आरके श्रीवास्तव,राैतहट,कार्तिक २४ गते ।
रौतहटको कटहरिया बजारस्थित विवाह मण्डप भवनमा आज सम्पन्न चिठ्ठा कुपन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । श्री दुर्गा पूजा समिति, कटहरिया–५ द्वारा आयोजना गरिएको उक्त कार्यक्रममा ४ हजारभन्दा बढी कुपन काटिएको समितिका सहयोगी तथा निराला जेनरल स्टोरका सञ्चालक महाशक्ति साहले जानकारी दिनुभयो ।
साहका अनुसार, “स्थानीय व्यापारी र उपभोक्ताबीच आपसी सम्बन्ध सुदृढ बनाउने उद्देश्यले यो योजना ल्याइएको हो । जनताको उत्साह र सहभागिता अत्यन्तै उत्साहजनक रह्यो,” उहाँले बताउनुभयो ।
२०८२ साल भदौ १ गतेदेखि असोज १६ गतेसम्म सञ्चालन गरिएको “चिठ्ठा कुपन योजना” अन्तर्गत सहभागीले खरिदमा आधारित कुपन प्राप्त गरेका थिए ।
कार्यक्रममा विभिन्न आकर्षक पुरस्कारहरू चिठ्ठामा परेको थियो । प्रथम पुरस्कार स्मार्ट टिभी – १ जना,द्वितीय पुरस्कार फ्रिज १ जना,तृतीय पुरस्कार साइकल – १ जनालाई परेकाे थियो ।
त्यस्तै
चौथो पुरस्कार धाेनी साबुन – १०० जना, पाँचौं पुरस्कार धाेनी साबुन,छैठौं पुरस्कार एक्सट्रा डिटर्जेन्ट २५ जना,सातौं पुरस्कार नम्बर १०० जनालाई परेको थियोे ।
साहले थप भन्नुभयो, “स्थानीय बजारमा पारस्परिक विश्वास र सहकार्य बढाउन यस किसिमका कार्यक्रमले सकारात्मक प्रभाव पार्छन्। आगामी वर्षहरूमा पनि यस्तो योजना निरन्तर ल्याइनेछ।”
समितिले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबै व्यवसायी, उपभोक्ता र सहयोगी संस्थाप्रति आभार व्यक्त गरेको छ।
निराला जेनरल किराना पसल, कटहरिया–५ रौतहटले कार्यक्रमको मुख्य सहयोगीको भूमिका निर्वाह गरेको थियो ।
कार्यक्रममा स्थानीय व्यवसायी, उपभोक्ता तथा समाजसेवीहरूको उल्लेख्य सहभागिता रहेको थियो ।
काठमाडौं,१४ गते कार्तिक ।
नेपाल आयल निगमले पेट्रोलको मूल्य यथावत राखेको छ भने डिजेल र मट्टितेलको मूल्य घटाएको छ । निगमले कात्तिक १५ गते देखि लागु हुनेगरि डिजेल र मट्टितेलको मूल्य लिटरमा १ रुपैयाँले घटाएको हो ।
त्यस्तै हवाइ इन्धनको आन्तकिर तर्फ लिटरमा १ रुपैयाँ र अन्तराष्ट्रियतर्फ अमेरिकी डलर ७ ले बढेको निगमले जनाएको छ । सभार अर्थ संसार
काठमाडौं। सुनसरीस्थित काब्रा समूहले उत्पादन गरेको टप बिस्कुट कुहिएको अवस्थामा बजारमा बिक्री भइरहेको खुलासा भएपछि उपभोक्ता अधिकार र खाद्य सुरक्षाको गम्भीर प्रश्न उठेको छ। बजारमा सहज रूपमा उपलब्ध यो बिस्कुट खान खोज्दा कुहिएको भेटिएपछि उपभोक्ताहरू आक्रोशित बनेका छन्।
