२०८३ भाद्र ५
२०८३ भाद्र ५

 

जनकपुर- जनकपुर, ५ भदौ ।

एमालेले सदनमा निर्लज्जतापूर्ण चरित्र प्रस्तुत गरिरहेको कांग्रेस केन्द्रीय सदस्य नैनसिंह महरको आरोप छ। नेपाली कांग्रेस धनुषाले जनकपुरमा आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै जनताको अभिमत लिएर सत्तामा जाँदा संसद् विघटन गर्ने एमालेले प्रतिपक्षमा हुँदा पनि संसद् चल्न नदिनु अलोकतान्त्रिक र निर्लज्जतापूर्ण चरित्र भएको आरोप लगाए।

 

एमालेले सत्तामा हुँदा होस् वा प्रमुख प्रतिपक्षी हुँदा होस् संसद्‍माथि प्रहार गरिरहनु गैर लोकतान्त्रिक भूमिका भएको समेत महरको भनाइ छ। ‘एमालेले संसद्‍मा  अवरोध गरेर जनतामाथि अन्याय गरेको छ। एमालेको अवरोधका कारण संसद‍्‍मा सांसदहरूले जनताका समस्या उठाउन पाइरहनु भएको छैन। संसद् जनमतको कदर गर्ने थलो हो। कुनै असन्तुष्टि भए संसद‍्मा मज्जाले मत राखेर जनतासामु पुर्‍याउन सकिन्छ। सच्याउनका लागि दबाब दिन सकिन्छ। तर, संसद् अवरोध गरेर लामो समयदेखि गतिरोध सिर्जना गर्नु गैर जिम्मेवारी पन हो। एमालेले यस्तो गर्न लाज मान्नुपर्ने हो,’ महरले भने।

 

एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री हुँदा प्रतिनिधि सभा विघटन गरेको र अहिले प्रतिपक्षमा हुँदा पनि संसद‍्माथि नै प्रहार गर्न खोजिरहेको महरको आरोप छ। ‘म ओली जीलाई प्रश्न गर्न चाहन्छु- लोकतान्त्रिक व्यवस्थामा सदनप्रतिको यति धेरै आक्रोश किन हो? सदन के तपाईं एक जनाको चाहना अनुरुपमात्रै चल्नुपर्ने हो? एमाले प्रतिपक्षमा हुँदा पनि सत्ताको कस्तो भाग खोजिराख्नु भएको हो? भाग पाए संसद् चल्न दिने, नत्र संसद् चल्न नदिने अलोकतान्त्रिक र गैर जिम्मेवार चरित्र भएन र?’, महरले भने।

 

राष्ट्रपति रामचन्द्र पौडेलले बोलाएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमाले जानुपर्ने महरको धारणा छ। राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठकमा सहभागी भएर एमालेले आफ्ना असन्तुष्टि राखेको भए बहुदलीय व्यवस्थामा दलगत लोकतान्त्रिक चरित्र प्रस्तुत हुने उनले बताए।

 

 

काठमाडौं, ५ भदौं ।

नेकपा एकीकृत समाजवादीको केन्द्रिय समिति बैठक सुरु भएको छ ।

 

हिजो सम्म पोलिटब्युरो समितिको बैठकमा ब्यस्त रहेको नेकपा एसको आजबाट केन्द्रिय समिति बैठक सुरु भएको हो ।

 

केन्द्रिय कमिटीको छैटौं बैठकमा महासचिव घनश्याम भुषालले आफनो धारणा राखेका छन ।

 

लमजुङ ५ भदौ ।

लमजुङमा नयाँ नागरिकता लिनेभन्दा नागरिकताको प्रतिलिपि लिने धेरै रहेको पाइएको छ ।

 

जिल्ला प्रशासन कार्यालय लमजुङका अनुसार आर्थिक वर्ष ०७९/०८० मा ६ हजार ४ सय ४५ जनाले नागरिकताको प्रतिलिपि लिएका छन् ।

 

गत वर्ष नै वंशजको आधारमा नयाँ नागरिकता लिनेको संख्या ५ हजार ८ सय ७४ रहेको जिल्ला प्रशासन कार्यालय लमजुङका प्रशासकीय अधिकृत जगदिश मिश्रले बताए ।

 

