२०८३ भाद्र ५
२०८३ भाद्र ५

 

कञ्चनपुर, १५ भदौ ।

कञ्चनपुरमा लागूऔषध मुद्दामा फरार रहेका एक जना पक्राउ परेका छन्।

जिल्लाको भीमदत्त नगरपालिका–५ सुकासालका ५१ वर्षीय लक्षी तिरुवालाई शुक्रवार प्रहरीले पक्राउ गरेको हो। तिरुवालाई उनकै घरबाट पक्राउ गरेको हो। उनलाई अदालतले २०७९ बैशाख १३ गते लागु औषधको मुद्दामा तीन दिन कैद सजाय तोकेको थियो।

उनलाई पक्राउ गरी आवश्यक कारबाहीका लागि अदालतमा पेश गरिएको प्रहरीले जानकारी दिएको छ।

 

हेटौंडा, १५ भदौ ।

मकवानपुरको हेटौंडाबाट प्रहरीले नक्कली नोटसहित तीनज नालाई पक्राउ गरेको छ।

बिहीबार विशेष सूचनाको आधारमा हेटौंडा उपमहानगर-१५ स्थित चुरियामाई मन्दिर क्षेत्रबाट प्रहरीले तीन जनालाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालयमकवानापुरका प्रहरी प्रवक्ता डिएसपी टेकबहादुर कार्कीका अनुसार पक्राउ पर्नेमा रौतहट कटहरिया नगरपालिका-६ का १९ वर्षीय धर्मेन्द्र महरा र कटहरिया-१ बस्ने २१ वर्षीय दिपेश दास रहेका छन्। उनीहरुलाई चेकजाँच गर्दा महराको साथबाट नेपाली नक्कली रुपैयाँ एक हजारको दरले ९५ थान फेला पारेको प्रहरीले जनाएको छ।

मकवानपुरको राक्सिराङ गाउँपालिका-२ बस्ने ४० वर्षीय विजय तामाङबाट उक्त नोट ल्याएको बताएपछि अनुसन्धानको लागि विजयलाई पनि नियन्त्रणमा लिइएको डिएसपी कार्कीको भनाइ छ। पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

बझाङ, १५ भदौ ।

बझाङमा विषालु च्याउ खाँदा दुई बालबालिकाको ज्यान गएको छ। बिषालु च्याउ खाएकै कारण एक महिला बिरामी परेकी छन्।

जयपृथ्वी नगरपालिका–६ नौरामा जंगली विषालु च्याउ खाँदा १२ वर्षीया सुदीप कठायत र उनकी ७ वर्षीया बहिनी सञ्जिला कठायतको मृत्यृ भएको प्रहरीले जनाएको छ।

जंगली च्याउ खाएर गम्भीर बिरामी परेका उनीहरूको उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका बझाङले जानकारी दिएको छ।

सञ्जिलाको जिल्ला अस्पतालबाट डडेल्धुरा ल्याउने क्रममा बिहीबार बिहान र डडेल्धुराबाट धनगढी ल्याउने क्रममा सुदीपको बिहीबार राति बाटोमै मृत्यु भएको हो। बिरामी परेकी आमा पुनी कठायतको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीको भनाइ छ।

 

काठमाडौं, १५ भदौ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भ्रष्टाचारका विभिन्न प्रकरणमा निश्पक्ष छानविन गर्न र संलग्न कसैलाई पनि नछाड्न निर्देशन दिएको बताएका छन्।

 

आज समाजवादी मोर्चाको गण्डकी प्रदेशस्तरीय सन्देश सभालाई सम्बोधन गर्दै प्रचण्डले भ्रटाचारविरुद्धको अभियान सानो मन, विचार र उद्देश्यले सुरुवात नभएको दाबी गरे। उनले भ्रष्टाचारको छानविनका क्रममा आफ्नै संलग्नता देखिए पनि नछाड्न प्रहरी प्रशासन र अनुसन्धानमा संलग्न अधिकारीलाई निर्देशन दिएको बताए।

 

‘सरकार पक्कै पनि दवाबमा पनि छ, दवाब छैन भन्ने होईन । विभिन्न प्रश्न उठाइएको छ, प्रचण्डले खुट्टा कमाउँछ होला, अन्तिममा भ्रष्टाचारीहरुलाई त्यत्तिकै छाड्छ होला, आफ्ना मान्छेलाई बचाउँछ, अर्कालाई मात्रै पार्छ भन्ने भ्रम धेरै छर्ने कोशिस भएको छ,’ उनले भने। निश्पक्ष र निस्वार्थ रुपमा अनुसन्धान गर्न आफ्नो निर्देशन रहेको उनको भनाइ छ।