राम निवास काब्राको नेतृत्वमा सञ्चालित यस समूहले उत्पादन गरेको बिस्कुट अहिले उपभोक्ताको स्वास्थ्यमाथि खेलवाड गरिरहेको पाइएको छ। तर काब्रालाई कहाँबाट फाइदा हुन्छ, कसरी फाइदा निकाल्न सकिन्छ भन्ने बाहेक अन्य चिन्ता उनलाई हुने अवस्था देखिँदैन। सामान्य जीवन स्तर भएका उपभोक्ताको स्वास्थ्यमाथि कस्तो असर पर्छ भन्ने विषयमा उनको चासो रहेको भए बजारमा कतिको निम्न गुणस्तरको उपभोग्य सामान गइरहेको छ भन्ने कुरामा पनि ध्यान पुग्ने थियो। तर यहाँ उनलाई पैसा कसरी बढी कमाउन सकिन्छ भन्ने मात्र चिन्ता छ, यसैले सायद यस्तो कुहिएको बिस्कुट बजारमा पठाउने गरिएको होला।
उपभोक्ता विकास श्रेष्ठले आफ्नो अनुभव सुनाउँदै भने, पसलबाट किनेको बिस्कुटको प्याकेट खोल्दा पहिलो पिस नै गनाएको महसुस भयो। पूरा प्याकेट खोलेर हेर्दा बीचको भागमा रहेको बिस्कुट कुहिएको थियो। उनले थपे, पहिले सुनेको थिएँ, आज आफैंले भोगेँ। खान खोजेको बिस्कुट कुहिएको रहेछ, यो उपभोक्ताको स्वास्थ्यमाथि ठूलो खेलवाड हो।
भोक लागेको कारणले बिस्कुट खान खोज्दा यस्तो अवस्था देखेपछि श्रेष्ठले तत्काल फोटो खिची प्रमाणका रूपमा सुरक्षित राखेको बताए। उनको यो अनुभव एकल घटना मात्र होइन। स्थानीयहरूले यसअघि पनि काब्रा समूहका बिस्कुटमा यस्ता समस्या देखिएको बताउँदै आएका छन्। कुहिएको वा गुणस्तरहीन टप बिस्कुट बारम्बार बजारमा भेटिनु कम्पनीको उत्पादन प्रक्रिया र गुणस्तर नियन्त्रण व्यवस्थामा गम्भीर लापरबाही रहेको संकेत हो।
नेपालको सुनसरीस्थित कारखानाबाट उत्पादन हुने टप बिस्कुटको मूल्य दस रुपैयाँ तोकिएको छ। यसको सम्पर्क कार्यालय काठमाडौंको त्रिपुरेश्वरमा रहे पनि उपभोक्ताको गुनासो सुन्ने र समाधान गर्ने कुनै प्रभावकारी संयन्त्र रहेको छैन। अझ भन्नुपर्दा, काब्रा समूहले राखेको टोल फ्री नम्बर समेत लाग्दैन। यसले मात्र पनि काब्राको लापरवाही कतिको रहेछ भन्ने कुरा बुझ्न धेरै गाह्रो छैन।
उपभोक्ताहरूले सो कम्पनीमाथि कडा कारबाहीको माग गरेका छन्। कुहिएको बिस्कुट बेचेर जनताको स्वास्थ्यसँग खेलवाड गर्ने कम्पनीलाई किन जोगाइन्छ? एक उपभोक्ताले प्रश्न गरे। उपभोक्ता संरक्षण ऐनअनुसार यस्तो कार्य सीधै दण्डनीय अपराध हो।
उपभोक्ता संरक्षण ऐन, २०७५ ले यस्ता अपराधमाथि कडा कानुनी सजायको व्यवस्था गरेको छ। ऐनको धारा ११ अनुसार गुणस्तरहीन, अमानक, म्याद गुज्रिएको वा स्वास्थ्यका लागि हानिकारक वस्तु उत्पादन, बिक्री वा वितरण गर्न पाइँदैन। यस्तो कार्य गर्ने व्यक्ति वा संस्थालाई उपभोक्ताको स्वास्थ्यमा हानि पुर्याएको ठहर गरिन्छ। त्यस्तै, धारा १२ मा यस्ता अपराधमा संलग्न व्यक्तिलाई पाँच लाख रुपैयाँसम्म जरिवाना, एक वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने स्पष्ट उल्लेख छ। दोहोर्याएर यस्ता कार्य गर्ने व्यक्तिमाथि अझ कडा सजाय लागू गरिने व्यवस्था ऐनले गरेको छ।
