काठमाडौं, २२ भदौ । गृह मन्त्रालयले १० जना सहसचिव र उपसचिवको सरुवा गरेको छ।

गृहले मातहतका १० प्रमुख जिल्ला अधिकारी, उपसचिव र सहायक प्रमुख जिल्ला अधिकारीहरूको सरुवा गरिएको शुक्रबार जनाएको छ।

उनीहरूको हालको पद, कार्यरत कार्यालय, सरुवा भएको पद र सरुवा भएको स्थानबारे गृहले सूचनामा उल्लेख गरेको छ।
काठमाडौं, २२ भदौ ।
झापाको मेचीनगर नगरपालिका-१ तिरिङ दोभानस्थित मेची नदीमा एक महिलाले हाम फालेकी छन्। शुक्रबार एक महिलाले हाम फालेकोमा प्रहरीले उद्धार गरेको छ।
सशस्त्र प्रहरीले रोङ गाउँपालिका–६ बस्ने ४० वर्षीया सोमा तामाङको नदीमा हाम फालेको अवस्थामा उद्धार गरेको हो।
उनले नदीमा हाम फालेको जानकारी पाएलगत्तै खटिएको सशस्त्र प्रहरीको टोलीले उनको सकुशल उद्धार गरेको थियो । उनलाई आफन्तको जिम्मा लगाइएको छ।
धनगढी, २२ भदौ ।
कैलालीको धनगढीमा डेंगु संक्रमणबाट एक बालिकाको मृत्यु भएको छ। कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ६ की १२ वर्षीया लक्ष्मी सेरालाको डेंगु संक्रमणबाट ज्यान गएको हो।
केही दिनअघि उनलाई महाकाली प्रादेशिक अस्पतालमा परीक्षण गर्दा डेंगु सङ्क्रमण पुष्टि भएको थियो। त्यसपछि उनलाई त्यहाँबाट रेफर गरी धनगढीस्थित अस्पतालमा भर्ना गरिएकामा उपचारकै क्रममा बिहीबार राति मृत्यु भएको हो।
काठमाडौं, २२ भदौ ।
राष्ट्रपति रामचन्द्र पौडेलले स्वीट्जरल्यान्डका लागि नेपालको आवासीय राजदूतमा रामप्रसाद सुवेदीलाई नियुक्त गरेका छन् ।
सरकारको सिफारिसमा शुक्रबार राष्ट्रपति पौडेलले सुवेदीलाई स्वीट्जरल्याण्डका लागि नेपालको आवासीय राजदूत, सयुंक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोग जेनेभा, विश्व व्यापार संगठन र विश्व स्वास्थ संगठनका लागि नेपालको स्थायी प्रतिनिधि पदमा नियुक्त गरेको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन् ।
काठमाडौं, २२ भदौ ।
सरकारका तीन सचिवको सरुवा गरिएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले तीन सचिवको सरुवा गर्ने निर्णय गरेको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव उदयराज सापकोटालाई कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयमा, नेपाल कानुन आयोगका सचिव निरादेवी गर्तौला निरौलालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र सत्य निरुपण तथा मेलमिलाप आयोगका सचिव तोयानाथ अधिकारीलाई नेपाल कानुन आयोगको सचिवमा सरुवा गरिएको सरकारकी प्रवक्ता तथा सञ्चार सूचना तथा प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
काठमाडौ, २२ भदौ ।
