वासिंग्टन डिसी, ३१ साउन ।
अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध अर्को आपराधिक मुद्दा दर्ता भएको छ ।
उनलाई जर्जियामा चुनावी नतिजा उल्ट्याउन ठगी, धम्की र जालसाजी गरेको आरोप लगाइएको छ। ट्रम्पले अब यो नयाँ आपराधिक मुद्दामा प्रतिक्रिया दिएका छन्। उनले आफूमाथि लगाइएको आरोपको निन्दा गरेका छन् ।
डोनाल्ड ट्रम्पले आफ्नो आपराधिक मुद्दाको बारेमा सामाजिक प्लेटफर्म ट्रुथमा लेखेका छन्, ‘मलाई धाँधली भएको महसुस हुन्छ। २.५ वर्षअघि उनीहरूले आरोप किन लगाएनन ? किनभने तिनीहरू मेरो चुनावी अभियानको बीचमा अशान्ति सिर्जना गर्न चाहन्थे।’
गत सोमबार जर्जियाको ग्रान्ड ज्युरीले पूर्व राष्ट्रपतिलाई आपराधिक आरोपमा अभियोग लगाएका थिए । ट्रम्पले २०२० को राष्ट्रपति चुनावमा डेमोक्र्याटबाट पराजयलाई उल्टाउने प्रयास गरेको बताए। यो सँगै ५ महिनामा डोनाल्ड ट्रम्पविरुद्ध दर्ता भएको यो चौथो आपराधिक मुद्दा हो । ट्रम्प पहिले नै न्यूयोर्क, दक्षिण फ्लोरिडा र वाशिंगटनमा मुद्दाको सामना गरिरहेका छन ।
पछिल्लो घटनामा पूर्व राष्ट्रपतिसँगै ह्वाइट हाउसका पूर्व चिफ अफ स्टाफ र नेता रुडोल्फ जिउलियानी विरुद्ध पनि मुद्दा दर्ता भएको छ । ट्रम्प विरुद्ध जारी अभियोगमा भनिएको छ, ‘ट्रम्प र यस अभियोगमा संलग्न अन्य अभियुक्तहरूले जानाजानी अवैध रूपमा ट्रम्पको पक्षमा चुनावी नतिजा परिवर्तन गर्ने प्रयास गरेका थिए।’
वास्तवमा यो मामिला जनवरी २, २०२१ को हो, जब ट्रम्पले जर्जियाका शीर्ष निर्वाचन अधिकारी ब्राड राफेन स्परगरलाई फोन गरेर चुनावी नतिजा आफ्नो पक्षमा ल्याउन आदेश दिएका थिए। त्यसपछि ब्राड राफेन्सपर्जर र ट्रम्पबीच करिब एक घण्टा फोन वार्ता भयो। विशेष कुरा के छ भने यो कल ह्वाइट हाउसको अफिसबाट गरिएको हो । तर, चुनाव अधिकारी ब्राड राफेन्सपर्जरले ट्रम्पको भनाइलाई स्वीकार गर्न अस्वीकार गरेका थिए ।
सिडनी, ३१ साउन ।
मलेसिया एयरलाइन्सको विमानमा यात्रा गर्दा आफ्नो झोलामा बम राखेको झूटो दाबी गर्ने पाकिस्तानी मूलका एक व्यक्तिलाई अष्ट्रेलिया यात्रा महगो परेको छ ।
गत सोमबार विमानमा बम भएको हल्ला फैलिए पछि त्यहाँ हंगामा मच्चिएको थियो तर उक्त व्यक्तिको दाबी पछि झुटो सावित भएको थियो । यसै क्रममा अष्ट्रेलियाका अधिकारीहरूले पाकिस्तानी मूलका ती व्यक्तिलाई पक्राउ गरेका छन् । अभियुक्तको पहिचान पूर्व पाकिस्तानी मोडल तथा अभिनेता मुहम्मद आरिफको रूपमा भएको थियो। याे घटना पछि सार्बजनिक भएकाे हाे ।
मिडिया रिपोर्टका अनुसार सोमबार ४५ वर्षीय आरिफले सिड्नीबाट क्वालालम्पुरका लागि मलेशिया एयरलाइन्सको उडानमा आफ्नो झोलामा ‘विस्फोटक’ रहेको दाबी गरेका थिए । त्यसपछि उनी पनि विमानको करिडोरमा उभिएर धार्मिक कुरा गर्न थाले ।
यो घटनाको भिडियो भाइरल भएको छ । जसमा उक्त व्यक्ति विमानको गल्लीमा प्रार्थना गरिरहेको र अल्लाहप्रति वफादारीको बारेमा बारम्बार मानिससँग कुरा गरिरहेको देखिएको छ । अष्ट्रेलियाली प्रहरीले आरोपितले धम्कीपूर्ण बयान दिए पछि र आरिफलाई हिरासतमा लिएर उडान सिड्नी फर्कनुपर्ने बताएको छ।
मिडिया रिपोर्टका अनुसार आरिफका वकिल मुस्तफा दाउदीले उनका ग्राहकलाई गम्भीर मानसिक समस्या रहेको र घटनाको समयमा उनको मानसिक अवस्था ठीक नभएको बताएका छन् । सन् २००२ मा प्रसिद्ध पाकिस्तानी गायक अबरार उल हकको गीत ‘प्रीतो’ को म्युजिक भिडियोमा मोहम्मद आरिफ देखा परेको मिडिया रिपोर्टले दाबी गरेको छ ।
यांगुन, ३१ साउन ।
म्यानमारको दुर्गम क्षेत्रमा रहेको जेड खानीमा पहिरोमा परी २५ जनाको मृत्यु भएको छ भने १४ जना अझै बेपत्ता छन् ।
