लमजुङ २३ भदाै ।
लमजुङको दोर्दी गाउँपालिकाले रासायनिक मलको बिक्रि मुल्य निर्धारण गरेको छ । सरकारले कृषकहरुका लागि अनुदानमा वितरण गर्दै आएको रासायनिक मल विक्रिमा एक रुपता ल्याउन र व्यवस्थित गर्न गाउँपालिकाले मुल्य निर्धारण गरेको हो ।
अनुदान वितरण व्यवस्थापन निर्देशिका २०७७ बमोजिम दोर्दी गाउँपालिकामा गठित स्थानीय तह मल वितरण व्यवस्थापन समितिको बैठकले उपभोक्ताहरुलाई विक्रि गर्ने मुल्य निर्धारण गरेको हो । समितिको निर्णय अनुसार युरिया मलको विक्रि मुल्य ५० केजीको प्रतिबोरा १२ सय रुपैया र फुटकर प्रति किलोको २४ रुपैया तोकिएको छ । यसैगरी डि.ए.पि. प्रति बोरा २ हजार ६ सय ४४ रुपैया ५० पैसा र प्रति किलो ५२ रुपैया ८९ पैसा निर्धारण गरेको छ भने पोटास ५० केजिको प्रतिबोरा २ हजार ५०, फुटकर प्रतिकिलो ४० रुपैया ९९ पैसा मुल्य तोकिएको छ ।
मल आपूर्ति गरिएको स्थानदेखिको ढुवानी तथा लोड अनलोड शुल्क जोडेर मलको विक्रि मुल्य निर्धारण गरिएको दोर्दी गाउँपालिका कृषि शाखा प्रमुख निराजन पौडेलले बताए ।
लमजुङमा यस अघि बेसीशहर, मध्यनेपाल, मस्र्याङदी लगायतका स्थानीय तहले मलको विक्रि मुल्य निर्धारण गरिसकेका छन् । विगतमा सहकारीहरुले नै मलको बिक्री मूल्य निर्धारण गर्दै आएकोमा मुल्यमा एकरुपता नभएको र कतिपय सहकारीले अस्वाभाविक मूल्यमा रासायनिक मल बिक्री गरेको गुनासो आएकाले सम्बन्धित स्थानीय तहले अनुदानको रासायनिक मलको विक्रि मुल्य निर्धारण गर्ने व्यवस्था अनुसार स्थानीय तहहरुले मुल्य निर्धारण गरेका हुन् ।
चन्दन कुमार महतो ,गाैर,भदौ २२ गते ।
आज रौतहट जिल्लाको प्रादेशिक अस्पताल गौरले आन्द्रा फुटे परेकोलाई पहिलो पटक शल्यक्रिया सफलतापूर्वक गरेकाे छ । लैपरोटॉमीको अप्रेसन डा.फिरोज अंजुम र डा.उज्जवल ठाकुरको टिम द्वारा सफलतापूर्वक गरेको छ ।
जहिले देखि प्रादेशिक अस्पताल गौरको व्यवस्थापक समितिको अध्यक्ष मोहम्मद अनवर हाशमी भन्नुभयो त्यो दिन देखि प्रादेशिक अस्पतालमा सबै बिमारीको राम्रो ईलाज भईरहेको छ किनभने आज डा.फिरोज अंजुमको टिम र डा.उज्जवल ठाकुरको सहकार्य द्वारा लैपरोटॉमी को सफलतापूर्वक अप्रेसन गरि नया जीवन दान गर्नु भएको छ ।
पुरा आन्द्रामा प्वाल परेको भएर पनि डाक्टर अंजुमको टिम द्वारा सफलतापूर्वक सल्यक्रिया गरिएकाे छ । बिरामीको आफन्तहरुले भने प्रादेशिक अस्पतालको डाक्टरहरु मेरो लागि भगवान छ, मेरो छोरालाई कहाँ कहाँ सम्म इलाज गराए तर राम्रो भएन आज हजुरहरूले मेरो छोरालाई नयाँ जिवन दिनुभयोमा हृदय देखि धन्यवाद ब्यक्त गर्न चाहन्छु।
डा.फिरोज अंजुम, डा. उज्जवल ठाकुर , लगायत सम्पुर्ण टिम लाई प्रादेशिक अस्पताल गौरको बिकास समितिका अध्यक्ष मोहम्मद अनवर हाशमी, मेडिकल सुपरिटेन्डेन्ट डा.संजिव कुमार सिंह,लगायत सदस्य हरुले धेरै धेरै धन्यवाद दिएका छन् ।