नेपाल सरकारले विकास ऋणपत्र मार्फत १० अर्ब आन्तरिक ऋण उठाउने भएको छ । आन्तरिक ऋण उठाउनको लागि सरकारले नेपाल राष्ट्र बैंकमार्फत विकास ऋणपत्र जारी गर्न लागेको हो । केन्द्रीय बैंकले १० अर्ब रुपैयाँको ६ वर्ष अवधि भएको विकास ऋणपत्र २०८६ ‘झ’ जारी गर्न लागेको हो ।
यस ऋणपत्रका लागि आइतबार भदौ २४ गते दिउँसो ३ बजे बोलकबोल हुने भएको छ । यसको निष्कासन मिति भने भदौ २५ गते तोकिएको छ । ऋणपत्रको भुक्तानी अर्धवार्षिक रुपमा हुने र ब्याजमा कर पनि लाग्ने बैंकले जनाएको छ । इच्छुक खरिदकर्ताले प्रतिस्पर्धी वा अप्रतिस्पर्धी रुपमा सहभागी हुन सकिने सूचनामा उल्लेख गरिएको छ ।
प्रतिस्पर्धी र अप्रतिस्पर्धीलाई क्रमशः ८५ प्रतिशत र १५ प्रतिशत छुट्याइएको छ । बोलवालाले कबोल गरेको ब्याजदरलाई सानोदेखि ठूलो क्रममा मिलाएर राखी बाँडफाँट गरिने रकमसम्ममा कायम भएको ‘कट अफ’ ब्याजदरलाई एकल ब्याजदर कायम गरी हुने राष्ट्र बैंकले जनाएको छ ।
ऋणपत्रमा घटीमा ५० हजार र बढीमा कुल निष्काशित रकमको सीमामा नबढाई ५० हजारले भाग गर्दा निःशेष भाग जाने अंकमा बोलकबोल पेश गर्नुपर्नेछ । ऋणपत्र खरिदका लागि व्यक्ति तथा संस्थाले बोलकबोल प्रक्रियाअन्तर्गत प्रतिस्पर्धी वा अप्रतिस्पर्धी कुनै एक बोलवालाको रुपमा मात्र भाग लिन सक्नेछन् । यो ऋणपत्र बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बिमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले पनि खरिद गर्ने सक्नेछन् ।
काठमाडौं, २२ भदौ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय निजामती सेवासम्बन्धी विधेयकमा ट्रेड युनियन अधिकार कटौती नगरिएको बताएका छन् ।

सिंहदरबारमा शुक्रवार आयोजित २० औँ निजामती सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले ट्रेड युनियन अधिकारको कुरा कटौती नगरिएको र यसलाई व्यवस्थित गर्ने काम भइरहेको बताए ।
सम्बोधनको पूर्णपाठ :
निजामती सेवा दिवस मूल समारोह कार्यक्रमका अध्यक्ष तथा नेपाल सरकारका मुख्यसचिवज्यू,
कार्यक्रमका विशिष्ट अतिथि माननीय सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रीज्यू,
नेपाल सरकारका सचिवज्यूहरू,
सम्पूर्ण राष्ट्रसेवक कर्मचारीहरू,
ट्रेड युनियनका अध्यक्ष तथा पदाधिकारीहरू,
सुरक्षा अंगका प्रमुख एवं प्रतिनिधिहरू,
सञ्चारकर्मी मित्रहरू,
उपस्थित आदरणीय महानुभावहरू ।
“व्यवसायिक र सिर्जनशील प्रशासन : विकास, समृद्धि र सुशासन” भन्ने मूलनारासहित भव्यरूपमा मनाउन लागिएको बीसौं निजामती सेवा दिवसको यस महत्वपूर्ण अवसरमा सङ्घ, प्रदेश र स्थानीय तहमा कार्यरत सम्पूर्ण राष्ट्रसेवक निजामती कर्मचारीहरूको व्यक्तिगत र व्यवसायिक जीवनमा सफलताको शुभकामना व्यक्त गर्दछु ।
