२०८२ चैत्र २८
२०८२ चैत्र २८

बज्जिकाञ्चल संवाददाता,राैतहट,०३ गते पुस । 

रौतहट । जलवायु जोखिम तथा संकटासन्नताको लागि सामुदायिक उत्थानशील परियोजना अन्तर्गत शुक्रबार चन्द्रपुर नगरपालिका र सरोकारवाला निकायबीच बृहत छलफल कार्यक्रम सम्पन्न भएको छ ।
अक्सफाम नेपालको आर्थिक सहयोग तथा ग्रामीण विकास केन्द्र (आरडिसी नेपाल) को आयोजनामा चन्द्रपुर नगरपालिका भित्र जलवायु परिवर्तनका कारण पर्न सक्ने सम्भावित प्रभाव तथा त्यसको न्यूनीकरणका उपायबारे छलफल गरिएको हो ।
चन्द्रपुर नगरपालिकाकी उपप्रमुख जयमाला चौधरीको अध्यक्षतामा सम्पन्न छलफल कार्यक्रममा जलवायु परिवर्तनले कृषि, वन, पूर्वाधार, जनस्वास्थ्य तथा जीविकोपार्जनमा पार्दै आएको असरका विषयमा सहभागीहरूबीच गहिरो विमर्श गरिएको थियो । साथै ती असरहरू कम गर्न सकिने सम्भावित उपाय, सुधार गर्नुपर्ने पक्ष तथा यस क्षेत्रमा नगरपालिकाले हालसम्म गरिरहेको प्रयासबारे समेत व्यापक छलफल भएको थियो ।
कार्यक्रममा चन्द्रपुर नगरपालिका अन्तर्गतका चन्द्रपुर नगरपालिकाको उपप्रमुख, प्रशासकीय अधिकृत, वडाका वडाअध्यक्षहरूवडा सदस्य , वन उपभोक्ता महासङ्घ, जलधार तथा भूसंरक्षण, संघर्ष युवा क्लब महिला समूह ,  तथा सामुदायिक वनका पदाधिकारीहरूको सहभागिता रहेको थियो भने डिभिजन वन कार्यालय रौतहटका प्रतिनिधिहरूले वन संरक्षण, जलवायु अनुकूलन तथा विपद् जोखिम न्यूनीकरणमा वन क्षेत्रको भूमिकाबारे धारणा राखेका थिए ।
त्यसैगरी चन्द्रपुर नगरपालिकाका विभिन्न शाखा प्रमुख कर्मचारीहरूको सक्रिय सहभागिता रहेको छलफल कार्यक्रममा ग्रामीण विकास केन्द्र नेपाल (आरडिसी) की उपाध्यक्ष ममता झा स्वागत मन्तव्य र परियोजनाको संयोजक चिरञ्जीवी महत्व ले परियोजनाको उद्देश्य, हालसम्मको प्रगति तथा आगामी कार्ययोजनाबारे जानकारी दिइन ।
छलफलबाट स्थानीय तह, वन क्षेत्र, सरोकारवाला निकाय तथा समुदायबीच सहकार्यलाई अझ सुदृढ गर्दै जलवायु जोखिम न्यूनीकरण र सामुदायिक उत्थानशीलता अभिवृद्धि गर्ने निष्कर्ष निकालिएको आरडिसी नेपालले जनाएको छ ।

आरके श्रीवास्तव,राैतहट,०३ गते पुस । 

रौतहट । जेन जी २.० रौतहट जिल्ला संयोजकसहितको टोलीले इनरवा स्थित भी आधारभूत विद्यालयमा देखिएको शैक्षिक तथा व्यवस्थापकीय अव्यवस्थाप्रति गम्भीर ध्यानाकर्षण गराउँदै प्रधानाध्यापकलाई ज्ञापन पत्र बुझाएको छ ।

ज्ञापन पत्रमा पछिल्लो समय विद्यालयमा अव्यवस्थित वातावरण, कक्षाकोठाको नियमित अनुगमनको अभाव, समयतालिकाको अव्यवस्था तथा शिक्षक–विद्यार्थी सम्बन्धमा देखिएको दूरीका कारण विद्यार्थीको भविष्यमा नकारात्मक असर परिरहेको उल्लेख गरिएको छ । यस्ता समस्याले विद्यालयप्रतिको विश्वास कमजोर हुनुका साथै विद्यार्थीको शैक्षिक प्रगति र मनोबलमा गम्भीर प्रभाव पारेको जेन जेड २.० को भनाइ छ ।