बज्जिकाञ्चल,रौतहट,२२ गते भदौ ।
रौतहट । रौतहटमा मन्दिरको पुजारीमाथि सांघातिक आक्रमण भएको छ । पुजारीमाथि धारिलो हतियार प्रहार गरी आक्रमण भएको हो ।
जिल्लाको दुर्गा भगवती गाउँपालिका–३ देवीपर्सा टोल स्थित रामजानकी मन्दिरका पुजारी ( महंन्थ) माथि सांघातिक आक्रमण भएको छ । मन्दिरका पुजारी मिश्रीलाल साह माथि दुध उमाली रहेका अवस्थामा अज्ञात समूहले बिहीबार बिहान ११ बजे धारिलो हतियार प्रहार बाट आक्रमण गरिएको प्रहरीले जनाएको छ ।
उनको टाउकोमा धारिलो हतियार प्रहार भएको छ । घाइते महंन्थको उपचार स्थानिय बागमती अस्पतालमा भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले बताएको हो । आक्रमण कसले र किन गरेको हो भन्ने बारेमा खुल्न नसकेको प्रहरीको भनाइ छ । पुजारीको बयानको आधारमा आक्रमण गर्ने व्यक्तिको खोज तलास भइरहेको र थप अनुसन्धान प्रकिया अगाडी बढ़ाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
आरके श्रीवास्तव,रौतहट, २२ गते भदौ ।
रौतहटमा अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाइएको छ । जिल्लाको कटहरिया नगरपालिका अन्तर्गतको एक बिधालयमा आज चित्रकला प्रतियोगिता आयोजन गरी सो दिवस मनाइएको हो । सो नगरपालिकाको वडा नम्बर २ जमुनिया गाउँमा रहेको श्री माध्यमिक बिद्यालयमा चित्रकला प्रतियोगिता आयोजन गरिएको हो ।

शुक्रबार जिइसी युके एआइडिए नामक संस्थाको आर्थिक र पिन नेपालको प्राबिधिक सहयोग तथा एसओडिसि नामक संस्थाको आयोजनामा उक्त चित्रकला प्रतियोगिता सम्पन्न भएको श्री माध्यमिक बिद्यालय जमुनियाका प्रधानाध्यापक योगेन्द्र प्रसाद कुश्वाहाले जानकारी गराउनु भयो ।
बिधार्थीहरुलाइ चित्र बनाउने तर्फ हौसला बढाउन प्रतियोगिता गरिएको उनले बताए । सो चित्रकला प्रतियोगितामा पहिलो स्थानमा सन्जना कुमारी राम,दोस्रोमा बन्दना कुमारी कुश्वाहा र तेस्रोमा प्रतिक्षा कुमारी चौधरी रहेकी छिन् । राम्रो चित्र बनाउने उनीहरुलाइ पुरस्कार पनि प्रदान गरिएको हो ।

साथै रिन्कु कुमारी पन्डित ,कबिता कुमारी राम, मन्दिप कुमार यादव, रोशनी कुमारी पन्डित, कन्हैया शर्मा सहित ७ जना विधार्थीलाइ सान्तवना पुरस्कार कपि र कलम प्रदान गरिएको उनले बताए । कार्यक्रमलाइ सम्बोधन गर्दै सो वडाका वडा अध्यक्ष हरेन्द्र साहले आउने दिनहरुमा अभिभावकहरुले बिधालयको विकासको लागि सहयोग गर्ने बताए । साथै आफूले पनि वडा बाट हुन सक्ने हरसम्भव सहयोग गर्ने प्रतिबद्धता जनाए ।
