काठमाडौं । सोमबारदेखि कोरियन भाषा परीक्षाको आवेदन दिन सकिने भएको छ । ईपीएस कोरिया शाखाका अनुसार सन् २०२६ का लागि प्रथम चरणको आवेदन सोमबारदेखि खुला हुने भएको हो ।
आवेदन जुलाई २७ देखि अगस्ट २ सम्म आवेदन दिन सकिने र आवेदन अनलाइनमार्फत दिन सकिने शाखाले जनाएको छ ।
शाखाका अनुसार पोइन्ट बेस्ड सेलेक्सन सिस्टमबाट अनुमानित उत्तीर्ण संख्या ७२ सय हुने उल्लेख छ । जसमा सबैभन्दा बढी उत्पादनमुलक क्षेत्रमा ५ हजार, कृषि तथा पशुपालन क्षेत्रमा २ हजार, सेवा क्षेत्रमा १ हजार र वन क्षेत्रमा पनि १ हजार कोटा तोकिएको छ ।
प्रथम चरणको भाषा परीक्षामा उत्तीर्ण संख्याका आधारमा कटलाइन निर्धारण हुने साथै कोरियामा कामदारको मागअनुसार उत्तीर्ण संख्या थपघट हुनसक्ने शाखाले उल्लेख गरेको छ ।
शाखाले प्रथम चरणको परीक्षामा उतिर्णहरुलाई दोस्रो चरणको सीप परीक्षण र कार्यक्षमता मुल्यांकन मा सहभागी भइ उतिर्ण भएपछि मात्र अन्तिम छनौटमा पर्न सक्ने जनाएको छ ।एभरेष्ट न्यूज एजेन्सी
काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ४ जनाको मृत्यु भएको छ भने १२४ जना घाइते भएका छन् ।
नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा मधेश र लुम्बिनी प्रदेशमा २-२ जनाको मृत्यु भएको छ ।
त्यस्तै देशभर भएका दुर्घटनामा १२४ जना घाइते भएका छन् । जस अनुसार मधेश प्रदेशमा २० जना घाइते भएका छन् भने काठमाडौँ उपत्यकामा ३२ जना घाइते भएका छन् । त्यस्तै कोशीमा २७ जना, बागमतीमा ५ जना घाइते भएका छन् भने लुम्बिनीमा २१ जना, सुदूरपश्चिममा १३ जना र कर्णालीमा ६ घाइते भएका छन् ।एभरेष्ट न्यूज एजेन्सी
मोरङ । मोरङमा १७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सुन्दरहरैँचा नगरपालिका-६ सीसौबारी टोल बस्ने २३ वर्षीय प्रतिक राईलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रतिकले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी गछीयाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । एभरेष्ट न्यूज एजेन्सी
रसुवा । रसुवाको गोसाइँकुण्ड गाउँपालिका-५ चिलिमे पुलस्थित पासाङ ल्हामु सडकखण्डमा (ईभी) भ्यान त्रिशूली नदीमा खस्दा चालक बेपत्ता भएका छन् ।
शनिबार साँझ करिब १७:४० बजे स्याफ्रुबेँसीबाट धुन्चेतर्फ आउँदै गरेको ‘अन टेस्ट’ भ्यान सडकबाट करिब २५ मिटर तल त्रिशूली नदीमा खसेर बेपत्ता भएको हो ।
दुर्घटनामा परेको गाडीका चालकको नाम, थर र ठेगाना खुल्न नसकेको र गाडीमा अन्य व्यक्ति थिए वा थिएनन् भन्ने तथा मानवीय क्षतिको यकिन विवरणसमेत प्राप्त हुन सकेको छैन ।
बेपत्ता चालक तथा नदीमा खसेको ईभी गाडीको खोजी तथा उद्धार कार्य जारी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।एभरेष्ट न्यूज एजेन्सी
काठमाडौं । नक्सालस्थित नेपाल बाल संगठनको बाल मन्दिरमा पुनःसंरचना तथा पूर्वाधार सुधारको काम सुरु गरिएको छ । आज भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँगको समन्वयमा आयोजना प्रमुख, निर्माण कम्पनी तथा प्राविधिक टोलीको उपस्थितिमा ढल निर्माण कार्यबाट पुनःसंरचनाको औपचारिक सुरुवात गरिएको हो ।
