काठमाडौ, ७ भदौ ।
सञ्चालनमा रहेका वाणिज्य बैंकहरूले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । रिपोर्ट अनुसार बैंकहरुको निष्कृय कर्जा दर (एनपीएल) समग्रमा १२० प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा १.२२ प्रतिशत रहेको एनपीएल अहिले बढेर २.६९ प्रतिशत पुगेको हो ।
रिपोर्ट अनुसार सबै बैंकहरुको एनपीएल बढेको छ । तर मर्जरमा गएका बैंकहरुको भने एनपीएल अत्याधिकमात्रामा बढेको देख्न सकिन्छ । सबैभन्दा धेरै एनपीएल कुमारी बैंकको रहेको छ । अघिल्लो वर्षको असारसम्म १.११ प्रतिशत रहेको यो दर अहिले बढेर ४.७७ प्रतिशत पुगेको हो । यो ३२९ प्रतिशतको वृद्धि हो ।
कुमारी र एनसीसी बैंक मर्ज भएर कुमारी बैंकको नाममा एकीकृत कारोबार भएको हो । यसको प्रोभिजन बापतको रकम पनि धेरै बढेको छ । जसले गर्दा यस बैंकको वितरणयोग्य नाफा पनि ऋणात्मक देखिएको छ । दोस्रोमा हिमालयन बैंकको एनपीएल धेरै छ । यसको उक्त दर ४.५७ प्रतिशत पुगेको छ । अघिल्लो वर्ष १.५९ प्रतिशत थियो । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको पनि निष्कृय कर्जा दर १.४९ प्रतिशतबाट बढेर ४.३५ प्रतिशत पुगेको छ ।
त्यस्तै, सेन्चुरीलाई गाभेको प्रभु बैंकको पनि एनपीएल १.८६ प्रतिशतबाट बढेर ४.१६ प्रतिशत पुगेको छ । मर्जर भएका बैंकहरुको नाम यो सूचीको शीर्ष स्थानमा रहेको छ । केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्था मजबुत बनाउने भनेर मर्जरको नीति लिएको थियो । तर अहिलेको अवस्था हेर्दा मर्ज भएका बैंकहरुको अवस्था झनै नाजूक देखिएको छ ।
बारा, ७ भदौ ।
बारामा बिहीबार बिहान भएको यात्रुवाहक बस दुर्घटनामा ज्यान गुमाउने सबैको सनाखत भएको छ ।
काठमाडौंबाट जनकपुरतर्फ जाँदै गरेको मधेस प्रदेश–०३–००१ ख ७९९४ नम्बरको बस जीतपुरसिमरा उपमहानगरपालिका–२२, चुरियामाईमा दुर्घटनामा परेको थियो ।
उक्त दुर्घटनामा ज्यान गुमाउने सबै सातजनाकै सनाखत भइसकेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार महोत्तरीको लोहारपट्टीका ४१ वर्षीय विजयलाल पण्डित, भारतको राजस्थानका ६७ वर्षीय बहादुर सिंह, सोही ठाउँका ६५ वर्षीया मीरादेवी सिंह, ६० वर्षीया सत्यवती सिंह, ७० वर्षीय राजेन्द्र चतुर्वेदी, ६५ वर्षीय श्रीकान्त चतुर्वेदी र ६७ वर्षीया वैजन्ती देवीको मृत्यु भएको हो ।
चालकसहित २६ यात्री सवार उक्त बस दुर्घटना हुँदा घाइते भएका १७ जनाको हेटौँडा अस्पताल, सञ्चो अस्पताल, चुरेहिल अस्पताल र चितवनस्थित पुरानो मेडिकल कलेजमा घाइतेको उपचार भइरहेको छ ।
काठमाडौ, ७ भदौ ।
नेपाल धितोपत्र बोर्डले भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडलाई आईपीओ बिक्री गर्न अनुमति दिएको छ ।
