काठमाडौं, ३२ साउन ।
राप्रपाले सुनसरीको धरानमा भएको सामाजिक सद्भाव खल्बल्याउने गतिविधिप्रति सरकाको ध्यानाकर्षण गराएको छ ।
हिन्दु धर्मावलम्बीको आस्था र विश्वासमाथि आघात पुग्ने गरी धरानमा भएको कानुन वर्जित घटनालाई लिएर राप्रपाले सरकारको ध्यानाकर्षण गराएको हो । राप्रपा प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले बिहीबार विज्ञप्ति निकालेर बहुसंख्यक हिन्दु धर्मावलम्बीको आस्था र विश्वासमाथि आघात पुग्ने गरी धरानमा सार्वजनिक रुपमा गोरु काट्नु, भिडियो बनाउनु र सामाजिक सञ्जालमा पोस्ट गर्नु दुःखद र आपत्तिजनक रहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् ।
‘आपसी एकता, सदभाव र धार्मिक सहिष्णुता नेपालको पहिचान हो। सदियौंदेखि कायम रहेको नेपालको सामाजिक, धार्मिक सदभाव र एकतामा आँच आउन दिनु हुँदैन भन्नेमा राप्रपा प्रष्ट छ । उक्त घटनाका सम्बन्धमा गम्भीर बन्न र आवश्यक तदारुकता देखाउन सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछौं,’ जारी विज्ञप्तिमा भनिएको छ ।
विज्ञप्तिको पूर्णपाठ :
बहुसंख्यक हिन्दु धर्मावलम्बीको आस्था र विश्वासमाथि आघात पुग्ने गरी धरानमा सार्वजनिक रुपमा गोरु काट्नु, भिडियो बनाउनु र सामाजिक सञ्जालमा पोस्ट गर्नु दुःखद र आपत्तिजनक छ। सामाजिक सदभाव खल्बल्याउने गरी भएका यस्ता गतिविधिप्रति राप्रपाको गम्भीर ध्यानाकर्षण भएको छ ।
आपसी एकता, सदभाव र धार्मिक सहिष्णुता नेपालको पहिचान हो। सदियौंदेखि कायम रहेको नेपालको सामाजिक, धार्मिक सदभाव र एकतामा आँच आउन दिनु हुँदैन भन्नेमा राप्रपा प्रष्ट छ । उक्त घटनाका सम्बन्धमा गम्भीर बन्न र आवश्यक तदारुकता देखाउन सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछौं ।
मोहन कुमार श्रेष्ठ
प्रवक्ता एवं प्रचार विभाग प्रमुख
राष्ट्रिय प्रजातन्त्र पार्टी ।
मिति : ३२ साउन, २०८०
काठमाडौ, ३२ साउन ।
सेयर बजारले बिहीबार सकारात्मक संकेत देखाएको छ । यस दिन नेप्से सूचक ८.०१ विन्दुले बढेर २०३३.१३ अंकमा आएको छ । १ अर्ब ५४ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
यसअघि विशेषगरी बजारमा ब्याजदर वृद्धिको हल्ला बेस्सरी चलेको थियो । सबै बैंकले बढाउन सक्ने अनुमान पनि भइरहेको थियो । तर ब्याजदर बढाउनेमात्र होइन, घटाउने बैंकहरु पनि भए । एक दर्जन बैंकले ब्याजदर बढाए पनि विशेषगरी ठूला र सबल बैंकहरुले भने ब्याजदर घटाए । केहीले स्थिर पनि राखे ।
यस दिन २७१ कम्पनीको ४० लाख ९ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । १३ करोड ७१ लाख रुपैयाँसहित कारोबार रकममा सोल्टी होटेल अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः आइएमई लाइफ इन्सुरेन्स र घोराही सिमेन्ट्स परेका छन् ।