 

धनगढी, १५ भदौ ।

एसपीए कलेजका क्याम्पस प्रमुख योगराज गौतम जय पृथ्वीबहादुर सिंह राष्ट्रिय शिक्षा सम्मान-२०८० बाट सम्मानित भएका छन्।

सुदूरपश्चिमको शिक्षा क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुर्‍याएवापत् कैलाली जनपुस्तकालयले राष्ट्रिय पुस्तकालय दिवसका अवसरमा उनलाईं उक्त सम्मान प्रदान गरेको हो।

 

प्रदेश प्रमुख  माननीय देवराज जोशीले शुक्रबार जनपुस्तकालयमा आयोजित एक समारोहमा उनलाईं सम्मान प्रदान गरे।

 

काठमाडौंमा झण्डै दुई दशक विभिन्न कलेजहरुको नेतृत्व गर्नुभएका गौतम विगत दुई वर्षदेखि एसपीए कलेजको क्याम्पस प्रमुखका रुपमा छन्। उनी आएपछि कलेजमा थुप्रै परिवर्तनहरु भएका छन्।

 

गौतम क्याम्पस प्रमुख भएर आएपछि एसपीए कलेजको भौतिक र शैक्षिक अवस्थामा ठूलो परिवर्तन देखिएको छ।  उनले कलेजको वातावरणलाई मनमोहक बनाउँन स्वच्छ, हराभरा वातावरण, चिटिक्क बगैचा, थरिथरिका फुल, झरनाबाट बग्ने कलकलपानीको सुमधुर आवाज, महानव्यक्तिहरुका प्रेरक भनाईहरु, विद्यार्थीहरु बस्दै छलफल गर्न मिल्ने स्थानहरुहरुको निर्माण गर्दै प्रशंशा बटुलेका थिए।

 

बिहान साढे ५ बजे नै कलेज पुग्ने उनी राति अबेरसम्म पनि कलेज कै काममा व्यस्त रहन्छन्। आफैँ झाडु लगाउँछन्, आफै बोटविरुवा फुलहरुमा पानी हाल्छन्।विद्यार्थीहरुसँग भलाकुसारी गर्छन्।

 

गौतम क्याम्पस प्रमुख भएर आएपछि क्याम्पसको प्रशासनिक काम पनि चुस्त बनेको छ। एउटै कामका लागि विद्यार्थीहरु विभिन्न स्थानमा धाइरहनु बाध्यताको अन्त्य गर्दै उनले गेटमै एकिकृत प्रशासनिक भवन निर्माण गर्न लगाई रिसेप्सन, सुचना, आइटी, मानव संशाधन, परीक्षा, भर्ना, फाराम बुझाउँने, दिने, खेलकुद विभागलगायतको सेवा एकै छानामुनिबाट दिने व्यवस्था मिलाएका छन्।

 

यस्तै विद्यार्थीहरुको नेतृत्व र व्यक्तित्व विकासका लागि कलेजमा उनले देशविदेशबाट भिजिटिङ स्कलरहरुलाई निम्ताउँने व्यवस्था मिलाएका छन्। उनको पहलमा कलेजमा अष्ट्रेलिया, फ्रान्स, दक्षिण अफ्रिका, बेल्जियम, बेलायतलगायत देशहरुबाट प्राध्यापकहरु आएर भाषा, संस्कृति, रहनसहन, व्यवहारिक तथा व्यवसायिक थुप्रै कुराहरु विद्यार्थीहरुलाई दिलाएका छन्।

 

उनी आएपछि शैक्षिक क्षेत्रमा पनि एसपीएले राम्रो प्रगति हासिल गरेको छ। लगातार तेस्रो वर्ष कलेजले देशकै उत्कृष्ट कलेजभित्र पर्दै राष्ट्रिय सम्मान पाएको छ।  विद्यार्थीहरु टीयू र सुदूरपश्चिम टप निस्किएका छन्। कम्पनीहरु कलेजमै आएर विद्यार्थीहलाई रोजगारी दिने अवस्था श्रृजना भएको छ।

 