उनले भने यस्तो कार्यक्रम आयोजन हुँदा बिधार्थीहरुको सीप विकासमा मदत पुग्ने विश्वास व्यक्त गरे । सो अवसरमा कटहरिया नगरपालिकाका शिक्षा संयोजक अनिल कुमार निधि, जनप्रतिनिधि, अभिभावक, शिक्षक,शिक्षिका,बिधार्थीहरु लगायतको उपस्थिती रहेको थियो । श्री माध्यमिक बिधालय जमुनियमा प्रधानाध्यापकको रुपमा कुश्वाहा आएपछि बिधालयको अवस्था बदलिदै गएको छ ।
उनीमाथि आशा जागेको छ भने बालबालिकाहरु संतुष्ट हुन थालेका छन् । प्रअ कुश्वाहा प्रति अभिभावकहरु पनि उत्साहीत छन् । उनी यसअघि श्री जनता मावि कटहरियामा प्रअको जिम्मेवारी सम्हाल्दा बिधालयको मुहारनै फेरिएको थियो । त्यसबाट अभिभावकहरु उनीप्रति आकर्षित छन् ।
वासिंगटन डिसी, २३ भदौं ।
अमेरिकी राष्ट्रपतिलाई विश्वकै शक्तिशाली व्यक्तिमा गनिन्छ ।
यस्तो अवस्थामा तपाईलाई लाग्न सक्छ कि जो बिडेनले आफ्नो मनपर्ने कुनै पनि ग्याजेट प्रयोग गर्न सक्षम हुनेछन्। तर, यो सत्य होइन। उहाँ निस्सन्देह संसारका सबैभन्दा शक्तिशाली व्यक्तिहरू मध्ये एक हुन तर जब उपभोक्ता प्रविधिको कुरा आउँछ, उनका हातहरू आशाहीन देखिन्छन्।
उनले आफ्नो रोजाइको हरेक ग्याजेट प्रयोग गर्न सक्दैन। वास्तवमा अमेरिकी सुरक्षा एजेन्सीहरू विश्वास गर्छन् कि उनीहरूको राष्ट्रपति वरपरका इलेक्ट्रोनिक उपकरणहरू संसारभरका ह्याकरहरूको सबैभन्दा ठूलो लक्ष्य हो। त्यसकारण उनीहरूलाई धेरै सीमित ग्याजेटहरू मात्र प्रयोग गर्न अनुमति दिइएको हुन्छ।
हार्वर्ड केनेडी स्कुलका लेक्चरर ब्रुस स्नेयरका अनुसार रुसले विश्वव्यापी नेताहरूको ग्याजेटलाई लक्षित गर्दैन भन्ने मान्न सकिँदैन। उनका अनुसार २००० को दशकमा यो त्यति ठूलो समस्या थिएन । त्यसपछि मात्र अहिले व्यक्तिगत उपकरणहरू ह्याक गर्न सकिन्छ। यसमा कम्प्युटर र गैर स्मार्ट मोबाइल फोनहरू रहेका छन ।
एकै समयमा अमेरिकी राष्ट्रपतिलाई मोबाइल फोन चाहिँदैन। उसले चाहेको बेला सुरक्षित लाइनमा संसारका जो कोहीसँग पनि कुरा गर्न सक्छ। तर, बराक ओबामा सन् २००९ मा राष्ट्रपति बनेपछि सबै कुरा परिवर्तन भयो।
एक अधिकारीका अनुसार बराक ओबामा अमेरिकाको राष्ट्रपति बनेपछि ब्ल्याकबेरी राख्नका लागि केही हप्ता सुरक्षा सल्लाहकारहरूसँग लडाइँ गरेका थिए । अन्तमा सुरक्षा सल्लाहकारहरूले राष्ट्रपति ओबामालाई ब्ल्याकबेरी राख्न अनुमोदन गरे। तर यसका लागि उनले वरिष्ठ कर्मचारी र व्यक्तिगत साथीहरूको सानो समूहसँग सम्पर्कमा रहन मात्र प्रयोग गर्ने शर्त राखिएको थियो ।
त्यसयता अमेरिकी राष्ट्रपतिले प्रयोग गर्ने प्राविधिक उपकरणमा निरन्तर वृद्धि भएको छ। यसले अमेरिकी राष्ट्रपतिका सुरक्षा सल्लाहकारको रातको निन्द्रा खलबलाएको छ ।
सन् २०१० मा आईप्याड बजारमा आउँदा राष्ट्रपति बाराक ओबामाले यसलाई आफूसँग राख्न चाहेका थिए । यसैमा अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकारहरूले उनको लागि अझ सुरक्षित आईप्याड ‘ओबामा प्याड’ बनाएर दिए । एक पूर्व सल्लाहकारले बीबीसीलाई भने कि ओबामा प्याड राष्ट्रपतिका कर्मचारीलाई पनि दिइएको थियो।