अघिल्लो आर्थिक वर्ष २०७८/०७९ मा भने ४ हजार ५ सय ५४ जनाले नागरिकताको प्रतिलिपि लिएका थिए । सो वाहेक ७ हजार ५ सय ५८ जनाले बंशजको आधारमा नयाँ नागरिकता लिएको र चार जनालाई बैबाहिक अगिकृत नागरिकता वितरण गरेको जिल्ला प्रशासन कार्यालयको तथ्यांक छ ।

 

यसैगरी गत आर्थिक वर्ष ०७९/०८० मा तीन सय नाबालक परिचयपत्र वितरण गरिएको छ । ६० वटा नयाँ सस्था दर्ता भएका छन् । ०७८/७९ मा २ सय १६ नाबालक परिचयपत्र वितरण गरिएको थियो भने प्रशासनमा ८२ वटा सँस्था दर्ता भएको कार्यालयले जनाएको छ ।

 

यसै गरी राष्ट्रिय परिचय पत्रको लागि आवेदन दिनेको संख्या पनि उत्तिकै रहेको देखिन्छ । गत वर्ष नै २३ हजार ७ सय ५९ जनाले राष्ट्रिय परिचयपत्र विवरण दर्ता गरेको प्रशासकिय अधिकत मिश्रले जानकारी दिएका छन् ।

 

काठमाडौ, ५ भदौ ।

गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा शिव श्री हाइड्रोपावरले ३० करोड ८८ लाख रुपैयाँ नोक्सान व्यहोर्नु परेको छ । यो कर तिर्नुभन्दा अघिको नोक्सान हो । अघिल्लो वर्ष यसैअवधिमा कम्पनीले ३६ करोड ३६ लाख रुपैयाँ नोक्सानी व्यहोरेको थियो । अघिल्लो वर्षको तुलनामा नोक्सानी घटेको हो । विद्युत् बिक्रीबाट हुने आम्दानी बढेसँगै नोक्सानीमा केही कमी आएको हो ।

अघिल्लो वर्ष २४ करोड ४६ लाख रुपैयाँ विद्युत् बिक्रीबाट आम्दानी गरेकोमा गत वर्ष बढेर ३५ करोड २० लाख रुपैयाँ आम्दानी गरेको छ । असार मसान्तसम्म आइपुग्दा यसको प्रतिसेयर आम्दानी २० रुपैयाँ ९२ पैसा ऋणात्मक छ । प्रतिसेयर नेटवर्थ ४० रुपैयाँ ४१ पैसा छ । चुक्ता पुँजी १ अर्ब ४७ करोड ६४ लाख रुपैयाँ छ । यसको जगेडा कोष ८७ करोड ९७ लाख रुपैयाँ ऋणात्मक छ ।

 

काठमाडौँ, ५ भदौ ।

नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापा मैतीदेवी मन्दिरबाट निकालिएको लाखे नाच हेर्न पुगेका छन् । मैतीदेवी युनाइटेड क्लबको आयोजनामा मैतीदेवी मन्दिरबाट निकालिएको १६ दिनसम्म चल्ने यो नाच हेर्न महामन्त्री थापा झरीमा रुझ्दै मैतीदेवी मन्दिरमा पुगेर स्थानीय संस्कृतिप्रेमी, स्थानीय संस्कृति बचाउ अभियानका अभियन्ताहरुलाई हौस्याइरहेका देखिन्थे ।

 

नागपञ्चमीका दिन दिनभर पानी परेपछि गगन अपराह्न्नतिर मन्दिरमा पुगेर लाखे नाचमा सहभागी भएको मैतीदेवी युनाइटेड क्लबका संस्थापक अध्यक्ष राम खड्गीले जानकारी दिए । सडकदेखि सदनसम्म आफ्नो बाक्लो उपस्थिति जनाउन रुचाउने युवा नेता गगनले स्थानीयको एक वचनका आधारमा आफ्नो उपस्थिती जनाएका हुन् ।

 

सोमबारदेखि सुरु भएको मैतीदेवीको लाखे नाच १६ दिनसम्म चल्नेछ ।  सदिऔँदेखि चल्दै आएको मैतीदेवीको यो लाखे नाच विभिन्न कारणले ३ दशकदेखि रोकिएर यसवर्षबाट सञ्चालनमा आएको स्थानीय बासिन्दाहरु बताउँछन् ।

 

