आरके श्रीवास्तव,राैतहट,०६ गते माघ ।
कटहरिया । रौतहट–३ मा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को तर्फबाट पुनम यादवले आधिकारिक रूपमा मनोनयन दर्ता गराएकी छन् । मनोनयन दर्तापछि प्रतिक्रिया दिँदै उनले आफू निर्वाचित भएमा रौतहट–३ लाई विश्व स्तरमा चिनाउने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

पुनम यादव सन्त–महन्त तथा बलिउडका ठूला–ठूला सेलिब्रेटीसँग नजिक मानिन्छिन् । यही अन्तर्राष्ट्रिय तथा राष्ट्रिय पहुँचलाई प्रयोग गर्दै उनले क्षेत्रको समग्र विकासमा नयाँ सम्भावना खोल्ने बताइन् ।

उनका अनुसार आफू निर्वाचित भएमा विशेषगरी तीन वटा प्राथमिक क्षेत्रमा केन्द्रित भएर काम गरिनेछ । ती क्षेत्रहरू रोजगारी, शिक्षा र स्वास्थ्य रहेका छन् । रोजगारीका लागि युवालाई स्वदेशमै अवसर सिर्जना गर्ने, शिक्षामा गुणस्तर सुधार तथा पहुँच विस्तार गर्ने, र स्वास्थ्य सेवामा आधुनिक सुविधा तथा सहज उपचारको व्यवस्था गर्ने उनको योजना रहेको छ ।
मनोनयन दर्ताका क्रममा उनका समर्थकहरूको उल्लेखनीय उपस्थिति देखिएको थियो । समर्थकहरूले पुनम यादवको उम्मेदवारीले रौतहट–३ मा नयाँ राजनीतिक सन्देश जाने विश्वास व्यक्त गरेका छन् ।
स्थानीय स्तरमा विकास, अन्तर्राष्ट्रिय पहिचान र जनमुखी योजनालाई जोड दिँदै अघि बढ्ने पुनम यादवको प्रतिबद्धताले आगामी निर्वाचनमा रौतहट–३ को राजनीतिक माहोल थप रोचक बन्ने देखिएको छ ।
आरके श्रीवास्तव,राैतहट,०६ गते माघ ।
कटहरिया । रौतहट क्षेत्र नम्बर ३ मा जनता समाजवादी पार्टी नेपाल (जसपा) का तर्फबाट पूर्व मन्त्री तथा संविधानसभा सदस्य गोविन्द चौधरीले आफ्नो मनोनयन दर्ता गराएका छन् । जसपा नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) बीच एकीकरण भएपछि चौधरी अझ बलियो उम्मेदवारको रूपमा देखिएका छन् । उनी दलबलका साथ आज मनाेनयन दर्ता गराएका हुन् ।

मनोनयन दर्तापछि प्रतिक्रिया दिंदै चौधरीले युवाहरू र आम जनताको दबाब तथा चाहनाका कारण आफूले उम्मेदवारी दर्ता गराएको बताए । “मेरो आवश्यकता जनताले महसुस गर्नुभएको छ, वहाँहरूको आग्रह र विश्वासका कारण उम्मेदवार बनेको हुँ,” उनले भने ।

