२०८३ भाद्र ११
२०८३ भाद्र ११

आरके श्रीवास्तव,राैतहट,३१ गते वैशाख । 

रौतहट । अन्नपूर्ण पाेष्ट दैनिकका राैतहट संवाददाता,सुप्रिम सञ्चार प्रा.लि. अन्तर्गत सञ्चालित रेडियो सुप्रिम तथा अनलाइन पोर्टल कलमपाटी डटकमका सञ्चालक, प्रेस चौतारी मधेश प्रदेशका पूर्व अध्यक्ष तथा वरिष्ठ पत्रकार फणि देव महतको असामयिक निधनले सम्पूर्ण सञ्चार क्षेत्र शोकमग्न बनेको छ ।

बिगत लामो समयदेखि ब्रेन ट्युमर राेगका सिकार पत्रकार महतको मंगलबार उपचारकै क्रममा दुःखद निधन भएको छ । ४८ वर्षिय उहाँको निधनको खबरले रौतहट मात्र होइन, देशैभरिका पत्रकारलाई स्तब्ध तुल्याएको छ । लामो समयदेखि सञ्चार क्षेत्रको सशक्तिकरण तथा समाज रूपान्तरणमा सक्रिय महतले जनताको आवाज बुलन्द पार्न आफ्नो सम्पूर्ण जीवन समर्पण गर्नुभएको थियो ।

पत्रकारितामा उहाँको निष्ठा, समर्पण र निर्भीकता उदाहरणीय रहेको पत्रकार तथा उहाँका सहकर्मीहरूले बताएका छन् ।  उहाँको योगदान सदैव स्मरणीय रहने छ । पत्रकार महतको निधनले रौतहटको पत्रकारिता क्षेत्रमा ठूलो शून्यता उत्पन्न भएको छ ।

उहाँको निधनप्रति रौतहट लगायत देशैभरिका पत्रकारहरूले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली अर्पण गर्दै गहिरो समवेदना प्रकट गरेका छन् । नेपाल पत्रकार महासंघ मधेस प्रदेश लगायत विभिन्न सञ्चार संस्थाहरूले पनि उहाँप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।

यस दुःखद घडीमा शोकाकुल परिवारप्रति गहिरो समवेदना प्रकट गर्दै, दिवंगत आत्माको चिरशान्तिको कामना गरिएकाे छ । उनकाे परिवारमा एक श्रीमती र दुई छोरा छन् । चन्द्रनिगाहपुरमा आज दिउँसो उनकाे अन्त्येष्टि गर्ने कार्यक्रम रहेको रेडियाे सुप्रिमका स्टेसन मैनेजर मुकेश कुमार साहले जानकारी गराएका हुन् ।

आरके श्रीवास्तव,गरूडा,३० गते वैशाख ।

रौतहटकाे गरुडा नगरपालिका वडा नं. ६ स्थित पोठियाहीमा आज एक विशेष कार्यक्रमका बीच आधारभूत विद्यालयको कक्षा ६ को औपचारिक उद्घाटन गरिएको छ । नगर प्रमुख कन्थमनी जयसवालले समारोहमा उपस्थित भई कक्षाको उद्घाटन गर्नु भएकाे छ ।

उक्त अवसरमा नगरप्रमुख जयसवालले बालबालिकाको उज्ज्वल भविष्य निर्माणमा शिक्षाको महत्त्वपूर्ण भूमिका हुने बताउँदै विद्यालय पूर्वाधार विस्तारलाई नगरपालिकाले उच्च प्राथमिकता दिएको जानकारी दिएका हुन् । कक्षा ६ को सञ्चालनसँगै विद्यार्थीहरूलाई आवश्यक सम्पूर्ण पाठ्यपुस्तकहरू पनि वितरण गरिएको छ ।

