काठमाडौं, २३ साउन ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा संसदीय दलका नेता रवि लामिछानेले निर्धारित मिति र समयमै संसद चल्नुपर्ने बताएका छन् ।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा उनले निर्धारित समय र मितिमै संसद बैठक बस्ने घण्टी बज्नुपर्ने भन्दै तीन दलका शीर्षनेताको बन्धक संसद हुन नसक्ने बताए ।
तीन दलको बार्गेनिङले संसदलाई बन्धक बनाइएको भन्दै उनले यस्तो परिपाटीको अन्त्य हुनुपर्ने माग गरे ।
काठमाडौं, २३ साउन ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय छानबिन समिति गठनबारे संसदमा मतविभाजन गर्न माग गरेको छ ।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा एमाले सचिव तथा सांसद योगेश भट्टराईले उच्चस्तरी छानबिन समिति चाहिने वा नचाहिने भन्ने विषयमा ह्विप जारी नगरी संसदमा मतविभाजनबाट टुंगो पुग्न आग्रह गरेका हुन् ।
उच्चस्तरीय छानबिन समिति गठन गर्ने विषयमा राष्ट्रिय सहमति भइसकेको दाबी गरेका उनले सदनले छानबिन समिति आवश्यक नभएको भन्यो भने एमालेले आन्दोलन फिर्ता लिने बताए ।
काठमाडौं, २३ साउन ।
सत्तारुढ कांग्रेस महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले लामो समयदेखि संसद बैठक अवरुद्धप्रति असन्तुष्टि जनाएका छन् ।
मंगलबार जारी प्रतिनिधिसभा बैठकमा उनले संसद अवरुद्ध गर्दा जनताका समस्याप्रति सरकारको ध्यानाकर्षण गराउन नसकिएको भन्दै आपत्ति जनाएका हुन् । ‘संसद प्रतिपक्षी दलको हो, उनीहरुको आवाज सरकारले गम्भीर रुपले लिनुपर्छ । उनीहरुले उठाएका प्रश्नको सरकारले जवाफ दिनुपर्छ,’ उनले भने, ‘तर, सत्तापक्ष सांसदको बोल्ने थलो रत्नपार्क हो ?’
संसद अवरुद्ध गर्ने कार्य बन्द गर्नुपर्ने भन्दै उनले भ्रष्टाचार र अनियमितताका सबै काण्डको छानबिन गर्नुपर्ने बताए । लोकतन्त्र, गणतन्त्रपछि गडन गरिएका सरकारका निकायमाथि विश्वास गर्न नसकिने अवस्थाको पनि छानबिन गर्नुपर्ने भन्दै उनले सरकारले थालेका भ्रष्टाचार र अनियमितताका विषयमा छानबिन गरेकाले सबैले सहयोग गर्नुपर्ने बताए ।
काठमाडौं, २४ साउन ।
नेपाल टेलिकमले दश लाख मुल्य बराबरको रिचार्ज कार्ड हराएको छ ।
टेलिकमले गाेरखापत्रमा बुधवार एक सूचना जारी गर्दै टेलिकमले ५० रुपियाँ दरका २० हजारवटा रिचार्ज कार्ड हराएको हो । उसका अनुसार ती रिचार्ज कार्ड ढुवानीका क्रममा हराउन पुगेका हुन ।
टेलिकमका अनुसार सी नं ११२२ १२०० १३७८ ०००१ देखि ११२२ १२०० १३८००००० सम्मको रिचार्ज कार्ड हराएको र खरिदकर्ताहरूले खरिद नगर्न समेत अनुरोध गर्दै सुचना जारी गरेको हो ।
मुम्बई, २४ साउन ।
साउथ सिनेमालाई ठूलो धक्का लागेको छ ।
साउथ सिनेमा उद्योगका चर्चित निर्देशक सिद्दिकीले ६३ वर्षको उमेरमा संसारलाई बिदा भएका छन् । निर्देशक सिद्दिकीले अगस्ट ८ गते अस्पतालमा अन्तिम सास लिए । उनको हृदयघातका कारण निधन भएको हो । सिद्दिकीले सलमान खानको हिन्दी फिल्म ‘बॉडीगार्ड’ निर्देशन गरेका थिए ।