मोहम्मद हबिब,भैरहवा, ३२ साउन ।
सीमावर्ती बजार क्षेत्रमा प्रमुख समस्याको रुपमा अवैध कुखुराको तस्करी रहेको छ । रोग परीक्षणबिना भारतबाट दिनहुँ ब्रोइलर कुखुरा भित्रिँदा यसले मानव स्वास्थ्यमा असर पर्ने उच्च सम्भावना रहे पनि भारतबाट अवैध कुखुरा आउने क्रम रोकिएको छैन । भारतबाट वर्डफ्लु भित्रिन नदिन पंक्षी तथा पक्षीजन्य वस्तु ल्याउन प्रतिबन्ध रहेकोले भारतबाट नेपाल ल्याउँदै गरेका चल्ला र तयारी कुखुरा नियन्त्रणमा लिएर नष्ट गरिने गरिन्छ । अवैध चल्ला र कुखुरा ल्याउनेहरुलाई कारबाही समेत हुने गरेको छ ।

सीमा क्षेत्रमा सशस्त्र प्रहरी र नेपाल प्रहरीका विभिन्न युनिटहरु हुँदाहुँदै पनि खुला सीमाका कारणा अवैध कुखुरा, मासु चल्ला, माछा र अण्डा नेपाल भित्रिँदै आएका छन् । सुरक्षा निकाय र भन्सारले बरामद गरेको अवैध पशुपंक्षी तथा पशुजन्य पदार्थको प्रक्रिया गत रुपमा नष्ट गर्ने गरिन्छ ।
पशु क्वारेन्टाइन कार्यालय भैरहवा रुपन्देहीले मात्रै आर्थिक वर्ष २०७९/८० मा ६६ हजार २ सय एक किलो ब्रोइलर कुखुरा, २१ हजार ८ सय ६५ वटा ब्रोइलर कुखुराको चल्ला, १ हजार ३ सय ११ किलो कुखुराको मासु, २ हजार एक सय वटा सेतो अण्डा, ३ हजार ८ सय ४५ किलो माछा, २ सय ३० किलो बंगुरको मासु, ७ सय ५० किलो सिद्रा माछा र ५ सय ६१ वटा एक्वेरियम माछा नष्ट गरेको छ ।
कार्यालय प्रमुख डा भक्त निउरेका अनुसार कार्यालयअन्तर्गत बेलहिया, कृष्णनगर र महेशपुरमा पशु क्वारेन्टाइन चेकपोष्ट रहेकोमा ती पोस्टअन्तर्गत एकवर्षको अवधिमा २२ हजार ८७ वटा अर्थात् विगतको वर्ष भन्दा अहिले ३ गुणा बढि ब्रोइलर कुखुरा नष्ट गरिएको छ । अवैध बस्तु नष्ट गर्नेमा बेलहिया पोस्ट नै सबैभन्दा बढी ११ हजार ५ सय १४ वटा ब्रोइलर कुखुरा नष्ट गरेको छ । त्यस्तै कृष्णनगरले १ हजार ६ सय ९ र महेशपुरले ८ हजार ९ सय ६४ वटा ब्रोइलर कुखुरा नष्ट गरेको छ ।
कार्यालय प्रमुख निउरेले अवैध मासुजन्य पदार्थ बरामद गरी खानयोग्य नहुने भएपछि हामीले नष्ट गर्ने गरेका छौं, हाम्रै रोहबरमा सुरक्षा निकायले बरामद गरेको अवैध कुखुरा लगायतमा मासुजन्य वस्तु पनि नष्ट हुदै आएको छ । क्वारेन्टाइनविनै अवैध बाटोबाट भित्रिएका मासुजन्य पदार्थ खानका लागि योग्य हुदैन । उपभोक्ता सचेत हुने हो भने अवैध बाटोबाट मरेका, सडेगलेको, विषादी प्रयोग गरेर भित्र्याइएका मासुजन्य पदार्थ विक्री पनि नहुने बताए ।
आर्थिक वर्ष २०७८÷७९ मा १९ हजार ८ सय ४२ किलो कुखुरा नष्ट गरिएकोमा अहिले यो संख्या ३ गुणाले बढेर ६६ हजार २ सय १ किलो पुगेको छ । यस्तै आर्थिक २०७८÷७९ मा ४५ हजार १ सय ४० वटा चल्ला, ७ सय ६० केजी कुखुराको मासु, २ हजार ६ सय ४० वटा सेतो अण्डा, २ हजार ७ सय ५८ किलो खाने माछा र ४ सय ५० किलो अवैध वंगुरको मासु नष्ट गरिएको कार्यालय प्रमुख डा. निउरेले जानकारी दिए ।
