२०८३ असार २४
२०८३ असार २४

शिवनाथ कुशवाहा ,रौतहट,०८ गते असार ।

रौतहटको फतुवा विजयपुर नगरपालिका अन्तर्गत रहेको इलाका प्रहरी कार्यालय विजयपुर लक्ष्मिनियाका इन्चार्ज प्रहरी निरीक्षक सुरेन्द्र यादवको सफल कार्यकाल पूरा भई सरुवा भएपछि उहाँलाई मायाको चिनो प्रदान गर्दै भावपूर्ण बिदाइ गरिएको छ । कार्यक्रममा सहभागीहरूले इन्स्पेक्टर यादवले आफ्नो कार्यकालमा शान्ति सुरक्षा कायम गर्न, अपराध नियन्त्रण तथा नागरिकमैत्री प्रहरी सेवाको प्रवद्र्धन गर्न महत्वपूर्ण योगदान पु¥याएको उल्लेख गर्दै आगामी जिम्मेवारीका लागि शुभकामना व्यक्त गरेका थिए । यस अवसरमा सरुवा भई जाने क्रममा इन्स्पेक्टर सुरेन्द्र यादवलाई सफल र उज्ज्वल भविष्यको कामना गर्दै सम्मानसहित बिदाइ गरिएको थियो ।

त्यसैगरी, इलाका प्रहरी कार्यालय विजयपुर लक्ष्मिनियाको नयाँ इन्चार्जका रूपमा पदस्थापन भई आउनुभएका प्रहरी निरीक्षक रादेश खत्री लाई हार्दिक स्वागत गरिएको छ । स्थानीय सरोकारवाला तथा शुभेच्छुकहरूले इन्स्पेक्टर खत्रीको नेतृत्वमा यस क्षेत्रको शान्ति सुरक्षा व्यवस्था अझ प्रभावकारी र सुदृढ हुने विश्वास व्यक्त गरेका छन् । नवनियुक्त इन्चार्ज खत्रीलाई सफल कार्यकालको शुभकामना दिँदै समुदाय र प्रहरीबीचको सहकार्यलाई अझ मजबुत बनाउने अपेक्षा समेत व्यक्त गरिएको छ ।

शिवनाथ कुशवाहा ,रौतहट,०८ गते असार ।

रौतहटको बौधीमाई नगरपालिकाको १२ औँ नगरसभा तथा अधिवेशन (खुला सत्र) सोमबार नगरपालिकाको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ । नगर प्रमुख प्रदिप कुमार यादवको अध्यक्षतामा सम्पन्न सभामा नगर उपप्रमुख प्रमिला देवी विशिष्ट अतिथिका रूपमा सहभागी हुनुभएको थियो ।

सभामा आगामी आर्थिक वर्ष २०८३÷०८४ का लागि ६३ करोड १६ लाख ४ हजार रुपैयाँ रुपैयाँको बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गरिएको थियो । प्रस्तुत बजेटले नगरको चौतर्फी विकास, आर्थिक समृद्धि तथा जनआकांक्षा सम्बोधन गर्ने लक्ष्य लिएको नगरपालिकाले जनाएको छ ।

कार्यक्रममा जनप्रतिनिधि, राष्ट्रसेवक कर्मचारी, पत्रकार तथा नगरवासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयशंकर चौधरी ले सभा सफलतापूर्वक सम्पन्न भएको जानकारी दिनुभयो । नगर प्रमुख प्रदिप कुमार यादवले सभा सफल बनाउन सहयोग पु¥याउने सम्पूर्ण जनप्रतिनिधि, कर्मचारी, सञ्चारकर्मी तथा नगरवासीप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्नुभएको छ । यो अधिवेशन बौधीमाई नगरपालिका को आगामी आर्थिक वर्षको विकास योजना तथा बजेट पारित गर्ने महत्वपूर्ण मञ्चका रूपमा सम्पन्न भएको हो ।

आरके श्रीवास्तव,रौतहट,०८ गते असार ।

रौतहटको दक्षिणी भेगस्थित इशनाथ नगरपालिका को १३औँ नगरसभा सम्पन्न भएको छ । नगरसभामा आगामी आर्थिक वर्ष २०८३÷८४ का लागि ५२ करोड ३० लाख ७० हजार रुपैयाँको बजेट प्रस्तुत गरिएको छ । नगरसभामा नगरको समग्र विकास, आधारभूत सेवा प्रवाहको सुदृढीकरण, पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य, कृषि तथा सामाजिक विकासलाई प्राथमिकतामा राख्दै बजेट प्रस्तुत गरिएको हो ।