उपभोक्ताको स्वास्थ्यमा असर पुगेको अवस्थामा धारा १३ बमोजिम सम्बन्धित कम्पनीले पीडित उपभोक्तालाई क्षतिपूर्ति तिर्ने कानुनी दायित्व राखिएको छ। तर कानुनी प्रावधान कागजमा मात्र सीमित देखिएको छ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले पनि यस्ता घटनापछि सामान्य अनुगमन गर्ने परम्परा दोहोर्याउँदै आएको छ, तर कारबाही भने दुर्लभ हुने गरेको छ। चाडपर्वको मुखमा मात्रै सीमित अनुगमन र प्रेस नोट प्रकाशन गरेर जिम्मेवारी टार्ने प्रवृत्तिले बजारमा कुहिएका र म्याद गुज्रिएका वस्तु बिक्री खुलमखुला भइरहेका छन्। नियमित अनुगमन र गुण परीक्षणको अभावले यस्तो अवस्था बारम्बार दोहोरिँदै आएको छ।
यस्तो गम्भीर अवस्थामा नियमनकारी निकायको तत्काल र प्रभावकारी हस्तक्षेप आवश्यक देखिएको छ। केवल घटना भएपछि मात्र होइन, निवारक उपायहरू अपनाएर यस्ता घटना हुन नै नदिने प्रणाली विकास गर्नुपर्ने विज्ञहरू बताउँछन्। उत्पादन कम्पनीहरूमाथि कडा निगरानी, गुणस्तर परीक्षण अनिवार्य बनाउने र नियम उलङ्घन गर्नेहरूमाथि कडा कारबाही गर्ने व्यवस्था हुनुपर्छ।
उपभोक्ता अधिकारकर्मीहरूले उपभोक्ताहरूलाई पनि आफ्नो अधिकारप्रति सचेत हुन र यस्ता घटना भएमा सम्बन्धित निकायमा तुरुन्तै उजुरी गर्न आग्रह गरेका छन्। खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, उपभोक्ता हित संरक्षण मञ्च र जिल्ला प्रशासन कार्यालयमा उजुरी गर्न सकिने उनीहरू बताउँछन्।
काब्रा समूहले आफ्नो उत्पादनको गुणस्तर सुधार गर्न तत्काल पहल गर्नुपर्छ। उत्पादन प्रक्रियामा कडाइ, गुणस्तर नियन्त्रण परीक्षण र उचित भण्डारण व्यवस्था सुनिश्चित गर्नुपर्छ। यदि कम्पनीले यी कुराहरूमा ध्यान नदिएमा यसले आफ्नो ब्राण्ड छवि मात्र नभई उपभोक्ताको विश्वास पनि गुमाउनेछ। अन्ततः व्यापार समाप्त हुने खतरा पनि रहन्छ।
यो घटनाले खाद्य सुरक्षा प्रणालीमा कत्तिको ठूलो खाडल रहेको देखाएको छ। सरकार, निजी क्षेत्र र उपभोक्ता सबैको जिम्मेवारीपूर्ण भूमिका बिना यो समस्याको समाधान सम्भव छैन। उपभोक्ताको स्वास्थ्य सुरक्षा सर्वोपरि हुनुपर्छ र यसमा कुनै सम्झौता हुनुहुँदैन भन्ने कुरा सबैले बुझ्नुपर्छ।
कम्पनीले उपभोक्तालाइ सहज सम्पर्क गर्ने व्यवस्था नगर्दा ऐनले के भन्छ ?