गौतमकै पालामा एसपीएमा भएको अर्को महत्वपूर्ण उपलब्धि क्लबहरुकोअभ्यास हो। जसलाई आधुनिक शिक्षाको अवधारणा पनि मानिन्छ। उनले विभिन्न विद्यार्थीको चौतर्फी विकास र नेतृत्व क्षमता अभिवृद्धिका लागि १५ वटा विभिन्न क्लबहरु गठन भएका छन्।जसमा एकेडेमिक, आइसिटी, काउन्सिलिङ, रेडक्रस, स्टुन्डेन्ट एक्सचेन्ज, स्मल स्केल इन्टरप्रियनरसिप, ग्रीनक्लिन धनगढी, मिडिया एण्ड पब्लिकेसन, थियटर एण्ड आर्टस, कम्युनिटी सर्भिस तथा सोसियल जस्टिस, कल्चरल ल्यांङवेज एण्ड डाइभर्सिटी, स्पार्टेस, पोलिटिकललगायत क्लब छन्। विद्यार्थीहरु जुन क्षेत्रमा भविष्य निर्माण गर्न चाहान्छन्, त्यहीक्लबमा आवद्ध हुनसक्छन् र उनीहरुलाई त्यहीअनुसारका प्रशिक्षण, ट्रेनिङ, सेमिनारको व्यवस्था कलेजले गरिदिन्छ। विद्यार्थीहरु सामाजसँग जोडिन्छन्।क्लबमा आवद्ध हुन सकैलाई रोकतोक छैन। जसलाई जतिबेला मन लाग्यो आवद्ध हुनसक्छन्।

 

महेन्द्रनगर, १५ भदौ ।

सुदूरपश्चिम विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयमा तोडफोड गरिएको छ। शुक्रबार नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियूले परीक्षा नियन्त्रक र सहायक परीक्षा नियन्त्रकको कार्यकक्षमा तोडफोड गरेको हो। परीक्षा नियन्त्रक देवसिह नाथले १२/१५ जना समाजवादीका नेता कार्यकर्ताले कार्यकक्षमा प्रवेश गरेर तोडफोड गरेको बताए।

 

उनले कार्यकक्षमै आएर विद्यार्थीहरूको मुख्य डाटा राख्ने सर्भरसहितको कम्प्युटरमा क्षति पुगेको उनले बताए। सहायक परीक्षा नियन्त्रक वीरबहादुर सिंह र परीक्षा नियन्त्रक नाथको कार्यकक्षमा रहेका टेबुल, कुर्सी, दराज र कम्प्युटरमा क्षति पुगेको छ। विद्यार्थीहरूको उत्तरपुस्तिकालगायत परीक्षासम्बन्धी महत्वपूर्ण कागजातमा समेत नोक्सानी पुगेको परीक्षा नियन्त्रक नाथले बताए।

 

एक महिनाअघि समाजवादी निकट विद्यार्थी संगठनले छैठौं सेमेष्टरको समाजशास्त्र विषयको प्रश्नपत्र गत वर्षकै दोहोरिएको र भागबन्डामा गरिएका नियुक्ति खारेजीको माग गर्दै परीक्षा नियन्त्रक र सह–परीक्षा नियन्त्रकको कार्यालयमा ताला लगाएको थियो।

 

गतसाता स्वतन्त्र विद्यार्थीले परीक्षा नियन्त्रकको कार्यालयमा लगाएको तालाले तोडेका थिए।  विद्यार्थीले ताला तोडेपछि शुक्रबार त्यसको विरोधमा  समाजवादी निकट विद्यार्थी संगठनले कार्यकक्षमा तोडफोड गरेको हो। समाजवादी निकट विद्यार्थी संगठनले विभिन्न माग राख्दै लामो समयदेखि विश्वविद्यालयमा तालाबन्दी गर्दै आएको छ।

 

अनेरास्ववियू कञ्चनपुरले भने उक्त घटना सृजना हुनुमा परीक्षा नियन्त्रक नाथसहित विश्वविद्यालयका पदाधिकारी जिम्मेबार रहेको जनाएको छ। अनेरास्ववियू कञ्चनपुरका संयोजक रमेश पन्तले आफूहरूको संगठनले ताडफोड नगरेको दाबी गरेका छन्।

 

काठमाडौं, १५ भदौ ।

नेकपा एमालेका महासचिव शंकर पोखरेल २२ सदस्यीय टोलीको नेतृत्व गर्दै चीन भ्रमणमा जाने भएका छन् । १२ दिने भ्रमणका लागि शनिबार राति महासचिव पोखरेल नेतृत्वको टोली चीन जान लागेको केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

