नुवाकोट । भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको आकस्मिक बाढीबाट प्रभावित परिवारलाई विदुर नगरपालिकाले तत्काल घरभाडाका लागि प्रतिपरिवार १० हजार रुपैयाँ उपलब्ध गराउने भएको छ ।
विदुर नगर कार्यपालिकाको १३४औँ बैठकले बाढीका कारण बस्न योग्य घर नभएका नगरवासीलाई नगरपालिकाले घर भाडामा लिएर बस्ने व्यवस्था मिलाउने निर्णय गरेको हो । प्रभावित परिवारलाई खाद्यान्न, लत्ताकपडा, भान्साका सामग्री, सरसफाइ सामग्रीलगायत आवश्यक सामग्रीसमेत उपलब्ध गराइने नगरपालिकाले जनाएको छ ।
घर भाडामा लिँदा वा दिँदा प्रचलित भाडादरभन्दा बढी रकम लिएको पाइएमा प्रचलित कानुनअनुसार कारबाही गरिने निर्णयसमेत गरिएको छ ।
त्यस्तै, तीनै तहका सरकार, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्था र दाताको सहकार्यमा अस्थायी आवास निर्माण गरी बाढी प्रभावितलाई पुनःस्थापना गरिने भएको छ ।
नगरपालिकाले अस्थायी आवास केन्द्र सञ्चालनमा नरहेका विद्यालयमा भदौ २४ गतेदेखि पठनपाठन सञ्चालन गर्ने निर्णय गरेको छ । अस्थायी आवास केन्द्रका रूपमा प्रयोग भइरहेका सामुदायिक तथा संस्थागत विद्यालयलाई केही दिनभित्र अन्यत्र व्यवस्थापन गरी पुनः सञ्चालनमा ल्याइने जनाइएको छ ।
विदुर नगरपालिकाभित्र सञ्चालित अस्थायी आवास केन्द्रमा अन्य जिल्ला तथा स्थानीय तहका भोटेकोशी बाढी प्रभावित नागरिकसमेत रहेकाले उनीहरूलाई सम्बन्धित जिल्ला तथा स्थानीय तहसँग समन्वय गरी व्यवस्थापन गर्न आग्रह गरिने नगरपालिकाले जनाएको छ।एभरेष्ट न्यूज एजेन्सी,
काठमाडौँ । देशका प्रमुख नदीहरूमा आगामी तीन दिन बहाव बढ्ने पूर्वानुमान गरिएको छ। बाढी पूर्वानुमान महाशाखाले जारी गरेको सूचनाअनुसार कोशी, नारायणी, कर्णाली र महाकालीका प्रमुख सहायक नदीमा बहाव उल्लेख्य बढ्ने देखिएको छ ।
महाशाखाका अनुसार आज कोशी नदीअन्तर्गत सप्तकोशी चतरा, तमोर त्रिवेणी, अरुण सिम्ले र दूधकोशी रुकुमबजार क्षेत्रमा बहाव उल्लेख्य बढ्ने अनुमान गरिएको छ। ती नदीमा भोलि र पर्सि पनि बहाव उल्लेख्य बढ्ने पूर्वानुमान छ ।
तामाकोशी र सुनकोशीमा पनि आजदेखि पर्सिसम्म बहाव बढ्ने भए पनि अन्य नदीको तुलनामा अवस्था सामान्य रहने देखिएको छ ।
नारायणी नदीअन्तर्गत नारायणी देवघाट, त्रिशूली बेत्रावती, बूढीगण्डकी आरुघाट, मर्स्याङ्दी विमलनगर, सेती दमौली र कालीगण्डकी कुश्मा क्षेत्रमा तीनै दिन बहाव उल्लेख्य बढ्ने पूर्वानुमान गरिएको छ ।
कर्णाली नदीअन्तर्गत कर्णाली चिसापानी र असरााघाट क्षेत्रमा बहाव बढ्ने तथा भेरी समजिघाट र पश्चिम सेती दिपायल क्षेत्रमा आज बहाव उल्लेख्य बढ्ने पूर्वानुमान छ। यी नदीमा भोलि र पर्सि पनि बहाव बढ्ने देखिएको छ । महाकाली नदीअन्तर्गत पारिगाउँ क्षेत्रमा आज बहाव उल्लेख्य बढ्ने र त्यसपछि पनि बहाव बढ्ने पूर्वानुमान गरिएको छ। कन्काई, कमला, बागमती, पूर्वी राप्ती तथा पश्चिम राप्तीमा भने तीनै दिन सामान्य रूपमा बहाव बढ्ने अनुमान छ ।