“नगरवासीहरूको साथ, अभिभावकहरूको विश्वास र विद्यार्थीहरूको उत्साहले हामीलाई अझ बढी जिम्मेवार बनाउँछ,” नगरप्रमुख जयसवालले भन्नुभयो । उहाँले गरुडा नगरपालिका शिक्षामा गुणस्तर सुधार तथा भौतिक पूर्वाधार विकासका लागि निरन्तर क्रियाशील रहने प्रतिबद्धता पनि जनाउनु भएको छ ।

कार्यक्रममा स्थानीय अभिभावक, शिक्षक, विद्यालय व्यवस्थापन समिति तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

आरके श्रीवास्तव,राैतहट,२९ गते वैशाख । 

गरुडा – सहयोगी मनका धनी तथा दयालु स्वभावका स्वर्गीय मनोज कुमार चौधरीको चौथो पुण्यतिथिको अवसरमा गरुडा नगरपालिकाकी नगर उप प्रमुख पूनम कुमारी चौधरी र स्व. चौधरीका सुपुत्र आरुष चौधरीले वंशीराम जयसवाल अनाथालयमा खाद्यान्न, स्टेशनरी सामग्री तथा विभिन्न खानेकुरा हस्तान्तरण गरेका छन् ।

भावनात्मक वातावरणमा सम्पन्न उक्त कार्यक्रममा स्व. चौधरीको स्मृतिमा अनाथालयमा रहेका बालबालिकालाई माया र स्नेहसहित सामग्री वितरण गरिएको थियो ।

त्यसै अवसरमा नगर उप प्रमुख पूनम कुमारी चौधरीले स्वास्थ्य समस्याका कारण अस्पतालमा उपचाररत अनाथालयका सञ्चालक वंशीराम जयसवालको स्वास्थ्य अवस्था बुझेकी थिइन् । अस्पताल पुगेर उनले जयसवाललाई दोसल्ला ओढाएर सम्मान गर्दै शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेकी थिइन् ।

स्व. मनोज कुमार चौधरीप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारले सामाजिक सेवामा लागिरहने प्रतिबद्धता व्यक्त गरेकाे छ ।

 

वीरगंज, २९ गते बैशाख । 
चाइना फाउन्डेसन फर रुरल डेभलपमेन्टको आर्थिक सहयोग र ग्लोबल कोओपरेशन फर डेभलपमेन्ट, ललितपुरको आयोजनामा बारा र पर्सा जिल्लाका विभिन्न विद्यालयमा शैक्षिक सामग्री, हाइजेन किट, स्टेशनरी तथा खेलकुद सामग्री वितरण गरिएको छ।

यस कार्यक्रम अन्तर्गत बाराका ४ र पर्साका १ गरी कुल ६ विद्यालयका ९०४ बालबालिकाहरुको लागि शैक्षिक सामग्री,हाइजेन कीट तथा स्टेशनरी सामग्री बितरण गरिएको छ। साथै बाराका ६ र पर्साका १ गरी कुल ७ विद्यालयमा ३५ सेट खेलकुद सामग्री वितरण गरिएको हो । नेपाल राष्ट्रिय सेकेन्डरी स्कुल, बलरामपुर (विश्रामपुर गा.पा–३) मा १८१ बालबालिकाहरुलाइ शैक्षिक सामाग्री र ५ सेट खेलकुदका सामाग्रीहरु, नेपाल राष्ट्रिय सेकेन्डरी स्कुल, मुसहर्वा (विश्रामपुर गा.पा–४) मा १३८ जना बालबालिकाहरुलाई शैक्षिक सामाग्री र ५ सेट खेलकुद सामग्रीहरु,नेपाल राष्ट्रिय सेकेन्डरी स्कुल, बेलहिया (प्रसौनी गा.पा–६) २२९ जना बालबालिकाहरुको लागि शैशिक सामग्रीहरु र बिद्यालयमा ५ सेट खेलकुद सामग्रीहरु,श्री सरस्वती माध्यमिक बिद्यालय (प्रसौनी) २१५ जना बालबालिकाहरुको लागि शैक्षिक सामग्री र ५ सेट खेलकुदका सामाग्रीहरु,श्री सुन्दर मल रामकुमारी कन्या सेकेन्डरी स्कुल, वीरगंज १४१ जना छात्रालाई शैक्षिक सामाग्री र बिद्यालयमा ५ सेट खेलकुद सामग्रीहरु,नेपाल राष्ट्रिय सेकेन्डरी स्कुल, खजानी (सिम्रौनगढ न.पा–७) बिद्यालयलाइ ६ सेट खेलकुद सामग्रीहरु र नेपाल राष्ट्रिय सेकेन्डरी स्कुल, फेटा गा.पा–१ बिद्यालयको लागि ३ सेट खेलकुदका सामाग्रीहरु बितरण गरिएको थियो।