उपभोक्ताको हित र अधिकार सुनिश्चित गर्न सरकारले लागू गरेको ‘उपभोक्ता संरक्षण ऐन, २०७५’ ले प्रत्येक उत्पादन तथा सेवा प्रदायकलाई सम्पर्क नम्बर, ठेगाना वा गुनासो सुन्ने माध्यम अनिवार्य राख्नुपर्ने व्यवस्था गरेको छ।
तर केही कम्पनीले आजसम्म पनि आफ्नो उत्पादनमा यस्तो विवरण समावेश नगरी उपभोक्तालाई सम्पर्कविहीन अवस्थामा छाड्ने गरेको पाइएको छ। यस्तो कार्य ऐन विपरीत मानिन्छ र त्यसमा कानुनी कारबाहीको व्यवस्था रहेको छ।
उपभोक्ता संरक्षण ऐनको धारा ३० र ३१ मा उल्लेख छ— वस्तु वा सेवा बिक्री वितरण गर्दा त्यससँग सम्बन्धित सम्पूर्ण विवरण स्पष्ट रूपमा जनाउनुपर्ने र उपभोक्तासँग सम्पर्क गर्न सक्ने माध्यम राख्नुपर्ने। यसलाई बेवास्ता गरेमा धारा ५३ अनुसार ५० हजार रुपैयाँसम्म जरिवाना गर्न सकिने उल्लेख छ।
यस्तै उपभोक्ताको स्वास्थ्य, सुरक्षा वा हितमा हानि पुर्याउने कार्य भएको ठहर भएमा सम्बन्धित कम्पनी वा व्यापारीलाई एक वर्षसम्म कैद वा दुई लाख रुपैयाँसम्म जरिवाना, वा दुवै सजाय गर्न सकिने कानुनी व्यवस्था छ।
सरकारले उपभोक्ताको स्वास्थ्य,सुरक्षा र आर्थिक हितलाई केन्द्रमा राख्दै बजारमा पारदर्शिता कायम गर्नु जरूरी देखिएकाे छ।
आरके श्रीवास्तव,राैतहट,भदौ २३ गते ।
विकास मसला उद्योग, विरगंज पर्सा द्वारा उत्पादित ‘क्यूरी मसला’ को प्रचारप्रसार तथा व्यवसाय विस्तारको उद्देश्यले रौतहटको मौलापुरस्थित होटल पार्कमा होलसेल स्कीम वितरण कार्यक्रम सम्पन्न भएको छ ।

‘हरेक गृहणीको रोजाई क्यूरी मसला’ नारासहित सम्पन्न सो कार्यक्रमको अध्यक्षता स्थानीय व्यवसायी तथा निरला जेनरल किराना पसलका सञ्चालक महाशक्ति निरालाले गर्नुभएको थियो ।

कार्यक्रममा विकास मसला उद्योगका सञ्चालकद्वय विकास अग्रवाल र विवेक अग्रवाल उपस्थित रहनुभएको थियो । उहाँहरूले उत्पादनमा अपनाइएको गुणस्तर, स्वाद र नेपाली परिकारहरूसँगको सामञ्जस्यबारे जानकारी दिनुभएको थियो ।
कार्यक्रममा सहभागी व्यवसायीहरूलाई कुपन सिस्टममार्फत आकर्षक उपहारहरू वितरण गरिएको थियो । कार्यक्रममा हिमगिरी हाईजिन लिमिटेडका पुण्य लुँइटेल र मिन्टु सिंह, खेतान चिया उद्योगका प्रबन्ध निर्देशक ईश्वर दवाडी, जनक खड्का र महेश गुप्ता, तथा हाईजिन पैक्स नेपालबाट भोला महतो र मदन साह लगायत थुप्रै अतिथिहरूको उपस्थिति रहेको थियो ।

सञ्चालक महाशक्ति निरालाले कार्यक्रमको सफलता प्रति सन्तोष व्यक्त गर्दै स्थानीय व्यवसायीहरूलाई गुणस्तरीय घरेलु मसला उत्पादनलाई प्रोत्साहन गर्न आग्रह गर्नुभयो ।

सञ्चालक विकास अग्रवालले भने, “हामीले क्यूरी मसला विशेष गरी नेपाली स्वाद अनुसार उत्पादन गरेका छौँ, र हरेक गृहणीको भान्सामा हाम्रो स्थान बनाउने उद्देश्यले यस्तो कार्यक्रम आयोजना गरेका हौँ।”