यसका साथै कार्यालयले सीमा क्षेत्रमा अनाधिकृत रुपमा खोलिएको ८ वटा ब्रोइलर फार्म बन्द गरिएको, अवैध कुखुरा ओसारपसारमा संलग्न व्यक्तिहरुबाट सुरक्षा निकायको सहयोगमा ७ लाख २३ हजार दण्ड जरिवाना गरिएको, अवैध कुखुरा ढुवानीमा प्रयोग भएको ३२ वटा मोटरसाइकल, ४ वटा अटो रिक्सा र २ वटा पिकअप कारवाहीका लागि भन्सार पठाएको छ भने जिल्लामा अवैध रुपमा कुखुराको मासु विक्री वितरण गरेका ५ वटा मासु पसल निसंक्रमण गरि बन्द गरिएको कार्यालय प्रमुख डा निउरेले भने ।

नेपाली बजारमा कुखुराको मूल्य बढेको मौका छोपेर बिचौलियाहरूले भारतबाट अवैध रूपमा कुखुरा भित्र्याउने गरेका छन् । तर, छोटो दूरीको सिमाना रहेकाले तस्करहरूले भारतबाट आयात गरेर ल्याएका कुखुरा पनि नेपालकै कुखुरा भएको दाबी गर्ने गरेका छन् । यसरी अवैध रूपमा कुखुरा आयात हुँदा नेपाली कुखुरा व्यवसायी मर्कामा पर्ने कुरा त छँदै छ, मानव स्वास्थ्यमा समेत असर परिरहेको छ ।
महँगो दरमा दाना तथा चल्ला खरिद गरेका व्यवसायीहरूले मूल्य बढाएर बिक्री गर्न खोज्दा भारतबाट अवैध रूपमा कुखुरा भित्र्याउने तस्करहरूले सस्तो मूल्यमा बिक्री गरिदिँदा व्यवसायी मर्कामा परेको नेपाली कुखुरा व्यवसायीको भनाई छ । भारतबाट अवैध रूपमा आयात हुने कुखुरामा बर्डफ्लूको सम्भावना बढी हुने भएकाले नेपाली कुखुराको मासु नै सेवन गर्नु पर्नेमा उपभोक्ताहरु पनि सचेत नहुदा समस्या आउने गरेको छ ।

काठमाडौं, ३२ साउन ।
क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको फैसलाको बहस भएन ।
नाबालिग बलात्कार आरोपमा सन्दीपविरुद्ध परेको रिटको सुनुवाइ शुक्रबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजुकुमार खतिवडाको इजलासमा परेको थियो । उक्त इजलासले गौशाला २६ की आमाको जन्ममिति प्रमाणीकरण गर्न भने आदेश दिएको छ ।
आमाको जन्ममिति दुईवटा आएर विवाद देखिएको भन्दै न्यायाधीश खतिवडाको इजलासले जन्ममिति प्रमाणीकरणपछि मात्र फैसला बहस हुने आदेश सुनाएको छ ।
सन्दीप पक्षले ‘गौशाला २६’ को जन्ममिति गलत भएको र उनी नाबालिग नभएको जिकिर गर्दै प्रमाण पेस गरेको थियो ।
काठमाडौं, ३२ साउन ।
प्रमुख प्रतितपक्षी दल नेकपा एमालेले संसदकोे सार्वजनिक लेखा समितिको बैठक बहिष्कार गरेको छ । बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समिमित बैठक एमालेले बहिस्कार गरेको हो ।
संसदीय समितिको नेतृत्व चयन नगरेको विरोधमा एमालेले संसदीय समिति बैठक बहिस्कार गरेको हो ।
यसअघिकै बैठकमा एमालेको तर्फबाट सांसद योगेश भट्टराईले नेतृत्व चयन नभएसम्म आफूहरु बैठकमा सहभागी नहुने जानकारी गराएका थिए ।