ओबामा प्रशासनको समयमा राष्ट्रिय सुरक्षा परिषदको साइबर सुरक्षा अधिकारी एरी श्वार्ट्जले बीबीसीलाई भने कि बराक ओबामाको राष्ट्रपतिको समयमा वरिष्ठ कर्मचारीहरूले आईप्याड परिमार्जन गर्नु सामान्य थियो। यद्यपि ह्वाइट हाउसको प्राविधिक सेटअप केही हदसम्म पुरानो रह्यो। जसका कारण राष्ट्रपतिहरूलाइ चाहे जस्तो ग्याजेट चलाउन अमेरिकन सुरक्षा सल्लाहकारले दिदैनन, बरू ओबामा प्याड जस्तै अर्कै सामाग्री बनाएर दिइन्छ ।
लमजुङ २३ भदाै ।
लमजुङको बेसीशहर नगरपालिका वडा नं १० मा पर्ने भाचोक खोलामा निर्माण गरिएको अस्थायी काठे पुल डेढ महिना नबित्दै भत्किएको छ ।
बर्खामा खोला बढेर समस्या भएपछि बासिन्दालाई सहज होस भनि बनाइएको काठको अस्थायी पुल गए राती परेको वर्षाका कारण खोलामा बहाब बढेपछि पुल भत्किएको हो । स्थानीयका अनुसार पुल भत्किएसँगै सवारीसाधन आवतजावत ठप्प भएपछि आवातजातमा समस्या परेको छ ।
गत असारको पहिलो साता आएको बाढीले पूल बगाएपछि यातायात सम्पर्क विच्छेद भएको थियो । बर्षातका बेला खोलामा पुल नभएपछि सवारी साधान चल्न सकेनका थिएनन भने स्थानीय बासीन्दा जोखिम मोलेर खोला तर्न बाध्य भएका थिए । त्यसपछि स्थानीयले करिब एक महिनाको प्रयासमा साउन दोस्रो साता अस्थायी काठको पूलको निर्माण गरेका थिए ।
स्थानीय बासीन्दाले श्रमदान र चन्दा संकलन गरी पुल निर्माण गरेका थिए । उनीहरूको प्रयासमा वडा कार्यालय, बेसीशहर नगरपालिका, नेपाल प्रहरी, सशस्त्र प्रहरी, डुम्रे बेसीशहर चामे सडक योजना समेतले सहयोग गरेका थिए । त्यस्तै बेसीशहर नगरपालिकाले बिपद कोषबाट पुलको जग बनाउन आवश्यक रड, सिमेन्ट र एक्साभेटरका लागि चाहिने इन्धनमा सहयोग गरेको थियो भने वडा नं. १० का विभिन्न गाउँका स्थानीयले श्रमदान गरेका थिए । केहि समय आवत जावतमा सहज भएपनि बनेको डेढ महिना नवित्दै अहिले पुल भत्किएको हो ।
पुलका लागि चाहिने काठ वन कार्यालयसँगको समन्वयमा गाउँकै सामुदायिक वनले उपलव्ध गराएको थियो भने श्रमदान र सम्बन्धित निकायको सहयोगबाहेक पुल निर्माणमा ३ लाख बढी खर्च भएको स्थानीयले बताएका छन् ।
भाचोक खोला सडक बेसीशहर–चामे सडकको बैकल्पिक मार्ग पनि हो । बेसीशहर ६ मा पर्ने खरखरे भीरमा पहिरो जाँदा बेसीशहरबाट बाँझाखेत, भाचोकबेसी, लेतेफाँट, माथिल्लो मर्स्याङ्दीको पावर हाउस हुँदै सुरूङमार्गमा यो सडक जोडिन्छ ।
खहरे खोलामा बर्खाको बेला जुनसुकै समयमा बाढी आउन सक्ने सम्भावनालाई मध्यनजर नगरी साघुँरो किसिमले पुल निर्माण गर्दा यो समस्या आएको प्राविधिकहरु बताउँछन् ।