आज बलरामपुरस्थित नेपाल राष्ट्रिय सेकेन्डरी स्कुलमा सम्पन्न कार्यक्रम का.बा.वडा अध्यक्ष लाल झरी देवीको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पतिलाल प्रसाद कलवार, वडा सचिब,प्रधानाध्यापक आनन्द कुमार गुप्ता, शिक्षक राजु कुमार कर्ण, वडा सदस्य हरिचन्द्र साह, मक्सुद अन्सारी, शिक्षिका श्वेता सिंह, माया कुमारी उप्रेती लगायत शिक्षक शिक्षिका तथा अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो त्यस्तै बिश्रामपुर ३ को बिद्यालयमा वडा अध्यक्ष श्री शिव चन्द्र प्रसाद यादब, बिब्यस अध्यक्ष शम्भु चौरासिया साथै समाजसेवी छोटेलाल प्रसाद पाल समेतको उपस्थितीमा सम्पन्न भयो। कार्यक्रमको ब्यबस्थापन युबा समाजसेवी लोकेश सिह र डा. धनन्जय यादबले गर्नुभएको थियो। साथै चाइना फाउन्डेसन फर रुरल डेभलपमेन्ट ललितपुर कार्यालयका प्रतिनिधि कबित नेपाली र ग्लोबल कोओपरेशन फर डेभलपमेन्ट, ललितपुरका प्रतिनिधि उत्तम कार्की समेतको उपस्थिती रहेको थियो ।चाइना फाउन्डेसन फर रुरल डेभलपमेन्ट ललितपुर कार्यालयका प्रतिनिधि कबित नेपाली जनकारी दिनुभयो।

 

प्रेमचन्द्र झा, रौतहट,२९ गते वैशाख । 

तराई–मधेसको सांस्कृतिक पहिचान बोकेको परम्परागत वस्तु ‘डाला’ अहिले अस्तित्व संकटमा परेको छ । बाँसबाट बनाइने यो कलात्मक सामग्री विवाह, बर्तबन्ध, पूजापाठ जस्ता शुभ कार्यहरूमा अपरिहार्य भए पनि यसको निर्माण गर्ने समुदाय—डोम—अझै सामाजिक विभेदको शिकार छ ।

‘डाला’ केवल एक घरेलु सामग्री होइन, यो मधेसी सभ्यता, संस्कार र जातीय इतिहासको प्रतीक हो। पौराणिक कालदेखि पवित्र मानिएको बाँसबाट बनाइने डाला आज पनि विवाह समारोहमा सम्मान र सम्पन्नताको प्रतीकको रूपमा प्रयोग हुन्छ। दुलहापक्षबाट डुलहीको घरमा डाला पुर्याउनु सामाजिक संस्कारको एक महत्वपूर्ण भाग हो ।