कार्यक्रमले स्थानीय स्तरमा घरेलु उद्योगको प्रवर्द्धनमा टेवा पुर्याउने विश्वास लिइएको छ । साे अवसरमा क्यूरी मसालाकाे राम्रो व्यवसाय गर्ने दुई जनालाई टिभिएस माेटरसाईकिल,ईभि माेटरसाईकिल र अन्य उपहारहरू पनि प्रदान गरिएको थियोे ।
राकेश ठाकुरले सञ्चालन गरेको कार्यक्रममा भाेजपुरीका चर्चित कलाकार सुनिल पंण्डित,एमएल पटेल लगायतका कलाकारहरूले सहभागीहरूलाई भरपूर मनाेरंजन गराएका थिए । कार्यक्रममा बारा,राैतहट र सर्लाहीका व्यवसायीहरू सहभागीता रहेको थियो ।
आरएन पटेल,राैतहट,भदौ २२ गते।
नेपाल मदिरा उत्पादक संघको अध्यक्षमा बैजू प्रसाद बाबरा पुनः निर्विरोध चयन भएका छन। नेपाल मदिरा उत्पादक संघको पाँचौं अधिवेशन तथा दशौं वार्षिक साधारण सभाबाट रौतहटका उद्योगपति बैजू प्रसाद बाबरा दोस्रो कार्यकालका लागि पुनः केन्द्रीय अध्यक्षमा निर्विरोध चयन भएका छन्।
भदौ २१ र २२ गते संघीय राजधानी काठमाण्डौमा सम्पन्न अधिवेशनले सर्वसम्मत रुपमा बाबरालाई नेतृत्वको जिम्मेवारी सुम्पिएको हो।

रौतहटको कटहरिया नगरपालिका-९ डुमरियामा अवस्थित ज्योति डिस्टिलरी प्रालिका सञ्चालक तथा प्रबन्ध निर्देशक रहेका बाबरा लामो समयदेखि मदिरा उद्योगसँग आबद्ध रहँदै आएका छन्। संघको केन्द्रीय अध्यक्षमा पुनः निर्वाचित भएपछि उनले नेपाल मदिरा उत्पादक संघलाई अझ सबल बनाउँदै आवद्ध सम्पूर्ण उद्योगी-व्यवसायीका हकहितको लागि निरन्तर क्रियाशील रहने प्रतिवद्धता व्यक्त गरेका छन्।
बाबराले आफूलाई दिएको विश्वास र समर्थनप्रति आभार प्रकट गर्दै संघलाई समावेशी, सबल र परिणाममुखी बनाउन सम्पूर्ण उद्योगी-व्यवसायीको सहकार्य आवश्यक रहेको बताएका छन्।
काठमाडौं,०८ गते भदौ ।
गत आर्थिक वर्षको उखुको अनुदान भुक्तानीको माग गर्दै उखु किसानले काठमाडौं केन्द्रीत आन्दोलन सुरू गरेका छन् ।
उखु उत्पादक महासंघ, उखु उत्पादक कृषक समितिलगायतले गत आर्थिक वर्षको उखुको वक्यौता अनुदान रकमप्रति क्वीन्टल ७० का दरले भुक्तानी गर्नुपर्ने भन्दै माइतीघरमा प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा सहभागीहरूले एकतर्फी मूल्य स्वीकार छैन, उखु कृषक शोषण बन्द गर, उखु अनुदान भुक्तानी गर, मूल्य निर्धारणमा कृषकलाई सहभागी गरलगायतका प्लेकार्ड प्रदर्शन गरेका छन् ।
रौतहटका उखु उत्पादक संघका अध्यक्ष अशोक यादवले सरकारसँग अनुदानको रकम छिटो भुक्तानी गर्ने माग गरेका छन्।
अध्यक्ष यादवका अनुसार, “उखु किसानहरूको मेहनत र समयको मूल्य अनदेखा गर्दै सरकारले अनुदानको रकमको भुक्तानीमा ढिलाइ गरिरहेको छ । यसका कारण किसानहरू अत्यन्तै समस्यामा परेका छन् । हामी नेपाल सरकारसँग आग्रह गर्छौं कि यो रकम तत्काल भुक्तानी गरियोस्।”
