२०८३ भाद्र ५
२०८३ भाद्र ५

 

सुनसरी, ८ भदौ ।

धरान उपमहानगरपालिकाका प्रमुख हर्क राज राई (हर्क साम्पाङ)ले संयमित हुँदै सामाजिक, धार्मिक सद्भाव कायम राख्न अपील गरेका छन् । शुक्रबार अपील जारी गर्दै उनले सामाजिक र आपसी सद्भाव, भाइचारा र एकता कायम राख्न धरान नगरवासीहरूमा अपील जारी गरेका हुन् ।

 

पछिल्लो समय धरानमा जातीय र धार्मिक द्वन्द्व बढ्ने खतर बढ्दै गएका बेला उनले उक्त अपील जारी गरेका हुन् ।

‘बहुजातीय, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतालाई आत्मसात गरी विविधता बिचको एकता सामाजिक, सांस्कृतिक सदभावलाई संरक्षण गरी समृद्ध समाजको निर्माण गर्नु नै हाम्रो कर्तव्य हो । समाजमा देखिने अशान्ति विभेदले विचार, विधि र व्यवहारमा स्थान पाउँदै गएमा सामाजिक अन्तरसम्बन्ध खलबलिने, अन्तर विरोध बढाउने, प्रतिशोध र द्वन्द्वलाई निम्त्याउने भएकोले यस प्रकारको विविधताको नकारात्मकतालाई सकरात्मकतामा परिणत गर्न सयौँ थुँगा फुलका हामी एउटै माला नेपाली भन्ने भावलाई आत्मसात गर्दै हाल देखिएको अशान्तिमय वातावरण सबैले संयमित र संवेदनशील भएर सबै पक्ष, समुदाय र हरेक नागरिकको भावना प्रतिबिम्बित हुनेगरी आपसी सदभाव, भाइचारा र एकता’ कायमका लागि सम्पूर्ण आम धरान नगरवासीहरूमा हार्दिक अपील गर्दछु,’ उनले आग्रह गरेका छन् ।

 

 

काठमाडौ, ८ भदौ ।

शाइन रेसुंगा डेभलपमेन्ट बैंकको शुक्रबारदेखि २० हजार कित्ता सेयर लिलामी बिक्री खुला भएको छ । बैंकले संस्थापक समूहको सेयर लिलामीमार्फत बिक्री खुला गरेको हो । लगानीकर्ताले न्यूनतम १४५ रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुनुपर्नेछ । न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।

 

आवेदन दिने अन्तिम म्याद भदौ १७ गतेसम्म रहेको छ । यो सेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्नेछन् । लिलामीको बोलपत्र बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल, ट्रेड टावर थापाथली काठमाडौंमा बुझाउन सकिनेछ ।

 

विराटनगर, ८ भदौ ।

उच्च अदालत विराटनगरले सुनसरीस्थित धरान उपमहानगर पालिकाका प्रमुख हर्क राज राई (हर्क साम्पाङ)लाई व्यक्तिका जग्गामा प्रवेश नगर्न आदेश दिएको छ ।

बिहीबार उच्च अदालतका न्यायाधीश दिनेशप्रसाद यादवको एकल इजलासले प्याराग्लाइडिङ व्यवसायी रोशन अधिकारी र रोजिना अधिकारीको जमिनमा प्रवेश नगर्न, उनीहरूमाथि धरपकड नगर्न आदेश दिएको हो ।

यसअघि पनि अदालतले सोही आदेश दिएको थियो । जबरजस्ती व्यक्तिको जग्गामा वृक्षारोपण गर्न गएपछि अदालतले एक महिनाअघि व्यक्तिको जमिनमा प्रवेश नगर्न र वृक्षारोपण नगर्न आदेश दिएको थियो ।

 

धरान–४ स्थित छोटी मोरङ डाँडामा रहेको रोशन अधिकारी र रोजिना अधिकारीको जमिनमा साम्पाङले जबरजस्ती विरूवा रोपेको भन्दै अधिकारी दम्पती यसअघि नै अदालत गएका थिए ।

 

