२०८३ भाद्र ५
२०८३ भाद्र ५

 

 काठमाडौँ, ११ भदाै । 

प्रधानमन्त्री तथा राष्ट्रिय विकास समस्या समाधान समितिका अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड”ले भ्रष्टाचार निवारण र सुशासन कायम गर्ने जिम्मेवारी केन्द्र सरकारको मात्र नभएर सिंगो देशको एजेण्डा भएकाले प्रदेश र स्थानीय तहले समेत सुशासन कायम गर्न अभियान चाल्नुपर्ने बताएका छन् ।

सोमबार दिउँसो सिंहदरबारमा आयोजित राष्ट्रिय विकास समस्या समाधान समितिको ५१औँ बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सुशासन कायम गर्ने कार्यभार सिंगो देशको भएको बताए । बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भने, “संघीय सरकारले प्रारम्भ गरेको भ्रष्टाचार निवारण र सुशासन स्थापित गर्न चालेको कदम प्रदेश र स्थानीय तहमा समेत बिस्तारित गर्दै दण्ड र पुरस्कारको प्रणालीलाई स्थापित गर्न, राम्रो काम गर्नेहरूलाई प्रोत्साहित गर्न र आम जनसमुदायमा आशाको रक्तसञ्चार गर्न आवश्यक छ। कुण्ठा र निरासालाई चिरेर देशमा आशाको नयाँ परिस्थिति निर्माण गर्न सकिन्छ। यसतर्फ गम्भीर रूपले ध्यान दिनसमेत म विशेष अनुरोध गर्दछु।”

प्रधानमन्त्रीको सम्बोधन (पूर्णपाठ)

राष्ट्रिय विकास समस्या समाधान समितिको यस ५१औं बैठकमा आर्थिक वर्ष २०७९/८० मा नेपाल सरकारका बिभिन्न मन्त्रालयहरू तथा प्रदेश सरकारहरूबाट भए गरेका कामकारबाहीको समीक्षा प्रस्तुत भएको छ भने माननीय उपप्रधानमन्त्रीज्यूहरू, मन्त्रीज्यूहरू, मुख्यमन्त्रीज्यूहरू लगायत उपस्थित बिभिन्न महानुभावहरूले आफ्ना राय प्रतिक्रिया पनि राखी सक्नुभएको छ। म सर्वप्रथम यो समीक्षा प्रतिवेदन तयार गर्ने प्रक्रियामा संलग्न हुनुभएका र आजको यस छलफलमा भाग लिएर आफ्नो राय प्रतिक्रिया दिनु हुने सबैप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु।

गत आर्थिक वर्षमा हामीले खासगरी जनतालाई सेवा प्रवाह गर्ने क्षेत्रमा केही महत्वपूर्ण कार्य गर्न सफल भएका छौँ। त्यसैगरी, सुशासनको क्षेत्रमा पनि केही नयाँ पहल अघि बढेको अवस्था छ। तर, विकास निर्माणको क्षेत्रमा भने गएको वर्ष हामीले अपेक्षाअनुसार काम गर्न सकेनौं भन्ने तथ्य आजको प्रगति समीक्षाले देखाएको छ।

सरकारको पुँजीगत खर्च समग्रमा ६१.५ प्रतिशतमा सीमित रहनु हाम्रो लागि चिन्ताको विषय हो। कुल बजेट बिनियोजनमा पुँजीगत खर्चको अंश त्यसै पनि न्यून रहने र त्यही न्यून बजेट पनि पूरा खर्च नहुने अवस्था हरेक वर्ष दोहोरिने बारेमा हामी सबैले गम्भीर भएर सोच्न आवश्यक छ। यो समस्याको समाधान हामी आफैले निकाल्न सक्छौँ र निकाल्नैपर्दछ।

