काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले हिजोको प्रश्नको उत्तर दिएर मात्र पार्टी नटिक्ने बताएका छन् ।
काँग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोह बोल्दै सभापति थापाले अहिले उठिरहेका प्रश्नको जवाफ दिएमात्र पार्टी टिक्ने र ठुलो हुने बताए ।
सभापति थापाले भने- ‘हिजोको प्रश्नको उत्तर दिएर कांग्रेस टिक्दैन । आजको प्रश्नको उत्तर दिनुपर्छ । आजको प्रश्न के हो ? त्यसका लागि आजको प्रश्न सोध्ने मान्छे को हो ? तपाईं र कांग्रेसको कोठामा बसेर आफैँ प्रश्न र आफैँ उत्तर बनाएर हुँदैन ।’

महाधिवेशनलाई सम्बोधन गर्दै सभापति थापाले अहिलेका युवाले इतिहासलाई माया गरे पनि उसका अहिलेका प्रश्नको उत्तर पार्टीले दिनसक्नु पर्ने बताए ।
युवाले देशमा राम्रो शिक्षा पाइन्छ कि पाइँदैन ? शिक्षा पाएपछि रोजगार पाइन्छकी पाइदैन भन्ने प्रश्न गरिरहेको र त्यसको जवाफ दिनसक्नुपर्ने बताए ।
सभापति थापाले बदलिएको काँग्रेसले देशलाई पनि बदल्ने विश्वास लिन कार्यकर्तालाई आग्रह गरेका थिए । उनले आफुहरुसँग विपी कोइराला र गणेशमानको विचार रहेको भन्दै उनीहरुका छोराहरु कहाँछन् त्यसले अर्थ नराख्ने टिप्पणी गरे
एभरेष्ट न्यूज एजेन्सी,
रौतहट,असोज,१८ गते
काठमाडौँ । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले काँग्रेस सभापति गगन थापाले निरन्तरतामा क्रमभंग गरेको टिप्पणी गरेका छन् ।
काँग्रेसको १५औं महाधिवेशनमा शुभकामना दिदै आफुले भन्ने गरेको निरन्तरतामा क्रमभंगता गगन थापाले काँग्रेसमा गरेको बताउदै शुभकामना दिएका थिए । देशको विषम परिस्थितिमा काँग्रेसलाई नयाँ बनाउने जमर्को गरेको भन्दै गगन थापाले अब देशको नेतृत्व गर्ने समय आएको बताए ।

प्रचण्डले लोकतन्त्रका पक्षधरहरुले वरिष्ठ नेताहरुलाई अपमानित नगर्न र सम्मानसहित सबैलाई एक बनाएर देशको नेतृत्व गर्न सुझाव दिएका थिए । उनले देश अहिले अप्ठ्यारोमा रहेको बताउदै सरकारका गतिविधिले देश अझ खतरामा जाने होकी भन्ने चिन्ता रहेको बताए । प्रचण्डले शान्तिप्रक्रियाका टुंगाउन बाँकी रहेका कामहरु टुंगाउन आग्रह गर्दै ति विषय नटुंगिएमा त्यसको परिणमा नराम्रो हुने बताए । उनले अब शान्तिप्रक्रियाका बाँकी काम गगन थापाको नेतृत्वमा पुरा हुने विश्वास व्यक्त गरेका छन् ।एभरेष्ट न्यूज एजेन्सी,
रौतहट,असोज,१८ गते
काठमाडौँ । रास्वपाका सभापति रवि लामिछानेले नेपाली काँग्रेसका सभापति गगन थापालाई पार्टीभित्र बसेर हैरान पार्नेहरूलाई छोडिदिन सुझाव दिएका छन् । 
कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन सभामा सम्बोधन गर्दै लामिछानेले सभापति थापालाई पार्टीमा बसेर हैरान गर्नेलाई फकाउन भन्दा छोडिदिएकै राम्रो हुन्छ भन्ने सुझाव दिएका हुन् ।