आपतकालीन सेवा अधिकारीहरूले बेपत्ताको उद्धारका लागि उद्धार कार्य जारी रहेको बताएका छन्। अविरल वर्षा र बाढीका कारण आइतवार काचिन प्रान्तको हपाकान्त सहरको बाहिरी भागमा रहेको जेड खानीमा पहिरो गएको थियो।
मंगलबार बेलुकासम्म उद्धार कार्यका क्रममा २५ जनाको शव निकालिएको एक उद्धारकर्मीले सञ्चारमाध्यमलाई बताए । उनले १४ जना अझै बेपत्ता रहेको र उनीहरुको उद्धारका लागि बुधबार पनि उद्धार कार्य जारी रहने बताए । उद्धारकर्मीहरूले शवहरू फेला पार्न माटो सफा गर्नुपरेको थियो भने केही शवहरू पानीमा तैरिरहेका थिए।
उत्खननका क्रममा भारी वर्षाका कारण करिब १५०–१८० मिटर (५००–६०० फिट) अग्लो माटोको थुप्रो भत्किएको उद्धारकर्मीहरूले बताएका छन् ।
सञ्चारमाध्यमका अनुसार वर्षायामका कारण खानी सञ्चालनमा रोक लगाइएको भए पनि बहुमूल्य सामग्री भेटिने आशमा स्थानीय बासिन्दा हिलोमा जम्मा भएकाले पहिरो खसेको अनुमान गरिएको छ ।
काठमाडौं, ३१ साउन ।
मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर नेपाल नजिक रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि सामान्य बदली रही कोशी प्रदेशको केही स्थानहरुमा, बागमती र गण्डकी प्रदेशको थोरै स्थानहरुमा र बाँकी प्रदेशको एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।
दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। सबै प्रदेशका पहाडी भू भागको केहि स्थानहरुमा र बाँकी भू भागको थोरै स्थानहरुमा मेघ गर्जन रचट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
राती भने देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केहि स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी तथा गण्डकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।
मधेश प्रदेश लगायत देशको पहाडी भू भागको केहि स्थानहरुमा र बाँकी भू भागको थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
साथै कोशी तथा गण्डकी प्रदेशका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। यसका कारण नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भूक्षय जस्ता प्रकोप हुन सक्ने भएकोले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
काठमाडौं, ३० साउन ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पार्टीप्रति असन्तुष्ट रहेका नेता भीम रावलबीच भेटवार्ता भएको छ।
अध्यक्ष ओलीको सचिवालय बालकोटले रावलसँगको तस्विर राख्दै दुई जनाबीच भेटवार्ता भएको जनाएको हो। पार्टीको १०औं महाधिवेशनमा अध्यक्ष पदमा ओली र रावलबीच प्रतिस्पर्धा भएकोमा त्यसयता रावल र ओलीबीचको सम्बन्ध तिक्ततापूर्ण रहँदै आएको थियो।
केही महिनाअघि रावललाई पार्टी काममा फर्काउन भन्दै अध्यक्ष ओलीले उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेका थिए। आजको उनीहरूको भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ।
काठमाडौं, ३० साउन ।
मन्त्रिपरिषद् बैठक सुरू भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक सुरू भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
बैठकमा सरकारका नियमित कामकारबाहीमाथि छलफल हुने बताइएको छ।

धनगढी, ३० साउन ।
ठगी गरेको आरोपमा कैलालीका दुई व्यवसायी पक्राउ परेका छन्। सोमबार घोडाघोडी नगरपालिका–१ का चन्द्रप्रकाश चौलागाईं र धनगढी उपमहानगरपालिका–५ का यज्ञ तिवारी ठगी आरोपमा पक्राउ परेका हुन्।
हार्डवेयर व्यवसायीसमेत रहेका चौलागाईं र धनगढीको विकास होटलका सञ्चालक तिवारीलाई सोमबार थुनामा राखिएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ। तिवारीका नाममा आधा दर्जन उजुरी परेका छन् भने चौलागाईंका नाममा जग्गा ठगीको उजुरी प्रशासन कार्यालयमा परेको थियो।