समग्र पुँजीगत खर्च सन्तोषजनक नभएता पनि मन्त्रालयगत र आयोजनागत रूपमा हेर्दा केही मन्त्रालय र केही राष्ट्रिय गौरवका आयोजनाहरूले तुलनात्मक रूपमा राम्रो गरेको अवस्था पनि छ। म पुँजीगत खर्च ७० प्रतिशत कटाउने ७ मन्त्रालयहरू र भौतिक प्रगति ९० प्रतिशतभन्दा बढी हासिल गर्ने १० वटा राष्ट्रिय गौरवका आयोजनासँग सम्वद्ध सबैलाई हार्दिक बधाइ ज्ञापन गर्दछु। साथै गत वर्षको अनुभवबाट पाठ सिकेर यस आर्थिक वर्ष न्यून प्रगति भोग्नुपरेका मन्त्रालय तथा आयोजनाहरूलाई नयाँ कार्ययोजना साथ अघि बढ्न पनि निर्देशित गर्दछु।

गत आर्थिक वर्षमा इन्धनको मूल्य वृद्धि भएको कारण निर्माण लागत बढेको, सिंगो देश स्थानीय तह, प्रादेशिक र संघीय निर्वाचनमा केन्द्रित हुनुपरेको, केही समय नदीजन्य निर्माण सामग्रीको आपूर्तिमा समस्या सिर्जना भएको साथै राजस्व प्राप्तिमा आएको संकुचनले पछिल्लो समय केही कार्यहरू कटौती गर्नुपरेको जस्ता कारणले समेत विकास निर्माणका कार्य प्रभावित बन्न पुगेको देखिन्छ।

यस आर्थिक वर्षमा गत वर्षका परिघटनाहरू दोहोरिने अवस्था छैन। अर्कोतर्फ पुँजीगत खर्च बढाउन बिभिन्न उपायहरू कार्यान्वयन गर्ने प्रक्रिया अघि बढेको परिप्रेक्ष्यमा उपलव्ध भएको बजेट पूर्णरूपमा खर्च हुने गरी विकास निर्माणका कार्यको नेतृत्व गर्न म सबै माननीय मन्त्री तथा मुख्यमन्त्रीज्यूहरूलाई अनुरोध गर्दछु। त्यसैगरी, मुख्य सचिवज्यू तथा सचिवज्यू लगायत सबै राष्ट्रसेवक कर्मचारीलाई यस वर्ष विकास निर्माणको कार्यमा उदाहरणीय नतिजा ल्याउने र पुँजीगत खर्च शतप्रतिशत पु¥याउने गरी काम गर्न आग्रह गर्दछु।

मैले यसअघि नै औपचारिक फोरमहरू र राष्ट्रिय योजना आयोगलाई पनि भनिसकेको छु– हाम्रो विकासको मोडेलमा व्यापक बहस र रूपान्तरण आवश्यक छ। विकास निर्माण र बजेट बिनियोजन प्राथमिकताका आधारमा हुनुपर्नेमा भनसुन र पहुँचका आधारमा हुनुले हामीले विकासमा असन्तुलनको मात्र सामना गरिरहेका छैनौँ, पुँजीगत खर्चमा समेत अपेक्षित लक्ष्य हासिल गर्न सकिएको छैन। अर्कोतर्फ नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्ने समय बीचको अवधि छोटो हुँदा नीति तथा कार्यक्रमले निर्देशित गरेअनुरूपको बजेट नआउने, नीति तथा कार्यक्रम र बजेटमा जनप्रतिनिधि, बौद्धिक समुदाय र नागरिक समाजको बृद्धि र विवेकको प्रयोग नहुँदा त्यसप्रतिको अपनत्वभाव कमजोर हुने तथा बजेट भाषण गरेपछि त्यसमाथि परिमार्जन नहुने हाम्रो प्रणाली र अभ्यासले समेत विकास र समृद्धिको कार्यभारमा चुनौती सिर्जना गर्ने गरेको छ। मैले यसअघि नै घोषणा गरेको छु– यो परम्परालाई आगामी आर्थिक वर्ष सच्चाइनेछ। तर, सच्चाउने कसरी ? यससम्बन्धी मूर्त कार्ययोजनाको मस्यौदा तयार पारी पेश गर्नसमेत यसै बैठकमार्फत् राष्ट्रिय योजना आयोगलाई निर्देशित गर्दछु।

