काठमाडौं, ६ भदौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरमा अवस्थित छ। साथै नेपालमा हाल भारतको केन्द्रीय मध्य प्रदेश र आसपासमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर सामान्य देखि पूर्ण बदली रही सबै प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।
दिउँसो देशभर सामान्य बदली रहनेछ। सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागका केही र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेशको एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।
राती भने देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। कोशी, मधेश, बागमती , गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ।
सुदूरपश्चिम प्रदेश लगायत कोशी, मधेश, बागमती , गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको यी क्षेत्रहरूमा नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भू-क्षय जस्ता प्रकोप हुन सक्ने भएकोले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
चन्द्रपुर,भदौ ०५ गते ।
रौतहटका समाजसेवी तथा युवा व्यवसायी जनकराज भारतीले आफु आवद्ध विभिन्न संघ संस्थाबाट राजिनामा दिएका छन् । भारतीले एक विज्ञप्ति जारी गर्दै विगतमा आफ्नो पृष्ठभूमी व्यापारी,व्यवसायी रहेको र पछिल्लो समयमा आफ्नो व्यवसायी संचालनमा नरहेकोले व्यवसायीको रुपमा आफ्नो पहिचान देखिएकोले आजकै मितिदेखि लागु हुने गरि चन्द्रपुर नगर उद्योग बाणिज्य संघको महासचिव पदबाट राजिनामा दिएको घोषणा गर्दछु, विज्ञप्तिमा भनिएको छ । उहाले व्यवसायीको हकहितका लागि आफु सक्रिय रुपमा लागेको र व्यवसायीकै सहयोगमा आफु महासचिव समेत हुन सफल भएको बताउनुहुदै आफु महासचिव हुदा नगर उद्योग बाणिज्य संघको लागि सक्दो सहयोग गरेको र संघको भवन निर्माणको आफुले दिलोज्यान दिएर भवन निर्माण सम्पन्न गर्नका लागि सहयोग जुटाउने काममा कुनै कसर बाकी नराखेको बताउनुभयो । उहाले आजैका मितिदेखि रौतहटको चन्द्रनिगाहपुरमा संचालनमा रहेको गुन्जन सूचना तथा सहकारी लिमिटेडको सचिव पदबाट समेत राजिनामा दिनुभएको छ । उहाले विज्ञप्ति प्रकाशित गरि आफ्नो व्यक्तिगत समस्या देखाउदै राजिनामा दिएको बताउनुभएको छ । यसबारे जनकराज भारतीसंग कुरा गर्दा आफु पछिल्लो समयमा व्यवसायमा सक्रिय रुपमा सहभागी नरहेका कारण व्यवसायीमाझ आफुलाई खल्लो महसुस गरेकोले आफुले राजिनामा दिएको बताउनुभयो । अवका दिनमा आफु सक्रिय रुपमा व्यवसायमै लाग्ने समेत बताउनुभयो । आप्mनो पहिचान व्यवसायी भएकोले अव व्यवस्थित र राम्रो लगानीमा बजारमा नया स्वरुपमा प्रस्तुत हुने बताउनुभयो ।
सागर संगम ठाकुर, रौतहट भदौ ५ गते
रौतहटको इलाका प्रहरी कार्यालय देवाही गोनाहीमा प्रहरी निरीक्षक इन्सपेक्टर गोबिन्द साहको बिदाई गरेको छ ।
सोमबार ईलाका प्रहरी कार्यालय देवाही गोनाहीको प्राङ्गनमा एक कार्यक्रमको बिच साहलाई बिदाई गरिएको हो ।
करिब १५ महिना सम्मको बसाई पछि साह धाधिङ्गको ईलाका प्रहरी कार्यालय गजुरी जानू भएको हो । प्रहरी निरिक्षक साह ईन्चार्जको रूपमा काम गर्ने बताईएको छ ।
प्रहरी निरिक्षक साहले कार्यभार सम्हाले देखि आज सम्म देवाही गोनाही नगरपालिका भित्र चोरीका घटनामा कमी ल्याउन, र झै—झग्डा अनत्य गराउन निकै ठुलो भुमिका खेलेको थियो ।
प्रहरी निरिक्षक साहको बिदाई पछि निजको सट्टामा ईलाका प्रहरी कार्यालय ताप्लेजुङ्गबाट सरुवा भई आएका प्रहरी निरिक्षक कुशराम कार्कीले सोमबार देखि जिम्मेवारी सम्हालेका छन ।
जिम्मेवारी सम्हाल्दै पत्रकार संग संक्षिप्त कुरा गर्दै प्रहरी निरिक्षक कार्कीले आफु समाजमा शान्ति सुरक्षा कायम राख्न र अपराधिक घटना हुन नदिन २४ औ घण्टा सुरक्षा ब्यवस्था कडा पारिने बताउनु भयो ।
कार्कीले समाजमा शान्ति स्थापना कायम गर्नको निमित राजनितिक दलहरुले पनि सहयोग गर्नु पर्ने बिश्वास ब्यक्त गर्नु भयो ।
आरके श्रीवास्तव,रौतहट,भदौ ०५ गते ।