ज्ञापन पत्रमार्फत विद्यालय सुधारका लागि १० बुँदे माग प्रस्तुत गरिएको छ । जसअन्तर्गत विद्यालयको समग्र अनुशासन, स्वच्छता र दैनिक व्यवस्थापन कडाइका साथ लागू गर्नुपर्ने, शिक्षक समयमै उपस्थित नभए कारबाही गर्ने, कम्प्युटर तथा विज्ञान प्रयोगशाला र पुस्तकालयको व्यवस्था, खानेपानी र शौचालयको सुधार, कक्षाकोठामा मोबाइल प्रयोग निषेध, स्यानेट्री प्याडको व्यवस्था, दिवा खाजामा पौष्टिक आहार समावेश, विद्यालयमा लागू पदार्थ नियन्त्रण, बालविकास कक्षामा कार्पेटको व्यवस्था तथा शिक्षक–विद्यार्थीको पोशाक र कपाल व्यवस्थापन गर्नुपर्ने माग समेटिएका छन् ।

जेन जी २.० ले सुरक्षित, अनुशासित, गुणस्तरीय र विद्यार्थीमैत्री शैक्षिक वातावरण निर्माण नै साझा उद्देश्य रहेको बताउँदै प्रधानाध्यापकले ज्ञापन पत्रलाई गम्भीरतापूर्वक लिएर तत्काल सुधारका ठोस कदम चाल्ने विश्वास व्यक्त गरेको छ ।

ज्ञापन पत्र जेन जी २.० रौतहट जिल्ला संयोजक सोनु कुशवाहाको नेतृत्वमा बुझाइएको हो ।

आरके श्रीवास्तव,राैतहट,०३ गते पुस । 

रौतहट । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) ले केन्द्रीय कार्यालयको निर्देशन बमोजिम आगामी २०८२ फाल्गुन २१ गते हुने संसदीय निर्वाचनका लागि रौतहट जिल्लामा थप उम्मेदवार सिफारिस गरेको छ ।

लोसपा जिल्ला अध्यक्ष भरत साहका अनुसार मिति २०८२ मंसिर २६ गतेमा भएको निर्णयअनुसार केही संसदीय क्षेत्रमा उम्मेदवार छनोट थप गरिएकाले प्रत्यक्ष तथा समानुपातिक तर्फ उम्मेदवारको नामावली केन्द्रीय कार्यालयमा पठाइएको हो ।

सिफारिसअनुसार संसदीय निर्वाचन क्षेत्र नं. १ बाट प्रत्यक्षतर्फ बाबुलाल साह, अनिल सिंह र मुकेश झा रहेका छन् भने सोही क्षेत्रमा समानुपातिकतर्फ राजदेवी नगरपालिका–८ का जितेन्द्र कुमार पण्डित (कुमहार) को नाम सिफारिस गरिएको छ ।

संसदीय निर्वाचन क्षेत्र नं. २ बाट प्रत्यक्षतर्फ गौर नगरपालिका–९ का अरुण कुमार सिंह सिफारिस भएका छन् । क्षेत्र नं. ३ बाट प्रत्यक्षतर्फ कटहरिया नगरपालिका–८ का राजु कुमार श्रीवास्तवलाई उम्मेदवारका रूपमा अघि सारिएको छ ।

त्यसैगरी, संसदीय निर्वाचन क्षेत्र नं. ४ बाट प्रत्यक्ष तर्फ भाग्यनारायण तिवारी तथा समानुपातिकतर्फ गढीमाई नगरपालिका–४ का कुमार सानु साह सहितका नाम सिफारिस भएका छन् ।

उक्त निर्णय केन्द्रीय उपाध्यक्षद्वय निलम बर्मा र बाबुलाल साह, केन्द्रीय सदस्य रामप्रवेश दास, लोसपा मधेस प्रदेश सचिव ओमलोक पटेललगायत पार्टीका नेता तथा कार्यकर्ताहरूको उपस्थितिमा भएको जिल्ला अध्यक्ष साहले जानकारी दिए ।