साे पुल नहुँदा खासुर, खासुरबेसी, देउजनथोक, पांग्रेक्यू, खाँचे, कुप्लिङ, गाउँ भाचोक, सिरूवारी, भाचोकबेसी लगायतका स्थानका स्थानीय ठूलो समस्यामा परेका छन् ।
काठमाडौं, २३ भदौं ।
नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवर दक्षिण कोरियाको भ्रमणमा जाने भएका छन ।
प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवरको नेतृत्वमा उच्च प्रहरी अधिकारीसहित कोरिया भ्रमणमा जान लागेका हुन ।
कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) को निमन्त्रणामा प्रहरी टोली साइबर सुरक्षाको विषयमा बुझ्न साताव्यापी भ्रमणमा जान लागेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।
महानिरीक्षक कुवँर नेतृत्वको टोलीमा एआइजीद्वय टेकप्रसाद राई र मीरा चौधरी, डिआइजीद्वय विकाराज खनाल र फणिन्द्र बराल, एसएसपीद्वय भूपेन्द्रबहादुर खत्री र नवीन्द्र अर्याल रहने जनाईएको छ । साथै, सो भ्रमण टोलीमा गृह मन्त्रालयका केही कर्मचारी पनि समावेश हुनेछन् ।
कोइकाले नेपाल प्रहरीको साइबर ब्युरोको भवन बनाउने प्रक्रिया अघि बढाईरहेको बेला यो भ्रमणलाई महत्वका साथ हेरिएको छ ।
कोरियाले साइबर सुरक्षालगायतका विषयमा गर्दै आएको कामको विषयमा जानकारी गराउने र सो भ्रमण पछि नेपालले लिने फाईदा बेफाइदका बारेमा जानकारी हासिल गरिने प्रहरी प्रवक्ता डिआइजी कुबेर कडायतले बताए ।
नयाँ दिल्ली, २३ भदौं ।
बेलायती प्रधानमन्त्री ऋषि सुनकलाई भारतमा न्यानो स्वागत गरिएको छ ।
उनी श्रीमतीसहित भारत आइपुगेका हुन् । नयाँ दिल्लीमा उत्रे लगत्तै सञ्चारकर्मीसँग कुरा गर्दै बेलायती प्रधानमन्त्रीले धेरै विषयमा खुलेर जवाफ दिएका छन् ।
एक सन्दर्भमा नलाई हिन्दू धर्मको बारेमा प्रश्न सोध्दा उनले निकै उत्साहित हुँदै भने, ‘म हिन्दु हुनुमा गर्व गर्छु ।’ उनले जी २० सम्मेलनमा आएको अवसरमा नजिकैको मन्दिर जाने कुरा पनि गरेका छन ।
बेलायतका प्रधानमन्त्री ऋषि सुनक जी २० शिखर सम्मेलनमा सहभागी हुन शुक्रबार भारत आईपुगेका हुन । एएनआईसँग कुरा गर्दै उनले हिन्दू धर्मसँगको आफ्नो सम्बन्धमा भने, ‘म हिन्दू हुनुमा गर्व गर्छु र म यसरी नै हुर्केको छु। म यस्तै छु। आशा छ कि म यहाँ मेरो बसाइको क्रममा अर्को केही दिन मन्दिरको दर्शन गर्न पनि सक्छु।
पोखरा, २३ भदौं ।
आजवाट पोखरामा पहिलो पटक ब्यावसायिक उडान सुरु हुनेछ ।
बिमानस्थलका अनुसार शनिबार बिहान ६ः४५ बजे रोयल भुटान एयरलाइन्स (ड्रुक एयर) को विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्दै छ ।
दोस्रो अन्तर्राष्ट्रिय उडानको रूपमा भुटानको अफिसियल एअरलाइन्स ड्रुक एयर पोखरामा अवतरण गरी भोली नै भुटान, थिम्पुका लागि उडान भर्नेछ । पोखरामा अवतरण गर्दा चालक दलका तीनजना सदस्य मात्र हुने छन् ।