कम्पनीलाई प्रतिकित्ता १०० रुपैयाँको दरमा आयोजना प्रभावित स्थानीय बासिन्दा र सर्वसाधारणका लागि कुल ३८ लाख २५ हजार कित्ता सेयर निष्कासन गर्न बोर्डले अनुमति दिएको हो । यो आईपीओमा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटलले गर्नेछ ।
काठमाडौ, ७ भदौ ।
मीड सोलु हाइड्रोपावरले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई बिक्री गरेको आइपीओ बाँडफाँट गरेको छ ।
बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटलले आइपीओ बाँडफाँट गरेको हो । कम्पनीले १० कित्तादेखि ३ हजार कित्तासम्म आवेदन दिने आवेदकमध्ये गोलाप्रथामार्फत ७ हजार ४८४ जनालाई छनौट गरी १० कित्ताका दरले आइपीओ बाँडफाँट गरेको जनाएको छ ।
कम्पनीले साउन १४ गतेदेखि २८ गतेसम्म वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि १ सय अंकित मूल्यमा ७४ हजार ८४० कित्ता सेयर निष्कासन गरेको थियो । जसमा ३१ हजार ५२२ जना आवेदकहरुबाट ७ लाख ४ हजार २ सय कित्ता सेयरको लागि आवेदन परेको थियो ।
यो मध्ये विभिन्न कारणबाट १ हजार ८६७ जना आवेदकहरुबाट प्राप्त ५८ हजार ६४० कित्ता सेयरको आवेदन रद्द भएको थियो । यस्तै, आवेदन रुजु गर्दा थप ७ जना आवेदकबाट २६० कित्ता सेयरको लागि प्राप्त आवेदन रितपूर्वक नदेखिएकाले उक्त आवदेन पनि रद्द गरिएको बिक्री प्रबन्धकले जनाएको छ ।
बाँकी हुन आएको २९ हजार ६४१ जना आवेदकहरुबाट प्राप्त ६ लाख ४५ हजार ३०० कित्ता सेयर गोलाप्रथाका लागि योग्य ठहरिएको थियो । बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटलको वेबसाइटर मेरोसेयर एकाउन्टबाट आइपीओको नतिजा हेर्न सकिनेछ । साथै, सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइट बाट पनि रिजल्ट हेर्न सकिन्छ ।
काठमाडौ, ७ भदौ ।
कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।
जस अनुसार नेपाली गोलभेडा मेरो प्रतिकेजी मूल्य १००, भारतीय ठूलो गोलभेडा १३०, टनेल गोलभेडा सानो ६३, लोकल गोलभेडा सानो ५०, घिउ सिमी लोकल ६०, काउली स्थानिय प्रतिकेजी ८० रुपैयाँ, आलु रातो ५०, मुडे आलु रातो ४८, भारतीय आलु रातो ३५, लौका ७०, हरियो फर्सी ९०, घिरौला ५० कायम भइ कारोबार भइरहेको छ ।
त्यसैगरी डल्लेच्याउ प्रतिकेजी ३५० रुपैयाँ, बन्दा लोकल ५०, गाँजर ८०, मूला सेतो ९०, भन्टा डल्लो ७०, भन्टा लाम्चो ६०, मकै बोडी ८०, टाटे सिमी ७०, तितो करेला ७०, ब्रोकाउली १४०, कागती १३० रुपैयाँ, भिण्डी ५५, न्यूरो ८० रुपैयाँ, रातो बन्दा प्रतिकेजी १४० रुपैयाँ, लोकल काक्रो ७०, अदुवा प्रतिकेजी २६० रहेको समितिले जनाएको छ ।
समितिका अनुसार कुरीलो प्रतिकेजी ४५०, केरा दर्जन १४०, अनार २८० रुपैयाँ, नासपाती ७०, एभोकाडो ३५० रुपैयाँ, कालो अंगुर ४००, किवि ७००, हरियो खुर्सानी अकबरे २५० रुपैयाँ तथा रहु माछा ३०५, छडी माछा २३०, ताजा माछा(मुंगरी) २८० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।