उनका अनुसार समानुपातिक तर्फ निलम बर्मा,प्रभा सिंह, इन्दु दास लगायतका नामहरू सिफारिसमा समावेश छन् ।

राैतहट,पुष ०१ गते ।
प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ रौतहटको क्षेत्र स्तरीय बैठक विभिन्न प्रस्तावहरूमाथि व्यापक छलफल गर्दै सम्पन्न भएको छ। मंगलवार बसेको बैठकले संगठन विस्तार र आगामी निर्वाचन तयारीलाई केन्द्रमा राख्दै महत्त्वपूर्ण निर्णयहरू गरेको छ।

बैठकको निर्णयअनुसार रौतहट निर्वाचन क्षेत्र नं. १ मा जनमत पार्टीका केन्द्रीय सदस्य विकास कुमार यादवको संयोजकत्वमा १४ सदस्यीय क्षेत्रीय कोर टिम गठन गरिएको छ। गठित कोर टिमलाई संगठन सुदृढीकरण र चुनावी गतिविधि व्यवस्थापनको प्रमुख जिम्मेवारी दिइएको छ।

त्यसैगरी, प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ बाट जनमत पार्टीका राष्ट्रिय अध्यक्ष माननीय डा. सी.के. राउत, देवेंद्र मिश्र, बृजभूषण प्रसाद सिंह तथा सुरेन्द्र ठाकुरको नाम प्रत्यक्ष उम्मेदवारका रूपमा सिफारिस गरिएको छ।

बैठकले पार्टीको क्षेत्रीय सम्पर्क कार्यालय रौतहटको पिपरा बजारमा स्थापना गर्ने निर्णयसमेत गरेको छ। उक्त कार्यालयलाई संगठन सञ्चालन, बैठक व्यवस्थापन तथा जनसम्पर्कको केन्द्रका रूपमा प्रयोग गरिने जनाइएको छ।

कोर टिमले बूथ स्तरीय मूल समिति, महिला समिति तथा युवा दस्ता गठन गरिसकेको जानकारी दिइएको छ। साथै, जहाँ गठन हुन बाँकी छ, ती सबै बूथहरूमा सात दिनभित्र समिति गठन गरी सक्रियताको मूल्यांकनसहितको गठन प्रतिवेदन र मूल्यांकन प्रतिवेदन कार्यालयमा पेश गर्न कोर टिमका सदस्यहरूलाई जिम्मेवारी तोकिएको छ।

पार्टी नेतृत्वले बैठकका निर्णयहरूले संगठनलाई थप सशक्त बनाउने र आगामी निर्वाचनमा प्रभावकारी रूपमा प्रस्तुत हुन सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।

आरएन पटेल,रौतहट, पौष ०१ गते
जनता समाजवादी पार्टी (जसपा) नेपालले रौतहट जिल्लाका विभिन्न प्रतिनिधि सभा निर्वाचन क्षेत्रबाट प्रत्यक्षतर्फ उम्मेदवारका रूपमा एकल नाम सिफारिस गरेको छ। मंगलवार छुटाछूटै निर्वाचन क्षेत्रमा कार्यक्रमको आयोजन गरि पार्टीले जनभावनालाई मध्यनजर गर्दै अनुभवी र जनप्रिय नेताहरूलाई अघि सारेको भन्दै यस निर्णयलाई जिल्लामा सकारात्मक रूपमा हेरिएको छ।

जसअनुसार प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ बाट पूर्व राज्यमन्त्री योगेन्द्र राय यादव, क्षेत्र नं. ३ बाट जसपा नेपालका केन्द्रीय उपाध्यक्ष तथा पूर्व माननीय गोविन्द चौधरी र क्षेत्र नं. ४ बाट जेन्जी युवाहरुको चाहना अनुरूप युवा नेता राजकुमार दासलाई प्रत्यक्षतर्फ एकल उम्मेदवारका रूपमा सिफारिस गरिएको हो।