महाशाखाले आज विभिन्न जिल्लाका साना नदी तथा खोलामा बहाव उल्लेख्य बढ्नुका साथै आकस्मिक बाढी आउन सक्ने जोखिम औँल्याएको छ ।
पूर्वी क्षेत्रमा ताप्लेजुङ, सङ्खुवासभा, तेह्रथुम, पाँचथर, इलाम, धनकुटा, झापा, मोरङ, खोटाङ, उदयपुर, ओखलढुङ्गा र भोजपुरमा जोखिम रहेको जनाइएको छ । मध्य क्षेत्रमा दोलखा, काभ्रेपलाञ्चोक, ललितपुर, भक्तपुर, काठमाडौँ, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, लमजुङ र कास्कीमा साना नदी तथा खोलामा बहाव बढ्न सक्ने बताइएको छ ।
त्यस्तै, पश्चिम तथा सुदूरपश्चिमका सुर्खेत, दैलेख, अछाम, कालिकोट, बाजुरा, बाजहाङ, बाँके, बर्दिया, दाङ, डोटी, डडेलधुरा, कैलाली र कञ्चनपुरलगायत जिल्लामा पनि साना नदीमा बहाव बढ्ने तथा आकस्मिक बाढीको जोखिम रहेको महाशाखाले जनाएको छ ।
महाशाखाले नदी तथा खोलानाला आसपासका बस्ती र सडक क्षेत्रमा सतर्कता अपनाउन तथा जोखिमयुक्त स्थानमा आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ ।
एभरेष्ट न्यूज एजेन्सी,
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीका पूर्वउपसभापति पूर्णबहादुर खड्का र नेता डा. शेखर कोइरालासँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन् ।
थापाले शनिबार खड्का र आइतबार कोइरालासँग भेट गरी पार्टीको आन्तरिक अवस्था तथा आगामी महाधिवेशनबारे छलफल गरेका हुन् ।
आज दिउँसो भएको भेटमा सभापति थापा र नेता कोइरालाबीच पार्टीभित्र देखिएको आन्तरिक विवाद समाधान तथा संगठनलाई एकताबद्ध बनाउने विषयमा छलफल भएको थियो । कोइरालाले देश, लोकतन्त्र र राष्ट्रियता अप्ठ्यारो अवस्थामा रहेकाले कांग्रेस एकढिक्का भएर अघि बढ्नुपर्ने बताएका थिए ।
कोइरालाले पार्टी एकताका लागि आफूले आवश्यक त्याग गर्न तयार रहेको बताएका थिए । जवाफमा सभापति थापाले आफू पनि पार्टी एकताको पक्षमा रहेको बताएका थिए ।
यसैबीच, आसन्न महाधिवेशन तथा भोटेकोशी बाढीपछिको राहत र पुनर्निर्माणलगायत विषयमा छलफल गर्न कांग्रेस कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । बैठकमा पार्टीभित्रको पछिल्लो विवाद र आगामी राजनीतिक रणनीतिबारे समेत बैठकमा छलफल हुने बताइएको छ ।एभरेष्ट न्यूज एजेन्सी
नुवाकोट । भोटेकोशी बाढीबाट नुवाकोटमा २६०८ जना सम्पर्कविहिन भएका छन् ।
जिल्ला प्रशासन कार्यालय नुवाकोटले दिएको अपडेट अनुसार नुवाकोटबाट १८७७ पुरुष, ४६५ महिला, १०४ विदेशी पुरुष, १०७ विदेशी महिला र ५५ जना नखुलेका मानिस सम्पर्कविहिन रहेका छन् ।