दुबै जनालाई प्राप्त उजुरीका आधारमा मिटरव्याज अन्तरगत आपराधिक विश्वासघात, ठगी र अभद्र व्यवहार समेतको मुद्दा चलाइएको छ। म्याद थप गरेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता कुलदिप चन्दले बताए।
जुम्ला, ३० साउन ।
चन्दननाथ नगरपालिका-४ स्थित होटलबाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ १८ मिलिग्रामसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने २४ वर्षीय लुमन चौलागाई र २० वर्षीय राजेश हमाल रहेका छन् । उक्त होटलमा खाजा खाँदै गरेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थसहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
काठमाडौं, ३० साउन ।
नेपाल प्रहरीको सरुवा, बढुवा र पदस्थापनमा कार्यक्षमता, अनुभव र सेवा विशिष्टीकरण अनुकुलको मापदण्ड लागु भएको छ। “प्रहरी कर्मचारीको सरुवा सम्बन्धी मापदण्ड २०७९” अनुसार ठूलो संख्याका प्रहरी निरीक्षकहरूको सरुवा भएसँगै सो मापदण्ड कार्यान्वयनमा आएको हो।
तालिमपश्चात पासआउट भएका नयाँ तथा पुराना गरी ९५८ जना प्रहरी निरीक्षकको कार्यालय प्रमुख एवम् सहायक दरबन्दीतर्फ सरुवा भएको छ। त्यस्तै ६४ जना प्रहरी निरीक्षकहरूको बढुवा र पदस्थापन भएको छ। यी सबै सरुवा, बढुवा र पदस्थापन मापदण्डअनुसार भएका हुन्।
मापदण्डमा प्रहरी निरीक्षक प्रमुख हुने कार्यालयलाई जनघनत्व, यातायातको पहुँच, आपराधिक घटनाको संख्या, भौगोलिक अवस्थिति लगायतका आधारमा ‘क’ ‘ख’ र ‘ग’ श्रेणीमा वर्गीकरण गरिएको छ। त्यसमध्ये ‘क’ र ‘ख’ श्रेणीका कार्यालयमा ज्येष्ठता एवम् कार्यसम्पादन स्तर समेतको आधारमा नदोहोरिने र आलोपालो हुने गरी कार्यालय प्रमुखको अवसर प्रदान गरिएको छ।
पहिलो पटक कार्यालय प्रमुखको अवसर प्रदान गर्दा भने अनिवार्य रुपमा ‘ख’ र ‘ग’ श्रेणीका कार्यालयमा मात्र सरुवा गरिएको छ। त्यस्तै यसअघि नै काज सरुवामा मापदण्ड प्रतिकूल हुने गरी कार्यालय प्रमुखको रुपमा गएका प्रहरी निरीक्षकलाई फिर्ता बोलाइ मापदण्डबमोजिम कार्यालय प्रमुख वा सहायक दरबन्दीमा सरुवा गरिएको छ। यसरी श्रेणी छुट्याएर मापदण्ड अनुसार सरुवा, बढुवा र पदस्थापन हुन थालेपछि कुनै पनि दबाब र प्रभावको अर्थ नहुने गृह मन्त्रालयले जनाएको छ।
पहुँचवालाले लगातार अवसर पाइरहने र पहुँच नहुनेहरू अवसरबाट बञ्चित हुनुपर्ने अवस्था अन्त्यका लागि उक्त मापदण्ड बनेको हो। नारायणकाजी श्रेष्ठले उपप्रधानमन्त्री तथा गृहमन्त्रीको कार्यभार सम्हाल्नुभएदेखि नै सुशासन र पारदर्शीतालाई महत्व दिँदै आएका छन् ।
हेमन्त केसीसुर्खेत, ३० साउन ।,
कर्णाली प्रदेश सभाको मङ्गलबार बसेको बैठक अवरुद्ध भएको छ । मुख्यमन्त्री राजकुमार शर्माले संसदमा जवाफ नदिएको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बैठक अवरुद्ध गरेको हो । सोमबार बसेको बैठकमा एमाले संसदीय दलका नेता यामलाल कँडेलले दुईवटा विषयमा समस्या समाधानको योजना सहित मुख्यमन्त्रीले जवाफ दिनुपर्ने माग राखेका थिए ।
माग राख्ने क्रममा उनले आगामी पहिलो बैठकमै जवाफ नदिए बैठक अवरुद्ध गर्ने चेतावनी सोमबारै दिएका थिए । बाढी, पहिरो, डुबान र हवाई सेवा उडान सम्बन्धी समस्या समाधानको योजना सहित सभामा प्रस्तुत हुनुपर्ने माग राखिएको छ । अविरल वर्षातका कारण विभिन्न क्षेत्रमा बाढी पहिरो र डुबान भइरहेको छ ।
त्यससम्बन्धमा सरकारले विशेष योजना बनाउनुपर्ने माग छ । विमानस्थल कार्यतालिको बमोजिम नागरिक उडड्यन प्राधिकरणले हवाई सेवा उडान गर्ने निर्णय गरेको छ । त्यसका कारण हिमाली जिल्लाका नागरिक पीडामा परेको भन्दै त्यसको विरोध जनाएका छन् । यस विषयमा ठोस योजना प्रस्तुत हुनुपर्ने सांसदहरुको माग छ । साथै, प्रदेशसभाको बैठक बिहीबार ३ बजेसम्मका लागि स्थगित भएको छ ।