धनगढी, २१ भदौ ।
कैलालीको अत्तरियाबाट लागूऔषधसहित तीन जना पक्राउ परेका छन्।
गोदावरी नगरपालिका–३ का १८ वर्षीय कृष्ण रावल लागूऔषधसहित पक्राउ परेका हुन्। ६० मिलिग्राम लागूऔषधसहित इलाका प्रहरी कार्यालय मालाखेतीले रावललाई बुधबार पक्राउ गरेको हो।
त्यस्तै गोदावरी नगरपालिका–१ भरतपुरका २२ वर्षीय नरेश चौधरी र धनगढी उपमहानगरपालिका–११ का २७ वर्षीय अर्जुन चौधरीलाई नरेश चौधरीकै घरबाट दुई सय मिलिग्राम लागूऔषधसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।
वासिंग्टन डिसी, २१ भदौं ।
अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामाको बारेमा एक व्यक्तिले चकित पार्ने दाबी गरेका छन् ।
उक्त व्यक्तिले ओबामासँग आफ्नो यौन सम्बन्ध रहेको दाबी गरेका छन् । यससँगै उनले पूर्वराष्ट्रपतिसँग पनि लागुऔषध सेवन गरेकोसमेत दाबी गरेका छन् । वास्तवमा यो सनसनीपूर्ण खुलासा एक व्यक्तिले फक्स न्यूजका पूर्व एन्कर टकर कार्लसनसँगको अन्तर्वार्तामा गरेका हुन्।
डेली मेलको समाचार अनुसार बराक ओबामाको बारेमा यस्तो दाबी गर्ने व्यक्तिको नाम ल्यारी सिन्क्लेयर हो। जसको दावी छ कि ओबामा सेक्स गर्नु अघि चुरोट पिउँथे। यति मात्र होइन, उनी लागुऔषधको लतमा फसेकासमेत छन् । समाचार अनुसार यी व्यक्तिले सन् २००८ को अमेरिकी राष्ट्रपतीय चुनावअघि पनि यस्तो दाबी गरेका थिए यद्यपि ओबामा राष्ट्रपति चुनाव जित्ने बाटोमा रहेका बेला अमेरिकी मिडियाले यी दाबीहरूलाई ठूलो मात्रामा खारेज गरेका थिए।
कार्लसनले उक्त अन्तर्वार्ताको छोटो क्लिप सामाजिक सञ्जालमा पोस्ट गरेका छन् । साथै उनले पूरै भिडियो बुधबार साँझ सार्वजनिक गर्ने बताए । ट्विटरमा एक मिनेटको क्लिप पोस्ट गरेको एक घण्टा भित्र, यो लगभग ४ मिलियन पटक हेरिएको छ। सिन्क्लेयरले नोभेम्बर १९९९ मा शिकागोको बार बाहिर ओबामालाई भेटेकोसमेत बताएका छन् ।
सिन्क्लेयरले ओबामासँग दुईपटक यौन सम्पर्क भएको र उनीहरूले सँगै कोकेन खाएको दाबी गरेका छन् । उनले बाराक ओबामालाई कोकिन किन्न २५० डलर दिएको पनि दाबी गरेका छन् । टकर कार्लसनले सिन्क्लेयरलाई उद्धृत गर्दै बराक ओबामाले पुरुषसँग यौनसम्पर्क राखेको र क्लास ए ड्रग्स प्रयोग गरेको दाबी गरे।
२००८ मा सिन्क्लेयरले नेसनल प्रेस क्लबमा आफ्ना आरोपहरू साझा गरेका थिए र पछि २००९ मा एउटा पुस्तकसमेत प्रकाशित गरेका छन्, जसमा उनले ओबामाको चर्च गायक निर्देशकसँग समलिङ्गी सम्बन्ध रहेको दाबी पनि गरेका छन, डिसेम्बर २००७ मा उनको हत्या गरिएको थियो। २००८ को चुनावमा वाशिंगटन प्रेस कोर्प्सले आफ्नो भनाईलाइ किन तथ्य जाँच गरेन भनेर सोध्दा सिन्क्लेयरले जवाफ दिए, यदि मिडियाले वास्तवमा मानिसहरूलाई सत्य बताउनको लागि ख्याल राख्यो भने यो कथा हुनेछ।