नगरसभालाई सम्बोधन गर्दै नगरप्रमुख कौश्लया देवीले नगरवासीको आवश्यकता र अपेक्षालाई केन्द्रमा राखेर बजेट तथा कार्यक्रम तर्जुमा गरिएको बताइन् । उनले सीमित स्रोत–साधनका बाबजुद नगरको दिगो विकास, सुशासन र जनमैत्री सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरिन् ।

नगरप्रमुख देवीले विकास निर्माणका कार्यलाई पारदर्शी र परिणाममुखी बनाउँदै नगरलाई समृद्धिको दिशामा अघि बढाइने बताइन् । त्यसैगरी उपप्रमुख मो.परवेजले प्रस्तुत बजेटले नगरका सबै वडालाई समेट्ने गरी सन्तुलित विकासको अवधारणालाई आत्मसात गरेको बताए । उनले शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि तथा रोजगारी सिर्जनासँग सम्बन्धित कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गरिने उल्लेख गरे ।

नगरसभामा बोल्दै प्रमुख प्रशासकिय अधिकृत महमद नावाज हुसेनले बजेट कार्यान्वयनलाई पारदर्शी, उत्तरदायी र प्रभावकारी बनाइने बताए । उनले नगरपालिकाको प्रशासनिक संयन्त्रलाई थप चुस्त बनाउँदै सेवा प्रवाहमा सुधार ल्याउने तथा विकास योजनाको समयमै सम्पन्नतामा विशेष ध्यान दिइने जानकारी दिए ।

नगरसभाबाट आगामी आर्थिक वर्षका नीति, कार्यक्रम तथा बजेटमाथि छलफल गरी आवश्यक निर्णयहरू समेत पारित गरिएको जनाइएको छ । नगरपालिकाले प्रस्तुत बजेटमार्फत पूर्वाधार विकास, सामाजिक क्षेत्रको सुदृढीकरण तथा आर्थिक गतिविधिको प्रवद्र्धनलाई प्राथमिकतामा राखेको जनाएको छ ।

शिवनाथ कुशवाहा ,रौतहट,०८ गते असार । रौतहट । गढीमाई नगरपालिकाको १३औँ नगरसभा सम्पन्न भएको छ । नगरसभामा आर्थिक वर्ष २०८३÷०८४ का लागि ५९ करोड २२ लाख ५५ हजार रुपैयाँ बराबरको अनुमानित आय–व्यय, नीति तथा कार्यक्रम नगर प्रमुख श्याम प्रसाद यादवले एक कार्यक्रमबीच प्रस्तुत गर्नुभएको छ । नगरसभाको उद्घाटन मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले दीप प्रज्वलन गरी गर्नुभएको थियो ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री यादवले गढीमाई नगरपालिकाको विकास तथा सञ्चालनका लागि चालु आर्थिक वर्षमा मधेश प्रदेश सरकारबाट ३० करोड रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी दिनुभयो । उहाँले आफू मुख्यमन्त्री रहेसम्म नगरपालिकाभित्रका अधुरा विकास योजनाहरू सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गर्दै प्रतिनिधिसभा क्षेत्र नम्बर–४ अन्तर्गत पर्ने यस क्षेत्रलाई अन्य स्थानीय तहका लागि नमुना नगरका रूपमा स्थापित गरिने बताउनुभयो ।

मुख्यमन्त्री यादवले मधेश प्रदेशका किसानहरूलाई खेतीपातीका लागि पर्याप्त विद्युत् सुविधा उपलब्ध हुन नसकेको उल्लेख गर्दै सिँचाइ तथा कृषि कार्यलाई सहज बनाउन किसानहरूका लागि सोलार चार्जबाट सञ्चालन हुने बत्ती जडान गर्ने योजना रहेको समेत जानकारी दिनुभयो । कार्यक्रममा नगर उपप्रमुख स्मिता कुमारी यादव, प्रमुख प्रशासकीय अधिकृत इन्द्रदेव पाण्डेय, वडा नम्बर १ देखि ९ सम्मका निर्वाचित जनप्रतिनिधि, वडा अध्यक्षहरू, नगरपालिकाका कर्मचारी, महिला नगर प्रहरी, नेपाल प्रहरी तथा विभिन्न क्षेत्रका सयौँ सर्वसाधारणको उपस्थिति रहेको थियो ।