गत साता मन्त्रालयले प्राप्त उजुरी तथा सार्वजनिक भएका भिडियो सामग्रीका आधारमा गरेको स्थलगत अनुगमनका क्रममा बाल मन्दिरको भौतिक अवस्था अत्यन्त जीर्ण रहेको, भवनभित्र पानी जम्ने, प्रभावकारी ढल निकासको व्यवस्था नहुँदा दुर्गन्ध फैलिएको, शौचालय तथा स्नानगृह प्रयोगयोग्य नरहेको, सरसफाइ अत्यन्त कमजोर रहेको तथा विभिन्न उमेर समूहका बालबालिकालाई एउटै स्थानमा राखिएको अवस्था फेला परेको थियो । बालबालिकाको स्वास्थ्य, सुरक्षा र संरक्षणमा गम्भीर जोखिम देखिएपछि मन्त्रालयले तत्काल हस्तक्षेप गर्दै पहिलो चरणमा दुई वर्षमुनिका २० जना बालबालिकालाई सुरक्षित स्थानमा स्थानान्तरण गरेको थियो ।
बाल मन्दिरको भौतिक अवस्था तत्काल सुधार गरी बालबालिकाका लागि सुरक्षित, स्वच्छ र व्यवस्थित वातावरण सुनिश्चित गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको थियो। सोही निर्देशन कार्यान्वयनस्वरूप आजदेखि पुनःसंरचनाको काम सुरु गरिएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पहिलो चरणमा ढल व्यवस्थापनको काम अघि बढाइएको छ । त्यसपछि भवन मर्मत, क्षतिग्रस्त संरचनाको पुनःनिर्माण, शौचालय तथा स्नानगृह स्तरोन्नति, सरसफाइ व्यवस्थापन, सुरक्षित खानेपानीको व्यवस्था तथा बालमैत्री पूर्वाधार निर्माणका काम क्रमिक रूपमा अघि बढाइनेछ ।
आयोजना प्रमुख र निर्माण कम्पनीलाई आगामी दशैँअघि सम्पूर्ण पुनःसंरचना तथा पूर्वाधार सुधारका काम गुणस्तरीय रूपमा सम्पन्न गरी बाल मन्दिरलाई सुरक्षित, स्वच्छ, व्यवस्थित र बालमैत्री संरक्षण केन्द्रका रूपमा सञ्चालनमा ल्याउन निर्देशन दिनुभएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले बाल संरक्षणसँग सम्बन्धित पूर्वाधारमा देखिएका कमजोरीलाई सुधार गर्दै राज्यको संरक्षणमा रहेका प्रत्येक बालबालिकाले सुरक्षित, सम्मानजनक र गुणस्तरीय वातावरणमा हुर्किन पाउने अधिकार सुनिश्चित गर्ने प्रतिबद्धताअनुसार सुधारका कामलाई निरन्तरता दिइने जनाएको छ ।एभरेष्ट न्यूज एजेन्सी
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको निर्देशनमा डा. गोविन्द केसीसँग वार्ता गर्न मन्त्रालयका सचिव चूडामणि पौडेल धनगढी पुगेका छन् ।
शिक्षा तथा खेलकुद मन्त्री पोखरेलले शुक्रबार साँझ डा. केसीसँग टेलिफोन संवाद गरेका थिए । त्यसलगत्तै वार्तामार्फत अनशनको निकास खोज्ने उद्देश्यले सचिव पौडेललाई धनगढी पठाएको हो ।
यसैबीच, प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डा. जे.पी. अग्रवाल र स्वास्थ्य सचिव पनि आइतबार धनगढी पुगेर डा. केसीसँग संवाद गर्ने कार्यक्रम रहेको छ ।
सरकारले वार्तामार्फत डा. केसीको अनशनको सहमतिपूर्ण निकास खोज्ने प्रयासलाई तीव्र बनाएको छ ।एभरेष्ट न्यूज एजेन्सी
काठमाडौं । शिक्षामन्त्री सस्मित पोखरेलबिरुद्ध युवाहरुले ‘नेपो बेबी’ भन्दै प्रदर्शन गरेका छन् ।