जसअनुसार पोखराबाटै अन्तर्राष्ट्रिय उडान भर्ने पहिलो विमानसमेत बन्ने छ । यसअघि पोखरामा सिचुवान एयरलाइन्सको एयरबस–३१९ पोखरामा अवतरण गरेको थियो ।
सो अन्तर्राष्ट्रिय विमानस्थलमा गत असार ६ गते चीनको छेङ्दु तियान्फु विमानस्थलबाट राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित आएको सो बिमानमा चीनबाट केही नेपालीसहित पोखरामा त्याे बेला सम्पन्न हुन गईरहेको ड्रागन बोट रेस फेस्टिभलका खेलाडी बोकेर आएको थियो । तर, चीनवाट चार्टर्ड गरेर आएको सो विमान भने रित्तै फर्किएको थियो ।
नागरिक उडड्यन प्राधिकरण पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका कार्यालय प्रमुख देवचन्द्र लाल कर्णले भुटानी एअरलाइन्स ड्रुकले भने पोखराबाटै यात्रुहरू लिएर भुटानको पारो अन्तर्राष्ट्रिय विमानस्थलका लागि उडान भर्ने छ ।
विमानस्थलले अन्तर्राष्ट्रिय उडानबाट ४२ जना यात्रु लिएर उडान भर्ने भएकाले पहिलोपटक आम्दानीसमेत गर्ने छ । सञ्चालनमा आएको करिब ८ महिनापछि अन्तर्राष्ट्रिय उडानबाट विमानस्थलले पहिलोपटक आम्दानी गर्न लागेको हो, जुन एक लाख २६ हजार हुने कर्णले जानकारी दिए ।
काठमाडौं, २३ भदौं ।
हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ। साथै भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर सामान्य बदली रही कोशी, मधेश, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।
दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहने छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै, बागमती र गण्डकी प्रदेशको एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ। मधेश प्रदेश लगायत बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू-भागका थोरै स्थानहरुमा हावाहुरीको सम्भावना रहेको छ।
राती भने देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, बागमती, गण्डकी र सुदूर पश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै, मधेश, गण्डकी र लुम्बिनी प्रदेशको एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।
कोशी, मधेश, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै, बागमती र गण्डकी प्रदेशको एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।
मधेश प्रदेश लगायत बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू-भागका थोरै स्थानहरुमा हावाहुरीको सम्भावना रहेको छ। वर्षाका कारण क्षेत्रहरूबाट बहने नदीको जल सतह हल्का बढ्न सक्ने, गेग्रान बहाव, बाढी, पहिरो, भू-क्षय जस्ता प्रकोप हुन सक्ने भएकोले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम लगायत चट्याङ्ग तथा हावाहुरीको क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेकाे छ।