रिपोर्टका अनुसार सिद्दिकीलाई सोमबार हृदयघातका कारण हतार हतार कोचीको अस्पतालमा भर्ना गरिएको थियो। तर अस्पताल पुग्दासम्म उनको अवस्था निकै गम्भीर भइसकेको थियो । सोही क्रममा अस्पतालका चिकित्सकले सिद्दिकीलाई बचाउन हरसम्भव प्रयास गरे पनि उनलाई बचाउन सकेनन् ।
जानकारीका अनुसार सिद्दिकीको पार्थिव शरीर आज बिहान ९ बजेदेखि ११ः३० बजेसम्म कादवनथरास्थित राजीव गान्धी इन्डोर स्टेडियममा राखिनेछ । त्यसपछि उनको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि घरमै राखिनेछ, त्यसपछि बुधबार साँझ ६ बजे सिद्दिकीको दाहसंस्कार गरिने छ ।
उनले ‘सिद्दिकी लाल’को जोडीबाट निर्देशनमा डेब्यु गरेका हुन् । उनको पहिलो फिल्म टाइमलेस कमेडी रामजी राव स्पिकिङ सन् १९८९ मा आएको थियो। यसबाहेक उनका फिल्ममा ‘हरिहर नगर’ (१९९०), ‘गडफादर’ (१९९१), ‘भियतनाम कालोनी’ (१९९२), ‘काबुलीवाला’ (१९९३), र ‘हिटलर’ (१९९६) र ‘बॉडीगार्ड’ छन्।
सिद्दिकीले ‘बॉडीगार्ड’ को हिन्दी रिमेक निर्देशन गरेका थिए । जसमा सलमान खान मुख्य भूमिकामा देखिएका थिए । यस फिल्मको तमिल संस्करण पनि सिद्दिकीले निर्देशन गरेका थिए, जसको नाम ‘कावलन’ थियो। जसमा विजयले मुख्य भूमिका निर्वाह गरेका थिए ।
सरकारले गरायो महावीर पुनलाई सचेत
राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले विभूषण लिलामीमा राखेपछि सरकारले सचेत गराएको छ । पुनलाई सरकारबाट दिइएको विभूषण लिलामीमा राखेपछि गृहमन्त्रालयले पत्राचार गर्दै विभूषण लिलामीमा नराख्न भनेको हो ।

विभूषण लिमालीमा राख्नु गैरकानुनी हुने र राखेमा रद्द हुने जानकारीसहितको पत्र पुनलाई गृहमन्त्रालयले पठाएको हो ।
पुनले कीर्तिमय राष्ट्रदीप द्वितीय विभूषणसहित विभिन्न मानपदवी लिलामीमा राखेको घोषणा गरेका थिए । कृषि सामग्री कम्पनी सञ्चालनका लागि सरकारले प्रतिवद्धताअनुसार सहयोग नगरेको भन्दै उनले विभूषण लिलामीमा राखेका हुन् ।
तर, गृह मन्त्रालयले मानपदवी, अलङ्कार, तथा पदकजस्ता विभूषण कसैलाई विक्री गरेमा, बन्धकी राखेमा कानुनविपरीत हुुने र कसैले यस्ता कार्य गरेमा विभूषण रद्द हुने भन्दै गृहमन्त्रालयले सोमबार सूचना जारी गरेको थियो । साथै मंगलबार पुनलाई पत्राचार गरेर सचेत गराइएकाके हो ।

रोल्पा, २३ साउन ।
रोल्पामा यात्रुबाहक बस दुर्घटनामा परेको छ । रोल्पाको परिवर्तन गाउँपालिका वाग्माराबाट दाङको घोराहीका लागि छुटेको ना ख २६१२ नम्बरको बस त्रिवेणी गाउँपालिका–७ तिला रिचीमाा सडकदेखि करिब १५० मिटर तल खसेर दुर्घटना भएको हो ।
प्रारम्भिक विवरणअनुसार दुर्घटनामा चारजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सबै रोल्पाकै यात्रु रहेका छन् । प्रहरीका अनुसार परिवर्तन गाउँपालिका–३ का ४६ वर्षीय भक्तबहादुर विक, माडी गाउँपालिका–२ बस्ने २१ वर्षीय प्रकाश बाँठा, माडी गाउँपालिका–४ का ५० वर्षीय गोर्खे डाँगी र उनकी ५० वर्षीया श्रीमती हस्त डाँगीको मृत्यु भएकाके हो ।