विकास आयोजनाहरूमा राम्रो गर्नेहरूलाई पुरस्कृत र गलत गर्नेहरूलाई दण्डित गर्ने नीति, योजना र कार्यक्रमबाट सुशासन स्थापित गर्दै विकास आयोजनाको कामलाई तीव्रता दिन सकिन्छ। तसर्थ, संघीय सरकारले प्रारम्भ गरेको भ्रष्टाचार निवारण र सुशासन स्थापित गर्न चालेको कदम प्रदेश र स्थानीय तहमा समेत बिस्तारित गर्दै दण्ड र पुरस्कारको प्रणालीलाई स्थापित गर्न, राम्रो काम गर्नेहरूलाई प्रोत्साहित गर्न र आम जनसमुदायमा आशाको रक्तसञ्चार गर्न आवश्यक छ। कुण्ठा र निरासालाई चिरेर देशमा आशाको नयाँ परिस्थिति निर्माण गर्न सकिन्छ। यसतर्फ गम्भीर रूपले ध्यान दिनसमेत म विशेष अनुरोध गर्दछु।

राष्ट्रिय योजना आयोगको यसअघि सम्पन्न पूर्ण बैठकले १६ औँ योजनाको अवधारणा स्वीकृति गर्दै व्यापक बहस र अन्तरक्रियामार्फत् त्यसलाई पूर्णता दिने निर्णय गरेको छ। १६ औँ योजना निर्धारण गर्दा पहिलो योजनादेखि १५ औँ योजनासम्म हाम्रा उपलब्धीहरू के–कस्ता रहे, समस्या र चुनौतीहरू कहाँ–के रहे, त्यसको समाधानका निम्ति नीतिगत, कानुन, संस्थागत, संरचनागत र कार्यशैलीगत क्षेत्रमा के–कस्तो सुधार आवश्यक छ भन्नेबारे पनि गहन अध्ययन र निष्कर्ष निकाल्न जरूरी छ। तसर्थ, म यसै बैठकमार्फत १६ औँ योजनाको अवधारणालाई व्यापक बहसमार्फत अन्तिम रूप दिनसमेत निर्देशित गर्दछु।

सरकारले गर्ने खर्चले अर्थतन्त्रमा बहुआयामिक असर तथा अवसर सिर्जना गर्दछ। निजी क्षेत्र, सहकारी क्षेत्र, समुदाय र विकास साझेदारको स्रोतसाधनलाई हाम्रो आकांक्षाअनुरूपको समृद्धि हासिल गर्ने गरी परिचालन गर्न पनि सरकारले तोकिएको खर्च समयमै गर्न आवश्यक छ। तसर्थ, सरकार सम्पूर्ण अंगहरू प्रक्रियामुखी भन्दा परिणाममुखी सोंचका साथ अगाडि बढ्न आवश्यक छ।

आज यस बैठकमा राष्ट्रिय समस्याको रूपमा प्रस्तुत गरिएका ८ वटा समस्या समाधानको लागि यहाँ छलफलको क्रममा आएका सुझावहरूलाई समाबेश गरी समाधान गर्ने निर्णय लिइएको जानकारी गराउँछु। अन्त्यमा, निर्णय प्रक्रियामा देखिएको सक्रियता र तदारूकता कार्यान्वयनको प्रक्रियामा समेत थप प्रभावकारितासहित देखिने अपेक्षासहित ५१औँ बैठक यहीँ समापन भएको जानकारी गराउँछु, धन्यवाद।

 

काठमाडौं, ११ भदौ ।

कमल थापा नेतृत्वको राप्रपा नेपालले राजसंस्था पुनर्स्थापना र नेपाललाई हिन्दुराष्ट्र कायम गर्न माग गर्दै आन्दोलनमा उत्रिने भएको छ ।

सोहीअनुसार २९ भदौमा काठमाडौंमा धर्मनिरपेक्ष र गणतन्त्रविरुद्ध विरोध प्रदर्शन गर्ने भएको छ । सोमबार बसेको राप्रपा नेपालको बैठकले प्रदर्शनलाई प्रभावकारी र योजनावद्ध रुपमा सम्पन्न गर्न समितिहरु गठन गरिएको छ ।