नगरसभामा प्रस्तुत बजेट तथा नीति–कार्यक्रममार्फत पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि तथा सामाजिक क्षेत्रलाई प्राथमिकतामा राख्दै समग्र नगरको दिगो विकासलाई अघि बढाउने लक्ष्य लिइएको नगरपालिकाले जनाएको छ । यद्यपि, सभामा बोल्ने अवसर नदिएको भन्दै वडा नम्बर १ का वडाध्यक्ष रामपुकार यादव ले असन्तुष्टि जनाउनुभएको छ । उहाँले नगरसभा औचित्यहीन बनेको आरोप समेत लगाउनुभएको छ ।

शिवनाथ कुशवाहा,रौतहट, असार ५ — कटहरिया नगरपालिकामा ‘कुपोषण मुक्त मधेश प्रदेश अभियान’ अन्तर्गत पालिका स्तरीय अन्तरक्रिया तथा बहस पैरवी कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम शुक्रबार कटहरिया नगरपालिका–५ स्थित श्री जनता माध्यमिक विद्यालय, कटहरियामा आयोजना गरिएको हो।

‎मधेश प्रदेश सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गत स्वास्थ्य निर्देशनालय तथा स्वास्थ्य कार्यालय गौर, रौतहटको आयोजनामा सम्पन्न कार्यक्रममा कुपोषण न्यूनीकरण, बालबालिकाको स्वास्थ्य संरक्षण तथा पोषणयुक्त खानपानको महत्वबारे जन स्वास्थ्य कार्यालयका संयोजक सञ्जीव कुमार यादवले जानकारी दिनुभयो ।

‎कार्यक्रममा वक्ताहरूले बालबालिकालाई कुपोषणबाट जोगाउन सन्तुलित र पोषणयुक्त आहारको आवश्यकता, नियमित स्वास्थ्य परीक्षण तथा अभिभावकको भूमिकाबारे प्रकाश पारे। उनीहरूले कुपोषणको प्रमुख कारणमध्ये कम उमेरमा हुने विवाह पनि एक रहेको उल्लेख गर्दै कानुनी उमेर नपुगी विवाह नगर्न तथा समाजमा बालविवाहका घटना भए सम्बन्धित निकायमा उजुरी गर्न कटहरिया नगरपालिका का स्वास्थ्य संयोजक दिनेश यादवले आग्रह गरे ।

‎सहभागीहरूलाई कुपोषणका कारण, असर तथा यसको रोकथामका उपायबारे जानकारी दिँदै स्वस्थ र समृद्ध समाज निर्माणका लागि सबैको साझा प्रयास आवश्यक रहेको धारणा व्यक्त गरिएको थियो।

‎कार्यक्रममा पत्रकार आर.के. श्रीवास्तव, सागर संगम, रामअधार यादव, शिवनाथ कुशवाहा, रुपेश यादव, कृष्ण तिवारी लगायत बुद्धिजीवी, समाजसेवी, स्वास्थ्यकर्मी तथा स्थानीय भद्रभलाद्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

‎आयोजकका अनुसार कुपोषणमुक्त मधेश प्रदेश निर्माण गर्ने लक्ष्यका साथ प्रदेशका विभिन्न स्थानीय तहमा यस्ता जनचेतनामूलक कार्यक्रम सञ्चालन भइरहेका छन्। कार्यक्रमले समुदायस्तरमा पोषणसम्बन्धी सचेतना अभिवृद्धि गर्न तथा बालबालिकाको स्वास्थ्य सुधारमा सकारात्मक योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

रौतहट । गौर नगरपालिका–२ मा अवस्थित श्री राम लखन हरि साह गुरुकुल विद्यापीठ ले प्राक् शास्त्री कक्षा सञ्चालन गर्ने अनुमति प्राप्त गरेको छ। संस्कृत शिक्षा तथा अध्ययनको प्रवर्द्धन गर्ने उद्देश्यले सञ्चालन हुन लागेको उक्त कक्षामा विद्यार्थीहरूलाई संस्कृत भाषाको आधारभूत तथा उच्च अध्ययनका लागि आवश्यक ज्ञान प्रदान गरिने विद्यालयले जनाएको छ।
प्राक् शास्त्री संस्कृत अध्ययनको क्षेत्रमा उच्च शिक्षा अर्थात् शास्त्री वा बी.ए. तहमा प्रवेश गर्नुअघि लिइने ६ महिने वा १ वर्षे ब्रिज कोर्स (संस्कृत भाषा प्रशिक्षण) हो। यस पाठ्यक्रमले संस्कृत भाषा, व्याकरण तथा शास्त्रीय विषयहरूको आधार निर्माण गर्दै उच्च अध्ययनका लागि विद्यार्थीलाई तयार पार्ने विश्वास गरिएको छ।
विद्यालयका अनुसार प्राक् शास्त्री तहमा दुई वटा अनिवार्य विषय समावेश गरिएको छ। ती विषयहरूमा अनिवार्य संस्कृत व्याकरणम् र अनिवार्य संस्कृतभाषा वाङ्मयम् रहेका छन्।
त्यसैगरी विद्यार्थीहरूले आफ्नो रुचिअनुसार ऐच्छिक विषय छनोट गर्न सक्ने व्यवस्था गरिएको छ। ऐच्छिक विषयहरूमा संस्कृत व्याकरणम्, न्याय, ज्योतिषम् तथा वेद रहेका छन्।
गुरुकुल विद्यापीठले प्राक् शास्त्री कक्षा सञ्चालनको अनुमति प्राप्त भएसँगै रौतहट तथा आसपासका क्षेत्रका संस्कृत अध्ययनमा रुचि राख्ने विद्यार्थीहरूलाई स्थानीय स्तरमै गुणस्तरीय संस्कृत शिक्षा हासिल गर्ने अवसर प्राप्त हुने अपेक्षा गरिएको छ। विद्यालय प्रशासनले चाँडै नै भर्ना प्रक्रिया तथा कक्षा सञ्चालन सम्बन्धी थप जानकारी सार्वजनिक गर्ने जनाएको छ।

