कैलाली । कैलालीको मोहन्याल गाउँपालिका–७ कुइनेस्थित चिसापानी–कुइने कच्ची सडकखण्डमा दुई यात्रुवाहक बस एकआपसमा ठोक्किँदा सात जना यात्रु घाइते भएका छन्।
प्रहरीका अनुसार लम्कीबाट कालिकोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ज ०८९२ नम्बरको फोर्स गाडी र सोल्टाबाट चिसापानीतर्फ आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३१६८ नम्बरको बस एकआपसमा ठोक्किएर दुर्घटना भएको हो। फोर्स गाडीमा सवार १४ यात्रुमध्ये सात जना घाइते भएका हुन्। घाइतेहरूमा कैलालीका ५० वर्षीया लक्ष्मी शाही, ५३ वर्षीया कृष्णादेवी टमटा, ५५ वर्षीया बासुदेवी टमटा, कालिकोटका ४८ वर्षीय प्रवे बिष्ट, रुकुम पश्चिमकी २१ वर्षीया बिना शाही र उनका एक वर्षीय छोरा लविश चन्द तथा अछामकी २१ वर्षीया निर्मला सञ्ज्याल रहेका छन्।
घाइते सबैलाई उपचारका लागि लम्कीतर्फ पठाइएको प्रहरीले जनाएको छ। अर्को बसमा सवार २७ जना यात्रु भने सकुशल रहेका छन्।
दुर्घटनामा दुवै सवारीसाधनको अगाडिको भागमा क्षति पुगेको भए पनि सञ्चालनयोग्य अवस्थामा रहेका छन्। सडकमा सवारी आवागमन सामान्य रहेको छ भने प्रहरीले दुवै चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको छ।एभरेष्ट न्यूज एजेन्सी
काठमाडौं । नेपाल सरकारले नेपाल फार्मेसी परिषद्को अध्यक्षमा डा. कादिर आलमलाई नियुक्त गरेको छ। नवनियुक्त अध्यक्ष आलमले बुधबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको उपस्थितिमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।
परिषद्को अध्यक्ष नियुक्तिका लागि आवेदन दिएका उम्मेदवारमध्ये छनोट प्रक्रियापछि आलमलाई अध्यक्षमा नियुक्त गरिएको हो।
शपथ ग्रहणपछि मन्त्री मेहताले नेपाल फार्मेसी परिषद्लाई थप प्रभावकारी, पारदर्शी र उत्तरदायी बनाउँदै औषधि सेवा, फार्मेसी शिक्षा, पेशागत नियमन तथा जनविश्वास अभिवृद्धिमा सक्रिय भूमिका निर्वाह गर्न निर्देशन दिएकी छन् ।एभरेष्ट न्यूज एजेन्सी
बज्जिकाञ्चल एफएम संमददाता, साउन २० गते
मन्त्रिपरिषद्को बैठक आज बस्दैछ । प्रधानमन्त्री बालेन्द्र शाहले आज बिहान ११स्३० बजे बस्ने गरि मन्त्रिपरिषद्को बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
सचिवालयका अनुसार बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ । एभरेष्ट न्यूज एजेन्सी,
बज्जिकाञ्चल एफएम संमददाता, साउन २० गते
मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत सिमलताल नजिक पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको छ ।
सडक डिभिजन भरतपुरका अनुसार सडकको सिमलताल नजिक पहिरो खस्दा दुवैतर्फको सवारी आवागमन रोकिएको हो।
पहिरो पन्छाउन सडक डिभिजनका उपकरण परिचालन गरिसकिएको जनाइएको छ। सडक पूर्ण रूपमा सञ्चालनमा आउन करिब एक घण्टा लाग्ने अनुमान गरिएको छ ।
सडक डिभिजनले उक्त सडकखण्ड भएर यात्रा गर्ने चालक तथा यात्रुलाई आवश्यक सतर्कता अपनाउन र वैकल्पिक व्यवस्था मिलाउन आग्रह गरेको छ। एभरेष्ट न्यूज एजेन्सी,
बज्जिकाञ्चल एफएम संमददाता, साउन २० गते
आज राष्ट्रिय सभा अन्तर्गतका दुई समितिको बैठक बस्दैछ । आज संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दैछ ।