अध्यक्ष थापाले संघीय गणतन्त्रको नाममा कायम भ्रष्ट व्यवस्थाको अन्त्यको लागि व्यापक जनपरिचालन गर्न निर्देशन पनि दिएका छन् ।

 

काठमाडौ, ११ भदौ ।

सेयर बजार सोमबार पनि सुस्त देखिएको छ । नेप्से सूचक २ हजार विन्दुमुनि छ । यसदिन सूचक ५.०९ विन्दुले बढेर १९९८.४८ अंकमा आएको छ । ९८ करोड ८६ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । समग्रमा हेर्दा बजार साइडवेजमा गएको छ ।

 

बजार घट्दै जाँदा लगानीकर्ताको मनोबल थप कमजोर भएको अवस्था छ । लगानीकर्ताको सक्रिय सहभागिता नहुँदा कारोबार रकम कम भएको छ । लाभांशको सिजनमा लगानीकर्ता निष्कृय बस्दा बजार १९ सयको तहमा झरेको हो ।

 

यस दिन २७९ कम्पनीको ३६ लाख ७० हजार कित्ता सेयर कारोबार भएको छ । कारोबार रकममा लक्ष्मी सनराइज बैंक अग्रस्थानमा आएको छ । यसको ७ करोड ३१ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः सोल्टी होटेल र आइएमई लाइफ इन्सुरेन्स परेका छन् ।

 

लमजुङ ११ भदौ ।

आफूलाई सहकारीको मान्छे भन्दै सर्वसाधारणलाई ठगेको आरोपमा एकजना पक्राउ परेका छन् । लमजुङको बेसीशहर नगरपालिका वडा नं.२ चिसापानी बस्ने पञ्चबहादुर परियारलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले चेक बाउन्सको आरोपमा पक्राउ गरेको हो । तर, उनी आफू सहकारीको कर्मचारी हूँ भन्दै सहकारीमार्फत् ऋण मिलाइ दिन्छु भन्दै रकम ठगी कार्यसमेतमा संलग्न रहेको खुलेको प्रहरीले जनाएको छ ।

 

परियारले पोखरा लगायत विभिन्न स्थानमा  सर्वसाधारणलाई आफू बेसीशहरमा रहेको कृषक जागरण बचत तथा ऋण सहकारी संस्थाको कर्मचारी भन्दै ठग्ने गरेको खुलेको छ ।  सोझा सिधालाई सहकारीबाट ऋण मिलाइदिने भन्दै ठग्दै आएका उनले पैसा लिएर सम्पर्कमा नआएपछि पीडितहरूले सहकारी संस्थामा जानकारी गराएपछि यो कुरा खुलेको हो ।

 

उनले पोखराका अर्जुन पुन र सावित्रा पौडेल अधिकारीलाई ठगी गरेको सूचना आएको कृषक जागरण बचत तथा ऋण सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत राम दिक्षितले जानकारी दिए ।

 

दिक्षितका अनुसार परियारले पुनसँग २२ हजार र अधिकारीसँग ४ लाख रुपैयाँ ठगी गरेका छन् । परियारले विभिन्न व्यक्तिलाई ऋण मिलाइ दिन्छु भन्दै सनराइज बैंकमार्फत् पैसा माग्ने गरेको र पीडितहरूले ऋण नपाएपछि सहकारीमा जानकारी गराएपछि यसबारेमा थाहा पाएको प्रमुख कार्यकारी अधिकृत थापाले बताए । परियारले अरू धेरै जनाबाट लाखौं ठगी गरेको हुन सक्ने बताए ।

 

पक्राउ परेका परियार हाल लमजुङ प्रहरीको हिरासतमा छन् । उनीविरूद्ध थप १५ जनाले आफूहरूलाई ठगि गरेको भन्दै जिल्ला प्रहरी कार्यालय लमजुङमा उजुरी दिइसकेका छन् ।

 

काठमाडौं, ११ भदौ ।

सर्वाेच्च अदालतमा सोमबारबाट स्वचालित पेशी प्रणालीको सुरुआत गरिएको छ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले सोमबार स्वचालित पेशी तारेख प्रणालीको शुभारम्भ गरेका छन् ।