डाला निर्माणमा उच्च सीप आवश्यक पर्छ। बाँसलाई काट्ने, सुकाउने, चोइट्याउने र बुन्ने क्रम अत्यन्त समय लाग्ने प्रक्रिया हो । डोम समुदायका हातबाट बनाइने यी डाला आज पनि ग्रामीण क्षेत्रका घर–घरमा प्रयोग हुन्छन्। तर उनीहरूलाई समाजले सधैं ‘तल्लो जात’को दृष्टिले हेर्दै आएको छ । एक वृद्ध डोम कलाकारको भनाइमा, “हम डाला बनाबई छी, लोगके पूजा होअलई, मुदा हम्मर पानि तक नहि पिअलई,” भन्ने कथनले मधेसको जातीय विभाजन झल्काउँछ ।

हाल वर्षेनी डालाको प्रयोग घट्दै गएको देखिन्छ ।  प्लास्टिकका ट्रे, कागजका प्याकेज र एलुमिनियमका डब्बाले यसको स्थान लिन थालेका छन् । यसले डाला निर्माणको परम्परालाई संकटमा पार्दैछ । यद्यपि, केही युवा मधेसीहरू र स्थानीय संस्था डोम समुदायको सीप र योगदानलाई सम्मान गर्ने अभियानमा लागेका छन् ।

गौर नगरपालिकाका पूर्व नगर उपप्रमुख किरण कुमारी ठाकुर भन्छिन्, “हाम्रो परम्परा डोम समुदायको सीपसँग गाँसिएको छ । डोमहरूले बनाउने डाला बिनाको विवाह सम्भव छैन् । अब तिनीहरूको सम्मान र पारिश्रमिक दुबै सुनिश्चित गर्नुपर्छ।”

डाला संरक्षणका लागि विज्ञहरूले विभिन्न उपायहरू सुझाएका छन्—डोम समुदायका युवालाई सीप तालिम दिने, हस्तकला मेलामा डाला प्रदर्शनी गराउने, शैक्षिक पाठ्यक्रममा यसको महत्व समावेश गर्ने र कला–साहित्यमा डाला पात्रहरूलाई उजागर गर्ने।

डाला केवल बाँसको सामग्री होइन, यो मधेसको आत्मा हो । यदि आज संरक्षणको पहल भएन भने, भोलिको पुस्ताले डाला केवल पुस्तकमा पढ्ने वस्तु बन्नेछ ।

आरके श्रीवास्तव,राैतहट,२९ गते वैशाख । 

लोकतान्त्रिक पत्रकार संघ केन्द्रीय अध्यक्ष कामरेन्द्र वर्माको नेतृत्वमा संघ दिनप्रतिदिन सक्रिय बन्दै गएको छ । पत्रकारहरूकाे हक, अधिकार र पेशागत पहिचानलाई सशक्त बनाउने उद्देश्यसहित संघले हालै धमाधम जिल्ला संयोजकको मनोनयन प्रक्रिया अघि बढाएको छ ।

अहिलेसम्म संघले मधेस प्रदेशका चार जिल्लामा संयोजक तोकिसकेको छ । बारा जिल्लामा विनोद प्रजापति, रौतहटमा राजु कुमार श्रीवास्तव, सर्लाहीमा राजिव कुमार साह तथा महोत्तरीमा राजिव राय कुर्मी जिल्ला संयोजकको रूपमा चयन भएका छन् ।

संघका अनुसार यी सबै संयोजकहरू सक्रिय रूपमा संगठन विस्तार र पत्रकारहितका गतिविधिमा जुटिरहेका छन् ।

अध्यक्ष वर्माले बाँकी जिल्लाहरूमा समेत चाँडै संयोजक मनोनयन गरिने जानकारी दिएका छन् । यसकाे लागि कुरा भईसकेकाे उनी बताउँछन् ।

 उनका अनुसार संघमा पत्रकारहरूको आकर्षण तीव्र रूपमा बढ्दै गएको छ, जसले आफूलाई थप उत्साहित बनाएको बताए ।

“अन्य पत्रकार संगठनहरू भन्दा फरक ढंगले हाम्रो संघले पत्रकारहरूको सशक्त पहिचान निर्माण गर्ने लक्ष्य लिएको छ,” अध्यक्ष वर्माले भने, “हामी लोकतान्त्रिक मूल्य, प्रेस स्वतन्त्रता र पेशागत मर्यादा कायम गर्न कटिबद्ध छौं ।”