आफ्नो उम्मेदवारी अन्तिम भएको उल्लेख गर्दै उनले मतदातालाई छाता छापमा मतदान गरी विजयी गराउन आग्रह गरे । रौतहट–३ मा चौधरीको उम्मेदवारीसँगै राजनीतिक प्रतिस्पर्धा थप रोचक बन्ने देखिएको छ ।
आरके श्रीवास्तव,मधेस,०६ गते माघ ।
महोत्तरी निर्वाचन क्षेत्र नम्बर ३ बाट जनता समाजवादी पार्टी (जसपा) नेपालको तर्फबाट बौद्धिक उम्मेदवार डा. मिनाक्षी ठाकुरले आफ्नो मनोनयन दर्ता गराउनुभएको छ । युवाहरूको व्यापक माग र समर्थनका आधारमा उहाँको उम्मेदवारी दर्ता गरिएको पार्टीले जनाएको छ ।
पछिल्लो समय सक्रिय देखिएको जेनजी युवाहरूको आन्दोलन र उनीहरूको चाहनालाई ध्यानमा राख्दै जसपा नेपालले डा. ठाकुरलाई उम्मेदवार बनाएको हो । शिक्षित, बौद्धिक र प्रगतिशील नेतृत्वको खोजीमा रहेका युवाहरूले डा. ठाकुरको नाम अगाडि सारेपछि पार्टीले उक्त मागलाई सम्बोधन गरेको बताइएको छ ।
जसपा नेपालका संरक्षक महन्थ ठाकुरले जेनजी युवाहरूको भावना र अपेक्षालाई सम्मान गर्दै डा. मिनाक्षी ठाकुरलाई नै महोत्तरी–३ बाट उम्मेदवार बनाउने निर्णय गर्नुभएको हो । पार्टी स्रोतका अनुसार, युवाहरूको सक्रिय सहभागिता र दबाबले यो निर्णयलाई थप बल पुगेको हो ।
मनोनयन दर्तापछि प्रतिक्रिया दिँदै डा. ठाकुरले युवाहरूको विश्वास र समर्थनलाई जिम्मेवारीका रूपमा लिएको बताउनुभयो । उहाँले शिक्षा, रोजगारी, सुशासन र समावेशी विकासलाई आफ्नो प्रमुख एजेन्डा बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
यस उम्मेदवारीलाई महोत्तरी–३ मा नयाँ पुस्ताको राजनीतिक चेतना र सहभागिताको संकेतका रूपमा हेरिएको छ । जसपा नेपालले आगामी निर्वाचनमा युवाको शक्ति र बौद्धिक नेतृत्वको संयोजनमार्फत सकारात्मक परिणाम हासिल गर्ने विश्वास लिएको छ ।
आरके श्रीवास्तव,राैतहट,०६ गते माघ ।
कटहरिया । रौतहट क्षेत्र नम्बर ३ मा जनमत पार्टीको तर्फबाट प्रवेज आलमले आफ्नो मनोनयन दर्ता गराएका छन् । लामो समयदेखि सामाजिक सेवामा निरन्तर सक्रिय रहँदै आएका आलमको उम्मेदवारीले स्थानीय राजनीतिक गतिविधि थप चर्किएको छ ।
मनोनयन दर्ताको प्रक्रिया सुरु भएसँगै यस क्षेत्रबाट हालसम्म आलमसहित ६ जनाले आफ्नो उम्मेदवारी दर्ता गराइसकेका छन् । विभिन्न दल तथा स्वतन्त्र उम्मेदवारहरूको सहभागिताले आगामी निर्वाचन प्रतिस्पर्धात्मक हुने संकेत देखिएको छ ।
सामाजिक सेवामार्फत पहिचान बनाएका आलमले स्थानीय विकास, शिक्षा, स्वास्थ्य तथा रोजगारीका विषयलाई प्राथमिकतामा राख्दै जनताका समस्या समाधानका लागि आफू उम्मेदवार बनेको बताएका छन् । मनोनयन दर्तापछि समर्थकहरूबीच उत्साह देखिएको छ ।
निर्वाचन नजिकिँदै जाँदा रौतहट क्षेत्र नम्बर ३ मा राजनीतिक सरगर्मी अझ बढ्ने अपेक्षा गरिएको छ ।
आरके श्रीवास्तव,राैतहट,०६ गते माघ ।
कटहरिया । रौतहट क्षेत्र नम्बर ३ मा नेकपा एमालेको तर्फबाट कुन्दन कुशवाहाले मनोनयन दर्ता गराएका छन् । उहाँ निर्वाचन अधिकृतको कार्यालयमा दलबल सहित स्वयम् उपस्थित भई मनोनयन दर्ता गराउनुभएको हो ।

मनोनयन दर्तापछि प्रतिक्रिया दिँदै कुशवाहाले यस क्षेत्रको निर्वाचन सत्य र तथ्यको लडाइँ भएको बताउनुभयो । उहाँले विदेशी हस्तक्षेप बढ्दै गएको दाबी गर्दै त्यसको विरुद्ध नेकपा एमालेको संघर्ष रहेको उल्लेख गर्नुभयो । “यो क्षेत्रमा सत्य–तथ्यको लडाइँ छ । विदेशी हस्तक्षेप बढेको छ । त्यसको विरुद्ध नेकपा एमालेको लडाइँ छ । मेरो उम्मेदवारी पनि त्यही लडाइँको हिस्सा हो,” उहाँले भन्नुभयो ।