पार्टी नेतृत्वका अनुसार सिफारिस भएका तीनै जना नेता अनुभवी, ऊर्जावान तथा जनतासँग गहिरो सम्बन्ध भएका व्यक्तित्व हुन्। उनीहरूलाई नेतृत्वको जिम्मेवारी प्राप्त भएमा रौतहट जिल्लामा शिक्षा, स्वास्थ्य, पूर्वाधार, रोजगारीलगायतका क्षेत्रहरूमा ठोस र दीर्घकालीन सुधार हुने जसपा नेपालको दाबी छ।

स्थानीय तहका नेता तथा कार्यकर्ताहरूले पार्टीको यो निर्णयले जिल्लामा सकारात्मक सन्देश प्रवाह भएको प्रतिक्रिया दिएका छन्। एकल नाम सिफारिसले पार्टीभित्रको एकता मजबुत बनाउने र आगामी निर्वाचनमा सशक्त रूपमा अघि बढ्न सहयोग पुग्ने उनीहरूको विश्वास छ।

जसपा नेपालले जनताको चाहना र आवश्यकतालाई केन्द्रमा राख्दै उम्मेदवार चयन गरिएको जनाएको छ। पार्टीले आगामी दिनमा जनमुखी एजेन्डासहित जनताको घरदैलोमा पुगेर संगठन विस्तार तथा राजनीतिक अभियानलाई तीव्रता दिने तयारी गरिरहेको कार्यालय सचिव दिनेश कुमार यादवले बताएको छ।

जसपा नेपाल रौतहट जिल्ला अध्यक्ष राजीव रंजन यादवले सिफारिस भएका सबै उम्मेदवारहरूलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दै आगामी निर्वाचनमा पार्टीको एजेन्डा र जनताको आवाजलाई सशक्त रूपमा प्रतिनिधित्व गर्ने विश्वास व्यक्त गरेका छन।

 

आरके श्रीवास्तव,राैतहट,०१ गते मंसिर । 

रौतहट । जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) ले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि रौतहट निर्वाचन क्षेत्र नं. ४ बाट राजकुमार दास तत्माको नाम एकल रूपमा सिफारिश गरेको छ ।

पार्टीको क्षेत्रीय तथा जिल्ला तहका नेताहरूबीच भएको विस्तृत छलफल र सहमतिपछि तत्माको नाम एकल सिफारिश गरिएको हो । पार्टी स्रोतका अनुसार, राजकुमार दास तत्मा लामो समयदेखि जसपा नेपालको संगठन निर्माण, जनसम्पर्क विस्तार तथा सामाजिक गतिविधिमा सक्रिय रहँदै आएका नेता हुन् ।

स्थानीय तहमा राम्रो जनाधार, जनताका समस्याप्रति संवेदनशीलता तथा पार्टीप्रतिको इमान्दार निष्ठाका कारण उनको नाममा सर्वसम्मत सहमति जुटेको पार्टी नेताहरूले बताएका छन् । जसपा नेपाल रौतहटले निर्वाचन क्षेत्र नं. ४ मा पार्टीको पकड अझ मजबुत बनाउन सक्ने सक्षम, लोकप्रिय र जनउत्तरदायी उम्मेदवारका रूपमा तत्मालाई अघि सारेको जनाएको छ ।

पार्टीका अनुसार क्षेत्रीय र जिल्ला तहबाट गरिएको उक्त सिफारिश अब केन्द्रिय समितिमा पठाइनेछ । केन्द्रिय समितिको निर्णयपछि अन्तिम उम्मेदवारको टुंगो लाग्ने बताइएको छ ।

यसैबीच, पार्टीका स्थानीय नेताहरूले राजकुमार दास तत्माको उम्मेदवारीले रौतहट–४ मा जसपा नेपालको चुनावी रणनीतिलाई थप बल पुग्ने विश्वास व्यक्त गरेका छन् ।

 

आरएन पटेल,२९ गते मंसिर । 
रौतहट। जनता समाजवादी पार्टी (जसपा) नेपाल रौतहट प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं.–२ को समन्वय समिति (क्षेत्रीय) भेला आज बौधीमाई नगरपालिका–४, इनरवारीमा विधिवत रूपमा सम्पन्न भएको छ ।