त्रिभुवन बिश्वविद्यालयको ६७औं वार्षिक दिवस समारोहमा सहभागी हुन कीर्तिपुर पुगेका मन्त्री पोरखेलबिरुद्ध युवाहरुले नेपो बेबी भन्दै नाराबाजी गर्दै प्रदर्शन गरेका हुन् ।
उनीहरुले ‘नेपो बेबी मुर्दावाद’, ‘मेरिटोक्रेसी लागू गर’ लगायतका नारा लगाउँदै प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुले विश्वविद्यालयमा राजनीतिक हस्तक्षेप बन्द गर्नमा माग गरका छन् भने मेरिटोक्रेसी लागू गर्न समेत माग गरेका छन् । विश्व विद्यालयहरुको कुलपतिमा प्रधानमन्त्री र सहकुलपतिमा शिक्षामन्त्री हुने व्यवस्था समेत खारेज गर्नुपर्ने उनीहरुको माग छ । एभरेष्ट न्यूज एजेन्सी,
काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनाल एक साताव्यापी भ्रमणका लागि बुधबार चीन प्रस्थान गरेका छन् ।
खनाल चिनियाँ सरकारको मैत्रीपूर्ण निमन्त्रणामा जनवादी गणतन्त्र चीनको भ्रमणमा गएका हुन् ।
भ्रमणका क्रममा उनले चिनियाँ नेतृत्वसँग नेपाल-चीन द्विपक्षीय सम्बन्ध, आपसी हित, मित्रता र सहयोगका विभिन्न विषयमा छलफल गर्ने कार्यक्रम रहेको छ ।
खनालको भ्रमणलाई दुई देशबीचको सम्बन्ध थप सुदृढ बनाउने उद्देश्यसँग जोडेर हेरिएको उनको सचिवालयले जनाएको छ ।एभरेष्ट न्यूज एजेन्सी
काठमाडौं । आज जुलाई २२ अर्थात् विश्व मस्तिष्क दिवस विश्वभर विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । मस्तिष्कसम्बन्धी रोगबारे जनचेतना फैलाउने, सामाजिक विभेद अन्त्य गर्ने र सबै नागरिकको उपचारमा समान पहुँच सुनिश्चित गर्ने उद्देश्यका साथ यो दिवस सन् २०१४ देखि विश्व स्नायु विज्ञान महासङ्घको पहलमा मनाउन थालिएको हो ।
यस वर्षको विश्व मस्तिष्क दिवसको नारा ‘सबैका लागि मस्तिष्क स्वास्थ्य’ रहेको छ । विश्वभर ३ अर्ब ४० करोडभन्दा बढी मानिस विभिन्न स्नायु तथा मस्तिष्कसम्बन्धी रोगबाट प्रभावित रहेको अवस्थामा उपचार सेवामा रहेको असमानता हटाउँदै सबैलाई समान अवसर उपलब्ध गराउने सन्देश यस वर्षको अभियानले दिएको छ ।
अभियानले समयमै रोग पहिचान, प्रारम्भिक उपचार, रोगको रोकथाम, स्थानीय स्वास्थ्य सेवाको सुदृढीकरण तथा मस्तिष्क स्वास्थ्यलाई प्राथमिकतामा राख्ने नीतिगत सुधारमा जोड दिएको छ। विशेषगरी दुर्गम तथा स्रोतसाधनको अभाव भएका क्षेत्रमा पनि गुणस्तरीय उपचार सेवा विस्तार गर्नुपर्ने आवश्यकता औँल्याइएको छ ।
विश्व स्नायु विज्ञान महासङ्घका अनुसार मस्तिष्कसम्बन्धी रोग विश्वमा अशक्तताको प्रमुख कारणमध्ये एक बनेको छ। त्यसैले उच्च रक्तचाप, मधुमेह र मुटुसम्बन्धी समस्याको नियन्त्रण, नियमित शारीरिक व्यायाम, स्वस्थ खानपान तथा स्वस्थ जीवनशैली अपनाउन सके दीर्घकालीन रूपमा मस्तिष्क स्वास्थ्य जोगाउन महत्वपूर्ण योगदान पुग्ने विज्ञहरूले बताएका छन्।एभरेष्ट न्यूज एजेन्सी
कैलाली । कैलालीमा, १४ वर्षीया बालिकलाई जबरजस्ती करणी गरेको अभियोगमा टीकापुर नगरपालिका-३ कटानपुर बस्ने २१ वर्षीय राहुल चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।
राहुलले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।एभरेष्ट न्यूज एजेन्सी