आज बिहान ११ बजेदेखि बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा दैनिक उपभोग्य तथा अत्यावश्यक वस्तु र सेवाको आपूर्ति एवं वितरण, मुल्य नियन्त्रण, गुणस्तर, बजार अनुगमन तथा उपभोक्ता हक संरक्षण तथा प्रवर्द्धन सम्बन्धमा छलफलको कार्यसूची रहेको छ ।
त्यस्तै आज बिहान साढे ९ बजेदेखि शुरु हुने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा युनेस्को र पुरातत्त्व विभागसँग विश्व सम्पदा सूचीमा सूचीकृत हुन सक्ने नेपालका सम्भावित सम्पदाहरु सम्बन्धमा छलफलको कार्यसूची रहेको छ ।एभरेष्ट न्यूज एजेन्सी,
बज्जिकाञ्चल एफएम संमददाता, साउन २० गते
मुग्लिन(काठमाडौँ सडक खण्ड सुचारु भएको छ । धादिङको मझिमटारमा सुख्खा पहिरो खसेपछि दुइतर्फी अवरुद्ध बनेको सडक पहिरो हटाएपछि सुचार भएको प्रहरीले जानकारी दिएको छ । सडकमा लामो जाम रहेकाले लेन अनुशासन पालना गर्न प्रहरीले अनुरोध गरेको छ ।एभरेष्ट न्यूज एजेन्सी
बज्जिकाञ्चल एफएम संमददाता, साउन २० गते
काठमाडौँ । हरेक वर्ष अगस्ट ५ का दिन अन्तर्राष्ट्रिय ट्राफिक बत्ती दिवस मनाइन्छ । सन् १९१४ अगस्ट ५ मा अमेरिकाको ओहायो राज्यस्थित क्लिभल्यान्ड सहरको युक्लिड एभेन्यु र पूर्व १०५औँ सडकको चोकमा विश्वकै पहिलो विद्युतीय ट्राफिक बत्ती जडान गरिएको सम्झनामा यो दिवस मनाउने गरिन्छ ।
विश्वको पहिलो विद्युतीय ट्राफिक बत्तीको डिजाइन जेम्स होजले गरेका थिए । प्रारम्भिक अवधारणाको विकासमा लेस्टर वायरको पनि योगदान रहेको मानिन्छ । उक्त प्रणालीमा रातो र हरियो बत्ती प्रयोग गरी सवारीसाधन र पैदल यात्रुको आवागमन व्यवस्थापन गरिन्थ्यो ।
यस दिवसको मुख्य उद्देश्य ट्राफिक बत्तीले सडक दुर्घटना न्यूनीकरण, सवारी चाप व्यवस्थापन तथा चालक, पैदलयात्री र साइकलयात्रीको सुरक्षामा पुर्याएको महत्त्वपूर्ण योगदानप्रति जनचेतना फैलाउनु हो ।
ट्राफिक बत्तीको विकासक्रम सन् १८६८ मा बेलायतको लन्डनमा ग्यासबाट चल्ने हातैले सञ्चालन गरिने संकेत प्रणालीबाट सुरु भएको मानिन्छ । त्यसयता प्रविधिमा निरन्तर सुधार हुँदै आज कृत्रिम बुद्धिमत्ता र स्वचालित प्रणालीमा आधारित आधुनिक ट्राफिक व्यवस्थापन प्रणालीसम्म यसको विकास भएको छ ।
विश्वभर सडक सुरक्षा प्रविधिमा भएका निरन्तर सुधार र सुरक्षित यातायात व्यवस्थाको महत्त्वलाई स्मरण गर्दै अन्तर्राष्ट्रिय ट्राफिक बत्ती दिवस विभिन्न कार्यक्रमका साथ मनाइने गरिन्छ । एभरेष्ट न्यूज एजेन्सी,
बज्जिकाञ्चल एफएम संमददाता, साउन २० गते ।
काठमाडौँ । आज प्रतिनिधि सभा अन्तर्गतका चार समितिको बैठक बस्दैछ । आज अर्थ समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कानुन, न्याय तथा मानव अधिकार समिति र कृषि तथा प्राकृतिक स्रोत समितिको बैठक बस्दैछ ।
आज बिहान १० बजेदेखि बस्ने अर्थ समितिको बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफल जारी रहने समितिले जानकारी दिएको छ ।
त्यस्तै आज बिहान १० बजेदेखि शुरु हुने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा वैदेशिक रोजगार व्यवस्थापन सम्बन्धमा छलफलको कार्यसुची रहेको छ ।
त्यसैगरी बिहान साढे ९ बजेदेखि शुरु हुने कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा स्वतन्त्र न्यायपालिका तथा न्याय प्रशासनको वर्तमान अवस्था, समस्या र समाधानको विषयमा छलफलको कार्यसूची रहेको छ ।