भेला जसपा नेपाल रौतहटका जिल्ला अध्यक्ष राजीव रन्जन यादवको अध्यक्षता तथा केन्द्रीय कार्यकारिणी समिति सदस्य एवं पूर्व प्रदेश सांसद रामकिशोर प्रसाद यादवको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।

भेलामा वक्ताहरूले पार्टी संगठन सुदृढीकरण, आगामी राजनीतिक रणनीति, जनआधारित आन्दोलन तथा क्षेत्रीय गतिविधिबारे विस्तृत विचार–विमर्श गरेका थिए । साथै पार्टीलाई जनताको मुद्दासँग अझ नजिक लैजान कार्यकर्ताहरूले सक्रिय र जिम्मेवार भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिइएको थियो ।

कार्यक्रममा पार्टीका नेता–कार्यकर्ता, जनप्रतिनिधि तथा स्थानीय कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । भेलाले संगठन विस्तार र जनसम्बन्ध सुदृढीकरणमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

आरके श्रीवास्तव,राैतहट,२९ गते मंसिर । 

रौतहट । सामुदायिक विद्यालयमा सञ्चालन हुने दिवा खाजा कार्यक्रमको गुणस्तरमाथि प्रश्न उठिरहेका बेला रौतहटको मौलापुर नगरपालिकाले शिक्षालाई पहिलो प्राथमिकतामा राख्दै उदाहरणीय अभ्यास प्रस्तुत गरिरहेको छ। नगरपालिकाको शिक्षा शाखाले तयार पारेको शेड्युलअनुसार नियमित र गुणस्तरीय दिवा खाजा सञ्चालन हुँदै आएको छ ।

आईतवार मौलापुर नगरपालिका वडा नम्बर ३ स्थित श्री माध्यमिक विद्यालयमा विद्यार्थीहरूलाई शुद्ध दुधबाट तयार गरिएको खिर खुवाइएको थियो । शेड्युलअनुसार कहिले खिर, कहिले चना–चिउरा, त कहिले मासु–चिउरा वा अण्डा खुवाइँदै आएको प्रधानाध्यापक चन्देश्वर साहले बताए । यसले विद्यार्थीको पोषण सुधारसँगै विद्यालयमा नियमित उपस्थिति बढाउन सहयोग पुगेको उनको भनाइ छ ।

नगरपालिकाका शिक्षा सह–संयोजक धर्मेन्द्र कुमार साहका अनुसार दिवा खाजा कार्यक्रम पारदर्शी र अनुशासित ढंगले सञ्चालन भइरहेको छ ।
“शिक्षा शाखाबाट जारी गरिएको तालिकाअनुसार नै दिवा खाजा सञ्चालन गरिरहेका छौं, गुणस्तरमा कुनै सम्झौता गरिएको छैन,” उनले भने।

दिवा खाजासँगै समग्र शिक्षामा गरिएको लगानी पनि उल्लेखनीय रहेको नगरप्रमुख रिना कुमारी साहले बताइन् । मौलापुर नगरपालिकाले कुल बजेटको करिब ४० प्रतिशत शिक्षा क्षेत्रमा खर्च गर्दै आएको उनले जानकारी दिइन् ।
“२०७४ सालमा निर्वाचित हुँदा नगरपालिकामा दुईवटा मात्र माध्यमिक विद्यालय थिए, अहिले ६ वटा माध्यमिक विद्यालय सञ्चालनमा छन्,” नगरप्रमुख साहले भनिन् ।

गुणस्तरीय शिक्षामा मौलापुर नगरपालिकाले मधेस प्रदेशमै उत्कृष्ट सम्मान प्राप्त गरिसकेको उनले उल्लेख गरिन् । शिक्षक अभावका विषयमा शिक्षा मन्त्रालयलाई पटक–पटक दरबन्दी अनुसार शिक्षक पठाइदिन आग्रह गरिए पनि पर्याप्त शिक्षक नआएपछि नगरपालिकाले आफ्नै स्रोतबाट एक सयभन्दा बढी नगर शिक्षक भर्ना गरी विद्यालय सञ्चालन गरिरहेको उनको भनाइ छ ।