 

उनले अदालतका सबै काम, कारबाहीहरूलाई प्रविधिमैत्री बनाएर सर्वोच्च अदालतमा सुशासन कायम गर्ने बताएका छन् । स्वचालित पेशी तारेख प्रणालीले कर्मचारीहरूमा उच्च मनोबलका साथ काम गर्ने उनको विश्वास छ ।

 

स्वचालित पेशी तारेख प्रणालीका लागि सर्वोच्च अदालतभित्रैको जनशक्ति प्रयोग गरिएको जानकारी दिएका प्रधानन्यायाधीश श्रेष्ठले स्वचालित प्रणालीलाई क्रमशः अन्य अदालतमा पनि लागु गरिने जानकारी दिए ।

 

उदयपुर, ११ भदौ ।

झापा दमकका डाक्टर उज्ज्वल कोइराला सम्पर्कविहीन भएका छन् । तर, सप्तकोशी नदी किनारमा भने उनले लगाएको जुत्ता र मोबाइल फेला परेको छ ।

उदयपुर बेलका चतरा पुल छेउमा आफ्नो गाडी राखेर सम्पर्कविहीन भएका उनले  लगाएको जुत्ता र उनले चलाउने मोबाइल सप्तकोशी नदी किनारमा भेटिएको हो ।

उनको उदयपुर र सुनसरी प्रहरीले खोजी गरिरहेको छ । यसबारे प्रहरीले पनि अनुसन्धान थालेको छ ।

 

काठमाडौं, ११ भदौ ।

झापा र कैलालीबाट लागुऔषधसहित पाँचजना पक्राउ परेका छनन् । झापाकाे झापा गाउँपालिका-१ बेलायतीबारीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ४४ ग्राम २ सय ८० मिलिग्रामसहित ३ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।

 

पक्राउ पर्नेहरूमा मोरङ बेलबारी नगरपालिका-१० बस्ने २६ वर्षीय सुरेश धिमाल, झापा गौरादह नगरपालिका-४ का २५ बर्षीय सन्देश लिम्बु र मोरङ उर्लावारी नगरपालिका-७ का २७ बर्षीय बिनोद लिम्बु रहेका छन् । ईलाका प्रहरी कार्यालय कुमरखोद र सशस्त्र प्रहरी बल नेपाल बोडर आउट पोष्ट टाघनडुब्बाबाट खटिएको संयुक्त टोलीले जाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेको प्र.१-०२-०४७ प ७०४२ नम्बरको मोटरसाइकलको एयर फिल्टरभित्र लुकाई ल्याएको उक्त लागूऔषध, मोबाइल १ थान र नगद १ हजार ७ सय २५ रूपैयाँसहित धिमाललाई तथा उनीसँगै आउँदै गरेको को.२१ प १०४० नम्बरको मोटरसाइकलमा सवार सन्देशलाई मोबाइल १ थान तथा नगद १ सय ६० रूपैयाँ र बिनोदलाई नगद ५० हजार रुपैयाँ तथा १ थान मोबाइलसहित पक्राउ गरेक हो ।

 

कैलाली, धनगढी उपमहानगरपालिका-१२ सि गाउँबाट अवैध लागूऔषध ब्राउनसुगर करिब १ ग्राम २४ मिलिग्राम र ओपिडल क्याप्सुल ८ ट्याब्लेटसहित सोही ठाउँ बस्ने २६ वर्षीय महेन्द्र खड्का समेत २ जनालाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट जुगेडाबाट खटिएको प्रहरीले खड्काको घर तलासी गर्ने क्रममा उक्त लागूऔषधसहित फेला पारी  उनीहरूलाई पक्राउ गरेको हो ।

 

 

युएई, ११ भदौं ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी नेतृत्वका लागि आइसिसि कोषाध्यक्ष पदका लागि एनआरएनए यूएईका निवर्तमान अध्यक्ष एवं वर्तमान प्रमुख संरक्षक ठाकुर प्रसाद ढुंगानाले आफ्नो उम्मेदवारी घोषणा गरेका छन ।

 