गत सोमबार मेयर साम्पाङ फेरि जमिनमा पुगेर घर भत्काइदिने धम्की दिएपछि विवाद बल्झेको थियो ।   उक्त घटनाले आफूमाथि दुर्व्यवहार भएको भन्दै मेयर साम्पाङले प्रशासनमा उजुरी दिए ।

 

अधिकारी दम्पतीलाई पक्राउ गर्न मेयर साम्पाङले प्रहरीलाई दबाब दिएपछि उनीहरु पुनः अदालत गएपछि दोस्रोपटक सो आदेश आएको हो ।
 

 

काठमाडौ, ८ भदौ ।

एनआइसी एसिया बैंकले देशका विभिन्न स्थानमा रहेका १०३ कित्ताभन्दा धेरै घरजग्गा बिक्री गर्ने जनाएको छ । बैंकले शुक्रबार  सूचना प्रकाशित गरेर लिलामी सकारेर पनि बिक्री हुन नसकिरहेको गैर बैंकिङ सम्पत्तिको रुपमा रहेका यी घरजग्गाको पुनः बिक्री गर्न लागेको जनाएको छ ।

 

बैंकले कपिलवस्तु, रुपन्देही, नवलपरासी, गुल्मी, रौतहट, सिराहा, मकवानपुर, काठमाडौंलगायतका विभिन्न स्थानमा रहेको सम्पत्ति बिक्री गर्न लागेको हो । यसको लागि बैंकले ७ दिने गोप्य शिलबन्दी बोलपत्र पेश गर्न आह्वान गरेको छ ।

यसरी गैर बैंकिङ सम्पतिहरु बिक्री हुन सकेमा त्यसबाट बैंकको वित्तीय स्वास्थ थप मजबुत बनाउन सहयोग पुग्नेछ । बैंकले कर्जा प्रवाह गर्दा समयमा साँवा–ब्याज असुली नभएपछि धितोमा राखेका गैर बैंकिङ सम्पतिहरु लिलाम गरेर सकारेको हो । ती सम्पति पुनः बिक्री गर्न पाइन्छ । यसरी बिक्री भएपछि त्यसलाई वासलतमा देखाउन पाइन्छ ।

 

मुकेश कुमार यादव,सिरहा, ८ भदौ ।

सिरहाको सीमाक्षेत्र आसपासका व्यापारी तथा व्यवसायीसँग आफू नेपाल प्रहरीको सई हुँ भन्दै अवैध रकम असुल्ने नक्कली प्रहरी पक्राउ परेका छन् ।

 

व्यवसायीहरुलाई नक्कली पेस्तोल देखाउँदै आफू नेपाल प्रहरीको सई हु भन्दै रकम असुल्ने लक्ष्मीपुर पतारी–१ का कुमोदकुमार साहलाई नक्कली पेस्तोलसहित नेपाल भारत सीमाक्षेत्र बडियारपट्टी गाउँपालिका ३ बाट सशस्त्र प्रहरीले पक्राउ गरेको हो ।

 

भारतबाट नेपाल तर्फ आइरहेका लक्ष्मीपुरपतारी–२ का मुकेश यादव र सखुवानन्कारकट्टी गाउँपाालिका–१ का सदन नारायण दासलाई नक्कली पेस्तोल देखाउँदै ‘नेपाल प्रहरीको सई हँु’ भन्दै धम्क्याई रहेकोे अवस्थामा सशस्त्र प्रहरीले नियन्त्रणमा लिएकाके जनाएको छ।

पक्राउ परेका साहलाई आवश्यक कार्वाही तथा अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय सिरहा पठाएको छ।

 

यता, सीमानाकाहरुमा सादा पेसाकमा व्यापक रुपमा परिचालन गरिएका घुमुवा प्रहरीहरुले पनि खुल्लेआम रुपमा तस्कर तथा स–साना व्यापारीहरुसँग अवैध रकम असुली गर्ने कार्य बढेको  स्थानीहरु गुनासो गर्छन् ।

 

सीमानाकामा शान्ति सुरक्षा तथा चोरी तस्करी नियन्त्रण गर्न खटाइएका प्रहरीहरुकै मिलोमतोमा व्यापक रुपमा चोरी तस्करी हुने गरेको छ ।
 