प्रशासनले अहिलेसम्म जिल्लाका ३४०३ जनाको उद्धार गरिएको जानकारी दिएको छ । त्यसैगरी नुवाकोटमा अहिलेसम्म १९३ जनाको शव निकालिएको छ । जसमा १२० जना लिंग पहिचान नभएका रहेका छन् . । एभरेष्ट न्यूज एजेन्सी
गोरखा । चुमनुब्री गाउँपालिका–४ नामरुङस्थित थेराङ खोलामा बाढी आएर पुलहरू बगाएपछि जिल्ला प्रशासन कार्यालय गोरखाले मनास्लु र लार्केपास पदमार्गमा पदयात्रा नगर्न आग्रह गरेको छ ।
भदौ २१ गते बिहान करिब ३ः३० बजे आएको बाढीले चुमनुब्री गाउँपालिका–४ र २ जोड्ने फलामे पुल तथा गाउँपालिकाबाट नामरुङ जंगलतर्फ जाने बुढीगण्डकी नदीमाथिको झोलुङ्गे पुल बगाएको प्रशासनले जनाएको छ ।
प्रशासनले अर्को सूचना जारी नभएसम्म मनास्लु तथा लार्केपास पदमार्गमा यात्राको तयारीमा रहेका वा यात्रामा रहेका पदयात्रीलाई पदयात्रा नगर्न र नगराउन आग्रह गरेको छ ।
विपद्जन्य घटना वा असामान्य अवस्था सिर्जना भएमा तत्काल नजिकको सुरक्षा निकाय, प्रहरी चौकी वा स्थानीय तहलाई जानकारी गराउन प्रशासनले अनुरोध गरेको छ।एभरेष्ट न्यूज एजेन्सी
वीरगञ्ज । पर्साको सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादव क्यासिनोमा भेटिएपछि प्रहरीले नियन्त्रणमा लिएको छ ।
शनिबार राति प्रहरीले वीरगञ्जस्थित गण्डकको क्लार्क रिसोर्टमा रहेको क्यासिनोमा विशेष अभियान सञ्चालन गर्दा अध्यक्ष यादवसहित आठ जनालाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा इलाका प्रहरी कार्यालय पोखरीयाका इन्चार्ज समेत रहेका प्रहरी इन्स्पेक्टर प्रदिप पौडेल समेत रहेको बताइएको छ ।
प्रहरीले क्यासिनो परिसरबाट गाउँपालिकाको ना१झ १६८७ नम्बरको सरकारी स्कर्पियोसमेत नियन्त्रणमा लिएको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साले अध्यक्ष यादवसहित आठ जना नियन्त्रणमा परेको पुष्टि गर्दै आज सार्बजनिक गर्ने तयारी गरेको बताएको छ ।
काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण हालसम्म १३४१ जनाको शव फेला परेको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दिएको पछिल्लो अपडेट अनुसार अहिलेसम्म १३४१ जनाको शव फेला परेको हो । जसमा रसुवामा १६३, नुवाकोटमा १९५, धादिङमा ६७, चितवनमा ३६२, गोरखामा ७४, तनहुँमा ३८, नवलपरासी पूर्वमा २२२ र नवलपरासी पश्चिममा २२० जनाको शव फेला परेको छ ।
अहिलेसम्म ९९ शव सनाखत भएर आफन्तले बुझेको प्राधिकरणले जानकारी दिएको छ ।
प्राधिकरणले दिएको पछिल्लो अपडेट अनुसार बाढी तथा विपद्का कारण ४ हजार ९९६ जना सम्पर्कविहीन भएका हुन् । सम्पर्कविहीन हुनेमा रसुवाका १९६७, नुवाकोटका २३४० र विदेशी नागरिक ५८९ रहेको विवरणमा उल्लेख छ । त्यस्तै करिब १०० जना सुरक्षाकर्मी र कर्मचारी अझै सम्पर्कविहिन रहेका छन् ।एभरेष्ट न्यूज एजेन्सी
काठमाडौँ । जाजरकोटका भूकम्प प्रभावित १८८ लाभग्राहीलाई निजी आवास पुनर्निर्माणका लागि अनुदानको पहिलो किस्ता पठाइएको छ ।