उहाँले आफ्नो उम्मेदवारी युवाहरूको आह्वानमा अघि बढेको समेत बताउनुभयो । युवाहरूले परिवर्तन र स्वच्छ राजनीतिका लागि आफूलाई अघि सार्न आग्रह गरेकाले उम्मेदवारी दिएको उहाँको भनाइ छ ।
कुन्दन कुशवाला २०७४ सालको निर्वाचनमा मधेस प्रदेश सभामा निर्वाचित भइसकेका अनुभवी नेता हुनुहुन्छ । राजनीतिक अनुभव र क्षेत्रप्रतिको परिचयका कारण उहाँको उम्मेदवारीलाई रौतहट क्षेत्र नम्बर ३ मा अर्थपूर्ण रूपमा हेरिएको छ ।
आरके श्रीवास्तव,राैतहट,०६ गते माघ ।
कटहरिया । रौतहट निर्वाचन क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता प्रक्रिया जारी रहेको छ । हालसम्म ६ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन् ।
मनोनयन दर्ता गराउनेहरूमा आजपाका तर्फबाट प्रभु साह, नेकपा (एमाले) का कुन्दन कुशवाहा, नेपाल मजदुर किसान पार्टीकी रेखा कुमारी पटेल, जनमत पार्टीका सेख प्रवेज आलम, स्वतन्त्र उम्मेदवार राजेश साह तथा मंगोल नेशनल अर्गनाइजेसनका तर्फबाट उत्तर बहादुर राना रहेका छन् ।
निर्वाचन अधिकृत अवधकिशोर कुशवाहाका अनुसार मनोनयन दर्ता प्रक्रिया तोकिएको कार्यतालिका अनुसार शान्तिपूर्ण रूपमा अघि बढिरहेको छ । उहाँले आवश्यक कागजातसहित उम्मेदवारहरू मनोनयन दर्ताका लागि निर्वाचन कार्यालयमा उपस्थित भइरहेको जानकारी दिनुभयो ।
रौतहट क्षेत्र नम्बर ३ को निर्वाचन कार्यालय कटहरिया नगरपालिकामा रहेको छ । आगामी दिनमा मनोनयन जाँच, दाबी–विरोध तथा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम तय भएको निर्वाचन कार्यालयले जनाएको छ ।
राैतहट,माघ ६ गते ।
प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) बाट बारा निर्वाचन क्षेत्र नं. १ मा आम जनता पार्टीका केन्द्रीय अध्यक्ष प्रभु साहका स्वकीय सचिव विजय यादव ‘निर्विज’ले औपचारिक रूपमा आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ। विगत छ वर्षभन्दा बढी समयदेखि पार्टी संगठन सुदृढीकरण तथा जनसेवामा सक्रिय रहँदै आउनुभएका यादव अनुभव, इमान्दारिता र जनउत्तरदायी सोचसहित चुनावी मैदानमा उत्रनुभएको हो।
उम्मेदवारी घोषणा कार्यक्रममा बोल्दै यादवले बारा–१ का आम जनताको चाहनालाई केन्द्रमा राख्दै जनताको दुःख–सुखमा सधैं साथ दिने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले भ्रष्टाचारविरुद्ध कुनै सम्झौता नगरी अडिग रूपमा उभिने, विकास र सुशासनलाई प्राथमिकतामा राखी प्रभावकारी आवाज उठाउने स्पष्ट धारणा सार्वजनिक गर्नुभयो।
यादवले बारा १ लाई पछाडि पार्ने विगतका अभ्यासको अन्त्य गर्दै शिक्षा, स्वास्थ्य, पूर्वाधार, रोजगारी र सामाजिक न्यायका क्षेत्रमा ठोस परिवर्तन ल्याउने आफ्नो मुख्य लक्ष्य रहेको बताउनुभयो। “अब भाषण होइन, परिणाममुखी कामको आवश्यकता छ,” भन्दै उहाँले जनताको विश्वास नै आफ्नो सबैभन्दा ठूलो शक्ति भएको उल्लेख गर्नुभयो।
आम जनता पार्टीले बारा–१ मा लामो समयदेखि व्याप्त विकासको असन्तुलन, सुशासनको अभाव र जनसमस्याको समाधानका लागि सक्षम, निष्ठावान र संघर्षशील नेतृत्व आवश्यक रहेको बताउँदै विजय यादव ‘निर्विज’लाई आधिकारिक उम्मेदवारका रूपमा अघि सारेको जनाएको छ।
पार्टीका अनुसार बारा–१ मा अब परिवर्तन अपरिहार्य भइसकेको छ। “जनताको भरोसा, आम जनता पार्टी” भन्ने नाराका साथ मोबाइल चिन्हमा मतदान गर्न पार्टीले सम्पूर्ण मतदातालाई आग्रह गरेको छ।
रौतहट, ६ माघ ।
संविधानसभाका सदस्य एवं जनता समाजवादी पार्टी नेपाल (जसपा) कार्यकारिणी समिति सदस्य आत्माराम साहले पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।
