छ ।

फाेटाे फिचर:

आरके श्रीवास्तव,राैतहट,०४ गते फाल्गुन ।
रौतहट । आगामी फाल्गुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै रौतहट क्षेत्र नम्बर ३ बाट जनता समाजवादी पार्टी नेपाल (जसपा) का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार, पूर्व मन्त्री तथा संविधानसभा सदस्य गोविन्द चौधरीले आफ्नो चुनावी प्रचारप्रसारलाई थप तीव्र बनाएका छन् ।

निर्वाचन आयोगको कार्यतालिका अनुसार औपचारिक रूपमा प्रचार सुरु भएसँगै चौधरीले कटहरिया नगरपालिका–२ हथियाहीबाट घरदैलो अभियान प्रारम्भ गरेका थिए । त्यसलगत्तै उनले जमुनिया र छेदिचोक क्षेत्रमा पनि घरदैलो कार्यक्रमलाई निरन्तरता दिएका छन् ।

बाजागाजा सहित समर्थकहरूको उल्लेख्य सहभागितामा भव्य रूपमा सञ्चालन गरिएको अभियानका क्रममा चौधरीले मतदाताहरूको घरदैलोमा पुगेर पम्पलेट वितरण गर्दै आफ्नो चुनाव चिन्ह ‘छाता छाप’ मा मतदान गर्न आग्रह गरेका छन् ।

आफ्नो अन्तिम चुनाव रहेको उल्लेख गर्दै उनले मतदातासँग भावनात्मक अपिलसमेत गरेका छन् । “यो मेरो अन्तिम चुनाव हो, तपाईंहरूको साथ र समर्थनले क्षेत्रको विकासलाई नयाँ गति दिन चाहन्छु,” उनले भने ।

जमुनिया र छेदिचोकमा स्थानीय बासिन्दासँग प्रत्यक्ष संवाद गर्दै चौधरीले विगतमा गरेका विकासका कामहरूको चर्चा गरेका थिए । आगामी दिनमा शिक्षा, स्वास्थ्य, सडक तथा रोजगारीका क्षेत्रमा थप काम गर्ने प्रतिबद्धता उनले व्यक्त गरे ।

घरदैलो अभियानमा स्थानीय नेता–कार्यकर्ता तथा युवाहरूको उत्साहजनक सहभागिता देखिएको थियो । रौतहट–३ मा चुनावी गतिविधि बढेसँगै क्षेत्रको राजनीतिक माहोल दिनानुदिन तातिँदै गएको छ ।

आरके श्रीवास्तव,राैतहट,०३ गते फाल्गुन ।
राैतहट । आगामी फाल्गुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै गोविन्द चौधरी ले आज राैतहट क्षेत्र नम्बर ३ अन्तर्गत गुजरा नगरपालिकाको कनकपुरमा मतदाता भेटघाट गरेका छन् । जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) का तर्फबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार रहेका चौधरीलाई स्थानीय बासिन्दाले आत्मीय स्वागत गरेका थिए ।


भेटघाटका क्रममा स्थानीय मतदाताहरूले बालचनपुरदेखि जंगलसहिया जोड्ने सडक निर्माण चौधरीकै पहलमा सम्भव भएको स्मरण गर्दै आभार व्यक्त गरे । उनीहरूले भने, “त्यो सडक बनेपछि यहाँका गाउँहरूका लागि साँच्चिकै लाइफलाइन बनेको छ । जनताले तपाईंको योगदान भुलेका छैनन्।”


स्थानीयका अनुसार सडक निर्माणसँगै यातायात, व्यापार–व्यवसाय, स्वास्थ्य तथा शिक्षामा सहज पहुँच स्थापित भएको छ । वर्षौँदेखि कच्ची बाटो र कठिन यात्राबाट गुज्रिरहेका बासिन्दाहरूले अहिले सहज आवागमनको अनुभूति गरिरहेका छन् ।


उक्त अवसरमा उम्मेदवार चौधरीले आफू जनताको सेवामा सधैँ प्रतिबद्ध रहेको उल्लेख गर्दै अधुरा विकास योजनाहरू पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे । “जनताको विश्वास नै मेरो शक्ति हो । विकास र समृद्धिको यात्रालाई अझ तीव्र बनाउनेछु,” उनले भने ।


कनकपुरमा देखिएको जनताको उत्साह र समर्थनले राैतहट क्षेत्र नम्बर ३ मा चुनावी माहोल थप तातेको छ । स्थानीयहरूको भनाइ अनुसार, विकासको जग बसाल्ने नेतृत्वलाई पुनः अवसर दिनुपर्ने समय आएको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।