आगामी अक्टोबरमा हुने एनआरएनएको ११ औं महाधिवेशनका लागि ढुंगानाले यूएईमा सबै संघ सँस्थाको उपस्थितिमा र जुममार्फत पत्रकार सम्मेलन गरी कोषाध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन् ।

 

एनआरएनए यूएईको अधिबेशन सफलतापुर्वक सम्पन्न गरेका ढुंगानाले आफुले एनआरएनए अभियानमा गरेका काम र अनुभवलाई थप उचाईमा पुर्याउनका लागि कोषाध्यक्ष पदमा जाने निर्णयमा पुगेको बताए ।

 

एनआरएनए अभियानमा लागेर ‘अतिथि देवो भव’ लगायत अन्य धेरै कार्यक्रममा सक्रिय सहभागी भएका ढुंगानाले आफ्नो कार्य अनुभव समेत प्रस्तुत गरेका छन । उनले भनेका छन – ‘एनआरएनए यूएईको अध्यक्ष भएर गरेको काम र आइसीसीसँग नजिक भएर आफुलाई अगाडि बढार्इ रहँदा सबैको सल्लाह र सुझाव अनुसार आगामी २०२३–२५ कार्यकालका लागि कोषाध्यक्ष पदमा उम्मेदवारी  घोषणा गरेको छु ।’

कोरोना महामारीका बेला श्रमिकहरुसँग नजिक रहेर काम गरेका ढुंगानाले विश्वभरका नेपालीमा आफ्नो सक्रियता देखाइसकेका छन । दुई कार्यकाल आइसिसि सदस्य र एक कार्यकाल एनआरएनए युएईको अध्यक्ष भएर एनआरएनए अभियानमा निखारिएका ढुंगाना विश्वमा सबै गैरआवासीय नेपाली माझ परिचित छन ।

 

एनआरएनएको मर्म र विधिविधान अनुसार आफ्नो जिम्मेवारी पुरा गर्न प्रतिवद्ध रहेको जानकारी दिदै ढुंगानाले एनआरएनएमा आर्थिक पारदर्शिता र श्रमिकमैत्री कार्यक्रमलाई प्रमुख प्राथमिकतामा राख्ने जनाएका छन ।

 

एनआरएनए अभियानमा आम श्रमिकलाई जोड्न वैकल्पिक स्रोत जुटाएर समेट्ने योजना रहेको ढुंगानाको प्रतिवद्धतामा उल्लेख रहेको छ ।

 

केही दिनमा नै आफ्नो प्रतिवद्धता  पत्र सार्वजनिक गर्दै विश्वमा रहेका एनआरएनएहरुसँग छलफल तथा भेटघाट गर्न निस्कने ढुंगानाले बताए । आइसिसिमा यूएईको गरिमामय उपस्थितिका लागि उनले सबै गैर आवासीय नेपालीहरुको सहयोगको अपील गरे । ढुंगानाले आफू यस अभियानमा केही लिन नभई दिनको लागी आएकाले विश्वमा रहेका सबै गैरआवासीय नेपालीहरुलाई आफ्नो अभियानलाई साथ दिन अपिल गरेका छन ।

 

एनआरएनए आइसिसिको कोषाध्यक्षमा यूएईबाट नै रामेश्वर शाहले यस अगाडिनै जिम्मेवारी निभाई सकेका थिए ।

 

पर्यटन तथा ट्राभल्स क्षेत्रमा व्यवसाय गरिरहेका ढुंगानाको यूएई तथा नेपालका धेरै क्षेत्रमा लगानी गरेका छन ।