जसपा परित्याग गरेका साह आम जनता पार्टी (आजपा)मा प्रवेश गरेका छन् । आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले आज उनलाई आजपामा प्रवेश गराउदै पार्टीमा स्वागत गरेका छन् ।
आजपा प्रवेश गरेका साह २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा बारा क्षेत्र नं. २ बाट उम्मेदवार भएका छन् । उनी आज बारा २ बाट उम्मेदवारी दर्ता गराउदैछन् । ईन्जिनियर समेत रहेका साह मधेस प्रदेशकै स्वच्छ एवं चर्चित नेता हुन् ।
उनी विगत लामो समयदेखी जसपा अध्यक्ष उपेन्द्र यादव निकट रहेर काम गर्दै आएका थिए । बाराको गंजभवानीपुर निवासी साहलाई बारा २ बाट आजपाले टिकट दिएपछि सो क्षेत्रका आम जनता उत्साही छन् ।
आरके श्रीवास्तव,राैतहट,०५ गते माघ ।
रौतहट । नेपाली कम्युनिस्ट पार्टीबाट टिकट नपाएपछि रविन्द्र पटेल धिरजले रौतहट निर्वाचन क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तर्फबाट उम्मेदवारी दिने घोषणा गरेका छन् ।
सामाजिक संजाल मार्फत आफ्नो सार्वजनिक भनाइमार्फत उनले देशमा न्याय, सुशासन र वास्तविक परिवर्तनको माग अझै जीवित रहेको उल्लेख गर्दै विगतको जेन–जि आन्दोलनमा युवाहरूले दिएको बलिदान व्यर्थ जान नदिन आफू सत्यको पक्षमा दृढतापूर्वक उभिएको बताएका छन् । “माथिबाट पटक–पटक दबाब, धम्की र डर देखाइए पनि मेरो संकल्प कमजोर भएको छैन,” उनले भनेका छन्।
पटेलले रौतहट–३ मा हत्या, हिंसा, भ्रष्टाचार र दण्डहीनताको राजनीतिलाई अन्त्य गर्न निर्णायक समय आएको दाबी गर्दै भोलि कटहरियामा शुभेच्छुक, समर्थक र नागरिकहरूको सल्लाह, सुझाव र आशीर्वादका आधारमा औपचारिक निर्णय लिने बताएका छन् । उनले जनताको आवाज सदनसम्म पुर्याउने उद्देश्यसहित राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।
“यो लडाइँ हिंसाको होइन, यो लडाइँ मतपत्र, विवेक र जनताको एकताबाट इतिहास लेख्ने लडाइँ हो,” पटेलले आफ्नो भनाइमा उल्लेख गरेका छन् । रौतहट–३ मा अब नयाँ सोच, नयाँ नेतृत्व र जनउत्तरदायी राजनीतिबाट परिवर्तन सम्भव हुने उनको दाबी छ ।
२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा रविन्द्र पटेल धिरजले ८ हजार ५८ मत प्राप्त गरेका थिए । यसपटक उनले काठमाडौं महानगरपालिकाका मेयर बालेन साह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अघि सारेको वैकल्पिक राजनीतिबाट प्रेरित भएर चुनावी प्रतिस्पर्धामा होमिने बताएका छन् ।
उनले अन्त्यमा सबैलाई एकजुट हुन आह्वान गर्दै “परिवर्तन सम्भव छ, यदि हामी सबै एकजुट भयौँ भने,” जय घण्टी ।
भन्दै आफ्नो भनाइ टुंग्याएका छन् ।
आरके श्रीवास्तव,राैतहट,०५ गते माघ ।
रौतहट । चमार कल्याण समाज नेपाल, केन्द्रीय समितिका उपाध्यक्ष पुनित रामको अध्यक्षतामा रौतहट जिल्लाभरिका चमार समुदायका अगुवा, जनप्रतिनिधि, नेता–अभियन्ता, महिला नेतृ, विभिन्न संघ–संस्थामा आवद्ध पदाधिकारी, बुद्धिजीवी, कर्मचारी/शिक्षक तथा पत्रकारहरूको बैठक सम्पन्न भएको छ ।
रौतहट क्षेत्र नं. ३ अन्तर्गत गुजरा नगरपालिका वडा नं. ८ स्थित केवल राम सुरत क्याम्पसको प्राङ्गणमा सम्पन्न उक्त बैठकले सन्त गुरु रविदासको जन्मजयन्ती भव्य रूपमा मनाउने सर्वसम्मत निर्णय गरेको छ ।

बैठकको निर्णयअनुसार यही आउँदो मिति २०८२ माघ १८ गते गुजरा नगरपालिका वडा नं. ९, सिमरा भवानीपुरको बजार प्राङ्गणमा सन्त गुरु रविदासकाे जन्मजयन्ती भव्य कार्यक्रमका साथ मनाइनेछ ।
कार्यक्रमलाई सफल बनाउन विभिन्न उपसमिति गठन गर्ने, समुदायस्तरमा व्यापक सहभागिता सुनिश्चित गर्ने तथा सामाजिक सद्भाव, समानता र गुरु रविदासको शिक्षालाई जनजनमा पुर्याउने उद्देश्यले विविध कार्यक्रमहरू आयोजना गरिने निर्णय गरिएको छ ।
बैठक सफलतापूर्वक सम्पन्न भएको जानकारी रामले दिनुभएको हो ।