 

काठमाडौ, ८ भदौ ।

अरुण काबेली पावरले सोमबार भदौ ११ गतेदेखि १०० प्रतिशत हकप्रद सेयर बिक्री खुला गर्ने भएको छ । यस हकप्रदमा भदौ ३१ गतेसम्म आवेदन दिन सकिनेछ ।

 

यसअघि कम्पनीले भदौ ८ गतेदेखि भदौ २८ गतेसम्म हकप्रद सेयर निष्काशन गर्ने जनाएको थियो । तर यसअघि प्रकाशित सूचनामा गल्ती भएकाले भूल सुधार गरिएको भन्दै हकप्रद सेयर निष्काशन गर्ने मिति परिवर्तन गरेको जनाएको छ ।

 

कम्पनीले १ः१ अनुपातमा १ करोड ८५ लाख ५२ हजार १०५ कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो । जसअनुसार यसले १ सयअंकित मूल्यमा १ अर्ब ८५ करोड ५२ लाख १० हजार ५ सय रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गर्नेछ । उक्त हकप्रद सेयरका लागि यसले असार २५ गते बुक क्लोज गरिसकेको छ ।

 

तसर्थ, असार २४ गतेसम्म कायम लगानीकर्ताले हकप्रद सेयरको दाबी गर्न पाउनेछन् । यस हकप्रद सेयरलाई क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले इक्रा एनपी त्रिपल बी माइनस रेटिङ प्रदान गरेको छ । यसले वित्तीय दायित्व पूरा गर्ने क्षमता औसत सुरक्षित रहेको संकेत गर्दछ ।

 

यसको हकप्रद सेयरमा नबिल इन्भेष्टमेन्ट बैंकिङले बिक्री प्रबन्धकको काम गर्नेछ । हकप्रदमा नबिल इन्भेष्टमेन्ट बैंकिङ र अरुण काबेलीको कार्यालय ट्रेड टावर थापाथलीबाट आवेदन दिन सकिनेछ । उक्त स्थानबाट आवेदन दिंदा चेकमात्र भुक्तानी हुने कम्पनीले जनाएको छ ।

 

हिमलयन र नबिल बैंकको तोकिएको शाखा कार्यालयबाट पनि आवेदन दिन सकिनेछ । यसका साथै धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ । हाल यस कम्पनीको चुक्ता पुँजी १ अर्ब  ८५ करोड ५२ लाख १० हजार ५ सय रुपैयाँ रहेको छ । हकप्रद जारी गरेपछि यसको चुक्ता पुँजी ३ अर्ब ७१ करोड ४ लाख २१ हजार रुपैयाँ पुग्नेछ ।

मुकेशकुमार यादब,सिरहा, ८ भदौ।

सिरहा प्रहरीले करिब पाँच केजी चाँदीको गरगहनासहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। जिल्लाको पूर्वीनाका नेपाल–भारत सीमाक्षेत्र भगवानपुर गाउँपालिका ४ ठाडी बसपार्कबाट ५ केजी चाँदीको गरगहनासहित भारतबाट नेपाल तर्फ आईरहेका पैदल यात्री जिल्ला मधुबनी बरहमपुरा ३ का ५२ वर्षिय विश्वनाथ साहलाई पक्राउ गरेको हो।

 

विषेश सुचनाको आधारमा प्रहरीले चेकजाचँ गर्ने क्रममा कपडाको धोक्रोमाहाली नाइटोभन्दा मुनी कमरमा बाँधेको अवस्थामा पाँच लाख मूल्य बराबरको पाँच केजी चाँदीसहित साहलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीसपी रविन्द्र पाण्डेले जनाएको छ।

 

पक्राउ परेका भारतीय नागरिक साहलाई आवश्यक अनुसन्धानको लागि चाँदीसहित इलाका प्रहरी कार्यालय लहान पठाइएको डीसपी  पाण्डेले जनाए।

 

 

 

 