उक्त घोषणा सभामा बोल्दै एनआरएनए मध्यपूर्व संयोजक मनोज कुमार श्रेष्ठले उम्मेदवारी घोषणा गरेका  ढुंगानालाई अग्रिम बधाई दिदै सफलताको शुमकामना  ब्यक्त गरे । नेपाल पत्रकार महासंघ, यूएई च्याप्टरका पूर्व अध्यक्ष एवं वर्तमान सल्लाहकार लक्ष्मण खनालले संचालन गरेको उक्त घोषणा सभामा मध्यपुर्व उपसंयोजक राजु केसी, एनआरएनए आईसिसि सदस्य पुष्कर सापकोटा, सुजन सापकोटा, मणी भुर्तेल, एनसिसि युएईका अध्यक्ष विकास शाही, जनसम्पर्क समिति सभापती भुवानी प्रसाद तिमिल्सिना, जनप्रगतिशिल मञ्च अध्यक्ष बाबुराम विश्वकर्मा, प्रवासी नेपाली मञ्च अध्यक्ष टक बहादुर गुरुङ, जनसवाल रास्ट्रिय दैनिकका सम्पादक रामजी बगाले, पत्रकार उमाकान्त पाण्डे लगायत विभिन्न संघसंगठनका प्रतिनिधिहरुले सफलताको शुभकामना दिदै विश्वभर रहेका नेपालीलाई सहयोग गरेर विजयी गराउन अनुरोध गरेका छन ।

 

भक्तपुर, ११ भदाै ।

धाँं बाजा (एक प्रकारको बाजा) प्रशिक्षण पूरा गरेका एक समूह  सार्वजनिक भएको छ । परम्पराअनुसार प्रशिक्षण पूरा भएपछि सार्वजनिक स्थानमा बाजा बजाएर प्रदर्शन गर्ने चलन अनुसार भक्तपुर नगरपालिका वडा नं ८ लिवालिस्थित नियो निओ फियुजन कम्प्युटर इन्टिच्युटबाट तालिम प्राप्त प्रशिक्षण टोली सार्वजनिक भएका हुन् ।

 

यही क्रममा उनीहरुले परम्परा अनुसार भक्तपुर नगरपालिका वडा नं ९ दतात्रयस्थित नासद्य (देवस्थल) पुगेर सामूहिक रुपमा पूजाआजा गर्नुका साथै सार्वजनिक रुपमा बाजा बजाएर प्रदर्शन गरेका थिए । त्यस क्रममा उनीहरुले नगर परिक्रमा पनि गरेका थिए । यसअघि बाहिर नभई कक्षाकोठामा मात्रै बजाउने गरिन्थ्यो ।

प्रशिक्षण पूरा गरी आइतबार सार्वजनिक भएका बशिल त्वायनाले धाँं बाजाबारे धेरैलाई कम जानकारी भएकाले यसलाई बचाउन आफूले धाँ बाजा सिकेको सुनाए । उनले आफूलाई पुराना बाजाहरु मनपर्ने भएकाले दैनिक साँंझको समयको सदुपयोग गरी धाँं बाजा सिकेको सुनाए ।

त्वायनाकै समूहमा धाँं बाजा सिकेकी अर्की प्रशिक्षार्थी रेणु त्वानाबासुले पहिलापहिला पुरुषहरु मात्रै सिक्न पाइने बाजा अहिले जसले सिक्दा पनि हुने भएकाले आफूले सिकेको सुनाइन् । आफूलाई पनि धाँं बाजा बजाएर प्रदर्शनमा जान मन लागेकाले बाजा सिकेको उनको भनाई थियो ।

२०७६ सालदेखि नै निरन्तर धाँ बाजा सिकाउँंदै आएको बताउने भक्तपुर नगरपालिका वडा नं ८ लिवालिस्थित नियो निओ फियुजन बाजा समूहका अध्यक्ष बालकृष्ण बनमालाले पुराना बाजा बजाउने कला नयाँ पुस्तालाई हस्तान्तरण गर्ने हेतुले २०६८ सालदेखि धिमे बाजा सिकाउँदै आएको बताए । पछिल्लो पटक धाँं बाजाप्रति आकर्षण बढेकोले धाँं बाजा प्रशिक्षण पनि थपेको उनको भनाइ थियो । अहिले थप बासुरी, पछीमा (बाजाको नाम) को प्रशिक्षण पनि थप गरेको उनले बताए । उनले यी सवै तालिम शुल्क रुपमा चलाउँंदै आएका छन् । बाजा सिक्न कम्तीमा १०–१५ जनाको सहभागिता हुनुपर्ने हुन्छ ।

