रौतहट, १२ गते भदौ ।
आज आफ्नो जन्मदिनको अवसरमा रौतहट जिल्लाको गरुडा नपा ४ स्थित रहेको बंशिराम जयसवाल अनाथालयमा २६ जना टुहुरा बालबालिका जसको आमाबाबु यो संसारमा अनाथालय बाहेक अरू कोही नभएको स(साना बाबुहरूसँग बिहानै एकछिन भएपनि खुशी सट्टासट्टा गर्न सौभाग्य प्राप्त भएको परोहा नपा वडा नं ८ मोतिपुर नरकटिया टोल निवासी तथा मधेश मिडिया प्रालि द्वारा संचालित मधेश प्रदेश अनलाइन संचालक र रिपोर्टर्स क्लब नेपाल मधेश प्रदेश कोषाध्यक्ष प्रख्यात समाजसेवी पत्रकार आफ्नो छुट्टै पहिचान थोरै दिनमा स्थापित गरेका अभिमनु कुमार पटेलले बताएका छन् ।
उहाँहरूको लागि केही गर्न त सकेको छैन, मात्र एकछिन सबैलाई खुशी पार्न सानो प्रयास स्वरूप चामल, दाल, आलु, प्याज, खानेतेल, सोहबिन, नुन, चकलेट, चोकोपन, सर्फ, कपडा धुने साबुन, नुहाउने साबुन, बिस्कुट लगायत खाद्यान्न सामाग्री टुहुरा बालबालिकाहरूको जीवनमा केही पल राम्रोसँग खाना खान पाइयो भने उदेश्य साथ ठूलठूला महँगो होटेलमा केक काटेर लाखौं रुपैया खर्च नगरि अनाथालयमा पुगेर टुहुरा बाबुहरूको अनुहारमा अलिकति भएपनि खुशी ल्याउने प्रयासको साथ युवा पत्रकार पटेलले ती सामाग्रीहरू आफै पुगेर अनाथालय प्रमुख बंशीराम जयसवाल ज्यूलाई हस्तान्तरण गरेका हुन ।
पत्रकार पटेलले आफ्नो आँखाबाट देखेको प्रत्यक्ष आश्रमको बारेमा भन्दै यस श्री बंशीराम अनाथालय गरूडामा देश विदेशको विभिन्न स्थानबाट कुनै न कुनै संयोगबस यहाँ पुगिसकेका टुहुरा बालबालिकाका कसैको आमा छैन, कसैको बुवा छैन त्यस्ता साना साना बालबालिकालाई आफ्नो सन्तान जस्तो हेरचाह गर्न कति कठिनाई भइरहेको होला भने म कल्पना पनि गर्न सक्दिन । एक वा दुई आफ्नो सन्तान हुदा जस्तोसुकै आमाबाबुलाई पनि अलिकति स्वास्थ अवस्था खराब हुदा तनाव बनाइदिन्छ, खाना खान नमान्ने, एक आपसमा लडाइँ गर्ने तर यो २६ जना बालबालिकालाई बस्न, खाना, सुत्न, शिक्षा हासिल गराउन र एक ठाउँमा मिलाएर बसाउन साह्रै गाह्रो पक्कै भइरहेको होला जुन कार्य दिनरात यस आश्रमका संस्थापक श्री बंशीराम जयसवाल ज्यूले गर्दै हुनुहुन्छ यो आफैमा धेरै चुनौतीपूर्ण बिषय उनले बताए ।
आफै लगभग उहाँ ७५ बर्षभन्दा बढी उमेरमा पुगिसकेका छन् तैपनि आफ्नो घर परिवार सबै त्याग गरि समाजसेवाको भावनाले लामो समय देखि संचालन गर्दै आएको अनाथालय आश्रयमा अहिले महंगो हरेक सामान खरिद गर्दा संचालनमा राख्न धेरै कठिनाइ भइरहेको त्यहाँका बालबालिकाहरूले पत्रकार पटेललाई दुखहरू व्यक्त गरेका छन् ।