यस्तै लप्सी प्रतिकेजी ५०, हरियो धनियाँ १५०, खुर्सानी सुकेको ४५०, नेपाली सुकेको लसुन २३०, चाइनिज लसुन २४०, लसुन हरियो २२०, रुख कटहर ४०, छ्यापी सुकेको २००, भेडे खुर्सानी ७०, शरीफा २५०, फूजी स्याँउ ३५०,अम्बा १५०, जुनार ३२०, तोफु ११०, पिंडालू ६०, तामा १००, कन्य च्याउ १८०, तने बोडी प्रतिकेजी ८० मा कारोबार भइरहेको छ ।
लन्डन, ७ भदौं ।
बेलायतले आफ्ना नागरिक र उद्यमहरू विरुद्ध लगाएको प्रतिबन्धको प्रतिक्रिया स्वरूप रुसले पनि थप ५४ बेलायती नागरिकलाई देश प्रवेशमा रोक लगाएको रुसी विदेश मन्त्रालयले जनाएको छ ।
रुसले शुक्रबार आफ्नो प्रतिबन्ध नीतिको पछिल्लो अपडेटमा व्यक्ति र संस्थाहरूलाई ‘युक्रेनी जेलेन्स्की शासनका गतिविधिहरूको प्रचार समर्थन’ र ‘रुसोफोबिक’ भएको आरोप लगाएको छ।
प्रतिबन्धहरूको सूचीमा धेरै सरकारका मन्त्रीहरू साथै सार्वजनिक प्रसारक बीबीसी, गार्डियन पत्रिका र डेली टेलिग्राफ पत्रिकाका पत्रकारहरू समावेश रहेका छन्।
‘हामी फेरि जोड दिन चाहन्छौं कि लन्डनले रुस विरोधी प्रतिबन्ध फ्लाई व्हीललाई थप स्पिन गर्ने कुनै पनि प्रयासले अनिवार्य रूपमा हाम्रो पक्षबाट निर्णायक प्रतिक्रिया प्राप्त गर्नेछ,’ रुसी मन्त्रालयले एक विज्ञप्तिमा भन्यो।
र, साथै ब्रिटिश अधिकारीहरूको कार्यको प्रतिक्रियामा रूसी ‘स्टप लिस्ट’ विस्तार गर्ने काम जारी रहनेछ।
मस्को, ७ भदौं ।
रुस–युक्रेन युद्धको बीचमा भ्लादिमिर पुटिनलाई चुनौती दिने वाग्नर समूहका प्रमुख येभगेनी प्रिगोजिनको विमान दुर्घटनामा मृत्यु भएको बताइएको छ।
समाचार अनुुसार मस्कोबाट सेन्ट पिटर्सबर्ग जाँदै गरेको विमान टभर क्षेत्रको कुजेनकिनो गाउँ नजिकै दुर्घटनाग्रस्त भएको थियो, जसमा प्रिगोजिनसहित १० जना सवार थिए। यी सबैको मृत्यु भएको दाबी गरिएको छ । तर, करिब आधा बाटो हिडेर दुर्घटनाग्रस्त भएको विमानमा के भयो भन्ने अझै खुल्न सकेको छैन ।
प्रिगोजिन चढेको प्राइभेट जेट एम्ब्रेर लिगेसी ६०० एग्जिक्युटिभ जेट भएको बताइएको छ । उडान ट्र्याकिङ डाटा वेबसाइट फाइट राडर २४ अनुसार उक्त विमानले ३० मिनेटको उडानमा कुनै समस्या देखाएन र सामान्य रूपमा सञ्चालन गरिरहेको थियो।
तर, दिउँसो ३.१९ बजे विमान एक्कासी तल खस्न थाल्यो । २८ हजार फिटको उचाइमा उडेको विमान मात्र ३० सेकेण्डमै ८ हजार फिट तल खसेको थियो । इयान पेचेनिकका अनुसार ती ३० सेकेन्डमा जे भयो, त्यो धेरै छिटो भयो । तर, दुर्घटना हुनुअघि विमानमा कुनै गडबडी भएको देखिँदैन ।
विमान निर्माता कम्पनीले लामो समयदेखि सेवा उपलब्ध गराएको छैन । विमान बनाउने ब्राजिलको कम्पनी एम्ब्रायर एसएले एक विज्ञप्ति जारी गर्दै १३ सिटको विमानलाई कुनै पनि सेवा दिन बन्द गरेको र रुसविरुद्धको अन्तर्राष्ट्रिय प्रतिबन्धको पालना गरिरहेको बताएको छ ।