लमजुङ २१ भदाै ।
बेसीशहर नगरपालिका वडा नं. ११ ले वडा भित्रका प्रत्येक टोलमा स्टेचर वितरण गरेको छ ।
वडाको आर्थिक बर्ष ०८०/०८१ को बजेटबाट १० वटा टोललाई स्टेचर प्रदान गरेको हो । वडा नं. ११ का वडा अध्यक्ष शिव जोशीले एक कार्यक्रमका बीच ११ वटा स्टेचर टोलसुधार समितिका अध्यक्षहरुलाई हस्तान्तरण गरेका हुन् ।
विपद् जतिखेर पनि आउन सक्ने भएकाले प्रतिकार्यका लागि टोलटोलमा स्टेचर प्रदान गरिएको वडाध्यक्ष शिव जोशीले बताए । सदरमुकाम भएर पनि सबै टोल र बस्तीमा यातायातको पहुँच नपुगेकाले गर्भवती, सुत्केरी, बिरामी र विपद्का घटनामा घाइते भएकालाई तत्काल अस्पतालसम्म पुर्याउन स्टेचर आवश्यक पर्ने भएकाले वडा कार्यालयले स्टेचर खरीद गरेर वितरण गरेको उनले बताए।
आर्थिक बर्ष ०८०/०८१ मा वडाले स्टेचर खरीदका लागि ४५ हजार रुपैयाँ रकम छुटाएको वडाले जनाएको छ । ’जहाँ आवश्यक पर्छ त्यही दिन्छौं,’ उनले भने, ’ हाम्रो जस्तो भौगोलिक विकट ठाउँमा स्टेचरको आवश्यकता निकै महसुस भएकोले खरिद गरीएको हो ।
बेइजिङ, २१ भदौं ।
चीनले सरकारी निकायमा कार्यरत अधिकारीहरूलाई एप्पलको आईफोन र अन्य विदेशी ब्रान्डका मोबाइल फोनहरू प्रयोग नगर्न आदेश दिएको छ।
सरकारी कर्मचारीलाई पनि कार्यालयमा ल्याउन निषेध गरिएको छ । पछिल्ला हप्ताहरूमा विभिन्न सरकारी निकायका वरिष्ठ अधिकारीहरूले आफ्ना कनिष्ठ कर्मचारीहरूलाई च्याट समूह र बैठकहरूमा सरकारको यो आदेशको बारेमा जानकारी गराउँदै आएका छन्।
वाल स्ट्रिट जर्नलमा प्रकाशित समाचार अनुसार चीनले विदेशी प्रविधिमा निर्भरता घटाउन र साइबर सुरक्षा बढाउनमा जोड दिँदै गर्दा यो कदम चालेको हो । चीनले कुनै पनि प्रकारको संवेदनशील जानकारी विदेशी ब्रान्डका उपकरणहरू मार्फत देशको सीमा बाहिर लैजान चाहँदैन। उसले सूचनालाई सीमित गर्न काम गरिरहेको छ। चीनले विदेशी ब्रान्डका फोनमार्फत जासुसी गर्न सकिने ठानेको छ ।
चिनियाँ सरकारले चालेको कदमका कारण चीनमा रहेका एप्पललगायत विदेशी ब्राण्डलाई ठूलो नोक्सान हुनसक्छ । एप्पल चीनमा सबैभन्दा लोकप्रिय मोबाइल फोन ब्रान्ड हो। चीन एप्पलको सबैभन्दा ठूलो बजार पनि हो। कम्पनीको नाफाको १९ प्रतिशत चीनबाट मात्रै प्राप्त हुन्छ । चिनियाँ सरकारको आदेशलाई कत्तिको कडाइका साथ कार्यान्वयन भइरहेको छ भन्ने स्पष्ट छैन। यस विषयमा एप्पलले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन ।