 

चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा पोखरेल नेतृत्वको टोली १२ दिने भ्रमणका लागि शनिबार राति चीनतर्फ प्रस्थान गर्न लागेको उनले बताए । भ्रमण टोलीमा पार्टी स्थायी समिति सदस्य तथा परराष्ट्र मामिला विभाग प्रमुख डा. राजन भट्टराई, स्थायी समिति सदस्य तथा प्रचार विभाग प्रमुख राजेन्द्र गौतमलगायत केन्द्रीय तहका नेता छन् ।

 

भ्रमण टोलीले चीनका तीन मुख्य शहर छोङछिङ, बेइजिङ र छिङहाइको भ्रमण गर्ने र सो क्रममा चिनियाँ कम्युनिष्ट पार्टीका उच्चस्तरका नेतासँग भेटवार्ता हुने प्रमुख गौतमले जानकारी दिए ।

 

भेटमा नेपाल र चीनको द्विपक्षीय सम्बन्धका विविध पक्ष र नेकपा (एमाले) र चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) बीचको पार्टीगत सम्बन्धका विभिन्न आयामबारे छलफल हुने उनले बताए ।

भ्रमण टोलीका सदस्यहरु :

१.     शंकर पोखरेल, महासचिव
२.    डा. राजन भट्टराई, स्थायी कमिटी सदस्य, परराष्ट्र मामिला विभाग प्रमुख
३.    राजेन्द्रप्रसाद गौतम, स्थायी कमिटी सदस्य, प्रचार तथा प्रकाशन विभाग प्रमुख
४.    ज्वालाकुमारी साह, पोलिटब्युरो सदस्य÷प्रतिनिधिसभा सदस्य
५.     रामबहादुर मगर (राम राना), केन्द्रीय सदस्य÷कोशी प्रदेशसभा सदस्य
६.     टुकाभद्र हमाल, केन्द्रीय सदस्य तथा अध्यक्ष, अखिल नेपाल महिला संघ
७.     सहदेव बोगटी, केन्द्रीय सदस्य
८.     निरजप्रसाद आचार्य, केन्द्रीय सदस्य
९.     मञ्जुदेवी गुरुङ, केन्द्रीय सदस्य तथा उपमेयर, पोखरा महानगरपालिका
१०.     अजयकुमार गुप्ता, केन्द्रीय सदस्य
११.     रचना खड्का, केन्द्रीय सदस्य
१२.     भगवती थापा क्षेत्री, केन्द्रीय सदस्य
१३.     मानवीर राई, केन्द्रीय सदस्य÷प्रतिनिधिसभा सदस्य
१४. कपिलदेव पोखरेल, केन्द्रीय सदस्य
१५.     लक्ष्मणकुमार शर्मा, महासचिव, जिफन्ट
१६.     पिताम्बर भूषाल, अध्यक्ष, अर्घाखाँची जिल्ला कमिटी
१७.     क्षितिज थेवे, अध्यक्ष, राष्ट्रिय युवा संघ नेपाल
१८. समिककुमार बडाल, अध्यक्ष, अनेरास्ववियु
१९.     गोपाल खनाल, सदस्य, परराष्ट्र मामिला विभाग
२०. हुमाकुमारी डीसी, प्रदेश कमिटी सदस्य÷उपमेयर घोराही उपमहानगरपालिका

सचिवालय
२१.     राजेश राई
२२.     सरोजकुमार रेग्मी

 

काठमाडौं, १५ भदौ ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले चिनियाँ सरकारले प्रकाशन गरेको नक्सामा नेपालको चुच्चे भाग (नक्सा) समावेश नगरिनु चीनको  त्रुटिपूर्ण व्यवहार भएको टिप्पणी गरेका छन्।

शुक्रबार नेपाली कांग्रेसका भातृ संस्था नेपाल महिला संघ, तरुण दल र  नेविसंघका नेताहरूसँग काठमाडौंमा भएको छलफल कार्यक्रममा नेता महरले चीनले जारी गरेको नक्साले नेपाल-चीनबीचमा सीमा समस्या रहेको विषय उजागर गरेको बताए। उनले त्यसलाई सच्याउन नेपाल सरकारले चीनलाई कूटनीतिक नोट पठाउनुपर्ने धारणा राखेका छन्।