उनले भने- ‘कहिलेकाँही पार्टीभित्र बसेर सधैं कचकच गर्ने, गनगन गर्ने, हैरान गर्ने, फकाउँदा-फकाउँदा सम्पूर्ण शक्ति नष्ट गरिदिने साथीहरूलाई फकाउनुभन्दा छोडिदिएकै राम्रो हुन्छ ।’एभरेष्ट न्यूज एजेन्सी,
वीरगञ्ज । जनमत पार्टीको दोस्रो महाधिवेशनले सिके राउतको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ । वीरगञ्जमा सम्पन्न महाधिवेशनले अध्यक्ष पदमा डा. सीके राउतलाई निर्बिरोध निर्वाचित गरेको हो ।
केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव राजेशकुमार मण्डलका अनुसार राष्ट्रिय उपाध्यक्षमा अनिता कुमारी मण्डल, अनिता देवी शाह, नरेन्द्र प्रसाद चौधरी, बसन्त कुमार कुशवाह, डा. जयकान्त राउत, राजकुमार यादव त्यागि र माधव प्रसाद सिंह निर्वाचित भएका छन् ।
त्यस्तै महासचिवमा संजयकुमार यादव निर्वाचित भएका छन् भने उपमहासचिवमा निर्मल कुमार मण्डल निर्वाचित भएका छन् ।
त्यस्तै राष्ट्रिय सचिवमा सुरेन्द्र कुमार चौधरी, पारस प्रसाद शाह, सन्तोष राज सहानी, अन्जनी देवी, राधा कुमारी यादव, हरेन्द्र चौधरी र बाल गोविन्द चौधरी निर्वाचित भएका छन् ।
त्यस्तै महाधिवेशनले ४८ जना कार्यकारीणी सदस्य निर्वाचित गरेको छ । एभरेष्ट न्यूज एजेन्सी,
काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजबाट सुरु हुँदै छ । काठमाडौंको खुलामञ्चमा उद्घाटन कार्यक्रम शुरु भएको छ । महाधिवेशनमा उद्घाटन समारोहमा निमन्त्रणा गरिएका अतिथिहरु पुग्ने क्रम शुरु भएको छ ।
अहिले नेकपाका संयोजक प्रचण्ड कार्यक्रम स्थलमा पुगिसकेका छन् भने रास्वपा सभापति रवि लामिछाने, एमाले महासचिव शंकर पोखरेल, राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनलगायतका नेताहरु सहभागी हुदैछन् ।
अहिले खुलामञ्चमा काँग्रेसका प्रतिनिधिहरुसहित हजारौं नेता कार्यकर्ताको उपस्थिति रहेको छ । यस महाधिवेशनमा काँग्रेसका करिब ७६ सय प्रतिनिधि सहभागी हुँदैछन् ।
आज उद्घाटन समारोह हुदैछ भने सोमबार र मंगलबार बन्दसत्र हुने छ । बन्दसत्रमा सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मा, महामन्त्री प्रदिप पौडेल र कोषाध्यक्ष उमेश श्रेष्ठले विभिन्न प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
महाधिवेशनमा नयाँ नेतृत्वको चयनका लागि सोमबार उम्मेदवारी दर्ता सुरु गर्ने कार्यतालिका रहेको केन्द्रीय निर्वाचन समितिले जानकारी दिएको छ । नयाँ नेतृत्वको निर्वाचनका लागि असोज २१ र २२ गतेको मिति तोकेको छ । एभरेष्ट न्यूज एजेन्सी,
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री वालेन्द्र शाहको संसद्मा अनुपस्थितिलाई लिएर प्रश्न उठाउँदै संसदीय मर्यादा र परम्परा पालना गर्न ध्यानाकर्षण गराएका छन् ।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै आङ्देम्बेले प्रधानमन्त्री संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भएर फर्किए पनि महासभामा भएका गतिविधिबारे संसद्लाई जानकारी नगराएको भन्दै आपत्ति जनाएका हुन् ।