रौतहटको फतुुवा विजयपुर नगरपालिकामा यस वर्ष देख कक्षा ११ को पढाइ हुने भएको छ । सो नगरपालिकाको वडा नम्बर २ शितलपुर स्थित रहेको श्री माध्यमिक बिधालय शितलपुरमा कक्षा ११ सञ्चालन हुने भएको छ । स्थानिय सरकार बाट अनुमती लिइ कक्षा ११ मा शिक्षा र वाणिज्यमा पढाइ हुने भएको प्रधानाध्यापक बुनिलाल प्रसाद यादवले जानकारी गराउनु भयो ।
वि.स.२०१७ सालमा स्थापना भएको सो बिधालयमा कक्षा ११ को पढाइ हुने भएपछि स्थानियहरु हर्षित् भएका छन् । आर्थिक अवस्था कमजोर भएका परिवारमा बालबालिकाहरुलाइ एसइई पछि गाउँमा अध्ययन गराउन सहज हुने भएको छ । उच्च शिक्षा हासिल गर्न अन्य ठाउँमा जानु पर्ने बाध्यता थियो । अब उपरान्त त्यो बाध्यताको अन्त्य हुुने भएको छ ।
उच्च शिक्षाका लागि सहरकै भर पर्नु पर्ने बाध्यता थियो । गाउँमा क्याम्पस नहुँदा विद्यार्थीहरु पढाइ छाडने गरेका थिए । त्यस बिधालयमा प्रधानाध्यापकको रुपमा बुनिलाल यादव आएदेखि मुहार नै बदलिन थालेको छ । गत वर्षको एसइइमा त्यहाँ पढेका बिधार्थीले जिल्ला टप गरेका थिए । पढाइ गुणस्तरीयता बढेको छ ।
अहिले कक्षा ११ को लागि धमाधम नयाँ भर्ना भइरहेको प्रअ यादवले जानकारी गराए । गाउँमै उच्च शिक्षा हासिल गर्ने मौका आएको कोही पनि नछुटुन भन्ने आफनो चाहना रहेको उनको भनाइ छ ।
बिधालय रहेको सो वडाका वडा अध्यक्ष अनिरुद्ध प्रसाद यादव उर्फ संजयले पनि शिक्षा क्षेत्रलाइ विशेष प्राथमिकतामा राखेर नै काम गरि रहेका छन् । आफनो वडाको बिधालयहरुमा कसरी राम्रो सँग पढाइ हुन्छ । र बिधालयको प्रगती कसरी हुन्छ भन्ने ृनको पनि चाहना रह्दै आएको छ । उनले पनि कक्षा +२ सञ्चालका लागि पहल गरेको बताए ।
धनगढी, ५ भदौ ।
कैलालीको धनगढीबाट लागूऔषधसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
एक ग्राम लागूऔषधसहित जिल्लाको घोघोडी नगरपालिका–१० का २३ वर्षीय युवक उमेश चौधरी पक्राउ परेका हुन्।
मंगलबार बिहान धनगढी उपमहानगरपालिका–३ त्रिनगर ब्यारेलबाट लागूऔषधसहित चौधरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरी चौकी त्रिनगरबाट खटिएको टोलीले उनलाई लागूऔषधसहित पक्राउ गरेको हो।
काठमाडौं, ५ भदौ ।
नवनियुक्त प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । राष्ट्रपति कार्यालय शीतलनिवासमा मंगलबार आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रधानन्यायाधीश श्रेष्ठले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।
शपथ समारोहमा राष्ट्रपतिका साथै उपराष्ट्रपति रामसहाय यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ, संवैधानिक निकायका प्रमुखहरू, सर्वोच्च अदालतका न्यायाधीश, नेपाल सरकारका उच्चपदस्थ अधिकारीको उपस्थिति थियो।
संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा श्रेष्ठको नाम सोमबार अनुमोदन गरेपछि सोमबार नै राष्ट्रपति पौडेलले श्रेष्ठलाई प्रधानन्यायाधीश पदमा नियुक्त गरेका थिए । श्रेष्ठ ०८१ असोज १९ पछि अनिवार्य अवकाश हुनेछन्।
काठमाडौं, ५ भदौ ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोधका कारण राष्ट्रिय सभा स्थगित भएको छ । मंगलबार बसेको राष्ट्रिय सभाको बैठकमा सुन तस्करी प्रकरण र यसको छानबिनका लागि उच्चस्तरीय समितिको विषयलाई लिएर एमालेले अवरोध गरेको हो ।
एमालेको अवरोधपछि भदौ १० गते आइतबार दिउँसो १ बजेर १ मिनेटमा बस्नेगरी बैठक स्थगित गरिएको हो । गत १० साउनयता एमाालेले सदन अवरुद्ध गर्दै आएको छ ।
काठमाडौं, ५ भदौ ।
राष्ट्रिय दल मान्यताप्राप्त पार्टीका शीर्षनेताहरुको बैठक स्थगन भएको छ । प्रमुख प्रतिपक्षी एमाले अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएपछि शीर्षनेताहरुको बैठक स्थगन भएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबारका लागि बोलाएको उक्त बैठक बस्दै नबसी स्थगित गरिएको हो ।