चन्द्रपुर । रौतहटको चन्द्रपुर नगरपालिका–६ डावरीटोलबाट प्रहरीले ब्राउन सुगर (खैरो हिरोइन) जस्तो देखिने लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय चपुरमा प्राप्त विशेष सूचनाको आधारमा प्रहरी निरीक्षकसहितको टोलीले शुक्रबार साँझ करिब ६:३० बजे चन्द्रपुर–६ डावरीटोलमा खानतलासी गरेको थियो। सो क्रममा स्थानीय बलराम सापकोटाका २६ वर्षीय छोरा निराश कुमार सापकोटाको शरीर तथा साथमा रहेको पर्स जाँच गर्दा कालो प्लास्टिकमा बेरेर लुकाइछिपाइ राखिएको खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थ फेला परेको प्रहरीले जनाएको छ।
बरामद पदार्थको तौल गर्दा प्लास्टिकसहित ०.१६० मिलिग्राम र प्लास्टिकबाहेक ०.०८० मिलिग्राम रहेको बताइएको छ। साथै सापकोटाको साथबाट नगद रु. ३२ हजार २९० समेत बरामद गरिएको प्रहरीले जनाएको छ।
प्रारम्भिक अनुसन्धानका क्रममा उक्त पदार्थ बिक्री गर्ने व्यक्तिका रूपमा चन्द्रपुर–६ शान्तिनगर टोल निवासी खडानन्द न्यौपानेका ३० वर्षीय छोरा विकास न्यौपानेको संलग्नता खुलेपछि उनलाई पनि रु. २२ हजार ३९० नगदसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
दुवै जनालाई इलाका प्रहरी कार्यालय चपुरमा राखी लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
घटना स्थल इलाका प्रहरी कार्यालय चपुरबाट करिब ३ किलोमिटर दक्षिण–पश्चिम क्षेत्रमा पर्ने बताइएको छ। प्रहरीले घटनाबारे थप विवरण अनुसन्धानपछि सार्वजनिक गर्ने जनाएको छ।

अशोक यादव,रौतहट, जेठ २५ ।

रौतहटको गढीमाई नगरपालिका–४ सुन्दरपुरस्थित समनपुर–गरुडा सडकखण्डमा सवारी साधनको ठक्करबाट ज्यान गुमाएका प्रमोद सहनीलाई न्यायको माग गर्दै सोमबार स्थानीयवासी तथा आफन्तहरूले प्रदर्शन गरेका छन् ।

गरुडा नगरपालिका–९ मलाहीटोल निवासी ४३ वर्षीय प्रमोद सहनीको आइतबार बिहान अज्ञात सवारी साधनको ठक्करबाट मृत्यु भएको थियो ।

घटनापछि दोषी सवारी चालकलाई पक्राउ गरी कारबाही गर्नुपर्ने तथा पीडित परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने मागसहित स्थानीयवासी आन्दोलनमा उत्रिएका हुन्।

सोमबार दिउँसो प्रदर्शनकारीहरूले गौर–चन्द्रनिगाहपुर सडकखण्ड अन्तर्गत गरुडा मेथुर चोकमा शव राखेर सडक अवरुद्ध गरेका थिए । प्रदर्शनका कारण केही समय उक्त सडकखण्डमा यातायात सेवा प्रभावित बनेको थियो।