बंशीराम अनाथालय गरूडाको दुख दायि अवस्था हेर्दा तपाईहरूले आफ्नो, छोराछोरी, दाईभाई, दिदीबहिनी, वा कुनै साथी भाईको जन्मदिन, शादी सालगृह लगायतको सुखद् अवसरमा ठूलठूला महंगो होटल वा घरमा केक काटेर अनुहार भरि दलेर बिना कुनै कामको मासु, रक्सी, खाना, खाजा र मनोरञ्जनको नाममा लाखौंलाख खर्च गर्नुभन्दा यस्तो यस्तो असहाय जसको यो संसारमा अनाथालय बाहेक अरू कहिकतै बस्ने, हेर्ने र शिक्षा दिने नभएकोले यो पवित्र मन्दिर जस्तो ठाउँमा आएर आफ्नो खुशी सट्टासट्टा गर्नु किन कि धेरै नभएपनि थोरै किन नहोस् ती बावुनानीहरूको अनुहारमा खुशी ल्याउने प्रयास गर्नु भनेर युवा पत्रकार समाजसेवी अभिमनु कुमार पटेलले सबैसँग आग्रह समेत गरेका छन् ।
आरके श्रीवास्तव,रौतहट,भदौ १२ गते ।
श्रीराम सुगर मिलले ऋण नतिरेपछि लिलामी प्रक्रिया अघि बढाएको नेपाल बैंक लिमिटेडका कर्मचारीहरु आज उँखु किसान बाट लखेटीएका छन् । बैंकका कर्मचारीहरु मिल अनुगमन गर्न आउँदा उँखु उत्पादक संघ सहित स्थानीयहरुले बैंकका कर्मचारीहरु भगाएका छन् ।
बैंकको प्रबन्धक सहितको टिम मंगलवार मिलमा पुगेको थियो । विशाल ग्रुपको स्वामित्वमा रहेको श्रीराम सुगर मिलले ऋण नतिरेपछि नेपाल बैंक लिमिटेडले उद्योग लिलामी प्रक्रिया अघि बढाएको थियो । शिवशक्ति ग्रुपले सो लिलामी साकार गरेको हो ।
बैंकले लिलामी सकार गरेको शिवशक्ति ग्रुपलाइ मिलको सामानहरु उठानको सहज बनाउने उदेश्यले बैंकका कर्मचारीहरु आएको बुझिएको हो । चोरबाटो भएर बैंकका कर्मचारीहरु मिलमा प्रवेश गरेको भन्दै किसानहरु आक्रोशित बनेका थिए । खबर पाउने बितिकै इलाका प्रहरी कार्यालय गरुडा बाट डिएसपी ओमप्रकाश खनालको नेतृत्वमा गएको टोलीले बैंक बैंकका कर्मचारी र उँखु किसानहरुलाइ बसेर छलफल गराएका थिए ।
छलफल पश्चात् उनीहरु फर्केका छन् । मिल उठाने प्रयास गरे आफूहरुले प्रतिकार गर्ने उनीहरुले चेतावनी समेत दिदै आएका छन् । तैपनि मिल सञ्चालक र बैंकका कर्मचारीहरु बारम्बार मिल उठाउनका लागि आउने गरेका छन् ।
यस अघि श्रीराम सुगर मिलको लिलामी सकार गरेका शिवशक्ति ग्रुपले मिल अनुगमन गर्न आउँदा उँखु उत्पादक संघका सहित स्थानीयहरुले शिवशक्ति ग्रुपका पदाधिकारीलाई लखेटेका थिए । साथै स्थानीयले शिवशक्ति ग्रुपके मिल परिसर भित्र प्रवेश समेत गर्न दिएका थिएन्न् ।
हजारौको संख्यामा रोजगारी दिएको श्रीराम सुगर मिल अहिले विलयको बाटोमा गइसके पछि उँखु उत्पादक संघको नेतृत्वमा चिनी मिल बचाउन अन्तिम कसरत गरिरहेका छन् । केही दिन अघि विशाल आम सभाको आयोजन पनि गरिएको थियो । एक स्वरमा सतापक्ष र प्रतिपक्षका नेताहरुले मिल बचाउन एकजुट भएर लाग्ने प्रतिबद्धता जनाएका थिए ।
२०४९ साउन १३ गते तत्कालीन गोल्छा अर्गनाइजेसनले स्थापना गरेको श्रीराम सुगर मिल्स २०७७ साउन १२ देखि पूर्णरूपमा बन्द छ । उद्योग जिल्लाको गरुडा नगरपालिका–६ महम्मदपुरमा रहेको छ । उद्योगको नाममा ८० बिघा जग्गा रहेको छ ।