यसअघि यो परम्परा जोगाउने नाच संचालन गर्दै आएका स्थानीयहरु बसाइँ सरेर गएका कारण, आर्थिक हिसाबले पनि खर्चिलो भएका कारण ३ दशकदेखि रोकिएको यो परम्परालाई निरन्तरता दिने चेष्टामा मैतीदेवी युनाइटेड क्लबको जुझारु टिम लागिपरिरहेको छ । जसका कारण लाखे नाचको पहिलो दिन मुकुटको पूजा अर्चना गरि लामो समयदेखि स्थगित लाखे नाचलाई निरन्तरता दिने काम सुरु गरिएको स्थानीय तथा संस्कृतिविद्ध कृष्ण निरब शाही बताउँछन् । लामो समयदेखि स्थानीय संस्कृति बचाउ अभियानमा सक्रिय रहेका शाहीका अनुसार लाखे नाच नेवार समुदायले कुनै विशेष जात्रा अथवा पर्वको उपलक्षमा लाखेको मुकुट पहिरिएर गरिने परम्परागत नृत्य हो ।

नेवार समुदायमा विभिन्न प्रकारका नाचहरु नाचिन्छन् । प्राय नाच देवीदेवताका हुन्छन् । यीमध्ये लाखे नाच धेरै रोचक हुन्छ । राक्षसको स्वरूपमा बनाइने खप्पर, कालिकाको वस्त्रसहित व्यक्तिलाई सिंगारेर लाखे नचाउने गरिन्छ । उपत्यकामा लाखे नाच नचाउने प्रचलन कहिलेदेखि सुरुआत भयो भन्ने कुरामा बिभिन्न मतभेद रहेको छ ।

 

कसैले राजा हरिसिंहदेवले सिम्रौनगढबाट तलेजु भवानीलाई उपत्यकामा ल्याउँदा देवीसँगै लाखेलाई ल्याइएको हो भनिन्छ । कतिपयले भने नुवाकोटबाट आएका ठकुरी राजाले लाखेलाई उपत्यकामा ल्याएका हुन भन्ने तर्क पनि राख्दछन । नेपाल भाषा वंशावलीअनुसार लाखे नाचको चलन राजा गुणकामदेवले सुरु गराएका हुन् भन्ने भनाइ पनि छ । तर, राजा प्रताप मल्लका पालादेखि मुकुट लगाई लाखे नाच नाच्ने गरेको पाइन्छ ।

लाखे नाचको ठाउँ अनुसार आ आफ्नै मूल्य र मान्यता भएता पनि मैतीदेवीको लाखेको कथा अन्य स्थानको भन्दा भिन्न छ । अन्य स्थानमा लाखे नाच प्रेमसँग सम्बन्धित् हुँदा मैतीदेवीको लाखेलाई धोबी खोलामा झुक्याएर लगेर कृष्ण अष्टमीका दिन वध गरिएको हो भन्ने किंवदन्ती छ । खासमा लाखेले स्थानीयलाई अनाहकमा दिएको दुःखपछि लाखेलाई वध गर्नुपर्नेसम्मको अवस्थामा स्थानीयहरु पुग्न बाध्य हुन्छन् । र पछि सोही सम्झनामा नागपंचमीको दिनदेखि कृष्णअष्टमीको दिनसम्म लाखे नाच नाच्ने परम्परा रही आएको हो ।

काठमाडौ, ५ भदौ ।

नेपाली बजारमा मंगलबार सुनको भाउ उकालो लागेको छ। आज सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको छ । यो सँगै प्रतितोला छापावाल सुन १ लाख १० हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार ९५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

साेमबार सुनको भाउ स्थिर थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख १० हजार ३०० रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार ७५० रुपैयाँमा कारोबार भएको थियो।

 

यस्तै, मंगलबार चाँदीको भाउ पनि तोलामा २५ रुपैयाँले बढेर १ हजार ४१५ रुपैयाँ कायम भएको छ। हिजो भाउ स्थिर रहँदै चाँदी तोलाको १ हजार ३९० रुपैयाँमा किनबेच भएको थियो।

 

काठमाडौ, ५ भदौ ।

प्रि ओपन सेसनमा नेप्से सूचक ०.१४ विन्दुले बढेको छ । यससँगै सूचक १९९८.१४ अंकमा आएको छ । ३ लाख ४८ रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १२ कम्पनीको ११ सय २४ कित्ता सेयर कारोबार भएको हो ।

 

यो सेसनमा कुल १६ पटक सेयर कारोबार भएको हो । ४ कम्पनीको भाउ बढ्दा ८ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको मूल्यमा कुनै पनि परिवर्तन भएको छैन ।

 

काठमाडौं, ५ भदौ ।

नेपालका लागि अमेरिकी राजदूत डिन आर. थम्पसनले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् ।