मुलुकका ठूला राजनीतिक परिवर्तनमा तपाई निजामती कर्मचारीहरूको अहम् भूमिका रहिआएको छ । मुलुकको विषम परिस्थितिमा राज्य सञ्चालनदेखि विकास निर्माण, सेवा प्रवाह र संक्रमणकालीन व्यवस्थापनमा निजामती प्रशासनले पु¥याएको योगदान महत्वपूर्ण छ । यसका निम्ति तपाईहरू प्रशंसाका पात्र हुनुहुन्छ ।
राजनीतिक परिवर्तनलाई संस्थागत गर्दै विकास, समृद्धि र सुशासनका एजेण्डामा लैजाने हाम्रो मुख्य कार्यभार हो । राजनीतिक परिवर्तनका निम्ति संघर्ष गरेका जनतालाई शासन व्यवस्थामा आएको परिवर्तनको लाभांश दिनुपर्ने जिम्मेवारी र चुनौती दुबै हामीसामु छ । यसले मात्र लोकतन्त्र बलियो हुन्छ, राज्यप्रति नागरिकको भरोसा र विश्वास अभिवृद्धि हुन सक्दछ । सामाजिक न्याय, सुशासन र समृद्धिको दीर्घकालीन लक्ष्य हासिल गर्न निजामती प्रशासनले राजनीतिक मार्गदर्शनमा रही काम गर्नुपर्दछ । तसर्थ, गठबन्धन दलहरूको साझा न्यूनतम कार्यक्रम, नेपाल सरकारको नीति तथा कार्यक्रमका साथै चालु आर्थिक वर्षको बजेटलाई केन्द्रमा राखेर काम गर्नु यतिबेलाको हाम्रो मुख्य जिम्मेवारी हो ।

संविधानको मूल मर्म, भावनालाई आत्मसाथ गरी सङ्घीयताको प्रभावकारी कार्यान्वयन, शासकीय संरचना र कार्यशैली, सार्वजनिक सेवा प्रवाहमा सुधारका साथै भ्रष्टाचारमा शून्य सहनशीलताको नीतिलाई केन्द्रमा राखी सरकार अगाडि बढिरहेको कुरा हामीलाई अवगत नै छ । निरासालाई चिर्दै जनतामा आशाको रक्तसञ्चारहित राष्ट्रको मुहार फेर्ने यस अभियानमा निजामती कर्मचारी साथीहरू मन, वचन र कर्मले दृढतापूर्वक क्रियाशील रहनुहुनेछ भन्ने मैले विश्वास लिएको छु ।
राजनीतिक परिवर्तनसँगै निजामती प्रशासनलाई रूपान्तरण गर्न २०१३ भाद्र २२ मा जारी भएको निजामती सेवा ऐनको भूमिकालाई समेत आत्मसाथ गरी अहिलेको राजनीतिक परिवर्तन र संविधानको व्यवस्थाअनुरूप निजामती प्रशासनमा गुणात्मक परिवर्तन आवश्यक छ । यसका लागि सङ्घीय लोकतान्त्रिक गणतन्त्रप्रति पूर्णरूपमा प्रतिबद्व, राजनीतिक रूपमा तटस्थ, पेसागत रूपमा दक्ष, सुदृढ, उच्च मनोबलयुक्त सेवामूलक, उत्तरदायी, व्यावसायिक निजामती प्रशासनको विकासका लागि नीतिगत, कानुनी, संस्थागत, संरचनागत र व्यवहारिक प्रवन्ध गर्नुपर्दछ ।
उल्लेखित तथ्यलाई ध्यान दिँदै लामो समयदेखि प्रतीक्षारत संघीय निजामती सेवा सम्बन्धी विधेयक हिजो मात्र नेपाल सरकार मन्त्रिपरिषद बैठकले संसदमा पठाउने निर्णय गरेको छ । राजनीतिक दलहरूको सहमतिबाट संसदले उक्त विधेयक यथाशक्य छिटो पारित गर्नेछ भन्ने विश्वास मैले लिएको छु । सङ्घ, प्रदेश र स्थानीय तहबीचको प्रशासनिक अन्तरसम्बन्ध कायम गर्न, तीन तहबीच प्रशासनको कार्यात्मक अन्तरसम्बन्धलाई मजबुत बनाई प्रशासनिक सङ्घीयतालाई संस्थागत गर्न, संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण र कार्यान्वयनमा सङ्घीय निजामती सेवा ऐन कोशेढुङ्गा हुने नै छ ।