त्यस्तै आज दिउसो १ बजेदेखि शुरु हुने कृषि तथा प्राकृतिक स्रोत समितिको बैठकमा समितिमा प्राप्त उजुरीका सम्बन्धमा आन्तरिक छलफल हुने कार्यसूची रहेको समितिले जनाएको छ । एभरेष्ट न्यूज एजेन्सी,
काठमाडौँ । आज प्रतिनिधि सभाको बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार आज बैठक दिउसो १ बजेदेखि बस्दैछ ।
आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले ‘आदिवासी जनजाति आयोगको छैटौं वार्षिक प्रतिवेदन आ.व. २०८१/०८२’ पेस गर्ने कार्यसूची रहेको छ ।
त्यस्तै आज भिष्मराज आङ्देम्बेले ‘वास्तविक भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको पहिचान गरी नागरिकको संरक्षण र पुनःस्थापनाका लागि सरकारले आवश्यक व्यवस्था गरी सुरक्षित आवास, आधारभूत सेवा, खाद्य, स्वास्थ्य, शिक्षा र जीविकोपार्जनको निरन्तरतालाई ध्यान दिइ उचित क्षतिपूर्ति, स्थायी पुनःस्थापनाको प्रत्याभूति दिलाउन र वास्तविक भूमिहीन एवम् सुकुम्बासीलाई यथाशीघ्र लालपुर्जा वितरण गराउन आवश्यक भएकोले” भन्ने विषयको जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ भने प्रस्तावका समर्थक ऐन बहादुर महर, युवराज दुलाल र आरेन राईले समर्थन गर्ने कार्यसूची रहेको छ ।एभरेष्ट न्यूज एजेन्सी
काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गतको भूमि समस्या समाधान समितिले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको व्यवस्थापनका नाममा रकम असुल्ने वा अनुचित लाभ लिने व्यक्तिमाथि कानुनी कारबाही गरिने चेतावनी दिएको छ।
समितिले विज्ञप्ति जारी गर्दै देशभरबाट संकलित निवेदनका आधारमा उपलब्ध जग्गाको विवरण सूचना प्रणालीमा प्रविष्ट गरी निशुल्क रुपमा निस्सा वितरणको कार्य सम्बन्धित स्थानीय तहबाट भइरहेको जनाएको छ। निस्सा प्राप्त गरेका निवेदकको पहिचान तथा प्रमाणीकरण र उपलब्ध गराइने जग्गाको पहिचान गर्ने जिम्मेवारी पनि स्थानीय तहकै रहेको समितिले स्पष्ट पारेको छ।
समितिका अनुसार उक्त कार्यलाई प्रभावकारी बनाउन प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा गठित जिल्ला भूमि समस्या समाधान समितिमार्फत आवश्यक कर्मचारीलाई प्रशिक्षण दिइएको छ। साथै जिल्ला समितिका पदाधिकारीसँग जुम तथा भौतिक उपस्थितिमा अन्तरक्रिया, स्थानीय तहका जनप्रतिनिधिसँग छलफल तथा विभिन्न जिल्लामा स्थलगत भ्रमणसमेत गरिएको उल्लेख गरिएको छ ।
तर, पछिल्लो समय केही व्यक्तिले निवेदन दर्ता गरिदिने वा निस्सा दिलाइदिने बहानामा सेवाग्राहीबाट रकम असुलेको गुनासो समितिमा प्राप्त भएको जनाएको छ। यस्ता गतिविधि गैरकानुनी भएको उल्लेख गर्दै समितिले कसैलाई पनि कुनै व्यक्तिलाई रकम नदिन आग्रह गरेको छ ।
समितिले यस्ता अनुचित कार्यमा संलग्न व्यक्तिलाई प्रचलित कानुनबमोजिम अनुसन्धान गरी कारबाही तथा सजाय गरिने चेतावनी दिएको छ। भूमिहीन तथा अव्यवस्थित बसोबासीको दीर्घकालीन समस्या समाधानका लागि सबै सरोकारवालाको सहयोग आवश्यक रहेको उल्लेख गर्दै समितिले सेवाग्राहीलाई कुनै पनि प्रलोभनमा नपर्न र आधिकारिक प्रक्रियामार्फत मात्र सेवा लिन आग्रह गरेको छ ।एभरेष्ट न्यूज एजेन्सी