मंगलबार बिहान ओली निवास बालकोट पुगेर राजदूत थम्पसनले अध्यक्ष ओलीसँग भेटवार्ता गरेका हुन् ।

विभिन्न काण्डले नेपालको राजनीति तातेको अवस्थामा राजदूत थम्पसन बालकोट पुगेर ओलीलाई भेटेका हुन् ।

 

काठमाडौं, ५ भदौ ।

राष्ट्रपति रामचन्द्र पौडेले सर्वदलीय बैठक राखेर आफू सक्रिय हुन नखोजेको र राष्ट्रको चिन्ता लागेको बताएका छन् ।

मंगलबार राष्ट्रपति भवन शीतल निवासमा राखेको सर्वदलीय बैटकमा उनले आफू बैठक राखेर सक्रिय हुन नखोजेको प्रष्ट पारेका हुन् । तर, देशको चिन्ता लागेका कारण बैठक राखेको उनको प्रष्टीकरण छ ।

आफू लोकतन्त्रका लागि धेरै दुःख पाएको कार्यकर्ता भएकाले सक्रियता देखाउन नखोजेको बताउँदै राष्ट्रपति पौडेलले अहिले देशको संविधान र प्रणालीप्रति खेलबाड हुन थालेको महसुस भएकाले राष्ट्रको चिन्ता गर्नकै लागि सर्वदलीय बैठक बोलाएको बताए ।

संविधानले दिएको अधिकारअनुसार संविधानको संरक्षण, पालना गर्ने प्रतिबद्धता जनाउँदै उनले जनताका यावत समस्याहरुको समाधान गर्ने सार्वभौम थलो संसद् लामो समयदेखि अवरुद्ध हुँदा जनताका आवाज मुखरित हुने काम बन्द भएको भए पनि सहमतिको नजिक पुगेको समाचारले सन्तोष मिलेको बताएका राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।

बैठकमा के भने राष्ट्रपतिले ?

‘यो मैले एक्टिभिज्म देखाउन खोजेको होइन । म पनि लोकतन्त्रका लागि धेरै दुःख पाएको कार्यकर्ता हुँ । त्यसैले राष्ट्रप्रतिको यो मेरो चिन्ता हो । विभिन्न कारणले तपाईहरू सबैसँग भेट  पनि हुन सकेको थिएन । तपाईहरूसँग भेटेर राष्ट्रको चिन्ता गरौ भन्ने पनि थियो ।

 

संंविधानको पालना, संरक्षण  र राष्ट्रिय एकताको प्रवद्र्धन गर्ने जिम्मेवारी नेपालको संविधानले राष्ट्रपतिलाई दिएको छ । संंविधानमा रहेको यो जिम्मेवारी कसरी पुरा गर्न सकिन्छ भन्नेमा म सधैँ चिन्तित रहेको छु ।

 

अहिले आएर कता कता हाम्रो संविधान र प्रणालीप्रति नै खेलबाड हुन खोजेको हो कि भन्ने आभास हुन थालेको छ । यसले गर्दा शक्तिपृथकिकरण र शक्ति सन्तुलनको संवैधानिक मर्म र भावनाअनुसार हामी हिड्न सकेका छौ कि छैनौ भनेर पनि सोच्नुपर्ने बेला भएको छ भन्ने मलाई लाग्छ ।

 

संंघीय लोकतान्त्रिक गणतन्त्र कार्यान्वयनका लागि आवश्यक र महत्वपूर्ण  कानुनहरू बन्न नसकेको भनेर चौतर्फी प्रश्न उठिरहेका छन् । सत्य निरुपण, बेपत्ता तथा मेलमिलापसम्बन्धी कानुनी विषय अझै टुङ्गोमा पुग्न सकेको छैन । यतिबेला यो विषय टुङ्ग्याउन सकिएन भने जनताले खोजेको शान्तिको चाहना पुरा हुन सक्दैन ।

 

नेपाललाई प्रि ग्रे लिस्टमा  एक वर्षका लागि राख्ने स्थिति हाम्रो अर्को चिन्ताको विषय हो । त्यसैले सम्पत्ति शुद्धिकरणसम्बन्धी  कानुनहरू यथाशीघ्र पारित गरेर  नेपाललाई  द्यबिअप ीष्कत बाट  जोगाउने पहलकदमी लिनु हामी सबैको साझा दायित्व हो भन्ने मलाई लाग्छ ।

 