काठमाडौं, १२ भदौ ।
मन्त्रिपरिषदको बैठक जारी रहेको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बैठक सुरु भएको हो।
बैठकमा समसामयिक विषयमा छलफल भइरहेको बताइएको छ। हरेक मंगलबार मन्त्रिपरिषदको नियमित बैठक बस्दै आएको छ।
सिन्धुली, १२ भदौ ।
बिपी राजमार्ग अन्तर्गत सिन्धुलीको गोलन्जोर गाउँपालिका–५ खनियाँखर्कबाट मगंलवार २० किलोग्राम अवैध चाँदीसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
प्रहरी चौकी गढीबाट खटिएको प्रहरी टोलीले विराटनगरबाट काठमाडौंतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–०२५ च १०६९ नम्बरको कारकोमा लुकाई छिपाई राखेको २० किलोग्राम अवैध चाँदीसहित दुई जनालाई पक्राउ गरेको हो।
बरामद गरिएको चाँदीको हालको मूल्य २४ लाख ६१ हजार ७६० रुपैयाँ रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।
पक्राउ पर्नेमा मोरङको विराटनगर महानगरपालिका– ५ बस्ने रोहीत कुमार यादव र सप्तरीको राजविराज नगरपालिका –८ घरभई विराटनगर महानगरपालिका– ४ बस्ने ३७ बर्षका शेचन मानन्धर रहेका छन्।
नियन्त्रणमा लिएको चाँदी थप अनुसन्धानको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारा पठाईएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी निरीक्षक केशव कटुवालले जानकारी दिए।
झापा, १२ भदौ ।
बिर्तामोडमा माछा मार्नेक्रममा पानीमा डुबेर एक युवकको मृत्यु भएको छ। मंगलबार बिहान बिर्तामोड नगरपालिका १० तेलकानी निवासी २६ वर्षीय दिनेश हस्दाको घर नजिकैको पानी जमेको पैनीमा माछा मार्ने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता खगेन्द्रप्रसाद रिजालले बताए।
मंगलबार बिहान हस्दा घर नजिकैको पैनीमा माछा मार्न गएका थिए। माछा मार्ने क्रममा पैनीमा डुबेर घाइते भएका उनलाई तत्काल उद्धार गरी अस्पताल लगिएको थियो।
हस्दाको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
दार्चुला, १२ भदौ ।
भिरबाट खसेको ढुंगा लागेर दार्चुलामा एक महिला गम्भीर घाइते भएकी छन्।
जिल्लाको नौगाड गाउँपालिका–५ भीडकी ३५ बर्षीया पुतली धामी ढुंगा लागेर घाइते भएकी हुन्। मंगलबार बिहान घाँस काटेर घर फर्कने समयमा भिरबाट खसेको ढुंगा लागेर उनी घाइते भएकी हुन्।
गम्भिर घाइते धामीलाई उपचारका लागि गोकुलेश्वर अस्पताल पुगाइको स्थानीय श्याम धामीले बताए।
पोखरा, १२ भदौ ।