भ्यानकुभर, ८ भदाै।

ग्लोबल इनभ्यारोमेन्ट फ्यासिलिटी (जीईएफ) को ७ औँ विश्व सम्मेलनको प्लेनरी सेसनबाट नेपालका अर्थमन्त्री डा. प्रकाशशरण महत  उपाध्यक्षमा निर्वाचित भएका छन् । शुक्रबार एसेम्बलीको जारी बैठकमा गणतन्त्र पानामाको प्रस्ताव तथा नेदरल्याडको समर्थनमा मन्त्री महत उपाध्यक्षमा निर्वाचित हुनु भएको हो ।

 

यस अगाडि मन्त्री डा.महतले विश्व वातावरण कोषको एसेम्वली बैठकमा सम्बोधन गर्दै नेपालले कूल क्षेत्रफलको ४५ प्रतिशत वन संरक्षण गरी समग्र मानव समुदायको लागि स्वच्छ अक्सिजन प्रवाह गरेको बताए । उनले दक्षिण एसियाका एक अर्बभन्दा बढी जनसंख्याको लागि पानीको श्रोत रहेको बिषय विश्व समुदायमा ध्यानाकर्षण गरे ।

 

नेपालले जैविक विविधताको संरक्षणमा ईमान्दार प्रयत्न गरिरहेको साथै दुर्लभ तथा संकटापन्न जंगली जनावर तथा प्रजातीहरुको संरक्षण गरेको र सोको नतिजा स्वरुप बाघ तथा गैडाको संख्यामा उल्लेख्य रूपमा बृद्धि भएको बताए । यस्ता वन तथा वन्यजन्य सम्पदा नेपालको लागि मात्र नभई विश्व मानव समुदायकै सम्पदाको रुपमा रहेको उल्लेख गर्दै यी प्रयासका वाबजुत पनि नेपाल जलवायू परिवर्तनका दृष्टिकोणले उच्च जोखिममा पर्दछ । नेपाल विश्वको १० औं जोखिमयुक्त मुलुक भएको र पछिल्ला दिनहरुमा बाढी पहिरो अतिवृष्टि सुख्खा साथै हिमताल बिस्फोटको जोखिम समेत बढेको बताए ।

 

नेपालको तापक्रम सन् २०३० सम्ममा ०.५ देखि २.० डिग्रि सेल्सियसले बढ्ने अनुमान रहेको र यसबाट हुने असर र प्रभावसँग सामना गर्न सन् २०५० सम्ममा ५० अर्ब अमेरिकी डलर भन्दा बढी लगानी आवश्यक रहेको तर्फ सहभागीहरुको ध्यानाकर्षण गराए । अर्थमन्त्री डा. महतले जलवायू वित्तबाट सञ्चालित कार्यक्रमहरुको प्रभावकारी कार्यान्वयनमा जोड दिँदै यसै एसेम्वलीबाट अनुमोदित विश्व जैविक विविधता खाका कोष लगायतका श्रोत अति प्रभावित मुलुकहरुमा केन्द्रित गर्न अनुरोध गरे । उनले जबसम्म एकीकृत र समुच्च रुपमा कार्यान्वयन गरिदैंन तबसम्म कोषको आकार मात्र बढाएर खासै प्रभावकारी नहुने धारणा राखे ।

जलवायू परिवर्तन जोखिम उच्च भएका देशहरुको समेत प्रतिनिधित्व गर्दै लगानी आयोजनाहरुको गुणस्तर बढाउन स्थानीय जनताको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउनेगरी कार्यान्वयन गर्नु पर्नेमा जोड दिए । उनले  मानव विकासको क्षेत्रमा महत्वपूर्ण लगानी नगर्दासम्म वातावरणीय दिगोपना हाँसिल हुन नसक्ने बताए । अर्थमन्त्री डा. महतले वातावरणीय कोषका कार्यक्रमहरू राष्ट्रिय प्रणाली मार्फत कार्यान्वयन गर्नु पर्नेमा जोड दिँदै आयोजनामा ठोस तथा पहिचानयुक्त क्रियाकलाप समावेश गर्न र आयोजनाका मुख्य क्रियाकलापमा लगानी केन्द्रित गर्न जोड दिए ।  यसैगरी उनले जलवायू परिवर्तनको बहुआयामिक असरलाई सम्बोधन गर्न उच्चस्तरको सहकार्य र सबैको योगदान आवश्यक रहेको धारणा राखे ।