एमालेका सांसद सहभागी नभएपछि कोरम नपुगेका कारण बैठक नै स्थगित भएको छ ।
काठमाण्डौं, ३२ साउन ।
नेकपा माओवादी केन्द्रको अर्थ तथा योजना विभागले वर्तमान आर्थिक अवस्थामा सुधारका लागि सरकारले गर्नुपर्ने कामका विषयमा क्षेत्रगत विज्ञहरुसँग सुझाव लिएको छ ।
‘मुलुकको आर्थिक विकासको मोडल र विकास कार्यक्रम’ सम्बन्धी अन्तरक्रियामा कृषि, पर्यटन, ऊर्जा, जलश्रोत, सूचना प्रविधि, सहकारी, भौतिक पूर्वाधार, खानेपानी, इन्जिनियरिङ, जलश्रोत र बाणिज्यसहित विज्ञिन्न क्षेत्रका जानकारहरुले सुझाव दिएका थिए ।
कार्यक्रमका प्रमुख वक्ता विभाग प्रमुख एवं पूर्वअर्थमन्त्री वर्षमान पुन अनन्तले वदेशमै अवसर श्रृजना गरी योग्य श्रमशक्ति पलानयको चक्रलाई रोक्नुपर्ने बताए । औद्योगीकरणमार्फत रोजगारी श्रृजना गरेर कामका लागि युवा विदेशिने क्रम रोक्नुपर्ने उनले बताए । ‘औद्योगिकीकरणमार्फत उत्पादन बढाउने र रोजगारी सृजना गर्ने कार्यक्रममा जोड दिनुपर्छ’, बुधबार राति अबेर राजधानीमा सम्पन्न कार्यक्रममा पुनले भने, ‘श्रमशक्तिको निर्यात होइन, श्रमशक्तिको स्वदेशमै उपयोग गर्ने नीतिमा जान ढिलाई भइसकेको छ ।’ पुनले कमजोर व्यवस्थापन, सुशासनको अभाव, उपयुक्त नीति र अनुगमनको अभावमा धारासायी बन्दै गएका सार्वजनिक संस्थान बचाउन सरकारको ध्यान जानुपर्ने उल्लेख गरे ।
पुनले नेपालमा केही पनि हुँदैन भन्ने गलत भाष्य स्थापित हुन खोजेको भन्दै गरे के हुँदैन भन्ने आत्मविश्वास जगाउन जरुरी रहेको बताए । आफूले अर्थमन्त्री भएका बेला केही उदाहरणीय काम गरेर देखाएको स्मरण पनि पुनले गरे ।
आफू अर्थमन्त्री भएका बेला समस्याग्रस्त अवस्थामा रहेका सरकारी स्वामित्वका नेपाल बैंक, कृषि विकास बैंक र बाणिज्य बैंकलाई बचाउन भूमिका खेलेको स्मरण उनले गरे । तत्कालीन अवस्थामा करिब बन्द हुने अवस्थामा रहेकी तीनवटै सरकारी बैंकलाई पुँजी वृद्धि गरेर जोगाइएको स्मरण यनले गरे । हाल कमजोर अवस्थामा रहेका सार्वजनिक संस्थान बचाउन पनि केही न केही नयाँ नीतिमा फड्को हाल्नुपर्ने उनको जोड थियो । यस्तै आफूले अर्थमन्त्री भएका बेला डुब्न लागेको बायु सेवा निगमलाई दुईवटा न्यारोबडी जहाज किनेर जोगाएको चर्चा उनले गरे ।
‘हिजो सरकारमा हुँदा पनि हामीले सस्तो लोकप्रियताका लागि धेरै हल्लाखल्ला नगरी धारासायी भएका सरकारी स्वामित्वका तीनवटा बैंकको पुँजीवृद्धि गरी निजी क्षेत्रका बैंकसँगै प्रतिस्पर्धी बनाएको र वायुसेवा निगम जोगाएको अनुभव छ’, पुनले भने, ‘अहिले पनि कमजोर व्यवस्थापनमा चलेका सार्वजनिक संस्थानहरुलाई बचाउन केही न केही नयाँ नीतिमा हामी जानैपर्छ ।’ उनले स्वदेशमै पर्याप्त रोगजारीको अवसर वृद्धि नगरी समाजवादमा जान सम्भव नरहेको स्पष्ट गरे । मुलुकको समग्र आर्थिक विकासका लागि सार्वजनिक, निजी र सहकारीको नीति खम्बे अर्थनीतिलाई आत्मसात गरी पुँजीको सही उपयोगमार्फत उत्पादन बढाउनेतिर ध्यान दिनुपर्ने पुनको भनाइ थियो ।
कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मिनबहादुर श्रेष्ठले पहिलोदेखि १५औं पञ्चवर्षीय योजनासम्मका धेरै योजना असफल भएको दृष्टान्त प्रस्तुत गरेका थिए । १६औं पञ्चवर्षीय योजनाको तयारी भइरहँदा विगतका असफलताबाट सिकेर अति महत्वाकांक्षी योजना समेट्न नहुने उनले बताए ।
कार्यक्रममा विज्ञहरुले विदेशमा रहेका नेपालीलाई मताधिकार दिने विषयमा सरकारले छिट्टै प्रक्रिया अघि बढाउनुपर्ने, विद्युत निार्यतलाई नभई स्वदेशमै खपत बढाउने गरी औद्योगीकरण गरिनुपर्ने, श्रमशक्ति निर्यात गर्ने नभई उपयोग गर्ने नीति अख्तियार गरिनुपर्ने, उत्पादन वृद्धि गरी रोजगारीको अवसर श्रृजना गर्ने कार्यक्रम अघि सारिनुपर्ने जस्ता सुझाव दिएका थिए । लगातार रुपमा वार्षिक बजेटले निर्धारण गरेको आर्थिक वृद्धिको लक्ष्य हासिल हुन नसक्नुको कारणबारे राष्ट्रिय स्तरमै समीक्षा हुनुपर्ने पनि सहभागीहरुको भनाइ थियो ।
कार्यक्रममा विज्ञहरुका साथै माओवादी केन्द्रका ३३ वटै विभागबाट दुई÷दुई जनाका दरले प्रतिनिधित्व थियो । अन्तरक्रियामा आएका सुझाव समेटेर छिट्टै पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रतिवेदन बुझाइने माओवादी आर्थिक तथा योजना विभागका सदस्य एवं युवा अर्थशास्त्री डिपी ढकालले जानकारी दिए ।
काठमाडौ, ३२ साउन ।
हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले भदौको पहिलो साताबाट सर्वसाधारणलाई आईपीओ बिक्री खुला गर्ने तयारी थालेको छ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार यस कम्पनीको आईपीओ भदौको पहिलो साता खुला हुने सम्भावना छ । यद्धपि, यसको आधिकारीक सूचना भने आउन बाँकी छ ।
कम्पनीले आफ्नो जारी पुँजी १ अर्ब १७ करोड रुपैयाँको १२.५० प्रतिशतले हुन आउने १४ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको आईपीओ बिक्री गर्ने अनुमति पाएको हो ।
यसमध्ये कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि १ करोड ४६ लाख २५ हजार रुपैयाँ बराबरको २ लाख ९२ हजार ५ सय कित्ता सेयर निष्कासन गरिसकेको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई बिक्री गरेको आइपीओ बिहीबार बाँडफाँट समेत भएको छ ।
कम्पनीले २९ लाख २५ हजार रुपैयाँ बराबरको ५८ हजार ५ सय कित्ता सेयर कर्मचारीहरुका लागि र ७३ लाख १२ हजार ५ सय रुपैयाँ बराबरको १ लाख ४६ हजार २५० कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याएको हो ।