चीनले केही सरकारी निकायका अधिकारीहरूलाई आइफोन प्रयोगमा प्रतिबन्ध लगाएको छ। वाल स्ट्रीट जर्नलले रिपोर्ट गरेको छ कि प्रतिबन्धको दायरा नयाँ आदेश अन्तर्गत विस्तार गरिएको छ। यसपटक प्रतिबन्ध कडाइका साथ लागु हुने विश्वास गरिएको छ । चिनियाँ सरकारको नयाँ आदेशले चीन र अमेरिकाबीच जारी तनावलाई देखाउँछ। अमेरिका र चीनले एक अर्कामाथि प्राविधिक उत्पादनका विषयमा लगातार प्रतिबन्ध लगाउदै आएका छन् ।
वास्तवमा अमेरिकाले हालै हुवावेमाथि प्रतिबन्ध लगाएको छ । अमेरिकी अधिकारीहरूलाई चिनियाँ सोशल मिडिया प्लेटफर्म टिकटक प्रयोग गर्न निषेध गरिएको छ। अमेरिकी प्रतिबन्धको जवाफमा चीनले नयाँ आदेश जारी गरेको विश्वास गरिन्छ। डाटा चुहावटको डरले दुवै देशलाई सताइरहेको छ। अमेरिकाले लामो समयदेखि चीनलाई जासुसी गरेको आरोप लगाउँदै आएको छ । तर, चीनले आफूमाथि लगाइएको आरोपलाई अस्वीकार गर्दै आएको छ
काठमाडौं, २१ भदौं ।
कोशी प्रदेश सरकारको भविश्यका बारेमा आज पनि सर्वोच्च अदालतमा पुर्ण इजालासमा सुनवाई हुदैँछ ।
कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मतको संबैधानिक हैसियतका बारेमा गत मंगलबार देखि सुरू भएकाे सुनवाइ आज पनि सर्वोच्च अदालतको पुर्ण इजालसमा सुनवाई हुन लागेको हो । न्यायाधीशहरु सपना प्रधान मल्ल, कुमार चुडाल र नहकुल सुवेदीको इजलासले उक्त मुद्दा हेरिरहेका छन् ।
अाइतबार न्यायाधीशद्वय सपना प्रधान मल्ल र सुष्मालता माथेमाको संयुक्त इजलासले उक्त रिटलाई पूर्ण इजलासमा पठाउने निर्णय गरे अनुसार सोमवारबाट पुर्ण इजालसमा सुनवाइ हुने भने पनि साे दिन हेर्दा हेर्दैमा राखिएकाे थियाे । जसअनुसार कम्तीमा तीन न्यायाधीश रहने पूर्ण इजलासमा उक्त रिटमाथि मंगलबारबाट सुनुवाइ सुरू भएकाे छ ।
मुख्यमन्त्री थापाले बैठकको सभाध्यक्षसहितको मतसमेत जोडेर विश्वासको मत लिए पछि नेकपा एमालेले सो कार्य गैर संबैधानिक भन्दै सर्वोच्च अदालतले रिट दायर गरेको थियो । उक्त रिटमाथि गत शुक्रबार नै पूर्ण सुनुवाइ गर्ने गरी यस अघि नै पेसी तोकिएको थियो तर सो रिटमा गत शुक्रबार न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र सुष्मालता माथेमाको इजलासमा परे पनि ‘हेर्न नमिल्ने’ भनेसँगै सुनवाइ राेकिदै अाएकाे थियो ।
प्रदेश सभा बैठकको अध्यक्षता गरेका सदस्यले समेत मुख्यमन्त्री थापालाई विश्वासको मत दिएको र उक्त कार्य संविधान विपरीत रहेको दाबी गर्दै पुर्व मुख्यमन्त्री तथा नेकपा एमाले प्रदेश संसदीय दलका नेता हिक्मत कार्कीले सर्वोच्च अदालतमा रिट दायर गरे हुन ।
रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै भदौ ७ गते न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले कोशी सरकारले विश्वासको मत लिँदा प्रक्रिया मिलेको नदेखिएको भन्दै दीर्घकालीन निर्णय नगर्न अन्तरिम आदेश जारी गरिसकेको छ । जसकाकारण सो आदेशपछि थापा नेतृत्वको प्रदेश सरकार कुनै पनि महत्वपुर्ण निर्णय गर्न नपाउने गरी कामचलाउको अवस्थामा छ।