उनले संसद् चलिरहेका बेला प्रधानमन्त्री कहाँ र के काममा व्यस्त छन् भन्नेबारे सदनलाई जानकारी हुनुपर्ने बताउदै प्रमुख प्रतिपक्षी दलले संसद्मा प्रश्न उठाइरहेका बेला प्रधानमन्त्रीको अनुपस्थिति संसदीय मर्यादाअनुकूल नभएको उनको भनाइ थियो ।
आङ्देम्बेले प्रधानमन्त्रीलाई संसद् सरकारको अनुकूलतामा चल्ने संस्था नभएको स्मरण गराउँदै लोकतन्त्रमा नियम र प्रक्रिया सरकारका लागि पनि समान रूपमा लागू हुने बताए । उनका अनुसार संसद्मा बहुमत हुँदैमा शासन सञ्चालनका लागि पर्याप्त नहुने र जनताको विश्वास कायम राख्न संवाद, समन्वय, संस्थागत सम्मान, निर्णय क्षमता र परिणाम आवश्यक हुन्छ ।
सरकारले संसद्, राज्यका तीनै तह, संवैधानिक निकाय, प्रशासन, निजी क्षेत्र र नागरिक समाजलाई साथ लिएर अघि बढ्नुपर्ने उनको भनाइ थियो। संसद्लाई प्रतिस्पर्धी नभई लोकतन्त्रको साझेदार संस्थाका रूपमा बुझ्नुपर्ने उनले बताए ।
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुनुअघि र फर्किएपछि संसद्लाई जानकारी गराउने विषय केवल परम्परा नभई संसदीय जवाफदेहितासँग जोडिएको आङ्देम्बेले बताए । उनले प्रधानमन्त्रीलाई परम्परा र प्रक्रिया तोड्ने नाममा सरकार आफैं अप्ठ्यारोमा पर्ने अवस्था सिर्जना नगर्नसमेत आग्रह गरे ।
आङ्देम्बेले प्रधानमन्त्री शाहको संसदीय व्यवहारले नयाँ पुस्तालाई कस्तो संसदीय अभ्यास र मर्यादाको सन्देश दिने भन्ने प्रश्नसमेत उठाएका थिए । एभरेष्ट न्यूज एजेन्सी,
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि अस्ट्रेलियाका राजदूत साइमन अर्न्स्टले आज शिष्टाचार भेटवार्ता गरेका छन् ।
राजदूत अर्न्स्टले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री शाहसँग भेटवार्ता गरेका हुन् । भेटवार्ताका क्रममा नेपाल–अस्ट्रेलिया सम्बन्ध तथा आपसी सहकार्यका विषयमा छलफल भएको जनाइएको छ ।
हालै प्रधानमन्त्री शाहको अमेरिका भ्रमणका क्रममा उनले एक मात्र विदेशी राष्ट्र प्रमुख अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानेजसँग भेटवार्ता गरेका थिए । एभरेष्ट न्यूज एजेन्सी,
काठमाडौं । सरकारले संघीय निजामती सेवाको गठन, सञ्चालन तथा सेवाका सर्तसम्बन्धी विधेयक संसदमा दर्ता गरेको छ। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरकारका तर्फबाट विधेयक संसदमा दर्ता गरेको हो ।
विधेयकमा निजामती कर्मचारीको अनिवार्य अवकाशसम्बन्धी नयाँ व्यवस्था प्रस्ताव गरिएको छ। जसअनुसार ३० वर्ष सेवा अवधि पूरा गरेका वा ५५ वर्ष उमेर पुगेका कर्मचारीलाई अनिवार्य अवकाश दिने व्यवस्था प्रस्ताव गरिएको छ। यसअनुसार सामान्यतर्फ निजामती कर्मचारीको अनिवार्य अवकाश उमेर ६० वर्ष कायम हुने भए पनि ३० वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीले उमेर ५५ वर्ष नपुगेकै अवस्थामा समेत अवकाश पाउनेछन्।