बाँकी रहेको १२ करोड १३ लाख ८७ हजार ५ सय रुपैयाँ बराबरको २४ लाख २७ हजार ७५० कित्ता सेयर कम्पनीले सर्वसाधारणका लागि निष्कासन गर्नेछ । लगानीकर्ताले सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र सीडीएस एन्ड क्लियरिङ लिमिटेडको मेरो सेयर सफ्टवेयरमार्फत अनलाइनबाट आवेदन दिन सक्नेछन् ।
यसमा ग्लोबल आइएमई क्यापिटल बिक्री प्रबन्धक रहेको छ । नेपालमा पहिलो पटक इन्भेष्टमेन्ट कम्पनीले आईपीओ जारी गर्न लागेको हो ।
सप्तरी, ३२ साउन ।
कञ्चनरूप नगरपालिका-१ बैरवाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ३५ मिलिग्रामसहित तिरहुत गाउँपालिका-१ बस्ने २२ वर्षीय राधेश्याम साहलाई प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय कंचनपुरबाट खटिएको प्रहरीले प्र.२-०१-००१ प ३२६२ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
काठमाडौं, ३२ साउन ।
सर्वाेच्च अदालतले आठजनाको ज्यान जाने गरी भएको टीकापुर घटना रेशम चौधरीकै नेतृत्वमा भएको ठहर गरेको छ ।
सर्वोच्च अदालतले सार्वजनिक गरेको टीकापुर घटनासम्बन्धी मुद्दाको फैसलाको पूर्णपाठमा रेशम चौधरीकै नेतृत्वमा टीकापुर घटना भएको उल्लेख गरिएको छ ।
सर्वाेच्च अदालतको फैसलाको पूर्णपाठ नआउँदै सत्ता समीकरण जोगाउन सरकारले नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्वसांसदसमेत रहेका रेशम चौधरीलाई आममाफी दिएर जेलमुक्त गरिएको छ । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई माफी मिनाहा गरेका थिए ।
तर, सर्वाेच्च अदालतले फैसलाको पूर्णपाठ सार्वजनिक गर्दै टीकपुर घटनालाई ‘क्रुर अमानवीय र सभ्य समाजमा सोच्नै नसकिने खालको घटना’ भनी व्याख्या गरेको छ ।
‘रेशम चौधरी नेतृत्वको भिडले जीवनदानको भिख मागेका ८ जना प्रहरी कर्मचारीलाई लाठी ढुङ्गा, बन्चरो प्रहार गरी, आँखामा भाला रोपी शरीरमा खर, पेट्रोल, मट्टितेल खन्याई जलाउने र शवहरू क्षत–विक्षत गर्ने जस्तो सभ्य समाजको अपेक्षा र मानवीय चेतना विरूद्ध अत्यन्त अमानवीय, क्रुर र निर्मम ढङ्गले ज्यान मारेको देखिन आई कसुर शङ्कारहित तवरले पुष्टि हुन आयो,’ फैसलाको पूर्णपाठमा उल्लेख छ ।
काठमाडौं, ३२ साउन ।
काठमाडौं महानगरपालिका-१४ बल्खु बस्ने प्रज्वल श्रेष्ठको घरमा जुवातास खेलिरहेको अवस्थामा श्रेष्ठसहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७२ हजार रूपैयाँ र १२ बुक ताससहित पक्राउ गरेको हो ।
काठमाडौं महानगरपालिका-६ कपन सरस्वतीनगर डेरा गरी बस्ने काभ्रेपलान्चोक धुलिखेल नगरपालिका-८ घर भएकी ४५ वर्षीया लक्ष्मी तामाङको कोठामा जुवातास खेलिरहेको अवस्थामा तामाङ समेत १५ जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ४५ हजार ४ सय रूपैयाँ र ६ बुक ताससहित पक्राउ गरेको हो ।