भौतिक पूर्वाधारतर्फ मौलापुर नगरपालिकाले शिक्षा क्षेत्रमा उल्लेखनीय लगानी गरेको छ । हालसम्म १५० भन्दा बढी कक्षा कोठा निर्माण भइसकेका छन् । विद्यालयका लागि जग्गा खरिददेखि नमूना भवन निर्माणसम्मका काम सम्पन्न भई मौलापुरको शैक्षिक भौतिक पूर्वाधार देशमै नमूना बन्दै गएको नगरप्रमुखको दाबी छ ।

यसैबीच मौलापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले शिक्षामा पहुँच विस्तारका लागि प्राविधिक शिक्षालाई विशेष प्राथमिकता दिइएको बताए । उनका अनुसार सिभिल इन्जिनियरिङ र जियोमेट्रिक इन्जिनियरिङतर्फ डिप्लोमा तहको शिक्षा मौलापुर नगरपालिका अन्तर्गतका छोरी–बुहारीका लागि शतप्रतिशत निःशुल्क व्यवस्था गरिएको छ ।
“छात्रहरूका लागि भने २५ प्रतिशत छात्रवृत्ति प्रदान गरिरहेका छौं,” प्रमुख प्रशासकीय अधिकृत साहले बताए ।

उनले विगतमा माध्यमिक तहमा अध्ययनरत विद्यार्थीहरूका लागि ल्यापटप वितरण गरिएको जानकारी दिँदै डिजिटल शिक्षामा पनि नगरपालिकाले जोड दिएको स्पष्ट पारे ।

दिवा खाजा कार्यक्रमदेखि बजेट, छात्रवृत्ति, शिक्षक व्यवस्थापन र भौतिक पूर्वाधारसम्म शिक्षाको सबै पक्षमा गरिएको लगानीका कारण मौलापुर नगरपालिका सामुदायिक शिक्षाको क्षेत्रमा अन्य स्थानीय तहका लागि अनुकरणीय उदाहरण बन्दै गएको स्थानीयको भनाइ छ ।

आरके श्रीवास्तव,राैतहट,२९ गते मंसिर । 

रौतहट । रौतहटको राजपुर नगरपालिकाले सोमबारदेखि आफ्नै नवनिर्मित प्रशासकीय कार्यालय भवनबाट औपचारिक रूपमा सेवा प्रवाह सुरु गरेको छ । राजपुर नगरपालिका स्थित राजिक चोकमा निर्माण सम्पन्न भएको भवनको नगरप्रमुख डा. राजिक आलमले विशेष समारोहबीच विधिवत् उद्घाटन गरेपछि सेवा सञ्चालनमा आएको हो ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै नगरप्रमुख डा. आलमले नगरवासीको इच्छा, मेहनत र चाहनाअनुसार निर्धारित समयमै प्रशासकीय भवन निर्माण भई उद्घाटन गर्न पाउँदा खुशी व्यक्त गरेका छन् । विगतमा सानो र अस्थायी कोठाबाट जेनतेन सेवा दिनुपरेको अवस्थाको स्मरण गर्दै उनले अब आफ्नै भवनबाट सेवा सुरु हुनु राजपुर नगरपालिकाका लागि महत्वपूर्ण उपलब्धि भएको बताए ।


नगरको विकास क्रमशः अघि बढिरहेको उल्लेख गर्दै नगरप्रमुख आलमले शिक्षा, स्वास्थ्य, सडक तथा भौतिक पूर्वाधार क्षेत्रमा उल्लेखनीय सुधार हुँदै आएको जनाए । नगरवासीको निरन्तर साथ र सहयोग प्राप्त भएमा राजपुर नगरपालिकालाई नमूना नगरपालिकाका रूपमा विकास गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे ।

कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत बैजु ठाकुरले नयाँ भवनबाट सेवा सुचारु भएसँगै सेवा प्रवाहलाई थप व्यवस्थित, छिटो र पारदर्शी बनाइने बताए। प्रशासनिक कामकाजलाई एकीकृत संरचनाबाट सञ्चालन गर्दा सेवाग्राहीमैत्री वातावरण सिर्जना हुने र जनताको गुनासो तथा कामकारबाहीमा ढिलासुस्ती नहुने उनको भनाइ थियो ।