घाइतेहरुको उपचारका लागि दाङ पठाइएको छ ।
काठमाडौं, २३ साउन ।
डर त्रास दिई व्यवसाय संचालन गर्न अवरोध गरेको अभियोगमा काठमाडौं महानगरपालिका-१७ ठहिटि ठेगाना भएका ५२ वर्षीय दिपक मानन्धरलाई प्रहरीले पक्राउ गरेको छ ।
मानन्धरले काठमाडौं महानगरपालिका-३० रातोपुलस्थित एनआरके फिटनेस जिमहलमा साउन १७ गते दिउँसो प्रवेश गरी कर्मचारीहरु तथा सर्वसाधारण व्यक्तिहरुलाई विभिन्न किसिमका धाक धम्की दिई जिमहल बाहिर निकाली डर त्रासमा पारी जिमहल संचालन गर्न नदिने भन्दै हस्त लिखित पर्चा टाँसी उक्त जिम हल बन्द गराउने कार्यमा संलग्न नेपाल कम्युनिष्ट पार्टीको काठमाडौं जिल्ला सेक्रेटरी भन्ने मानन्धरलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं दरवारमार्गबाट पक्राउ गरेको हो ।
उनी उपर अपराधिक लाभ लिन नहुने सम्बन्धी कसूरमा थप अनुसन्धानको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।
काठमाडाैं, २३ साउन ।
मकवानपुर, बाँके र कास्कीबाट लागुऔषधसहित पाँचजना पक्राउ परेका छन् । मकवानपुरकाे मनहरी गाउँपालिका-७ पेन्चेबाट अवैध लागूऔषध गाँजा १० किलो ९ सय ग्रामसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा राक्सिराङ गाउँपालिका-८ बस्ने ३० वर्षीय तुल बहादुर रुम्बा र उनकै श्रीमती निर कुमारी मोक्तान रहेका छन् । ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।
बाँकेकाे नेपालगंज उपमहानगरपालिका-१६ चौलिका चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २२ ग्रामसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१४ बस्ने २१ वर्षीय प्रमोद गिरी र ४३ वर्षीय कलामुदिन शेख रहेका छन् ।
लागूऔषध नियन्त्रण ब्यूरो नेपालगञ्ज र जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको भे.४ प २१४३ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई चालकले हेलमेटभित्र लुकाई ल्याएको उक्त पदार्थसहित पक्राउ गरेको हो ।
कास्कीकाे पोखरा महानगरपालिका-१० औद्योगिक क्षेत्रबाट अवैध लागूऔषध ब्राउनसुगर १ ग्राम ५ मिलिग्राम र भारतीय रूपैयाँ २८ हजारसहित सोही महानगरपालिका-११ फुलबारी बस्ने अर्घाखाँची भएका ३० वर्षीय बलेन्द्र भन्ने मनोज आलेलाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध र नगदसहित पक्राउ गरेको हो ।
काठमाडौ, २३ साउन ।
नबिल बैंकले ४ लाख ८२ हजार ८०८ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । यसमा जो कोही व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् । यसअघि विद्यमान संस्थापक सेयरधनीहरुले सेयर खरिद नगरेपछि सो सेयर सर्वसाधारण लगानीकर्ताले समेत किन्न सक्ने गरी बिक्री खुला गरिएको हो ।
सेयर खरिद गर्न इच्छुकले ७ दिनभित्र बैंकको केन्द्रीय कार्यालय तीनधारा, दरबरमार्ग काठमाडौंस्थित कम्पनी सचिवको कार्यालयमा के कति सेयर खरिद गर्ने सोको व्यहोरा खुलाई शिलबन्दी निवेदन पेस गर्नुपर्नेछ ।