फलाइट राइडर २४ ले यस विमानको दर्ता नम्बर आर ए ०२७९५ रहेको फेला पारेको छ। रिपोर्टहरूका अनुसार प्रिगोजिनले पुटिन विरुद्ध विद्रोह सुरु गर्दा यो लक्जरी जेटमा बेलारुस लगिएको थियो।
फ्लाइट ट्र्याकिङ डाटाका अनुसार दुर्घटना हुनुअघि विमानको अन्तिम सटीक स्थान बिहान ३.११ मा प्राप्त भएको थियो। तर, सिग्नल जाम वा नेटवर्कमा केही हस्तक्षेपका कारण धेरै डाटा प्राप्त हुन सकेको छैन।
मस्को, ७ भदौं ।
वाग्नरका नेता येभगेनी प्रिगोजिनको मृत्यु हुदाँ रुसी राष्ट्रपति भ्लादिमर पुटिन भने एक सांस्कृति कार्यक्रममा थिए ।
प्रिगोजिन भएको अनुमान गरिएको विमान दुर्घटनाको खबर बाहिर आएपछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले नाजी जर्मनीमाथि सोभियत युद्धको विजयको ८० औं वर्षगाँठको अवसरमा कुर्स्कमा आयोजित कार्यक्रममा बोल्दै थिए।
१९४३ मा भएको युद्धलाई इतिहासको सबैभन्दा ठूलो ट्याङ्क युद्ध मानिन्छ।
पुटिनले विमान दुर्घटनाको उल्लेख गरेनन् तर उनले युक्रेनमा ‘बहादुर र दृढतापूर्वक लडिरहेका’ रूसी सैनिकहरूलाई श्रद्धांजलि अर्पण गरे।
अघिल्लो दिन पुटिनले दक्षिण अफ्रिकामा ब्रिक्स शिखर सम्मेलनमा भाग लिएका थिए, जहाँ उनले युक्रेनमा युद्ध समाप्त गर्न प्रतिबद्ध रहेको बताएका थिए, जसको लागि उनले पश्चिमी राष्ट्रलाई दोष दिएका थिए।
प्योङयाङ, ७ भदौं ।
उत्तर कोरियाले आफ्नो पहिलो प्रक्षेपण समुद्रमा खसेको तीन महिनापछि एउटा जासुसी उपग्रह अन्तरिक्षमा राख्ने दोस्रो प्रयास असफल भएको छ।
बिहीबार बिहानको प्रयास यसको उडानको तेस्रो चरणको क्रममा असफल भएको उत्तर कोरियाली राज्य मिडियाले जनाएको छ ।
उत्तर कोरियाली नेता किम जोङ उनका लागि जासूस उपग्रह एक प्रतिष्ठित पुरस्कार हो किनकि यसले उसलाई आउने आक्रमणहरूको निगरानी गर्न र आफ्नै आफ्नै योजनाहरू अझ सटीक बनाउन सहयोग गर्छ ।
यद्धपी, प्योङयाङको अन्तरिक्ष एजेन्सीले अक्टोबरमा फेरि प्रयास गर्ने बताएको छ।
दक्षिण कोरियाले स्थानीय समय अनुसार बिहान ३ः५० बजे मा रकेट प्रक्षेपण भएको पत्ता लगाएको र यो मुख्य भूमि चीन र कोरियाली प्रायद्वीप बीचको पहेंलो सागर (एल्लो सि) को अन्तर्राष्ट्रिय हवाई क्षेत्रबाट उडेको बताएको छ।
सो प्रक्षेपणले केही मिनेट पछि जापानको दक्षिणी ओकिनावा प्रान्तमा आपतकालिन चेतावनी दिएको थियो भने त्यहाँका बासिन्दाहरूलाई घर भित्र कभर गर्न आग्रह गरिएको थियो । करिब २० मिनेटपछि त्यो खतराको अलर्ट हटाइयो।
सो प्रक्षेपणको निन्दा गर्दै जापानी प्रधानमन्त्री फुमियो किशिदाले भने, ‘यस्तो व्यवहार संयुक्त राष्ट्र संघको प्रस्तावको विरुद्धमा जान्छ र हामी पहिले नै दृढताका साथ विरोध गरिरहेका छौं ।’