सेवा अवधि बाँकी रहेकै अवस्थामा ५५ वर्षे उमेरहदका कारण अनिवार्य अवकाश पाउने कर्मचारीको हकमा थप तीन वर्षको पदावधि पेन्सन प्रयोजनका लागि गणना गर्ने व्यवस्था विधेयकमा प्रस्ताव गरिएको छ । हालको निजामती सेवा ऐन, २०४९ मा निजामती कर्मचारीको अनिवार्य अवकाश उमेर ५८ वर्ष तोकिएको छ। प्रस्तावित व्यवस्थाले सेवा अवधि र उमेर दुवैलाई आधार बनाएर अवकाशको व्यवस्था गर्न खोजेको छ ।
विधेयकले निजामती कर्मचारीबाट गर्नुपर्ने काममा करार वा ज्यालादारी कर्मचारी नियुक्त गर्ने व्यवस्थामा पनि कडाइ गरेको छ । ऐनले तोकेको विशेष अवस्थाबाहेक निजामती कर्मचारीले गर्नुपर्ने कामका लागि ज्यालादारी वा करारमा कुनै व्यक्ति नियुक्त गर्न नपाइने प्रस्ताव गरिएको छ। ऐनविपरीत गरिएको नियुक्ति स्वतः बदर हुने व्यवस्था विधेयकमा छ । त्यसरी गैरकानुनी रूपमा नियुक्त गरिएको व्यक्तिले प्राप्त गरेको तलब, भत्ता तथा अन्य सुविधा नियुक्ति गर्ने अधिकारीबाटै असुलउपर गर्ने व्यवस्था पनि प्रस्ताव गरिएको छ।
विधेयकमा राजपत्राङ्कित विशिष्ट श्रेणीका उच्च पदमा रहने कर्मचारीको पदावधिसमेत तोकिएको छ । मुख्यसचिव तथा मुख्य रजिस्ट्रार रहने अधिकृत चौधौँ तहको पदावधि दुई वर्ष हुने प्रस्ताव गरिएको छ। त्यस्तै सचिव वा सोसरहका तेह्रौँ तहका अधिकृतको पदावधि तीन वर्ष तोकिएको छ । विशिष्ट श्रेणीका कर्मचारीको हकमा पदावधि पूरा हुनु वा ६० वर्ष उमेर पुग्नुमध्ये जुन पहिले हुन्छ, त्यसैका आधारमा अवकाश हुने व्यवस्था प्रस्ताव गरिएको छ ।
प्रस्तावित व्यवस्थाअनुसार ३० वर्ष सेवा पूरा गरेका तर ५५ वर्ष उमेर नपुगेका कर्मचारीसमेत अनिवार्य अवकाशमा जानेछन् । सरकारले लामो समयदेखि सेवा गरिरहेका कर्मचारीको व्यवस्थापन गर्दै नयाँ जनशक्तिका लागि अवसर सिर्जना गर्ने उद्देश्यले यस्तो व्यवस्था अघि सारेको जनाएको छ ।
सरकारले मंगलबार बसेको मन्त्रिपरिषद् बैठकबाट संघीय निजामती सेवाको गठन, सञ्चालन तथा सेवाका सर्तसम्बन्धी विधेयक संसदमा पेस गर्ने निर्णय गरेको थियो। लोक सेवा आयोगबाट प्राप्त सुझावसमेत समेटेर विधेयक संसदमा दर्ता गरिएको हो । एभरेष्ट न्यूज एजेन्सी,
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले टेलिफोन तथा इन्टरनेट सेवालाई भरपर्दो र गुणस्तरीय बनाउन सरकारले सेवा विस्तार, उपकरण थप तथा विद्युत् व्यवस्थापनलाई प्राथमिकता दिएको बताएका छन् ।
प्रतिनिधिसभाको बैठकमा प्रश्नको जवाफ दिँदै उनले चालु आर्थिक वर्षलाई मोबाइल सेवा विस्तार तथा सुधारको ‘रूपान्तरण वर्ष’का रूपमा अघि बढाउन लागिएको बताए। नेपाल टेलिकमका दुई सय नयाँ टावर निर्माणसम्बन्धी बोलपत्र मूल्याङ्कनको चरणमा रहेको उनले जानकारी दिए ।