‘चीन नेपालको असल छिमेकी हो । तर नेपालको सहमतिबिना सन् २०१५ मा चीन र भारतले त्रिदेशीय नाका लिपूभज्याङ मार्गबाट दुई देशीय व्यापार सम्झौता गर्नु र अहिले चीनले आफ्नो नक्सामा चुच्चे भाग नराख्नुले नेपाल र चीनका बीचमा पनि सीमा समस्या छन् भन्ने पुष्टि हुन्छ,’ उनले भने, ‘सरकारले कूटनीतिक पहल लिएर यसको समाधान गर्नुपर्छ।’

उनले भूगोल र जनसंख्याले कुनै मुलुक सानो र ठूलो भए पनि सार्वभौमसत्ता, राष्ट्रिय अखण्डता र स्वाधीनता भने सबै देशको समान हुने बताएका छन्। एउटा छिमेकीले अर्को छिमेकीको अस्तित्व स्वीकार र सम्मान गर्न सक्नुपर्ने उनको धारणा थियो।

‘नेपालको सार्वभौम संसद्‌ले पास गरेको चुच्चे नक्सा चीनले आफ्नो नक्सामा समावेश नगरेको घटनाले नेपालीको चित्त दुखेको र यथाशक्य छिटो कूटनीतिक वार्ता गर्न र चुच्चे भुभाग सहितको नक्सा प्रकाशनका लागि  चीनलाई सहमत गराउन सरकारले तत्परता देखाउनु पर्छ,’ महरले भने।

 

 

काठमाडौं, १५ भदौ ।

नेकपा माओवादी केन्द्रले जनतासँग माओवादी अभियानका लागि नेताहरुलाई जिल्लामा खटाइएको छ ।

 

 

शुक्रबार कोटेश्वर पेरिसडाँडास्थित पार्टी मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटाले जनतासँग माओवादी तीन महिने अभियानको तयारी पूरा भएको र सबै जिल्लामा नेताहरु खटाइएको जानकारी दिए ।

 

उनका अनुसार पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड काठमाडौं चन्द्रागिरी–२ स्थित घट्टेडाँडा पार्क, वरिष्ठ उपाध्यक्ष नारायकाजी श्रेष्ठ ललितपुर महानगरपालिका २८ हरिसिद्धी, उपाध्यक्ष कृष्णबहादुर महरा सुनछहरी गाउँपालिका रोल्पा, उपाध्यक्ष अग्नि सापकोटा लिसंखुपाखर गाउँपालिका ३, उपाध्यक्ष पम्फा भुसाल ललितपुर महानगरपालिका २२,  महासचिव देव गुरुङ सुन्दरबजार नगरपालिका–८ लमजुङ, उपमहासचिव गिरिराजमणि पोखरेल गोकर्णेश्वर नगरपालिका–४ काठमाडौं, उपमहासचिव हरिबोल गजुरेल सिन्धुली, जनार्दन शर्मा चन्द्रागिरी–२, शक्ति बस्नेत भेरी नगरपालिका जाजरकोट, मातृका यादव वीरेन्द्रनगर नगरपालिका–१ सुर्खेतमा खटिनेछन् ।

 

सचिव दिनानाथ शर्मा बाग्लुङ, डिलाराम आचार्य धनगढी उपमहानगरपालिका–१६, चक्रपाणि खनाल विराटनगर महानगरपालिका–१८, देवेन्द्र पौडेल पोखरा महानगरपालिका–२०, लीलामणि पोखरेल महोत्तरी, गणेश साहलाई काठमाडौं महानगरपालिका–१० मा खटाइएको उनले बताए ।

 

पर्सा, १५ भदाै ।

पर्सागढी नगरपालिका-१ बडेरुवाबाट अवैध लागुऔषध गाँजा ५ किलो  ७ सय १३ ग्रामसहित मकवानपुर सुनाचुरी गाउँपालिका-६ बस्ने ३८ वर्षीय चन्द्रमान प्रजालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

 

अस्थाई प्रहरी पोष्ट मानवाबाट खटिएको प्रहरीले जितपुरबाट मनवातर्फ आउँदै गरेको प्रदेश नं.-२-०३-००१ ह २७२ नम्बरको अटो रिक्सालाई जाँच गर्ने क्रममा उक्त गाँजासहित उनलाई पक्राउ गरेको हो ।

 

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।