समारोहमा राैतहटका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले नयाँ प्रशासकीय भवनबाट सेवा सुचारु भएकोमा राजपुरवासीलाई बधाई दिँदै जनताको कामकाजमा कुनै पनि ढिलासुस्ती नगर्न सुझाव दिए । पायक पर्ने स्थानमा भवन निर्माण भएकाले सेवाग्राहीका विगतका झन्झटहरू क्रमशः हट्दै जाने र सेवा प्रवाह थप प्रभावकारी हुने अपेक्षा उनले व्यक्त गरे ।

उद्घाटन समारोहमा नगर उपप्रमुख जमिला असगरी, नेपाल प्रहरीका एसपी रबिन कार्की, सशस्त्र प्रहरीका एसपी रामहरी अधिकारी, राष्ट्रिय अनुसन्धानका उपनिर्देशक कुमार बुढाथोकी, नेपाल पत्रकार महासंघका अध्यक्ष संजय कार्की, डा. कौशर आलम, वडा नं. १ देखि ९ सम्मका वडाध्यक्षहरू, जिल्ला समन्वय समितिका सदस्यहरू, नगर तथा वडा सदस्यहरू, विभिन्न क्षेत्रका व्यक्तित्वहरू र उल्लेख्य संख्यामा स्थानीय बासिन्दाहरूको उपस्थिति रहेको थियो ।

साथै, उद्घाटन अवसरमा नगरप्रमुख, उपप्रमुख, प्रमुख जिल्ला अधिकारी, प्रमुख प्रशासकीय अधिकृत, सुरक्षा निकायका प्रतिनिधि, वडाध्यक्षहरू, निर्माण व्यवसायी, सञ्चारकर्मी लगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरूलाई सम्मान गरिएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाका लेखा अधिकृत मनोज कर्णका अनुसार करिब ५ करोड ७२ लाख रुपैयाँको लागतमा नयाँ प्रशासकीय भवन निर्माण सम्पन्न भएको हो ।

आरके श्रीवास्तव,राैतहट,मंसिर २८ गते । 

रौतहट । नेत्र ज्योती आँखा हस्पिटल प्रा. लि., गरुडा नगरपालिका–४, रौतहटको प्राविधिक सहयोगमा कटहरिया नगरपालिका–८ (पिप्रा पोखरीया) मा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । तिलगंगा आँखा हस्पिटल, काठमाडौंको आयोजनामा मिति २०८२।०८।२८ गते आइतवार बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म शिविर सञ्चालन गरिएको थियो ।

शिविरमा आँखा परीक्षण गराउँदा ४२ जनामा मोतियाबिन्दु फेला परेको वडा कार्यालयका कर्मचारी मुकुन्द यादवले जानकारी दिएका छन् । उनका अनुसार अन्य दर्जनौँ सेवाग्राहीले सामान्य आँखा परीक्षण, औषधि तथा परामर्श सेवा लिएका थिए ।

स्थानीय आयोजक तथा कटहरिया नगरपालिका–८ का वडा अध्यक्ष समिश विक्रम शाहले ग्रामीण तथा विपन्न समुदायका नागरिकहरूका लागि आँखा शिविर अत्यन्त आवश्यक रहेको बताए । “आर्थिक अभाव र जानकारीको कमीका कारण धेरै नागरिक उपचारबाट वञ्चित हुने अवस्था छ,” उनले भने, “यस्ता शिविरले समयमै रोग पहिचान र उपचारमा सहयोग पुग्ने भएकाले आगामी दिनमा पनि निरन्तरता दिन पहल गरिनेछ।”

वडा अध्यक्ष शाहले शिविर सफल बनाउन सहयोग गर्ने तिलगंगा आँखा हस्पिटल, नेत्र ज्योती आँखा हस्पिटल, स्वास्थ्यकर्मी, स्वयंसेवक तथा स्थानीयवासीप्रति धन्यवाद व्यक्त गरे । उनले मोतियाबिन्दु पहिचान भएका बिरामीहरूको शल्यक्रियाका लागि आवश्यक समन्वय गरिने पनि जानकारी दिए ।

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।