संघले आगामी दिनमा पत्रकारहरूको क्षमता अभिवृद्धि, पेशागत सुरक्षा र सामाजिक उत्तरदायित्वका सवालमा विविध कार्यक्रम सञ्चालन गर्ने जनाएको छ । संघले आगामी दिनहरूमा केन्द्रदेखि जिल्ला तहसम्म अझ प्रभावकारी रूपमा काम गर्ने योजना बनाएको छ ।

आरके श्रीवास्तव,राैतहट,२९ गते वैशाख । 

राैतहट-लोकतान्त्रिक पत्रकार संघको संशोधित विधानअनुसार धनुषा निवासी पत्रकार विजेता चौधरीलाई संघको केन्द्रीय सदस्यमा मनोनीत गरिएको छ ।

केन्द्रीय अध्यक्ष कामरेन्द्र वर्माले चौधरीलाई मनोनीत गर्दै देश, मधेश, पत्रकारिता र पार्टीको हितमा उहाँको कार्यकाल उल्लेखनीय रहने विश्वास व्यक्त गरेका छन् ।

संघले चौधरीलाई मनोनयन गरिएको सहर्ष जानकारी दिँदै हार्दिक बधाई तथा शुभकामना समेत व्यक्त गरेको छ ।

२० वर्षदेखि पत्रकारिता क्षेत्रमा सक्रिय रहनुभएका चौधरी हाल राष्ट्रिय समाचार समिति (रासस) मा कार्यरत हुनुहुन्छ ।

लाेसपा नेपालकाे केन्द्रीय कार्यालयमा चाैधरीलाई मनाेनयन पत्र हस्तान्तरण गर्ने क्रममा पार्टीका महासचिव मनिष मिश्र,लाेकतान्त्रिक यूवा संघका अध्यक्ष सुजन यादव,सचिव शैलेन्द्र ठाकुर लगायतका व्यक्तिहरूकाे उपस्थिति रहेको थियो ।

काठमाडौं, वैशाख २९ गते – लोसपा नेपालका महासचिव मनिष मिश्रले आतंकवादविरुद्ध सम्पूर्ण विश्व एकजुट भएर अघि बढ्नुपर्ने आवश्यकता रहेको बताएका छन् । सामाजिक संजालमा उनले आफनाे आधिकारिक धारणा राख्दै यस्ताे बताएका हुन् ।

भारतीय राजदूत नवीन श्रीवास्तवद्वारा पहलगाम आतंकवादी हमलामा मारिएका नेपाली नागरिक सुदीप न्यौपानेको परिवारलाई भेट गरेको घटनाप्रति मिश्रले प्रशंसा गर्दै भने, “भारतको यो कदम अत्यन्त सराहनीय तथा मानव सभ्यताको उच्चतम बिन्दु हो।”

उनले नेपालका नागरिकप्रतिको सम्मान र सहानुभूतिलाई कूटनीतिक मर्यादाको उत्कृष्ट उदाहरणका रूपमा ब्याख्या गरेका छन् ।

मिश्रका अनुसार आतंकवाद मानव सभ्यताको साझा दुश्मन हो र यसविरुद्ध सबै देशहरू मिलेर कठोर कदम चाल्नुपर्ने समय आएको बताएका छन् ।

आरके श्रीवास्तव,गरूडा,२९ गते वैशाख । 

राैतहटकाे गरुडा नगरपालिका वडा नम्बर ४ मा अवस्थित जीवन विज्ञान योग केन्द्रको वार्षिकोत्सव कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । “गरौँ योग, बनौँ निरोग” भन्ने मूल नारासहित आयोजित कार्यक्रममा नगर प्रमुख कन्थमनी जयसवनल लगायत विभिन्न व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रम मार्फत केन्द्रले आफ्नो पहिलो वर्ष सफलतापूर्वक सम्पन्न गरी दोस्रो वर्षमा प्रवेश गरेको खुशी सँगै स्थानीय समुदायमा स्वास्थ्य, मानसिक सन्तुलन तथा सकारात्मक जीवनशैलीप्रति जागरूकता फैलाउने कार्यमा केन्द्रले पुर्याएको योगदानप्रति सराहना व्यक्त गरिएकाे छ ।