आवास पुनर्निर्माण सम्झौता गरेका लाभग्राहीलाई प्रतिघरधुरी ५० हजार रुपैयाँका दरले रकम उपलब्ध गराइएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जानकारी दिएको हो ।
विपद् प्रभावित निजी आवास प्रबलीकरण, पुनर्निर्माण तथा पुनर्स्थापना अनुदानसम्बन्धी दोस्रो संशोधित कार्यविधि, २०८३ अनुसार आवास पुनर्निर्माण सम्झौता भएपछि अनुदान रकम लाभग्राहीको बैंक खातामा भुक्तानी गर्ने व्यवस्था रहेको छ ।
पहिलो किस्ता प्राप्त गरेपछि लाभग्राहीले आवास निर्माण गरी जगको तहसम्मको काम सम्पन्न गर्नुपर्नेछ । त्यसपछि प्राविधिक जाँच तथा निर्माण सम्पन्न भएको प्रतिवेदनका आधारमा दोस्रो किस्ताको रकम उपलब्ध गराइने प्राधिकरणले जनाएको छ ।
पोखरा । पोखरा–दुबई अन्तर्राष्ट्रिय हवाई सेवा प्रवर्द्धन तथा सार्वजनिक सचेतना अभिवृद्धि गर्न पोखरा महानगरपालिका र फ्लाईदुबईबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
आगामी सेप्टेम्बर २३ देखि सञ्चालनमा आउने पोखरा–दुबई अन्तर्राष्ट्रिय हवाई सेवाको प्रवर्द्धन गर्ने उद्देश्यले महानगरपालिका र दुबई एभिएसन कर्पोरेसनअन्तर्गतको फ्लाईदुबईबीच समझदारी गरिएको हो ।
अगस्ट २७ मा भएको समझदारीपत्रमा पोखरा महानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मनहर कडरिया र फ्लाईदुबईको नेपालस्थित आधिकारिक बिक्री प्रतिनिधिका तर्फबाट युनिभर्सल टुर्स एन्ड ट्राभल्स प्रालिका अध्यक्ष परासर प्रसाईंले हस्ताक्षर गरेका थिए। समझदारीपत्र एक महिनासम्म लागू हुने व्यवस्था गरिएको छ ।
पोखरा–दुबई हवाई सेवा सञ्चालन भएपछि पोखराको अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तार हुनुका साथै पर्यटन, व्यापार तथा आर्थिक गतिविधिमा थप योगदान पुग्ने अपेक्षा गरिएको छ ।
महानगरपालिका र फ्लाईदुबईले प्रारम्भिक प्रवर्द्धन अभियानपछि पनि पर्यटन प्रवर्द्धन, गन्तव्य बजारीकरण तथा अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तारलगायत पारस्परिक हितका क्षेत्रमा सहकार्यलाई निरन्तरता दिन सक्ने समझदारी गरेका छन् ।एभरेष्ट न्यूज एजेन्सी,
काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ८ जनाको मृत्यु भएको छ भने १२८ जना घाइते भएका छन् ।
नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा कोशी र गण्डकी प्रदेशमा ३-३ जनाको मृत्यु भएको छ भने कर्णाली र लुम्बिनी प्रदेशमा एक एक जनाको मृत्यु भएको छ ।
त्यस्तै देशभर भएका दुर्घटनामा १२८ जना घाइते भएका छन् । जस अनुसार मधेश प्रदेशमा २९ जना घाइते भएका छन् भने कोशीमा ३० जना, काठमाडौँ उपत्यकामा १३ जना, सुदूरपश्चिममा २२ जना, बागमतीमा ४ जना घाइते भएका छन् भने लुम्बिनीमा १९ जना, कर्णालीमा ७ जना र गण्डकीमा ४ जना घाइते भएका छन् ।