देशको आर्थिक अवस्थामा शिथिलता देखिएको स्थितिमा  सम्पत्ति शुद्धिकरणसम्बन्धी ऐन समयमा पास गर्न सकिएन भने नेपालमा आउने विदेशी लगानी रोकिन सक्छ र नेपालको साख अन्तराष्ट्रिय जगतमा गिर्न सक्छ भन्नेतर्फ सचेत भएर ती कानुन बनाउन आग्रह गर्दछु ।

जनताका यावत समस्याहरूको समाधान गर्ने सार्वभौम थलो संसद् लामो समयदेखि अवरुद्व हुँदा जनताका आवाज मुखरित हुने काम बन्द हुन्छ भन्ने सर्वत्र चिन्ता प्रकट भैरहेकाबेला सबै दलहरुको आपसी संवाद र प्रयत्नले सहमतिको नजिक पुगेको भन्ने खवरबाट सन्तोष मिलेको छ । यो सहमतिको प्रयत्नले तत्काल सार्थकता पाएर अवरुद्व संसद सञ्चालन हुने छ भन्ने मैले विश्वास लिएको छु ।

यदाकदा दलहरुबीच  विवाद, द्वन्द्व र तिक्तता देखापर्ने गरेपनि राष्ट्रिय स्वार्थ र हितका लागि वार्ता, संवाद र छलफलबाट निकासमा पुग्नुपर्छ । लोकतन्त्रको सुन्दर पक्ष भनेकै यही हो । नेपालका राजनीतिक दलहरूले विगतमा विषम परिस्थितमा पनि संवादकै माध्यमबाट समस्या सुल्झाएका कैयौ उदाहरणहरू हाम्रा सामु छन् ।

त्यही भएर सधैँ आपसी संवाद, वार्ता र छलफलबाट समस्याको निकास निकाल्न सबै राजनीतिक दलहरू अग्रसर होउन भन्ने मेरो सदिच्छा छ ।  जनताको अपेक्षा पनि यही हो ।

सुशासनका पक्षमा हामी दह्रोसँग उभिन नसक्दा समाज नै भ्रष्टीकरणतर्फ उन्मुख हुने हो कि भन्ने सर्वत्र चिन्ता भइरहेकाबेला सार्वभौम संसद सुशासन प्रत्याभूत गराउन सबैलाई बाध्य पार्ने थलो हो भनेर सिद्ध गर्न यहाँहरू सबैलाई आग्रह गर्दछु ।

राष्ट्रिय सुरक्षा, वेरोजगारी तथा भ्रष्टाचार नियन्त्रण, आर्थिक विकास तथा परराष्ट्र नीतिजस्ता मुलुकका साझा दायित्व र जिम्मेवारीमा यहाँहरू सबैको समान दृष्टिकोण होस् भन्ने मेरो धारणा छ ।

हामीले हाम्रो जिम्मेवारी सही ढंगले पुरा गर्न सकेनौ र जनताको अपेक्षालाई उपेक्षा गरिरह्यौ भने हामीले अवलम्वन गरेको सर्वोत्कृष्ट व्यवस्था हुँदाहुँदै पनि जनतामा यसप्रतिनै नैराश्यता उत्पन्न हुने भएकाले यसतर्फ सचेत रहन सबैको ध्यानाकृष्ट गराउन चाहन्छु ।’

 

–  किरण पोखरेल
सम्माननीय राष्ट्रपतिको सल्लाहकार

 

काठमाडौं, ५ भदौं ।

राष्ट्रपति रामचन्द्र पौडेलले बोलाएको सर्बदलीय बैठकमा नेकपा एमालेले बहिस्कार गरेकाे छ ।

 

समसमायिक राजनीतिक बिषयमा छलफल गर्ने भन्दै आज बिहान बोलाएको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बहिस्कार गरेकाे हाे ।

 

 

नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङका अनुसार सरकारसँग छलफल चलिरहेको बेला राष्ट्रपति पौडेलले अनावश्यक हस्तक्षेप गर्दै बैठक बोलाएको बुझाईमा पार्टी रहेको छ । बैठकको बैद्यानिकता नहुने भए पछि एमाले शितल निवास नगएकाे उनले जानकारी दिए ।

 

राष्ट्रपति रामचन्द्र पौडेलले सुन प्रकरणको बिषयमा चासो ब्यक्त गर्दै आज बिहान ८ बजे सो बैठक बोलाएका थिए । तर, हिजो साँझ सो प्रकरणलाई लिएर सरकार उच्च स्तरीय छानबिन बनाउन सहमत भईसकेको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।