 

 

काठमाडौ, ८ भदौ ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले संस्थापक सेयरधनीको नाममा रहेको संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले ३ लाख ७१ हजार १८१ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो । यसमा बैंकका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले शुक्रबारदेखि ३५ दिनभित्र आवेदन दिनुपर्नेछ ।

 

बैंकको केन्द्रीय कार्यालय, दरवारमार्ग काठमाडौंमा खरिद गर्न चाहेको सेयर संख्या खुलाई आवेदन दिनुपर्नेछ । सेयर भाउ भने बिक्रेताले तोके बमोजिम हुने सूचनामा उल्लेख छ । उक्त समयमा संस्थापक सेयरधनीले सेयर खरिद नगरे अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री गरिने बैंकले जनाएको छ ।

 

काठमाडौं, ८ भदौ ।

लगानी बोर्ड बैठकले चारवटा जलविद्युत् परियोजनाहरू स्वीकृत गरेको छ । शुक्रबार प्रधानमन्त्री एवं लगानी बोर्डका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको लगानी बोर्डको ५५औं बैठकले चारवटा जलविद्युत् परियोजनाहरू रोल्वालिङ खोला, छुजुङ्ग खोला, दाना खोला र सानीभेरी जलविद्युत् परियोजनाका लागि कुल ३६ अर्ब ३७ करोड रुपैयाँ बराबरको लगानी स्वीकृत गरेको हो ।

 

बैठकले तमोर जलाशययुक्त जलविद्युत् परियोजना कार्यान्वयन अघि बढाउने सम्बन्धमा हालसम्मको विकासक्रमको समीक्षा गर्दै परियोजनाको भावी कार्यदिशासम्बन्धी सुझाव पेस गर्न उच्चस्तरीय समिति गठन गर्ने निर्णय गरेको छ ।

 

दाङको राजपुर गाउँपालिकामा २४५ मेगावाट र २० मेगावाट ब्याट्री क्षमताको सौर्य ऊर्जा परियोजनाको अध्ययनका लागि ‘डोल्मा हिमालयन इनर्जी’लाई अध्ययन अनुमतिपत्र दिने निर्णय गरेको छ । साथै, बाँकेको कोहलपुर र कपिलवस्तुको वाणगंगामा २५० मेगावाटको सौर्य ऊर्जा विकासका लागि अध्ययनकर्ता ’राईजेन इनर्जी कम्पनी’बाट पेस भएको विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदनलाई बोर्डले जानकारीमा लिएको छ ।

बोर्डले माथिल्लो कर्णाली जलविद्युत् परियोजनाको सम्बन्धमा सम्मानित सर्वोच्च अदालतबाट जारी भएको निर्देशनात्मक आदेश कार्यान्वयनका लागि मन्त्रिपरिषद् समक्ष प्रस्ताव पेश गर्ने निर्णय गरेको छ । यसका अतिरिक्त, बोर्डको बैठकले ’ग्रीन क्याल्सियम नाइट्रेट फर्टिलाइजर फ्याक्ट्री’ स्थापनासम्बन्धमा अध्ययनका लागि मलेसियास्थित ’रेनिकोला एसडीएन बीएचडी’सँग गरिने समझदारीको मस्यौदा स्वीकृत गरेको छ।

बैठकमा विभिन्न परियोजनाहरूको सम्बन्धमा गहन छलफल भई महत्वपूर्ण निर्णय भएको विचार व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डलले आगामी दिनमा जलविद्युत् परियोजनाहरूको परियोजना लागत निर्धारण गर्दा ब्यांकेबल हुने गरी थप अध्ययन÷विश्लेषण गर्न, कार्यान्वयनमा रहेका परियोजना समयमा सम्पन्न गर्न आवश्यक समन्वय प्रगाढ बनाउन र लगानी स्वीकृति र परियोजना कार्यान्वयनमा रहेका प्रक्रियाहरूलाई छोट्याउँदै छिटोछरितो र परिणाममुखी कार्यसम्पादन गर्न सम्बन्धित सबै निकायहरूलाई निर्देशन दिए ।

 

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।