कोशी सरकारविरुद्ध एमाले संसदीय दलका नेता कार्कीले भदौ ६ गते सर्वोच्चमा रिट दिएका थिए। उनले प्रदेश प्रमुख परशुराम खापुङ, मुख्यमन्त्री थापा, प्रदेश सभा सचिवालयलाई विपक्षी बनाएर रिट दायर गरेका हुुन ।
काठमाडौं, २१ भदौं ।
पाकिस्तानले बंगलादेशलाई पराजित गरेको छ।
एसिया कप क्रिकेटको सुपर फोरमा पाकिस्तानले बंगलादेशलाई ७ विकेटले पराजित गरेको हो ।
पाकिस्तानको लाहोरमा बुधबार रातीसम्म भएको खेलमा घरेलु टोलीले छिमेकी बंगलादेशलाई ७ विकेटले पराजित गरेको हो।
बंगलादेशले दिएको १ सय ९४ रनको लक्ष्यलाई पाकिस्तानले ३९ ओभर ३ बलमा पूरा गरेको थियो, जसका लागि उसले ३ बिकेटको क्षती ब्योर्होनु परेको थियो । पाकिस्तानका लागि इमाम उल हकले ७८, मोहम्मद रिजवानले नटआउट ६३, फाखर जामनले २० र कप्तान बाबर आजम १७ रन बनाएका थिए ।
उता, बंगलादेशका तास्किन अहमेद, सोरीफुल इस्लाम र मेहदी हसन मिराजले समान १–१ विकेट लिएका थिए ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको बंगलादेशले ३८ ओभर ४ बलमा १ सय ९३ रन बनाएर अलआउट हुन पुगेको थियो भने । बंगलादेशका लागि मुशफिकर रहिमले ६४ र शाकिब अल हसनले ५३ रन बनाउन सफल भएका थिए ।
सो क्रममा पाकिस्तानका हरिस रौफले ४ र नशीम शाहले ३ तथा साहिन शाह अफ्रिदी, फाहिम असरफ र इफ्तिखार अहमदले समान १–१ विकेट लिदै बंगलादेश माथी हावी हुन पुगेका थिए ।
काठमाडौं, २१ भदौं ।
हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि सामान्य बदली रहेको छ। कोशी र बागमती प्रदेशको थोरै स्थानमा हल्का वर्षा भइरहेको छ।
दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरू तथा बाँकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै मधेश प्रदेश र कोशी प्रदेशको तराई भू-भागका थोरै स्थानहरुमा हावाहुरीको सम्भावना रहेको छ।
राती भने देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरू तथा बाँकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै मधेश प्रदेश र कोशी प्रदेशको तराई भू-भागका थोरै स्थानहरुमा हावाहुरीको सम्भावना रहेको छ।
वर्षाका कारण क्षेत्रहरूबाट बहने नदीको जल सतह हल्का बढ्न सक्ने, गेग्रान बहाव, बाढी, पहिरो, भू-क्षय जस्ता प्रकोप हुन सक्ने भएकोले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिमलगायत चट्याङ्ग तथा हावाहुरीको क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन महाशाखाले अनुरोध गरेको छ।
राैतहट,भदौ २० गते ।