प्रदर्शनमा बोल्दै उखु उत्पादक संघ महोत्तरी जिल्लाको पूर्वअध्यक्ष उत्तम सिहं रानाले प्रत्येक बर्ष उखु ७० रुपैँया अनुदानमा पाएका थिए तर अहिले सरकारले कटौती गरेको भन्दै प्रदर्शन गरेको बताएका छन् । उनले जुन रकममा उखु पाइएको थियो अविलम्ब रुपमा सरकार ले भुक्तानी गर्नपर्ने माग गरे ।
‘७० रुपैँया जुन अनुदान रकम भन्ने थियो त्यो प्रत्येक बर्ष पाइरहेको थियो । तर यस बर्ष सरकारले कटौती गरिदिएछ । त्यसका विरुद्ध सडकमा आएका हौं । हामीले जुन पाइआएको रकम छ त्यो अविलम्ब रुपमा सरकारले भुक्तानी गरोस् भन्ने माग राखेका छौँ,’उनले भने । उखु किसानले यसअघि पनि पटक पटक आन्दोलन गर्दै आइरहेका थिए । सभार आर्थिक न्यूज
आरके श्रीवास्तव,रौतहट, साउन ३०
रौतहटको फतुवा विजयपुर नगरपालिकाले शुक्रबार बजेट ल्याएको छ । नगरपालिकाले शुक्रबार नगरसभा गरी ५६ करोडभन्दा बढीको बजेट ल्याएको हो ।
गत असार १० मा हुनुपर्ने नगरपालिकाको बजेट अधिवेशन आन्तरिक कारणले ढिलो भएको हो ।

शुक्रबार नगरपालिका कार्यालयमा आयोजित नगरसभामा चालु आर्थिक वर्षको लागि कार्यवाहक नगर प्रमुख अम्बेया खातुनले नीति तथा कार्यक्रम पेश गर्दै समृद्ध नगरपालिका बनाउनका लागि बजेट आएको बताएकी छन् । बजेटमा शिक्षा, स्वास्थ्य, सडक पूूर्वाधार, कृषि, पोषण तथा रोजगारीको क्षेत्रलाई प्राथमिकतामा राखिएको कावा नगर प्रमुख खातुनको भनाइ छ ।

नगरपालिकाको तर्फबाट वडाध्यक्ष राकेश यादव पप्पुले चालू आर्थिक वर्षको लागि ५६ करोड ३२ लाख ९५ हजार १५१ को आयव्यय प्रस्तुत गरेका छन् । चालु आर्थिक वर्षमा नगरपालिकाको वडा नम्बर ९, १० र ११ गरी ८४ जना भूमिहीन सुकुम्बासीलाई जग्गाको प्रमाणपुर्जा वितरण गरिने कार्यक्रम राखिएको वडाध्यक्ष पप्पुले जानकारी गराएका छन् ।

कार्यक्रममा प्रदेशसभा सदस्यका प्रत्याशी तथा प्रतिष्ठित नेता महम्मद सेराजले नगरपालिकाको बजेट सन्तुलित भएको प्रतिक्रिया दिँदै चालु आर्थिक वर्षमा सबै काम यथासमयमा सम्पन्न गर्नुपर्ने बताएका छन् । बजेटको नीति तथा कार्यक्रमले नगरपालिका समृद्धितर्फ लम्किने विश्वास लिएको सेराजले बताएका छन् ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भरत प्रसाद यादवले समृद्ध पालिका निर्माणका लागि आर्थिक तथा सामाजिक विकास, पूर्वाधार निर्माण, वन तथा वातारण र विपद् व्यवस्थापन, संस्थागत सेवा प्रवाह, भूमिहीन सुकुम्बासी, पोषण तथा रोजगारी र लघु उद्यम कार्यक्रमका लागि बजेट छुट्याइएको जानकारी गराएक छन् ।
नगरपालिकाका लेखा अधिकृत कामेश्वर सहनीले चालू आर्थिक वर्षको बजेट आउन केही ढिलो भए पनि समयमै सबै योजना तथा कार्यक्रम लागू हुने वातारण निर्माण भएको बताएका छन् । सबैको सहयोगले बजेट अधिवेशन शान्तिपूर्ण रुपमा सम्पन्न भएको प्रतिक्रिया दिँदै लेखा अधिकृत सहनीले चालु आवमा नगरपालिकाको नीति तथा कार्यक्रमले लिएको उद्देश्य पूरा हुने बताएका छन् ।