धाँ बाजा प्रशिक्षक सविन लैबाले ५ वर्षदेखि धाँ बाजा सिकाउँदै आएको बताए । टोलटोलमा र संघसस्थाहरुमा धाँ बाजा सिकाउँदै आएको उनी सुनाउँछन् । साथै उनले आफूले धाँ सिक्ने बेलासम्ममा कोही पनि महिला सहभागिता नभएको सम्झना गरे । तर अहिले यसमा पनि केही वर्षदेखि महिलाको सहभागिता बढ्दै आएको छ, उनी भन्छन् । विशेषगरी बाजागाजाको बेलुकीको समयमा सिकाइने प्रजलन रहेको उनी बताउँंछन् ।

भक्तपुरका धिमे बाजाको प्रशिक्षक उगेन बोयजु लगभग १० वर्षदेखि टोलटोलमा तथा सघंसंस्थामा धिमेबाजा सिकाउदैँ आएको बताउँछन् । आफूले ११ वर्षमा सिकेर १२ वर्षको उमेरदेखि नै धिमेबाजा सिकाउन थालेको उनले उनले स्मरण गरे । अहिले धिमेबाजा सिक्न चाहनेहरुमा महिला पुरुषको सहभागिता बराबर जस्तै भएको उनी सुनाउँछन् ।

संस्कृतिविद् ओम धौभडेल मनोरञ्जनका धेरै सामाग्रीहरु बजारमा प्रचलनमा आए पनि भक्तपुरका नयाँं पुस्तामा पुरानो बाजा सिकेर, बजाएर, सार्वजनिक प्रदर्शनी गरेर रमाउने गरेको बताउँंछन् । उनका अनुसार नयाँ पुस्ता पुराना बाजागाजा बजाउनमा रमाउने गरेका छन् । उहिले गुथी, दाफाभजनमा केटाहरुलाई मात्र बाजागाजा सिकाइथ्यो । तर अहिले सहकारी संस्था र विभिन्न बाजा समूहले केटाकेटी दुबैलाई बाजागाजा सिकाइराखेको छन्, उनी भन्छन् ।

 

केही वर्ष पहिला दाफा भजनबाट केटाहरुलाई मात्र सिकाउँदा बाजागाजा सिक्न आउनेको कमी र बाजागाजा नै लोभ हुने अवस्था सृजना भएको उनी सम्झिन्छन् । तर अहिले महिला पुरुष दुबैको सहभागिता भएपछि बाजागाजा हरेक घरका केटाकेटीहरु सहभागिता हुने गरेको पाइन्छ ।

 

काठमाडौं, ११ भदौ ।

एसिया कप खेल्न नेपाली राष्ट्रिय क्रिकेट टिमका स्पीनर सन्दीप लामिछाने पाकिस्तानतर्फ प्रस्थान गरेका छन् । सोमबार बिहान ११ः२० बजे कतार एयरवेजको फ्लाइटमार्फत सन्दीप पाकिस्तान प्रस्थान गरेका हुन् ।

एसिया कप–२०२३ का लागि पाकिस्थान प्रस्थान गरेका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव टंकलाल घिसिङको उपस्थितिमा बिदाइ गरिएको थियो ।

पाकिस्तानतर्फ प्रस्थान गरेपछि सामाजिक सञ्जाल फेसबुकमा सन्दीपले लेखेका छन्, ‘पाकिस्तानतर्फ लागेँ । यसअघि पाकिस्तानमा हुँदाका अद्भुत सम्झना छन् । एसिया कपका लागि उत्साहित र उत्सुक छु । नेपाल खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ सरलाई विशेष धन्यवाद । शुभकामना दिनुहुने सम्पूर्णमा धेरै माया ।’

गत मंगलबार नै नेपाली टिमका अन्य खेलाडी एसिया कपका लागि पाकिस्तान गइसकेका छन् । प्रतियोगिताको समूह ‘ए’मा रहेको नेपालले घरेलु टिम पाकिस्तान र भारतसँग खेल्नेछ । नेपालले पाकिस्तानसँग १३ भदौ र भारतसँग १८ भदौमा खेल्ने तालिका छ ।

 

तस्बिर : सन्दीप लामिछानेकाे फेसबुकबाट

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।