त्यस्तै, देशभरका १ हजार ५९७ स्थानमा फोरजी सेवा विस्तार गर्न आवश्यक उपकरण खरिदको बोलपत्र यसै साता प्रकाशित हुने मन्त्री तिमिल्सिनाले बताए। विद्युत् अवरुद्ध हुँदा सेवा नरोकिने गरी टावरको ब्याट्री ब्याकअप क्षमता पनि बढाइँदैछ । उनका अनुसार पछिल्लो तीन महिनामा सातै प्रदेशका ६ सयभन्दा बढी स्थानमा ब्याट्री ब्याकअप परिवर्तन गरिएको छ । यसबाट विद्युत् अवरुद्ध हुँदा ग्रामीण क्षेत्रमा ८ देखि १० घण्टा र सहरी क्षेत्रमा ४ देखि ६ घण्टासम्म सेवा सञ्चालन गर्न सकिनेछ ।
भोटेकोशी बाढीबाट नेपाल टेलिकमको मोबाइल, तारयुक्त तथा मुख्य प्रसारण प्रणालीमा ८ करोड ८५ लाख १२ हजार ६८५ रुपैयाँ बराबरको क्षति भएको मन्त्रीले जानकारी दिए । रसुवा, नुवाकोट र धादिङका १२० साइटमध्ये ८३ साइटको सेवा बाढीका कारण अवरुद्ध भएको थियो ।
बाढीबाट पूर्ण रूपमा क्षतिग्रस्त तीन साइटबाहेक अन्य अवरुद्ध सेवा पुनः सञ्चालनमा ल्याइएको उनले बताए । टिमुरेमा हेलिकप्टरमार्फत सौर्य प्रणाली जडान गरी सेवा सञ्चालनमा ल्याइएको छ भने आवश्यक स्थानमा वैकल्पिक टावरबाट नेटवर्क कायम गरिएको छ ।
रसुवा, नुवाकोट र धादिङमा रहेको ६५.३ किलोमिटर फाइबर नेटवर्कमध्ये ३७.९ किलोमिटर क्षतिग्रस्त भएकोमा २७.४ किलोमिटर मर्मत भइसकेको मन्त्री तिमिल्सिनाले बताए । टिमुरे र रसुवागढी क्षेत्रमा क्षतिग्रस्त मुख्य प्रसारण सेवा हाल माइक्रोवेभ प्रविधिबाट पुनःस्थापना गरिएको उनले जानकारी दिए एभरेष्ट न्यूज एजेन्सी,
पोखरा । नेपाली काँग्रेसका नेता डा. प्रकाशशरण महत्तले पार्टीको विवाद अदालत बाहिर मिलाउन खोजेपनि सफल नभएको बताएका छन् ।
पोखरामा देउवा समुहको सम्पर्क कार्यालय खोलेर पत्रकार सम्मेलन गर्दै नेता डा. महत्तले पार्टीको विवाद अदालत बाहिर मिलाउन खोजेपनि अहिलेको संस्थापन पक्षले इच्छा नदेखाएको आरोप लगाए ।
साथै नेता महत्तले अहिले पनि शेरबहादुर देउवा महाधिवेशन उद्घाटन गर्न आउने भन्दै झुट प्रचार गरिएको आरोप लगाउदै आफुहरु सत्यको लडाईमा रहेको बताउदै पार्टीमा झुटको बोली चलिरहेको बताए ।
अहिले सत्यको मुख बन्द गरिएको बताउदै बोलेपछि सामाजिक संजालमा गालीको बर्षा हुने गरेको उल्लेख गरे ।
उनले आफुहरुले पार्टीको अहिलेको अवस्था नचाहादा नचाहदै आएको बताए । नयाँ नेतृत्व नआएसम्म पार्टीले जित हासिल गर्न नसक्ने भन्दै निर्वाचन अघि विशेष महाधिवेशन गरिएको बताउदै उनले तर निर्वाचनको परिणाम त्यस्तो नआएको बताए । नेता महत्तले आफुहरुले विशेष महाधिवेशन पार्टीको विधान अनुसार नभएकोले नै पुनरावलोकनका लागि अदालतमा गएको बताए । आफुहरुले पार्टी एक भएर जानुपर्छ भन्ने विषयमा कोशिस गरेको र त्यो सफल नभएको बताउदै अदालतका अहिलेसम्मका निर्णय सहि नभएको कारणले आफुहरुलाई निस्सा दिइएको दाबी गरे ।
कांग्रेसको विवाद जारी रहेका बेला संस्थापन पक्षले असोज १८ गतेदेखि काठमाडौँमा १५औं महाधिवेशन गरिरहेको छ भने देउवा पक्षले मङ्सिरमा गर्ने महाधिवेशनका लागि भोली देखि वडा स्तरमा अधिवेशन शुरु गर्दैछ । एभरेष्ट न्यूज एजेन्सी