जनता समाजवादी पार्टी (जसपा) नेपालको महाधिवेशनमा प्रतिनिधि चुन्न र चुनिनका लागि नयाँ विधानबमोजिम संगठन र समितिहरु अद्यावधिक भएको हुनुपर्ने भएको छ ।
अद्यावधिक नभएका कुनै पनि संगठन र समितिबाट महाधिवेशनको प्रतिनिधि हुन पाइने जनाइएकाे छ । केन्द्रीय समिति महाधिवेशन आयोजक भएपनि स्वतः महाधिवेशन प्रतिनिधि हुने यस अघिको व्यवस्थालाई नयाँ विधानले हटाएको छ । फलस्वरुप पार्टीका केन्द्रीय समिति सदस्यहरु पनि तल्लो समिति वा संगठनबाटै निर्वाचित भएर महाधिवेशन प्रतिनिधि बन्नुपर्ने छ ।
संगठन र समितिलाई नयाँ विधानबमोजिम अद्यावधिक गर्नका लागि पार्टीले ३ महिने पार्टी विस्तार तथा सुदृढीकरण अभियान सञ्चालन गरेको छ । संगठन र समिति पुनर्गठन र रुपान्तरण कार्य सम्पन्न भएसँगै पार्टी महाधिवेशनको प्रक्रियामा अगाडि बढ्ने बताईएकाे छ ।
आरके श्रीवास्तव,रौतहट,२० गते भदौ ।
रौतहट । रौतहटका नयाँ प्रहरी प्रमुख प्रहरी उपरीक्षक महेन्द्र कुमार श्रेष्ठसँग पत्रकारहरूको परिच्यात्मक कार्यक्रम सम्पन्न भएको छ । जिल्लाको सदरमुकाम गौर स्थित जिल्ला प्रहरी कार्यालयमा आज सो कार्यक्रमको आयोजन गरिएको थियो ।
जिल्ला प्रहरी कार्यालय रौतहटमा सरुवा भएर आएका नयाँ प्रहरी उपरीक्षक श्रेष्ठसँग परिच्यात्मक कार्यक्रम तथा प्रहरी सुरक्षासँग सम्बन्धित अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटमा रहेको एसपी श्रेष्ठकै कार्यकक्षमा यस जिल्लामा क्रियाशिल रहेका पत्रकारहरुसँग जिल्लाको समसामायिक शान्ती सुरक्षाको वस्तुस्थिती, प्रहरीले अवलम्बन गर्नु पर्ने रणनिती, स्थानिय स्तरमा सुरक्षासँग सम्बन्धित समस्याहरु र समुदायको प्रहरीसँगको अपेक्षाको बारेमा अन्तरक्रिया गरिएको हो ।

उक्त अन्तरक्रिया कार्यक्रममा पत्रकारहरुले सिमा नाकाको चोरी तस्करी,अपराधिक गतिविधि, अवैध मदिरा विक्री वितरण, प्रहरी यूनिटको इन्चार्ज बदल्ने,कानुन पूर्ण रुपमा पालन गर्नुपर्ने,महिला हिंसा,लागूऔषध तस्करी,प्रहरीलाइ दिएको सूचना चुहावट,प्रहरी कार्यालयमा दलालहरुको हाबि लगायतका गम्भीर प्रश्नहरु उठाएका थिए ।

पत्रकारहरुले उठाएको प्रश्नको जवाफ दिदै रौतहट प्रहरी प्रमुख एसपी श्रेष्ठले जिल्ला प्रहरी कार्यालयमा आउने गरेको विभिन्न किसिमको मुद्धाहरुको बारेमा आफूले गम्भीरता पूर्वक लिएको बताएका छन् । मुद्धाका कुरामा व्यापक सुधार गर्ने बताए । साथै जति पनि विषयहरु एठेका छन् । त्यसलाइ विस्तारै सम्बोधन गर्दै जाने प्रतिबद्धता जनाउनु भयो ।
सो कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष प्रेमचन्द्र झा,सचिव मदन ठाकुर, महासंघको पूर्व अध्यक्ष शैलेन्द्रकुमार गुप्ता, पूर्व अध्यक्ष रविन्द्र साह सहितका संचारकर्मीहरुको उपस्थिती रहेको थियो ।