जिल्ला प्रशासन कार्यालय कास्कीले तीजलाई लक्ष्य गर्दै तडकभडकपूर्ण कार्यक्रम नगर्न आग्रह गरेको छ। मंगलबार सूचना जारी गर्दै कास्कीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले तीजमा परम्परा, सामाजिक रीतिरिवाजलाई निरन्तरता दिने तथा सम्वर्द्धन गर्ने बाहेकका कार्यक्रम नगर्न आग्रह गरेका हुन्।
हिन्दू महिलाको पर्व हरितालिका तीज यो वर्ष असोज १ गते परेको छ। तीज आउनु एक, डेढ महिनाअघि नै दरका नाममा भोजभतेर हुने गरेका छन्।
सूचना विपरीत गरे-गराएमा प्रचलित कानुन बमोजिम कारबाही हुने जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ।
काठमाडौं, १२ भदौ ।
कोशी प्रदेश सभाका पूर्व सदस्य मोहम्मद ताहिर हुसेनको निधन भएको छ।
२०७४ देखि ७९ सम्मको प्रदेशसभाको पहिलो कार्यकालमा हुसेन प्रदेशसभा सदस्य थिए।
गुल्मी, १२ भदौ ।
बालिकाको मृत्यु भएको विषयलाई लिएर चिकित्सकमाथि कुटपिट भएपछि गुल्मी अस्पतालमा अत्यावश्यक बाहेकका सेवा बन्द भएको छ।

मंगलबार बिहान छत्रदेव गाउँपालिका–७ कि ७ वर्षकी बालिका प्रशंसा मरासिनीको मृत्यु भएपछि एक समूहले अस्पताल प्रमुख डा. राजेन्द्र जिसीमाथि कुटपिट गरेको थियो। बिरामीका आफन्तले उपचारमा लापरबाही भएको प्रदर्शन गर्दै चिकित्सकमाथि कुटपिट गरेका हुन्।
बिरामीको जीवनरक्षाका लागि २४सै घण्टा उपचारमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई उत्प्रेरित गर्नुको साटो अपमानजनक व्यवहार स्वासथ्यकर्मीको आरोप छ।
‘यस्ता किसिमका गतिविधिले अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारी असुरक्षित भई नियमित स्वास्थ्य सेवा प्रदान गर्ने वातावरण नभएकाले दोषीलाई कारबाही तथा सुरक्षाको पूर्ण प्रत्याभूति नभएसम्मको लागि अति आवश्यक (आकस्मिक) बाहेकका अन्य सेवा बन्द गरिएको व्यहोरा यसै विज्ञप्तिमार्फत जानकारी गराउँदै यसबाट सेवाग्राहीमा पर्न गएको असुविधाप्रति अस्पतालका सम्पूर्ण कर्मचारी क्षमाप्रार्थी छौं,’ अस्पतालका कर्मचारीले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
काठमाडौं, १२ भदौ ।
अमेरिकी अनुदान परियोजना एमसीसी (मिलेनियम च्यालेन्ज कर्पोरेसन)का उपाध्यक्ष क्यामरन एस अलफोर्ड नेतृत्वको टोली काठमाडौंमा आइपुगेको छ।
नेपालले एमसीसी कार्यान्वयनको थालनी गर्ने तयारी गरेसँगै अमेरिकाबाट उच्चस्तरीय टोली नेपाल आएको हो। एमसीसी यही महिनाबाट कार्यान्वयन गर्ने तयारी सुरु भएसँगै कार्यान्वयन थालनी सम्झौतामा हस्ताक्षर गर्ने तयारी भएको छ।
त्यसका लागि अमेरिकी उच्च अधिकारी नेपाल भ्रमणमा आएका हुन्। एमसीसी प्रमुख अलफोर्डको नेपाल भ्रमणलाई महत्त्वका साथ हेरिएको छ।
नेपाल र अमेरिकाबीच पाँच वर्षअघि एमसीसी कम्प्याक्टको एमओयू हस्ताक्षर भएको थियो। एमसीसी नेपाली संसदले अनुमोदन गरेको १८ महिनापछि कार्यान्वयनमा जान लागेको छ।