बुद्ध जयन्तीको पावन अवसरमा सोही कार्यक्रममा “माँ दुर्गा ऊर्जा ध्यान योग प्रयोगशाला” नामकरण गरि औपचारिक रूपमा उद्घाटन पनि गरिएको छ । उद्घाटन समारोहमा बोल्दै नगर प्रमुख जयसवालले यस्तो सकारात्मक प्रयासले नगरवासीको शारीरिक, मानसिक र आत्मिक शुद्धिकरणमा सघाउ पुर्‍याउने विश्वास व्यक्त गर्दै नगरपालिकाबाट निरन्तर साथ र समर्थन रहने प्रतिवद्धता जनाएका छन् ।

स्थानीय बासिन्दाहरूले समेत यस्तो पहललाई स्वागत गर्दै आगामी दिनहरूमा अझ व्यापक सहभागिता हुने अपेक्षा व्यक्त गरेका छन् ।

आरके श्रीवास्तव,राैतहट,२९ गते वैशाख ।

रौतहट । मधेस प्रदेशको खेलकुद तथा समाज कल्याण मन्त्रालय अन्तर्गत विनियोजित २५ लाख रुपैयाँको बजेटबाट गुजरा नगरपालिका वडा नम्बर ८ जोगौलिया देवीपुरस्थित ऐतिहासिक ईदगाहको स्तरोन्नति तथा घेराबेराको कार्यका लागि शिलान्यास सम्पन्न भएको छ ।

पूर्व राज्यमन्त्री तथा प्रदेश सांसद केशव राय चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न शिलान्यास समारोहमा वडाका स्थानीय नेता, समाजसेवी, उपभोक्ता समिति सदस्य, कार्यकर्ता तथा जनसमुदायको उल्लेखनीय उपस्थिति रहेको थियो ।  कार्यक्रममा सहभागिता जनाएका अधिकांश व्यक्तिहरूले चौधरीको दीर्घ प्रयास र निरन्तर पैरवीकै परिणामस्वरूप यो योजना कार्यान्वयनमा आएको बताएका छन् ।

स्थानीय धार्मिक तथा सांस्कृतिक महत्व बोकेको ईदगाह क्षेत्रको संरक्षण र व्यवस्थापनका लागि लामो समयदेखि उठ्दै आएको मागलाई सम्बोधन गर्दै मधेस प्रदेश सरकारसँग समन्वय गरी चौधरीले यस योजनालाई मूर्तरूप दिएका हुन् ।

शिलान्यास कार्यक्रममा बोल्दै प्रमुख अतिथि चौधरीले धार्मिक सद्भाव, सामाजिक विकास तथा सामुदायिक संरचनाको समुन्नतिमा यस्ता आयोजनाहरू महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले आगामी दिनमा पनि विकासका थप योजनाहरू गाउँसम्म पुर्‍याउन आफू प्रतिबद्ध रहेको स्पष्ट पारेका हुन् ।

स्थानीय बासिन्दाहरूले ईदगाहको स्तरोन्नति कार्यलाई ऐतिहासिक उपलब्धिका रूपमा लिँदै पूर्व राज्यमन्त्री चौधरीप्रति आभार व्यक्त गरेका छन् ।

उक्त कार्यले न केवल धार्मिक स्थलको सौन्दर्य र सुरक्षालाई बढावा दिनेछ, तर समुदायबीचको एकता र सहकार्यलाई समेत सुदृढ बनाउनेछ भन्ने अपेक्षा गरिएको छ ।

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।