आरके श्रीवास्तव,रौतहट, साउन ३०
रौतहटका इँटा व्यवसायीहरुले इँटाको बिमा नहुँदा निकै मर्कामा परेको बताएका छन् । रौतहट इँटा उद्योग व्यवसायी संघ गरुडाको सातौँ साधारणसभा तथा पाँचौ अधिवेशनमा इँटाको उद्योग तथा व्यवसाय गर्नेहरुले बिमा नहुँदा निकै मर्कामा परेको बताएका छन् ।

संघका मधेश प्रदेश अध्यक्ष विक्रम कुमार साहले प्रदेशमा १३४९ इँटा उद्योग रहेकामा विस्तारै अहिले ७०० मा झरिसकेको बताउँदै इँटा उद्योगी पलायन हुँदा राज्यलाई पनि ठुलो आर्थिक घाटा भएको बताएका छन् । सरकारले इँटा उद्योगलाई बिमा नगर्ने हो भने विस्तारै उद्योगीहरु पलायन हुँदै विदेशबाट इँटा ल्याउनु पर्ने अवस्था आउन सक्ने चेतावनी पनि दिएका छन् ।
कार्यक्रममा गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमनि प्रसाद कल्वारले करोडौँको लगानी गरेर इँटा व्यवसायीले उधारोमा बेच्नु परेको र अस्वस्थ प्रतिस्पर्धाले उद्योगी टाट पल्टिइरहेकाले सबै पक्षले गम्भीर भएर विचार गर्नुपर्ने बताएका छन् ।

रौतहटका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले अन्य वस्तुको मूल्य बढ्दै जाँदा इँटाको मूल्यमा कमी आइरहेकोले उद्योगी पलायन हुनुपर्ने बाध्यता भएको बताएका छन् । प्रजिअ खड्काले इँटा उद्योगीबिच अस्वस्थ्य प्रतिस्पर्धाका साथै उत्पादन लागत बढ्दै जाँदा पनि समस्या बढ्दै गएको बताएका छन् । ऐन कानुनको परिधिमा रहेर उद्योग संचालन गर्न प्रजिअ खड्काले आग्रह गरेका छन् ।
कार्यक्रमको अध्यक्षता गरेका राम विनोद साहले इँटा उद्योगीको मर्का राज्यले नबुझेको चर्चा गर्दै रौतहटका साठी प्रतिशत इँटा व्यवसायी पलायन भइसकेको बताएका छन् । रौतहटमा १६३ इँटा उद्योगमध्ये करिब ६० ओटा मात्र संचालनमा रहेको अध्यक्ष साहले जानकारी गराएका छन् ।

अधिवेशनले राम विनोद साहको अध्यक्षतामा १५ सदस्यीय रौतहट इँटा व्यवसायीको नयाँ कार्य समिति र नौ सदस्यीय सल्लाहकार समिति चयन गरेको छ ।
काठमाडौं,१५ गते साउन ।
पेट्रोलको मूल्य घट्दा डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य वृद्धि भएको छ।
नेपाल आयल निगमको सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर १ रुपैयाँले मूल्य घटाएको हो।
त्यस्तै डिजेल र मट्टितेलमा प्रतिलिटर दुई रुपैयाँ बढाउँदा हवाई इन्धनको आन्तरिकतर्फ ३ रुपैयाँले मूल्य वृद्धि गरिएको छ। त्यस्तै अन्तर्राष्ट्रियतर्फ काठमाडौंका लागि प्रति किलोलिटर २१ अमेरिकी डलरले वृद्धि भएको निगमले जनाएको छ। सभार वर्णन मिडिया
यस्तो छ शुचि