प्रदर्शनकारीहरूले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन माग गरेका थिए । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक वसन्त गौतमका अनुसार मृतक सहनीको शव गढीमाई नगरपालिका–४ सुन्दरपुरस्थित सडकमा साइकलसहित फेला परेको थियो ।

उनको बाँया खुट्टा साइकलको ह्यान्डलमा अड्किएको अवस्थामा रहेको तथा टाउकोमा गम्भीर चोट देखिएको प्रहरीले जनाएको छ । प्रहरीले अज्ञात सवारी साधनले ठक्कर दिएको प्रारम्भिक अनुमान गर्दै घटनामा संलग्न सवारी साधन र चालकको खोजी कार्य जारी रहेको जनाएको छ ।

मृतकको शव परीक्षणका लागि प्रादेशिक अस्पताल गौरमा राखिएको थियो । स्थानीयवासीहरूले पीडित परिवारलाई न्याय नदिइए आन्दोलनलाई थप सशक्त बनाउने चेतावनी दिएका छन् ।

यता प्रहरीले घटनाबारे गम्भीरतापूर्वक अनुसन्धान भइरहेको र दोषीको पहिचान तथा पक्राउका लागि आवश्यक प्रक्रिया अघि बढाइएको जनाएको छ ।

शिवनाथ कुशवाहा ,रौतहट,२२ गते जेठ ।

रौतहटको फतुवा विजयपुर नगरपालिकामा पछिल्लो समय स्थानीय सरकारका विकास निर्माणका कामहरू प्रभावकारी रूपमा देखिन थालेका छन् । नगर क्षेत्रका विभिन्न कृषि तथा ग्रामीण सडकहरू स्तरोन्नति र ढलान हुने क्रम जारी रहेको छ, जसले स्थानीयवासीमा उत्साह थपेको छ ।

नगरपालिकाको वडा नम्बर १ घुसुकपुरमा कार्यवाहक नगरप्रमुख अम्बेया खातुनको बजेटबाट ३ सय मिटरभन्दा बढी सडक ढलानको काम भइरहेको छ । उक्त सडक निर्माण सम्पन्न भएपछि स्थानीयवासी तथा किसानहरूलाई आवतजावत र कृषि उत्पादन ओसारपसारमा सहज हुने अपेक्षा गरिएको छ ।

 

यसैगरी, सन्तपुरदेखि घुसुकपुर जोड्ने सडकलाई ढलानका लागि तयारीस्वरूप आज स्तरोन्नति (लेभलिङ तथा ग्राभेलिङ) कार्य गरिएको छ ।

यस सडकको स्तरोन्नतिपछि आगामी चरणमा ढलान कार्य गरिने जनाइएको छ । कार्यक्रममा सहभागी प्रदेश सभा सदस्यका पूर्व प्रत्याशी मोहम्मद सेराजले स्थानीय सरकार विकास निर्माणका काममा सक्रिय भएको बताउँदै ग्रामीण सडक पूर्वाधारको विकासले आर्थिक तथा सामाजिक परिवर्तनमा महत्वपूर्ण भूमिका खेल्ने बताए ।

उनले भने, “विकासको आधार नै सडक हो । सडक राम्रो भए किसानले आफ्नो उत्पादन सहज रूपमा बजारसम्म पु¥याउन सक्छन्, विद्यार्थी र सर्वसाधारणलाई आवतजावतमा सुविधा हुन्छ। फतुवा विजयपुरमा अहिले भइरहेका सडक निर्माणका कामले स्थानीयको जीवनस्तर सुधार्न मद्दत पुग्नेछ ।

” सेराजले विकास निर्माणका कामलाई गुणस्तरीय र समयमै सम्पन्न गर्नुपर्नेमा जोड दिँदै जनताको आवश्यकतालाई केन्द्रमा राखेर थप योजनाहरू अघि बढाउन आग्रह गरे । उनले नगरको समग्र विकासका लागि सबै पक्षबीच सहकार्य आवश्यक रहेको पनि बताए । स्थानीयवासीहरूले समेत लामो समयदेखि कच्ची र जीर्ण अवस्थामा रहेका सडकहरू ढलान हुन थालेपछि खुसी व्यक्त गरेका छन् ।

कृषि क्षेत्रमा निर्भर अधिकांश बासिन्दाले सडक सुधारसँगै उत्पादनको ढुवानी तथा दैनिक आवतजावत सहज हुने विश्वास व्यक्त गरेका छन् । स्थानीय सरकारको पहलमा नगरभित्रका पूर्वाधार विकासका कामले गति लिन थालेपछि फतुवा विजयपुरमा विकासको अनुभूति हुन थालेको स्थानीयहरूको भनाइ छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।