अमेरिकाले उत्तर कोरियालाई ‘थप धम्कीपूर्ण गतिविधि’ नगर्न आग्रह गरेको छ र प्योङयाङलाई गम्भीर कूटनीतिमा संलग्न हुन आह्वान गरेको छ।
तर बिहीबारको असफलता प्योङयाङका लागि निराशाजनक हुने भएता पनि उनीहरूले प्रगति गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जानकारी दिएका छन् ।
इन्दीप कोइराला,बारा, ७ भदाैं ।
बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२२ चुरियामाईमा तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ ।
काठमाडौंबाट जनकपुर जाँदै गरेको मधेस प्रदेश–०३–००१ ख ७९९४ नम्बरको बस बुधबार राति करिब २ः३० बजेको समयमा दुर्घटना भएको हो । चालकसहित २६ यात्रु सवार उक्त बस चुरियामाई मन्दिरबाट १० देखि १५ मिटर दक्षिण तर्फको खोलामा खसेको छ । साे दुर्घटनामा १७ जना घाइते भएका छन् ।
दुर्घटनामा मृत्यु हुने चार महिला र तीन पुरुष रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरिक्षक दधिराम न्यौपाने जानकारी दिए । उनका अनुसार साे बसका घाइतेलाइ हेटौंडाको चुरेहिल अस्पताल र हेटौंडा अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटना पछि बसका चालक र सह–चालकलाई प्रहरीले नियन्त्रणमा लिई घटनाको थप अनुसन्धान कार्य भई रहेको प्रहरीको भनाई रहेको छ ।
मृत्यू भएका व्यक्तिहरुः
– १) जि. महोत्तरी लोहार पटी बस्ने अ.बर्ष ४१ को बिजय लाल पण्डित
२) हाल नाम थर वतन नखुलेको अ.बर्ष ६५ की महिला
३) हाल नाम थर वतन नखुलेको अ.बर्ष ६५÷७० को पुरुष ब्यक्ति
४) हाल नाम थर वतन नखुलेको अ.बर्ष ५५÷६० की महिला
५) देश भारत राजस्थान बस्ने अ.बर्ष ६७ को बहादुर सिंह
६) देश भारत राजस्थान बस्ने अ.बर्ष ६५ की मिरा देबी
७) हाल नाम थर वतन नखुलेको अ.५५÷६० की महिला
घाईतेहरुः–
१) देश भारत राजस्थान बस्ने अ.४८ को घनश्याम चतुरबेदी
२) जिल्ला महोत्तरी जलेश्वर न.पा.बस्ने अ.बर्ष ३८ को बिहारी मुखीया
३) जिल्ला धनुषा मौवा गा.पा.१८ जनकपुर बस्ने अ.बर्ष ४१ को घुरन मण्डल
४) जिल्ला महोत्तरी लोहारपति न.पा.५ बस्ने अ.बर्ष २६ को जसबेन्दर पासवान
५) देश भारत राजस्थान बस्ने अ.बर्ष ५३ की माया देबी
६) ऐ.ऐ.बस्ने अ.बर्ष ३५ को अनिल कुमार
७) ऐ.ऐ.बस्ने अ.बर्ष ५० को तारा वती चतुरबेदी
८) निजकै नातिनि अ.बर्ष ९ की क्रितिका चतुरबेदी ।
९) ऐ.ऐ.बस्ने अ.बर्ष ४८ को श्याम लाल माली
१०) ऐ.ऐ.बस्ने अ.बर्ष ४७ को हरवारी माली
११) ऐ.ऐ.बस्ने अ.बर्ष ७० की चौथी देबी
१२) ऐ.ऐ.बस्ने अ.बर्ष ७२ को सुरेस चन्द्र चक्रवती
१३) ऐ.ऐ.बस्ने अ.बर्ष ७३ को राम प्रसाद
१४) देश भारत राजस्थान बस्ने अ.बर्ष ६३ को धरम सिंह
१५) ऐ.ऐ.बस्ने अ.बर्ष ६० की ईन्दु धाकद
१६) ऐ.ऐ.बस्ने अ.बर्ष १६ की गर्बिदा चतुरबेदी
१७) ऐ.ऐ.बस्ने अ.बर्ष ५४ को राम कुमार चतुरबेदी ।