मुलुकको सिङ्गो प्रशासन संयन्त्रलाई उत्प्रेरित र उच्च मनोबलयुक्त, निष्पक्ष, पारदर्शी, परिणाममुखी, जवाफदेही, स्वच्छ, सक्षम र प्रविधिमैत्री बनाई निजामती प्रशासनलाई राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धी बनाउन सरकार प्रतिवद्ध छ । भविष्यमा दण्ड र पुरस्कारको व्यवस्थालाई ठोस रूपमा अगाडि बढाई राष्ट्र र जनताको हित र सेवामा समर्पित भई कार्यक्षेत्रमा खट्ने असल, सक्षम र कर्तव्यनिष्ठ कर्मचारीहरूलाई थप उत्प्रेरित गरिने विश्वाससमेत दिलाउँछु ।
अन्तमा, निजामती सेवामा महत्वपूर्ण योगदान पु¥याई आज पुरस्कृत हुनुहुने सबै राष्ट्रसेवक कर्मचारीलाई बधाइ दिँदै सङ्घ, प्रदेश र स्थानीय तहमा कार्य।रत कर्मचारी साथीहरूको चासो र चिन्तालाई सम्बोधन गरिने प्रतिवद्धता व्यक्त गर्दै फेरि एकपटक २० औं निजामती सेवा दिवसको शुभकामनासहित विदा हुन्छु, धन्यवाद ।
काठमाडौं, २२ भदौ ।
राष्ट्रिय सभा बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ । आउँदो आइतबार बिहान ११ बजेर १ मिनेटमा बस्ने गरी बोलाइएको राष्ट्रिय सभा बैठक अर्काे सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको छ ।

आइतबार बिहान ११ः०१ बजे बस्नेगरी निर्धारणा गरिएको राष्ट्रिय सभाको बैठक विशेष कारणवश तोकिएको दिन र समयमा बस्न नसक्ने भएकोले राष्ट्रिय सभा नियमावली २०७५ को नियम ६ उपनियम ३ बमोजिम सम्माननीय अध्यक्षज्यूले अर्काे सूचनाद्वारा तोकिएको मिति र समयमा बस्नेगरी स्थगित गर्नुभएको व्यहोरा माननीय सदस्यहरुको जानकारीका लाागि यो सूचना प्रकाशित गरिएको छ,’ संघीय संसदका महासचिव डा भरतराज गौतमले शुक्रबार जारी गरेको सूचनामा उल्लेख छ ।
स्याङ्जा, २२ भदाै ।
स्याङ्जामा माछा मार्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । शुक्रबार बिहान माछा मार्ने क्रममा करेन्ट लागेर वालिङ नगरपालिका–६, रसखोलास्थित आमडालीका ३६ वर्षीय यामबहादुर थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
माछा मार्न प्रयोग हुने तार, रड र बाँसका भाटासहित माछा मार्न गएका चारजनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
काठमाडौं, २२ भदौ ।
सत्तारुढ दल कांग्रेकको भ्रातृ संगठन तरुण दलले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग्दै प्रदर्शन गरेको छ ।
गत बुधबार रिपोर्टर्स क्लबको कार्यक्रमबाट बाहिरिने क्रममा कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि भएको खुकुरी आक्रमणको विरोधमा तरुण दलले शुक्रबार विरोध प्रदर्शन गर्दै गृहमन्त्री श्रेष्ठको राजीनामा मागेको हो ।
काठमाडौंको रत्नपार्कस्थित शान्ति बाटिकामा विरोध प्रदर्शन गर्दै तरुण दलले गृहमन्त्री श्रेष्ठको राजीनामा पनि मागेको हो ।