बैठक नबसेसँगै सुन तस्करी प्रकरणमा छानबिन गर्न उच्चस्तरीय समितिकाो विषयमा मस्यौदाले अन्तिम रुप पाउन सकेन । एमालेको मागअनुसार उच्चस्तरीय समिति गठन गर्न दलहरु सहमत भएका थिए । सोही सहमतिअनुसार मंगलबार समितिको मस्यौदालाई अन्तिम रुप दिने तयारी थियो ।
सिंहदरबारमा अरु नेता बैठकमा सहभागी हुन पुगे पनि ओली भने गएनन् । उनी बिरामीकाले बैठक उपस्थित हुन नसकेपछि अरु नेताहरु बैठकै नबसी हिँडेका थिए । सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने मागसहित एमालेले गत १० साउनदेखि लगातार संसद अवरोध गर्दै आएको छ ।
संसदको अवरोध खुलाउन भन्दै सोमबार बसेको सर्वदलीय बैठकले छानबिन समिति बनाउने निर्णय गर्दै एमाले संसदीय दलका उपनेता सुवास नेम्बाङ, कांग्रेसका प्रमुख सचेतक रमेश लेखक र माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे सम्मिलित तीन सदस्यीय मस्यौदा समिति गठन गरेको थियो ।
काठमाडाैं, ५ भदाै ।
देशका विभिन्न स्थानबाट लागुऔषधसहित आठजना पक्राउ परेका छन् । कैलालीकाे धनगढी उपमहानगरपालिका-३ त्रिनगर ब्यारेलबाट अवैध लागूऔषध खैरो हेरोईन १ ग्रामसहित घोडाघोडी नगरपालिका-१० बस्ने २३ वर्षीय उमेश चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
झापाकाे मेचीनगर नगरपालिका-६ स्थित पुरानो मेचीपुल अगाडिबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ करिब २ ग्राम ५ सय मिलिग्रामसहित दमक नगरपालिका-९ बस्ने ३० वर्षीय रमेश सिवालाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण व्यूरो काँकरभिट्टाबाट खटिएको संयुक्त टोलीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
झापाकै बिर्तामोड नगरपालिका-३ मेची आँखा अस्पताल नजिकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ५ सय मिलिग्राम र नगद ७६ हजार ३ सय १५ रूपैयाँसहित सोही ठाउँ बस्ने ३४ वर्षीय रोसन राजवंशी समेत २ जनालाई प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरीले पक्राउ गरेको छ ।
दाङकाे घोराही उपमहानगरपालिका-४ सिस्ने खोलाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २ सय १० मिलिग्रामसहित सोही उपमहानगरपालिका-१४ घर भएका ३८ वर्षीय राजु रोकामगर र सोही उपमहानगरपालिका-४ बस्ने २० वर्षीया सविता नेपालीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । घोराही उपमहानगरपालिका-४ सिस्ने खोला बस्ने सोमराज रैदासको घरमा लागूऔषध बिक्री भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय दाङ र अस्थायी प्रहरी पोष्ट चौघेराबाट खटिएको प्रहरीले तलासी गर्दा उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यसैगरी दाङ, घोराही उपमहानगरपालिका-१७ भैसाही चोकबाट रा.३ प ६३३८ नम्बरको मोटरसाइकल चालक सोही उपमहानगरपालिका-१४ खोली गाउँ बस्ने ३२ वर्षीय शुशिल गहतराजलाई अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ १ सय ५० मिलिग्रामसहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
सुर्खेतकाे भेरीगंगा नगरपालिका-१२ छिन्चु बजारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २ ग्राम ८९ मिलिग्रामसहित गुर्भाकोट नगरपालिका-१३ बस्ने १९ वर्षीय सनिम सिरिषलाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
काठमाडौं, ५ भदाै ।
कुक आइसल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउँपालिका-६ घर भई हाल काठमाडौं महानगरपालिका-६ सरस्वतीनगर बस्ने ३७ वर्षीय प्रकाश बोहरालाई प्रहरीले पक्राउ गरेको छ ।
वैदेशिक रोजगारका लागि कुक आइसल्याण्ड जानको लागि ८ लाख रुपैयाँ लाग्छ र त्यहाँ पुगेपछि सेक्युरेटी गार्ड र स्टोरकिपरमा मासिक १ लाख रूपैयाँ भन्दा बढी तलब हुने काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी दुईजना पीडितहरुबाट पटकपटक गरी ४ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भई ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-३१ मिनभवनबाट पक्राउ गरेको हो ।
उनलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।